menu

ताजा समाचार

पार्टी एकता, नेकपा(बिप्लव) र अटलको लेख

'जनमेल' विश्लेषण

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य कुमार शाह सम्पादक रहेको अनलाइनको साउन २९, २०७६ को अङ्कमा ‘अटल’ को नाममा  ‘पार्टी एकता, कार्यगत एकता र बिप्लव समूह’ शीर्षकमा एउटा लेख प्रकाशित भएको छ  ।

जनयुद्धकालमा थुप्रैले अटल नाम राखेको भए पनि सो अनलाइन नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध भएको र सो पार्टीमा ‘अटल’ नामले स्थापित पात्र पोलिटब्युरो सदस्य चन्द्रहरि सुवेदी मात्र भएकाले ‘जनमेल’ ले सो लेख उनैको हो भन्ने ठानेको छ । कम्युनिस्ट पार्टीमा पोलिटब्युरो सदस्य महत्वपूर्ण हैसियत हो र उसले बोलेको कुरा पार्टीको विचार, निर्णय र निष्कर्ष हो भनेर बुझ्नु पर्ने हुन्छ । पार्टीले आधारभूत विषय र सन्दर्भमा नीतिगत निर्णय गर्छ र अन्य सदस्यहरूले त्यसलाई व्याख्यासहित बाहिर लैजाने गर्छन् । केही महिनाअघि खास गरेर नेत्रविक्रम चन्द ‘बिप्लव’ को पुस्तक ‘महापतन’ प्रकाशनपछि नेकपा (बिप्लव) र पार्टी एकतासम्बन्धी नेकपा (क्रान्तिकारी माओवादी) को धारणा पोलिटब्युरो सदस्य कमरेड इन्द्रमोहन सिग्देल ‘वसन्त’ मार्फत बाहिर आएको थियो । सो पार्टीको केन्द्रीय समितिको पछिल्लो बैठक, त्यसमा पनि पछिल्लो पिबी बैठकपछि आएको कमरेड अटलको धारणालाई पनि सोहीअनुसार बुझ्नु आवश्यक हुन्छ । नेकपा (क्रान्तिकारी माओवादी)  सम्बद्ध माध्यमले निकै महत्व दिएर लामो समयसम्म ब्यानरमा राखेको यो लेखलाई पार्टीको पछिल्लो धारणाका रूपमा लिनु आवश्यक देखिएको छ  ।

कमरेड अटलको लेखको माथिल्लो भाग कार्यगत एकता र पार्टी एकतासित सम्बद्ध छ । यस क्रममा अमुकअमुक पार्टीसित एकता र कार्यगत एकताका सन्दर्भहरूको उल्लेख  छ । माओवाद नमान्ने, जनयुद्धको गरिमामय इतिहासको विरोध गर्ने तत्वहरू कुनै पनि हालतमा क्रान्तिकारी होइनन् र हुन सक्तैनन् । त्यस्ताहरूलाई काखी च्यापेर न त पार्टी अघि बढ्छ,  न त त्यस्तासित एकता गरेर गतिलो पार्टी बन्छ । ओत लाग्न आएकाहरूलाई माओवाद र जनयुद्धप्रति अपनत्व र हार्दिकता नहुनु अनोठो कुरा होइन । पार्टी एकताकै तहमा कट्टेल तथा मोहनविक्रम समूहसित प्रयास गर्नु भनेको दक्षिणपन्थी सोचाइ मात्र हो र यो विसर्जनवादी बुझाइ हो । उल्टै मोहनविक्रमले “बैद्यहरूले एकतामा जोड दिएका थिए विचार नमिल्ने भएकाले हामीले मानेनौँ” भनेर  आफूलाई बैद्यहरूको दाजोमा क्रान्तिकारी ठहर्याउन खोजेको कुरा अन्तवार्तामार्फत प्रकाशमा आयो  । वास्तवमा ‘जनमेल’का दृष्टिमा मोहनविक्रम सिंह र ऋषि कट्टेलसित एकता गर्ने प्रयास समय र श्रमको बरवादी मात्र थियो र यसो गर्नु पार्टीलाई मिहिन पाराले दक्षिणपन्थी  धारमा लैजाने गोरेटको खोजी मात्र हुन्थ्यो । उनीहरूसितको पार्टी एकता भनेको विसर्जनको यात्रा मात्र हो र हुन्छ ।

