menu

ताजा समाचार

एकता र ध्रुवीकरणका मौसमी कुरा

ऋषिराज बराल
माओवादको भ्रष्टीकरण गर्दै र आफूलाई माओवादी केन्दको नेता भन्दै आन्दोलनलाई बदनाम पार्दै आएको प्रचण्डको नव-प्रतिक्रियावादी गिरोहले पार्टीको नाम फेर्ने भनेर आएको समाचारले माओवाद र माओेवादी आन्दोलनप्रति आस्था राख्ने आम उत्पीडित जनता र इमानदार नेता-कार्यकर्ताहरूले केही मात्रामा भए पनि खुसी महसुस गरेका छन् । एकताको कुरा गर्दै प्रचण्ड गिरोह विभिन्न समूह र झुन्डहरूसित खुला र गोप्य  किसिमले वार्ता चलाइरहेको कुरा पनि समाचारमा आएका छन् ।  क्रान्तिकारी आन्दोलनबाट भागेका, तर अझै क्रान्तिको शब्दजालमार्फत भ्रम दिइरहेका फोहरमैलाहरूका लागि यो सुनौलो अवसर बनेको छ । यसले क्रान्तिकारीहरू र नव-प्रतिक्रियावादीहरू बीचको कित्ता प्रस्ट हुने स्थिति पनि बनेको छ र, यो पनि खुसीको कुरा हो  ।  ‘भेडा भेडासित बाख्रा बाखासित’ ले विचारबाट पलायन भएका तर, आवेग, उत्तेजना, युवा, बुढाजस्ता शब्दभ्रम र आर्थिक उत्प्रेरणाका आधारमा ‘पार्टी’ चलाइरहेकाहरूको स्थिति पनि प्रस्ट हुँदै गएको छ र अझ हुनेछ  ।

संशोधनवादीहरूको अनेक भ्रम र साम्राज्यवादी शक्ति र तिनका मतियारहरूको अनेक चाल र दमनका बाबजुद  मालेमाका पक्षधर क्रान्तिकारी पार्टी, व्यक्ति र समूहहरू चाहिँ अनेक भ्रम र अन्योलका बीच पनि नेपाली क्रान्तिलाई कसरी अघि बढाउने भन्नेमा चिन्ता र चिन्तन गरिरहेका छन् । नयाँ-पुराना प्रतिक्रियावादी शक्तिहरू क्रान्तिकारीहरूलाई वैचारिक र भौतिक किसिमले सिध्याउन मरिमेटेर लाग्दा पनि नेपालमा क्रान्तिकारीहरू निरन्तर सङ्घर्षरत छन् । विगतमा माओवादी आन्दोलनको नेतृत्वमा रहेकाहरूले साम्राज्यवादीहरूका सामु आत्मसमर्पण गरे पनि, चारैतिर भ्रम र उपभोक्तावादी रमझमको  बेला सानै स्तरमा भए पनि क्रान्तिकारी पार्टी, समूह र व्यक्तिहरू, नेपालमा क्रान्तिकारी माओवादीहरू छन्, ती अझै सङ्घर्षरत छन् भनेर सन्देश दिन सफल  भएका छन्, यो  खुसीको कुरा हो । यसले क्रान्तिकारी आशाको  वैचारिक-सैद्धान्तिक मियो अझै मरेको छैन र, क्रान्तिकारी इच्छाशक्ति र सचेतन पहलको आवश्यकता छ भन्ने कुराको द्योतन गर्दछ । प्रस्ट छ, आगो निभेको छैन र सबैका सपना मरेका छैनन् । 

स्थितिपरिस्थितिले अबको प्रमुख प्रयास सही अर्थको माओवादी केन्द्र निर्माण गर्नेमा केन्द्रित  हुनुपर्छ भन्ने यथार्थ प्रस्ट पार्छ । हामीले हिजोका दिनदेखि नै क्रान्तिकारी केन्द्र निर्माणको मुद्धा उठाइरहेका हौँ र छौँ ।  अब प्रस्टताका साथ अगाडि आउनु र कित्ता साफ हुनु आवश्यक छ । यो भनेको नयाँ मोर्चा समाल्नु हो । अब प्रचण्डले यसो गर्यो, उसो गर्यो  भन्ने कुरा रहेन । हामीले १० वर्षअघि नै प्रचण्डलाई ‘लाल गद्दार’ भनेर अघि बढेका हौँ । अब त्यसपछिका १० वर्ष हामीले के गर्यौं  भन्ने प्रश्न अहम् प्रश्न बनेर उभिन्छ/उभिएको छ । यो समीक्षाको पाटो हो  ।  हामीले रामबहादुर थापा ' बादल' लाई हेर्यौं, भोग्यौँ र नेत्रविक्रम चन्द ' विप्लव' को कुदाइ केमा र कता रहेछ भनेर पनि व्यवहारबाटै बुझ्यौँ/देख्यौं  । यी सबै रङ पोतिएका स्यालहरूको कथाका पात्रमा परिणत भएका छन् र  थप व्याख्या आवश्यक छैन । 

