menu

ताजा समाचार

अनिल शर्माका दुई चर्चित रचनाहरू

करिब एक दर्जन पुस्तकका स्रष्टा अनिल शर्मा साहित्यिक क्षेत्रमा कवि, निबन्धकार र संस्मरण लेखकका रूपमा स्थापित हुनुहुन्छ र राजनीतिक क्षेत्रमा वहाँ नेकपा (विप्लव) का नेताका रूपमा परिचित हुनुहुन्छ ।  उपचारका क्रममा चितवनमा अस्पतालबाटै पक्राउ पर्नु भएको शर्माको हामी अविलम्ब रिहाइको माग गर्दछौँ । हामीले यहाँ वहाँका दुइटा साहित्यिक रचना प्रस्तुत गरेका  छौँ :

सोमेश्वरगढीमा छचल्किएको देशभक्ति

चितवनको दक्षिण सिमाना चुरे पर्वत शृङ्खलाको सोमेश्वर पर्वत खण्ड हो । सोमेश्वर पर्वत खण्डको दक्षिण पानीढलोमा भारतको बिहार प्रदेश पर्दछ । सोमेश्वर पर्वतको उत्तरमा बघौडा र गर्दी गाविस पर्दछन् । दक्षिणतिर भारतको बिहार प्रान्त अन्तर्गत पूर्वी चम्पारन जिल्लाको गोवर्धनवा गाउँ पर्दछ । जहाँ थारु, बोटे, दराई, लगायतका आदिवासीहरुको बसोबास छ । यी गाउँहरू दून क्षेत्र अन्तर्गत पर्दछन् । २०६२ सालपछि गोवर्धनवा गाउँको शीर सोमेश्वर पर्वतको दक्षिण पानीढलोमा दशगजाभन्दा पाँचसय मिटरभन्दा कम दूरीमा भारतीय सीमा सुरक्षा बल बसेपछि सो क्षेत्रमा भारतीय अतिक्रमण बढेर गएको छ ।

धेरै समय अघिदेखि सो अतिक्रमित भूमिमा जाने, केही न केही पहलकदमी लिने कर्तव्यबोध भइरहेको थियो । अझ नेपाली भूमिमा भारतीय पक्षले भौतिक संरचना बनाउन थालेको खबरले त उद्वेलन र आक्रोशको सीमा नाघ्दै थियो । देशभक्त भनिएका दलहरूले राष्ट्रियताका विषयमा बोलिरहेका हुन्छन् । तर भारतीय विस्तारवाद निर्णायक ढङ्गले प्रभावित हुने स्तरका कार्यक्रम भने कसैले बनाउँदैनन् ।

भारतले संयुक्त राष्ट्रसङ्घको सदस्यता लिएपछि नेपालले लिनु पर्दैन भन्ने विश्वेश्वरप्रसाद कोइराला, नेपालको रक्षा मामिला भारतले हुर्नुपर्छ भनी बिन्तिभाउ गर्ने राजा त्रिभुवन, कालापानी भारतलाई दिएर पञ्चायती व्यवस्था टिकाउने राजा महेन्द्र, महाकाली सन्धि भयो भने सूर्य पश्चिमबाट उदाए झैं नेपालको आश्चर्यजन विकास हुन्छ भन्ने नेकपा (एमाले) हुँदै सुरुङ युद्धको घोषणा गरेर प्राणको भिक्षाटन माग्ने प्रचण्ड-बाबुराम प्रवृत्ति नेपालको राजनीतिमा सुगौली सन्धिपछि यथावत छ ।

जेठ १६ गते घननाथ सापकोटा ‘विकास’ सहित हामी १९ जना अतिक्रमित नेपाली भूमि सोमेश्वर गढीतिर लागेका थियौं । बघौडा गाउँमा विहान ८ बजे खाजा खाँदै गर्दा अम्बिका मुडभरी ‘अञ्जना’ ले फोनमा, “भारतीयहरूका विरुद्ध एक्लै झडपमा नजाने हो कि ! तपाईंमाथि यति धेरै प्रहार भएको छ । घटना भयो भने तपाईंमाथि नै सबै दोष जान्छ । त्यसैले अवलोकन मात्रै गरेर फर्किने होकि ? सीमा अतिक्रमण तपाईको मात्रै चिन्ताको विषय होइन, त्यति धेरै जोखिम किन मोल्ने ?” भन्नुभयो । भारतीय अतिक्रमणकारीहरूसँग झडप भएर दुर्घटना होला कि भनेर अम्बिका त्रसित, चिन्तित हुनुहुन्थ्यो । स्ववियु निर्वाचनको चटारोका कारण हामीले माडीतिरका साथीहरु मात्रै लिएर जाने योजना बनाएका थियौं । हामीले साथमा हाम्रो भूमिमा निर्माण गरेका भारतीय भौतिक संरचना नष्ट गर्नका लागि खुर्पा, खुकुरी, हथौडा, घन लगायतका घरेलु साधन बोकेका थियौं । हाम्रो भूमिमा भारतीयहरू  हर्कत गर्दैको अवस्थामा भेटिएमा लखेट्ने योजना समेत बनाएर अघि बढेका थियौं । संस्थागत पहलका लागि प्रयासहरू  भइरहेका थिए ।

