
म किन भूमिगत भएँ

मैले मेरो घर छोडेदेखि उत्पन्न भएको परिस्थितिको प्रतिक्रियामा म यो खुला पत्र लेख्दै छु । तपाईंहरूमध्ये धेरैजना, विशेष गरी मिडियाका मानिसहरूले म कहाँ छु अथवा कुनै साथीले तपाईंलाई मेरी आमासँगको वैचारिक मतभेदका कारण मैले घर छोडेको बताउँदा अब के होला भनेर तपाईंहरू घोरिँदै हुनुहुन्छ होला ।
मेरो नाम वल्लिका (वल) बाराश्री हो, र म अर्चना वर्मा (१९९५ की आइएएस अधिकारी, हाल संयुक्त सचिव स्तर) की छोरी हुँ र म भूमिगत हुनुको कारण मैले अवलम्बन गरेको मार्क्सवादी-लेनिनवादी-माओवादी राजनीति हो । यो पत्र, हामी किन ब्राह्मणवादी-हिन्दूवादी फासिवादको प्रत्यक्ष आक्रमण अन्तर्गत भूमिगत तरिकाले मात्र काम गर्न सक्छौँ भन्ने कुराको व्याख्या पनि हो ।
साम्राज्यवाद, फासिवाद र भारतको स्थिति
अहिले हामी, पुँजीवाद/साम्राज्यवादले शोषित र उत्पीडित जनता र देशहरूमाथि आफ्नो दमनलाई तीव्र बनाइरहेको र आफ्नो आर्थिक हितको रक्षा गर्न फासिवादले आफूलाई बलियो बनाउँन खोजिरहेको गम्भीर प्रतिक्रियावादी स्थितिको घडीमा बाँचिरहेका छौँ । विश्व साम्राज्यवादी व्यवस्थाले सङ्कटको सामना गरिरहेको छ र अमेरिकी साम्राज्यवाद कमजोर हुँदै गइरहेको छ । अहिले आफ्नो प्रभुत्वको स्थिति खतरामा परेको बेला, अमेरिकी साम्राज्यवाद उत्पीडित देशहरूको सम्पत्ति लुट्न खोजिरहेको हतास कागजी बाघ बन्न पुगेको छ । पुँजीको विस्तारको क्षमता निश्चित सीमामा पुगेपछि अगाडि बढ्नका लागि साम्राज्यवादी पुँजीले नयाँ बजार र लगानी खोज्छ । भारत साम्राज्यवादका लागि, विशेष गरी अमेरिकी साम्राज्यवादका लागि एउटा महत्वपूर्ण कार्यक्षेत्र हो । त्यसैले अमेरिकी साम्राज्यवादले आफ्नो निर्बाध पहुँच सुनिश्चित गर्दै भारतको शासक वर्गसँग हात मिलाएर काम गरिरहेको छ ।
भारतीय शासक वर्गले किन यस्तो गर्ने अनुमति दिन्छ ? किन भने भारत ऋणमा डुबेको र निर्भर अर्थतन्त्रलाई टिकाउन साम्राज्यवादी पुँजीमा निर्भर, एउटा अर्ध-औपनिवेशिक तथा अर्ध-औपनिवेशिक मुलुक हो । फलस्वरूप सही अर्थमा भारत स्वतन्त्र छैन, कहिल्यै थिएन । उत्पादन प्रणालीले शासक वर्गको चरित्र निर्धारण गर्छ, जसको गठन नोकरशाह पुँजीपतिहरू र सामन्त जमिन्दारहरूद्वारा निर्मित हुन्छ, उनीहरूलाई दलाल नोकरशाही राज्यले समर्थन गर्छ, फलस्वरूप साम्राज्यवादी पुँजीलाई भारतमा निर्वाध रूपमा प्रवेश गर्न मार्ग प्रशस्त गर्छ ।
