menu

ताजा समाचार

डुवर्सेली नेपाली समालोचना र वैचारिक सङ्घर्ष

डुवर्सेली नेपाली समालोचना  र वैचारिक सङ्घर्ष

डा. ऋषिराज बराल

(ऋषिराज बराललिखित  'भारतीय नेपाली साहित्य : ऐतिहासिक अभिरेखाङन' पुस्तकको डुवर्स खण्ड अन्तर्गतको ‘डुवर्सेली नेपाली समालोचना  र वैचारिक सङ्घर्ष’ अध्यायको संश्लेषित अंश पाठकहरूका लागि रुचिकर हुने ठानी हामीले यहाँ प्रस्तुत गरेका छौँ ।) 

शोधकार्य, इतिहासलेखन, कालविभाजन तथा अभिलेखीकरण सम्बन्धी  तथ्य र तथ्याङ्कलाई लिएर हुने बहस र विवाद चल्दै आएका विषय-सन्दर्भहरू हुन् ।  यस्ता सन्दर्भहरू अध्ययन-अनुसन्धानका क्रममा समाधान हुन्छन् र हुँदै गएका छन् । समालोचना र वैचारिक सङ्घर्षको प्रश्न पदार्थ र चेतना, यथार्थ र प्रतिविम्बन, अन्तर्वस्तु र रूप र साहित्य र समाजबिचको सम्बन्धलाई बुझ्ने प्रश्नसित गाँसिएको हुन्छ । यसको चरित्र सार्वभौम र विशिष्ट दुवै प्रकारको हुन्छ  । यो कुरा  भारतीय नेपाली साहित्यको इतिहास र वर्तमानका सन्दर्भमा पनि लागु हुन्छ । साहित्यकलाको सामाजिक मूल्यप्रतिको हेराइ र बुझाइमा रहेको भिन्नता विश्वदृष्टिकोणको प्रश्न  हो र भारतीय नेपाली साहित्यको कुरा गर्दा वैचारिक  संघर्षको  थालनी मार्क्सवादी चिन्तक गणेशलाल सुब्बाबाट हुन्छ र डुवर्सका सम्बन्धमा बद्रीनारायण प्रधानबाट आरम्भ हुन्छ । 

बद्रीनारायण प्रधानले गरेको वैचारिक सङ्घर्षको थालनीको इतिहास  सामाजिक, राजनीतिक पक्षसित सम्बद्ध वस्तुगत स्तितिप्रतिको हेराइ र बुझाइबाट आरम्भ भएको पाइन्छ । यस सम्बन्धमा वीर गोर्खापत्रिकामा फरवरी १९४७ मा प्रकाशित राजनीतिक लेख१ र '  ‘वक्रपन्थी’ नाममा साहित्यकार रामकृष्ण शर्माले लेखेको '‘राजनीतिको गोरेटो’ को प्रतिक्रियामा बद्रीनारायण प्रधानले लेखेको 'सम्पादकलाई पत्र’ लाई थालनीका रूपमा लिन सकिन्छ । ‘सम्पादकलाई पत्र’ लाई समालोचक तथा अन्वेषक जीवन नामदुङले “आलोचनात्मक निबन्ध” मानेका छन् । यथार्थतः ‘सम्पादकलाई पत्र’ बद्रीनारायण प्रधानको पहिलो निबन्धात्मक  रचना  र वैचारिक सङ्घर्षको पनि पहिलो लेख्य अभिव्यक्ति थियो । बद्रीनारायण प्रधानद्वारा गरिएको  मक्सिम गोर्कीको विश्व प्रसिद्ध उपन्यास आमाको अनुवाद  तथा महर्षी कार्ल मार्क्ससम्बन्धी  लेखन सामाजिक अध्ययन, मार्क्सवाद र वर्गसङ्घर्षको आवश्यकता र औचित्य स्थापनाका लागि गरिएका वैचारिक कार्यहरू थिए र हुन् । र, नवचेतनाका चिर मशाल : गणेशलाल  मोफसलमा रतनलाल ब्राम्हणयसैका शृङखलाहरू थिए । यी सबै सामाजिक चेतना जगाउने सामाजिक दायित्वसित सम्बद्ध कार्यहरू थिए ।

