menu

ताजा समाचार

एकता संयोजन समितिसित विचारविमर्श

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) बीच पार्टी एकताको प्रक्रियालाई अघि बढाउने हेतुले संयोजन समिति बनेको कुरा प्रकाशमा आएको छ । नेपालको सन्दर्भमा सापेक्षित मात्रामा क्रान्तिकारी ठानिएका/मानिएका दुई पार्टीबीच बनेको एकता संयोजन समितिले घरेलु नयाँ-पुराना प्रतिक्रियावादी शक्तिहरू, साम्राज्य र विस्तारवादी शक्तिहरूका षड्यन्त्रहरू र संशोधनवादी विभ्रमका विरुद्ध लडिरहेका, क्रान्तिकारी शक्तिहरू एक जुट होऊन् भन्ने धारणा राख्ने आम जनता, शुभचिन्तकहरू र पार्टीपङ्क्तिमा एक किसिमको उत्साह पैदा हुनु स्वाभाविक छ । 

नेपालको राष्ट्रिय स्वाधीनता र उत्पीडित वर्गीय आन्दोलनका विरुद्धका दमनकारी शक्तिहरू आमनेसामनेमा छन्, खुला छन्, ती दमनका सबै राज्यसंयन्त्र प्रयोग गरेर क्रान्तिकारी शक्तिलाई सिध्याउने मेलोमा छन् र सँगसँगै  अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादका सामु आत्मसमर्पण गरेर लाल झण्डा बोकेर लाल झण्डाको विरुद्धमा उभिनेहरू पनि एक वा अर्को प्रकारले नेपालको माओवादी क्रान्तिकारीहरू र आन्दोलनलाई ध्वस्त पार्न सबै किसिमका परिपञ्चहरू अँगालिरहेका छन् । विडम्बनाको विषय के छ भने जसले मार्क्सवादका सामान्य कुरालाई समेत परित्याग गरेर अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको सेवामा आफूलाई समर्पित गरेको छ, उसैले आफूलाई माओवादी केन्द्र भनेर भ्रम दिइरहेको छ । एकातिर “माओवादीहरू एक ठाउँमा आऔँ, अमुकअमुकको काम छैन भनेर ठाडै चुनौती दिने र अर्कोतिर सरकारी दमन अभियानको अंश बनेर आत्मसमर्पण र पलायन गराउने प्रचण्ड-परिपञ्च कम खतरनाक छैन ।
 
 अहिले क्रान्तिकारीहरूले यस्ता दुवै थरी मोर्चामा आफ्नो शक्ति र  सामर्थ्य  अनुसार  लडिरहनु परेको अवस्था छ । यस्तो बेला क्रान्तिकारीहरू एकताबद्ध हुनु, ध्रुवीकृत हुनु र पुनर्गठित शक्तिका साथ मार्चाबद्ध हुनु भनेको समयको आवश्यकतालाई बुझ्नु र क्रान्तिको कार्यधारप्रति गम्भीर हुनुको परिचायक हो । यस किसिमको उद्देश्यका साथ अघि बढेका कार्यक्रमहरूलाई उत्साहित-प्रोत्साहित गर्नु, वैचारिक र भौतिक किसिमले समेत ऊर्जाशील बनाउनु हरेक क्रान्तिकारीको दायित्व हो । यस अर्थमा अहिले नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) बीच बनेको संयोजन समितिलाई  सही टुंगोमा पुर्याउन  हामी सबै क्रियाशील हुनु आवश्यक छ  ।
 
निकै चुनौतीपूर्ण स्थितिमा बनेको संयोजन समितिमा कुन-कुन पार्टी छन्, को-को पात्र छन्, को परे र परेनन् भन्दा पनि कुन उद्देश्यका साथ यसको थालनी भएको छ भन्ने कुरा प्रधान हो । यसले एकता गर्यौं  भनेको भए के-कस्ता सैद्धान्तिक-वैचारिक-राजनीतिक मूल्यका आधारमा एकता भयो भन्ने प्रश्न उठ्नु स्वाभाविक हुन्थ्यो र सहमति र विमतिका कुरा हुन्थे । यसले क्रान्तिकारीहरू एकताबद्ध  भएर अघि बढ्ने उद्देश्यका साथ संयोजन समिति निर्माण गर्दै भनेको छ : “हामी सम्पूर्ण क्रान्तिकारी कम्युनिस्ट पार्टी, सङ्गठन र व्यक्तित्वहरूलाई समेत यस प्रक्रियामा सामेल हुन हार्दिक आह्वान गर्दछौँ ।”

