menu

ताजा समाचार

'भक्तबहादुर स्मृति प्रतिष्ठान' को खोजीमा

नेपालको कम्युनिस्ट आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्ने राजनीतिक क्षेत्रका स्मरणीय र अनुकरणीय पात्रहरूलाई विचार र व्यवहारमा सुरक्षित राख्नु आवश्यक छ भन्ने उद्देश्यका साथ २०६९ सालमा नेकपा-माओवादीका नेता कमरेड चन्द्रप्रसाद गजुरेल अध्यक्ष र डा. ऋषिराज बराल सदस्य सचिव र नेकपा-माओवादीका केन्द्रीय सदस्यहरू सूर्य सुवेदी ‘पथिक’, महेश्वर दाहाल लगायतका ७ सदस्यीय कार्यसमिति रहने गरी ‘भक्तबहादुर श्रेष्ठ स्मृति प्रतिष्ठान’ नामको संस्था दर्ता गरिएको थियो । र यसको केन्द्रीय कार्यालय काठमाडौँमा र स्थानीय कार्यालय हेटौँडामा रहने भनेर विधानमा पनि उल्लेख गरिएको थियो ।

पछि भक्तबहादुर श्रेष्ठ र प्रतिष्ठानप्रति गम्भीर चासो र सक्रियता प्रस्तुत गर्ने  कमरेड भक्तबहादुर श्रेष्ठको पारिवारिक सदस्य दिनेश श्रेष्ठ, डा. नन्दीश अधिकारी (कोषाध्यक्ष) र कमरेड अटललाई पनि कार्यसमितिमा समाविष्ट गरिएको थियो ।

नामसित केही प्राविधिक र प्रशासनिक समस्या जोडिएपछि प्रतिष्ठानको नाम ‘भक्तबहादुर स्मृति प्रतिष्ठान’ रहने गरी विधानमा संशोधन गरियो । यसमा रहेका कार्यसमितिका सदस्यहरूले अपेक्षित समय दिन नसकेपछि अध्यक्ष, सदस्य सचिव, कोषाध्यक्ष यथावत राखी कार्य समितिका कतिपय सदस्यहरू प्राज्ञ सभामा निरन्तर रहने गरी साधारण सभाले कार्यसमितिमा थपघट गरेर प्रतिष्ठानलाई निरन्तरता दिइयो ।

समयक्रममा पहिले नेकपा-माओवादीबाट बिप्लवको नेतृत्वमा एउटा समूह पलायन भएपछि र पछि रामबहादुर थापा ‘वादल’ को नेतृत्वमा अर्को समूह पलायन भएपछि प्रतिष्ठानलाई नयाँ किसिमले पुनर्गठित गर्नु आवश्यक भयो । पलायन भएका समूहका सदस्यहरूको प्रतिष्ठानप्रतिको अरुचिका कारण पनि यसो गर्नु आवश्यक थियो ।  २०७२  मा संस्थापक सदस्य डा. ऋषिराज बराललले कार्यव्यस्तताका कारण सदस्य सचिवमा क्रियाशील हुन नसक्ने भनेपछि  साधारण सभामार्फत  अध्यक्षलाई यथावत राखी सदस्य सचिव कुमार थापा रहने गरी कार्यसमितिमा व्यापक हेरफेर गरियो ।

त्यसपछि संस्थालाई क्रियाशील रूपमा निरन्तरता दिने कार्यमा अपेक्षित जागरुकता देखिएन, संस्था रिन्यु गर्ने काम पनि समयमा हुन सकेन र सरकारका तर्फबाट प्राप्त सहयोग रकम प्राप्त गर्ने कार्यमा पनि अपेक्षित तदारुकता देखिएन । करिब ३ वर्षदेखि  संस्था हराएको अवस्थामा रहेको छ  ।

अहिले संस्था जीवित छ कि मृत, कता छ के छ, भन्ने कुराको व्यापक टिप्पणी उठेको अवस्था छ । कार्य समितिका सदस्य तथा पूर्व कोषाध्यक्ष डा. नन्दीश अधिकारीका अनुसार करिब तीन वर्षदेखि यसको साधारण सभा राखिएको मात्र नभई कार्य समितिको बैठकसमेत डाकिएको छैन ।
अहिले यसको अस्तित्वका बारेमा प्रश्न उठे पनि २०६९ देखि २०७२ सम्म यसले प्रकाशनका क्षेत्रमा र विचारगोष्ठीका सन्दर्भमा महत्वपूर्ण कार्य गरेको थियो ।

भक्तबहादुर स्मृति प्रतिष्ठान’ले गरेका कामहरू

आरम्भमा ‘भक्तबहादुर स्मृति प्रतिष्ठान’ले  निकै महत्वपूर्ण काम गरेको देखिन्छ । विचार गोष्ठीहरूका साथै प्रकाशनका क्षेत्रमा यसले विशिष्ट काम गरेको छ । खास गरेर प्रकाशनको क्षेत्रमा प्रतिष्ठानले निकै महत्वपूर्ण काम गरेको पाइन्छ  ।

