menu

ताजा समाचार

विमोचनको तामझाम र खोटा मोहरको व्यापार

 जनमेल
बजारमा अहिले  दशैँको चहलपहल छ । सञ्चारमाध्यमहरू विज्ञापनले भरिएका छन् । यो चहलपहल र विज्ञापन दशैँ बजारसित मात्र सम्बद्ध छैन, बजारको चहलपहलसित साहित्य र पुस्तक प्रकाशन पनि जोडिएका छन् ।

विविध सञ्चारमाध्यमहरूमा खास गरेर सामाजिक सञ्जालमा अमुक दिन अमुकको पुस्तक विमोचन हुँदैछ,  अमुकको पुस्तक अमुक नेताद्वारा विमोचन गरियो लगायत विमोचनसित गाँसिएका थरीथरीका समाचार र सूचना पढ्न पाइन्छ । असोज पुस्तकहरूको प्रकाशन र विमोचनको मौसम हो भनेजस्तो देखिन्छ ।
 
पोहोरपरार यसै समय पारेर पुस्तक मेलाको आयोजन गरिएको हुन्थ्यो । ओली सरकार पुस्तकहरूप्रति असहिँष्णु बनेकोले होला यसपल्ट पुस्तक मेला आयोजना भएको देखिएन । 

उहिले पनि भदौको अन्त्यदेखि फूलपातीसम्म नयाँ पत्रिका किताब प्रकाशित हुन्थे । दशैँ र तिहार विज्ञापन बटुल्ने मौसम पनि हो । पहिले पुस्तक-पत्रिकाहरू दशैँमा पहाडतिर, मोफसलतिर लैजाने कोसेली  हुन्थे । नयाँनयाँ पत्रिका र पुस्तक विशेष आकर्षणका विषय बन्थे । पञ्चायती कालमा त सहरबाट युवाहरू गाउँ पसेपछि राजनीतिक चहलपहलका साथै साहित्यिक र सांस्कृतिक चहलपहल ह्वात्तै बढ्थ्यो  । भिन्नै वातावरण हुन्थ्यो । अब स्थिति फरक छ । यातायात, नेट-इन्टर्नेटको सुविधा र सहरसितको घट्तो दूरीका कारण एकाध स्थानबाहेक चाहेको खण्डमा सहरका प्रकाशन अब सहजै पहाड र मोफसलसम्म भनेको बेलामा पुग्न सक्छन् ।

अलमलिनका लागि पाठकहरूसित पछिल्लो समयमा थुप्रै माध्यमहरू छन् । अब किताब पढ्न दशैँ नै कुर्नु पर्ने, मौसम नै पर्खनु पर्ने अवस्था छैन । सामाजिक सञ्जालमार्फत कसको र कुन पुस्तक प्रकाशित भयो भनेर तत्कालै जानकारी पाउन सकिन्छ । अब दशैँको समयमा नै पुस्तक प्रकाशित गनु पर्ने र  बढी विक्री हुने स्थिति छ जस्तो लाग्दैन । र पनि बजारशास्त्रले साहित्य र पुस्तक प्रकाशनलाई पनि प्रभावित पारेकोले होला भदौको अन्तिम सातादेखि असोजको दोस्रो हप्तासम्म लेखकहरू प्रकाशन र विमोचनतर्फ बढी आकर्षित भएका देखिन्छन् । त्यसै गरी अनलाइन सम्बद्ध कतिपय टिप्पणीकारहरू “यसपल्टको दशैँमा पढ्नुपर्ने र पढ्नलायक पुस्तक” भनेर टिप्पणीका नाममा किताबहरूको विज्ञापन गरिरहेका हुन्छन् । यसमा एकाध पुस्तक पढ्नलायक पनि हुन्छन्, तर अधिकांश पुस्तकहरू टिप्पणीकारका  जाँडपार्टी पार्टनरहरूका हुन्छन् र पुस्तकका नाममा ती झारपात पतिङ्गर भन्दा अरू केही हुँदैनन् ।  यस किसिमको विज्ञापनमा पठन संस्कृतिको विकास र संज्ञानात्मक उद्देश्य भन्दा पनि बजार संस्कृतिलाई बढी जोड दिइएको हुन्छ  । 