विप्लव समूहबाट  विद्रोह गरेर कमरेड कञ्चनको नेतृत्वमा नेकपा (बहुमत) निर्माण गरेर केही कमरेडहरूले  आफ्नो कित्ता प्रस्ट पार्नुभएको छ, यो स्वागत योग्य कुरा हो । र पनि, उहाँहरूका  दस्तावेज, अभिव्यक्ति र व्यवहार देख्दा उहाँहरूमा  वैधानिक राजनीतिक मोह आकर्षित हुन थालेको  पो  हो कि भनेर प्रश्न उठाउनु पर्ने स्थिति चाहिं बनेको  छ । नेपाली समाजको आधारभूत संरचनाप्रति अस्पष्टता, नेपाली क्रान्तिको स्वरूप र चरित्रप्रति भ्रमपूर्ण बुझाइ र कार्यदिशाको अस्पष्टता उहाँहरूमा देखा पर्दछ ।  अस्पष्टताले ओरालो र सजिलो बाटो खोज्ने र रोज्ने सम्भावना बढी हुन्छ । नेकपा (बहुमत) ले  समयमा सही बुझाइ लिन नसकेकमा टाउको एकातिर र बाँकी भाग एकातिर हुने, दिशाहीन भएर विसर्जनतिर जाने दुर्घटना निम्तिन सक्ने स्थितिलाई बल पुग्नु पनि स्वाभाविक हुन्छ । नेकपा (बहुमत) भित्र क्रान्तिकारी स्पिरिट भएका इमानदार कार्यकर्ताहरूको राम्रो उपस्थिति छ र त्यो शक्तिलाई सही दिशा दिनु पार्टी नेतृत्वको जिम्मेवारी हो । नेकपा (बहुमत) का कमरेडहरूलाई नमीठो लाग्न सक्छ, तर उहाँहरू थुप्रै कुरामा अन्योलमा हुनुहुन्छ । प्रस्ट भन्दा नेपाली क्रान्तिको स्वरूप र कार्यदिशाकै बारेमा अन्योलमा हुनुहुन्छ ।  यसबाट मुक्त हुनु आवश्यक छ । 

हामी दसबर्से जनयुद्ध लडेर आएको  वैचारिक र भौतिक शक्तिको उत्तराधिकारी र्हौँ र हामीले त्यही आदर्श र मूल्यलाई आत्मसात गर्नुपर्छ भन्ने कुराप्रति हामी प्रस्ट र इमानदार हुनुपर्छ । अवश्य पनि अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्थितिमा केही फेरबदल आएको छ । साम्राज्यवादको चरित्र फेरिएको छ, एकल  साम्राज्यवादको स्थिति छैन, तर लेनिनले अघि सार्नुभएको चरित्रबाट साम्राज्यवादको चरित्र आधारभूत रूपमा फेरिएको छैन । घरेलु स्थिति पनि त्यही हो । नेपाली समाजमा हिजोभन्दा आज पुँजीवादको विकास भएको छ र यो दलाल चरित्रको छ ।  साथै यसले गुणात्मक सवरूप चाहिँ लिइसकेको अवस्था होइन र छैन । नेपाली समाजले सामन्ती आर्थिक र सांस्कृतिक सम्बन्धमा गुणात्मक फेरबदलको आकार ग्रहण गरिसकेको अवस्था होइन र छैन । ठ्याक्कै हिजोको जस्तो स्थिति नहोला, तर  सारतः नेपाली समाज अझै पनि  अर्धसामन्ती र अर्धऔपवनिवेशिक अवस्थामै छ । यस अर्थमा नेपाली क्रान्तिको न्युनतम क्रार्यक्रम नयाँ जनवादी हुने कुरा प्रस्ट छ । साथै माओले भन्नुभएझै नयाँ जनवादी क्रान्ति सम्पन्न भएपछि स्वतः यसले समाजवाद भनौँ वैज्ञानिक समाजवादको बाटो समात्नु  स्वाभाविक र अनिवार्य हुन्छ । हामी लिउ साओ-चिको बाटो होइन, पक्कै पनि माओले देखाएको बाटोमा हिँड्छौँ । यस अर्थमा सबैभन्दा पहिले हामी नेपाली क्रान्तिको स्वरूप र दिशाका बारेमा प्रंस्ट हुनु आवश्यक छ । यो नै हामीलाई एउटै  बाटोमा   हिंडाउने मूल आधार हो ।  
  
सही अर्थमै वैचारिक र व्यवहारको तहमा क्रान्तिकारी केन्द्रको निर्माण आजको आवश्यकता हो भन्ने यथार्थलाई  आत्मसात गर्ने हो भने यसतर्फ लम्किने बाटो भनेको क्रान्तिकारी पुनर्गठन नै हो ।  क्रान्तिकारी पुनर्गठनको आधारलाई यसरी प्रस्तुत गर्न सकिन्छ : 