थुप्रै कुराहरूमा विमति हुँदाहुँदै पनि एकताको प्रयास नेकपा (बिप्लव) सित नै हुनु आवश्यक थियो र छ । नेपाली समाजको विश्लेषण, प्रधान अन्तर्विरोध, वर्ग विश्लेषण, क्रान्तिको प्रमुख चालक शक्तिका सम्बन्धमा, साम्राज्यवाद सम्बन्धी बुझाइ र समाजवादी मुलुकहरूका सम्बन्धमा, नयाँ जनवादी क्रान्ति र कार्यदिशाका सम्बन्धमा थुप्रै विमतिहरू छन् । एक हिसाबे सो समूह नेपाली क्रान्ति र कार्यदिशाकै सन्दर्भमा अन्योल र दिशाहीनताको स्थितिमा छ । यति हुँदाहुँदै पनि त्यहाँ केही सकारात्मक पक्षहरू छन् । त्यहाँ  सो समूहले क्रान्ति गर्छ भनेर इमानदारीपूर्वक लागेका क्रान्तिकारी कार्यकर्ताहरू पनि छन् र तिनलाई मालेमावादी क्रान्तिकारी धारमा ल्याउनु आवश्यक छ । त्यो शक्ति पलायन भएर नजाओस् भनेर सोच्नु आवश्यक छ ।यस कार्यमा नेकपा (क्रान्तिकारी माओवादी) लगायत कम्युनिस्ट न्युक्लिअस, नेपालको प्रयास सही र सह्राहनीय थियो र यसलाई निरन्तरता दिनु आवश्यक छ ।कम्युनिस्ट न्युक्लिअस, नेपाल नयाँ आधारमा नयाँ एकताको पक्षमा छ ।  परन्तु, यो प्रयासप्रतिको नेकपा (बिप्लव) को बुझाइ र त्यसका कतिपय नेताको व्यवहार निकृष्ट खालको रहेको कटु अनुभव पनि हामीसित छ । सो समूह एकता होइन, कार्यगत एकता वा त्यस्तै मञ्च बनाएर सो मञ्चलाई आफू अनुकूल प्रयोग गर्न चाहन्थ्यो/चाहन्छ भन्ने कुरा व्यवहारमा देखियो ।  फलस्वरूप कार्यगत एकता पनि लामो समयसम्म टिक्न सक्ने स्थिति भएन ।

पार्टी एकता तथा बिप्लव समूहको प्रवृत्तिका सन्दर्भमा कमरेड अटलले लेखेका छन् : “पार्टी एकतालाई पनि दाउपेचको रूपमा लिने, वार्ताको रिपोर्ट पनि पार्टीमा सही तरिकाले सम्प्रेषण नगर्ने, वार्ता टोलीमार्फत मात्र वार्ता गर्ने भनेपछि वार्तामै नबस्ने काम विप्लव समूहबाट हुँदै आएको छ ।” यो सोरै आना सही हो । सत्य यही हो । पार्टी एकताप्रति बिप्लव समूह इमान्दार देखिएन  । एकताका सम्बन्धमा सो समूहले जेजस्तो विचार र व्यवहार व्यक्त गर्यो,  त्यसमा उसको नियत र प्रवृत्ति खुलेर आयो । यस मामलामा असाध्यै क्षुद्र प्रवृत्ति देखिएको सही हो । त्यसपछि उसितको एकता प्रयास छाडेर क्रान्तिकारी ध्रुवीकरणमा जोड दिनु नै सही हुन्थ्यो ।

