ताजा समाचार
नेपाली क्रान्तिको मोडेल विशिष्ट अर्थमा नेपाली नै हुन्छ : मोहन बैद्य ‘किरण’
(नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव कमरेड किरणसित समसामयिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति, नेपाली क्रान्तिको दिशा र क्रान्तिकारीहरूबीचको सहकार्यका सम्बन्धमा सो पार्टी सम्बद्ध प्रकाशन वर्गदृष्टि का तर्फबाट गरिएको कुराकानी आम पाठकका लागि सान्दर्भिक र उपयोगी हुने ठानी नयाँ शिर्षकका साथ हामीले यहाँ प्रस्तुत गरेका छौँ । )
अहिले देशमा केही फरक खालका राजनीतिक घटना क्रमहरू घट्दै आएका छन् । यस सन्दर्भमा सिके राउतको रिहाइ, रेशम चौधरी लगायतकाहरूलाई दिइएको सजाय र बिप्लव नेतृत्वको नेकपामाथि लगाइएको प्रतिबन्ध जस्ता विषय बढी उल्लेखनीय देखिन्छन् ।
नेपाल अहिले त्रिदेशीय स्वार्थको चेपुवा र तानातानमा परेजस्तो देखिन्छ । नेपालका शासकहरूले छिमेक तथा विदेश नीतिमा कुटनीतिक सन्तुलन कायम गर्न सकेको देखिएको छैन । शासकहरू विदेशी स्वार्थको गोटी बन्दैजाँदा नेपालको समग्र भविष्य कस्तो देख्नुहुन्छ ?
वार्ता टोलीसमेत निर्माण गरी कार्यगत एकता र पार्टी एकताका प्रक्रियाहरू अगाडि बढाइएका थिए । त्यो किन अगाडि बढ्न सकेन ?
(वर्गदृष्टि ३ : ४० बाट)
महासचिव कमरेड ! देशभित्र अहिले सोचिएको भन्दा फरक घटनाक्रमहरू सामुन्ने आएका छन् । पछिल्लो कालखण्डमा विकसित घटनाक्रमलाई कसरी विश्लेषण गर्नुभएको छ ?
सिके राउतसँगको ११ बुँदे सहमति, कैलाली घटनामा रेशम चौधरीलगायत ११ जनालाई गरिएको जन्मकैदको सजाय, बिप्लव नेतृत्वको नेकपामाथि सरकारले लगाएको प्रतिबन्धलगायतका विषयको क्रान्तिकारी माओवादीले कडा विरोध गर्दै आएको छ । यी समस्याहरू के हुन् र कसरी समाधान गरिनु पर्दथ्यो ?
सिके राउतसित अप्रत्यासित रूपमा ११ बुँदे सहमति गरियो । डबल नेकपाको नेतृत्व पङ्ंक्ति र प्रतिपक्षी राजनीतिक दललाई पनि थाह नै नदिई गरिएको त्यस प्रकारको सहमति आशङ्काको घेराभित्र रहेको छ । सो सहमतिको गम्भीर विषय भनेको द्विअर्थी लाग्ने र जनमतसङ्ग्रहको छनक दिने ‘जनअभिमत’ भन्ने विवादास्पद पदावली हो । सो सहमति गरेकै बेला प्रधानमन्त्रीसमक्ष सिके राउतले राज्यद्वारा जनमतसङ्ग्रहको सम्प्रभुतालाई स्वीकार गरिएको भनेर बोले । परन्तु, त्यसबारे प्रधानमन्त्री ओलीबाट कुनै पनि प्रतिवाद गरिएन । यो देशको राष्ट्रिय स्वाधीनता, सम्प्रभुता र सार्वभौमिकतासित सम्बन्धित गम्भीर प्रकृतिको मुद्दा र समस्या हो । यो त्यत्तिकै हचुवाको भरमा हल हुन सक्ने विषय पनि होइन । यसले प्रधानमन्त्रीप्रति गम्भीर प्रकारको आशङ्का जन्माएको छ ।
