menu

ताजा समाचार

भारत-चीन मिलेमतोमा कालापानी कब्जा

डा. ऋषिराज बराल
सन् २०१५ मा भारत र चीनका सत्ताधारीहरूले सम्झौता गरेर घोषित रूपमै हाम्रो भूमि लिम्पियाधुरा-कालापानी कब्जा गरेका हुन् । हामीले त त्यतिबेरै यसको विरोध गरेका हौँ । यसमा भारतीय विस्तारवाद र नेपाली सत्ताधारीहरूको राष्ट्रिय आत्मसमर्पणवाद प्रमुख रूपमा दोषी छन्, तर चिनियाँ सामाजिक साम्राज्यवाद पनि कम दोषी छैन । यस अर्थमा लिम्पियाधुरा-कालापानी कब्जाको सन्दर्भलाई लिएर भारतीय विस्तारवाद, चिनियाँ सामाजिक साम्राज्यवाद र नेपाली राष्ट्रिय आत्मसमर्पणवाद : मुर्दावाद भन्नुपर्छ र मोदी, ओलीको मात्र नभई सि जिपिङको पुत्ला पनि जलाउनु पर्छ ।

२०१५ मा लिम्पियाधुरामाथि चीन र भारतको संयुक्त कब्जापछि अहिले सत्तामा रहेका थुप्रै नेता चीन गए, चिनियाँ प्रमुख पनि नेपाल आए, तर यसबारे न त सि जिपिङ बोले न त नेपालका सत्ताधारीहरू नै बोले  ।  अझ नव-प्रतिक्रियावादी ओली सरकार भारतीय-चिनियाँ हस्तक्षेपले नपुगेर एमसिसीका नाममा अमेरिकी सेना भित्र्याउन मरिहत्ते गरेर लाग्यो र लागिरहेको छ । ‘महरा प्रकरण’, अध्यादेश र संसद् अपहरणका पछिल्ला कलाहीन नाटकहरू एमसिसी प्रकरणकै पछिल्ला कडी हुन् ।

अरू को त कुरा नगरौँ । द्वन्द्वात्मक भौतिकवाद र क्रान्तिकारीताको कुरा गर्नेहरू राष्ट्रिय स्वाधीनता र मुक्ति आन्दोलनका लागि मर्न तयार छौँ भन्नेहरू नाम लिएर भन्दा बैद्य र विप्लवहरू किन चिनियाँ सामाजिक साम्राज्यवादको चाकरी गरिरहेका छन्, भन्ने कुरा बुझी नसक्नु छ । चीनको सन्दर्भ आउँदा बैद्यहरू सन्ध्या भाषा प्रयोग गर्छन् र विप्लवको त कुरै नगरौँ, चिनियाँ सामाजिक ससाम्राज्यवादप्रतिको उनको आसक्ति भनी नसक्नु र बुझी नसक्नुको छ ।  भर्खरै पनि उनले ‘रातोपाटी’ अनलाइनमार्फत यो आसक्ति जनाएका छन् ।

सन् २०१५ को लिम्पियाधुरा संयुक्त सहमतिमा सही गर्ने चीन कुनै अर्को चीन नभएर सि जिपिङको सरकारको चीन हो र त्यो ठाडै नेपाली भूमि कब्जाको संयुक्त सहमति थियो । सन् २०१५ मा लिम्पियाधुरामाथि चीन र भारतको संयुक्त कब्जाका सम्बन्धमा केही नबोल्नेहरूले अहिले क्रान्तिकारीता देखाउनुको अर्थ छैन । विप्लव त त्यतिबेर बोलेकै थिएनन्, बैद्यले डराइडराई चिनियाँ  राजदूतावासको स्वीकृति लिएर एउटा निवेदन सन्ध्या भाषामा दर्ता गराएका थिए ।  विरोध र प्रतिरोधको इतिहासलाई सुगौली सन्धि र त्यपछिका नेपाली सत्ताधारीहरूका चरित्र र भारत र चीनको व्यवहारसित नजोडी यथार्थको सही चित्र आउन सक्तैन । राष्ट्रिय आत्मसमर्पण गरेर कुर्सीमा जाने तथा कुर्सी जोगाउनेहरू जे  पनि गर्न तयार हुन्छन् र गरिरहेका पनि छन् । तर, आफूलाई क्रान्तिकारी भन्नेहरू सत्ताधारीहरूको आत्मसमर्पणको इतिहास र नेपाली जनताको प्रतिरोधको इतिहासबारे प्रस्ट हुनु आवश्यक छ ।  एउटा  ढोकाबाट ब्वाँसो लखेट्दा अर्को ढोकाबाट बाघ पसेको तथा पसाउने कुराप्रति पनि सजग हुनु जरुरी छ । हामी मार्क्सवादी हौँ भने खुलेर भन्न सक्नुपर्छ :  “भारतीय विस्तारवाद र  चिनियाँ सामाजिक साम्राज्यवाद :  मुर्दावाद !