 सो लेखमा उठाएका दुइटा सन्दर्भप्रति भने केही टिप्पणी गर्नु आवश्यक छ । जस्तो कमरेड अटलले लेखेका छन् :

“विप्लव समूहका वरिष्ठ नेता तिलक परियारसहित पिबीएम पदम राई लगायत २० जनाभन्दा बढी केन्द्रीय सदस्यहरू बिप्लव समूहबाट किन सोही समूहले सबैभन्दा गाली गरेका पूर्वमाओवादी केन्द्र र हालको डबल नेकपामा पलायन भइरहेका छन्? राजनीतिक गालीगलौजको केही अर्थ छैन, हालको डबल नेकपाको राजनीति र बिप्लव समूहको राजनीति एउटै छ । ....पर्यवेक्षकहरूले बिप्लवबाट हटेका नेता कार्यकर्ताहरू त नेकपा (क्रान्तिकारी माओवादी) मा आउनुपर्ने हो किन डबल नेकपामा गए भनेर छक्क पर्छन् । यसको कारण राजनीति नै हो । यसबाट बिप्लव समूहले पाटीभित्र कस्तो स्कुलिङ चलाएका रहेछन् भन्ने कुरा पनि प्रष्ट हुन्छ । क्रान्तिकारी माओवादीभन्दा डबल नेकपा कसरी नजिक भयो भन्ने कुरा पनि कार्यकर्ता पलायन र जाने व्यावहारिक गन्तव्यले प्रष्ट पार्छ ।  ...हाम्रो उद्देश्य एउटा क्रान्तिकारी पार्टी सच्चियोस्, रूपान्तरण होस् क्रान्तिकारी पार्टी बीचमा एकता होस् भन्ने चाहना हो ।”

अवश्य पनि नेकपा (बिप्लव) का २० भन्दा बढी केन्द्रीय सदस्यहरू “सोही समूहले सबैभन्दा गाली गरेका पूर्व माओवादी केन्द्र र हालको डबल नेकपामा पलायन भइरहका छन्” र  यताका दिनमा सो समूहबाट पलायन हुनेहरूको सङ्ख्या अझ बढ्दो छ । तर “हालको  डबल नेकपाको राजनीति र विप्लव समूहको राजनीति एउटै छ” भनेर जसरी भनिएको छ,  यो सही होइन र छैन ।

समाजवादोन्मुख भनेर त  यो प्रतिक्रियावादी संविधानमा पनि उल्लेख गरिएको छ । नेपाली काङ्ग्रेसले पनि समाजवादको कुरा गर्छ । ओली-प्रचण्डको समाजवाद, काङ्ग्रेसको समाजवाद र नेकपा (बिप्लव) ले भन्ने गरेको र उसको दस्ताबेजमा उल्लेख गरेको समाजवाद एउटै होइन । नेकपा (बिप्लव) ले  वैज्ञानिक समाजवाद भनेको र छ प्रस्टताका साथ आएको छ । उसले नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न भइसक्यो र अब वैज्ञानिक समाजवादी दिशामा जाने भन्ने किसिमले नेपाली समाजको व्याख्या-विश्लेषण गरेको छ । उसले अहिले वैज्ञानिक समाजवादलाई न्युनतम कार्यक्रम मानेर अन्य कामकुराको तारतम्य मिलाएको छ ।
 