कैलाली टीकापुरको हत्याकाण्डसित सम्बन्धित रेशम चौधरीलगायतका ११ जनालाई दिइएको जन्मकैद सजाय अत्यन्तै विडम्बनापूर्ण रहेको छ । कैलालीको त्यो घटना राजनीतिक प्रकृतिको रहेको छ । राजनीतिक आन्दोलन र विरोध प्रदर्शनका क्रममा घटिएको त्यो घटना कसले घटायो भन्ने स्पष्ट छैन, राजनीतिक आन्दोलनसित जोडिएकाले त्यो घटनालाई अदालती प्रक्रियामा लैजानु सरकारको प्रतिशोधको भावनाले काम गरेको छ । त्यसो गरिनु हुन्न र त्यसलाई राजनीतिक रूपमा समाधान गरिनुपर्दछ । जहाँसम्म बिप्लव नेतृत्वको नेकपामाथि सरकारद्वारा प्रतिबन्ध लगाइएको विषय हो, त्यो नितान्त गलत छ र यसबाट सरकार फासिवादको अभ्यास गर्न गइरहेको कुरा प्रष्ट हुन्छ । सरकारले उक्त प्रतिबन्ध फिर्ता लिनुपर्छ, बिप्लव नेतृत्वको नेकपालाई राजनीतिक दलका रूपमा लिई त्यसप्रति राजनीतिक व्यवहार गरिनु पर्दछ । राजनीतिक समस्याको समाधान दमन र प्रशासनिक रूपमा होइन, राजनीतिक रूपमै गरिनुपर्दछ ।
खासगरी सिके राउत र उनीसँग सरकारले गरेको सहमतिलाई अमेरिकाको इन्डो-प्यासिफिक रणनीतिसँग जोडेर व्याख्या गर्ने गरिएको पाइन्छ । यहाँहरूको अध्ययन तथा विश्लेषण के छ ?
सरकारद्वारा सिके राउतसित गरिएको सहमति अमेरिकाको इण्डो-प्यासिफिक रणनीतिसित जोडिएको हुनसक्छ । यसलाई गम्भीरतापूर्वक लिनुपर्दछ । यो सामान्य प्रकारको सहमति जस्तो लाग्दैन ।
अमेरिका सीधै नेपाल पस्दैछ भनेर यहाँले धेरै ठाउँमा भन्दै आउनु भएको छ । अमेरिकाको नेपालमा प्रत्यक्ष र हस्तक्षेपकारी उपस्थितिले नेपालको समग्र राजनीति र क्षेत्रीय राजनीतिमा के-कस्तो असर पार्ने देख्नुहुन्छ ?
अमेरिकाले इण्डो-प्यासिफिक रणनीतिअन्तर्गत एकातिर नेपालमा आफ्नो चलखेल बढाउने र अर्कातिर चीनलाई घेरामा हाल्ने सोच बनाइरहेको छ । यसले निश्चित रूपमा दूरगामी हिसाबले नकारात्मक असर पार्दै जाने देखिन्छ । यसलाई नेपाली जनता, सरकार र विभिन्न पार्टीहरूले के कसरी बुझ्छन् र के कस्तो भूमिका निर्वाह गर्छन् ती कुरा पनि ध्यान दिन योग्य छन् । जे होस्, यसबारे थप गम्भीर र सचेत बन्नुपर्दछ ।
अर्धसामन्ती, अर्धऔपनिवेशिक तथा नव-औपनिवेशिक अवस्थामा रहिआएको नेपाल बाह्य शक्तिकेन्द्रहरूको चेपुवा र तानातान पर्नु त कुनै अनौठो होइन । तर यहाँ सरकारको कूटनीति, विभिन्न राजनीतिक दलहरूको व्यवहार र जनताले खेल्ने भूमिकाको विशेष महत्व र अर्थ हुन्छ । सरकार जोसित कुरा गर्यो, त्यसैसित ठीक्क मिल्छ, त्यसलाई राजनीति के हो, कूटनीति के हो केही पनि थाहा छैन । कसले कहाँ फसाउने हो, त्यसको पनि कुनै चिन्ता गर्दैनन् । पुराना सरकार विदेशका गोटी बन्दै आएका छन् र अहिलेको सरकार पनि त्यही नै हो । यसबारे देशभक्त तथा क्रान्तिकारी कम्युनिस्टहरू सचेत र सतर्क बन्नु पर्दछ । नेपाली जनसमुदाय देशको राष्ट्रिय स्वाधीनता रक्षाको निम्ति सङ्घर्षशील रहिआएका छन् । नेपालको समग्र भविष्य समुज्ज्वल छ ।
प्रसङ्ग बदलौं, बिप्लव नेतृत्वको नेकपालाई क्रान्तिकारी माओवादीको हेर्ने दृष्टिकोण के हो ?
