ताजा समाचार
चैतन्य, सङ्कल्प र सङ्घर्षका उदाहरणीय व्यक्तित्व
ऋषिराज बराल
हृदयचन्द्रसिंह प्रधानजस्ता सामाजिक चिन्तकका नाममा स्थापित पुरस्कार मार्क्सवाद र क्रान्तिकारी रूपान्तरणका पक्षमा निरन्तर सङ्घर्ष गर्दै आउनुभएको मोहन बैद्य चैतन्यलाई प्रदान गर्ने निर्णय ‘साहित्य सदन’ ले गरेकोमा साहित्य सदन परिवारलाई हार्दिक धन्यवाद दिन चाहन्छु र पुरस्कृत व्यक्तित्व चैतन्यलाई बधाइ दिन चाहन्छु ।
देशकाल परिस्थिति र सङ्घर्षका विभिन्न मोर्चाको आवश्यकता अनुसार चैतन्य विभिन्न नामले परिचित हुनुहुन्छ । यस्ता थुप्रै नाममध्ये मोहन बैद्य, किरण, चैतन्य, अगम बढी चर्चित र स्थापित नामहरू हुन् । दर्शनका क्षेत्रमा मोहन बैद्य, राजनीतिमा किरण र सौन्दर्यशास्त्रका क्षेत्रमा चैतन्य वहाँका स्थापित नामहरू हुन् ।
वहाँका अहिलेसम्म निम्न लिखित पुस्तकहरू प्रकाशित भएका छन् :
]
१) लाहुरेको रहर (२०३७), २) मार्क्सवादी कलादृष्टि र समीक्षा (२०५४), ३.सङ्घर्षको दर्शन (२०६०), ४. नेपाली समाज र संस्कृति (२०६१), ५. क्रान्ति र सौन्दर्य (२०६४), ६. समीक्षा र सौन्दर्य (२०६५), ७. मार्क्सवाद र संस्कृति (२०६६), ८. क्रान्ति र सिद्धान्त (२०६७), ९.मार्क्सवादी सौन्दर्यचिन्तन (२०६७), १०.मार्क्सवादी दर्शन (२०६७) र ११. हिमाली दर्शन (२०७४) ।
यहाँ मैले मोहन बैद्य ‘्चैतन्य’ को साहित्यिक तथा सौँन्दर्यशास्त्रीय पाटोमा सङ्क्षिप्त प्रकाश पार्नु आवश्यक ठानेको छु ।
चैतन्यले कविताबाट साहित्यिक यात्राको थालनी गरेको भए पनि वहाँको विशेष क्रियाशीलता र विशिष्ट योगदान सौन्दर्यशास्त्र तथा समालोचनाका क्षेत्रमा रहेको छ । एक हिसाबले नेपाली समालोचना त्यसमा नेपाली मार्क्सवादी समालोचनाको क्षेत्रमा चैतन्य नाम ‘वरिष्ठ सौन्दर्य चिन्तक’ को पर्यार्य बनेको छ ।
बनारसबाट प्रकाशित हुने दङ्गाली विद्यार्थीहरूका प्रकाशनमा विक्रमको २० को दशकमै उहाँका समालोचनाहरू प्रकाशित हुन थालेको भनिए पनि उहाँको उपलब्ध पहिलो समालोचनात्मक रचना चाहिँ राप्ती प्रवाह १ (२०३५) मा प्रकाशित ‘पारिजातको क्रमिक विकासको मोडमा तोरीवारी बाटा र सपनाहरू’ हो । आरम्भमा चेतन आले नामले समालोचना लेख्ने मोहन बैद्यले चैतन्य नामले लेखेको पहिलो रचना वेदना ६ : १६ (२०३७) मा प्रकाशित ‘प्रगतिशीलताको सन्दर्भमा पर्खालभित्र र बाहिर’ हो । त्यसपछि वहाँले यसै नामबाट समालोचना लेखनलाई निरन्तरता दिनुभएको छ ।
सङ्ख्याभन्दा गुणमा जोड दिने चैतन्यको पहिलो समालोचना सङ्ग्रह मार्क्सवादी कलादृष्टि र समीक्षा (२०५४) हो । यो सङ्ग्रहले वहाँलाई सही विचार, तर्कपूर्ण विश्लेषण र अध्ययनको गहिराइप्रति विश्वास राख्ने माक्र्सवादी समालोचकका रूपमा परिचित र स्थापित गरायो । सरसरती हेर्दा समालोचक चैतन्य सैद्धान्तिक समालोचनामा बढी जोड दिने समालोचकका रूपमा देखिए पनि व्यावहारिक समालोचनामा पनि वहाँको कलम उत्तिकै मात्रामा चलेको छ । विधागत दृष्टिले कविता र उपन्यास समालोचनामा वहाँको कलम बढी चलेको छ ।
