ताजा समाचार
माओलाई सम्झिनुको अर्थ
आजभन्दा १७६ वर्ष पहिले विश्व सर्वहारा वर्गले आफ्नो मुक्तिको दस्ताबेज प्राप्त गरेको थियो । कम्युनिस्ट घोषणपत्र मार्फत मार्क्स-एङ्गेल्सले सन् १८४८ मा सर्वहारा वर्गका लागि गुमाउनका लागि हत्कडीसिबाय केही छैन, जित्नका लागि सारा संसार छ भनेर घोषणा गर्नुभएको थियो । कम्युनिस्ट घोषणपत्र एउटा यस्तो वैचारिक हतियार थियो, जसले विश्वका सम्पूर्ण उत्पीडत वर्ग र समुदायलाई आफ्नो मुक्तिको अगुवा तिमीहरू नै हौ र आफ्नो राज्यसत्ताको निर्माता पनि तिमीहरू नै हौ भनेर दिशाबोध गराएको थियो र सङ्गठित भएर अघि बढ्न आह्वान गरेको थियो-विश्वका मजदुरहरू एक होऔँ !
यसै पथप्रदर्शनमा अघि बढेको सर्वहारा वर्गले सन् १९७१ मा प्रतिक्रियावादी वर्गको सत्तामाथि धावा बोलेर सत्ता कब्जा गरेका थिए-यो पेरिस कम्युन थियो । यो सर्वहारा वर्गको पहिलो राज्यसत्ता थियो । यो लामो अवधिसम्म टिक्न सक्ने स्थिति बनेन, तर कम्युनार्डहरूको बलिदानी र वीरत्वपूर्ण इतिहासले विश्वका उत्पीडत जनताका लागि महान् उत्साह, क्रान्तिकारी ऊर्जा र शिक्षा प्रदान गर्यो । मार्क्सले क्रान्तिकारी उदात्तताका साथ उद्घोष गर्नुभयो : कम्युनका सिद्धान्तहरू अमर छन् र तिनलाई कदापि नष्ट पार्न सकिन्न । मजदुर वर्गले मुक्ति प्राप्त नगरेसम्म ती सिद्धान्तहरू बारम्बार उद्घोषित भइरहने छन् ।
मार्क्स-एङ्गेल्सले स्थापित गर्नुभएको सैद्धान्तिक-व्यावहारिक बाटो अर्थात् मार्क्सवादले देखाएको बाटोबाट अघि बढ्ने क्रममा रुसी सर्वहारा वर्ग तथा उत्पीडित जनताले महान् लेनिनको नेतृत्वमा सन् १९१७ मा जारशाहीतन्त्र विरुद्ध विजय प्राप्त गरेर र सर्वहारा राज्यसत्ताको स्थापना गरे । यो रुसी अक्टोबर क्रान्तिका नामले विश्व कम्युनिस्ट आन्दोलनमा स्थापित भएको छ । इतिहासबाट शिक्षा लिँदै लेनिनले घोषणा गर्नुभयो :
“प्राय गरेर मार्क्सको सिद्धान्तको मूल कडी भनेको वर्गसङ्घर्ष हो भनेर भन्ने तथा लेख्ने गरेको पाइन्छ । परन्तु यो सही होइन । र यस किसिमको गलत धारणाले प्रायः गरेर मार्क्सवादको अवसरवादी भ्रष्टीकरण गर्छ र यस किसिमको गलत व्याख्याले बुर्जुवाहरूलाई समेत स्वीकार्य हुने वातावरण तयार पार्छ । वर्गसङ्घर्षको सिद्धान्त मार्क्सले होइन, मार्क्सअघिका बुर्जुवाहरूले निर्माण गरेका हुन्, र यसलाई सामान्यतः बुर्जुवाहरूले पनि स्वीकार गर्दछन् । जो वर्गसङ्घर्षलाई मात्रै स्वीकार गर्दछन्, ती सही मार्क्सवादी होइनन्, तिनीहरूलाई बुर्जुवा चिन्तन र बुर्जुवा राजनीतिको सीमाभित्र नै भेटाउन सकिन्छ । मार्क्सवादलाई वर्गसङ्घर्षको सिद्धान्तमा मात्रै सीमित गर्नु भनेको मार्क्सवादको न्यूनीकरण गर्नु, यसलाई विकृत पार्नु र बुर्जुवाहरूलाई समेत मान्य हुने हदसम्म पुर्यामउनु हो । त्यो मात्रै मार्क्सवादी हो, जसले वर्गसङ्घर्ष स्वीकार्यको मान्यतालाई सर्वहारा अधिनायकत्वको आत्मसातीकरण सम्म जोड्दछ ।”
