ताजा समाचार
शब्दचित्र : सपना डढेको बस्ती
खोमा तरामु मगर
जेठ महिनाको एक दिन ।
मध्याह्न १२ बजेतिर । उखर्माउलो गर्मीको बोध गर्न म उभिएको छु तिनाउको बगरमा । छेउतिर सुनसान बगेको छ तिनाउ नदी- घरि बगरभित्र लुकेर, घरि सर्पझैँ गुजुल्टिएर । तिनाउको किनारमा एउ
किनारमा पहेँलो रङको त्रिपाल टाँगिएको छ । त्रिपालको सियालमुनि गिट्टी कुटिरहेकी छिन् सविना विक । उनले यो पेसा गर्न लागेको ८ वर्ष बितेछ । उनी घन बजार्छिन् ढुङ्गामा र उनको सपनाजस्तै टुक्राटुक्रा भई फुटेको छ ढुङ्गा । नाकको डाँडीबाट बगेको नुनिलो पसिनाले भिजेको छ उनको शरीर । ओठ कक्रक्क परेको छ । मानौँ, उनले चुपचाप आगो सहन गरेकी छिन् । अर्थात् उनलाई आगोको ज्वालाजस्तै घामको डाह छैन । सविनाको हृदयमा बलेको भोकको आगो र उनले भोगेको समयको चित्रलाई कसरी व्यक्त गरूँ ? त्यसलाई शब्दमा उनेर कुनै कवितामा लेख्न पाए ?
उमेर : ४५ वर्ष
ठेगाना : रानीगन्ज, सुकुमबासी बस्ती
पेसा : गिट्टी कुट्नु, बालुवा चाल्नु
यो उनको परिचय हो जो साँझबिहानको छाक तार्न गिट्टी कुटिरहेकी छिन् । बालुवा चाल्नु र गिट्टी फोर्नु उनको दैनिकी हो । उनले फोरेका गिट्टीहरूले असङ्ख्य पक्की घरहरू बनेका छन् । अर्थात् आधुनिक सहर निर्माण भएका छन् र सम्भ्रान्तहरूले वैभवको जिन्दगी बिताएका छन् । तर सविनाको आफ्नै राम्ररी ओत लाग्ने घर छैन । ''यही काम गरेरै बर्सौं बित्यो", उनले सुस्केरा हालिन् । तुना चुँडिएको चप्पल र धुलोले मैलिएको कुर्थामा भेटिएकी उनले ढुङ्गामा घन बजार्दै भनिन्, ''अब धेरै बाँच्ने रहर छैन । जति दुःख गरे पनि खान–लाउन पुगेन ।" उनी जिन्दगीदेखि विरक्त थिइन् ।
बगरमा नै गयो सविनाको आधा जिन्दगी । यसैले उनको परिवारको रोजीरोटी चलेको छ । उनी नजिकै छ बोरामा भरेर राखिएको बालुवाको थुप्रो । बोरा मिलाउँदै उनी भन्छिन्, ''नत्र चर्को घाममा कसको रहर हुन्छ र !" उनलाई दुःखले आफ्नो जिन्दगीमा माहुरीले झैँ घार नै बनाएको बताउँछिन् । अहिलेसम्म कति टन फुटे होलान् गिट्टी ? कति बोके होलान् पिठ्युँमा बालुवाको पृथ्वी ? कुनै हिसाबकिताब ? उनलाई टनसँग कुनै सरोकार छैन, छ त साँझबिहानको रोजीरोटीसँग मात्र ।
दुःख, सुख, आँसु र हाँसो जीवनका पक्ष हुन् । तर मानिसहरू बगरमा जिन्दगी बिताइरहेछन्, यो कहर कटाउने शासक वर्ग अर्थात् व्यवस्थासँग कुनै संवेदना छैन । रोजीरोटीको बाध्यताले बगरमा जिउ सुकेको छ । घाम, पानी, शीत र तुसारोका कैयौँ कहर भोगेको छ सविनाको जिन्दगीले । सविनाको आँसु र पसिनाले तिनाउ बगेको छ र मधेस सिञ्चित भएको छ ।
उनी बेलाबेला झनक्क रिसाउँछिन् । ''किन सोध्नु भा’को ?" अघिदेखि सोधखोज गरिरहेको मलाई देखेर गिट्टीको थुप्रो छेउतिर सार्छिन्, ''लेखेर के हुन्छ र ? आफ्नो दुःख कसैले देख्ने हैनन् ।" उनलाई यो पेसा गर्न रहर छैन, तर के गर्नु ? नगरी सुखै छैन । सविनाको दुःख सगरमाथाजस्तै चुलिएको छ ।
तिनाउ आफ्नै पारामा बगिरहेको छ । दिन ढल्दै गएपछि पश्चिमी क्षितिज पहेँलिँदै गएको छ । रानीगन्जको सुकुमबासी बस्तीका धुरीहरूबाट निक्लिरहेको धुवाँले साँझको सङ्केत गर्यो । बटौली सहरका सम्भ्रान्त वर्गलाई रेस्टुराँका खुकुरी रम, रोयल स्ट्याग, एन्टिक्विटी, ब्यागपेपर नानाथरीका मदिराको ‘इन्जोय’ सँग मतलब छ । सुरासुन्दरीको लिपिस्टिक र छालासँग सरोकार छ । सविनाको दुःख र अभावबारे टाउको दुखाएर उनीहरूलाई के फाइदा ?