फासिवादलाई खुला आतङ्कवादी, अराजकतावादी र आफूलाई बचाउन वित्तीय पुँजीको सबैभन्दा हिंसात्मक चरित्रका रूपमा परिभाषित गरेर दिमित्रोवले हामीलाई पुँजीवाद-साम्राज्यवाद-फासिवाद बीचको सम्बन्ध बुझ्न असघाउ पुर्यारउनुभयो । त्यसैले विश्व साम्राज्यवादी प्रणाली सङ्कटमा भएको बेला यसले नाफाका नयाँनयाँ उपायहरू खोजिरहेको छ, र अवश्य पनि दलाल नोकरशाही राज्यले आफ्नो स्वार्थको रक्षा गर्न साम्राज्यवादी पुँजीसँग हात मिलाएर काम गर्नेछ ।
अमेरिकी साम्राज्यवादका लागि मार्क्सवादी-लेनिनवादी -माओवादिहरू सबैभन्दा ठूला शत्रु हुन् । त्यसैले पूर्व प्रधानमन्त्री मनमोहन सिंहले “नक्सलवाद देशको सबैभन्दा ठूलो आन्तरिक खतरा हो” भनेका हुन् । रक्तपिपासु ‘सलवा जुडुम’लाई किन डिआरजी मार्फत वैधानिक बनाइयो ? ‘अपरेशन ग्रीन हन्ट’ मा सिआइएको ‘अपरेशन एनाकोन्डा’ को नीतिलाई समेत माथ गर्ने खालको रणनीति किन अँगालियो ? अनि साम्राज्यवादको पाल्तु कुकुर प्रधानमन्त्री मोदीले एकदमै कडा दमनका साथ मार्च २०२६ सम्ममा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) लाई सखाप पारिनेछ भनेर किन घोषणा गरे ? यी भारतीय दमनकारी राज्यका हाँसो उठ्ने खालका केही उदाहरणहरू मात्र हुन्, जसले सामन्ती अहङ्कारमा आफूलाई पुँजीपति वर्ग र सर्वहारा वर्गबिचको वर्गयुद्धमा अनिवार्य विजेताका रूपमा लिन्छ ।
राज्य, परिवार र वर्ग
मेरी आमा यही भारतीय राज्यसत्ताको एउटा हिस्सा हुनुहुन्छ, र जबसम्म उहाँ शासक वर्गको एक हिस्सा हुनुहुन्छ र म एक जना कम्युनिस्ट हुँ, देश र जनतालाई धोका दिएर घरपरिवारमा फर्किनु भन्दा हजार पटक मर्नु बरु उचित ठान्दछु । परिवार उत्पादक शक्ति र उत्पादन सम्बन्ध मिलेर बनेको उत्पादन विधिबाट मुक्त कुनै त्यस्तो एकाइ होइन । सम्पूर्ण परिवार उत्पादनको सबैभन्दा सानो एकाइ भएकोले सामन्ती परिवार साँघुरो हुन्छ, जबकि पुँजीवादी परिवार अणुवत छ, जसले व्यक्तिलाई बढी स्वतन्त्रता दिन्छ, किन कि व्यक्ति उत्पादनको सबैभन्दा सानो एकाइ हो । त्यसैले परिवार समय, इतिहास र भूगोलद्वारा निर्धारित विशेष परिस्थिति अनुसार विशेष समाजमा अवस्थित उत्पादन विधि लागु हुने स्वरूप हो । अर्कोतर्फ, हामीले बुझेको कुरा के हो भने बुर्जुवा होस् अथवा सर्वहारा वर्ग, राज्य शासक वर्गको अधिनायकत्वको उपकरण हो ।