मार्क्सवादका आधारभूत प्रस्थापनालाई रुसी समाजमा व्यवहारमा लगेर सर्वहारा वर्गको राज्यसत्ता प्राप्त मात्र होइन, समाजवादी समाजलाई पनि अघि बढाउन सकिन्छ र अघि बढाउनुपर्छ भनेर सोभियत सङ्घले विश्वका उत्पीडित जनताका सामु लेनिनवादका रूपमा नयाँ क्रान्तिकारी मूल्य र आदर्श प्रस्तुत गर्योत । यो मार्क्सवादको विकासको दोस्रो चरण थियो । लेनिनको मृत्युपछि रुसी समाजवादी सत्ता तथा विश्व कम्युनिस्ट आन्दोलनलाई अघि बढाउन महत्वपूर्ण योगदान दिनुहुने मार्क्सवादी-लेनिनवादी नेता कमरेड स्टालिनले लेनिनका योगदानलाई यसरी संश्लेषण गर्नुभयो : “लेनिनवादबारे समग्र सत्य के हो भने लेनिनवादले मार्क्सवादलाई थप स्थापित मात्र गरेन, पुँजीवाद र सर्वहारा वर्गसङ्घर्षको नयाँ परिस्थितिमा, मार्क्सवादलाई थप विकसित तुल्याउँदै एक कदम अघि बढायो । त्यसो भए अन्तिम विश्लेषणमा लेनिनवाद के हो त ? लेनिनवाद साम्राज्यवाद तथा सर्वहारा क्रान्तिको युगको मार्क्सवाद हो । अझ सटिक रूपमा भन्ने हो भने लेनिनवाद भनेको आमरूपमा सर्वहारा क्रान्तिको सिद्धान्त र कार्यनीति हो र विशिष्टरूपमा सर्वहारा वर्गको अधिनायकत्वको सिद्धान्त र कार्यनीति हो ।”
अक्टोबर क्रान्तिको आलोकले विश्वका उत्पीडित जनतालाई नयाँ दिशा र गति प्रदान गर्योर । यसै क्रममा सन् १९२१ मा चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना भयो । अर्धसामन्ती तथा अर्धओपनिवेशिक स्थितिमा रहेको चिनियाँ समाजको विशिष्टतामा मार्क्सवाद-लेनिनवादलाई लागू गर्दे दीर्घकालीन जनयुद्धको फौजी कार्यदिशाको बाटोबाट अघि बढेर कमरेड माओ त्सेतुङको नेतृत्वमा सन् १९४९ मा चिनियाँ नयाँ जनवादी क्रान्ति सम्पन्न भयो । समाजवादी समाजमा पनि समाजवाद विरोधी वर्गहरूको अस्तित्व रहिरहन्छ र समाजवादी समाजभित्रै तिनले आफूलाई कसरी विकसित पार्छन् भन्ने यर्थार्थलाई माओले प्रस्ट पार्नुभयो र समाजवादलाई अघि बढाउन निरन्तर क्रान्तिको आवश्यकता र औचित्यमा जोड दिनुभयो ।
