menu

ताजा समाचार

भदौ २३-२४ को विध्वंसलाई बुझ्ने प्रश्न


ऋषिराज बराल    
जेन-जीका नाममा गत भदौँ २३/२४ मा भएको मुलुकव्यापी वितण्डा र विध्वंशका सम्बन्धमा  व्यक्तिदेखि लिएर राजनीतिक पार्टीहरूका थरीथरीका हेराइ र बुझाइ सतहमा आएका छन् ।  सामाजिक जीवनमा हुने घटना र परिस्थितिलाई हेर्ने र बुझ्ने विभिन्न किसिमका दृष्टिकोण हुने हुनाले आफ्नो बुझाइ, स्वार्थ र पक्षधरताका आधारमा तिनको व्याख्या र विश्लेषण हुनु स्वाभाविक हुन्छ । गत भदौँ २३/२४ को घटनासन्दर्भहरूलाई पनि त्यसैअनुरूप  हेर्नुपर्ने हुन्छ । कसैले यसलाई 'क्रान्ति' भनेका छन् , कसैले   'विष्फोट र विद्रोह ' कसैले 'वितण्डा , विध्वंस  र राष्ट्रद्रोह' भनेको र लेखेको पाइन्छ l सारमा ' विद्रोह ' भन्ने एउटा कित्तामा छन् र  'वितण्डा, विध्वंस   र राष्ट्रद्रोह' भन्नेहरू  एउटा कित्तामा छन्   ।

पहिलो कुरो, सुधारको कुरा गर्दा कस्तो खाले सुधार  खोजिएको थियो भन्ने प्रश्न हो ? सुधारका लागि  प्रस्तुत गरिएको खाका कस्तो थियो, त्यो प्रस्ट छैन । यथार्थत: खाका नै थिएन र छैन । कमरेड मोहनविक्रमले भन्नुभएझैँ जेन-जीद्वारा गरिएको भनिएको ‘आन्दोलन’ को खास एजेन्डा नै थिएन । को-को हुन्  जेन्जी भनेका, को हो आन्दोलनको संयोजक, टिममा को को थिए र के-कस्ता थिए भन्ने कुरा नै प्रस्ट थिएन र छैन,  माग पनि मान्छेपिच्छे अलग थिए  । निश्चित संगठनात्मक आधारमा सरकारसमक्ष माग पेस गरेको स्थिति पनि होइन  ।
  
 अहिलेको प्रधानमन्त्रीय ढाँचा वा राष्ट्रपतीय ढाँचा दुवै संसदीय व्यवस्थाभन्दा बाहिरका कुरा होइनन् ।  अझ नेपालजस्तो मुलुकमा राष्ट्रपतीय शासन झन् खतरनाक हुन्छ । सुशासनको कुरा भनिँदै आएका कुरा हुन् र हिजोका दिनदेखि भ्रष्टाचार विरोधी आन्दोलन भएकै र चलेकै हुन् ।   जहाँसम्म   विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने कुरा छ,  विदेशमा रहेका नेपाली भनेका अधिकांशत: दोहोरो नागरिकता लिएकाहरू हुन् । यस्तालाई भोटिङ अधिकार दिएर मुलुकको राजनीतिको निर्णायक बनाउन सकिँदैन र मिल्दैन ।  यो गम्भीर मुद्दा हो र यसको आवश्यकता र औचित्य प्रस्ट छैन र हचुवामा यस्तो निर्णय गर्नु पनि हुँदैन । माथि उल्लेखित कुराहरू  असन्तुष्टिका बुँदा हुन् सक्लान् –विद्रोहका कुरा होइनन् । यथार्थतः जेन-जी ‘आन्दोलन’ भनेर बाहिर देखाउने, आवरण दिने  कुरा मात्र थियो र भित्र अर्कै तयारी थियो । चरण- चरणका  प्रक्रिया  थिए त्यहाँ । पहिलो चरण, दोस्रो चरण भनेर पहिले नै चरणको तयारी थियो र सबै कुरा  योजनाबद्धतामा थिए भन्ने कुरा घटना परिदृश्यले प्रस्ट पार्दछन् । कोही सिठी बजाउन तयार भएर बसेको थियो, सरकारी नालायकीले उत्पन्न अशन्तुष्टीको  मौका हेरेर जेन–जीका नाममा विध्वंशका लागि सिठी बजाइएको थियो । यथार्थ यही हो ।  