बिप्लव नेतृत्वको नेकपालाई हेर्ने हाम्रो दृष्टिकोण भौतिकवादी द्वन्दवाद हो, त्यस समूहका कमीकमजोरी वा दुर्बल पक्षको हामीले सैद्धान्तिक रूपमा आलोचना तथा विरोध र सबल पक्षलाई प्रोत्साहित गर्दछौँ ।
बिप्लव नेतृत्वको नेकपासित कार्यगत एकता र पार्टीको एकताको आवश्यकता प्रक्रियाबारे हामीले गम्भीर जिम्मेवारीबोधका साथ निरन्तर पहल गर्यों । परन्तु, उहाँहरूले विषयलाई गम्भीरतापूर्वक लिनु भएन ।
क्रान्तिकारी माओवादी र बिप्लव नेतृत्वको नेकपाबीच रहेका सैद्धान्तिक वैचारिक तथा नीति कार्यक्रमहरूमा रहेका भिन्नताहरू के हुन् र बिप्लव नेतृत्वको नेकपा लगायत अन्य क्रान्तिकारी समूह तथा व्यक्तिहरूसँगको एकताको आधार के हुन सक्छ ?
बिप्लव पक्षसित मार्क्सवाद-लेनिनवाद-माओवादलगायतका कतिपय विषयमा समान समझदारी भए पनि नेपाली क्रान्तिको आधारभूत कार्यक्रम, नीति र कार्यदिशाका बारेमा हाम्रा कयौं भिन्नताहरू पनि छन्, उहाँहरू नेपाली क्रान्तिको वर्तमान चरणमा कहिले एकैसाथ नयाँ जनवाद तथा समाजवाद दुवै र कहिले समाजवाद भन्नुहुन्छ । अनि उहाँहरूले भन्ने गरेको एकीकृत जनक्रान्तिको कार्यदिशा अत्यन्त अमूर्त, अस्पष्ट र रहस्यमय देखिन्छ । त्यसैगरी उहाँहरू सत्ता साझेदारीको कुरा गर्दै आउनुभएको छ । त्यो पनि के हो अस्पष्ट छ । अनि उहाँहरूले मजदुर वर्गको ठाउँमा मध्यम वर्गलाई क्रान्तिकारी बताउनुहुन्छ । त्यस्तै उहाँहरू उत्तर-साम्राज्यवादको कुरा गर्नुहुन्छ । उत्तर-साम्राज्यवादी पदावलीले त साम्राज्यवाद समाप्त भएको भन्ने अर्थ दिन्छ । उहाँहरूको कुरा स्पष्ट छैन । भिन्नताका कुरा यस्तैयस्तै छन् । यी विषयबारे हाम्रो कहिल्यै स्पष्ट र खुला छलफल र बहस भएको छैन । जहाँसम्म विभिन्न क्रान्तिकारी कम्युनिस्ट समूहहरूसित पार्टी एकताको आधारहरूको कुरा हो, ती मूलतः यी हुन् : १) मार्क्सवाद- लेनिनवाद- माओवाद, २) नयाँ जनवाद, ३) बल प्रयोगको सिद्धान्त, ४) जनवादी केन्द्रीयताको मान्यता । यी पार्टी एकताका मोटामाटी आधार हुन् । यस अतिरिक्त अन्तर्राष्ट्रिय र नेपाली कम्युनिस्ट आन्दोलनसित सम्बन्धित विषयमा पनि समान समझदारी हुनु जरुरी छ ।