यसै क्रममा समाजवादी समाजमा देखा परेका दक्षिणपन्थी अवसरवादी प्रवृत्तिलगायत विभिन्न किसिमका गलत प्रवृत्तिका विरुद्ध सर्वहारा वर्गको अधिनायकत्वलाई मजबुत पार्न माओले चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिलाई अघि बढाउनुभयो । चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति समाजवादी समाजमा सर्वहारा वर्गको अधिनायकत्वलाई सुदृढ बनाउने सैद्धान्तिक तथा व्यावहारिक विधि र पद्धति थियो । नयाँ जनवादी र समाजवादी क्रान्तिमार्फत माओले दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका क्षेत्रमा पुर्याकउनु भएको योगदान मार्क्सवाद-लेनिनवादको विकासमा थप योगदान थियो । विश्व कम्युनिस्ट आन्दोलनमा माओले पुर्या उनुभएको योगदानलाई विश्वका क्रानितकारीहरूले माओवादका रूपमा संश्लेषण गरेका छन् । माओवाद मार्क्सवादको विकासमा तेस्रो र उच्च चरणको विकास हो । आज विश्वका सर्वहारा वर्ग र उत्पीडित जनताले आफ्नो मुक्तिको सबैभन्दा वैज्ञानिक र सशक्त हतियार मार्क्सवाद-लेनिनवाद-माओवाद प्राप्त गरेका छन् ।
चीनमा नयाँ जनवादी क्रान्ति सम्पन्न भएको समयमा नेपालमा कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । आरम्भमै नयाँ जनवादी क्रान्तिको दिशा समात्नु यसको महत्वपूर्ण कार्य थियो । ७५ वर्षको यसको इतिहास विभिन्न मोड र घुम्ती हुँदै अघि बढेको इतिहास हो । कहिले दक्षिणपन्थी अवसरवाद र कहिले ‘वामपन्थी’ अवसरवाद, मूलतः दक्षिणपन्थी अवसरवादका विरुद्ध सङ्घर्ष गर्दै अघि बढेको नेपालको कम्युनिस्ट आन्दोलन आफैँमा वर्गसङ्घर्षको इतिहास हो । घरेलु प्रतिक्रियावाद र अमेरिकी साम्राज्यवाद लगायतका बाह्य प्रतिक्रियावादी शक्तिहरू र भारतीय विस्तारवादका विरुद्ध लडेर नेपालका क्रान्तिकारीहरूले नेपालको कम्युनिस्ट आन्दोलनलाई यहाँसम्म ल्याएका छन् ।
यसबीच नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को नेतृत्वमा नेपाली जनताले महान् दसबर्से जनयुद्ध लडे । घरेलु प्रतिक्रियावाद र बाह्य प्रतिक्रियावादी शक्तिहरूलाई चुनौती दिँदै मुलुकको ८० प्रतिशत भन्दा बढी भूभागमा नियन्त्रण कायम गर्दै रणनीतिक आक्रमणको चरणबाट गुज्रिरहेको नेपाली जनयुद्धलाई पार्टीको नेतृत्वमा रहेका प्रचण्ड-बाबुराम लगायतका नेताहरूले क्रान्तिलाई धोका दिएर प्रतिक्रियावादी शक्तिहरूका सामु घुँडा टेकेपछि नेपालको नयाँ जनवादी क्रान्ति सफलतामा पुग्न सकेन । जनयुद्धसित गाँसिएको नेतृत्व तहको एउटा पङ्क्तिले आत्मसमर्पण गरे पनि त्यहाँ रहेका क्रान्तिकारी माओवादीहरूले आन्दोलनलाई अघि बढाउन प्रतिबद्धताका साथ सम्बन्ध विच्छेद गरेर अघि बढे । नेपाल कम्युनिस्ट पार्टी-माओवादी यसैको उपज थियो । परन्तु, यसले पनि अपेक्षाकृत गति लिन सकेन । क्रान्तिकारिताको आवरणमा त्यसभित्र रहेका एक थरी अवसरवादीहरू र विसर्जनवादीहरू विस्तारै एकपछि अर्को गरेर खुल्दै गए र पलायन हुँदै गए । तिनीहरूमध्ये कोही नव-प्रतिक्रियावादको कित्तामा सामेल हुन पुगे भने कोही महापतनको त्यसै बाटोमा लामबद्ध हुन पालो कुरेर र नव-प्रतिक्रियावादीहरूको दैलो चहार्दै दोडधुप गरिरहेका छन् ।