भारतमा शासक वर्ग भनेको अदानी, टाटा, जिन्दल आदि जस्ता दलाल नोकरशाही पुँजीपतिहरूका साथै सामन्ती जमिन्दारहरू हुन्, जसको अस्तित्व सर्वहारा वर्ग, किसान, निम्न-पुँजीपति वर्ग र राष्ट्रिय पुँजीपति वर्गको शोषण र उत्पीडनबाट टिकेको हुन्छ । परिवार शासक वर्गको विचारधारा लागु गर्ने उपरिसंरचनाको हिस्सा भएकाले, यो एउटा एकाइ हो, र राज्यको हिस्सा हो । प्रत्यक्ष र अप्रत्यक्ष दुवै किसिमले राज्य र परिवार बीचको सम्बन्ध द्वन्द्वात्मक किसिमको हुन्छ । उदाहरका रूपमा भारतमा वैवाहिक बलात्कारलाई लिऔँ—यसलाई भारतीय कानुनमा मान्यता दिइएको छैन । अर्ध-औपनिवेशिक तथा अर्ध-सामन्ती भारतीय समाजका परिवारहरूमा, सामन्ती सम्बन्ध हाबी छ । ब्राह्मणवादी पितृसत्तामा निहित सामन्ती मूल्यहरूले महिलाहरू परिवारका सम्पत्ति हुन् र यसलाई अस्वीकार गर्ने अधिकार छैन भन्ने विचारलाई समृद्ध पार्नु सही ठान्दछ । त्यसैले लोग्नेले श्रीमतीलाई आफ्नो सम्पति ठान्दछ, आफूले चाहेको जस्तो व्यवहार गर्न हकदार भन्ने ठान्दछ । सामन्ती परिवारले महिलाको व्यक्तिगत र स्वतन्त्र अस्तित्व र त्यसपछिको सहमतिको अधिकारलाई मान्यता दिँदैन । त्यसै गरी परिवारले आफ्ना बालबच्चाहरूलाई केटाकेटीदेखि नै शासक वर्गको नैतिकताद्वारा निर्धारित संस्कृति र मूल्य सिकाउँन जोड दिन्छन् र “हामी बूढो हुँदा हाम्रो हेरचाह कसले गर्छ " भन्ने मान्यता राखेर आफ्ना बच्चाहरूलाई क्रान्तिकारी बन्नबाट निरुत्साहित गर्छन् । त्यसकारण, परिवार आफैँमा एउटा सानो राज्य हो ।
मेरो अनुभव
मेरी आमा एक जना दलाल नोकरशाह हुनुका साथै सामन्ती जमिन्दार परिवारकी पनि हुनुहुन्छ, जसले गर्दा उहाँले आफूलाई हाम्रो वर्ग शत्रु शासक वर्गको आदर्श प्रतिनिधिका रूपमा आफूलाई फेर्नु भएको छ । आफूलाई त्यसै रूपमा प्रमाणित गर्न उहाँले कुनै कसर बाँकी राख्नुभएको छैन । ९ जुन २०२५ मा, नजारिया, FACAM र bsCEM का धेरै साथीहरूलाई दिल्ली प्रहरीको 'विशेष शाखा’ ले पक्राउ गर्यो । पक्राउ गराउनमा मेरी आमा र उनको ब्याचमेट र सबैभन्दा मिल्ने साथी दिल्ली प्रहरीको नेतृत्वमा रहेको देवेश कुमारको हात छ भन्ने कुरा मलाई पूराका पूरा विश्वास छ । मैले मेरा आमाबालाई चिठी पठाएको एक दिन पछि मेरा साथीहरूलाई पक्राउ गरियो, चिठीमा मैले म अब गोप्य किसिमले काम गर्नेछु र परिवारको सम्पर्कमा हुने छैन भनेर उल्लेख गरेको थिएँ । जमिन्दारको परिवारका रूपमा मेरी आमामा सामन्ती सोचाइले निर्णायक मान्यताको काम गर्यो । मेरो निर्णयले वहाँको इज्जत र मानसम्मानमा चोट पुर्या्एको महसुस भएपछि त्यसले आफ्नो पतित टाउको उठायो ।
