menu

ताजा समाचार

माओ दिवस र एकताको ‘लुर्को'

आज विश्वभारिका माओवादी क्रान्तिकारीहरू माओको सम्झना गरिरहेका छन् । नेपालमा पनि पत्रपत्रिका, अनलाइन र फेसबुकमा माओ दिवसका सन्दर्भहरू चलेका छन् । पार्टी एकताको सन्दर्भ चलेका समूहहरूबीच  संयुक्त  कार्यक्रम हुने भनेर समाचार आएका छन् । यसलाई तीन पार्टी मात्र होइन माओवादका पक्षधर पार्टी, समूह र व्यक्ति र व्यक्तित्वहरूको साझा कार्यक्रम बनाउन सकिन्थ्यो । यसले भिन्नै भाव र अर्थ राख्दथ्यो । यसो हुन नसके पनि जो–जो जोडिन सके, त्यसलाई सकारात्मक नै मान्नु पर्दछ । 

माओ दिवसका सन्दर्भमा हुने र गरिने कार्यक्रमले नयाँ उत्साह र उदात्तता प्रदान गरोस् भन्ने चाहनु स्वाभाविक हुन्छ । यतिबेर दृढ इच्छाशक्ति, क्रान्तिकारी उत्साह र आशावादिताको आवश्यकता छ । ‘दुई पार्टी एकता-संयोजन समिति’ ‘तीन पार्टी एकता-संयोजन समिति’ मा फेरियोस् र व्यक्ति र व्यक्तित्वहरूसमेत समाविष्ट साझा संयोजन समिति बनोस् भन्ने चाहना राख्नेहरूलाई उत्साहित पारोस् भनेर सोच्नु अन्यथा होइन । यथार्थ के हो पछि प्रस्ट होला, तर “व्यक्ति र व्यक्तित्वहरू” को त कुरै नगरौँ, शन्तबहादुर नेपालीको नेतृत्वमा रहेको नेकपा (मशाल) विसर्जनको स्थितिमा रहेको मोहनविक्रम समूहलाई गलाउने र  एकै ठाउँमा रहने सन्दर्भसहित वार्तामा रहेको व्यहोरा पनि सडकमा छरिएका छन् ।  र पनि कार्यगत एकताको सन्दर्भ चाहिँ जीवितै रहेको छ । 

प्रचण्डले दक्षिणपन्थीहरू, पलायन भएकाहरू सबैलाई जम्मा पारेर ‘माओवादी केन्द्र’ बनाएदेखि नै त्यतिबेरै ‘जनमेल’ ले क्रान्तिकारीहरूको केन्द्र बनाउनु पर्छ भनेर आवाज उठाइरहेको छ र पहल पनि गरेको हो । केही समस्या त नेकपा (क्रान्तिकारी-माओवादी) मा थिए, तर सबैभन्दा खराब चिन्तनप्रवृत्ति विप्लव समूहमा देखियो । ५ वर्षअघिको यो सन्दर्भ अब पुरानो भइसक्यो, “आफूहरू जनयुद्धको समयको २०५६ सालको स्थितिमा रहेको” भनेर भ्यागुते अहम्  प्रदर्शन गर्ने विप्लव समूह अस्तित्वसङ्कटले छटपटिइरहेको  स्थिति छ । त्यहाँबाट विद्रोह गरेर कमरेड कञ्चनको नेतृत्वमा नेकपा (बहुमत) अस्तित्वमा आाइसकेको छ ।  विद्रोहका पछाडि रहेका विवाद र सन्दर्भमा जानु आवश्यक छैन । र पनि विद्रोहका पछाडि वैचारिक प्रश्नभन्दा आर्थिक पक्ष मूल कारक बनेको हो कि भन्ने कुराबाट यो टिप्पणीकार मुक्त हुन सकेको छैन । साथै ‘विद्रोही समूह’ वैचारिक, राजनीतिक र सङ्गठनात्मक तह र विश्व कम्युनिस्ट आन्दोलन सम्बन्धी बुझाइमा विप्लव समूहको विरासतबाट मुक्त हुन सकेको छैन भन्ने पनि ‘जनमेल’ को बुझाइ छ ।  र पनि वैचारिक र साङ्गठनिक विषयमा आधारभूत पक्षमा सहमत कायम गरी एकताबद्ध हुने प्रयास जसरी भइरहेको  छ, यो सकारात्मक छ र ‘जनमेल’ यसको स्वागत  गर्दछ । 

