menu

ताजा समाचार

विसर्जन कि क्रान्तिकारी पुनर्गठन ?

 ऋषिराज बराल
आजभोलि फेरि थरीथरीका स्वार्थका साथ पार्टीएकताका कुरा चलेका छन् । कोही ‘माओवादी केन्द्र’ बनाउने भनेर कुदेका छन् र कतिपयले चाहिँ ''हामीहरूले एकता गर्न थाल्यौँ लौ को-को आउने हो आओ'' भन्दै उर्दी शैलीमा आह्वान गरेका छन् । 

पार्टी एकता र फूट पनि मौसमी हाटबजारजस्तो बनेको छ । किन फूट भयो ? कसको लहडमा फूट भयो , कसलाई नेता बनाउन फूट भयो ? र किन फेरि त्यही स्थितिमा एकताको कुरा चलेको छ ? केका लागि एकता गर्ने, कस्तो सङ्ठन बनाउने ?  यी सन्दर्भहरूसित  वैचारिक राजनीतिक पक्ष, कार्यदिशा कार्ययोजना र नेतृत्व सबै गाँसिएर आउँछन् । यस विषयमा चाहिँ खासै बहस हुँदैन । समीक्षाको बाटो भएर अघि बढ्न कोही तयार हुँदैनन्/छैनन्।  फलस्वरूप एकताको कुरा हुँदा इमानदार क्रान्तिकारीहरूबीच जिज्ञासाहरू प्रश्न बनेर अगाडि आउँने गर्छन् । 

नेपालमा  कम्युनिस्ट नाममा नव-प्रतिक्रियावादी, संशोधनवादी र क्रान्तिकारी प्रवृत्ति बोकेका पार्टीहरू छन् । संसदीय राजनीतिको विरोध गर्दै आएका, मार्क्सवाद-लेनिनवाद- माओवादलाई  पथप्रदर्शक सिद्धान्त मान्ने नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवादको दिशामा जानुपर्छ भन्ने उद्देश्यप्रति अभिमत जाहेर गर्ने केही पार्टीहरू छन् । यी पार्टीहरूभित्र पनि थरीथरीका स्कुलिङका उत्पादन छन् ।  कतिपय कार्यकर्ताहरू आफ्नो पार्टीको भताभुङ्ग र लथालिङ्ग स्थितिप्रति चिन्तित र गम्भीर पनि देखिन्छन्—छटपटी छ तिनमा । यस किसिमको स्थिति नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) भित्र पनि  छ भन्ने ठहर यस टिप्पणीकारको छ । तर उनीहरूले समस्याको जड बुझ्न सकेका छैनन्, अथवा बुझेर पनि तिनलाई हल गर्ने ‘साहस’ का साथ पाइला चाल्न सकेका छैनन् ।
  
जनयुद्धको विसर्जन गरेर  माओवादी पार्टी ‘शान्तिप्रक्रिया’ मा आएपछि थुप्रै फोहोरमैला भित्रिए ।  आफ्नो अनुकूलता र स्वार्थलाई ध्यान दिँदै नेतृत्वमा रहेकाहरूले  एकताका नाममा थरीथरीलाई मिसाउँदै गए । पार्टीमा फूट र विभाजनको स्थिति भएपछि त झन् चारै ढोका खुल्दा रहेछन् र सबै ढोकाबाट ह्वाह्र्वार्ती पस्तो रहेछ, पसाइँदो रहेछ प्रदूषित हावा । अनि पार्टीमा वैचारिक र भौतिक  ढसमस्सताका साथ  प्रदूषित हावाहरूकै  राइँदाइँ चल्दो रहेछ । जनयुद्धकालका हत्याराहरू नै भए पनि ती रातारात ‘श्रद्धेय कमरेड’ मा फेरिँदा रहेछन्  । अनि विस्तारै क्रान्तिकारीहरू किनारा लाग्ने स्थिति बन्दो रहेछ । यो हामीले हेर्दै र भोग्दै आएको स्थिति हो । तर नेतृत्व तहमा रहेकाहरूले जिम्मेवारी बोध  गरेर आत्मसमीक्षा गर्नु आवश्यक ठान्दा रहेनछन्  । यो पनि विडम्बनाकै विषय हो । 