यो हप्ताभरि नै पुस्तक विमोचनका कार्यक्रमहरू भए । मन्त्री, नेता, अभिनेता सबैले किताब झिलिक्क पारेको देखियो । विमोचनलाई कुनै पनि नयाँ प्रकाशन आम पाठकसम्म एकैचोटि पुग्ने माध्यमका रूपमा लिन सकिन्छ । तर विमोचित पुस्तक तथा पत्रिकाका सम्बन्धमा विचारविमर्श गर्ने र महत्व उजागर गर्ने कामभन्दा विमोचनका नाममा के गर्दा प्रचारात्मक होहल्ला हुन्छ, त्यही गर्ने गरिन्छ-विमोचन होहल्लाको अर्को नाम भएको छ  । यसपल्टको विमोचनमा पनि अमुकअमुक पार्टीका वरिष्ठ नेता पूर्वप्रधानमन्त्रीदेखि मन्त्रीहरूसम्म खादामा सजिएका देखिए । हिँड्न नसक्ने र उठबस गर्न नसक्नेहरूलाई पनि विशेष व्यवस्था गरेर मञ्चमा विराजमान गराएको देखियो । मञ्च भरिभराउ हुन्छ, मालाले सजिएका कपाल फुलेका थुप्रै छन् र हुन्छन् । तर साहित्य, त्यसमा पनि समकालीन साहित्य र साहित्यकारहरूबारे जानकारी राख्नेहरूको नाम  लिनु पर्दा चाहिँ विरक्त लाग्दो स्थिति हुन्छ । सरसरती हेर्दा श्रद्धाले मञ्चमा राखेको भन्न सकिए पनि पाँचै इन्द्रियले काम गर्न छाडेका पात्रहरूले मञ्च भरिभराउ गर्नु भनेको विज्ञापनवादको प्रदर्शनबाहेक अरू केही होइन । बजारशास्त्रले  बढीभन्दा बढी लोगो र ट्रेडमार्कमा जोड दिन्छ ।

नेता त्यसमा पनि सरकारवादीहरू आएपछि सरकारी-गैरसरकारी माध्यमहरू आउँछन् भन्ने  कुरा प्रकाशक र लेखक दुवैलाई थाहा छ । विमोचनमा अतिथि बनेर  उभिनेले किताबमा के छ लेखेको भन्ने कुरा पढेको पनि हुँदैन र पढ्नु पनि आवश्यक ठान्दैन । उसले त्यही बोल्छ, जसबाट क्यामेरामा बढीभन्दा बढी उसको बोली र अनुहार समेटियोस् । किताबका कुरा कम र उसको पार्टीको गुनासो र पीडा सुनाउन थाल्छ नेता, किताबका कुरा एकातिर, नेताको गन्थन र पीडा अर्कोतिर ।

नेपाली साहित्यका  पाठकहरूको ठूलो संख्या निकै सचेत र संवेदनशील छ । तपाईँले उसलाई ठग्न सक्नु हुन्न ।  यतिखेर पाठकहरूको ठूलो जमात राजनीतिक व्यक्तिहरू, त्यसमा पनि सत्ताधारीहरूप्रति वितृष्णाभाव राख्छ । कुनै  पुस्तक मन्त्री र नेताहरूले विमोचन गरे भने त्यो पुस्तक झूर रहेछ भनेर बुझ्ने खालको समय छ । कुनै मन्त्रि वा खास पार्टीको नेताको शुभकामना विज्ञापन संकलन गर्नका लागि काम लाग्ला, तर त्यो प्रकाशनले  साहित्यिक पाठकहरूको अपनत्व प्राप्त गर्दैन ।  खास पार्टीको नेताको शुभकामना छापेर उल्टै पाठकीय रुचिमा विकर्षण हुन्छ । नेताहरू बोलाउँदा लेखक र आयोजकलाई मन्त्री र नेताहरूको नजिक हुने अवसर मिल्ला,  यसबाट उसले  फाइदा पनि लेला, तर पाठकबाट भने लेखक टाढिन्छ ।