यस भनाइमा कसैले बनाएको घरमा लुसुक्क पस्ने भन्दा नेपाली क्रान्तिको चरित्र र  क्रान्तिको दिशाका सम्बन्धमा सैद्धान्तिक, वैचारिक, राजनीतिक र कार्यक्रमिक बहस-छलफलको क्षेत्र सुरक्षित छ भन्ने बुझिन्छ, यहाँ सामूहिक भाव र सामूहिक निर्णयप्रति स्थान सुरक्षित छ भन्ने बुझाइ यस टिप्पणीकारको रहेको छ र बहसलाई सान्दर्भिक ठानिएको छ ।
 
 नेपाली क्रान्ति सम्पन्न गर्नका लागि एकताबद्ध होऔँ भन्ने आह्वानलाई लिएर सैद्धान्तिक तहमा संयोजन समितिको निर्माण र आह्वानप्रति अनावश्यक टिप्पणी गर्नुको अर्थ छैन तापनि सैद्धान्तिक, वैचारिक, राजनीतिक र साङ्गठानिक प्रश्नमा केही जटिलताहरू भने अवश्य छन् । यो जटिलता एकता र फूटसित गाँसिएको सैद्धान्तिक तथा इतिहासगत प्रश्नसित गाँसिनुका साथै वैचारिक र व्यावहारिक प्रश्नसित पनि गाँसिएको छ । 

इतिहासमा कतिपय फूटहरू क्रान्तिको हितमा भएका छन् र कतिपय एकता क्रान्तिको विद्धमा पनि भएका छन् । यस सन्दर्भमा म हेग सम्मेलन, गोथा कार्यक्रमको आलोचना, इस्क्राको सन्दर्भ, बर्नस्टिन काउत्स्की, ट्रट्स्की  विरुद्ध र लेनिन र स्टालिनको  संघर्षको सन्दर्भको चर्चा गर्नु आवश्यक ठान्दिन । साथै  माओले सन् १९२७ देखि सन् १९७६ सम्म एकता र फूटका सन्दर्भमा भोगेका सङ्घर्ष गाथाहरूको पनि यहाँ चर्चा गर्नु आवश्यक ठान्दिन । 

नेपालमा कम्युनिस्ट पार्टीको स्थापना, पहिलो महाधिवेशनदेखि चौथो महाधिवेशनसम्मको इतिहास अगाडि राख्नु पनि यहाँ आवश्यक देखिंदैन । के कुरा चाहिं  सत्य हो भने  २०४० सालमा चौथो माहाधिवेशनमा आएको विभाजनको विरासतसित हामी सोझै जोडिएका छौँ । यस सन्दर्भमा चौथो महाधिवेशन, मशाल, मसाल, एकताकेन्द्र, नेकपा (माओवादी) को निर्माणसम्मको इतिहासलाई अगाडि राख्नैपर्ने हुन्छ । अरू कुरा बिर्सौँ भने पनि जनयुद्धलाई विसर्जन गरेपछिको कथित शान्तिप्रक्रिया र हामीले लडेको वैचारिक र साङ्गठनिक लडाइँलाई हामी बिर्सन सक्तैनौँ, बिर्सनु हुँदैन, यो इतिहासको विषय होइन, वर्तमान नै हो । यो शिक्षा लिने विषय त हो नै, यो समीक्षा, विश्लेषण र संश्लेषणको विषय पनि हो । यो आत्मसात गर्ने विषय हो ।