अहिले नेपालको माओवादी आन्दोलन खास गरेर क्रान्तिकारी धारलाई सिध्याउन विभिन्न प्रवृत्तिहरू क्रियाशील छन् तापनि दुइटा प्रवृत्ति देखिने गरी सतहमा आएका छन्–एउटा हो मिलेरावादी प्रवृत्ति र अर्को पहिचानवादमा आधारित जातीयतावादी अतिवादी प्रवृत्ति । 

 मिलेरावाद चुनावबाटै, संसदमा पुगेर, मन्त्रिमण्डलमा बसेर, सरकार बनाएर सबै समस्या हल गर्न सकिन्छ, उत्पादन शक्तिहरू र उत्पादन सम्बन्धबीचको अन्तर्विरोध हल यसैबाट गर्न सकिन्छ भनेर वकालत गर्छ । यो नाम लेनिनले दिनु भएको हो र यसको चर्चा लेनिनले महत्वपूर्ण आलेख मार्क्सवाद र संशोधनवादमा गर्नु भएको छ । 'जनमत सङ्ग्रह’ बाट वैज्ञानिक समाजवाद ल्याउने दाबी पनि यसै प्रवृत्तिको अंश हो । अहिले क्रान्तिकारी भनिएका एक थरीले खुबै जोडतोडका साथ उठाउने गरेको ‘राष्ट्रिय स्वाधीनताको सरकार’ (यो हिजो विक्रमको ३० को दशकमा पंचायती सत्तालाई खुसी पार्न मोहन विक्रमले अघि सारेको ‘देशभक्त तथा जनतान्त्रिक शक्तिहरूको सरकार’ को नाराजस्तै हो ।) र ‘कार्यकारी राष्ट्रपति’ को नारा मिलेरावादी प्रवृत्तिको नयाँ रूप हो । अहिले आन्दोलनले उच्च रूप लिएको स्थिति होइन । लेनिनको समयको जस्तो फरवरी क्रान्तिको समय पनि होइन,  नयाँ जनवादी क्रान्तिको समय सन् १९४९ को स्थिति पनि यो होइन । यति बेला यो नारा दिनु भनेको आन्दोलनलाई यथास्थितिवाद र सत्ताधारीहरूको पोल्टामा विसर्जन गर्ने चिन्तनप्रवृत्ति मात्र हो, अन्देलनप्रतिको थकान हो ।  यस किसिमको प्रवृत्तिलाई अहिले  सुनको बाला लिएको बुढो बाघले लोभी बाहुनलाई लोभ्याएझैँ संसदवादमा पतन भएर नव–प्रतिक्रियावादको अभ्यास गरिरहेकाहरूले उत्साहित र प्रोत्साहित गरिरहेका छन् । यो खतरनाक प्रवृत्ति हो भन्ने कुरामा प्रस्ट मात्र    हुने होइन, क्रान्तिकारीहरू चनाखो पनि हुनुपर्छ ।
 
अर्को प्रवृत्ति पहिचानवादमा आधारित जातीयतावादी अतिवादी प्रवृत्ति हो । जातीयतावादी अतिवादको सम्बन्ध  पहिचानवादसित छ । पहिचानप्रति विमति छैन र हुनु हुँदैन, तर जब पहिचानको चिन्तन पहिचानवादमा फस्छ, यसले सबै कुरा भताभुङ्ग पार्छ ।  यसले पहिचानवादलाई प्रधान ठान्दछ र अरू कुराको निषेध गर्छ । यसलाई ‘आइडेन्टिटी पोलिटिक्स’ का रूपमा व्याख्या गर्ने गरिएको छ  । यो भनेको मार्क्सवादको अन्त्य भयो भन्दै यसका आधारभूत प्रश्न, आर्थिक-राजनीतिक अन्तर्विरोध, वर्ग, वर्गसङ्घर्ष सर्वहारा अधिनायकत्व,  निजी सम्पतिको अन्त्य, सांस्कृतिक क्रान्ति र क्रान्तिकारी रूपान्तरणलाई जोड दिने मार्क्सवादका आधारभूत मान्यताको आलोचना गर्ने र वर्गसमन्वय र जुनुसकै वर्गको भए पनि पहिचानवादी समन्वयमा जोड दिने ‘उत्तर-मार्क्सवादी’ धारणामा आधारित मान्यता हो, (उत्तर-मार्क्सवादी विभ्रम र पहिचानवादी वितण्डा बारेको जानकारीका लागि हेर्नुहोस् ऋषिराज बरालको पुस्तक  सार्वभौम माओवाद र उत्तर-मार्क्सवादी विभ्रम ।) पहिचानवादमा अधारित जातीयतावादी अतिवादले, मार्क्सवादले सबै उत्पीडित वर्ग र समुदायको पक्षमा आफूलाई उभ्याउँछ र वर्गीय मुक्तिसँगै सबै  थरी उत्पीडन जातीय, क्षेत्रीय र लैङ्गिक उत्पीडनबाट मुक्त गराउँछ भन्ने मार्क्सवादका आधारभूत मूल्य र मान्यताप्रति विमति जनाउने मात्र नभएर विरोध नै गर्छ ।

