menu

ताजा समाचार

हाम्रो बारेमा

हामी  खबरदारी गरिरहन्छौँ :  janamel.com

कुनै न कुनै किसिमले हिजोका दिनदेखि माओवादी आन्दोलनसित गाँसिएका हामी केही बुद्धिजीवीहरू, खास गरेर  नेपालको माओवादी आन्दोलन विभिन्न किसिमको भडकाउमा परेर विसर्जनको दिशामा जान लाग्यो भनेर चिन्ता र चिन्तन गर्ने बौद्धिक–सांस्कृतिक कर्मीहरूले अक्टोबर २५ तारिख, रूसी अक्टोबर क्रान्तिको शतवार्षिकी सन्दर्भ पारेर नयाँ वेबसाइट आरम्भ गरेका छौँ । सरसरती हेर्दा नेपाली वेबसाइटहरूको सङ्ख्यामा हामीले पनि एउटा सङ्ख्या थपेका छौँ ।
 
कसैले पनि बिना उद्देश्य प्रकाशनको काम आरम्भ गर्दैन । जीवन र जगतलाई हेर्ने आआफ्नो विश्वदृष्टिकोण अनुसार मान्छेका विचार र बुझाइहरू निर्देर्शित र नियन्त्रित हुन्छन् । यी विचार र बुझाइहरू उसको व्यवहार र जीवनशैलीमा प्रतिबिम्बित हुन्छन् । उद्देश्य निर्माणको आधार यही नै हो ।
 
वेबसाइटको नाम सरल, छोटो र मीठो, अलि नयाँ र हाम्रो उद्देश्यभावलाई समेटेको होस् भन्ने रह्यो । यसका लागि धेरै नामहरूको  सूची बनायौँ । तर जलमाफियाहरूले सबै खोला र नदीका लाइसेन्स झोलामा कब्जा गरेझैँ वेबसाइटका नाम पनि झोलामा कैद गरिँदा रहेछन् ।  'जन' शब्द हामी कम्युनिस्ट भनिनेहरूलाई निकै प्यारो लाग्दो रहेछ, भिन्नै भाव छ यसमा । जमिनदारहरूको कब्जाबाहिरबाट नाम खोज्दा ‘जनमेल’ पदावलीले हामीले भन्न खोजेको कुरालाई प्रतिबिम्बित गर्छ भन्ने हामीलाई लाग्यो । ‘मेल’ को अर्थ जनतासितको सम्बन्ध पनि हो, जनतासितको मेल अर्थात् ‘जनमेल’  र मेलको अर्थ सञ्चार पनि हो—अर्थात् जनसञ्चार । नेपाली भाषामाथि आक्रमण नगरिएका नेपाली शब्दकोशहरूले यसै भन्दा रहेछन् । र हामीले हाम्रो वेबसाइटलाई  janamel.com का नाममा सूचीकृत गर्यौं ।

हामी यसो गर्छौँ र उसो गर्छौँ भनेर ठूलठूला गफ हाँक्तैनौँ । ‘भिवर्स’  बढाउने नाममा नाङ्गा फोटा र  उत्तेजना फैलाउने खालका कुनै सामग्री प्रकाशन गर्दैनौँ  । चर्चामा आउन अनेक स्टन्टबाजी पनि हामी गर्दैनौँ । बदला र प्रतिशोध भावले आक्रान्त भएर मनशान्ति पार्ने नाममा गालीगलौज र व्यक्तिगत चरित्र हत्या गर्ने परिपाटीमा पनि हाम्रो विश्वास छैन । हामी तर्क, विवेक, चेतना  र बहस छलफलमा विश्वास गर्छौँ र यसलाई प्रोत्साहित पनि गर्छौँ । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा के भइरहेको छ र नेपाली जनता वर्गीय मुक्ति र राष्ट्रिय स्वाधीनतको पक्षमा कसरी लडिरहेका छन् भन्ने किसिमका सामग्रीहरूको प्रकाशनमा हाम्रो मूल जोड रहनेछ । विचार संवहनका महत्त्वपूर्ण माध्यम साहित्यकलाप्रति पनि हाम्रो त्यत्तिके चासो  छ ।
 
हामी प्रस्टताका साथ भन्छौँ—हामी मालेमावादी हौँ । विचार जब मान्छेको मनमस्तिष्कमा पुग्छ, त्यो भौतिक शक्तिमा फेरिन्छ भन्ने कुरामा हामी विश्वास गर्छौँ । हामी, विद्वानहरूले विविध कसिमले यस विश्वको व्याख्या गरेका छन्, प्रमुख कुरा यसलाई फेर्नु हो भन्ने कुरामा विश्वास गर्छौँ । हामी जनता, केवल जनता नै इतिहासका निर्माता हुन् भन्ने कुराप्रति प्रतिबद्ध छौँ । यो मुलुकको राष्ट्रिय स्वाधीनता र जनतन्त्र     प्राप्तिमा समर्पित नेपाली जनताको बलिदानको  महान् इतिहास र गौरवशाली विगतप्रति हामी गौरवान्वित छौँ। यस अर्थमा janamel.com राष्टिय स्वाधीनता र जनतन्त्रप्रति समर्पित छ ।

मालेमाले निर्देशित गरेको बाटो नै नेपाली जनताको मुक्तिको बाटो हो । परन्तु यताका दिनमा माओवादी आन्दोलनमा जेजस्ता परिदृश्यहरू देखिएका छन्, यसले थुप्रैथुप्रै प्रश्नहरू उठाएको छ । एकातिर राष्ट्रिय स्वाधीनता र मुलुकको भविष्य गम्भीर चिन्ताको विषय बनेको छ, अर्कोतिर वर्षौँदेखि नेपाली जनताले लड्दै आएको वर्गीय मुक्ति आन्दोलन अस्तव्यस्त र दिशाहीनताको स्थितिमा पुगेको छ । यसले तपाईँ–हामीलाई चिन्तित तुल्याउनु स्वाभाविक छ  । janamel.com यही चिन्ता र चिन्तनमा जनतासित सामेल हुन चाहन्छ र सही विचार सम्प्रेषण (मेल)  गर्न चाहन्छ  । अमुक भन्दा अमुक ठीक भनेर सापेक्षतामा हेर्न र बुझ्न सकिए पनि यतिबेर नेपालका कुनै पनि माओवादी पार्टीले सही अर्थमा माओवादी आन्दोलनको दिशा समात्न सकेको छैन । यस अर्थमा हामी यिनको आलोचना  गर्छौँ, साथै यिनले सही दिशा समातून् भनेर कामना पनि गर्छौँ । खास गरेर मालेमाको आलोकमा नेपाली जनताले चलाएको वर्गसङ्घर्षको उच्चतम् रूपबाट मात्र नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न सकिन्छ भन्ने यथार्थप्रति प्रतिबद्ध भएकाहरू नै हाम्रा नजिकका मित्रहरू हुन् । यसै अर्थमा  हामी खबरदारी गरिरहन्छौं ।

janamel.com ले सचेतकको भूमिका खेल्छ  । हाम्रो यस अभियानमा मार्क्सवादी बुद्धिजीवी  साथीहरू,  राष्ट्रिय स्वाधीनताका पहरेदारहरू तथा मुक्तिकामी जनताको साथ रहनेछ भन्ने कामनाका साथ हामीले हाम्रो यात्रा आरम्भ गरेका हौँ ।

कात्तिक ९, २०७३, अक्टोबर २५, २०१६

भिडियो फिचरview all