समाजवादको मात्रै कुरा गर्दा काङ्ग्रेस, सरकारी नेकपा, बाबुराम-उपेन्द्र, बिप्लवलगायतका सबै समूह पर्छन् । तर यी सबैको भन्दा नेकपा (बिप्लव) ले अघि सारेको वैज्ञानिक समाजवाद फरक हो । इमानदारीपूर्वक यसलाई हामीले स्वीकार गर्नुपर्छ । हामीले पनि नयाँ जनवादी क्रान्ति गर्दै वैज्ञानिक समाजवादको दिशामा अघि बढ्ने भनेका छौँ । “हालको डबल नेकपाको राजनीति र बिप्लव समूहको राजनीति एउटै छ” भन्नु वैचारिक दृष्टिले सही बुझाइ होइन र राजनीतिक इमानदारी पनि होइन । यस किसिमको धारणा कमरेड अटलको व्यक्तिगत धारणा हो अथवा नेकपा (क्रान्तिकारी माओवादी) को पछिल्लो निर्णय हो थाहा छैन, तर यो संविधान र व्यवस्थाप्रतिको  नेकपा (बिप्लव) को विमति र व्यवहार हेर्दा ‘डबल नेकपा’ र नेकपा (बिप्लव) ले भन्ने गरेको समाजवाद र राजनीति एकै होइन ।  अटल कमरेडको बुझाइलाई ‘जनमेल’ मार्क्सवादी बुझाइ होइन भन्छ ।

प्रचण्ड-ओलीको समाजवाद र बिप्लवको समाजवाद एउटै हो भने त्यहाँ द्वन्द्वको प्रश्न उठ्ने कुरा हुँदैन-लेनदेन र मेलमिलापले काम चल्छ  । दुवैको  राजनीति एउटै हो भने बिप्लवसित एकताको कुरा गर्नेले किन प्रचण्ड-ओलीसित पनि  एकता नगर्ने भन्ने पनि  प्रश्न उठ्न सक्छ  । एकातिर अटल कमरेड राजनीति एउटै हो भन्छन्, अर्कोतिर “हाम्रो उद्देश्य एउटा क्रान्तिकारी पार्टी सच्चियोस्, रूपान्तरण होस् क्रान्तिकारी पार्टी बीचमा एकता होस् भन्ने चाहना हो” भनेर पनि लेख्छन् । अटलकै भनाइअनुसार केही कमजोरी भए पनि आधारभूतरूपमा बिप्लव पार्टी क्रान्तिकारी पार्टी हो भन्ने बुझिन्छ । उसो भए “कसरी डबल नेकपाको राजनीति र बिप्लव समूहको राजनीति एउटै छ” भन्न सकिन्छ त ? यो तर्कअनुसार त प्रचण्ड-ओलीहरू पनि क्रान्तिकारी भन्ने हुन्छ ।   यहाँ कमरेड अटल आफैँ अस्पष्ट र अन्योलमा देखिन्छन् । पोलिटब्युरो सदस्य कमरेडबाट यस किसिमका विरोधाभासपूर्ण भनाइ आउनु आफैँमा विडम्बनाको विषय हो । थुप्रै कमीकमजोरी र केही उट्पट्याङ्पूर्ण व्यवहार र  बुझाइका अतिरिक्त पनि यतिखेर नेकपा (बिप्लव) र प्रचण्डहरूको राजनीति एउटै हो भन्नु  महा भूल हुन्छ. राजनीतिक बेइमानी हुन्छ ।