प्रचण्ड समूहबाट विद्रोह गरेपछिको नेकपा-माओवादीको सातौँ महाधिवेशनको विधान मस्यौदा कमिटीको संयोजक देव गुरुङ थिए । संसदवादी राजनीतिमा पसेर ‘ककस र फकस’ मा रमाउने र युरोप सयर गर्ने बानी परेपछि उनमा पनि पहिचानवादको निकै चस्का लागेको थियो । उनले पार्टी विधानमै वर्गीय र जातीय प्रश्न समान हुन् र तलदेखि माथिसम्म यसको पालना हुने गरी सङ्गठन निर्माण गर्नुपर्ने प्रावधान राखेपछि जिल्ला सम्मेलनदेखि महाधिवेशनसम्म यसको विरोध भएको थियो र यो प्रावधान हटाइएको थियो । मालेमालाई मान्ने हो भने पार्टी त वर्गको हुन्छ । कम्युनिस्ट पार्टी वर्गीय मूल्यमा आधारित हुन्छ । अहिले भिजेको बिरालो जस्ता भएर प्रचण्डका पछिपछि म्याउँम्याउँ गर्दै हिँडेका भए पनि सातौँ महाधिवेशनताका देव गुरूङ र सुरेश आलेहरूको अर्कै चुरी-फुरी  थियो । प्रचण्डसँगै हुँदा संसदीय समितिमा त्यतिबेर देव गुरुङले सरिता गिरीले राखेको प्रस्ताव नेपालको नाम, झण्डा सबै फेर्नुपर्ने कुरा प्रति समर्थन जनाएका थिए :  (हेर्नुहोस् मार्क्सवाद र परिचयको राजनीतिमा सङ्कलित ऋषिराज बरालको आलेख 'तराई, मातृभाषा र कथित आन्तरिक उपनिवेश' ) । 

अहिलेको नेकपा (क्रान्तिकारी माओवादी), त्यतिबेरको नेकपा-माओवादी मा 'मार्क्सवाद कि पहिचानवाद' भन्ने मुद्धामा निकै बहसछलफल चलेको थियो । बौद्धिक क्षेत्र र पार्टीका केही क्रान्तिकारी कमरेडहरूले यसलाई गम्भीर बहसछलफलको विषय बनाएका थिए ।  यो बहसलाई ऋषिराज बराल र नन्दीश अधिकारीसमेत सम्पादक रहेको पत्रिका ‘विकल्प’ ले जोडदार रूपमा उठाएको थियो । (हेर्नुहोस विकल्प अङ्क २ मा प्रकाशित ऋषिराज बरालको आलेख ''‘पहिचानवादको राजनीति’ मा अन्तर्निहित यथार्थ र माओवादी आन्दोलन' ) । देव गुरुङ र सुरेश आलेहरू टुकुचा प्रवाहमा मिसिन गए पनि त्यो भन्दा पनि घोर जातीयतावादीहरू, माओवाद र दसबर्से जनयुद्ध विरोधीहरू पार्टीमा भित्रिएको यथार्थ बडो पीडाका साथ नेकपा (क्रान्तिकारी माओवादी) कार्यकर्ताहरू सुनाउने गर्छन् । बारम्बार उनीहरू ५ वर्षअघि पोखरामा भएको राष्ट्रिय भेलाको पनि सम्झना गर्ने गर्छन् ।

