ताजा समाचार
संयोगले गिरफ्तारीबाट जोगिएको त्यो दिन
देवेन्द्र तिम्ला
“अंकल, तपाई किन आउनु भएको ?” मैले कोठाको ताला खोल्दै गर्दा घरबेटी अम्बिका भाउजूको लगभग साउतीपूर्ण स्वर सुनें, उहाँका छोरीहरूले मलाई अंकल भन्ने गर्दथे, उमेरले म भन्दा जेठी भए पनि उहाँले पनि मलाई अंकल नै भनी बोलाउनुहुन्थ्यो ।
पछाडि नफर्किकनै ढोका खोल्दै मैले भनें, “किन र भाउजू ?”
मैले कोठाको बत्ति बाल्न पनि नभ्याउँदै उहाँले मेरो पाखुरामा समातेर मलाई कोठाबाट बाहिर प्यासेजमा तान्दै भन्नुभयो, “तपाईले केही थाहा पाउनु भएको छैन ? आज यहाँ कस्तो भयो ? त्यो सँधै आउने अग्लो सर र मोटो सर दिनभरी मेरो किचनमै बस्नुभयो र अघि भर्खर साँझमा मात्रै घर जानुभयो ।” यति भनी उहाँले त्यस दिनको सारा घटना संक्षेपमा मलाई बताउनुभयो ।
यो घटना थियो २०५५ साल पौष २१ गते, अर्थात् 'जनादेश' साप्ताहिक पत्रिकाको कार्यालयमा तत्कालीन शाही सत्ताको प्रहरीद्वारा धावा बोलिएको दिनको साँझ ।
०००
आज २५ वर्ष बितिसक्दा पनि म जब बागबजारको सडकतिर पुग्दछु, त्यस दिनको सबै घटनाहरुः बागबजार पद्मकन्या क्याम्पस अगाडि व्याप्त सन्नाटा र त्यस स्थानको वरिपरिका स्थानीय व्यक्तिहरूमा व्याप्त स्वेत आतंकको छाया मेरो मानसपटलमा सिनेमाको रिलजस्तै एकएक गरी घुम्न थाल्छ ।
त्यस दिन मैले थानकोट चेकपोस्टमा मेरो जेठानको घरमा हुँदै गरेको निर्माण कार्यको रेखदेख गर्न जाने कार्यक्रम बनाएको थिएँ । त्यसैले म विहान झिसमिसेमै उठेर हातमुख धोइवरी चिया बनाएर आफू पनि खाएँ र तीन वर्षकी छोरीलाई पनि चिया बिस्कुट खुवाई थानकोट जान निस्कें । हामी बस्ने र 'जनादेश' पत्रिकाको समाचार टाइप र सम्पादन गर्ने कोठा एउटै घरमा थियो, पत्रिकाको अफिस भने गल्ली भित्रको अर्कै घरमा थियो । हामी बस्ने घरसँग जोडिएको खाली जग्गामा बनाइएको अस्थाई संरचनामा इन्द्रेणी अफसेट प्रेस थियो जहाँ 'जनादेश' पत्रिका छापिन्थ्यो । म प्रेसमा पसें र पत्रिकाका व्यवस्थापक धनबहादुर मगरसँग एक प्रति पत्रिका मागेर झोलामा राखी थानकोट जानका लागि सानी छोरीलाई बोकी बसपार्क तर्फ गएँ र बस चढी चेकपोष्ट गएँ । विहानको खान खाई कपडा धुने-नुहाउने गरी त्यहीं दिन बिताएर म साँझ मात्रै कोठामा फर्कदा घरबेटी भाउजूसँग माथिको सम्बाद भएको थियो ।