 सन १९६० देखि १९८० सम्मको अवधि सारतः १९७० को दशक भारतीय आकासमा 'बसन्ते गर्जन’ को अवधि थियो र यो 'बसन्ते गर्जन’ को केन्द्रबिन्दु पश्चिम बङ्गालका ग्रामीण र सहरी क्षेत्रहरू थिए । यो समय श्रमचेतनाले चियाबारीहरू जुर्मुराएको समय थियो, “क्रान्तिकारीहरूले सपना देख्नुपर्छ” भन्दै क्रान्तिकारी रूपान्तरणको सपना देख्न “लड वीरबहादुर ! तिमी लड !” भनेर आह्वान गरिएको समय थियो । साथै यो कालखण्ड साहित्य र समाज, आधार र उपरिसंरचनाबिचको द्वन्द्वात्मक सम्बन्ध र प्रतिनिधि यथार्थको कलात्मक प्रतिविम्बनप्रति विश्वास राखेर उत्पीडित वर्गीय प्रतिबद्धतालाई स्वीकार गर्ने लेखक-साहित्यकारहरूले  शिविरबद्ध भएर कलम चलाउन थालेको समय थियो  ।  साहित्यलाई आत्मप्रलाप, कुण्ठा, व्यक्तिवादी असन्तुष्टि र अराजकतावादी विद्रोहको शब्दखेल मानेर मायावी संसारमा रमाउनेहरू र साहित्यलाई अक्षरहरूको कारागार ठान्नेहरू यसका विरुद्धमा उभिए । कतापट्टीको पश्न प्रमुख प्रश्न बन्यो ।  साहित्य के हो, किन र कसका लागि ? शब्दखेल र शब्दहरूको कारागार कि जीवन यथार्थको कलात्मक प्रतिबिम्बन ? भन्ने कुरा लेखनक्षेत्रका जल्दाबल्दा प्रश्न वनेका थिए  ।  सामाजिक प्राणीका नाताले समाजप्रति लेखकीय दायित्व हुन्छ कि हुँदैन भन्ने प्रश्नहरू साहित्यकारहरू, पाठकहरू तथा सामाजिक सचेतकहरूबिच र बहस र विचारविमर्शका  विषय बनेका थिए  ।  

पलायनता र  जीवनविरोधी लेखन कि समाज र जीवनकेन्द्रित दायित्वपूर्ण लेखन भन्ने प्रश्नहरूका बिच इन्द्रबहादुर  राईको 'साहित्यमा कमिटमेन्टका कुरा’ शीर्षकको लेख  कलशपत्रिकाको सन् १९८० का अङ्कहरूमा शृङ्खलाबद्ध रूपमा प्रकाशित भयो ।  पछि यो लेख  पुस्तिकाका रूपमा साहित्यको अपहरण : मार्क्सवादी  प्रतिबद्धता शीर्षकमा प्रकाशित भयो   ।यो ‘तेस्रो आयाम’ को कालखण्डको धङ्धङी समाप्त भइनसकेको र र ‘लीलालेखन’  नामको यथार्थ विरोधी–जीवन विरोधी लेखन आत्म्पीडाले  छटपटिन थालेको  कालखण्ड थियो । यो कुरा 'साहित्यको अपहरण : मार्क्सवादी  प्रतिबद्धता' का अन्तिम पन्नाहरूबाट पनि बोध गर्न सकिन्छ ।  जब मान्छेसित बहसछलफल र वैचारिक सङ्घर्ष गर्ने सामर्थ्य र तर्कहरूको अभाव हुन्छ, अनि ऊ गालिगलौज र आक्रोसको भाषामा प्रस्तुत हुन्छ भनेर  एङ्गेल्स भनेझैँ राईको लेख यस्तै किसिमको स्थिति, प्रवृत्ति र मनोवृत्तिको उपज थियो । यथार्थतः यो मार्क्सवाद विरोधी कुण्ठित मानसिक-योजनाबद्धताको उपज थियो । यसमा  राईले जे-जस्ता पादवलीहरू तथा भाषाको प्रयोग गरेका छन्, यसलाई कुण्ठाग्रस्त मानसिकताको उपज  भन्नु स्वाभाविक हुन्छ ।