यथार्थतः जबसम्म मिलेरावादी प्रवृत्ति र जातीयतावादी अतिवादी प्रवृत्तिहरू पार्टीहरूमा विद्यमान् रहन्छन्, अझ माथिल्लो तहमै हाबी हुन्छन्, खास पार्टीले मालेमा, नयाँ जनवादी क्रान्ति, सशस्त्र सङ्घर्ष र वैज्ञानिक समाजवाद जे-जे भने पनि ती पार्टीले क्रान्तिकारी दिशा र गति लिन सक्तैनन् । ती गोलचक्करमै रहन्छन्, अथवा बैठकदेखि बैठकसम्म र विमर्शदेखि विमर्शसम्म सीमित रहन्छन् । र यसको अन्तिम परिणति भनेको विघटन र विसर्जन हो । संशोधनवादले मिलेरावादी प्रवृत्ति बोकेकालाई सदैव उत्साहित र प्रोत्साहित गरिरहन्छ, आकासपाताल जोडेर नजिक ल्याउँन, आफ्नो बनाउँन खोजिरहन्छ   । अनि क्रान्तिकारी पार्टीभित्र छिद्र खोज्दै साम्राज्यवादले पहिचानवादी जातीयतावादलाई मलजल प्रदान गर्छ, आवेग र पहिचानवादको राजनीतिमार्फत क्रान्तिकारी धारलाई मिहिन पाराले सिथिल पारेर  विर्सजन र भद्रगोलको स्थितिमा पुर्याउँछ । हामीले यसलाई व्यवहारमा  पनि देखिरहेका छौँ । गलत प्रवृत्तिहरूलाई साथै लिएर र फोहोरमैलासित सम्झौता गरेर भएका पार्टी एकताहरू दिगो र कामकाजी हुन सक्तैनन्, भएका छैनन् । यो तथ्यहरूबाट पत्ता लगाएको सत्य हो । यो हाम्रै इतिहास हो । 
बेलाबेलामा अमुकअमुक पार्टीका कमरेडहरूले अफ्ना पार्टीको भताभुङ र लथालिङ्गको स्थितिप्रति चिन्ता जाहेर गर्ने गरेको पाइन्छ ।   यसको सही उपाय भनेको फोहोरमैलाको पहिचान र सरसफाइ नै हो । पार्टीलाई सही दिशातिर लैजाने प्रारम्भिक पाइला भनेको वैचारिक र सङ्गठनात्मक शुद्धीकरण नै हो । डुङ्डुङ्ती गन्हाउने फोहोरमाथि अत्तर छरेर हुनेवाला छैन । यसले धान्नेवाला छैन,  तलदेखि माथिसम्म दुर्गन्धित छ भने सानोतिनो सरसफाइले पुग्ने स्थिति हुँदैन । वैचारिक र सङ्गठनात्मक शुद्धीकरणको स्थिति नबने के गर्ने भन्ने प्रश्न पनि छ ।  'बुढा' मार्क्सले सिकाउनु भएको र महान् लेनिन र माओले व्यवहारमा देखाउनु भएको सत्यतथ्य हो— ''विद्रोह गर्नु सही छ ।” 

पात्रहरू भित्रिनु  भनेको  व्यक्ति मात्र  होइन, प्रवृत्ति पनि  भित्रिनु हो । नेकपा-माओवादीबाट विप्लव जत्था पलायनपछि र ऋषिराज बरालहरू बाहिरिन बाध्य भएपछि एउटा गजबको जमात भित्रियो त्यहाँ । हिजो जनयुद्धको समयमा विद्यार्थी नेता विपिन भण्डारी पक्राउ गराउने र काठमाडौँ  जिल्ला पार्टीका कमरेडहरू पक्राउ गराउने भनेर भौतिक कारबाहीको सूचीमा परेका व्यक्ति एकताका नाममा पोलिटब्युरो 'कमरेड’ बनेर पार्टीमा  भित्रिँदा त्यतिबेर पक्राउ पर्नै कमरेडलाई कस्तो पीडा भयो होला ?  यथार्थतः यताका दिनमा भएका कतिपय  एकता पीडाका माध्यम बनेका छन् ।  

संसोधनवादीहरू अनेक भ्रम दिइरहेका छन्, केन्द्र बनाउने नाममा अर्को खतरनाक भ्रम दिइरहेका छन् र साम्राज्यवादीहरू इन्डोनेसियाको जस्तो नभएर घुमाउरो बाटो लिइरहेका छन्, संसदबाटै सबै कुरा भ्याउन खोजिरहेका छन् । एमसिसीका नाममा सादा पोसाकमा अमिरकी सेना भित्रिएकै छन् । अहिलेको संसदीय संरचनाले पनि धेरै कुराको सङ्केत गर्छ । 