खासमा अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको मिलेमतो, त्यसमा पनि अमेरिकी साम्राज्यवादसित सम्बद्ध 'अमेरिकी युथ काउन्सिल', 'बार्बरा फाउन्डेसन','फ्रि टिबेट अभियान' र 'समता फाउन्डेन' को तारतम्यमा  यो विध्वंशकारी परियोजनजलाई व्यावहारिक रूप दिइएको थियो । यसका आयोजकमा देखिने रक्षा बम, मिराज ढुङ्गाना लगायतकाहरू 'अमेरिकी युथ काउन्सिल' का सदस्य हुन् भन्ने कुरा पनि प्रकाशमा आइसकेको छ । यी सबै उसले भोलिको राज्य संचालनका  लागि तयार पारेका रिकुटेहरू  हुन्  । जेन-जीका  नाममा   उनीहरू बाहिर देखिने र भित्री रूपमा छाताको काम गर्दै आएको ‘बार्बरा फाउन्डेसन’ सम्बद्ध  ‘हामी नेपाल’ र 'फ्रि टिबेट अभियान' ले उपद्रो मच्चाउने योजना यसमा पहिले नै तय थियो भन्ने कुरा घटनाहरूले प्रस्ट पारेका छन् । यसका लागि विद्यार्थीहरूलाई “स्कुल युनिफर्ममा आउनु” भन्नु अर्को षड्यन्त्र थियो । यस्तो  परिस्थिति निर्माण गर्ने जसले पुलिस गोली चलाउन बाध्य होस् र “सरकारले स्कुले बच्चाहरूलाई गोली ठोकर मर्यो  भनेर"  उत्तेजना र आक्रोस फैलाउन सकियोस् । अनि त्यति बेला विध्वंश मच्चाउन सहज होस् भन्ने पूर्व तयारी थियो । 

सरकारले २३ गते २२ जनाको हत्या गर्यो  भनिएको छ। तर  जे-जस्तो किसिमले र जसरी गोली चल्यो, यो पनि विवादको विषय छ । गोलीको बारे  डाक्टरहरूको रिपोर्ट पनि बाहिर ल्याइएको छैन र नेपाल पुलिससित नभएको गोली चलाइएको भनिएको छ  । पुलिसले चलाएको गोलीले नभएर भीडमा घुसेका ‘हामी नेपाल’ र 'फ्रि टिबेट अभियान’ का सदस्यले ताकीताकी गोली चलाएको भनेर खुला  टिप्पणी हुने गरेको छ । वास्तवमा  उत्तेजना र आक्रोस उत्पन्न गरेर विध्वंशको परिस्थिति तयार पार्ने  पूर्व योजना थियो र गरियो त्यस्तै । अमेरिकी साम्राज्यवादले देशव्यापी विध्वंशका लागि उसका नेपालमा क्रियाशील सबै नेटवर्क संचालन गरेको यथार्थ प्रस्ट हुन्छ ।

यस अर्थमा यो कुनै मुद्दामा आधारित ‘आन्दोलन’ वा  ‘विद्रोह’ थिएन । यसको उद्देश्य सुधार पनि थिएन, जेन-जीको नाम अघि सारेर अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको मिलोमतोमा  मच्चाइएको वितण्डा र विध्वंश थियो, जसले मुलुकको आर्थिक पक्षलाई मात्र नभएर सार्वभौम सत्ता र स्वाधीनतामाथि नै प्रश्न उब्जायो । यसका साथै  कमरेड रोहितले भन्नुभएझै नेपाली सेना, त्यसमा पनि प्रधान सेनापतिको भूमिकामाथि पनि प्रश्न उठ्यो र नेपाली सेनाप्रति अविश्वासको बलियो आधार बन्यो र बनिरहेको छ । 