त्यो प्रभावकारी भएको थिएन । मलाई लाग्थ्यो, “देशको माटोमाथि पराइले लुटपाट गर्दा एउटा देशभक्त नागरिक पार्टीको आदेश हेरेर चुपचाप बस्न सक्दैन । देशभन्दा पार्टी ठूलो हुन सक्दैन ।” चितवनका माटोमा जन्मे-हुर्केका कारण पनि मलाई भावनात्मक रूपमा सोमेश्वर गढीको अतिक्रमणले पीडानुभूति भैरहेको थियो । त्यसबेला मैले कमरेड विप्लवको “सूर्य पूर्वबाट उदाउँछ भन्न पार्टीको परिपत्र हेरिरहनु पर्दैन” भन्ने भनाई सम्झिरहेको थिएँ । काम गर्नु अगाडि हल्ला नहोस् भन्ने हामी चाहन्थ्यौं । त्यसकारण टोलीबाहिर अम्बिकाबाहेक अरूलाई भनिएको थिएन । तर टोलीबाटै विस्तारै हल्ला हुँदै गएको थियो । अतिक्रमणकारीसम्म सूचना नपुगोस् भन्ने हाम्रो सोच थियो । विहान ९ बजे घरघरेको सामुदायिक बनबाट हामी दक्षिणतिर जङ्गलको गोरेटो बाटो हुँदै उकालो लागेका थियौं ।

छर्छरे गाउँदेखि दक्षिण मितेरी कुञ्जमा नेपाली सीमा सुरक्षा बल राख्नका लागि सामुदायिक वन, मध्यवर्ती वन, गाविस सर्वदलीय बैठकसहित सर्वपक्षीय भेलाले सिफारिस गरेको थियो । भारतीय सीमा सुरक्षा चौकी दशजगाबाट पाँच सय मिटरभन्दा कम दूरी र सामरिक दृष्टिले प्रतिकूल भूगोलमा बसेको छ । तर नेपाली सीमा सुरक्षा चौकी ५० कि.मी. भन्दा पर भरतपुर, आँपटारीमा बसेको छ । भारतीय सीमा सुरक्षा बलले प्रत्येक दिन सिमानाको निगरानी गर्छ । चितवन जिल्लामा कार्यालय स्थापना गरेको नेपालको सीमा सुरक्षा बल दुई वर्ष पुगिसक्दा पनि एक पटकसम्म पनि सिमानामा पुग्दैन ।
जरायोमारे घाटको पाखामा २०५६ सालमा आएको भारतीय सीमा सर्भे टोलीले दशगजा भन्दा ५ किमी उत्तर नेपालको वनमा एकतर्फी नक्कली स्तम्भ गाडेको छ । सो स्तम्भ ‘भारत’ लेखिएको छ । त्यो स्तम्भ भारतले लुकीचोरी किन गाडेको हो ? प्रश्न अनुत्तरित छ । दशगजालाई जरायोघाटसम्म सार्नका लागि भारतले सो स्तम्भ बनाएको जनधारणा छ । त्यो स्तम्भलाई खैरहनी गाउँका देशभकत युवा सरोज लामिछानेको टोलीले भाँचेर फालेका हुनाले भग्नावशेष (अर्ध भाग) मात्र बाँकी रहेछ ।