नेपाली कम्युनिस्ट आन्दोलनभित्र क्रान्तिकारी धारको मूल नेतृत्व तथा शिखर व्यक्तित्वको हैसियतमा यहाँले छरिएर रहेका सबै कम्युनिस्ट क्रान्तिकारी शक्तिहरूलाई एक ठाउँमा ल्याउन पहलकदमी पटकपटक गर्नुभयो र गरिरहनु भएको छ । यसमा के-कस्ता चिन्तन र प्रवृत्तिहरूले अवरोध उत्पन्न गरिरहेका छन् ?
हो, यस सम्बन्धमा पहलकदमी बारम्बार तथा निरन्तर गरिएको छ । यस प्रक्रियामा अवरोध पैदा हुनुमा मूलतः वैचारिक तथा राजनीतिक कारणहरूले काम गरेका छन् । अझै ठोसरूपमा भन्नुपर्दा सम्बन्धित पक्षको मूल नेतृत्वपङ्क्तिमा विद्यमान केही सङ्कीर्णता, केही अहम् र दक्षिणपन्थतिरको सन्निकटकता जस्ता चिन्तन र प्रवृत्तिले काम गरेको देखिन्छ ।
नेकपा (क्रान्तिकारी माओवादी) ले क्रान्तिको आम कार्यदिशा भनेर नयाँ जनवादी क्रान्ति भनेको छ । क्रान्ति पूरा भयो, बन्दुकको औचित्य सकियो, अब आर्थिक क्रान्तिको पालो हो भनेर कम्युनिस्टकै आवरणमा एकथरी मानिसहरूले कोकोहोलो मच्चाइरहँदा संक्षिप्तमा नयाँ जनवादी क्रान्तिका आधारहरूबारे प्रस्ट पारिदिनुस् न ।
कम्युनिस्ट आवरणमा रहेका कतिपय तत्वहरूले नेपालमा राजनीतिक क्रान्ति पूरा भएको अब आर्थिक क्रान्ति गर्नुपर्छ भनेर कोकोहोला मच्चाइरहेका छन् । राजनीतिक क्रान्ति र आर्थिक क्रान्ति बेग्लाबेग्लै चरणमा गरिने क्रान्ति होइनन्, ती एउटै समग्रताका भिन्न पक्ष हुन् । वस्तुतः नेपालमा नयाँ जनवादी क्रान्ति अझै सम्पन्न भएको छैन । नेपालमा नेपाली जनवादी क्रान्ति गर्नु वा हुनुपर्ने आधार वा कारण मूलतः यी हुन् : पहिलो, हाम्रो देश अझै पनि अर्धसामन्ती, अर्धऔपनिवेशिक तथा मूलतः नव-औपनिवेशिक अवस्थामा छ । आन्तरिक रूपमा यहाँको प्रतिक्रियावादी शासक वगर्ल वैदैशिक प्रतितक्रियावादसित साठँगाठँ गररे आफ्नो आयु लम्ब्याएको छ भने बाह्य रूपमा यहाँ राजनीतिक, आर्थिक, सामाजिक तथा सामरिक क्षेत्रमा विभिन्न प्रकारका हस्तक्षेप जारी नै छन् । भारतीय विस्तारवादसित गरिएका व्यापार, पारवहन, जलविद्यतु लगायत तमाम क्षत्रेमा भए/गरिएका असमान सन्धिहरू कायमै छन् । दोस्रो, यहाँ एकातिर दलाल तथा नोकरसाही पुँजीपति एवम् सामन्तवर्ग र अर्कोतिर साम्राज्यवाद तथा विस्तारवादको दोहोरो शोषण-उत्पीडन कायमै छ । तेस्रो, यहाँ स्वतन्त्र राष्ट्रिय अर्थतन्त्र र औद्योगिक