यसरी हेर्दा २३/२४ को वितण्डा र विध्वंश राष्ट्रिय स्वाधीनता र स्वभिमानप्रति खुला चुनौती हो, र नकारात्मक शिक्षा हो । यसले विध्वंश र आंतक निर्माणका लागि साम्राज्यवादीहरूले आफ्ना संजालहरू   कसरी प्रयोग गर्दो रहेछन्  भन्ने शिक्षा दिएको छ र केही सामाजिक जीवनका विविध क्षेत्रमा  क्रियाशील केही   पात्रहरू सबैले चिनिने गरी सतहमा आएका छन् । यस अर्थमा २३ अलग र २४ अलग गरेर हेर्न र बुझ्न मिल्दैन । अझ मार्क्सवादप्रति प्रतिबद्धहरू, त्यसमा पनि क्रान्तिकारी परिवर्तनका लागि कियाशील पार्टी र व्यक्तिहरूले   ‘विद्रोह भन्नै मिल्दैन- साम्राज्यवादी–विस्तारवादी षड्यन्त्र भन्नुपर्छ  । निकर्षमा हामीले भन्नुपर्ने हुन्छ — भष्टाचार विरोधी आकर्षक नारामा जेन-जी नाममा युवाहरूलाई अघि सारेर भदौँ २३-२४मा मुलुकव्यापी जेजस्तो वितण्डा र विध्वंश मच्चाइयो, यो विद्रोह होइन, राष्ट्रद्रोह थियो र हो । 

यसका साथै यो विचार र वर्गचिन्तनका विरुद्ध साम्राज्यवादी योजनाबद्ध्ताको उपज पनि थियो  । सन १९७० को दशकदेखि नै ‘उत्तर-वादी’ (post-ist), मूलतः  उत्तर-आधुनिकतावादी प्रवृत्तिलाई अघि सारेर विचारको अन्त्य, वर्गको अन्त्य, प्रविधि र सूचना नै सबै थोक हो भनेर विकेंद्रण र विभाजनको दर्शन, विचार र राजनीतिलाई सामाजिक जीवनका विविध क्षेत्रमा प्रयोग गरेर अनेक भ्रम उत्पन्न गर्न थालियो । मार्क्सवादीहरूले यसका विरुद्ध निरन्तर वैचारिक सङ्घर्ष गरेपछि र वर्गसंघर्षको  राजनीतिक विरुद्ध  आफूले भनेजस्तो गरी काम नगरे पछि  साम्राज्यवादले  यो सित ‘पुस्ता राजनीति’ लाई अगाडि सारेर अन्तरध्वंशको राजनीति गर्न थाल्यो   । 

नेपालको सन्दर्भमा भन्नुपर्दा संसदीय र संशोधनवादी राजनीतिभित्र सुरु भएको  यो माहारोग  क्रान्तिकारी भनिने राजनीतिभित्र पनि पस्यो  । 'पुस्तान्तरण' र 'हस्तान्तरण'   जस्ता जार्गनयुक्त पदावलीलाई  विचारको ठाउँमा  स्थापित गर्न  थालियो l  यसलाई उसले विचारविहीन र  उपभोक्तावादी जमात तयार पार्ने  साधनका रूपमा प्रयोग गर्यो । माओवादी  क्षेत्रका उदाहरणहरू हाम्रा सामु छन् ।  चारैतिर नयाँ पुस्ता, युवा पुस्ताको होहल्लाका  बिच युवाहरूको नेताका नाममा केही युवाहरूलाई लिएर झ्यालबाट हाम फालेर कुदेका विप्लव अहिले के गर्दैछन् भन्ने कुरा   हामीले देखिरहेका छौँ ।  क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा विचार, अनुभव, नीति र नेतृत्त्वको ठूलो महत्व रहेको हुन्छ, नेत्रित्त्वको वैचारिक पक्षका साथै विवेक र कार्यशैलीले  अहम महत्त्व राख्दछ  । साम्राज्यवादले   ठिक यहिंनेरी प्रहर गर्छ ।  क्रान्तिकारीहरूका लागि   महान् अग्रज गुरुहरूले  संगठन निर्माणको क्षेत्रमा 'एकमा तीन' को एकदमै वैज्ञानिक धारणा दिएका छन्  । युवाहरूले सिक्ने, प्रशिक्षित हुने र नेतृत्त्व विकास गर्ने यो महत्त्वपूर्ण अवधारणा हो । युवाहरू बिहानको उदाउँदो घाम हुन् भन्ने  माओको भनाइ यसै अर्थमा ऐतिहासिक  महत्त्वको छ  । 