जरायोमारे घाटबाट केही समय हिँडेपछि हामी उडराउडरी पुग्यौं । त्यहाँ काटिएको मान्छे जस्ता दुई ढुङ्गाका मानव आकृति थिए । छेउमा मान्छेकै टाउकोको आकृति थियो । सल्यानको जारकोट ढुङ्गाको भन्दा सुन्दर मिथक थारू साथीहरूले सुनाए । दोनका एक जोडी पुनर्विवाह  गरेर भागेर माडीतिर लाग्ने क्रममा त्यहाँ पुगेपछि थकाई मार्दै गर्दा पिछा गर्दै आएका जारले भेटेछन् । त्यसपछि ती दुवैलाई त्यही टाउको काटेर फालेछन् । तिनै काटिएका जोडी, दुःखद प्रेमकथाको साक्षी बनेर उनीहरूको शरिर अझसम्म त्यहाँ रहिरहेको मिथक युरोपियनहरूले विस्तार गरेको ‘प्रेम दिवश’ भन्दा कम रोचक लाग्दैनथ्यो । गवई खोला र सोमेश्वर गढीको बीचमा उडराउडरी पर्छ भनिन्छ । उडराउडरीबाट सोमेश्वर गढी पुग्न ठाडो उकालो चढ्नुपर्ने रहेछ । त्यसैले थकित उडराउडरी थरकमार्न त्यहाँ बसेको कथन छ ।

माडीका देशभक्त जनताले वर्कत र चेतनाले भ्याएसम्म सोमेश्वर गढी बचाउन निरन्तर मेहनत गरिरहेका छन् । उनीहरूले गढीको दक्षिण पानीढलोमा केही वर्षअघि अंग्रेजी भाषामा ‘सोमेश्वर जाने बाटो’ भनेर धातुफलक राखेका रहेछन् । त्यो धातुफलकमा नेपालको खैरहनी गाउँ लेखेको थियो । भारतीयहरूले त्यसलाई उप्काएर फालेछन् । त्यो फलक हाल सरोज लामिछानेले नेपालपट्टी टाँसेका रहेछन् । बाटो निलकण्ठ सापकोटाले मर्मत–सुधार गरेका रहेछन् । त्यो पानीट्यांकीबाट जति पानी झिके पनि नघट्ने र कहिल्यै नझिके पनि नबढ्ने अद्भूत शक्ति छ भन्ने जनविश्वास रहेछ । हाल भारतीय पक्षले त्यो पानी ट्यांकीसम्म दाबी गरिरहेको छ । पानी लिन आउने भारतीयसंग कर असुली गर्ने सल्लाह गर्यौं हामीले ।

सोमेश्वर गढीमा पुगेपछि हामी ४५ नम्बर स्तम्भ हेर्न नाकनचुली शिखरतिर गयौं  । त्यहाँ पुग्नै कठिन रहेछ । भीरबाट लडिएला जस्तो, बुट्यान समाल्दै हामी शिखरमा पुग्यौं नाकनचुलीको मुख्य थुम्कोमा चढ्नका लागि काठको भर्याङ थियो । मचान र भर्याङ भारतीय सुरक्षा फौजले नष्ट गरेछ । नाकनचुलीको ४५ नम्बर स्तम्भ आधा किमी जति नेपालतिर सारिएको जानकारहरू  बताउँछन् ।

नाकनचुलीको ४५ नम्बर स्तम्भ हेरेर हामी कालिका मन्दिरतिर लाग्यौं । सोमेश्वर पर्वतमा थुप्रै मिथकमध्ये सारंगीवादकको मिथक पनि रोचक र अर्थपूर्ण लाग्थ्यो । आदिवासीका अनुसार, त्यो बाटो हुँदै सारंगीवादकहरू  भारतको दुन क्षेत्रमा जान्थे रे । श्राप परेपछि त्यो बाटो हिंड्यो कि मर्न थालेछन् । त्यसपछि सारंगीवादकहरू हिंड्न छोडे रे । सायद गोरखातिरका गन्धर्वहरू  हिउँदमा माडी हुँदै दुनतिर जाँदा हुन् ।

सोमेश्वर पर्वतको एक ठाउँमा पत्थरमा मानव पाइलाको आकृति थियो । एक जना आदिवासीले त्यो पाइला उज्जैनका राजा विक्रमादित्यकै समकालीन राजा भर्तृहरिको भएको बताए । विद्धान तथा धार्मिक भावनाका राजा भर्तृहरिले नै सोमेश्वरमा शिवालय स्थापना गरेको बताइन्छ । त्यहाँ हाल भग्नावशेष मात्र बाँकी छ । त्यसको रक्षा र पुनःनिर्माण गर्नुपर्नेमा भारतीयहरूले नेपाली भूमिमा नेपालको अनुमति नलिई मन्दिर निर्माण गर्दैछन् । जथाभावी फालिएका मध्ये एउटा चौडा पत्थरमा वि.सं. १५१५ लेखिएको थियो ।