कुन लेखक र प्रकाशकको पुस्तक कसले विमोचन गर्छ  भन्ने कुरा पनि पूर्वनिधारित जस्तो हुन्छ । त्यहाँ पनि थुम्काथुम्की छन्, थरीथरीका कोटरी छन्  । आलोचना भयो भने पुस्तक नबिक्ला भन्ने डर प्रकाशकलाई छ र प्रकाशकको स्वार्थमा धक्का पुग्ला भन्ने डर लेखकलाई छ । किताब झूर नै भए पनि आवश्यक हुन्छ प्रशंसाको । नेताहरू तथा आमन्त्रित ‘शुभचिन्तकहरू’ ले नपढे पनि प्रशंसा गरिदिन्छन् ।  तर खास टिप्पणीकारले प्रकाशक तथा लेखकको चाहना पूरा नर्गन पनि सक्छ । कविताको पुस्तक छ भने कविताका सम्बन्धमा दखल भएको समालोचक उभ्याउनु आवश्यक हुन्छ र त्यसै गरी उपन्यास कथा तथा समालोचनाको पुस्तक छ भने सम्बद्ध विषयमा दखल भएको विशेषज्ञ समालोचक उभ्याउनु सही हुन्छ । तर यसो गरिँदैन, बजारशास्त्र खलबलिएला भन्ने डर हुन्छ । वास्तवमा पुस्तक प्रकाशन संज्ञानात्मक कार्यभन्दा विज्ञापन र लोगोमा परिणत भएको छ । पुस्तकको गरिमा र ओज अनि सफलता त्यसले पाठकीय सौन्दर्यबोधात्मक क्षमताको  अभिवृद्धिमा पुर्याउने सहयोगमा भन्दा बिक्रीमा खोजिन थालेपछि पुस्तक र लेखक दुवै बजारका माल बन्छन् । राम्रो लेख्नेभन्दा कसरी चर्चामा आउनो प्रवृत्ति हाबी हुन थालेकाले अहिले असली मोहोर विस्थापन हुने र खोटा मोहरहरू चम्किने स्थिति छ र चम्किरहेको अवस्था पनि छ । यस मामिलामा कर्पोरेट माध्यमहरू सबैभन्दा बढी भ्रमजाल उत्पन्न गरिरहेका छन् ।  गम्भीर साहित्य लेखन र चिन्तनका दृष्टिले यो शुभ स्थिति होइन ।
 
विमोचन पनि थरथरीका हुन्छन् ।  कतिपयले  विमोचनका नाममा पत्रकार,  स्तम्भकार, नेता, अभिनेता, व्यापारी बोलाएर तारे होटलमा भोजभतेर नै गरेका हुन्छन् । वास्तवमा विमोचन अब कुनै नयाँ प्रकाशनको चिनारीको कार्यक्रम नभएर पुँजीवादी तामझाम र वर्गचरित्र प्रदर्शनको कार्यक्रम बन्न थालेको छ ।

