ताजा समाचार
बेनामी लेखकको मननयोग्य टिप्पणी
(यो टिप्पणी कसले लेखेको हो, उसको नाम छैन । नाम नभए पनि उठाएका कुरा असाध्यै गम्भीर छन् । लेख्नेले छाती पोलेरै लेखेको हुनु पर्छ । यो उनको मात्र पीडा नभएर जनयुद्धसित गाँसिएका धेरैजसो लेखक–साहित्यकारहरूको पनि पीडा हो र बुझाइ पनि हो । टिप्पणीकार कता छन् ,के गर्छन्, थाहा छैन । उनी पनि प्रचण्डसँगै टुकुचामा मुख जोत्न पुगेको पनि हुन सक्छ । जे भए पनि र जता भए पनि उनले उठाएका कुरा सही छन् र मननयोग्य छन् ।५ वर्षअघि 'किन कमजोर भयो जनयुद्धको सौन्दर्य' शीर्षकमा प्रकाशित यो टिप्पणी, जनयुद्धको सौन्दर्य कमजोर भएको होइन, कमजोर बनाइयो भन्ने टिप्पणीका साथ हामीले यहाँ प्रस्तुत गरेका छौँ । यसको स्रोत तल दिइएको छ :)
https://archive.aarthiknews.com/2015/11/27/42006/
किन कमजोर भयो जनयुद्धको सौन्दर्य
हिजो जनयुद्धको समय थियो । हार्ने, जित्ने, भाग्ने, टिक्ने कुरा नै हाम्रा दैनिकी थिए । पढ्न–लेख्न घोत्लिने, सोच्ने, निखार्ने असाध्यै कम समय थियो । झण्डैझण्डै थिएन । आजका साहित्य शिरोमणिहरू जनयुद्ध गन्हायो, फाँसीवादी गन्ध आयो भनेर नाक थुनेर हिड्ने समय थियो । टाउकाको मोल तोकिएको थियो, हाम्रो बाँच्ने आयु तोकिएको थियो ।
त्यो समय सहरमा बसेर लेख्न असम्भव थियो । लेखिहाले पनि जोगिन असम्भव थियो । त्यस्तो विषम परिस्थितिमा लेख्दै, लड्दै, लड्दै लेख्दै गर्नुपथ्र्यो । त्यसो गर्दा साधनाको कमी हुन्थ्यो । कलात्मक हिसाबले कमजोर हुन्थ्यो । युद्धको समयमा जनता जगाउन, जनताले सीधै बुझ्ने साहित्य चाहिन्थ्यो । दशचोटि सोचेर अर्थ निकाल्नु पर्ने साहित्यले तत्काल कुरा बुझाउँन सम्भव थिएन ।
त्यति बेलाका गीतसंगीत र साहित्यहरूले आफ्नो समयको भूमिका पूरा गरे । भलै ती अपरिष्कृत काँचाजस्ता किन नहोऊन् । ती साहित्यलाई सहरमा बसेका, जनयुद्धलाई अस्वीकार गरेका साहित्यकारहरूले कोरा नारा, युद्ध उन्माद कलाविहिन शब्दहरूको थुप्रो मात्र देख्नु स्वाभाविक थियो
हाम्रो आँखाबाट हेर्दा पनि त्यतिबेलाका सहरका साहित्यहरू आत्मविहिन वा कमजोर अन्तर्वस्तु भएका कस्मेटिक मात्र देखिन्थे । आज हामी जनयुद्धबाट शान्तिप्रकृयामा आएका छौं । हामीले धेरै हदसम्म जनयुद्धका आदर्शहरू भुल्दै,, भत्काउँदै लगेका छौं र सहरिया निम्नबुर्जुवाहरूसँग हेलमेल गर्न थालेका छौं । सहरिया मित्रहरू हिजैदेखि अलि बढी र व्यवस्थित अध्ययन गरेर, साधना गरेर र यो क्षेत्रमा नाम चलाएर बसेका छन् ।