सविनासँग कुरा गर्दागर्दै उनको आँसु झरिसकेछन् !
''किन रोएकी ?" उनलाई थुमथुम्याउन खोज्छु म । उनी झोलाबाट हरियो बोतल निकालेर एक घुट्की पानी पिउँछिन् र लामो सास फेर्छिन् । धन्न जुरुक्क उठेर हिँडिनन् । उनको सुसाइमा ठूलो दुःख लुकेको छ । उनीजस्तै श्रमिक वर्गले हो दुःख पाउने । हाम्रो समाज वर्गीय समाज हो । अर्थात् सहरको निर्माण सविनाजस्तै सुकुमबासी बस्तीले धानेको छ । उनी रोइरहेकी थिइन्– सुँक्कसुँक्क ।
खाँबा र ब्लकले उभिएको छ सुकुमबासी बस्ती । काँस र जस्ताको पाता ओढेका । घाउ सन्चो भएर खाटाको पाप्रो उप्केझैँ छन् रङ पोतिएका पर्खाल र भित्ताहरू । इँटले जोडेका घर थोरै छन् । घामपानीले मक्किसकेको छ । लाग्छ यो घर होइन, कैदखाना हो । न घाम छेक्छ, न त पानी नै । चुहिने छ छाप्रो । बर्खामा सर्पबिच्छीको बिगबिगी हुन्छ । यही छाप्रोभित्र छन् जिन्दगीका कथा विविध । दुःखको अशेष संसार । यी घरहरू उदास लाग्छन् र घरभित्रका दृश्यहरू पुरानो चलचित्रका चित्रजस्तै धमिलो छ । अनगिन्ती छन् सुकुमबासी बस्तीका रङ खुइलिएका कहानीहरू । सुकुमबासी बस्ती श्रमिकहरूको बस्ती हो । सुकुमबासीका नाउँमा दसतिर घर बनाएर जग्गा कब्जा गर्ने दलालहरूको बिगबिगी पनि कम छैन ।
समृद्धिले छोएको छैन यो बस्तीलाई । तिनाउमा बगेका छन् विगतदेखि सुकुमबासीका सपनाहरू । अर्थात् सविनाका सपनाहरू । यो बस्तीका लागि न त लोकतन्त्र आयो, न त गणतन्त्र आयो । न त आयो उनीहरूको हातमा लालपुर्जा । धेरैपटक ‘सुकुमबासी समस्या समाधान आयोग’ बने । यी सबै चुनावका रुमानी सपना थिए अर्थात् ढोङ थिए । भोट त सविनाले पनि हालिन्, लालपुर्जाको आशामा तर चुनाव जितेपछि उल्टै बस्तीमा डोजर चलाए । आगो लगाए । जनताको सुस्केरा लुटे । उठीबास बनाए बाबै उठीबास ! सविनाको सपना उडायो हुरीले ।
बुटवल क्षेत्रमा ठूलो सुकुमबासी बस्ती छ । सहरको रहरसँगै गाउँ–गाउँबाट बसाइँसराइँ हुन थालेपछि सुकुमबासी बस्ती बढेको हो । २०२७ र २०५१ सालमा नापी भएपछि केही बस्तीहरूले लालपुर्जा पाए । ०५७/०५८ देखि सालतिर रानीगन्ज, प्रगतिनगर, बुद्धनगर, हात्तीसुँडका क्षेत्रहरूमा अत्यधिक बस्ती बस्न थालेको हो । सुकुमबासी बस्ती सहरको श्रमशक्तिका रूपमा रहेको छ । अहिले सत्ताको अन्यायविरुद्ध उद्वेलित छ सुकुमबासी बस्ती । सविनाहरूको मनमा राज्यप्रति तीव्र घृणा छ । उज्यालोको खोजीमा सपना सल्बलाएको कारखानाजस्तो लाग्छ, सुकुमबासी बस्ती । अर्थात् सहरको श्रम शोषणबाट मुक्त जीवन खोजिरहेको छ बस्ती ।
०
२१ जेठ, २०७५
भिडियो फिचरview all