menu

ताजा समाचार

यस अर्थमा क्रान्तिकारी पुनर्गठन

ऋषिराज बराल 
विश्वभरिका माओवादी क्रान्तिकारीहरू २६ डिसेम्बरका लिन माओको सम्झना गर्ने गर्छन् । माओ दिवससँगै " क्रान्तिकारीहरू एक जुट होऔं" भन्दै  पार्टी एकताका साथै संयुक्त मोर्चाका सन्दर्भहरू पनि  चल्ने गर्छन्  । माओवादी क्रान्तिकारीहरूको केन्द्र बनाउनु आवश्यक थियो र छ ।   यो वस्तुगत स्थितिको माग हो । तर,  एकता र संयुक्त मोर्चाका लागि गरिनुपर्ने ठोस पहल र व्यावहारिक क्रियाशीलताको अभावमा छरिएर रहेका माओवादी क्रान्तिकारीहरू एक जुट हुन सकेको अवस्था छैन र पछिल्लो समयमा यो झन् छरपस्ट हुन पुगेको  स्थिति  छ । 

इतिहासको सबै अध्याय हाम्रा सामु छ । चौथो महाधिवेशन, नेकपा (मशाल), एकताकेन्द्र, नेकपा (माओवादी), नेकपा-माओवादी र कम्युनिस्ट न्युक्लिअस, नेपालसहितको इतिहास हामीसित छ । एक हिसाबले यो फूट र एकताको इतिहास पनि हो छ ।  नारायणकाजी समूहसित भएको एकताको तीतो अनुभव पनि हामीसित छ, एकता कसैका लागि 'स्प्रिंग बोर्ड ' को माध्यम बन्नु हुँदैन । क्षमता  नै नभए पनि  एकता   कसैका लागि छलांगको माध्यम र कसैका लागि पीडाको माध्यम बनेमा यसले ल्याउने भनेको टुटफूट र  दक्षिणपन्थी यात्रा नै हो । यसलाई बुझ्न हामीसित विगत पनि छ र वर्तमान पनि । पर जानैपर्दैन त्यतिखेरको 'खरिपाटी भेलापछिको नारायणकाजीसितको एकता' हेरे पुग्छ   । यो एकता सो भेलाको निर्णयभन्दा बाहिर गएर गरिएको एकता थियो   ।  हिजोको जनयुद्ध आरम्भ गर्दाको शक्ति कोही नव-प्रतिक्रियावादमा पतन भएका छन्, कोही विसर्जनवादको अभ्यासमा छन्  ।  हामी चाहिं  फेरिएको परिस्थितिमा नयाँ किसिमले  एकताबद्ध,  ध्रुवीकरण र पुनर्गठनको अभियानमा छौँ । यो सकारात्मक पक्षलाई केन्द्रमा राखेर इतिहासले दिएको जिम्मेवारी पूरा गर्नुपर्ने दायित्व नेपालका सही अर्थका माओवादीहरूका सामु छ र यसले इतिहासको विश्लेषण र संश्लेषणका साथ गहन आत्मसमीक्षाको माग गर्दछ , यसले नै क्रान्तिकारी ध्रुवीकरणमार्फत क्रान्तिकारी पुनर्गठनतर्फ लैजान्छ ।   

क्रान्तिकारी पुनर्गठन आजको आवश्यकता हो ।  जेजति जोडजाड  गरे पनि र थपघट भए  पनि  क्रान्तिकारी पुनर्गठनबिना गाडी  लामो समयसम्म चल्ने  स्थिति छैन, आवश्यकता घनिभूत बहसछलफलको छ ।  यसमा सबैभन्दा पहिलो आवश्यकता र प्राथमिकता भनेको हिजो दसबर्से जनयुद्ध लडेका र अझै क्रान्तिकारी अभियानलाई अघि बढाउनुपर्छ भनेर क्रियाशील पार्टी, समूह र व्यक्तिहरूबीचको साझा बहस, छलफल र समझदारी हो । मार्क्सवाद-लेनिनवाद-माओवाद, नयाँ जनवादी क्रान्ति, क्रान्तिका तीन जादुगरी हतियारप्रतिको प्रतिबद्धता र सशस्त्र सङ्घर्षको कार्यदिशाप्रति साझा अभिमत र समझदारीलाई प्रस्थानबिन्दु बनाउनु आवश्यक हुन्छ । बेलाबेलामा भन्ने गरिएका थेगो  “सबै कुरा महाधिवेशनबाट टुङ्गो लगाऔँ र अहिले बहसछलफल गर्दै जाऔँ” भन्नु भनेको फूट, विभाजन र मोलमोलाइका लागि ठाउँ खाली राख्नु र अवसरवादलाई प्रस्रय दिनु मात्र हो ।यसले पुन विभाजन मात्र निम्त्याउँछ ।