जागिर घर वा सापेक्ष स्थिर मनोविज्ञानमा छन् । युद्धबाट सहर पसेका र साहित्यमा कलम चलाउनेहरू भौतिक र मनोवैज्ञानिक दुवै हिसाबले भद्रगोल अवस्थामा बाँच्न विवस छन् । उमेर ढल्केको, पारिवारिक दायित्व वढ्दै गएको, शैक्षिक प्रमाणपत्र नभएको वा देखाउन लाज लाग्ने भएको र जीविकोपार्जनको लागि सकिने नसकिने गर्न मिल्ने नमिल्ने विभिन्न कर्म गरेर टिकेको यो क्षेत्रका साथीहरू टिक्न नसकेर कति विदेश भासिनु परेको छ भने कतिले निकै अपहेलित निम्छरो जीवन बिताउनु परेको छ ।
जनयुद्धबाट आएकाहरूप्रतिको आमपूर्वाग्रह र किनारीकरणको मार पनि यो पक्षले भोगिरहेको छ । साहित्य र संस्कृतिको अध्ययन र रचना सिर्जनाको कर्मबाट चिप्लिएर केही साथीहरू सत्ताको तिर्सनामा लिप्त हुने काम पनि भएको छ ।जनयुद्धबाट आएको शक्तिमा भएको फूटको कारणले यो धारा विभाजित बनेको छ र आपसमै हिलो खेल्दा रमाइलो मान्ने रोगले ग्रस्त छ । बुर्जुवाहरू एकले अर्कोलाई बुइ बोकेरै स्थापित गर्छन् भने हामी एकले अर्कोको अस्तित्वसँग डराउँने र भाग्ने गर्न थालेका छौं । बुर्जुवाहरू सङ्गठित अभियान चलाउँने, तर हामी फुट्ने आत्मश्लाघामा फस्ने र अझ बढी हेपिने भइरहेको छ । सुनियोजित रूपमा जनयुद्धबाट आएको धारालाई हेप्ने, होच्याउँने र अघोषित नाकाबन्दी लगाउँने काम हुँदासमेत हामीले व्यवस्थित सङ्घर्ष गर्न सकेका छैनौं । बरू हामी पनि स्खलित हुँदै आदर्श पात्र बदल्ने र ऐतिहासिक हिसाबले नै जनयुद्धको धाराको विरुद्धमा लागेको पात्र र प्रवृत्तिसँग ढोगभेट गर्न पुग्दैछौं । आफूलाई कमजोर, असक्षम र होचो सम्झेर अर्कै प्रवृतिलाई गुरू मान्न सुरु गरेका छौ र जनयुद्धको विरूद्ध समानान्तर हिँडेर विकसित प्रवृतिबाट जनयुद्धको सौन्दर्यको रक्षाको भ्रम पालेर बसेका छौं ।
ब्युझौं ! उठौं ! ! हामीलाई हेपिँदै छ । यो हामीलाई हेपिएको हैन । नेपाली समाजलाई यहाँसम्म ल्याउँन सबैभन्दा बढी कुर्वानी गर्ने महासमरको मूल्य र आदर्शलाई हेपिएको हो । जनयुद्ध केही पनि होइन, हामी सबथोक हौं भन्न खोजिएको छ । जनयुद्धमा रचित साहित्य वा त्यताबाट आएकाहरूले रचेको साहित्य नै होइन र भए पनि असाध्य निम्न कोटीको कुरा हो भनेर स्थापित गर्न खोजिएको छ । हामीले आफैंलाई पनि पूनर्मुल्याङ्कन गरौं । आफ्नो भूमिकाको समीक्षा गरौं । आफ्नो गौरवशाली इतिहासप्रति गर्व गरौं । त्यो समयको साहित्यको रक्षा गरौं । सङ्गठित भएर हाम्रा विरुद्ध खडा गरिएको विभ्रमको विरूद्ध लडौं । हामी नकस्सिएर हो, हामी कस्सिने हो भने र हामी सच्चिने हो भने हामी जित्न सक्छौं ।
भिडियो फिचरview all