पुँजीको विकास हुन सकेको छैन, दलाल तथा नोकरसाही पुँजीको आधिपत्य छ । चौथो, यहाँ अझै पनि भूमि समस्याको समाधान भएको छैन । जमिनमाथि सामन्ती उत्पीडन तथा निर्वाहमुखी कृषि प्रणाली कायमै छ । कृषिको आधुनिकीकरण तथा व्यावसायीकरण हुन सकेको छैन । किसानहरू अझै मुक्त हुन सकेका छैनन् । पाँचौँ, यहाँ महिला, दलित, जनजाति, मुस्लिम तथा मधेसी समुदाय उत्पीडनको मारमा छन् । क्षेत्रीय उत्पीडन र असन्तुलन कायमै छन् । छैठौँ यहाँ राष्ट्रियता, जनतन्त्र र जनजीविकाका आधारभूत समस्याहरूको अझै समाधान हुन सकेको छैन । उपर्युक्त सबै आधारहरूमाथि ध्यान दिँदा यहाँ नयाँ जनवादी क्रान्तिको आवश्यकता अझै छ ।
नयाँ जनवादी क्रान्तिको तयारी क्रान्तिकारी माओवादीले कसरी गरिरहेको छ ? क्रान्तिका कार्यनीतिक स्टेपहरूमा पार्टी अलमलिएको र अकर्मण्यतामा फसेको हो कि भन्ने पनि इतर वृत्तबाट आउने गरेका छन् । यसबारेमा स्पष्ट पारिदिनुस् न ।
हामी आफ्नै किसिम र तरिकाले नयाँ जनवादी क्रान्तिको तयारीमा लागिरहेकै छौँ । हाम्रो कार्यक्रम, नीति तथा कार्यदिशासम्बन्धी सोच र मान्यता पनि मूलतः सही नै छन् । यी विषयमा परस्थितिको आरोह-अवरोह र जटिलतासितै विकास पनि गर्दै जानु पर्दछ । जहाँसम्म कार्यनीतिको स्टेपहरूमा अल्मलिएको र अकर्मण्यतामा पार्टी फसको हो कि भन्ने प्रश्न छ । यसलाई दुई ढङ्गले हेर्दा र बुझ्दा राम्रो हुन्छ । पहिलो कुरा त हामीमा केही कमी– कमजोरी तथा सीमा पनि छन् । तिनलाई सच्याउँदै र तिनमा विजयहरूसित हातेमालो गर्दै जानुपर्छ । दोस्रो, अहिले हामी एकातिर अजङ्गको दक्षिणपन्थी, अवसरवादी पहाडलाई फोर्दै र अर्कातिर निम्न-पुँजीवादी अधैर्यका बारबन्धनहरूलाई तोड्दै क्रान्तिको बाटो खन्न गइरहेका छौँ । अझै हामी क्रान्तिका बाङ्गाटिङ्गा गोरेटा र घोडेटा हुँदै अगाडि बढ्नुपर्दछ । हाम्रो गन्तव्य स्पष्ट छ र भविष्य समुज्ज्वल छ ।
नेपालको भूराजनीतिक विशिष्टता र क्रान्तिको मोडलका बारेमा सङ्क्षिप्तमा बताइदिनुस् न । किन नेपालको वाम वा लोकतान्त्रिक आन्दोलनमा भारत हाबी र निर्णायक भइरहन्छ ? स्वतन्त्र हैसियतमा नेपालमा किन राजनीतिक आन्दोलनहरू निर्णायक बन्न सकिरहेका छैनन् ? यसलाई कसरी चिरेर जान सकिन्छ ?