समयले क्रान्तिकारीहरूबीच वैचारिक र राजनीतिक सही बुझाइका साथ एउटा  दरिलो मोर्चा—क्रान्तिकारी पार्टी  निर्माण गर्नुपर्ने आवश्यकता उत्पन्न गरेको छ । सैद्धान्तिक तहमा विमति नरहे पनि व्यावहरिक  पक्ष त्यति सहज छैन । ‘फेबिकोल’, त्यो पनि नक्कली फेबिकोलले दुईचार दिन धान्ला, फूट र विघटनको इतिहास टर्न सक्ने स्थिति छैन ।  किन भने प्रचण्डसितको विभाजनपछिको समग्र स्थिति हाम्रा सामु छ । कमरेड किरणको नेतृत्वले पनि दस वर्ष पार गरिसकेको छ र नेकपा (बहुमत) ले त कुन बाटो हिँड्ने भनेर मेसो नै नपाएको जस्तो स्थिति छ । यस्ते बेला सन्तबहादुर नेपालीको नेतृत्वमा रहेको नेकपा (मशाल) सितको  एकताले लिने रूपका बारेमा अहिले नै भन्न सकिने स्थिति छैन । यो त पराइकै स्थितिमा छ, योसित वैचारिक र भावनात्मक एकता र आफन्तपनको विकास हुन धेरै समय लाग्छ ।  भावनात्मक एकता र आफन्तपनको विकास नहुनु भनेको गुटबन्दीका लागि ठाउँ खाली हुनु हो । 

मेरो बुझाइमा समय समीक्षा र संश्लेषणको छ र यसले व्यापक बहसछलफल र   अन्तर्क्रियाको माग गर्दछ । वक्तव्य दिएर गरिने एकताको अह्वान झारा टराइ मात्र हो ।  एकता सम्बन्धमा 'रेडिमेड' तयारीसित 'रेडिमेड' फूट पनि मिसिएर आएको हुँदो रहेछ भन्ने यथार्थ पनि हाम्रै भोगाइ हो ।  वास्तवमा यो कुन स्कुलिङमा ढालिएर अघि बढ्ने भन्ने प्रश्न हो ।

यस्तो बेला गम्भीर भएर सोच्नुपर्ने अवस्था छ । हाम्रा सामु एउटा पेचिलो प्रश्न उभिएको छ— विसर्जन कि क्रान्तिकारी पुनर्गठन ? सबैले चिन्ता र चिन्तन गर्नुपर्ने  यसैमा छ । के हामी तयार छौँ क्रान्तिकारी पुनर्गठनका लागि ? स्थिति कस्तो छ भने प्रतिक्रियावादी सत्ताले एउटा मुद्दा दिन्छ र क्रान्तिकारीहरूलाई खेलाइरहन्छ । यो नै अस्तित्व धान्ने मेलो भएको छ । सङ्घर्षका मोर्चाहरू लथालिङ्ग छन् । समस्या 'तल' छन्, तर त्योभन्दा जटिल समस्या 'माथि' छन् । दुवै पार्टी, नेकपा (क्रान्तिकारी माओवादी) र  नेकपा (बहुमत) का इमानदार कार्यकर्ताहरू नै भन्ने गर्छन् :    ''सिङगो पार्टीका नेता हौँ भन्छन्, 'यस म्यानहरू’ को एउटा सानो झुन्डमा रमाइरहेका हुन्छन् । यस्तो स्थितिमा पार्टीले कसरी गति लिन्छ ।"

टिप्पणी गर्नुपर्ने थुप्रै विषय छन् तापनि यतिखेरको पहिलो आवश्यकता चाहिँ हिजो जनयुद्ध लडेका र अहिले क्रान्तिकारी धारको पक्षमा रहेका पार्टी, समूह र व्यक्तिहरूबीच आन्दोलनलाई कसरी नयाँ दिशा र गति दिने भन्ने विषयमा गहन विचार विमर्श हो । यसले आधारभूत  पक्षहरूको   टुंगो लगाएर  एकताको खाका तयार पारेपछि , यसमा सहमत हुने सबैलाई समेट्ने हो । यसका लागि पनि अत्मसमीक्षा सहितको व्यापक वैचारिक र राजनीतिक बहसछलफलको अवश्यकता छ । यो साझा चिन्ता हुनुपर्छ । विडम्बनाको विषय के छ भने यसमा गम्भीरताको सर्वथा अभाव देखिएको छ ।
००० 

भिडियो फिचरview all