रजाजको गिरफ्तारीका सम्बन्धमा उहाँसित कुरा गर्दा वहाँ निकै पर पुगिसक्नु भएछ भन्ने मलाई लाग्यो । उहाँमा सुध्रिने कुनै चाहना छैन भन्ने कुरा स्वीकार गर्नुपर्ने स्थितिमा म पुगेँ । रजाजहरूको पक्राउपछिका सम्पूर्ण प्रक्रियाका क्रममा गरिएका गैरकानुनी सोधपुछमा उहाँले पूर्ण सहयोग गर्नुभयो, महाराष्ट्रको आतङ्क विरोधी स्क्वाडको (एटीएस) को धम्कीलाई पनि वहाँले समर्थन गर्नुभयो “म रजाज जस्ता माओवादी/आतङ्कारीहरूसँग कुराकानी गर्नुभन्दा उनलाई (मलाई उल्लेख गर्दै) सिध्याउन नै चाहन्छु ।” त्यसै गरी फासिवादी ‘अपरेशन कागर’ का सम्बन्धमा आमासँगको बहसमा, मेरी आमाले आदिवासीहरूको गैर–न्यायिक मृत्युदण्डका सम्बन्धमा भएका लोकतन्त्रका मान्यता र संवैधानिक/कानुनी प्रक्रियाको अवहेलनालाई समेत सही छ भन्दै खुलेआम स्वीकार गर्नुभयो । उहाँले भन्नुभयो, “मलाई लाग्छ सबै नक्सलवादीहरू, साथै उनीहरूलाई लुकाउने, खुवाउने र समर्थन गर्ने गाउँलेहरूलाई समेत लाइनमा राखेर तुरुन्तै गोली हानेर मार्नु पर्छ ।”
किन भूमिगत हुनु आवश्यक छ त
मेरो भूमिगत जाने निर्णयको केही मात्रामा मेरी आमाको भूमिकाले पनि काम गरेको थियो । मैले मार्क्सवाद-लेनिनवाद-माओवादलाई समर्थन गर्ने, आदिवासी, महिला, श्रमिक वर्ग, मुस्लिम, दलित र अन्य शोषित र उत्पीडित मानिसहरूको अधिकारको लागि लड्न इच्छुक व्यक्ति जतिखेर पनि अहिलेको हिन्दूवादी–फासिवादी शासन अन्तर्गत असुरक्षित छ भन्ने अनुभूत गरेकी थिएँ । जनताको जनवादी अधिकारका लागि काम गर्ने, “सपना देख्ने र सङ्घर्ष गर्न साहस गर्ने" कोही मान्छे पनि सुरक्षित छैन भन्ने मलाई लाग्यो । साथै मेरा साथीहरूको गैरकानुनी अपहरण र यातनामा मेरी आमाको प्रमुख भूमिका रहेको छ भन्ने कुराप्रति पनि मा पूर्ण रूपमा विश्वस्त थिएँ । साम्राज्यवादी पुँजीवादलाई सङ्कटबाट पार लगाउन मद्दत गर्ने हतास ब्राह्मणवादी-हिन्दूवादी फासीवादी राज्यले साम्राज्यवाद, सामन्तवाद र दलाल नोकरशाही पुँजीवादको हितका विरुद्ध काम गर्ने प्रत्येक व्यक्तिलाई निसाना बनाउने भएकाले मेरा साथीहरूलाई पनि लक्षित गरिएको थियो ।
मेरी आमा एक जना आइएएस अधिकारी हुनुहुन्छ, जो देशको सेवा गर्ने कसम खाएको व्यक्तिभन्दा बढी सामन्ती अत्याचारी हुनुहुन्छ । यदि मेरी आमाको कुनै आत्मसम्मान बाँकी छ भने, उहाँले राजिनामा दिनुपर्छ, किन भने उहाँले कानुनका थुप्रै प्रावधानका साथै धारा १९, २० र २१ को उल्लङ्घन गर्नुभएको छ । मेरा साथीहरूलाई अवैध रूपमा अपहरण गर्नमा, पुरानो प्रशासनिक