‘शान्तिप्रक्रिया’ पछिको पहिलो चितवन भेलाको परिदृश्य, प्रचण्डको आक्रोस, ‘लाइभ दृश्य’ बनेर  यो टिप्पणीकारको मनमस्तिष्कमा छ । बालाजु बैठक बहुमत धारको बुझाइ, प्रचण्डको छटपटी र तनावको दृश्य पनि ताजै छ । त्यसैले त  बालाजु भेलाले पारित गरेको  दस्ताबेजको अत्तोपत्तो छैन ।  खरिपाटीको परिदृश्य प्रचण्डको छटपटी बढाउने अर्को परिघटना थियो । हामी सोझै दुई कित्तामा बाँडिएका थियौँ । यसपछि नै पार्टीभित्रका क्रान्तिकारीहरूलाई तह लगाउन चितवन भेलादेखि  प्रचण्डले बुनेको तानाबाना नारायणकाजी समूह भित्र्याएर टुङ्गिएको थियो । हामीले एरिया कमिटीमा समेत राख्न  उचित नठानेका थुप्रै पात्रहरू सिसिएम बनेर देखा परेका थिए । जनयुद्धको बलिदानीपूर्ण इतिहासलाई सामाजिक फासिवाद भन्ने तत्वहरू पार्टीका दोस्रा-तेस्रा नेता बनेर देखा परेका थिए । जनयुद्धको विरासतसित जोडिएका वरिष्ठ नेताहरूलाई बेवास्ता गर्दै एकताका नाममा धेरै फोहोरमैला भित्र्याएका थिए प्रचण्डले  । जनयुद्धको क्रान्तिकारी पंक्तिको तेजोबध गरेका थिए प्रचण्डले ।

माओवादको  औचित्यका पक्षमा एकताकेन्द्रमा हुँदा त्यत्रो लडाइँ लड्यौँ, तर काजीसँगै माओ विचारधारा  पनि मान्य भनेर भित्र्याउने काम भयो । वैचारिक र साङ्गठनिक दुवै पक्षलाई बेवास्ता गरियो । यसमा दरिलो गरी उभिनु पर्ने कमरेड किरणसहितका कमरेडहरूको भूमिका पनि   त्यति दरिलो हुन सकेन, उहाँहरूको कमजोरी भयो  र पार्टीमा क्रान्तिकारी धार अल्मतमा परेर किनारा लाग्ने स्थितिमा पुग्यो । एकताका नाममा चाहे ती काजी समूहबाट आउने हुन् अथवा अन्य समूहबाट आउने हुन्, जेजस्ता मान्छे केन्द्र र पोलिटब्युरोमा पुगे यसले एकताका नाममा आफ्नो स्थान सुरक्षित रहन्छ भने नेताहरू जे पनि  स्वीकार गर्ने र योग्य, सक्षम इमानदार र निरन्तरतामा रहेका कार्यकर्ताहरू भने पछि पर्ने हुँदो रहेछ भन्ने  सन्देश नारायणकाजी एकता-प्रकरणले दियो  । यसले एकताको कुरा उठ्ता पार्टीभित्रका कतिपय इमानदार नेता-कार्यकर्तालाई झस्किने स्थिति बनायो र बनिरहेको स्थिति छ  ।  वास्तवमा एकताप्रक्रियामा धेरै फोहरमैला भित्रिने र भित्री सकेपछि त्यसलाई व्यवस्थापन गर्न नसक्ता कतिपय क्रान्तिकारीहरू बाहिरिएको इतिहास पनि छ । पार्टी फुटेपछि  पदको बार्गेनिङ गर्नेहरू पनि हुन्छन्, सङ्ख्या बढाउन, पार्टीमा आकर्षित गर्न क्षमताहीन, योग्यताहीन विवादास्पद पात्रहरूलाई पनि टुप्पीमा समातेर माथिमाथि उचाल्ने गरेको इतिहास छ । यसले एकताप्रक्रियालाई थप जटिल र धूमिल बनाउनु स्वाभाविक छ । यस अर्थमा एकताप्रक्रियाका सन्दर्भमा वैचारिक पक्ष मात्र नभएर सङ्गठनात्मक पक्ष पनि जटिल पक्ष हो र यसले वैज्ञानिक मानदण्डको माग गर्दछ । अबका दिनमा पनि यो प्रश्न चुनौती बनेर  उभिने छ ।