जहाँसम्म बिप्लव पार्टी छोडेकाहरू किन नेकपा (क्रान्तिकारी माओवादी) मा नआएर प्रचण्डतिर गए भन्ने कुरा छ, यो पनि गम्भीर प्रश्न हो । यसको उत्तरको पहिलो अध्यायको विषयप्रवेश प्रश्न उठाउनेको आफ्नै पार्टी र उसका गतिविधिबाट आरम्भ गर्नुपर्ने हुन्छ । क्रान्तिका लागि कुन समूह रोज्ने, कुन बाटो रोज्ने कुरा वैचारिक कुरा हो र यो आत्मगत तथा वस्तुगत स्थितिमा भर पर्ने कुरा हो । मूलतः आत्मगत पक्ष यसमा प्रधान बन्छ । किन नेकपा (क्रान्तिकारी माओवादी) ले बिप्लप समूह छोड्नेहरूलाई आकर्षित गर्न सकेन,  किन विश्वास दिलाउन सकेन, किन उसमाथि विश्वास गर्न सकेनन् भन्ने  प्रश्न पनि योसित जोडिएको छ । कुरा मात्रै फरक हुन्, दस्ताबेज मात्रै हो, बैद्यबाट केही हुँदेन भन्ने पनि हुन सक्छ, अथवा वैचारिक अडान र क्रान्तिको लामो बाटोमा हिंड्ने धैर्यताको अभाव पनि हुन सक्छ । साथै नेकपा (क्रान्तिकारी माओवादी) मा  रहेका इमानदार  र निष्ठावान कमरेडहरू समेत त्यहाँ टिक्न नसकेर पार्टी छाडेर आआफनै किसिमले क्रियाशील भइरहेको स्थिति पनि कारण बनेर उभिएको हुन सक्छ, क्रान्तिकारी र इमान्दार कमरेडहरू त टिक्न नसकेर हिंडे भन्ने हुन सक्छ  । भरपर्दो आधार दिन नसक्नु,  विश्वास दिलाउन नसक्नु अर्थात्  आकर्षित गर्न नसक्नुले काम गरेको हुन सक्छ । यो प्रश्नलाई  निरपेक्ष रूपमा नहेरी आफैँभित्र पनि नियाल्नु आवश्यक छ ।

जहाँसम्म प्रशिक्षणको कुरा छ, नेकपा (क्रान्तिकारी माओवादी) को पोखरा भेलापछि ९/१० जनाले नेकपा (क्रान्तिकारी माओवादी) परित्याग गरे ।  कोही निष्क्रिय  बसे र कोही प्रचण्डतिर गए । यसलाई के भनेर विश्लेषण गर्ने ? कमरेड अटलको बुझाइअनुसार बुझ्ने हो भने बैद्य समूहले ठीक किसिमले प्रशिक्षण दिएको रहेनछ र तिनीहरू प्रचण्डतिर गए भनेर बुझ्नु पर्ने हुन्छ । नेकपा (क्रान्तिकारी माओवादी) को पछिल्लो बैठकपछि पनि कतिपय चुपचाप बस्ने अवस्था देखिएको छ, यसलाई के भन्ने ? त्यसैले निरपेक्ष रूपमा प्रशिक्षणको कुरा गर्नु वैज्ञानिक हुँदैन  । कुनै पनि पार्टीमा अनुभवी र श्रद्धा गर्न लायक नेता हुनु मात्र क्रान्तिका लागि पर्याप्त छैन । कुरा विश्वासको हो र कार्यदिशाको हो । कार्यदिशाको समस्यालगायतका समस्याबाट नेकपा (क्रान्तिकारी माओवादी) पनि मुक्त छैन ।  

अवश्य पनि हो । नेकपा (बिप्लव) मा थरीथरीका नेता तथा कार्यकर्ता छन् । त्यहाँ थुप्रै समस्या छन् । हिजो शाहीठकुरीले हामीमाथि राज गरे अब हामीले गर्ने हो भनेर युद्धकालमै प्रकाण्डले भन्ने गरेको कुरा त्यस क्षेत्रमा काम गर्ने धेरैलाई थाहा छ । त्यहाँ कोही बिप्लवको नेतृत्वमा क्रान्ति हुन्छ भनेर इमानदारीपूर्वक लागेका छन, कोही अर्को भरपर्दो विकल्प छैन  भनेर लागेका छन् र कोही आर्थिक उत्प्रेरणाले लागेका छन् । अघिकांश युवा त्यसमा पनि पछिल्लो समयमा जोडिएको युवा जमात आर्थिक उत्प्रेरणाबाट प्रभावित भएर कुदेको छ-एक किसिमको रोमान्टिक भाव छ  । क्रान्तिकारीहरूको काम कुराले नभएर कामले विश्वास दिलाउने हो । लाल र निपुणबीच सामन्जस्य र सन्तुलन कायम गर्दै र एकमा-तीन मिलाउंदै अघि बढ्ने हो । बिप्लवहरूको प्रशिणका सम्बन्धमा प्रश्न उठाउनुअघि नेकपा (क्रान्तिकारी माओवादी) ले पनि आत्मसमीक्षा, विश्लेषण र संश्लेषण गर्नु जरुरी छ ।