भवनमा ९/१० दिनसम्म थुनामा राखेर सोधपुछका नाममा कुटपिट गरिनु र विद्युतीय करेन्ट लगाइनु अनि नयाँ समाजको सङ्घर्षमा विश्वास गरेका कारण युएपीएको धम्की दिनेजस्ता कार्यमा मेरी आमाको पनि हात छ । उहाँ लज्जित हुनुपर्छ, र उहाँका विरुद्ध तुरुन्तै अनुसन्धान गरिनुपर्छ । परन्तु, हामी सबैलाई थाहा भएको कुरा हो, मेरी आमा साम्राज्यवाद, सामन्तवाद र दलाल नोकरशाही पुँजीवादीहरूका लागि उत्तम औजार भएकाले वहाँका विरुद्ध अनुसन्धान गर्ने र केही हुने कुराको कुनै सम्भवना छैन । त्यसैले म भूमिगत किसिमले काम गर्न गएकी हुँ – किन भने ब्राह्मणवादी- हिन्दूवादी फासिवादी वर्तमान सत्तामा, काम गर्नका लागि अर्को कुनै सही तरिका छैन ।
कमरेडहरू, साथै क्रान्ति र क्रान्तिकारी जनताका सहयोगीहरू ! हामीले हाम्रो डर वा हाम्रा स्वार्थी र व्यक्तिवादी इच्छाहरूलाई हाम्रो मार्गदर्शनका लागि ठाउँ दिनु हुँदैन, साँच्चिकै यदि हामी जनताको सेवा गर्न चाहन्छौँ भने र राज्यको दमनबाट बच्न र नयाँ जनवादी समाज निर्माण गर्न चाहन्छौँ भने हामीले भूमिगत तरिकाले काम गर्नुपर्ने हुन्छ । खुला किसिमले काम गर्नका लागि ठाउँ एकदमै साघुरो हुँदै गइरहेको छ र यदि हालको अवस्था जारी रह्यो भने अलिकति पनि ठाउँ बाँकी छोडिने छैन । यसरी यही सत्ताअर्न्तगत खुला किसिमकले काम गर्न सकिने स्थिति नभएकाले भूमिगत भएर काम गर्नु परेको औचित्यलाई मैले प्रस्ट पारेकी हुँ ।
काङ्ग्रेसको नेतृत्वमा रहेको युपिए सरकार ती साम्राज्यवादी शक्तिहरूका लागि पर्याप्त साबित भएन, जसले वित्तीय पुँजीलाई भारतमा छिटोभन्दा छिटो प्रवेश गराउन चाहन्थे । यही कारणले गर्दा अमेरिकी शासक वर्गले सन् २०१४ को चुनावमा हस्तक्षेप गरेको भनेर भन्ने गरिएको छ— जसबाट आफ्ना नीतिहरूमा वित्तीय पुँजीको अझ बढी स्वतन्त्र प्रवाहलाई अनुमति दिएको एनडिएलाई चुनावमा जिताउन सकियोस् । यो बाहेक, विश्व पुँजीपति वर्गले मोदीलाई उसको दमनकारी राजनीतिक सैन्य रणनीतिका लागि पनि मन पराउँछ, जसको शासनसत्तामा लोकतान्त्रिक मान्यतालाई परित्याग गरेर फरक मतलाई नियन्त्रण गर्न र प्रतिरोधलाई निस्तेज पार्न हिंसाका जुनसुकै रूपहरूको पनि प्रयोग गर्ने गरिएको छ ।
अहिले ब्राम्हणवादी–हिन्दूवादी फासिवादी सत्ताले अपरेशन ‘कागर’ अर्थात् ‘अन्तिम समाधान’ चलाएको छ । यसमा उनीहरूले मे २०२५ मा करेगुट्टा पहाडमा आक्रमण अपरेसन सुरु गरे, जसले १ महिनामा मात्र लगभग ३० क्रान्तिकारीहरूको हत्या गरियो । हत्या गरिएकाहरू सशस्त्र माओवादीहरू मात्र नभएर सामान्य नागरिक, बालबालिका र निहत्था क्रान्तिकारीहरू पनि थिए ।