जसले अब क्रान्तिकारी बाटोबाट सकिँदैन भनेर दलाल पुँजीपतिवर्गसित मेलमिलाप गरेर संसदीय राजनीतिको बाटो समातेका थिए, तिनले देशीविदेशी प्रतिक्रियावादी शक्तिहरू साम्राज्यवाद-विस्तारवाद र दलाल पुँजीपति वर्गको गोटी बनेर उनीहरूको आवश्यकता पूरा गरिरहेका छन् । हामीले क्रान्तिकारीहरूलाई गोलबद्ध पार्दै एउटा शक्तिशाली क्रान्तिकारी शक्ति निर्माण गर्नुपर्छ भनेर वैचारिक सङ्घर्ष अघि बढाउने प्रयास गरेका थियौँ, तर नेपाल कम्युनिस्ट पार्टी-माओवादीभित्र नेतृत्व तहमा रहेका सारसङ्ग्रहवादीहरू र अनुभववादीहरूको अकर्मण्यता, इच्छाशक्तिहीन र सम्झौतावादी प्रवृत्तिका कारण शक्तिशाली क्रान्तिकारी शक्ति निर्माण गर्ने कामले गति लिन सकेन, उल्टै क्षयीकरणको शृङ्खला चल्यो र यो निरन्तर यसै दिशामा क्रियाशील छ ।
अहिले संसदीय राजनीतिभन्दा बाहिर रहेको क्रान्तिकारी शक्ति सानासाना टुक्रामा विभाजित भएर छरपस्ट अवस्थामा रहेको स्थिति छ । यसभित्र पनि कतिपय समूहमा “सबैलाई समेट्ने” नाममा वैचारिक र राजनीतिक मूल मुद्दालाई बेवास्ता गर्ने सारसङ्ग्रहवादी, अनुभववादी प्रवृत्ति हाबी हुन थालेको र यसले विसर्जन निम्त्याउने प्रबल सम्भावना मात्र नभएर खतराको स्थिति छ । यस किसिमका प्रवृत्तिका विरुद्ध यतिखेर सही अर्थका मालेमावादी क्रान्तिकारीहरू सङ्घर्षशील छन् ।
अहिलेको आवश्यकता प्रथम चरणमा दसबर्से जनयुद्धको विरासतसित गाँसिएका, मार्क्सवाद-लेनिनवाद-माओवाद र नयाँ जनवादी क्रान्ति र क्रान्तिका तीन जादुगरी हतियार ( क्रान्तिकारी विचारमा आधारित पार्टी, जनसेना र संयुक्त मोर्चा) प्रति प्रतिबद्धहरू एक ठाउँमा उभिनु हो । यसले तय गरेको नीति, नेतृत्व र कार्ययोजनाको व्यापकताभित्र संसदवादीहरूभन्दा तुलनात्मक रूपमा प्रगतिशील चरित्र बोकेका अन्य शक्तिहरूलाई समेटतै जाने हो । यसो नगरेर “सबैलाई समेट्ने” नाममा जसलाई पनि बटुल्दै जाने हो भने ‘क्रान्तिकारी केन्द्र’ निर्माण नभएर वैचारिक र साङ्गठनिक अराजकताको स्थिति मात्र उत्पन्न हुन्छ । अन्ततः यसले थप विखण्डन र विभ्रम मात्र उत्पन्न गराउँछ । यो भनेको विसर्जनतर्फको बाटो हो र यसको सङ्केत व्यवहारमा देखिन थालेको अवस्था छ । त्यसैले ढोका खुला गरेर ह्वारह्वारती प्रदूषित हावा प्रवेश गराउने र शुद्धताका नाममा ढोकाबन्दवाद प्रवृत्ति अँगाल्ने कामकुरा दुवै सही होइनन् र यसप्रति सही अर्थका मालेमावादी क्रान्तिकारीहरू सचेत र गम्भीर हुनु आवश्यक छ ।