खरिपाटीपछि पालुङटार भेलामा पनि तीव्र वैचारिक सङ्घर्ष चल्यो । त्यो एउटा सम्झौताको दस्ताबेज थियो तापनि पालुङटार बैठक प्रचण्ड-बाबुरामले चाहे अनुकूल थिएन । पालुङ्टार बैठकपछिका केही दिनमै प्रचण्ड-बाबुराम गिरोहले सारा वैचारिक मूल्यमान्यता त्यागेर, पालुङ्टार भेलाका निर्णय लत्याएर प्रतिक्रियावादीहरूसित तालमेल गर्न थालेपछि कामरेड  किरणको नेतृत्वमा  ‘विचार समूह’ बनाएर हामी अघि बढ्यौँ । यसपछि प्रचण्ड-बाबुराम गिरोहले देशीविदेशी शक्तिहरूका सामु आत्मसमर्पण गर्दै माओवादी मूल्य पूर्णरूपमा परित्याग गर्दै पार्टी, जनसेनामाथि घात गर्यो  । अनि प्रचण्ड गिरोहबाट सम्बन्ध विच्छेद गरेर बौद्ध भेलाका साथ हामीले नेपाल कम्युनिस्ट पार्टी-माओवादी निर्माण गर्यौं । 

 प्रचण्डसितको सम्बन्ध विच्छेदपछि कतिपय कमरेडहरूको चिन्तन र व्यवहार हेर्दा सबै जना क्रान्तिका लागि आएका होइन रहेनछन् भन्ने कुरा प्रस्ट हुँदै गयो । र पनि त्यतिबेर कमरेड किरणको नेतृत्वमा चालेको कदम सही थियो । यो फूट होइन, विद्रोह थियो र माओवादी आन्दोलनलाई विसर्जनबाट बचाउन गरिएको  क्रान्तिकारी कदम थियो ।   एक हिसाबले हामीले  चुनवाङ बैठकसम्मको संश्लेषण गरिसकेका छौ, त्यसलाई अझ थव व्यवस्थित गर्नु आवश्यक छ । साथै ‘शान्तिप्रक्रिया’ देखि खास गरेर चितवन भेलादेखि प्रचण्डसित  सम्बन्ध विच्छेदसम्मको स्थितिको, हामीले गर्नुपर्ने वैचारिक-व्यावहारिक  सङ्घर्षमा हाम्रो ध्यान र क्रियाशीलता कहाँ पुगेन, त्यसको पनि अब समीक्षा र संश्लेषण गर्नुपर्छ । जिम्मेवारीको तहअनुसार हामी सबैले आत्मसमीक्षा गर्नु आवश्यक छ ।
 
प्रचण्ड गिरोहबाट सम्बन्ध विच्छेद गरेपछि निर्मित भएको नेपाल कम्युनिस्ट पार्टी -माओवादीभित्र  पनि विस्तारै मिहिन पाराले दक्षिणपन्थी प्रवृत्ति देखा पर्न थालेको आभास हुन थाल्यो । वर्गसङ्घर्षलाई अघि बढाउने भन्दा पनि एक थरी सुशिल कोइरालाको मन्त्रीमण्डलमा सहभागी हुने कामकुराप्रति आकर्षित हुन थालेको देखियो । सातौँ महाधिवेशनसम्म पुग्दा वैचारिक आवरणमा साङ्गठानिक महत्वाकाङ्क्षा, चरम गुटबन्दी र शीघ्र सत्तास्वार्थका चाहना प्रतिविम्बित हुन थालेको देखियो  । पार्टी नीति र सिद्धान्तविपरीत ‘सत्ता साझेदारी’ का वकालत हुन थाले । पोखरा बैठकसम्म पुग्दा धेरै कुरा सतहमा आए ।पार्टीमा प्रचण्डतिर लहसिने बादलको धार र ''बूढाहरूले क्रान्ति गर्दैनन्" भन्दै नेतृत्त्व पंक्तिलाई निषेध गर्दै  भरिसक्के पार्टी कब्जा गर्ने  नभए फुटाउने कुनियत विप्लवमा देखियो ।  यसकै निरन्तरतामा राष्ट्रिय भेलाको तयारीका  सन्दर्भमा कमरेड किरणको दस्ताबेज   विरुद्ध विप्लवबाट फरक दस्ताबेज प्रस्तुत भयो । यो   दस्ताबेज फरक  वैचारिक दृष्टिले भन्दा पनि पार्टी फुटाउने उद्देश्यका साथ आएको रहेछ भन्ने कुरा छिट्टै खुलस्त भयो । दस्ताबेजको  छलफलकै क्रममा पार्टी नीति, सिद्धान्त र विधानलाई चुनौती दिँदै गुटको भेला गरेर विप्लवले अचानक, बडो अप्रत्यासित किसिमले कसैको उक्साहट र कसैको निर्देशनमा गरेजस्तो बोध हुने किसिमले जसरी पार्टीबाट सम्बन्ध विच्छेद गरे , यो आन्दोलनलाई नकारात्मकातर्फ प्रवृत्त गराउने योजनाबद्धतासित सम्बद्ध पूर्व तयारीको उपज थियो । यो फूट गलत थियो र इतिहास र  परिणामले गलत साबित गरेको छ । पार्टी नीति,  विधान र जनवादी केन्द्रीयताको मालेमावादी मान्यताका दृष्टिले विप्लवका गतिविधि र कार्यले निर्देशित परियोजनालाई नै पुष्टि गर्दथे र समयले यसलाई पुष्टि पनि गरेको छ । अबको समीक्षाको पाटो यो पनि हो ।