सैद्धान्तिक-वैचारिक तहमा, खास गरेर कार्यदिशाको तहमा नेकपा (बिप्लव) ले सच्चिनु पर्ने थुप्रै ठाउँहरू छन् । नेकपा (क्रान्तिकारी माओवादी) ले पनि  समीक्षा गर्नु  पर्ने थुप्रै ठाउँहरू छन् ।  पार्टी एकताभन्दा ध्रुवीकरणमा जोड दिएको भन्नेछ, तर धु्वीकरणका भरपर्दा आधारहरू तयार हुन सकेका छैनन्-विश्वासको संकट छ । किन आफ्नो समूहमा आएनन् भनेर गुनासो गर्ने अटल कमरेडले यो यथार्थतर्फ पनि ध्यान दिनु जरूरी छ । नेकपा (क्रान्तिकारी माओवादी) ले पनि प्रचण्डबाट सम्बन्ध विच्छेद गरेपछि कार्यदिशाको प्रश्नमा, कार्यनीतिको प्रश्नमा र सङ्गठनात्मक प्रश्नमा आफ्ना केकस्ता समस्या रहे र आफूहरू कहाँ चुकियो भन्ने प्रश्नप्रति गम्भीर हुनु आवश्यक छ ।  अन्यथा 'आफनो आङ्को भैसी नदेख्ने र अरूको आङको जुम्रा देख्ने' भनाइ चरितार्थ हुने स्थिति हुन्छ ।

 अवश्य पनि कमरेड अटलले भनेझैँ “अग्रगामी यथास्थितिवादी र पश्चगामीमध्ये पश्चगामीहरूले विप्लव समूहलाई प्रशंसा गरिरहेको"  सन्दर्भलाई   पनि ध्यान दिनुपर्ने हुन्छ  ।  कतिपय सम्बन्ध र सन्दर्भहरू प्रश्न उठाउने खालकै छन् । र पनि हामी नेकपा (बिप्लव) सित एकताको कुरा गरिरहेको स्थिति छ भन्ने कुरा पनि बिर्सनु हुन्न ।

नेकपा (बिप्लव) माथि लगाएको प्रतिबन्धका सम्बन्धमा बोलेर आफ्नो पार्टीले ठूलो रिस्क लिएको भनेर कमरेड अटलले भनेका छन् । वामपन्थी र कम्युनिस्टका  नाममा ओली सरकारले गरेको राष्ट्रघात, भ्रष्टाचार र जनहत्याको विरोध गर्नु हरेक नागरिकको कर्तव्य हो । अझ जनताको पक्षमा लडिरहेको र वैज्ञानिक समाजवादका लागि सङ्घर्षरत शक्तिका विरुद्ध प्रतिबन्ध लगाइन्छ भने त्यसको डटेर विरोध गर्नुपर्छ । यसो गर्नु भनेको अमुक पार्टी  तथा समूहप्रति दयाभाव देखाउनु तथा उपकार गर्नु होइन, बरु जिम्मेवारी प्रस्तुत गर्नु हो । यो वर्गीय पक्षधरतफको प्रश्न हो । यो अन्तर्राष्ट्रिय सर्वहारावादी मानवतावादको परिचायक हो । तर कमरेड अटल लेख्छन् : “३० महिनामा सम्बन्ध विच्छेद गरेर हिंडेको नेकपा (विप्लव) समूहको गन्तव्य प्रष्ट छैन, तर पनि एउटा राजनीतिक पार्टीले एउटा विचारसहित जनतामा अभ्यास गर्न पाउनु पर्छ भनेर खतरा मोलेरै आवाज उठाएको छ नेकपा (क्रान्तिकारी माओवादी) सहित अन्य वामपन्थी पार्टीहरूले ।”