विमोचनकै सन्दर्भमा भारतेली नेपाली साहित्य र लेखकहरूको पनि चर्चा गर्नु आवश्यक हुन्छ । हिजोको जस्तो भारतीय नेपाली साहित्यकार र नेपालका साहित्यकारहरूबीच हार्दिकता छैन । हिजोका दिनमा भिन्नै हार्दिकता हुन्थ्यो । भारतमा रहेर नेपाली भाषा र साहित्यमा समर्पित साहित्यकार  भनेर आत्मीयता हुन्थ्यो । अहिले साहित्यिक आदानप्रदान पनि गतिलो छैन । भारतीय साहित्यमा प्रकाशित राम्रा प्रकाशनहरू नेपालमा सहज किसिमले पाइने र पढ्ने स्थिति छैन, यताका प्रकाशन पनि सहज किसिमले उता उपलव्ध हुने माध्यम छैन  । सबै कुरा उपभोक्तावाद र बजारशास्त्रले खाइदिएको छ । सामाजिक सञ्जाल र केही अनलाइन तथा दैनिक पत्रिका हेरेर एक थरी भारतीय नेपाली साहित्यकारहरू नेपाली साहित्य र समकालीन लेखकबारे धारणा बनाउँछन् । तिनको सम्बन्ध दैनिक पत्रिकामा सिन्डिकेट चलाएर बसेका खासखास  केहीहरूसित हुन्छ, जसप्रति नेपालका अधिकांश लेखक र पाठकहरूको सकारात्मक बुझाइ हुँदैन  ।  एकाध रचना छापिदिएर तिनीहरू नजिक हुने वातावरण बनाउँछन् ।  कुनै रचना तथा कृति लिएर भारतीय नेपाली,  त्यसमा पनि दार्जिलिङ क्षेत्रमा लेखकहरू उत्साहका साथ नेपाल आउँछन्  । यहाँका एक थरी ‘ठेकेदारहरू’ काँकरभिट्टा-सिलिगुडी चल्ने गाडीका खलाँसीले नयाँ मान्छेलाई ठगेझैँ दार्जलिङबाट आएका लेखकहरूलाई ‘मुर्गा’ बनाउँछन् । उनीहरूलाई आफू ‘मुर्गा’ बनेको थाहा हुँदैन, तर नेपालमा आफ्नो खुब चर्चा भयो भनेर मख्ख पर्छन् । तर, यो चर्चाको आयाम एक बित्ताभन्दा  बढी हुँदैन ।
 
साँच्चै हो, आजभोलि विमोचन ‘मुर्गा’ बन्ने र बनाउने प्रवृत्तिमा फेरिएको छ । यो भारतेली साहित्य र साहित्यकारको मात्रै कुरा होइन, नेपाली साहित्यकारको हालत पनि त्यस्तै छ ।  नेपालमा अहिले केही नाम चलेका प्रकाशन संस्थाहरू छन् । तिनले प्रचारमाध्यम र तीसित सम्बद्ध स्तम्भकार र टिप्पणीकारहरूसित पनि राम्रो पकड बनाएका हुन्छन् र बजार व्यवस्थापन कसरी गर्ने भन्ने कुरामा पनि उनीहरू अनुभवी  हुन्छन्  ।  साहित्यिक परिचय बनाएका मोफलसलका लेखकहरूका लागि समेत समस्या भएको बेला मोफसलका नयाँ  लेखकका लागि झन् समस्या छ । उसमा पनि  स्थापित हुने र चर्चामा आउने रहर  हुन्छ । अनि उसले काठमाडौँतिर हेर्छ र प्रकाशक खोज्छ । त्यसका लागि मित्र बनेर विचौलिया हाजिर हुन पुग्छन् । अहिले नेपाली साहित्यमा बनियाँगिरी र बिचौलिया प्रवृत्ति भाइरसकै रूपमा क्रियाशील छ ।

यसै विषयलाई लिएर केही दिनअघि ''नयाँ लेखकः प्रकाशकका ‘दुहुना गाई’" जस्ता टिप्पणीहरू पनि प्रकाशित भएका थिए  । नाम खास प्रकाशन संस्थाको हुन्छ । तर, शुद्धाशुद्धी, सम्पादनलगायत  प्रकाशन खर्च मात्र होइन,  विज्ञापनका लागि गरिने विमोचन खर्च पनि लेखले नै व्यहोर्छ । आफूले एक पैसा पनि खर्च नगरेको, यति हजार लिएको भनेर लेखकले फूर्ति लगाए पनि -वायल्टीको त के कुरा  उल्टै आफ्नो किताब आफैँले किनेर लेखक फर्किन्छ काठमाडौँ उपत्यकाबाट । आफू ‘मुर्गा’ बनेको कुरा भन्ने कुरा पनि भएन ।  त्यसपछि उसको किताब बाँच्ने भनेको फेसबुकमा मात्र हो, उसले आम पाठक र समालोचकहरूबीच पुग्ने प्रयास नै गरेन, अथवा गर्नु आवश्यक ठानेन । यो मोफसलको मात्र कुरा नभएर काठमाडौँ उपत्यकाका कतिपय लेखकको पनि रामकहानी हो—उदाहरणका लागि अमुकमुक लेखक र किताबको नाम लिन सकिन्छ ।