डाँडामा यत्रतत्र झिंगटीका टुक्रा, लुम्बिनीकै जस्ता ईंटाका टुक्रा, पत्थरमा कँदिएका बुर्जा, साँढे, शिवलिङ्ग, चक्र, ढुङ्गामा खोपेका ओखल र भवनका जगहरू देखिन्थे । त्यहाँबाट ईंटा लगेर खैरहनीमा केहीले घरसमेत बनाएका रहेछन् । त्यहाँ गढी रहेको बताइन्छ । तर त्यहाँ गढी मात्र नभएर दरबार अथवा  बस्ती नै भएको हुनुपर्दछ । त्यहाँ महान् प्राचीन सभ्यताका झलकहरू  अनुमान गर्न सकिने भग्नावशेषहरू  देखिन्छन् ।
यो क्षेत्र पाँच पाण्डवको नगरी पनि हो । अयोध्याका राजा राम १४ वर्ष वनबास व्यतित गर्न यही क्षेत्रमा आएका थिए । रामायणका प्रथम संस्कृत भाषाका लेखक तथा कवि वाल्मिकीको आश्रम पनि यही क्षेत्रमा पर्दछ । वाल्मिकी आश्रम गर्दी गाविसमै पर्दछ । आदिवासी थारू जातिका आदिपूर्खा ‘विक्रमबाबा’ पनि यहीं रहेका छन् । तसर्थ ऐतिहासिक र पौराणिक दृष्टिले प्राचीन मानव सभ्यताका अथाह रहस्य गर्भमा बोकेर त्यो भूभाग बसेको छ, जसको अनुसन्धान र संरक्षण हुन सकेको छैन । हामी कस्तुरीको बास्ना खोज्दै भौंतारिइरहने मूर्ख मृगझैं भएका छौं ।

सोमेश्वर मन्दिर नजिकै ‘रहसो गुरों’ को मूर्ति रहेछ । जसको छेउमा बेडमाको ढुङ्गाको ढुङ्गा थियो । प्राचीनकालमा माही तलाउ थियो । ‘रहसो गुरौ’ त्यही ढुङ्गा चढेर कसरामा विक्रमबाबाको दर्शन गर्न जान्थे रे । राजा भर्तृहरिले सोमेश्वर कालिकाको मन्दिर स्थापना गरेर ‘रहसो गुरौं’ लाई प्रथम पूजारी राखेको बताइन्छ । स्थानीय थारू भाषामा ‘आहाल’ पदावलीलाई ‘माड’ भनिन्छ । आहाल क्षेत्रलाई थारू भाषामा ‘माडर’ भनियो र कालान्तरमा ‘माडर’ अपभ्रंस भएर ‘माडी’ नामाकरण भयो भन्ने तर्कपूर्ण थियो । उसबेला माडी हात्ती र गैंडाको आहाल थियो रे । ‘रहसो गुरौं’ को ढुङ्गा भन्दा पश्चिमपट्टी एउटै चट्टानमा गुफा रहेछ । राम बनवास आउँदा त्यही गुफामा बास बसेको जनविश्वास  रहेछ । सोमेश्वर पर्वतदेखि दक्षिणपट्टी दून क्षेत्रको वनलाई भारतले बाघ संरक्षण क्षेत्र घोषणा गरेको छ ।

वि.सं. २०५० सालसम्म सोमेश्वरमा कालिका मन्दिरको भग्नाबशेष मात्र थियो । खैरहनीका निलकण्ठ सापकोटाले २०५० सालमा सो मन्दिर निर्माण गरे । मन्दिर निर्माण भएपछि भारतीय श्रद्धालुहरूको भीड लाग्न थाल्यो । २०६२ सालपछि भारतीय सीमा सुरक्षा चौकी स्थापना भएपछि छापा र तरंग माध्यममार्फत सो क्षेत्र भारतको भएको प्रचार गर्न थालियो । सरकारी योजनामा भारतीय चाप बढ्दै गयो । २०६६ सालमा नेपाली पुजारी निलकण्ठ सापकोटालाई हातपात गरेर लखेटियो । भेटी लुटेर भारतीयले लगे । नेपाल झल्काउने सबै लेखोट, झण्डा, फलक नष्ट गरे । नेपालको राजधानी पशुपतिमा भारतीय पुजारीको हैकम छ । तर नेपालकै जमिनमा नेपालीले नै बनाएको र परम्परादेखि पुजारी रहँदै आएको सोमेश्वर कालिकाको मन्दिरबाट नेपाली पुजारीलाई सादा पोशाकका भारतीय सुरक्षा फौजले लखेटेका छन् । विष नभएको सर्प र ईख नभएको मान्छे काम लाग्दैन भन्थे पूर्खाहरु । तर हामीमा संवेदनशीलता मर्दै गएको छ ।