कमरेड भक्तबहादुर श्रेष्ठद्वारा लेखिएका ३ दशकभन्दा अघिका विभिन्न आलेख तथा दस्ताबेजहरू सङ्कलन  तथा सम्पादन गर्ने कार्य निकै गारो काम हो । यस क्रममा  अझै थुप्रै  फुटकर रचनाहरू छुटेका हुन सक्छन् र छन् पनि, पुस्तिकाहरू नै छुटेका पाइन्छन् । यति हुँदाहुँदै पनि भक्तबहादुर श्रेष्ठका सङ्कलित रचनाहरू भाग १ र २ मा जेजस्ता रचनाहरू परेका छन्, ती निकै महत्वपूर्ण छन् । यिनमा चौथो महाधिवेशनदेखि यता २०६० को दशकसम्मका रचनाहरू सङ्कलित छन् । समग्र रचना पढ्दा श्रेष्ठ दार्शनिक, वैचारिक, राजनीतिक क्षेत्रका साथै साहित्यिक तथा सांस्कृतिक क्षेत्रमा पनि त्यत्तिकै सक्रिया रहेका पाइन्छन् । समग्रमा उनी अध्ययनशील माओवादी नेताका रूपमा रहेका छन् । वास्तवमा कमरेड भक्तबहादुर मार्क्सवाद र नेपाली समाजका गहन अध्येता हुन् ।

भक्तबहादुर  स्मृतिग्रन्थका रूपमा प्रकाशित भक्तबहादुर श्रेष्ठ विविध आयाम भित्र रहेको ‘भक्तबहादुरका आँखामा भक्तबहादुर’ ले नेपालको कम्युनिस्ट आन्दोलनका साथै  भक्तबहादुर श्रेष्ठको आत्मसङ्घर्ष र वैचारिक सङ्घर्षको इतिहासलाई बडो रोचक ढङ्गले प्रस्तुत गरेको छ । माओवादी आन्दोलनमा सक्रिय आजका प्रौढ तथा युवाहरूले कमरेड भक्तबहादुरका रचनाहरू र नेपालको कम्युनिस्ट आन्दोलनसित सम्बद्ध उनको आत्मजीवनी ‘भक्तबहादुरका आँखामा भक्तबहादुर’ को गम्भीरतापूर्वक अध्ययन गर्नु जरूरी छ ।

यो बाहेक प्रतिष्ठानबाट प्रकाशित तीन पुस्तक मार्क्सवाद र परिचयको राजनीति, माओवादी आन्दोलन गति र दिशा तथा बहसमा माओवादी आन्दोलन निकै महत्वपूर्ण प्रकाशन हुन् । यी पुस्तकहरूले पहिचानको राजनीतिका सम्बन्धमा मार्क्सवादी मान्यता, माओवादी आन्दोलनको विगत र वर्तमान साथै नेपाली माओवादी आन्दोलनबारे गहन र सारगर्भित जानकारी दिन्छन् ।

यसरी हेर्दा प्रतिष्ठानले एकातिर भक्तबहादुर श्रेष्ठको इतिहास र सङ्घर्ष गाथालाई आम पाठकसम्म पुर्याएको पाइन्छ भने अर्कातिर माओवादी आन्दोलनको हिजोदेखिको इतिहास, दुई लाइन सङ्घर्ष र अहिले माओवादी क्रान्तिकारीहरूले गर्नु पर्ने कामका बारेमा पनि प्रकाश पारेको देखिन्छ ।  समग्रमा हेर्दा प्रतिष्ठान सबै किसिमका विचलनका विरुद्ध वैचारिक सङ्घर्षको एउटा सबल मोर्चा बनेको देखिन्छ ।

‘भक्तबहादुर स्मृति प्रतिष्ठान’ खास व्यक्तिमा सीमित तथा केन्द्रित संस्था नभएर विचार केन्दित अध्ययन-अनुशन्धानमूलक संस्था भएकाले यसको सम्बन्ध क्रान्तिकारी विचार र इतिहासको निरन्तरता र सङ्घर्षशील व्यक्तित्वहरूको मूल्यबोधसित गाँसिएको छ । यस किसिमको संस्था गतिहीन हुनु, मरेको छ कि जिउँदो छ भनेर प्रश्न उठ्नु दुखद कुरा हो । प्राविधिक, प्रशासनिक  तथा व्यवस्थापकीय समस्या हल गर्दै संस्था निरन्तर गतिशील बनोस् भनेर प्रतिष्ठानका शुभचिन्तकहरूले कामना गर्नु स्वाभाविक छ  । यसलाई गतिशील बनाउने प्रयासमा ‘जनमेल’ परिवारको साथ र सहयोग रहने कुरा हामी प्रस्ट पार्न चाहन्छौँ । 

 जनमेल विश्लेषण 



भिडियो फिचरview all