menu

ताजा समाचार

केन्द्रीय सैन्य आयोगको पहिलो घोषणापत्र

महान् जनयुद्धको थालनीको अर्थ हुन्थ्यो— जनमुक्ति सेनाको निर्माण । २०६२ सालमा भएको बाह्रबुँदे सहमति र त्यसपछिको जनयुद्धको तीव्रतासँगै २०६३ साल बैशाख ११ गते माओवादीले युद्धविराम गर्यो l त्यसपछि कथित ''शान्तिसम्झौटा" का नाममा  जनयुद्ध सदाका लागि समाप्त भएको घोषणा गरियो । जनयुद्ध लडेका जनसेनालाई योग्य र अयोग्यमा विभाजन गरी आत्मबल, इच्छाशक्ति र वैचारिक रूपबाट कमजोर बनाइयो । कतिपयलाई प्रतिक्रियावादी सेनामा विलय गराइयो र अन्ततः जनमुक्ति सेना विघटन गरी जनतालाई निहत्था पारियो । जनसेनाको वीरत्वपूर्ण गाथा तथा  जनयुद्धको गौरवशाली इतिहासप्रति गद्दारी गरियो । यो सबै कामको नेतृत्व प्रचण्ड र उनको  डफ्फाको अगुवाइमा भएको थियो ।

यो इतिहास थियो र दुखद इतिहास थियो । इतिहास सम्झेर पुर्पुरोमा हात राखेर आक्रोस तथा पीडा व्यक्त गर्ने समय नभएर यसबाट सिक्ने र नयाँ सिराबाट सोच्ने र व्यवहारमा जाने समय हो ।

 यहाँ नेपाल कम्युनिस्ट पार्टी ( माओवादी) सैन्य आयोगले जनसेना निर्माणको आवश्यकता र औचित्य प्रस्ट पारेर २०५४ फागुन १ गते  जारी गरेको पहिलो ऐतिहासिक घोषणापत्र प्रस्तुत गरिएको छ
:
.........................................................................................................................

    जनयुद्धको पहल र निरन्तर विकासले दुई वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको ऐतिहासिक अवसरमा पार्टीकेन्द्रको निर्देशनमा बसेको केन्द्रीय सैनिक आयोगको बैठकले आफूलाई सार्वजनिक घोषणा गर्ने निर्णय गरेअनुसार यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।
 
    वर्गीय समाजमा राज्यसत्ताबाहेक अरू सबै भ्रम हो । वर्गसापेक्ष रहने राज्यसत्ताको मुख्य अङ्ग नै सेना हो । सेना नभएको जनतासँग आफ्नो भन्ने केही हुँदैन । सर्वहारावादी क्रान्तिकारीहरू सर्वहारावर्ग र श्रमजीवी जनसमुदायको राज्यसत्ता र सेनानिर्माणको निमित्त यस कारण लड्दछन् कि अन्ततः मानवसमाजबाट वर्ग, राज्यसत्ता, सेना र सबैखाले युद्धहरू लोप हुने वातावरण सिर्जना गर्न सकियोस् । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको यही महान् र वैज्ञानिक निष्कर्षले सर्वहारावर्गको युद्ध, सेना र राज्यसत्ता सम्बन्धी अवधारणालाई इतिहासदेखि वर्तमानसम्मका तमाम प्रतिक्रियावादी शोषकवर्गको भन्दा मौलिक रूपले फरक अर्थ, परिभाषा र जगमा खडा गराएको छ ।

    उपर्युक्त वैज्ञानिक मान्यताको आधारमा नै देश र जनतालाई अथाह अन्धकारतिर डो¥याइरहेको शोषकवर्गको सडेगलेको राज्यसत्तालाई बलपूर्वक ध्वंस गरी जनताको नया“ जनवादी राज्यसत्ता स्थापना गर्न गत दुई वर्षदेखि महान् जनयुद्धको प्रक्रिया अगाडि बढिरहेको छ । वस्तुतः जनयुद्धको यो महान् प्रक्रिया जनवादी राज्यसत्ताका लागि जनसेना निर्माणकै ऐतिहासिक प्रक्रिया हो । सर्वहारावर्गको राजनैतिक प्रतिनिधि नेपाल कम्युनिस्ट पार्टी (माओवादी)को नेतृत्वमा सङ्गठनको मुख्य रूप जनसेना र सङ्घर्षको मुख्य रूप जनयुद्धको आधारभूत नीतिका रूपमा आज सेना निर्माणको यो प्रक्रियाले तीव्र गति पक्डेको छ ।

