menu

ताजा समाचार

कमरेड भक्तबहादुर श्रेष्ठका दुई महत्वपूर्ण प्रकाशन

‘भक्तबहादुर स्मृति प्रतिष्ठान’ द्वारा प्रकाशित भक्तबहादुर श्रेष्ठका सङ्कलित रचनाहरू भाग १ र भाग २ मा थुप्रै महत्वपूर्ण रचनाहरू समाविष्ट छन् । काठमाडौँलगायत हेटौँडा आदि ठाउँबाट विभिन्न समयमा विभिन्न पत्रपत्रिकामा प्रकाशित लेखरचनाहरू तथा पार्टी दस्तावेजहरू कुनै पनि सामग्री नछुटोस् भनेर प्रयास गर्दागर्दै पनि कतिपय रचना छुटेका छन् । कतिपय रचना सङ्कलन प्रकाशित भइसकेपछि हात परेका कारण सङ्कलनमा पर्न सकेका छैनन् । कतिपयले नियतबस नै आफूसित भएका सामग्री उपलब्ध गराएनन् । भौतिकवादी दर्शनशास्त्रको उत्पत्ति एवम् विकास र मार्क्सको आर्थिक-दार्शनिक सिद्धान्त र जनक्रान्तिको दिशामा ग्रामीण वर्गसङ्घर्ष र सचेतन पक्षको भूमिका यस्तै खाले सामग्री हुन् ।

भौतिकवादी दर्शनशास्त्रको उत्पत्ति एवम् विकास र मार्क्सको आर्थिक-दार्शनिक सिद्धान्त पुस्तक २०५८ मा प्रकाशित भएको हो । यो पुस्तक नेकपा (माओवादी) को आन्तरिक प्रकाशन विहानी प्रकाशन, काठमाडौँद्वारा प्रकाशित पुस्तक हो । पुस्तक आम पाठकसम्म आउनुअघि नै सरकार र माओवादी पार्टीबीचको वार्ता भङ्ग भएको र दाङ आक्रमणपछि सरकारले “सङ्कटकाल” घोषण गरेकाले पुस्तक सहज किसिमले आम पाठकसम्म पुग्ने स्थिति रहेन । 

छोटो मन्तव्य मार्फत कमरेड भक्तबहादुर श्रेष्ठले पुस्तकका बारेमा प्रस्ट पार्नुभएको छ । यसमा त्यसबेलाका उपत्यका इन्चार्ज रवीन्द्र श्रेष्ठको छोटो भूमिका भूमिका रहेको छ । यो पुस्तक ०४३/०४४ सालमा वीरगन्ज जेलमा रहँदा लेखिएको भनेर लेखक स्वयंले भूमिकामा उल्लेख गर्नुभएको छ । यस पुस्तकमा कमरेड भक्तबहादुर श्रेष्ठका दुइटा रचनाहरू— ‘भौतिकवादी दर्शनशास्त्रको उत्पत्ति एवम् विकास’ र ‘मार्क्सको आर्थिक-दार्शनिक सिद्धान्त’ को सङ्कलित छन् । भौतिकवादी दर्शनशास्त्रको उत्पत्ति एवम् विकासको आधारभूत ज्ञानका  साथै ‘मार्क्सको आर्थिक-दार्शनिक सिद्धान्त’ को जानकारीका लागि यो पुस्तक महत्वपूर्ण छ । सरल भाषामा दार्शनिक र वैचारिक कुरालाई प्रंस्तुत गर्नु कमरेड भक्तबहादुर श्रेष्ठको विशेषता हो । यो विशेषता यस पुस्तकमा पनि पाउन सकिन्छ । यस पुस्तकका सन्दर्भमा वहाँका भनाइ निकै सारगर्भित छन् :
.. क्रान्तिको कुरा गर्ने तर, अध्ययनमा जोड दिँदैनन् भने तिनीहरू सिद्धान्तविहीन अनुभववादी बन्न पुग्छन् र उनीहरू क्रान्तिको लक्ष्यप्रति कुहिरोको काग बन्छन् । उभारको बेलामा उनीहरू हौसिन्छन् र धरातल नै छाडिदिन्छन् भने उतारको बेलामा पलायन भएर सुइँकुच्चा ठोक्छन् । त्यसै गरी सिद्धान्तको कुरा छाँट्ने तर व्यवहारमा पटक्के नजानेहरूमाओका शब्दमा कठमुल्लावादी बन्छन् । तिनीहरूको गति पनि त्यस्तै हुन्छ । त्यसैले मार्क्सवादी ज्ञान सिद्धान्तले सिद्धान्त र व्यवहारलाई एकै साथ जान जोड दिएको छ । व्यवहारबाटै ज्ञानको विकास हुन्छ भने त्यो ज्ञानले व्यवहारलाई बाटो देखाउँछ । 

