ताजा समाचार
बिप्लव समूहको चारबर्से दिशाहीन यात्रा
डा. ऋषिराज बराल
यही मङ्सिर ८ गते नेत्रविक्रम चन्द ‘बिप्लव’ सम्बद्ध समूहले नेकपा-माओवादीबाट रहस्यमय किसिमले सम्बन्ध विच्छेद गरेको चार वर्ष हुन्छ । 'बिप्लव समूह', नेकपा, माओवादी, नेकपा (माओवादी) हुँदै अहिले यो समूह नेकपा मात्रै भएको छ । काम गराइको शैलीले बेलाबेलामा चर्चामा आइरहने यस समूहको नाम फेराइको गतिशिलता देख्दा माओवाद र माओवादी पदावलीप्रति यसको रुचि घट्तै गएको देखिन्छ ।
चार वर्षअघि नेपाल कम्युनिस्ट पार्टी-माओवादीका केन्द्रीय सचिव नेत्रविक्रम चन्द ‘बिप्लव’ले पार्टीको राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्न ‘फरकमत’ को दस्ताबेज प्रस्तुत गरेपछि भएका बहस-छलफलका क्रममा मेरा आफ्नै किसिमका मत र विचारहरू थिए । सरसरती हेर्दा सिङ्गो पार्टी दुई कित्तामा विभाजित जस्तो देखिए पनि त्यहाँ मूलतः तीनओटा धार थिए—कमरेड किरणको दस्ताबेजप्रति सहमति जनाउने धार र बिप्लवको दस्ताबेजप्रति सहमति जनाउने धार र दुवैको दस्ताबेजप्रति विमति जनाउने अर्को धार ।
पिबिभन्दा तल, के.स.मा समेत कमरेड विप्लवको दस्ताबेज नलैजाने, लगे पनि बहसछलफल गर्न नपाइने र जिल्ला तहसम्म त झन् लाँदै नलैजाने भन्ने कुरा सुनिएको भए पनि बिप्लवको दस्ताबेज तलसम्म पुग्यो र पत्रकारहरूका हातहातमा पनि पुग्यो । त्यसअघि बिप्लवले छोटा टिप्पणीमूलक लेख मात्रै लेखेको, यति लामो लेखादि लेखेको नपाइएको भन्दै कतिपयले सो दस्ताबेज बाबुरामको नेतृत्वमा तयार भएको, रविन्द्र श्रेष्ठले तयार पारेको, अमुकले तयार पारेको भनेर टीकाटिप्पणी गरेको पनि सुनियो ।
प्रचण्डसित सम्बन्ध विच्छेद गर्दाताका प्रचण्डसित बिप्लवको राम्रो सम्बन्ध नभए पनि बाबुरामसित निकै राम्रो सम्बन्ध थियो । बाबुरामलाई प्रधानमन्त्री बनाउने सूत्रधारमध्ये एकजना बिप्लव पनि थिए भन्ने बुझाइ थियो र यसमा हितमान, पम्फा, सोनाम आदिको नाम पनि यसमा गाँसिएको थियो । बाबुराम प्रधानमन्त्री हुँदा प्रचण्डको दबाबमा राजिनामा नगर्न भनेर सल्लाह दिन बिप्लव बालुवाटार पुगेको भन्ने किसिमका समाचारहरू पनि आएका थिए । वास्तवमा बाबुराम-बिप्लवको ''विशेष सम्बन्ध" सार्वजनिक नै थियो । बिप्लव लिखित रूपमै बाबुरामले प्रशंसा गरेका व्यक्ति हुन् । बिप्लवले किरणसित सम्बन्ध विच्छेदको मानसिकता बनाइरहेको बेला उता बाबुराम पनि प्रचण्डसित मोलमोलाइ गरिहेका र सम्बन्ध विच्छेदको तयारीमा लागेको स्थिति थियो । यसका लागि संबिधान जारी गर्ने भनिएको दिन २०७० माघ ८ को सन्दर्भ पनि जोडिएको थियो।