भारतले नेपालका ७१ स्थानमा सीमा अतिक्रमण गरेको छ । सोमेश्वर पर्वत नेपाल-भारत सिमानाको सबैभन्दा अग्लो शिखर हो । त्यो नाका तिब्बतको केरुङबाट ठोरीभन्दा पनि नजिकको नाका हो । राप्ती र रेखा नदीमा पुल बनिसकेका कारण भारत र चीनलाई १० घण्टा भन्दा कम समयमा सडक सञ्जालले जोड्ने नाका हो सोमेश्वर पर्वत । जुन नाकाबाट प्राचीनकालदेखि आदिवासीहरु उठबस गर्ने गरेका छन् । सोमेश्वरको दक्षिण भारतीय गाउँहरु गोवर्धनवा, रामनगर आदिमा चीनले भारतमा आक्रमण गर्दैछ भन्ने हल्लाहरु पनि हुने गरेका छन् । भारतीय शासकमा पैदा भएको लघुता भासका कारण सामरिक दृष्टिले महत्वपूर्ण उच्चस्थल कब्जा गर्ने नियतले सोमेश्वर कालिका मन्दिर सहित त्यो क्षेत्रमा भारतले अतिक्रमण बढाएको देखिन्छ । भारतले सोमेश्वरमा आँखा गाड्नुको अर्को कारण सो क्षेत्रको ऐतिहासिक र पौराणिक महत्व हो ।

ऋषि वाल्मिकीको आश्रम, विक्रमबाबाको कुटी, लवकुशको जन्मस्थल, वाल्मिकी ऋषिको शिक्षा दानस्थल पाँच पाण्डवको बस्ती, राम बनबास क्षेत्र र रहसो गुरौको बस्ती  भएका कारण त्यो क्षेत्रमा प्राचिनकालमा महान् सभ्यता निर्माण भएको हुनुपर्दछ । प्राकृतिक प्रलयले ती नष्ट भई हाल भग्नावशेष मात्र रहेका छन् । त्यसकारण धार्मिक पर्यटनका दृष्टिले त्यो क्षेत्रको ठूलो महत्व छ । भारतीय अतिक्रमणको तेस्रो लालच त्यसक्षेत्रको प्राकृतिक सौन्दर्य हो । घना जंगल, तरेली परेका वनमा गीत गाइरहेका पंक्षी र नाचिरहेका पुतलीहरू  निकै मनोहारी लाग्छन् । काठमाडौंको त्यत्रो बखान गर्ने भानुभक्तले त्यो स्थल देख्न पाएका भए के भन्दा हुन् ! जेठमा चिसो हावा चलिरहेको शिखरबाट दक्षिणतिर भारतको बिहार, पूर्वी चम्पारणका दून क्षेत्रका गाउँहरू , चुरेबाट धरती चिरेर बहने नागवेली नदी र वन तरेली भूदृश्यहरु शब्दमा उतार्न सकिन्न । त्यसै गरी उत्तरतिर माडी, पश्चिम चितवनका भूस्वर्गहरू  छर्लङ्ग देख्न सकिन्छ । रातको समयमा नारायणगढ, माडी र मौलाकालिकाको झिलिमिली मनमोहक लाग्छ, जसको दृश्यावलोकनका लागि कृत्रिम मचान आवश्यक पर्दैन । प्राकृतिक सौन्दर्यलाई पर्यटन व्यवसायमा बदल्ने लोभी आँखाले पनि भारतीय अतिक्रमण भएको हुनसक्छ ।