१) मार्क्सवाद-लेनिनवाद-माओवादलाई नेपाली क्रान्तिको पथप्रदर्शक सिद्धान्त मान्नु, २) नयाँ जनवादी क्रान्तिलाई नेपाली क्रान्तिको न्यूनतम कार्यक्रम  मानेर वैचारिक राजनीतिक नीति-नेतृत्व र कार्यक्रम तय गर्नु, ३) यसका लागि  ‘क्रान्तिका तीन जादुगरी हतियार’ प्रतिको प्रतिबद्धतालाई व्यवहारमै लागू गर्नु, ४. क्रान्तिका तीन जादुगरी हतियारप्रतिको प्रतिबद्धता भनेपछि बाटो प्रस्ट छ–सशस्त्र सङ्घर्ष अर्थात् जनयुद्धको बाटो अवलम्बन गर्नु । (जनयुद्ध भनेको अहिले विप्लव समूह र नेकपा (बहुमत) ले भनेजस्तो  'जनताको युद्ध ' जनयुद्ध होइन, हरेक सङ्घर्ष र आन्दोलन जनयुद्धको मान्यताभित्र पपरिभाषित हुँदैनन्, यो भनेको माओवादी जनयुद्ध हो –यही नै नेपाली क्रान्तिको बाटो / कार्यदिशा हो ।  यो परिस्थिति अनुसार दीर्घकालीन पनि हुन सक्छ र अल्पकालीन पनि ।), ५ क्रान्तिकारी विचार, त्यसैअनुरूपको सङ्गठन (एकमा तीन+लाल र निपुण), विचारअनुसारको नेतृत्व, नीति र  कार्यक्रमहरूप्रति प्रतिबद्धता जाहेर गर्नु । 

यो काम एकताका नाममा जोडजाडबाट  हुने स्थिति छैन । यसका लागि क्रान्तिकारी पुनर्गठन एक मात्र बाटो हो ।  क्रान्तिकारी पुनर्गठन प्रक्रिया शुद्धीकरण पनि हो र  नयाँ किसिमको पुनर्गठन पनि हो । क्रान्तिकारी भनिएका सङ्ठनभित्र पनि फोहोरमैला हुन्छन् । अहिले आफूलाई क्रान्तिकारी भन्ने पार्टीहरूभित्र पनि फोहोरमैला जाम भयर बसेका छन् । यो पार्टी-जीवनको चरित्र हो । नत्र  दुई लाइन सङ्घर्षको धारणा  किन विकसित हुन्थ्यो र माओले पार्टी जीवन पनि मान्छेको जीवनजस्तै हो, फोहोर रगत फालेर नयाँ रक्त सञ्चार गराइरहनुपर्छ भनेर किन भन्नुहुन्थ्यो होला र ! यसबाट मुक्त हुने उपाय शुद्धीकरण अभियान हो र शुद्धीकरण अभियानको सबैभन्दा उच्च र वैज्ञानिक बाटो क्रान्तिकारी पुनर्गठन नै हो । हाम्रो आवश्यकता जमेको पोखरी होइन, छङ्छङी बग्ने याङ्त्से, (हाम्रो सन्दर्भमा कर्णाली)  हुनुपर्छ  । यसो नगर्ने हो भने एकता, ध्रुवीकरण, वार्ता आदिइत्यादि सन्दर्भ समय काट्ने मेलो मात्र हुन्छ । 

यो मोटामोटी किसिमले अघि सारिएको धारणा हो । सैद्धान्तिक-वैचारिक आधारभूत प्रश्नबाहेक अरू विषयमा बहसछलफल चलाएर अघि बढ्न सकिन्छ । अहिलेको आवश्यकता गम्भीर चिन्ता र चिन्तनको हो । एकता र ध्रुवीकरणका नाममा बहसका लागि बहस, वार्ताका लागि वार्तामा समय खेर फाल्नुको अर्थ छैन । यसले अन्ततः ढिलोचाँडो सबैलाई विसर्जनतर्फ प्रवृत्त गराउँछ । क्रान्तिकारीहरूलाई सिध्याउन साम्राज्यवादी र विस्तारवादी शक्तिहरू मात्र होइन,  मुलुकभित्रकै संशोधनवादीहरू र नयाँ- पुराना प्रतिक्रियावादीहरू गौँडागौँडामा कुरेर र ढुकेर बसेका छन् भन्ने यथार्थलाई हामी क्रान्तिकारी भनिएका सबैले आत्मसात गर्नु जरूरी छ । र यसै आत्मसातीकरणका आधारमा अगाडिको बाटो तय गर्नु नै वैज्ञानिक बुझाइ हुन्छ ।

भिडियो फिचरview all