सशस्त्र सङ्घर्षको स्वरूप के र कस्तो हुने विषय छलफलको विषय हुन सक्छ र हुनुपर्छ । अवश्य पनि कतिपय प्राविधिक कुराहरू तलमाथि हुन सक्छन्, तर आधारभूत पक्ष तलमाथि हुने कुरा हुँदैन  ।  मूल कुरा माओवादी जनयुद्धको मूल्यप्रतिको प्रतिबद्धता हो । हिजो इतिहास  मात्र होइन, परिस्थिति अनुसारको निरन्तरता पनि हो ।  सशस्त्र सङ्घर्षको स्वरूप दीर्घकालीन हुने वा अल्पकालीन हुने भन्ने कुरा आत्मगत र वस्तुगत स्थितिका साथै अन्तर्राष्ट्रिय परिस्थितिले पनि निर्धारण गर्छ  । नेपालजस्तो अर्धसामन्ती र अर्धऔपनिवेशिक/नव–औपनिवेशिक मुलुकका सन्दर्भमा  जनयुद्धको चरित्र र स्वरूप दीर्घकालीन नै हुन्छ, तर, यो नेपाली समाजको विशिष्टतामा हुन्छ । माओवादी जनयुद्ध निश्चित मूल्यमान्यता, विधि, पद्धति र वैज्ञानिकतामा आधारित युद्ध हो । हरेक सङ्घर्ष जनयुद्ध होइन र वर्गसङ्घर्षको हरेक स्वरूपले  माओवादी जनयुद्धको मूल्य र विधिलाई समेट्दैन/समेट्न सक्तैन  । नेपाली समाजको स्वरूप र नयाँ जनवादी क्रान्ति र जनयुद्धका सम्बन्धमा कतिपय कमरेडहरूमा रहेको बुझाइ त्रुटिपूर्ण छ र यसबाट मुक्त हुनु आवश्यक छ । 

नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न भएको छैन । नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै समाजवाद र साम्यवादसम्म पुग्ने हो । क्रान्तिकारीहरूले भनेको समाजवाद  वैज्ञानिक समाजवाद हो भनेर ‘कम्युनिस्ट घोषणपत्र’  सँगसँगै खास गरेर एंगेल्सले विस्तृत रूपमा यसको व्याख्या गर्नुभयो । यसलाई स्टालिनले ‘सर्वहारा समाजवाद’ का रूपमा थप व्याख्या गर्नुभयो ।  माओले नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर लगत्तै समाजवादमा जानुपर्छ भन्नुभयो । अझ ''नयाँ जनवादी क्रान्तिले स्वतः हामीलाई समाजवादतर्फ लैजान्छ" भनेर  प्रस्ट पार्नुभयो । नयाँ जनवादी क्रान्ति सम्पन्न गरेपछि लिउ साओ–चि ले समाजवादमा जान ५० वर्ष पनि लाग्न सक्छ भनेर समाजवादलाई ‘उत्पादक शक्तिको सिद्धान्त’ मा लम्ब्याएर अनिश्चयतामा पुर्याएर  भाषण गर्दै हिँडेपछि माओले  सन्, १९५० को दशकदेखि नै समाजवादी समाजका लागि भित्री र बाहिरी सङ्घर्षको थालनी गर्नुभयो र १९५३ मा पञ्चवर्षीय योजना लागू गर्नुभयो । उहाँले थालनी गरेको समाजवाद वैज्ञानिक समाजवाद  थियो । क्रान्तिकारीहरूले भनेको समाजवाद वैज्ञानिक समाजवाद   हो । 

नेपाली समाजको वर्तमान स्थिति-विश्लेषण, नेपाली क्रान्तिको न्यूनतम  कार्यक्रमसित कार्यदिशाको स्वरूप र चरित्र गाँसिनु स्वाभाविक छ । कार्यदिशा आफूखुसी व्याख्या गर्ने विषय नभएर रणनीतिक उदेश्यसित   गाँसिएको सङ्घर्षको मूल स्वरूप हो । र, कार्यनीति त्यसैको सेवाका लागि  तात्कालिक परिस्थितिको  उपज संघर्षको उपज हो ।  आजको हाम्रो मूल बहस मूलतः कार्यदिशाको प्रश्नमा  हुनुपर्छ । सशस्त्र सङ्धर्षको बाटो नहिँडी अपेक्षित उद्देश्य पूरा हुँदैन । वर्गसङ्घर्ष, जनसङ्घर्ष हुँदै कसरी अघि बढ्ने अर्थात् वर्गसङ्घर्षको उच्चतासंगै यसले   नयाँ र गुणात्मक स्वरूप लिनु आवश्यक हुन्छ ।   यस अर्थमा वैचारिक, साङ्गठनिक र प्राविधिक तयारी गर्ने कुरामा बहस र व्यवहार केन्द्रित हुनु आवश्यक छ । तर, वर्तमान स्थितिमा कतै मेल नखाने ‘अस्थायी क्रान्तिकारी सरकार’, ‘अस्थायी संयुक्त सरकार’ तर्फ बहस र व्यवहार मोड्नु भनेको यथास्थितिवादी गोलचक्करमा रमाएर विसर्जनको यात्रातिर बाटो सोझ्याउनु मात्र हो । यो वर्गसङ्घर्षबाट विमुख हुने परिपञ्च हो । यसले गम्भीर विचलनतर्फको  स्थितिको सङ्केत गर्दछ । यस्तो सन्दर्भ र विषयमा कार्यकर्ताको खबरदारीले विशेष अर्थ राख्दछ । तर, ‘क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल’ भित्रका कार्यकर्ताहरू यो पक्षमा पनि एकदमै उदासीनता र निस्पृहता देखा पर्यो – कार्यकर्ताहरूमा समेत  असाध्यै थकित मानसिकता  देखा पर्यो ।
 