फेरि पनि भूमिगत हुनुको औचित्यको प्रश्न
परिस्थितिले साथ दिन्छ भने कम्युनिस्टहरूले मार्क्सवादको राजनीति र कार्यक्रमलाई अघि बढाउने प्रचार कार्य गर्न कानुनी र जनवादी अधिकार र ठाउँको उपयोग गर्दै सकेसम्म खुला रूपमा काम गर्नुपर्छ भनेर लेनिनले ’के गर्ने ?’ मा हामीलाई के सिकाउनु भएको छ । परन्तु, खुला कामका लागि परिस्थिति अनुकूल हुनुपर्छ – यसको अर्थ हो असहमति राख्नका लागि केही ठाउँ हुनुपर्छ । अहिलेको अवस्था खुला कामको लागि अनुकूल छ भनेर भन्न सक्ने स्थितिमा हामी छैनौँ । असहमति भनेको गिरफ्तार हुनु वा नक्कली मुठभेडमा पर्नु हो । यस्तो अवस्थामा नयाँ जनवादी क्रान्ति हुँदै समाजवाद र साम्यवादसम्मको स्थापनाका लागि अनुकूल परिस्थिति निर्माण गर्नका लागि पछाडि बसेर गोप्य रूपमा काम गरेर आत्मगत शक्तिको संरक्षणको कार्यलाई गुरुत्व दिनुपर्छ । वर्ग सङ्घर्षलाई अझ तीव्र बनाएर लैजाने क्रममा राजनीतिक कार्यकर्ताहरूलाई भूमिगत किसिमले लैजानैपर्ने हुन्छ ।
नक्सलबाडी सङ्घर्षको प्रवाहको बेला, इन्दिरा गान्धीको नेतृत्वमा सङ्कटकालको समयमा, क्रान्तिकारी आन्दोलनलाई जोगाउन धेरै कार्यकर्ताहरू भूमिगत जानुपरेको थियो । वर्तमान परिस्थितिले पनि त्यसैको माग गरेको छ । भारतीय राज्यसत्तालाई पराजित गर्न क्रान्तिकारीहरू र सबै जनवादी सोचाइ भएका मानिसहरूका सामु भूमिगत गएर राजनीतिक काम अगाडि बढाउनुको विकल्प छैन । वर्तमान परिस्थितिका कारण खुला रूपले काम गर्नका लागि क्षेत्र साँघुरिँदै गएको छ । हाम्रो आफ्नै इतिहास छ, साथै हालसालैका धेरै घटनाहरू पनि छन्, उदाहरणका रूपमा एमबीएम (मूलवासी बचाऔँ मंच) लाई लिन सकिन्छ । यसलाई विकास विरोधी र राष्ट्र विरोधी सङगठन भएको भनेर प्रतिबन्ध लगाइएको थियो, किन भने यो आदिवासीहरूको संयुक्त मञ्चका रूपमा निर्माण भएको थियो र यसले विकासको वैकल्पिक मोडेलको बारेमा विचार अघि सारेको थियो ।
प्यालेस्टिनी जनताको अधिकारका लागि बोल्ने कार्यकर्ताहरू विरुद्ध अनेक नाममा मुद्दा दायर गरिएको छ । अधिवक्ता अजय सिंहलाई साम्राज्यवाद, आदिवासीहरूको विस्थापन र राजनीतिक अडानलाई लिएर चिन्ता व्यक्त गरेका कारण युएपिए अन्तर्गत पक्राउ गरिएको थियो । उत्पीडितहरूका पक्षमा बोलेकै आधारमा भारतीय राज्यसत्ताले कमरेड साइबाबा, पाण्डु नरोटे र स्टान स्वामीको