 प्रचण्डसित सम्बन्ध विच्छेद गरेपछि विप्लवले सम्बन्ध विच्छेद गरेसम्मको स्थितिको पनि विश्लेषण र संश्लेषण गरिनुपर्छ । प्रचण्डसित सम्बन्ध विच्छेद गर्दा कमरेड सुदर्शन खम्बा बनेर प्रचण्डको पक्षमा र किरण र विप्लवको विपक्षमा उभिएका लेखोटहरू छन्-यसलाई उहाँको आफू सम्बद्ध पार्टीप्रतिको प्रतिबद्धता मान्नु  पर्छ  । प्रचण्डसित हामीले गरेको सङ्घर्ष,  अनि पछि विप्लवसित गरेको सङ्घर्षको घटना-सन्दर्भ र  अनुभवको इतिहास कमरेड सुदर्शनसित नभए पनि यसको इतिहास कमरेड कन्चन र  दीपकसित छ । सबैभन्दा बढी अनुभव कमरेड असारेसित छ । पछि कमरेड सुदर्शनले प्रचण्डसित सम्बन्ध विच्छेद गरेपछि हामीले ‘कम्युनिस्ट न्युक्लिअस, नेपाल’ गठन गरेका थियौँ । क्रान्तिकारी धारको गठनका साथ अघि बढ्ने र कमरेड किरण र विप्लवको पार्टीसहित सहकार्य र एकतामा  अघि बढ्नु पर्छ भन्ने यस टिप्पणीकारको अभिमत थियो । एकताका सन्दर्भमा    एकाध बसाइ  पनि भए, तर अन्य कारणसहित  “ अबको क्रान्ति एकीकृत जनक्रान्तिले गर्छ र विप्लवको नेतृत्वमै हुन्छ” भन्ने दलिलसाथ कमरेड सुदर्शन  ‘कम्युनिस्ट न्युक्लिअस, नेपाल’ को आधी टिम लिएर विप्लव समूहमा मिसिनु भयो ।

अहिले विप्लवले समातेको संसदीय संशोधनवाद र विसर्जनवादका विरुद्ध  कमरेड कञ्चनको नेतृत्वमा कमरेड सुदर्शनसहितका बहुमत कमरेडहरूले विद्रोह गर्नुभएको छ र क्रान्तिकारीहरू एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता र दृढता देखाउनु भएको छ, यो असाध्यै सकारात्मक पक्ष हो । तर एकताप्रक्रियासँगै तत्कालीन नेकपा-माओवादीसित विप्लवले सम्बन्ध विच्छेद गर्दा र त्यसपछिको  समग्र पक्षको समीक्षा र संश्लेषण हुनु आवश्यक छ । नेकपा-माओवादीसित सम्बन्ध विच्छेद गर्दा विप्लव ठीक थिए र पछि चुनावी राजनीतिका कारण उनी बिग्रिए भन्ने पक्षमा यो टिप्पणीकार छैन। वास्तवमा  विप्लव अहिले आएर गलत भएका होइनन्, फूटको समयमा नै गलत थिए, उनको दस्ताबेज नै पलायनताको दस्ताबेज थियो ।  त्यतिबेर विप्लवको वैचारिक विसंगतिका विरुद्ध यो टिप्पणीकारले गरेको वैचारिक संघर्षको ऐतिहासिक भूमिका रहेको यथार्थलाई बिर्सन सकिदैन ।   समीक्षाको पाटो यसरी सुरु गर्नु सही हुन्छ, यसले नै ‘खुला र  प्रस्ट होऊ’को स्थिति बन्छ । 