भूराजनीतिक विशिष्टता नेपाली क्रान्तिका निम्ति अवश्य नै एउटै विशिष्ट मननीय विषय हो । त्यसैले नेपाली क्रान्तिको मोडेल पनि नेपालकै भूराजनीतिका विशिष्टतामा आधारित हुन्छ । रुसी, चिनियाँ अथवा अन्य कुनै मोडेल हाम्रा निम्ति आदर्श पनि हुन सक्छन्, सन्दर्भ पनि हुन सक्छन् । तर जे-जस्तो भए पनि नेपाली क्रान्तिको मोडेल विशिष्ट अर्थमा नेपाली नै हुन्छ । हो, भारत हाबी हुने कुराले हाम्रो टाउको दुखाएकै छ । आफ्नै पहल र आफ्नै खुट्टामा उभिएर स्वतन्त्र राजनीतिक आन्दोलनलाई निर्णायक बनाउन राजनीतिक, सामाजिक, आर्थिक तथा सामरिक पक्ष र राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय विशिष्टता र समग्रतामा रणनीति र कार्यनीतिका श्रृङ्खलाहरूको विकास र विन्यास गर्नुपर्छ । यस निम्ति हामीमा कसैसित नझुक्ने अदम्य साहस तथा सङ्कल्प र क्रान्तिकारी दृढता तथा लचकताको द्वन्दात्मक संयोजन आवश्यक पर्दछ । नेपाली क्रान्तिका भूविशिष्टताबाट पैदा हुने प्रतिकूलतालाई भूराजनीतिक विशिष्टताकै अनुकूलतामा ढाल्न सकिन्छ र ढाल्नु पर्दछ । किनकि जहाँ प्रतिकूलता छ, त्यहाँ अनुकूलता पनि हुन्छ । द्वन्दवादले हामीलाई यही सिकाउँछ ।
हालै पार्टीको संयुक्त मोर्चा ‘देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल’ को नेतृत्वमा मेची–महाकाली अभियान सञ्चालन गरेको छ र २४ मा वृहत् जनप्रदर्शनसहित भव्य रूपमा राष्ट्रिय सम्मेलनको पनि तयारी भइरहेको छ । पार्टीले संयुक्त मोर्चालाई कुन रूपमा अगाडि बढाउन खोजेको हो ? यसबारे बताइदिनुस् न ।
पार्टीले संयुक्त मोर्चा (क) वर्गीय, जातीय, लैङ्गिक, क्षेत्रीय, सांस्कृतिलगायतका पक्षलाई समेटी प्रतिनिधित्वको व्यवस्था मिलाउन, (ख) यसलाई राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्यालाई लिएर आन्दोलनको सम्बाहक शक्ति बनाउन, (ग) जनताका बीचमा फैलाउन र (घ) गतिशील एवं सक्रिय रूपमा अगाडि बढाउन चाहेको छ ।
लामो समयदेखि राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयहरूलाई लिएर यहाँहरूले सानाठूला आन्दोलनका कार्यक्रमहरू दिँदै आउनु भएको छ । तर यो सरकारले सुनेको छैन । अब यो राज्य वा सरकारले सुन्ने गरी यी मुद्दाहरूलाई कसरी लिएर जानुहुन्छ ?