 विश्वका बारेमा सम्पूर्ण जानकारी राख्ने र नेपालको बारेमा विशिष्ट ज्ञान राख्ने एक से एक विशेषज्ञहरू रहेको मुलुकमा सिङ्गो लिम्पियाधुरा क्षेत्र नेपालको भूमि हो भन्ने कुरा चीनलाई थाहा नभएको कुरा होइन । यो उसको हेपाहा र मिचाहा हस्तक्षेपकारी प्रवृत्ति हो । नेपालका सत्ताधारीहरूको स्वीकृति नभई, चीनको आडभरोसा नभई भारतले एक्लै बाटो बनाएर उद्घाटन गर्ने काम गरेको छैन, यो सबै मिलेमतोमा भएको हो  । चीनले पूरै बुझ पचाएको छ । चीन बनियाँ हो र उसले आफ्नो नाफाका लागि जे पनि गर्छ ।   नेपालसितको उसको स्वार्थ र सम्बन्धको मूल कडी तिब्बत मात्र हो र चीन पनि नेपाललाई आफ्नो सुरक्षाका लागि मात्र प्रयोग गर्न चाहन्छ भनेर यो टिप्पणीकारले  पहिलेदेखि भन्दै आएको हो । खास कुरा के हो भने विश्वका माओवादी क्रान्तिकारीहरूले भनेझैँ नेपालका माओवादी क्रान्तिकारीहरूले भन्दै आएका हुन् र भनिरहेका छन्–चीन अब सामाजिक साम्राज्यवादमा फेरियो ।"  त्यसैले हामी क्रान्तिकारी हौँ भने, हामीले सही अर्थमा माओवादलाई आत्मसात गरेका छौँ भने प्रस्टताका साथ भन्नु पर्छ  —“भारतीय विस्तारवाद, चिनियाँ सामाजिक साम्राज्यवाद र नेपाली राष्ट्रिय आत्मसमर्पणवाद : मुर्दावाद” ! अब सम्पूर्ण नेपालीले भन्नु पर्छ : भारत मात्र नभई चीन पनि नेपालको शुभचिन्तक होइन ।

लकडाउनका बीच पनि सडकमा जनता उत्रेका छन् । खास गरेर युवा जमात सडकमा निस्केको छ । विदेशी माध्यमहरू बोल्न थालेका छन् । वासिङ्टन र ह्वाइटहाउसका सामु प्रवासी नेपालीले प्लेकार्डसहित विरोध जुलुस निकालेछन्, तर चीन बोलेको छैन र बोल्ने पनि छैन । सत्य के हो भने, चिनियाँ सामाजिक साम्राज्यवाद गुप्त खेल खेल्नमा माहिर छ र उसको यो खेल नेपालको राष्ट्रिय स्वाधीनताका लागि निकै खतरनाक छ भन्ने कुरामा हामी प्रस्ट हुनु आवश्यक छ । खुला व्यवहारभन्दा कपटीपूर्ण व्यवहार झन् खतरनाक हुन्छ ।
  
होचिमिन्हले साम्राज्यवादका विरुद्ध लामो लडाइँको उद्घोष गरेझैँ/लडेझैँ, प्यालेस्टिनीहरूले  इजराइली प्रतिक्रयावादीहरूका विरुद्ध वर्षौँदेखि राष्ट्रिय मुक्ति आन्दोलन लडिरहेझैँ लिम्पियाधुरा-कालापानीलगायत ६३ ठाउँमा भारतीय विस्तारवादले नेपाली भूमि कब्जा गरेको विरुद्ध नेपाली जनताले लामो लडाइँ नलड्नुपर्ला भन्न सकिन्न । आउनुहोस्, —“भारतीय विस्तारवाद, चिनियाँ सामाजिक साम्राज्यवाद र नेपाली राष्ट्रिय आत्मसमर्पणवादका विरुद्ध एकजुट होऔं !
०००
भिडियो फिचरview all