त्यतिबेर प्रचण्ड गिरोहबाट विद्रोह गरेर बाहिँरिदा सबै एउटै उद्देश्य, क्रान्तिकारी मूल र प्रतिबद्धताका साथ बाहिरिएका होइन रहेछन् भन्ने कुरा छिटै सतहमा आयो । सातौँ महाधिवेशनसम्म पुग्दा थुप्रै कुराहरू खुलेर आए । वैचारिक पक्षभन्दा सङ्गठन परिचालनका सम्बन्धमा केही समस्या थिए, यी समस्या पोखरा बैठकपछि झन् विस्तारित भए । बदलाभाव र एकले अर्कालाई निषेध गर्ने प्रवृत्ति झाँगिएपछि स्थिति झन् गडबडियो । केही समस्या यता भए पनि माओवादी आन्दोलन सिध्याउने साम्राज्यवादी-विस्तारवादी शक्तिद्वारा निर्देशित भएर र देशीय प्रतिक्रियावादी शक्तिको उक्साहटबाट उत्तौलिएर विप्लव एउटा झुन्डसहित झ्यालबाट  हामफालेर क्रान्ति अभियान होइन, आर्थिक जोहो गर्ने अभियानमा लागे । उनी करोडपति होइन, करोडौँपति भइसकेको कुरा पहिलेका सोही पार्टीका नेता कमरेड कञ्चनका शृङ्खलाबद्ध लेखबाट पनि प्रस्टिएको छ । विप्लव नयाँ-पुराना देशी-विदेशी शक्तिका गोटी बनेकै हुन भन्ने कुरा त उनले अघि सारेको “जनमत सङ्ग्रहबाट’ साम्यवाद ल्याउने आह्वानबाट नै प्रस्ट हुन्छ ।यस निर्णयलाई सही ठानेर ताली पिट्ने कमरेड कञ्चनहरूले यस विषयमा केही बोलेको नपाउनु चाहिँ विडम्बनाकै  विषय बनेको छ  ।
 
कमरेड किरणसित रहँदासम्म मन्त्री हुने र मोजमस्तीको जीवन बिताउने चाहना पूरा हुने नदेखेपछि त्यतिबेर सरकार बनाउन मधेसी मोर्चासित गरेको ‘चार बुँदे सहमतिलाई ऐतिहासिक भन्ने बादल-गुरूङहरू पनि भरिसक्के सिङ्गो पार्टीलाई संसदीय आहालमा डुबाउने, नसकै जेजति जान्छन् लिएर जाने जालझेल गर्दै अन्ततः प्रचण्डको शरणमा पुगे । आज बादल-गुरुङहरूको स्थिति के छ हामीले देखिरहेका छौँ । साथै विप्लव समूह र बादल-गुरुङहरूको पलायनपछि क्रान्तिकारी विचार र मूल्यप्रति प्रतिबद्ध कतिपय कमरेडहरू कमरेड किरणको नेतृत्वमा रहेको पार्टीबाट बाहिरन किन बाध्य भए भन्ने कुरा पनि प्रश्नचिन्ह बनेको छ । प्रस्टताका साथ भन्नु पर्छ, किरण कमरेडका पनि केही समस्या रहे र रहेका छन् । यी सबै कुराहरू समीक्षा र संश्लेषणका विषय हुन् । यहाँ समग्र स्थितिसहित आत्मसमीक्षाको खाँचो छ । यसले मात्र नयाँ किसिमको  ध्रुवीकरणका  लागि वातावरण बन्दछ । 