२०५५ साल पौष २१ गते मंगलबारको अङ्कमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का जनसेनाले तीन दिन अघि अर्थात् पौष १८ गते शनिबारको रातमा ललितपुरको भट्टेडाँडा प्रहरी चौकीमा आक्रमण गरी बिना कुनै क्षति सम्पूर्ण हातहतियार कब्जा गरेको घटनालाई “भट्टेडाँडा प्रहरी चौकीमाथि साहसिक आक्रमण” शीर्षकमा सचित्र ब्यानर समाचार छापिएको थियो । यही समाचारलाई निहुँ बनाई मंगलबार विहानै नेपाल प्रहरीले सो क्षेत्रलाई घेरा हालेर 'जनादेश' को कार्यालयमा छापा मारेको रहेछ । त्यहाँ भएका कम्युटर, प्रिन्टर, सम्पूर्ण पत्रपत्रिकाहरू , लेख–समाचारका हस्तलिखित पानाहरू , साथीहरूले समाचार लेखेका खेस्रा कागजका पानाहरू मात्रै होइन, कागजका साना साना टुक्रासमेत प्रहरीले डकैती शैलीमा उठाएर लगेको रहेछ । सोही समयमै काठमाडौंको जनादेशका सल्लाहकार वरिष्ठ पत्रकार शक्ति लम्साल लगायतका साथीहरूलाई पनि गिरफ्तार गरिसकिएको रहेछ । पत्रिकाको कार्यालयमा छापा मार्नु अघि सयौंको संख्यामा आएका नेपाल प्रहरीका जवानहरूले हामी बस्ने घरलाई घेरा हाली सर्वसाधारणलाई आवतजावत समेत गर्न प्रतिबन्ध लगाई आतंकको सृजना गरेको रहेछ । जुन कुराबाट म नितान्त अनभिज्ञ थिएँ । त्यसबेला आजजस्तो मोबाइल फोनको चलन थिएन, त्यसैले आफ्नो निवासमा भएको त्यसप्रकारको आतंकका बारेमा साँझसम्म पनि म पूर्णत: बेखबर थिएँ । साँझ कोठामा फर्कंदै गर्दा भित्री गल्लीमा एक प्रकारको सन्नाटा व्याप्त रहेको आभाष चाहिं भएको थियो, तर त्यसलाई मैले सामान्य रूपमा लिएर सरासर कोठामा पुगेको थिएँ । कोठामा पुग्दा हामी बस्ने घर पूरै अँध्यारो थियो, कोठाहरूमा मानिसहरू त थिए तर, कसैले पनि बत्ती बालेका थिएनन् । दिनभर त्यहाँ व्याप्त आतंकको छायाबाट त्यो क्षेत्रका वासिन्दाहरू अझै मुक्त भएका रहेनछन्, त्यसैले त हामी बस्ने घरको कुनै पनि कोठामा बत्ती नबालिएको रहेछ ।
अम्बिका भाउजूसँगको उपरोक्त संक्षिप्त कुराकानी पछिमात्रै गल्लीमा व्याप्त सन्नाटा र घरका कुनै कोठामा पनि बत्ती नबल्नुको रहस्य मलाई अवगत भयो । जनयुद्धरत कम्युनिस्ट पार्टीको एउटा वौद्धिक काडरको रुपमा मिसन पत्रकारितामा लागेको एक पत्रकारले घटनाको गाम्भीर्यतालाई तत्काल बोध गर्नु र आवश्यक सुरक्षाका विधिहरू अंगाल्न तत्काल कुनै निर्णय लिनु पर्ने थियो । त्यसैले मैले एउटा सानो झोलामा मेरो र सानी छोरीको एक–दुई जोर कपडा राखी हामी बाबुछोरी हतारहतार कोठाबाट बाहिर निस्कियौं । पुषको जाडोमा घरभित्र न्यानोसँग बस्ने खाने समयमा तीन वर्षको बच्ची बोकेर अनिश्चितताको अँध्यारो गल्लीमा निस्किन लाग्दै गर्दा घरको गेटमा पुग्दा छोरीले तोते बोलीमा “बाबा, हामी