अर्को आलेख, जनक्रान्तिको दिशामा ग्रामीण वर्गसङ्घर्ष र सचेतन पक्षको भूमिका निकै महत्वपूर्ण आलेख हो ।  जीवनाथ खतिवडा, हेटौँडाद्वारा प्रकाशित यो पुस्तिकमा प्रकाशित मिति छैन,  तर यहाँ उल्लेखित सन्दर्भ हेर्दा यो पुस्तिका २०५२ सालमा जनयुद्ध आरम्भ हुनुअघि  पार्टीभित्र चलेको ग्रामीण वर्गसङ्घर्ष सम्बन्धी बहस र चर्चासित सम्बद्ध छ भनेर सहजै भन्न सकिन्छ । एक हिसाबले जनयुद्धपूर्व विचार निर्माणका लागि तयार पारिएको आलेखका रूपमा यसलाई लिन सकिन्छ । मिति उल्लेख नभए पनि जानकारहरूले यो पुस्तिका २०५२ साल मङ्सिरमा प्रकाशित भएको हो भनेका छन् । 

मूल आलेखलाई ९ वटा उपशीर्षकमा यसरी प्रस्तुत गरिएको छ : १) राज्यसत्ता प्राप्त गर्नेबारे संशोधनवादी दृष्टिकोण,२) ग्रामीण वर्गसङ्घर्ष नै किन ?, ३) पार्टीकार्यकर्ता र नेता, ४) जनदिशाबारे, ५) विभिन्न प्रवृत्तिहरूसँग जुद्धै सही धारलाई समातौँ, ६) कार्यकर्तामा नेतृत्वकारी पहलकदमीको आवश्यकता, ७) ग्रामीण स्तरदेखि नै अन्तर्विरोध खुटयाएर ग्रामीण वर्गसङ्घर्षको थालनी, ८) वर्गीय चेतनाको विकास र ध्रुवीकरणको प्रक्रिया र ९) दीर्घकालीन जनयुद्धको सिद्धान्तबारे । कमरेड भक्तबहादुर श्रेयठले माओले लडेको दीर्घकालीन जनयुद्धको विशेषताकहरूको चर्चा गर्दै नेपाली क्रान्तिले नेपाली समाजको विशिष्टतामा सोही बाटो अँगाल्नुपर्ने आवश्यष्कता र औचित्यमा जोड दिनु भउको छ । 

समग्र आलेख पढेपछि यो आलेख महान् जनयुद्धको तयारीका क्रममा विचार निर्माणको जिम्मेवारीका तहबाट सिर्जित  आलेख हो भन्न सकिन्छ । ‘यस पुस्तकका बारेमा’ मा कमरेड भक्तबहादुरद्वारा व्यक्त  तलका भनाइबाट पनि यो आलेख लेख्नुको आवश्यकता र औचित्य प्रस्ट हुन्छ :
नेपाली क्रान्तिको दिशालाई प्रगतिपथमा अग्रसर गराई नेपाली नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न प्रमुख दुस्मनका विरुद्ध भौतिक शक्तिले र संशोधनवादीहरू तथा सुधारवादीहरूलाई सैद्धान्तिक, वैचारिक र राजनीतिक, हतियारले उनीहरूमाथि विजय प्राप्त नगरी यो कार्य सम्भव छैन । यस कार्यको मुख्य दिशा भनेको दीर्घकालीन जनयुद्ध र ग्रामीण वर्गसङ्घर्ष नै हो । नेपाली क्रान्तिको विशिष्टता नै यही हो । यसै उद्देश्यलाई ध्यानमा राखेर आम कार्यकर्ता तथा  जनतामा समेत सामान्य रूपमा भए पनि चेतना जागृत होस् भन्ने आकाङ्क्षा लिएर यो पुस्तिका प्रकाशित गरिएको हो ।

नेपाली जनयुद्धको आरम्भको पूर्वसन्ध्यामा पाठकसामु आएको यो  पुस्तिकाले कमरेड भक्तबहादुरको क्रान्तिकारी चिन्तनलाई प्रस्ट पार्नुका साथै नेपाली क्रान्तिको बाटो दीर्घकालीन जनयुद्धको आवश्यकता र महत्वमाथि पनि प्रकाश पारेको छ । आजका सन्दर्भमा पनि यो आलेखको सान्दर्भिकता र महत्वमा ह्रास आएको छैन, बरू बढेको छ । सत्य कुरा के हो भने जसले जे-जे भने पनि नेपाली नयाँ जनवादी क्रान्तिले नेपाली विशिष्टताको जनयुद्धको बाटो भएर अघि बढ्नैपर्ने हुन्छ ।

यस किसिमको महत्वपूर्ण प्रकाशन उपलब्ध हुन नसकेका कारण कमरेड भक्तबहादुर श्रेष्ठका सङ्कलित रचनाहरू सम्पादन गर्दा समाविष्ट हुन नसके  पनि केही गरी  ‘भक्तबहादुर श्रेष्ठका सङ्कलित रचना भाग ३’ प्रकाशित भयो भने  यसले ठाउँ पाउने छ भनेर चाहिं आशा गर्न सकिन्छ । 

(टिप्पणी : अहिले ‘‘भक्तबहादुर स्मृति प्रतिष्ठान’ नै हराएको स्थितिमा छ । तर देशकाल परिस्थितिअनुसार फेरि यो सक्रया हुनसक्यो भने। यसले सही दिशा लिन सक्यो भने कमरेड भक्तबहादुर श्रेष्ठका बाँकी रहेका रचनाहरूको सङ्कलन भाग ३ प्रकाशित हुनेछ भनेर आशा मात्र होइन, विश्वास पनि गर्न सकिन्छ ।)

भिडियो फिचरview all