हत्या गरेको थियो र bsCEM का कार्यकर्ताहरूलाई जम्मा भएर छलफल गरेकै आधारमा गैरकानुनी रूपमा हिरासतमा राखिएको थियो । असहमति प्रकट गर्ने जो कोहीलाई पनि युएपिएको धम्की दिइन्छ र भारतीय एजेन्सीहरू/स्थानीय पुलिसले जथाभावी रूपमा उत्पीडन गर्छन् । प्रायः गरेर विद्यार्थी कार्यकर्ताहरूका अभिभावकहरूलाई बोलाएर आतङ्कित पारिन्छ । हाम्रा किसानहरूमाथि ड्रोन मार्फत अश्रुग्यास छर्किने गरिन्छ र दलित र मुस्लिमहरू एकताबद्ध होलान् भन्ने भयले दिनहौँजसो उनीहरू यातना, अपमानद्वारा सताइन्छन् । ब्राम्हणवादी–हिन्दूवादी फासिवादी सत्ताले आफूलाई बलियो पार्न जारी राख्दा कुनै पनि किसिमको लोकतान्त्रिक मूल्यका लागि ठाउँ छोड्ने स्थिति छैन । फरक मत राख्नेहरूले प्रतिरोध गरिरहे भने र उनीहरू अहिलेको शासक वर्गका क्याम्पका नभएका खण्डमा सबैलाई कि त जेल हालिनेछ अथवा उनीहरू मारिनेछन् ।
अबको बाटो
वर्तमान परिस्थितिमा कुनै पनि व्यक्तिले क्रान्तिकारी कामलाई अगाडि बढाउनका लागि भूमिगत हुनैपर्ने स्थिति छ । भूमिगत हुनु भनेको एउटा पेशेवर क्रान्तिकारीका रूपमा काम गर्नु हो, त्यस्तो व्यक्ति जसको क्रान्तिबाहेक अर्को कुनै उद्देश्य हुँदैन , जसको काम वर्ग शत्रुहरूलाई पराजित गरेर सर्वहारा वर्गको अधिनायकत्व स्थापित गर्नु हुन्छ । भूमिगत नभई हामी राज्यलाई पराजित गर्न सक्दैनौँ, किन कि दुस्मको आक्रमणबाट बचेर र सही अर्थमा बोल्सेविक भावनामा एकाग्रताका साथ कुशलतापूर्वक काम गरे मात्र हामीले हाम्रा शत्रुहरूलाई पराजित गर्नेछौँ ।
कमरेडहरू ! हाम्रो राजनीतिक-वैचारिक--सङ्गठनात्मक लाइनमा दृढताका साथ उभिनुहोस् । सबै कुरा त्याग गर्न तयार रहनुहोस् । एकल व्यक्तिगत किसिमले होइन, सच्चा क्रान्तिकारी-कम्युनिस्टका रूपमा सङ्गठित किसिमले प्रस्तुत भएमा मात्र हामीले विजय प्राप्त गर्न सक्नेछौँ । आवश्यक पर्दा भूमिगत हुन तयार हुनुहोस्, अथवा खुला नै रहे पनि आवश्यक पर्दा गिरफ्तारीका लागि आफूलाई तयार पार्नुहोस् । क्रान्तिमा आफ्नो सम्पूर्ण जीवन समर्पित गर्नुहोस्, आफ्नो विश्वासमा दृढ रहनुहोस् – मृत्यु र क्रान्ति !
नयाँ जनवादी क्रान्ति जिन्दावाद !
मार्क्सवाद–लेनिनवाद–माओवाद : जिन्दावाद !
ब्राह्मणवादी– हिन्दूवादी– फासिवादलाई ध्वस्त पारौँ !
इन्किलाब जिन्दाबाद !
क्रान्तिकारी अभिवादनसहित
वल्लिका (वल) बाराश्री
(नजरिया पत्रिकाकी पूर्व सम्पादक र संस्थापक सदस्य ।)
अनु : ऋषिराज बराल
भिडियो फिचरview all