फेरि पनि भन्छु यो नेकपा (बिप्लव) प्रतिको उपकार होइन, जिम्मेवारीबोधको प्रश्न हो । खतरा मोल्ने हुनाले, खतरा मोलेर क्रान्तिको बाटोमा हिँड्ने हुनाले नै क्रान्तिकारी भनिएको हो । खतरा मोल्न पनि डराउने अनि क्रान्तिकारी पनि हुन चाहने, कसरी मिल्ला  र  ? खतरै नमोली ‘क्रान्ति’  गर्ने र 'समाजवाद' ल्याउने बाटो त प्रचण्ड-ओलीले अँगालेको प्रतिक्रियावादी बाटो हो । नेकपा (क्रान्तिकारी माओवादी) ले अवश्य पनि यो बाटो लिने होइन होला- खतरा त क्रान्तिका लागि मोल्नै पर्ने हुन्छ । सङ्घर्षका उच्च रुपमा जाने हो भने खतरा मोल्नै पर्ने हुन्छ ।  यस अर्थमा “खतरा मोलेरै आवाज उठाएको” भन्नु  क्रान्तिकारी व्यक्ति र पार्टीका लागि सुहाउने कुरा होइन ।
 
अहिले सङ्कटकालका झैँ चौतर्फी रूपमा नेपाल कम्युनिस्ट पार्टी (बिप्लव) माथि राज्यआतङ्क व्याप्त छ । यो ठीक भयो भनेर खुसी हुने अथवा खुच्चिउँ भन्ने बेला होइन  । बिप्लव समूह सकिनु भनेको एउटा सशक्त प्रतिरोधी शक्ति सिद्धिनु हो । त्यसमा रहेको जुझारु र क्रान्तिकारी शक्तिलाई जोगाउनु हरेक क्रान्तिकारी पार्टी र व्यक्तिहरूको दायित्व हुन्छ । त्यसैले हामी एकातिर ओली फासिवादको तीव्र निन्दा गछौँ र प्रतिरोधमा उभिनु पर्छ भन्छौँ भने अर्कातिर नेकपा (बिप्लव) ले सिद्धान्त तथा व्यवहारमा मार्क्सवाद-लेनिनवाद-माओवाद, नयाँ जनवादी क्रान्ति, क्रान्तिका तीन जादुगरी हतियारप्रतिको प्रतिबद्धता जनाओस् भन्ने कामना गर्छौ । नेपाली नयाँ जनवादी क्रान्तिले लामो बाटो हिँड्नै पर्ने हुन्छ र यो बाटो भनेको नेपाली समाजको विशिष्टतामा जनयुद्धको बाटो नै हो ।

प्रश्न नेकपा (बिप्लव) को मात्र नभएर नेकपा (क्रान्तिकारी माओवादी) को पनि हो । नेकपा (बिप्लव) ले “सच्चिने” कुरा मात्र होइन, नेकपा (क्रान्तिकारी माओवादी) ले पनि आत्मसमीक्षा गर्ने बेला आएको छ ।  यसले  पनि अमूर्त कार्यदिशाका साथ ‘शान्तिवाटिकादेखि शान्तिवाटिकासम्म’ को गोलचक्कर  मारिरहेको यथार्थ त्यत्तिकै सत्य हो । ध्रुवीकरणमा आउनेहरू भनेको प्रचण्ड-ओलीको जुठोपुरो खानेहरू नभएर, बाहिर बसेका क्रान्तिकारीहरू र नेकपा (बिप्लव) सम्बद्ध क्रान्तिकारीहरू हुन् र ती आत्मसमर्पणको शैलीमा विलय हुन्छन् जस्तो लाग्दैन । नेपालको माओवादी आन्दोलनले एक चरण पुनर्गठनको अभियान पार गर्नै पर्ने हुन्छ । सत्य यही हो ।

भिडियो फिचरview all