मार्क्सवाद र प्रगतिवादी साहित्यिक लेखनका पक्षधरहरूले मात्र होइन, साहित्यकार सामाजिक प्राणी हो र कुनै न कुनै किसिमले साहित्य र समाजको सम्बन्ध हुन्छ भन्ने कुराप्रति सहमति जनाउने हरेक लेखक र पाठकले राईले प्रयोग गरेका शब्दहरू र अभिव्यक्तिको शैलीलाई लिएर विमति जनाउनु स्वाभाविक थियो । त्यस कालखण्डमा पूर्वोत्तर भारत,  खास गरेर असमका एक थरी लेखक-कविहरू “कोलाज कोलाज” भन्नै भ्रमको पोको बोकेर यता र उति  कुदिरहेको अवस्थामा बिहारबाट पूर्वोत्तर भारतको मणिपुर पुगेर नेपाली भाषा र साहित्यप्रति समर्पित भएर कविता, उपन्यास, समालोचनाका एक दर्जनजति पुस्तक लेख्ने चन्द्रेश्वर दुबेले तेस्रो आयामको शब-परीक्षा(१९८१) लेखे । यो पनि जानीराख्नु पर्ने सान्दर्भिक विषय हो ।  अनि इन्द्रबहादुर राईले हियाएर भनेका “भाइहरू” अर्थात् दार्जिलिङ,  सिक्किमका लेखक-समालोचकले यसको प्रतिवादमा लेख-समालोचना लेखे, पक्षविपक्षमा लेखिएका रचनाहरू समाविष्ट गरेर पत्रिकाका अङ्कहरू प्रकाशित भए । अनि यसैको निरन्तरतामा  डुवर्सका बद्रीनारायण प्रधानले 'श्री इन्द्रबहादुर राईको कमिन्टमेन्ट’ लेखे । पहिले छाल पत्रिका (१९८४) का दुई अङ्कमा प्रकाशित यो लेख नेपालबाट प्रकाशित हुने  भानु पत्रिकाको वि.स २०४२ का अङ्कहरूमा प्रकाशित भएको थियो । त्यसपछि पनि वैचारिक सङ्घर्षका  शृंखलाहरू   चलिरहे । 

हिजोका दिनदेखि र अहिले पनि भारतीय नेपाली साहित्यको प्रगतिवादी क्षेत्रले विरोधीको मात्र नभएर आफ्‌नै पङ्क्तिभित्रका गलत प्रवृत्तिका विरुद्ध पनि  लड्नुपरेको  स्थिति हो । देशकाल र परिस्थितिअनुसार आफ्‌नो पंक्तिभित्रको लडाइँ कहिले अलि कडा र कहिले अलि नरम  भनौँ मित्रवत किसिमको हुन्छ  र भइरहेको छ । तर फरक धारभित्रको  सङ्घर्ष, चाहे 'आयामेली’ होस् अथवा 'लीलावादी’ र 'उत्तर-आधुनिकतावादी’ हिजोका दिनदेखि नै फरक किसिमको थियो । विरोधी पक्षबाट मोर्चाबद्ध किसिमले दिइएको चुनौतीलाई दार्शनिक र वैचारिक, साहित्यिक–समालोचनात्मक  हरेक कोणबाट उत्तर दिनु र वैचारिक सङ्घर्ष गर्नु आवश्यक थियो । साहित्य-कलाको  क्षेत्रको मोर्चा भनेको सारत :
 वैचारिक मुठभेडको  मोर्चा हो र त्यसमा सहभागीहरू आआफ्ना कित्ताका   कलमका सिपाहीहरू हुन् ।

प्रगतिवाद, साहित्य र वैचारिक सङ्घर्षको क्षेत्रमा आरम्भका दिनमा गणेशलाल सुब्बा, बी.योन्जन, रत्न वान्तवा, बद्रीनारायण प्रधान लगायतका लेखक-समालोचकहरूले मोर्चाको अगुवाइ गरे  । यताका  दिनमा  जनार्दन थापा, रूपेश शर्माहरूले गरेको वैचारिक सङ्घर्ष ऐतिहासिक महत्वको छ । यो कति सशक्त र सङ्गठित हुन सकेको छ, यो भिन्नै कुरा हो,  तर, खिइदै गएजस्तो देखिने, निस्तेज हुँदैगएजस्तो देखिने भारतेली नेपाली  प्रगतिवादी आन्दोलनको मोर्चाको रक्षा, विकास र निरन्तरतामा डुवर्सको नेपाली साहित्यक  सन्दर्भमा मात्र नभएर सिंगो  भारतीय नेपाली साहित्यमा जनार्दन थापा  र रूपेश शर्माहरूको अहम् भूमिका रहेको यथार्थलाई न्युनीकरण गर्न मिल्दैन ।  सिक्किम सुस्ताएको र  दार्जिलिंग मुर्झाएको  समय-सन्दर्भमा डुवर्सले बोकिरहेको  मशाललाई अझ प्रज्वलित पार्न  थुप्रै हातहरूको   आवश्यकता  छ ।