हरेक वर्ष माओ दिवसमा माओको गुनगान गाइँन्छ–तर माओले देखाएको बाटोलाई व्यवहारमा लागू गर्ने कुरामा उत्साहपूर्ण गतिशीलता हुने गर्दैन र हुन सकेको छैन । आत्मगत स्थितिका नाममा एक किसिमको निस्पृहता देखिन्छ । सचेतन प्रयासको महत्त्व र मूल्यको अभावमा यस्तो हुनु स्वाभाविक हुन्छ । ‘क्रान्तिकारीहरू एक जुट होऔँ” भनिन्छ, तर व्यावहारिक पहलकदमी र इच्छाशक्तिको सर्वथा आभाव देखिन्छ–नारा औपचारिकता मात्र सीमित हुन्छ । ‘स्थिति  जटिल छ, साम्राज्यवादी शक्तिहरू कम्युनिस्ट पदावलीकै विरुद्ध क्रियाशील छन् र तिनको जुठोपुरोमा बाँचिरहेका पार्टी र व्यक्तिहरू क्रान्तिकारीहरूका विरुद्ध योजनाबद्ध र संगठित किसिमले क्रियाशील छन् । साम्राज्यवादले वाम आवरणमा मार्क्सवाद विरोधी टोली परिचालन गरेको छ, हिजो जनयुद्धकालमा झैं  सबैभन्दा बढी यो माओवादी आन्दोलनका विरुद्ध क्रियाशील छ । अहिले यो योजना बौद्धिक क्षेत्र, खास गरेर साहित्यकला तथा प्रकाशनको क्षेत्रमा लेखन तथा प्रकाशनमाध्यम मार्फत क्रियाशील रहेको छ  । बजारमा अहिले एक थरी लेखक र प्रकाशनले यही धन्धा चलाएका छन् । बजारमा देखिने पछिल्ला लेखन तथा प्रकाशन यसका  उदाहरण  हुन्  । यतिखेर  सबै किसिमका विभ्रम विरुद्ध  वैचारिक सङ्घर्ष चलाउनु आवश्यक छ र यसलाई वर्गसङ्घर्षसित जोडेर अघि बढाउनुपर्छ । 

अहिलेको  स्थितिमा ‘क्रान्तिकारीहरू एक जुट होऔँ” भनेर वक्तव्यबाजी गरेर मात्र पुग्दैन, विचार र राजनीतिलाई केन्द्रमा राखेर क्रियाशील पहलकदमी सबैबाट हुनु आवश्यक छ । यो भनेको  मार्क्सवाद–लेनिनवाद–माओवादलाई पथप्रदर्शक सिद्धान्त मानेर क्रान्तिका तीन जादुगरी हतियारप्रति प्रतिबद्धताका साथ क्रान्तिको पक्षमा क्रियाशील शक्ति र व्यक्तिहरू एक ठाउँमा उभिनुपर्छ भन्ने हो । यस कुरामा हामी प्रस्ट छौँ । अहिलेको परिस्थितिमा यी  आधारमा जो-जोसंग  मिल्न सकिन्छ, मिल्दै जानुपर्छ भन्ने हाम्रो धारणा छ । हालको स्थितिमा मार्क्सवाद–लेनिनवाद–माओवादलाई पथप्रदर्शक सिद्धान्त मान्ने  नयाँ जनवादी क्रान्तिका पक्षधरहरूबीच संयुक्त मोर्चा निर्माण गरेर अघि बढ्नु आवश्यक छ भन्ने  हाम्रो ठहर हो । यसले नै हामीलाई नयाँ किसिमले सङ्गठित हुन र क्रान्तिकारी पुनर्गठनको दिशामा अघि बढ्न वातावरण तयार पार्दछ ।
पुस ११, २०८० 
 ००० 
भिडियो फिचरview all