कहाँ जान लागेको ?” भनी सोध्दा मेरो मुटु भक्कानिएर आएको थियो । त्यस अबोध मुनालाई के थाहा उसको बाबुमाथि कस्तो परिस्थिति आउनेवाला छ । आफूलाई सम्हाल्दै सामान्य बन्ने कोशिस गर्दै मैले भनेको थिएँ : “आज बाहिर होटेलमा बस्ने । होटेलमै खाना खाने, आज खाना पकाउन गाह्रो लाग्यो ।” म कोठाबाट निस्किँदा मेरो दिमागमा कहाँ जाने भन्ने कुरा आएको थिएन, कुनै साथीको कोठामा जाऊँ वा होटेलमा भन्ने दुबिधा थियो । तर, अनयासै छोरीलाई होटेलमा जाने भन्दैगर्दा मेरो दिमागले साथीको कोठामा जानु असुरक्षित हुने निश्चित गर्यो । म छोरीलाई बोकेर बसपार्क पछाडिको एउटा होटेलमा पुगेँ । रातको आठ बजेको थियो । एउटा कोठा बुक गरी खाना अडर गरें र छोरीलाई लिएर होटेलको कोठामा गएँ ।
केही समयपछि खाना खान बोलावट भयो र खाना खाई सुत्न लाग्यौं । दिनभरि नयाँ ठाउँमा खेलेर थाकेकी बच्ची एकै क्षणमा निदाई । तर मलाई भने निद्रा लाग्ने वाला थिएन । मेरो मस्तिष्कमा भोलि विहान कहाँ जाने, के गर्ने, प्रहरीले को को साथीहरूलाई गिरफ्तार गर्यो होला जस्ता प्रश्नहरूको बाढी आइरहेको थियो, तर मसँग कुनै पनि प्रश्नको उत्तर थिएन । यस्तै मानसिक अन्तरद्वन्द्वका बीच भोलि विहान उठेर दमौली गई जेठानको घरमा केही दिन बस्छु र छोरीलाई त्यहीं राखेर केही दिन दुलेगौंडा गई आफ्नो घरमा बिताउँछु, त्यतिन्जेलमा स्थिति सामान्य पनि होला र फेरि काठमाडौं फर्कन्छु भन्ने निश्चय गरें । मेरो दिमागले एउटा ठूलो बोझ बिसाएको अनुभव गर्यो । विहानीपख झपक्क निदाएछु । विहान उठेर हातमुख धोई, चियाँ खाएँ र दमौली जानका लागि होटलबाट निस्किएँ ।
पुरानो बसपार्कबाट थानकोटको बस चढी कलंकीमा ओर्लिएँ र एउटा 'कान्तिपुर' पत्रिका किनेर झोलामा हाली हतारहतार पोखरा जाने बसमा चढी दमौलीका लागि प्रस्थान गरें । करिब तीन–चार बजे दमौली जेठानको घरमा पुगें । त्यहाँ पुगेपछि केही बेर जेठानसँग हिजोको घटनाको बारेमा कुराकानी भयो । नयाँ विकसित परिस्थितिको बारेमा अपडेट भएँ । भोलिपल्ट विहान उठेर हातमुख धोई चियाँ खाँदै गर्दा एउटा फोन आएछ । कसैले मलाई त्यहाँ आए/नआएको र मेरो हालखबर सोधेको कुरा मलाई जेठानले तत्काल भन्नुभयो । मलाई त्यो फोन सामान्य लागेन किन कि मेरो जेठानको फोन नम्बर मेरा कुनै पनि साथीहरूलाई थाहा हुने कुरा थिएन । मैले कहिलेकाहीं 'जनादेश' को कार्यालयको फोनबाट यहाँ फोन गर्ने गर्दथें । सोही कल डिटेलबाट ट्रयाकिङ गरी त्यो फोन गरिएको थियो । मैले खाँदै