उत्पीडित  वर्गीय तथा जातीय मुक्तिको आन्दोलन  र भाषाको प्रश्नमा मार्क्सवादी चिन्तकका अगुवा व्यक्तित्वका रूपमा परिचित र स्थापित जनार्दन थापाका फुटकर रूपमा विभिन्न पत्रपत्रिकामा समालोचना तथा वैचारिक सङ्घर्षका साहित्यिक  आलेखहरू प्रकाशित छन् । पछिल्लो समयमा चर्चामा आएको छुदेन काविमोको उपन्यास फातसुङलाई लिएर गरिएको आलोचनालाई भारतेली प्रगतिवादी समालोचनाको क्षेत्रमा ध्यान दिनलायक आलोचनात्मक लेखका रूपमा लिन सकिन्छ । जस्तो उनी लेख्छन् : ''आम पहाडे जनताका महान् त्याग र वलिदानलाई होच्याउने र विद्रुपीकरण गर्ने उपन्यासकारको अन्तश्चेतनालाई वहिर्जगतमा उदाङ्गो बनाइदिएको छ । जनता सङ्घर्षरत छन् तर, उपन्यासकारले पहाडे जनता र नेताहरूका चरित्रलाई उदात्तिकरण नगरेर चारित्रिक विद्रुपीकरण र हनन गर्नुलाई सही मान्न सकिंदैन।"

मार्क्सवादी समालोचना तथा सौन्दर्यशास्त्रका आधारभूत मान्यताप्रति प्रतिबद्ध भएर समालोचना विधामै केन्द्रित रूपेश शर्माको सिर्जना र दृष्टिमा सङ्ग्रहित ‘उत्तरआधुनिकतावाद : सन्दर्भमा भारतीय नेपाली साहित्य’, ‘विचारको शक्ति’, “साहित्यमा ‘वाद’ असहमतीय जड” र अविकेशर शर्मासहितको सम्पादनमा प्रकाशित भारतेली नेपाली प्रगतिवादी साहित्यमा सङ्ग्रहित 'भारतीय नेपाली प्रगतिवादी साहित्यको सर्वेक्षणात्मक अध्ययन’लाई यसै अर्थमा महत्वपूर्ण सामग्रीका रूपमा लिन सकिन्छ र लिनुपर्दछ । त्यसै गरी 'नारीवाद' का सन्दर्भमा पनि केही भ्रमहरूछन् , त्यसलाई पनि  प्रस्ट पार्नु  आवश्यक  छ l गहन अध्ययन तथा खोजबिनका साथ तयार पारिएको ‘भारतीय नेपाली प्रगतिवादी साहित्यको सर्वेक्षणात्मक अध्ययन’मा उल्लेख गरिएका कतिपय कृतिहरू तथा लेखकहरूको नामगामलाई लिएर प्रश्न उठाउन सकिने र उठाउनेपर्ने केही सन्दर्भहरू छन् ,र पनि,  संक्षिप्त रूपमै भए पनि  यसमा भारतीय प्रगतिवादी नेपाली साहित्यको इतिहासको चर्चा गरिएको छ र यसमा जोड दिइएको प्रगतिवादको  सैद्धान्तिक तथा वैचारिक पक्षको महत्वप्रतिको आत्मसातीकरण र वैचारिक  सङ्घर्षसम्बन्धी बुझाइ सराहनीय छ ।वास्तवमा, 'भारतीय नेपाली प्रगतिवादी साहित्यको सर्वेक्षणात्मक अध्ययन' लाई  भारतीय प्रगतिवादी नेपाली समालोचनाका क्षेत्रमा महत्वपूर्ण आलेखका रूपमा लिनु पर्दछ  र यसमा उठाइएका सन्दर्भहरूलाई बहस- छलफलका साथ अघि बढाउनु आवश्यक छ ।  
००० 

भिडियो फिचरview all