जनविरोधी सरकारको एउटा मूल विशेषता नै जनआन्दोलनका कुरा नसुन्नु र बहिरो हुनु नै हो । यस कुरालाई हामीले बुझी राख्नु पर्दछ । तर पनि सरकारलाई राष्ट्रियता, जनतन्त्र, जनजीविका लगायतका जनआन्दोलनका मुद्दा सुन्ने बनाउनका लागि हामी लोसे भएर हुँदैन, जुझारु बन्दै जानुपर्दछ । जुझारु जनआन्दोलन, वर्गसङ्घर्ष र जनप्रतिरोधको सङ्घर्षलाई विकसित गर्दै लानु पर्दछ ।
यहाँले पार्टीभित्र र बाहिर पनि क्रान्तिकारी रूपान्तरणका निम्ति सबै कम्युनिस्ट क्रान्तिकारीहरू गम्भीर बन्ने बेला आइसक्यो भन्दै आउनु भएको छ । यसबारेमा स्पष्ट पारिदिनुस् न ।
क्रान्ति सही रूपान्तरणको निम्ति एकातिर आवश्यक परिस्थिति तयार पार्दै र अर्कातिर सुदृढीकरणको योजना बनाई कार्यान्वयन गर्दै जानुपर्दछ । यो विषय केही जटिल छ । तर हामीले जटिलताको सामना गर्नै पर्दछ । यसै क्रममा पार्टीमा शुद्धीकरण आन्दोलन सञ्चालन गर्दै जानु पर्दछ ।
अन्तमा, प्रतिक्रियावादी, संशोधनवादी तथा अवसरवादीहरू सुदृढ हुँदै गएको र वास्तविक कम्युनिस्ट क्रान्तिकारीहरू छिन्नभिन्न हुँदै अस्तित्व रक्षाको सङ्कट झेलिरहेको अवस्थामा नेपालको सिङ्गो कम्युनिस्ट क्रान्तिकारी आन्दोलन तथा माओवादी आन्दोलनले, महान् सहिद तथा बेपत्ता योद्धा परिवार, कम्युनिस्ट पक्षधर आम जनताले यहाँ र यहाँले नेतृत्व गरेको नेकपा (क्रान्तिकारी माओवादी) लाई निकै ठूलो आशा र विश्वासको नजरले हेरेको देखिन्छ । इतिहासको यो घडीमा ती सबै पक्षलाई यहाँले के अपिल तथा आह्वान गर्न चाहनुहुन्छ ?
प्रतिक्रियावादी तथा संशोधनवादीहरू बलियो र क्रान्तिकारी कम्युनिस्ट कमजोर बन्न गएको अहिलेको यथार्थ नै हो । तर, यो क्षणिक तथा अस्थायी कुरा हो । यद्यपि अहिले हामीले गम्भीर सङ्कट झेल्नु परेको छ, तर क्रान्तिकारीहरू सङ्कटकै सामना गरेर सच्चा क्रान्तिकारी बन्न सक्दछन् र बन्नु पर्दछ । हामीसित मार्क्सवाद-लेनिनवाद-माओवादको अपराजय सैद्धान्तिक हतियार छ र यही हतियार भिरेर हामी आफ्नो गन्तव्य मार्क्सवादको उदात्त आदर्श प्राप्त गर्न सक्दछौँ र यही हतियार नै हाम्रो विजयको मूल आधार हो । क्रान्तिमा सहिदहरूले बगाएको रगत खेर जाँदैन । महान् जनयुद्धमा सहादत प्राप्त गर्ने र राज्यद्वारा बेपत्ता पारिएका योद्धाहरूका परिवारजनको उच्च सम्मान गर्दै म उहाँहरूसित के अनुरोध गर्दछु भने— वीर योद्धाहरूको सहादत र पराक्रमबाट हामीलाई क्रान्तिको बाटोमा अगाडि बढ्न निन्तर प्रेरणा प्राप्त भइरहने छ । ढिलो वा चाँडो हामीले नेपाली धर्तीमा क्रान्ति सम्पन्न गरेरै छाड्ने छौँ । हाम्रो पार्टी क्रान्तिको बाटोमा निरन्तर अगाडि बढिरहने छ र जनताका मुक्तिका सपनालाई साकार बनाउने छ ।
भिडियो फिचरview all