अहिले साहित्य लेखन र पाठकीय बजारको एउटा पाटो बजारशास्त्र र उपभोक्तावादको सहित्यशास्त्रबाट निर्देशित छ । खोटा मोहरहरू बढी चल्ने र असली मोहर किनारा लाग्नुपर्ने स्थिति बनाइएको छ । समाजनिरपेक्ष लेखन र पाठक उत्पादन भएपछि विरोध र प्रतिरोधको स्वर पनि कमजोर हुन्छ । त्यसो भएपछि सत्ताधारीहरूलाई पनि हाइसञ्चो हुन्छ । २०१७ सालपछिको एक दशकमा यस्तै खाले साहित्य फस्टाएको थियो । अहिले पनि उपभोक्तावाद त्यसै दिशातिर लक्षित छ ।

मार्क्सवाद र प्रगतिवाद पनि अहिले बजारशास्त्रको घेराबन्दीमा छन् । संसदीय राजनीति र दक्षिणपन्थी अवसरवादमा डुबेकाहरू मार्क्सवादी हुनुको भ्रम दिइरहेका छन् र तिनका झोला बोक्नेहरू लाजै नमानी आफूलाई प्रगतिवादी र मार्क्सवादी भनिरहेका छन् । मार्क्सवाद र प्रगतिवादका नाममा मार्क्सवादको भ्रष्टीकरण गरेर असली मार्क्सवादी लेखन र लेखकलाई किनारा लगाउने व्यापारले टाउको उठाउन थालेको छ । कर्पोरेट  मेडियाहरू मात्र नभई सरकारी प्रकाशन र प्रतिष्ठानहरू यो जिम्मेवारीलाई इमान्दारीका साथ  पूरा गरिरहेका छन् । गहन सामाजिक चिन्तन र अग्रगामी विचार व्यक्त गर्ने लेखकहरूका सामु यस्ता थुप्रै विसंगतिहरू अहिले चुनौती बनेर उभिएका छन् । उत्तरआधुनिकतावादीहरू र ‘उत्तर- मार्क्सवादीहरू’ बीच कसको स्वर कुन हो र कसको स्वर कुन हो भनेर छुट्याउन नसकिने अवस्था आएको छ । सामाजिक उत्तरदायित्वप्रति जिम्मेवार पाठक निर्माणका दृष्टिले पनि अहिलेको स्थिति बडो जटिल छ  । बजारशास्त्रमा आधारित साहित्य लेखनले पाठकको सौन्दर्यचेतनामाथि नै प्रहार गरेको छ र मानसिक रूपले अपाङ्ग पाठक निर्माण गरिरहेको छ ।

प्रश्न यता पनि छ ।

विमोचनको यत्रो होहल्लाबीच क्रान्तिकारी मार्क्सवाद र समाजवादी यथार्थवादका केन्द्रित एउटा पनि पुस्तक पाठकहरूबीच आएको देखिएन–न कवितासङ्ग्रह, न कथासङ्ग्रह र उपन्यास न त  निबन्धसङ्ग्रह नै ।

के भएको यस्तो !  किन यति सारो खडेरी !

यस किसिमको  स्थितिले नयाँ किसिमले गोलबद्ध हुन हामीलाई आव्हान गर्दैन र ?
०००

भिडियो फिचरview all