गरेको चिया पनि नसकी तत्काल माथिल्लो तलामा रहेको कोठामा उक्लिएँ । हिजो आउँदा ल्याएको झोला जुन खोलेको पनि थिइन, बच्चाको कपडा निकालेर त्यहीं राखिदिएँ र झोला बोकेर तल ओर्लिएँ । मैले झोला बोकेर आएको देखेर जेठानले मलाई सोध्नुभयो, “हिजो मात्रै आएको, कहाँ जान लाग्नुभयो ?” मैले भनें, “त्यो फोन सामान्य फोन होइन दाइ, म यहाँ बस्नु उचित छैन । म काठमाडौं नै फर्कन्छु । कसैले मलाई सोधेमा सामान्य रूपले म घरतर्फ गएको छु भन्नुहोला ।” यति भनी म फटाफट बस स्टप तर्फ गएँ ।
अस्ति बेलुकादेखि सुरक्षाको दृष्टिले म ज्यादै संवेदशील बनेको थिएँ । बस स्टपमा सामान्यतः खाली सिट खोज्ने र उपयुक्त सिट नपाए ओर्लेर अर्को बस कुर्ने गरिन्थ्यो । तर त्यस दिन नारायणगढ जाने मोटर गुड्नै लागेको रहेछ, त्यसमैमा चढेर डुम्रेमा ओर्लिएँ र त्यहाँबाट काठमाडौं आउने मोटर चढेर पुनः काठमाडौं फर्किएँ । उता जेठानको घरमा, म निस्केको करिब १५ मिनेटमा सादा पोसाकका प्रहरीहरू पुगेर निगरानी गर्न सुरु गरिसकेका रहेछन् । काठमाडौं आएर कहिले कुन साथीको कोठामा कहिले कुन साथीको कोठामा बस्दै करिब एक हप्ता बिताएँ । त्यस बीच गिरफ्तार भएका साथीहरुलाई कानुनी उपचारको प्रक्रिया सुरु भइसकेको थियो, पत्रिकामाथि गरिएको त्यसप्रकारको गैर कानुनी कार्यको चौतर्फी विरोध भइरहेको थियो । तर अझै पनि माओवादी आन्दोलनको पक्षमा लेख्ने पत्रकारहरू निर्धक्क भएर हिंड्ने अवस्था थिएन । त्यसैले पुतलिसडक प्लाजा पछाडिको एउटा घरमा बस्ने पत्रकार साथीको कोठामा करिब डेढ महिना अर्ध भूमिगत रूपमा बिताएपश्चात्ः आफ्नो कोठामा फर्कने वातावरण बन्यो ।
०००
संयोग नै भनौं यस वर्ष पनि पौष २१ गते मंगलबार नै परेको छ, 'जनादेश' निस्कने बार । तर यी पच्चिस वर्षहरूमा जसरी टुकुचामा धेरै फोहर पानी बगिसक्दा त्यो झन अझै दुर्गन्धित भएको छ, त्यसरी नै नेपाली राजनीतिमा पनि त्यही टुकुचाको नियती देखिएको छ । त्यसबेलाको आन्दोलन एउटा इतिहास भइसकेको छ, नेपाली जनताको मुक्तिको सतत् चाहना सुदूर भविष्यको कुनै कल्पना प्रतित भएको छ ।
एकातर्फ समय यस्तो विषम बनेको छ भने अर्कोतर्फ नेपाली जनताको अवस्था झन भयावह बनेको छ । देशमा राजतन्त्रको अन्त्य भएको छ, गणतन्त्रको स्थापना भएको छ, संघीयता लागू भएको छ । तर व्यवहारमा चाहिं राजतन्त्रकालमा देशमा एउटा घोषित राजा थिए, तर अहिले सयौंको संख्यामा बिना श्रीपेचका राजाहरू निस्केका छन् । राजतन्त्रकालमा सत्ताबाट जेजस्तो व्यवहार