यो सबै इतिहास हाम्रा सामु छ । कतिपय कमरेडहरूसित चौथो महाधिवेशन देखिको, मशाल, एकताकेन्द्र र नेकपा, माओवादी, नेकपा (क्रान्तिकारी माओवादी) र कम्युनिस्ट न्युक्लिअससहितको इतिहास हामीसित छ । हिजोको जनयुद्ध आरम्भ गर्दाको शक्ति कोही नव–प्रतिक्रियावादमा पतन भएका छन्, कोही विसर्जनवादको अभ्यासमा छन् र कोही फेरिएको परिस्थितिमा नयाँ किसिमले  एकताबद्ध,  ध्रुवीकरण र पुनर्गठनको अभियानमा छन् र छौँ । यो सकारात्मक पक्षलाई केन्द्रमा राखेर इतिहासले दिएको जिम्मेवारी पूरा गर्नुपर्ने दायित्व नेपालका सही अर्थका माओवादीहरूका सामु छ । 

क्रान्तिकारी पुनर्गठन र धु्रवीकरण आजको आवश्यकता हो र यसमा सबैभन्दा पहिलो आवश्यकता र प्राथमिकता हिजो दसबर्से जनयुद्ध लडेका र अझै क्रान्तिकारी अभियानलाई अघि बढाउनुपर्छ भनेर क्रियाशील पार्टी, समूह र व्यक्ति र व्यक्तित्वहरूबीचको साझा समझदारी हो । मार्क्सवाद -लेनिनवाद-माओवाद, नयाँ जनवादी क्रान्ति, क्रान्तिका तीन जादुगरी हतियारप्रतिको प्रतिबद्धता र सशस्त्र सङ्घर्षको कार्यदिशाप्रति हाम्रो साझा अभिमत र समझदारी हुनुपर्छ । सशस्त्र सङ्घषको स्वरूप के र कस्तो हुने विषय छलफलको विषय हुन सक्छ र हुनु  पनि पर्छ । ‘जनमेल’ सशस्त्र सङ्घर्षको स्वरूप माओवादी जनयुद्ध हो भन्छ र यो दीर्घकालीन हुने वा अल्पकालीन हुने भन्ने कुरा आत्मगत र वस्तुगत स्थितिका साथै अन्तर्राष्ट्रिय परिस्थितिले पनि निर्धारण गर्छ भन्दछ । सारतः यो नेपालजस्तो अर्धसामन्ती र , अर्धऔपनिवेशिक/नव–औपनिवेशिक मुलुकका सन्दर्भमा  जनयुद्धको चरित्र र स्वरूप दीघैकालीन नै हुन्छ । माओवादी जनयुद्ध निश्चित मूल्यमान्यता र विधि र वैज्ञानिकतामा आधारित युद्ध हो । विप्लव समूहले भनेझैं  वा नेकपा (बहुमत) ले भनेझैँ हरेक सङ्घर्ष जनयुद्ध होइन र वर्गसङ्घर्षको हरेक स्वरूपले  माओवादी जनयुद्धको मूल्य र विधिलाई समेटदैन/समेटन सक्तैन  । भ्रममा रहेका कमरेडहरू यसबाट मुक्त हुनुपर्छ । साथै नेपाली समाजको स्वरूप र नयाँ जनवादी क्रान्तिका सम्बन्धमा रहेको त्रुटिपूर्ण बुझाइबाट पनि मुक्त हुनु आवश्यक छ । 

नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न भएको छैन । नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै समाजवाद र साम्यवादसम्म पुग्ने हो । समाजवादका नाममा भ्रम दिन सक्छन् भनेर क्रान्तिकारीहरूले भनेको समाजवाद  वैज्ञानिक समाजवाद हो है भनेर कम्युनिस्ट घोषणपत्र सँगसँगै खास गरेर एगेल्सले विस्तृत रूपमा व्याख्या गर्नुभयो । माओले नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर लगत्तै समाजवादमा जानुपर्छ भन्नु भयो । अझ ‘नयाँ जनवादी क्रान्तिले स्वतः हामीलाई समाजवादतर्फ लैजान्छ’ भनेर  प्रस्ट पार्नुभयो । नयाँ जनवादी क्रान्ति सम्पन्न गरेपछि लिउ साओ–चि ले समाजवादमा जान ५० वर्ष पनि लाग्न सक्छ भनेर समाजवादलाई ‘उत्पादक शक्तिको सिद्धान्त’ लम्ब्याएर अनिश्चयवादमा फसाउन समाजवाद  पछिको कुरा हो भनेर भाषण गर्दै हिँडेपछि माओले  सन्, १९५० देखि नै समाजवादी समाजका लागि सङ्घर्षको थालनी गर्नुभयो र १९५२ मा पञ्चवर्षीय योजना लागू गर्नुभयो । उहाँले थालनी गरेको समाजवाद वैज्ञानिक समाज थियो । तर पदावलीका रूपमा ‘वैज्ञानिक समाजवाद’ भनेर भन्नु आवश्यक ठान्नु भएन । क्रान्तिकारीहरूले समाजवाद भन्नुको अर्थ वैज्ञानिक समाज नै हो । 

नारायण काजी प्रवृत्तिले “हाम्रो पार्टी पहिचान, अस्तित्व”भन्दै एकताका नाममा बखेडा निकालेझैँ बखेडा निकाल्नुको अर्थ छैन । हाम्रो बहस मूलत: कार्यदिशाको प्रश्नमा    हुनुपर्छ ।    विसर्जवादी विप्लव समूहको विरासत बोकेर “नयाँ जनवाद-वैज्ञानिक समाजवाद’ भनेर ‘लुर्को’ झुन्ड्याउनुको पनि अर्थ छैन । “नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवादमा जाने ” भन्ने हो भनेर चित्त बुझाउने हो भने के हामी जाने वैज्ञानिक समाजवादमा मात्रै हो । हामी त साम्यवादसम्म जाने हो ।  “नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवाद हुँदै साम्यवादसम्म जाने” भन्ने कुरा प्रस्ट छ । क्रन्तिप्रतिको प्रतिबद्धता हो भने वैचारिक र साङ्गठनिक प्रश्नमा नारायणकाजी प्रवृत्ति दोहोर्उयानुको अर्थ छैन । 

त्यतिबेर आफू अल्पमतमा परेपछि पार्टीको क्रान्तिकारी धारलाई कमजोर पार्न, क्रान्तिकारीहरूलाई अल्पमतमा पार्न प्रचण्डले नारायणकाजीलाई भित्र्याएपछि माओवादी पार्टी र आन्दोलन कमजोर भएको होइन र ? पहिले बाबुरामले दुख दिएकै थियो, काजीहरू थपिएपछि नयाँ समस्या पैदा भए ।  माओवादी पार्टीमा एरिया कमिटीमा पनि राख्न योग्य नठानिने/नठानिएका खालकालाई केन्द्रीय सदस्य बनाएर काजीले भित्र्याएपछि नै क्रान्तिकारीहरूमा वैचारिक, साङ्गठनिक र मनोवैज्ञानिक समस्या आएको यथार्थ हामी सबैले भोगेको कुरा हो । अब हुने र गरिने एकतामा वैचारिक र साङ्गठनिक पक्षमा घनीभूत छलफल नगरी एकता गरिए, यो दिगो त हुँदैन नै विसर्जनतर्फ दूत गतिमा गतिमान हुने सम्भावना पनि त्यत्तिकै छ । यसतर्फ पनि गम्भीरतापूर्व ध्यान दिनु आवश्यक छ ।  यसै अर्थमा क्रान्तिकारी पुनर्गठन भनिएको हो । अहिले हामी सबै सामूहिक अथवा एकल किसिमले माओलाई सम्झिरहेका छौँ । यो केवल मनाउनका लागि मनाउनु नभएर क्रान्तिकारी अभियानको नयाँ कडी बनोस् । 

मार्क्सवाद-लेनिनवाद-माओवाद जिन्दावाद ! नयाँ जनवादी क्रान्ति: जिन्दावाद ! माओ दिवसः जिन्दावाद ! क्रान्तिकारी पुनर्गठन अभियानलाई अघि बढाऔँ । 

 २६ डिसेम्बर, २०२२

भिडियो फिचरview all