    आम जनसमुदायलाई सशस्त्र पार्ने, जनमिलिसियाको व्यापक र विस्तृत संयन्त्र तयार पार्ने तथा मुख्यतः नियमित जनसेना निर्माण गर्ने तिन माध्यम र संरचनाअन्तर्गत जनताको सैन्यशक्तिको विकास भइरहेको छ । आज देशमा सयौँको सङ्ख्यामा नियमित जनसेनाका स्क्वायडहरूमा आबद्ध भएर जनताका छोराछोरीहरूले इतिहासको आफ्नो जिम्मेवारीलाई सचेत अनुशासन र बलिदानको माध्यमबाट पूरा गरिरहेका छन् । यो संरचना विस्तारको आफ्नो रफ्तार अहिले प्लाटुन विकासको दिशातिर हा“किएको छ । त्यस्तै हजारौँ सङ्ख्यामा जनताका छोराछोरीहरू जनमिलिसियाका रूपमा सङ्गठित भएर दैनिक रूपमा जनताको सेवामा समर्पित छन् । व्यापक र विस्तृत रूपमा सशस्त्र जनकार्बाही र स्वयम्सेवकको माध्यमबाट आमजनतालाई सशस्त्र पार्ने प्रक्रियाले गति पक्डिरहेको छ । जनयुद्धको दुई वर्षको प्रमुख उपलब्धिका रूपमा आज देशव्यापी छापामार कार्बाहीको विकास र निश्चित रणनीतिक इलाकाहरू छापामार इलाकामा रूपान्तरण भइरहेका छन् । आत्मनिर्भरता, जननीति र युद्धबाट युद्ध सिक्ने क्रान्तिकारी सिद्धान्तअनुसार जनताको सैन्यशक्तिले आफ्नो युद्धक्षमताको विस्तार गरिरहेको छ । स्थानीय जनवादी सत्तानिर्माणको प्रक्रियामा सहभागि गराएर राज्यसत्तामा सेनाको प्रतिनिधित्व सुनिश्चत गरिएको छ ।
    जनयुद्धको दोस्रो वार्षिकोत्सव तथा आफ्नो पहिलो सार्वजनिक घोषणाको यस ऐतिहासिक अवसरमा आफ्नो रगतद्वारा महान् जनसेनाको मजबुत जग बसाउने अमर सहिदहरू छापामार कमाण्डर कमरेड तीर्थ गौतम, कमरेड विजय घले (दौलतराम घर्ती) लगायतका छापामार र योद्धाहरू तथा जनयुद्धका हाम्रा सहिदहरूप्रति सैनिक आयोग गर्व गर्दछ, लाल अभिवादनका साथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । यसका साथै दुस्मनको जेल, नेल, यातना र विविध भौतिक कठिनाइहरूको सामना गर्दै जनयुद्धको ज्वाला दन्काउने तमाम क्रान्तिकारी योद्धा र यसलाई सहयोग पु¥याउने देश–विदेशका विविध तह र तप्काका जनसमुदायप्रति क्रान्तिकारी अभिवादन टक्र्याउँछ ।

    आज जनयुद्ध र जनसेना निर्माणको यो बढ्दो प्रक्रियालाई निस्तेज र सखाप पार्न जनताका देशी र विदेशी दुस्मनहरूले अझ भयानक दमन र षड्यन्त्रका चालहरू चलिरहेका छन् । मनोवैज्ञानिक षड्यन्त्रका साथै घेरा हाल्ने र सखाप पार्ने रणनीतिलाई अझ भीषण पार्दैछन् । सामन्तवाद, साम्राज्यवाद र संशोधनवादको जनयुद्धविरोधी कित्ताबन्दी कसिँदै गएको छ । जनताका गाउँबस्तीहरूमा प्रतिक्रियावादी गुण्डा, पुलिस र सेनाको संयुक्त लुटपाट, हत्या र आतङ्क निकै बढेर गएको छ ।

    त्यो स्थितिमा केन्द्रीय सैनिक आयोग सम्पूर्ण योद्धाहरूलाई पार्टीनिर्देशित फौजी रणनीति र कार्यनीतिहरूलाई अझ दृढतापूर्वक पालन गर्न, जनसमुदायसँगको आफ्नो सम्बन्धलाई अझ गहिरो र सुदृढ तुल्याउन, योद्धाका साथै उत्पादनकर्ता, सङ्गठनकर्ता र प्रचारकर्ताको आफ्नो भूमिकालाई अझ परिमार्जन गर्न, आफ्नो दैनिक व्यवहार र आचरणमा अन्तर्राष्ट्रिय सर्वहारा फौजका महान् सैन्य कमान्डर कमरेड माओ त्सेतुङद्वारा निर्देशित अनुशासनका नियम र ध्यान दिनुपर्ने कुराहरूलाई कडाइपूर्वक पालन गर्न सर्वहारावर्गको नेतृत्वमा जनताका लाल सिपाहीका रूपमा गर्व गर्दै कठिनाइहरूको सामना गर्न विशेष निर्देशन जारी गर्दछ ।

    निश्चित राजनीतिक लक्ष्य, युद्धका निश्चित रणनीति र कार्यनीति, निश्चित युनिफर्म र हतियारसहित देश र जनताको वास्तविक मुक्तिका निम्ति अघि बढिरहेका महान् छापामार योद्धाहरूलाई दुस्मनले कथित आतङ्ककारीको व्यवहार गरिरहेको छ । प्रतिक्रियावादी सत्ताको त्यस प्रकारको षड्यन्त्रको भण्डाफोर गर्दै जनछापामारहरूलाई प्रतिद्वन्द्वी सेनाका रूपमा तथा दुस्मनको कब्जामा परेका छापामारहरूलाई अन्तर्राष्ट्रिय जेनेभा सम्झौता अनुसार युद्धबन्दीका रूपमा सम्मानजनक व्यवहारका लागि दबाब सिर्जना गर्न केन्द्रीय सैनिक आयोग देशका तमाम प्रबुद्ध बुद्धिजीवी, पत्रकार, कानुनविद् मानवअधिकारवादी लगायत सम्पूर्ण प्रगतिशील, देशभक्त एवम् जनवादी शक्तिहरूमा हार्दिक अनुरोध गर्दछ ।

    अन्तमा, जनछापामार सेना–आफ्ना छोराछोरीहरूको रक्षाका लागि जनसमुदायबाट प्राप्त अपार माया र सहयोगप्रति गर्व गर्दछौँ र भावी दिनहरूमा अझ बढेर जाने कुरामा केन्द्रीय सैनिक आयोग विश्वस्त छ । बाटो बलिदानयुक्त र गौरवपूर्ण छ, जनताको विजय सुनिश्चित छ

१ फागुन  २०५४    
प्रचण्ड,                                                
इञ्चार्ज, केन्द्रीय  सैनिक आयोग
नेपाल कम्युनिस्ट पार्टी (माओवादी)

भिडियो फिचरview all