सारसङ्ग्रहवादको अर्को नाम मध्यपन्थी अवसरवाद हो र यसले दक्षिणपन्थी अवसरवादको बाटो लिनु सहज र स्वाभाविक हुन्छ । यसै अर्थमा माओवादी क्रान्तिकारीहरूले सही अर्थको क्रान्तिकारी केन्द्र निर्माणमा जोड दिएका हुन् । यसका लागि क्रान्तिकारी पुनर्गठन एक मात्र बाटो हो । त्यसैले हामी विभिन्न कारणवस विभिन्न पार्टी तथा समूहमा छरिएर रहेका महान् दसबर्से जनयुद्धको विरासत बोकेका, मार्क्सवाद-लेनिनवाद-माओवाद र नयाँ जनवादी क्रान्ति र क्रान्तिका तीन जादुगरी हतियारप्रति सिद्धान्त र व्यवहारमा प्रतिबद्ध व्यक्ति तथा समूहलाई क्रान्तिकारी पुनर्गठनका साथ अघि बढेर क्रान्तिकारी केन्द्र निर्माण अभियानमा सामेल हुन अनुरोध तथा आह्वान गर्दछौँ ।
आज सही अर्थका माओवादी क्रान्तिकारीहरूले एकातिर घरेलु तथा बाह्य प्रतिक्रियावादीशक्तिहरूसित लडिरहनु परेको अवस्था छ भने अर्कोतिर वाम र कम्युनिस्ट पार्टीका नाममा संसदवादी आहालमा डुबेर दलाल पुँजीपति वर्गको स्वार्थ पूरा गरिरहेका तत्वहरूका विरुद्ध पनि सङ्घर्ष गरिरहनुपरेको छ । क्रान्तिकारीहरूले दुवै मोर्चालाई सशक्त किसिमले अघि बढाउनु परेको अहिलेको स्थितिमा माओवादी क्रान्तिकारी आन्दोलनलाई नयाँ किसिमले सङ्गसठित र पुनर्गठित नगरी यसले अपेक्षित गति र दिशा लिन सक्ने अवस्था छैन । त्यसैले हामीले निरन्तर रूपमा क्रान्तिकारी पुनर्गठनको मावश्यकता र महत्वमा जोड दिँदै आएको हौँ र अहिले साम्राज्यवाद र त्यसका घरेलु दलालशक्तिहरूले माओवादीहरूका विरुद्ध एक किसिमले युद्धकै घोषणा गरेको अवस्थामा यसको महत्व थप बढेको छ ।
यतिखेर विश्वमा माओवादी क्रान्तिकारीहरू विश्व सर्वहारा वर्गका महान् क्रान्तिकारी नेता माओ त्सेतुङको १३१ औँ वार्षिकोत्सवक मनाइरहेका छन् । यस अवसरमा हामी विश्व सर्वहारा वर्ग र उत्पीडित जनताको मुक्तिका लागि मार्क्स , एङ्गेल्स, लेनिन, स्टालिन र माओले पुर्यातउनुभएको योगदान र मार्क्सवाद-लेनिनवाद-माओवादका पक्षमा सैद्धान्तिक तथा व्यावहारिक तहमा दृढताका साथ उभिने प्रण गर्दछौँ । आउनुहोस् : क्रान्तिकारी पुनर्गठन अभियानलाई तीव्र बनाऔँ, क्रान्तिकारी केन्द्र निर्माणको दिशामा अघि बढौँ । अनि मात्र माओलाई सम्झिनुको अर्थ हुन्छ ।
मार्क्सवाद-लेनिनवाद-माओवाद : जिन्दावाद !
नयाँ जनवादी क्रान्ति : जिन्दावाद !
क्रान्तिकारी पुनर्गठन अभियानलाई तीव्र बनाऔँ !
क्रान्तिकारी केन्द्र निर्माणको दिशामा अघि बढौँ !
माओ दिवस, २०८१ (सन् २०२४)
भिडियो फिचरview all