समीक्षाको प्रश्न  नेकपा (क्रान्तिकारी माओवादी) सित पनि जोडिन्छ ।  विप्लवले सम्बन्ध विच्छेद गरेपछि किन क्रान्तिकारी  विचार राख्ने इमानदार कार्यकर्ताहरूले एकपछि अर्को गरेर पार्टीमा बस्न नसक्ने स्थिति बन्यो,  किन एकताका नाममा सारै खराब पात्रहरू भित्र्याइए भन्ने कुरा पनि नेकपा (क्रान्तिकारी माओवादी) को इतिहाससित सित गाँसिएका छन् । यसको म थप चर्चा गर्नु सान्दर्भिक ठान्दिन, तर तिनका बारेमा  सो   पार्टीभित्रै   गम्भीर प्रश्न  उठेको/  उठिरहेको  कुरा लुकेको विषय होइन।  यथार्थत: नेकपा (क्रान्तिकारी माओवादी) सित पनि थुप्रै विसंगत पक्षहरू जोडिएका छन् र यसको पनि समीक्षा हुनु जरूरी छ ।   वैचारिक बहसछलफलले हामीलाई सही दिशातर्फ प्रवृत्त गराउँछ । यसमा हामी सबै खुला दिलले तमतयार हुनु आवश्यक छ । दुइटा पार्टीको भूमिका र क्रियाशीलताको हामी स्वागत गर्छौं, तर दुई  पार्टी नै सम्पूर्ण हुन् भन्न चाहिं गारो छ ।  वैचारिक संघर्षको इतिहासमा खास-खास व्यक्तिले ऐतिहासिक भूमिका खेलेका छन् र हुन्छन्, कतिपय सन्दर्भमा तिनको भूमिका संस्थागत किसिमको  हुन्छ  भन्ने यथार्थलाई पनि हामीले बिर्सनु हुन्न  । 
  
संक्षिप्तमा भन्नु पर्दा, आधारभूत सैद्धान्तिक, वैचारिक, राजनीतिक पक्ष र  कार्यदिशाको प्रश्नका साथै  इतिहासको समीक्षा र संश्लेषण पनि एकताप्रक्रियासँगै जोडिएर आउने सन्दर्भ हुन् । यसै अर्थमा एकताप्रक्रिया सङ्गठनात्मक जोडजाड मात्र नभएर गहन वैचारिक कार्य हो, यसमा नीति र नेतृत्व पक्ष पनि सँगसँगै  गाँसिएर आउँने कुरा प्रस्ट छ  । हाम्रो लक्ष केही सङ्गठन, समूह र  केही व्यक्तिको जमघट नभएर क्रान्तिकारी केन्द्र निर्माणतर्फ प्रवृत्त हुनुपर्ने कुरा प्रस्ट छ  । यो चुनौतीपूर्ण छ  र, वैचारिक कार्यहरू चुनौतीपूर्ण नै हुन्छन् ।  त्यसैले त माओले  '' वर्गसंघर्षलाई कहिल्यै नबिर्स"  भन्दै  ‘एकमा तीन’ को भूमिकालाई उच्च महत्व दिनुभएको हो।

( नोट : यहाँ  मैले  सामान्य सन्दर्भको उठान गरेको हुँ । एकता- प्रक्रियाका सन्दर्भमा वैचारिक र सांगठनिक प्रश्न,  नेपाली समाजको स्वरूप,  नेपाली क्रान्तिको न्यूनतम कार्यक्रम र  कार्यदिशाका सम्बन्धमा  बहसछलफल आवश्यक छ । हामी बहसछलफलमा सहभागी हुन आव्हान गर्दछौं ।) 
००० 
भिडियो फिचरview all