नेपाली साहित्यमा मार्क्सवादी समालोचना, प्रगतिवादी समालोचना अझ त्यसमा पनि प्रगतिवादी समालोचना पदावलीको प्रयोग बढी भएको पाइँन्छ । सौन्दर्यशास्त्रीय कोणबाट साहित्यिक कृतिको अध्ययन गरेर मार्क्सवादी सौँन्दर्यशास्त्र पदावली र मान्यतालाई नेपाली सन्दर्भमा परिभाषित र स्थापित गर्ने काम चैतन्यबाट नै भएको हो । सौन्दर्यशास्त्रको परिभाषा, यसका पुर्वीय तथा पाश्चात्य रूपहरू, मार्क्सवादी सौँदर्यशास्त्रका आधारभूत पक्ष, यसका प्रवर्गहरू र सौन्दर्यशास्त्रका क्षेत्रमा मार्क्सदेखि वर्तमानसम्म भएको विकासका बारेमा विस्तृत अध्ययन र विश्लेषणा गर्ने काममा चैतन्यको अग्रणी भूमिका रहेको छ । जसरी आजको मार्क्सवाद भन्दा मार्क्सदेखि माओसम्मले स्थापित र विकसित गरेका दार्शनिक, वैचारिक तथा राजनीतिक मूल्यमान्यता जोडिन्छन्, त्यसै गरी आजको मार्क्सवादी सौँदर्यशास्त्रको कुरा गर्दा सौन्दर्यशास्त्रको क्षेत्रमा माक्र्सदेखि माओसम्मले स्थापित गरेका मूल्यमान्यता र अवधारणा गाँसिन्छन् । अहिलेको सन्दर्भमा नेपाली मार्क्सवादी सौन्दर्यचिन्तन सारतः माओवादी सौँन्दर्य चिन्तन नै हो भन्ने सत्यतथ्यलाई परिभाषित र स्थापित गर्ने काम चैतन्यबाट नै भएको हो ।
चैतन्यका समालोचनात्मक तथा सौँन्दर्यशास्त्रीय आलेखहरूमा तर्क र विश्लेषणको सघनता, शोधपरकता, क्रान्तिकारी आशावाद र समाजवादी यथार्थवादप्रतिको प्रतिबद्धताको सबल स्वरूप पाइन्छ । चैतन्यको सौन्दर्यशास्त्रीय चेतको सबैभन्दा महत्वपूर्ण र ओजपूर्ण पक्ष भनेको वैचारिक सङ्घर्ष नै हो । मार्क्सवादी सौन्दर्यशास्त्रका आधारभूत प्रस्थापनाहरूलाई नेपाली समाजमा विकसित वर्गसङ्घर्ष र सौन्दर्यचेतसित जोडेर अध्ययन गर्नु सौन्दर्यचिन्तन सम्बन्धी वहाँको विशिष्ट पक्ष हो । समालोचना लेखन तथा सौँन्दर्यचिन्तनलाई वहाँले वैचारिक मोर्चाका रूपमा आत्मसात गर्नुभएको छ । सही विचारको जगमा उभिएर तर्कपूर्ण अभिव्यक्तिमार्फत समालोचनाका क्षेत्रमा देखा परेका सबै किसिमका विकृति, विसङ्गति र विचलनहरूका विरुद्ध वहाँले आफूलाई उभ्याउनु भएको छ । उदाहरणका रूपमा ‘उत्साहको सम्पादकीय चिन्तनहरूबारे एक समीक्षा’ लाई लिन सकिन्छ । मार्क्सवाद र लेखकीय प्रतिबद्धताको विरोधमा ‘उत्साह मण्डली’ ले अघि सारेको अराजकतावादी–विसर्जनवादी चिन्तनका विरुद्ध चैतन्यको यस रचनाको एतिहासिक महत्व रहेको छ । वैचारिक सङ्घर्षका सन्दर्भमा यो आलेख नेपाली मार्क्सवादी साहित्यिक चिन्तनको क्षेत्रमा कोशेढुङ्गा साबित भएको छ ।
नेपाली राजनीतिमा वामपन्थी, कम्युनिस्ट पार्टी आदि नाम राखेका, तर मार्क्सवादका आधारभूत मान्यताबाट विचलित भएर संसदवादमा पतन भएका राजनीतिक पार्टीहरू भएझैँ मार्क्सवादी समालोचनाका क्षेत्रमा पनि यस किसिमको प्रवृत्ति पाइन्छ । साहित्यिक क्षेत्रका यस किसिमका विचलनकारी प्रवृत्तिहरू २०१४÷१५ सालदेखि नै देखा पर्दै आएका हुन् र खासखास समयका माक्र्सवादी समालोचकहरूले त्यस किसिमका विचलनकारी प्रवृत्तिका विरुद्ध सङ्घर्ष गर्दै आएका छन् । यस सन्दर्भमा विक्रमको २०को दशकमा पुष्पलालको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पाटी सम्बद्ध सांस्कृतिक मोर्चाले विचलनका विरुद्ध गरेको वैचारिक सङ्घर्षले अहम् महत्व राख्दछ । विक्रमको ४० को दशकपछि यो प्रवृत्ति नयाँ किसिमले विकसित भयो र विचलन