अहिले साम्राज्यवादले जेन-जी पुस्ता भनेर होहल्ला  गरेर   भ्रमयुक्त राजनीति गरिरहेको छ  ।  पछिल्लो समयमा साम्राज्यवादले वर्ग र विचारले होइन, जेन-जीले विद्रोह गर्छ, क्रान्ति गर्छ भनेर गलत र भ्रमपूर्ण चिन्तन-प्रवृत्तिलाई स्थापित गर्न  नयाँ किसिमको ‘कु’ राजनीतिलाई अघि बढाइरहेको छ । साम्राज्यवादले   पहिले अगाडिको पन्ग्तिमा सेनालाई राख्थ्यो, अहिले ' जेन-जी' को योजना अघि सारेको छ , यसले भावना र उत्तेजनामा काम गर्छ  ।  यसमा उसले खास मुलुकको सेनालाई पनि आफ्‌नो प्रभावमा लिएको हुन्छ । बङ्गलादेश र नेपालको सन्दर्भ एउटै हो । अझ नेपालको  बढी खतरनाक किसिमको छ  । उसले साबित गर्न खोजेको कुरा थियो–हेर, वर्ग र विचारले  होइन जेन-जी पुस्ताले  विद्रोह गर्छ । अरौटे भएर 'विद्रोह'   गरेपछि  त्यसपछि  के हो भन्ने कुरा जेन-जी' भनिएकालाई  थाहा  हुँदैन अनि , सरकारलगायत  समग्र व्यवस्थापन साम्राज्यवादले गर्छ । नेपालमा  अहिले   भएको यही हो । सुशिला कार्कीको सरकार अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादले भागबन्डामा अघि सारेका पात्र हुन् भन्ने कुरा उनीहरू सम्बद्ध संस्था तथा व्यवहारबाट थाहा पाउन सकिन्छ ।
  
यस अर्थमा यो विद्रोह थिएन, होइन, यो भारतीय विस्तारवादलाई समेत ओभरटेक गरेर अमेरिकी युथ काउन्सिलका युवाहरूलाई अघि सारेर र फिल्ड स्कायड तयार पारेर गरिएको देशव्यापी विध्वंश थियो, आतंक थियो  । यसलाई विद्रोह भन्नु भनेको  वर्ग राजनीति भन्दा ‘पुस्ता राजनीति’ प्रति विश्वास देखाउनु हो । ‘पुस्ता राजनीति’  क्रान्तिकारी कम्युनिस्ट आन्दोलनका लागि एकदमै घातक कुरा हो  । यो विचार र वर्ग विरुद्धको परियोजना हो  । अवश्य पनि क्रान्ति र विद्रोहमा युवाहरूको भूमिका रहन्छ । साथसाथै  केका लागि र कुन विचारद्वारा निर्देशित र परिचालित भन्ने कुराले अहम् महत्व राख्दछ । मार्क्सवादीहरूले केलाई विद्रोह भन्ने कुरा अहम् महत्त्वको  विषय हो-विश्वदृष्टिकोणको प्रश्न हो-भावुकताको उपज होइन 

अहिलेको नेपालको स्थिति राष्ट्रिय स्वाधीनता र जनतन्त्रका पक्षधरहरूका लागि साझा चिन्ता र चुनौतीको विषय हो । यहाँ चिन्ता मात्र पुग्दो छैन, मूल कुरा चिन्तन हो । फेरि पनि भन्छु,भदौँ २३ र २४ को विध्वंश र वितण्डालाई हेर्ने र बुझने कुरा विश्वदृटिकोणको प्रश्न  हो ।    अमेरिकी साम्राज्यवादले पछिल्ला दिनमा यस क्षेत्रमा गरिरहेका क्रियाकलापसित जोडेर यसलाई हेर्नु र बुझ्नु पर्दछ l वस्तुस्थितिको सही विश्लेषण र संश्लेषणले नै यथार्थलाई प्रकाशमा ल्याउँछ । प्रस्ट हुनुपर्ने कुरा के हो भने भदौँ २३ र २४ को विध्वंश र वितण्डा विद्रोह हुँदै होइन, राष्ट्र द्रोह हो । यस किसिमको बुझाइले नै राष्ट्रिय स्वाधीताका पक्षधरहरू तथा क्रान्तिकारीहरूबिच समान धारणा र समझदारी बनाउन सहयोग पुर्याउँछ  ।

भिडियो फिचरview all