menu

ताजा समाचार

इतिहासको भ्रष्टीकरण नगरौँ : बलिदानीपूर्ण आदर्शप्रति गम्भीर बनौँ !

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) सम्बद्ध अनलाइनमा एउटा यस्तो समाचार पढ्ने शुभ अवसर मिल्यो : ...“अखिल नेपाल जनसांस्कृति महासङ्घले २०६० सालदेखि चैत ५ गतेलाई सबै हत्याकाण्डहरूको सामूहिक प्रतिनिधित्व हुनेगरी ‘सांस्कृतिक प्रतिरोध दिवस’ मनाउने गरिएको महासचिव‘..."

पहिलो कुरो,  अनेकोटमा २०५५ साल चैत ५ मा सांस्कृतिक मोर्चाका सदस्यहरूको साहसी र बलिदानी भावले भरिएको प्रतिरोधात्मक चेतलाई केन्द्रमा राखेर समग्रलाई समेट्ने गरी सो दिनलाई  प्रतिकात्मक रूपमा सांस्कृतिक मोर्चामार्फत ‘सांस्कृतिक प्रतिरोध दिवस’ मनाउने निर्णय युद्धरत पार्टी, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले गरेको हो । पार्टी सर्कुलरमै यसको उल्लेख गरिएको थियो र २०५६ देखि नै देशकाल अनुरूप विशिष्ट स्थितिमा युद्धका मोर्चा र खुलारूपमा मनाउँदै आइएको छ, २०६० देखि होइन । कार्यक्रमको ब्यानरमा '२४ औँ' लेख्नुको अर्थ पनि यही हो । युद्धका बीचको पहिलो वार्ताकालमा अनेकोटमा खुलारूपमा ‘सांस्कृतिक प्रतिरोध दिवस’ मनाउँदाको घटना त्यति बेला राष्ट्रिय समाचारको विषय बनेको थियो र त्यतिबेर ‘जनादेश’ मा पनि लेख र समाचार छापिएको थियो । 
   
दोस्रो कुरो, ‘अखिल नेपाल जनसांस्कृतिक सङ्घ’ को तेस्रो राष्ट्रिय सम्मेलन पछि सङ्घको इतिहासलाई भ्रष्ट पार्ने, यसको गरिमामय इतिहासलाई विकृत पार्ने काम हुँदै आएको छ । तेस्रो राष्ट्रिय सम्मेलनमा त्यतिबेलाको प्रतिवेदनमा सङ्घको स्थापनाकालका केन्द्रीय सदस्यहरूको नाम हटाएर ज्ञवालीले आफ्नो नाम राखेका थिए, उनी दोस्रो राष्ट्रिय सम्मेलनपछि मात्रै केन्द्रमा आएका हुन् l यस्तै  अन्य थुप्रै विषयमा सत्यतथ्यको तोडमरोड गरेका थिए । यो ठूलो विवादको विषय बन्यो र छानबिन आयोग नै  बनेको थियो । पछिका दिनमा सङ्घसित सम्बद्ध यथार्थ पत्रिकाले यसै गरी इतिहास नै गायब पारेको थियो । 

अब यी शृङ्खलाहरू जारी रहनेछन् । यो सांस्कृतिक तथा बौद्धिक मोर्चाको मात्र कुरा नभएर हरेक मोर्चाको कुरा हो । जो विगतमा जनयुद्ध र सांस्कृतिक आन्दोलनसित जोडिएन, जसलाई जनयुद्धको बलिदानीपूर्ण इतिहासको सामान्य जानकारी छैन, उसको हातमा सांस्कृतिक मोर्चा र प्रतिष्ठानहरूको लगाम भएपछि  इतिहासको भ्रष्टीकरण मात्र नभई अरू पनि के के हुनु स्वाभाविक हुन्छ ।उसमा उदात्त भावचेतना नै जागृत हुँदैन    ।    इतिहासको भंष्टीकरण र विकृतीकरण गर्नेहरूबाट कसरी बलिदाको इतिहासको रक्षा होला भनेर कहिलेकाहीँ पीडा हुन्छ, र चिन्ता पनि हुन्छ । 

ऋषिराज बरालको पुस्तक प्रियजनहरूको सम्झनामा अनेकोट सन्दर्भसित सम्बद्ध चारवटा रचना छन् : ‘च्याङ्वा तिमीसित भेट हुनु त्यति नै रहेछ’ (२०५६),  ‘त्यो प्यारो प्यारो गाउँको नाम अनेकोट हो’ (२०५६), ‘लालीगुराँसका फूलहरूले श्रद्धाञ्जली दियौँ’ (२०५८)  र ‘अनेकोट च्याङ्वा र ऐँजेरूहरू’ (२०६३) । यी सबै रचनाहरू' ‘सांस्कृतिक प्रतिरोध दिवस' का सन्दर्भमा लेखिएका हुन् । यी पढ्दा मात्रै पनि ‘अखिल नेपाल जनसांस्कृतिक सङ्घ’ ले कहिलेदेखि ‘सांस्कृतिक प्रतिरोध दिवस’ मनाउँदै आएको रहेछ भन्ने थाहा हुन्छ र च्याङ्वाबाहेक अरू कालाकार ‘सामना परिवार’ का होइन, ‘फिक्कल परिवार’, ‘शृङ्खला परिवार’ र ‘झुपडी परिवार’ सित सम्बद्ध थिए र ती कलाकार चुनाव बहिस्कार अभियानसित सम्बद्ध थिए । इतिहासको ज्ञान नभए अध्ययन गरौँ ! इतिहासको भ्रष्टीकरण नगरौँ ! बलिदानीपूर्ण आदर्श विरुद्ध खेलवाड नगरौँ ।

चैत ६, २०७८  
भिडियो फिचरview all