विरुद्धको वैचारिक सङ्घर्षलाई तीव्र बनाउँदै समाजवादी यथार्थवादी मोर्चालाई नयाँ गति र दिशा दिने काममा पनि चैतन्यको महत्वपूर्ण भूमिका रह्यो । यस सन्दर्भमा चैतन्यको रचना ‘नेपाली सौन्दर्यचिन्तन : ''मार्क्सवाद र बहुलवाद’ को अहम् महत्व रहेको छ । चाहे मार्क्सवाद र प्रगतिवादका नाममा संशोधनवादको पुर्पक्ष गर्ने विचलनवादी प्रवृत्ति होस् चाहे नयाँका नाममा शून्यवादको पुर्पक्ष गर्ने ‘उत्तर–वादी’ प्रवृत्तिहरू— उत्तरआधुकितावाद र उत्तर-मार्क्सवादी प्रवृत्तिहरू हुन्, दुवै क्षेत्रमा सक्रिय वैचारिक सङ्घर्ष चलाएर माक्र्सवादी सौन्दर्यचिन्तनका पक्षमा दृढताका साथ उभिनु चैतन्यको चिन्तनको विशिष्ट पक्ष हो ।
नेपाली समाज र संस्कृतिको ऐतिहासिक पक्ष, धर्म, संस्कृति र संस्कारका क्षेत्रमा पनि चैतन्यको विशिष्ट अध्ययन–चिन्तन रहेको छ । यस क्रममा वहाँको पुस्तक नेपाली समाज र संस्कृति महत्वपूर्ण कृति हो । चैतन्यमा मार्क्सवादी सौन्दर्यशास्त्रका साथै पूर्वीय साहित्यशास्त्रको पनि गहन अध्ययन छ भन्ने कुरा तुलनात्मक अध्ययनमा आधारित उहाँको आलेख ‘रस सिद्धान्त, साधारणीकरण र मार्क्सवाद’ लाई लिन सकिन्छ । यही कुरा वहाँको पछिल्लो कृति हिमाली दर्शनका सन्दर्भमा पनि भन्न सकिन्छ ।
हिमाली दर्शनमा यस क्षेत्रमा भौतिकवाद र द्वन्द्ववादको विकास र विशेषताको चर्चाका साथै यसका सीमाको पनि चर्चा गरिएको छ । दर्शनको अध्ययन समाजको व्याख्या तथा दुनियाँ बुझ्नका लागि मात्र नभएर “ मुख्यतः दुनियाँ बदल्नका लागि हुनुपर्दछ” भन्दै यो कार्य मार्क्सवादी दर्शनले मात्र गर्न सक्तछ भन्ने कुरामा चैतन्यको जोड रहेको छ र वहाँको सौन्दर्यचिन्तनको सारतत्व पनि यसैमा निहित छ ।
समग्रमा हेर्दा शब्द र कर्म, विचार र जीवनशैलीबीच एकरूपता चैतन्यको विशेषता हो । नेपालको राजनीतिक आन्दोलनमा थुप्रै मान्छेहरू नेता बनेर अगाडि आए, तर अपेक्षित उद्देश्य पूरा नहुँदै व्यक्तिगत स्वार्थमा लिप्त भएर तिनले विचलन, पलायन र गद्दारीको बाटो अँगााले । जुन उद्देश्य र मूल्यका लागि लामो लडाइँ लडियो, वलिदानको त्यो उदात्त इतिहाससित गाँसिएको उद्देश्य पूरा नहोउन्जेलसम्म निरन्तर लडिरहनुपर्छ भनेर नेपाली क्रान्तिप्रतिको प्रतिबद्धता, अटुट विश्वास र क्रान्तिकारी आशावाद राजनीतिक क्षेत्रमा मोहन बैद्य ‘किरण’ को विशिष्ट पक्ष हो । त्यसै गरी मार्क्सवादी सौन्दर्यचिन्तन र समाजवादी यथार्थवादका मूल्यप्रति प्रतिबद्ध रहेर साहित्य तथा कलाको क्षेत्रलाई वैचारिक मोर्चाका रूपमा आत्मसात गर्नु उहाँको विशिष्ट पक्ष हो । वास्तवमा सङ्कल्प र सङ्घर्षको अर्को नाम चैतन्य हो ।
मार्क्सवादी सौन्दर्यशास्त्र र समालोचनाका क्षेत्रमा चैतन्यले दिएको योगदान उच्च प्रकृतिको छ र अहिलेसम्म पनि यस क्षेत्रमा वहाँको भूमिका अगुवाको रूपमा रहेको छ । यस किसिमको पात्रलाई पुरस्कारका लागि चयन गरेकोमा साहित्य सदन परिवारलाई पुन धन्यवाद दिन चाहन्छु । मार्क्सवादी सौन्दर्य चिन्तक चैतन्यको आस्था, निष्ठा र प्रतिबद्धताको यात्रा अझ गुणात्मक र सघन बन्दै अघि बढोस् भन्ने कामना पनि गर्न चाहन्छु । धन्यवाद ।
जेठ २५, २०७६
भिडियो फिचरview all