जनताले पाउँथे, त्यसमा कुनै फेरबदल भएको छैन, बरु अझ निकृष्ट बन्दै गएको छ । जनताको नाममा सत्तामा पुगेका नेताहरू आफ्नो व्यक्तिगत स्वार्थमा यति लिप्त भएका छन् कि उनीहरूले आफ्नो स्वार्थ पूर्ति गर्नका लागि जुनसुकै काम गर्न किन्चित नहिचकिचाउने मात्रै होइन, देशलाई नै विदेशीहरूको हातमा सुम्पन पनि पछि नहट्ने धृष्टता पटक पटक गरिरहेका छन् ।
आजभन्दा भोलि र भोलिभन्दा पर्सि देश अझ परनिर्भर बन्दै गएको छ, देश विदेशी शक्तिकेन्द्रहरूको क्रिडास्थल बन्दै गइरहेको छ । राष्ट्रिय स्वाधीनता, सार्वभौम अखण्डतामाथि निरन्तर आघात पुगिरहेको छ । विश्वमा आफ्नो छुट्टै पहिचान कायम गर्न सफल नेपाली क्रान्तिको मार्ग अवरुद्ध मात्रै भएको छैन, तत्कालीन क्रान्ति नायकहरूले नै त्यसलाई घोर प्रतिक्रिान्तिमा बदलेका छन् । पटकपटक धोका मात्रै व्यहोरेका मुक्तिकामी नेपाली जनतामा भने घोर निराशा व्याप्त छ । त्यतिबेला आफ्नो प्राणको बाजी थापेर पनि जनताको मुक्तिका लागि लडेका भनिएका नेता–कार्यकर्ताहरूलाई जोगाउने जनता आज राजनैतिक पार्टी र तिनका नेता–कार्यकर्ताहरुको कुनै पनि कुरा सुन्नसम्म मन नगर्ने अवस्थामा पुगेका छन् । विश्वासको संकट यति भयावह भएको छ, सच्चा क्रान्तिकारीहरूले समेत उनीहरुलाई आफ्नो नीति तथा कार्यक्रम बुझाएर विश्वास जित्न सकेका छैनन् ।
सञ्चार तथा प्रविधिमा आएको अभूतपूर्व विकाससँगै प्रतिक्रियावादी सूचनासम्राज्यको सञ्जाल यति विशाल र अभेद्य प्रतित भएको छ कि तिनीहरूले कालोलाई पनि सेतो प्रमाणित गर्न सक्ने अवस्था सृजना भएको छ । उनीहरुद्वारा संप्रेषित भ्रष्टीकृत सूचनाको जालो तोड्नका लागि सीमित स्रोत–साधनका बलमा मिसन पत्रकारिता मार्फत क्रियाशील पत्रकारहरू पनि जेजस्तो क्रान्तिकारी जोश र स्पिरिटका साथ मैदानमा उत्रनु पर्ने हो, त्यो पनि देखिएको छैन । तिनीहरूमा पनि बोलीमा क्रान्तिकारिता र व्यवहारमा संकिर्णताका कारण प्रकारान्तरले उही कथित व्यवसायिक पत्रकारिताको नाराको वरिपरि रुमलिइरहेको प्रतीत भइरहेकोछ । वर्तमान् भ्रष्ट दलाल संसदीय राजनीतिको भण्डाफोर र त्यसको विकल्प नयाँ जनवादी राज्य व्यवस्था मात्रै हुन सक्छ भन्ने मान्यतालाई जनमानसमा पुर्याउन अग्रणी भूमिका निर्वाह गर्नु पर्ने क्रान्तिकारी पत्रकारहरुको कलमले पनि त्यो चेतनाको सन्देश दिन किन सकिरहेको आवस्था छैन । यो ज्यादै चिन्ताको विषय छ ।
000
(लेखक वर्गबोध वैचारिक पत्रिकाको सम्पादक हुनुहुन्छ ।)
भिडियो फिचरview all