माडीको छरछरेबाट उडराउडरीसम्म सडक विस्तार गर्ने, प्रचारप्रसार गर्ने, राष्ट्रिय जागरण श्रृजना गर्ने र भारतीय पक्षसंग सरकारले कूटनीतिक पहल गर्नुपर्छ । सीमा सुरक्षा बल दशगजाबाट भारतीय सीमा सुरक्षा बल जत्तिकै दूरीमा बसेर नियमित निगरानी गर्नुपर्छ । ऐतिहासिक प्रमाण, कागजपत्र, नक्साका आधारमा उठेका प्रश्नको समाधान नहुञ्जेल पूर्ववत् स्थितिमा रहन दिनुपर्दछ । नेपाली भूमिमा नेपालीले नै बनाएको र नेपालीले नै भोगचलन गर्दै आएको स्थितिमा नेपाली पुजारी लखेट्ने, भेटी लुट्ने, काठ तस्करी गर्ने, नेपालको अस्तित्व झल्कने प्रमाण नष्ट गर्ने, नयाँ भौतिक संरचना बनाउने जस्ता भारतीय ज्यादती स्वीकार्य छैन । माडीका जनता निरन्तर सीमा अतिक्रमणका विरुद्ध लडिरहेका छन् । तर सरकारी पक्ष र बौद्धिक समुदाय रमिते बनिरहेको छ । राष्ट्रियता नारामा होइन दैनिक जीवन व्यवहार र कर्ममा अभिव्यक्त हुनुपर्दछ । यो पक्ष झनै त्रासदीपूर्ण छ ।

(राष्ट्रियता र राप्ती दून बाट)
..................................................................................

गिद्ध

गिद्ध इमानदार छ
जिउँदो सिकार गर्दैन गिद्ध
प्रतीक्षा गर्छ/रुँगेर बस्छ
तर काठमाडौँले जिउँदो सिकार गर्छ
जब कोरोना आउँछ
काठमाडौँले जीवन र लास चिन्दैन
हाँडाभाँडा फालिदिन्छ छिँडीबाट
र यो देशको शरणार्थी
लखेटिन्छ उतै देहाततिर ।


बिसुनाकी दुधे नानी

राजापुरको आकाशमाथि
माछागढको कालोपत्रे सडकहुँदो
आँखा तानेर हेर्छे
तर घरछेउको चौरीमाथि
उड्दै-उड्दैन चिलगाडी
बिसुनाका लागि
हठनीदेवीको खसमका लागि
कोहलपुर-अत्तरिया सडकतिर
गुड्दै-गुड्दैन मोटरगाडी
चिलगाडीले बोक्न त बोक्छ
गोरा बोक्छ/सेठजी बोक्छ/मन्त्राणी बोक्छ
तर निर्दयी वायुपङ्खी घोडाले
सोमलाको बाबा बोक्दै बोक्दैन ।


जब सकिन्छ मामदमारको गुन्द्रुक

सकिन्छन् ढुसी परेका मुलाका चाना
भूकम्प होस् वा कोरोना
जब बन्द हुन्छन् भक्तपुरका इँटाभट्टा
दोजिया फूलमती
अनिकालको लाठीले लखेटिन्छे
नबोली-नबोली सिकार गर्छ काठमाडौँ
तर गिद्धले जिउँदो सिकार गर्दैन
गिद्ध इमानदार छ ।


अपार्टमेन्टहरू/डिपार्टमेन्टहरू/ओम्नीहरू

यत्रतत्र छन् काठमाडौँमा
ताःननी गल्लीतिर/महापालतिर/किलागलतिर
काठमाडौँ छैन
गल्ली छन्ज्या/पु छन्ज्या/मी मात्रै छन्
सोमलाको बाबा बोक्न
जन्मेकै छैनन् ‘राइट ब्रदर्स’
फूलमतीका लागि
आविष्कार भएकै छैन वाष्प–इन्जिन
यो सोह्रौँ शताब्दी हो
दुधे बच्चा काखी च्यापेर रामकली
हेरिरहन्छे लहान–राजविराज सडक
तर बिसुना
मौवा खोलामा रोकिन्छ
बन्द छ युरोप छिर्ने बन्दरगाह
बिसुनाहरू सियाली हुन्

काठमाडौँ र भरतपुर टर्की हुन्
त्यसैले बन्द गरिएको छ
युरोप छिर्ने ढोका ।


जब खुल्नेछन् चन्द्रागिरिका इँटाभट्टा

काठमाडौँले रङ बदल्नेछ
र देहाती अफ्रिकीहरू
चिया/कफी/उखु/भरिया फलाउन
फेरि ओसारिनेछन्
र भरिनेछन् फेरि
ताराताल-काठमाडौँका थोत्रा बस
फेरि सुरु हुनेछ मानव-बधशाला
तर गिद्धले जिउँदो सिकार गर्दैन
गिद्ध इमानदार छ ।
                                                                               (स्रोत :eratokhabar.com)

भिडियो फिचरview all