बिप्लवसित दस्ताबेज लेख्ने क्षमता र हैसियत छैन भनिए पनि दस्ताबेज आएको थियो र त्यसको व्याख्याता पनि उनी नै थिए । तर सो दस्ताबेज हात परेपछि यो टिप्पणीकार भने तीनछक पर्यो । त्यसमा त पेरिस कम्युनदेखि माओसम्मको समग्र इतिहास निषेध छ, त्यो इतिहासको अब काम छैन भनिएको छ । नयाँ जनवादी क्रान्तिको कुरा पनि छैन, नेपाली समाजको व्याख्या पनि अचम्मको छ, सत्ता साझेदारीका कुरा छन् र एकीकृत क्रान्ति भनिएको छ । यस्तो पनि दस्ताबेज हुन्छ-मार्क्सवादको सामान्य ज्ञान पनि नभएको मान्छेले लेखे जस्तो भन्ने मलाई लाग्यो । मैले यस किसिमको कमजोर दस्ताबेजको कल्पना पनि गरेको थिइन । यहाँ त मार्क्सवाद र यसको इतिहास नै गायब छ । दस्ताबेज त उत्तरआधुनकतावादी चित्रकलाजस्तो पो छ ।
केन्द्रीय समितिको बैठकमा किरण कमरेडको दस्ताबेजमाथि मात्रै बहस गर्न पाइने भनिए पनि दुवै दस्ताबेजबारे टिप्पणी भइरहेका थिए । भरिसक्के बिप्लवको दस्ताबेजमाथि खारेजीको टिप्पणी नगरौँ, यसलाई छलफल गरेर परिमार्जन गर्नुपर्छ/गर्न सकिन्छ भनेर सुरुमा दस्ताबेजप्रति म केही मात्रामा संयमित थिएँ । त्यसैले मैले केन्द्रीय समितिको बैठकमा “दुइटा दस्ताबेज आएछन्, अझै दुई-चारवटा दस्ताबेज आउन सक्छन्” भनेर दुवैप्रतिको आफ्नो विमति जाहेर गरेको थिएँ । किरण कमरेडको दस्ताबेजप्रति अरू कुराभन्दा बढी विमति कार्यदिशामै थियो । तर बिप्लवको दस्ताबेजमा त कार्यदिशा नै भेट्टाउन गारो पर्यो ! जुन कुरालाई किरणको दस्ताबेजमा अपुग भयो भनिदैछ, ती कुरा मात्र होइन, यसमा त थुप्रै कुरा मार्क्सवादसम्मत छैनन्, कसरी यसलाई मानेर हिँड्न सकिन्छ । हाम्रो रिस व्यक्ति किरणसित त होइन, भन्ने मेरो भनाइ थियो ।
यो दस्ताबेजमा यसोयसो गर्न पाए राम्रो हुन्थ्यो, दस्ताबेज अझ बढी प्रभावकारी हुन्थ्यो, केही कुरा प्रस्ट भएनन् र केही कुरा पुगेनन् भन्दै मलाई लागेका कुराहरूको ९ पृष्टको अभिमत हातमा दिएँ । त्यो अहिले पनि मसित सुरक्षित छ । “ क्रान्तिसम्बन्धी माओका विचार र बाटोलाई निषेध गरेर नेपाली क्रान्ति सम्पन्न गर्न सकिएला र, म त अलि बढी नै माओप्रति आस्थावान छु ” भनेर विचार राखेँ । ''उसोभए तपाईँ आफैँ दस्ताबेज तयार पार्नुहोस् न त", भन्ने बिप्लवको उत्तर आयो । उहाँ सो दस्ताबेजमा ‘कमा’ र ‘पूर्णविराम' पनि थप्ने तथा हटाउन सक्ने स्थितिमा हुनुहुँदो रहेनछ भन्ने कुरा बोध भयो । यसले मलाई गम्भीर बनायो । मलाई हाँक्ने मान्छे, मभन्दा योग्य, सक्षम, अनुभवी, अध्ययनशील र भरोसायोग्य र विश्वस्त हुन सकिने मान्छे हुनुपर्छ भन्ने मेरो धारणा थियो/छ ।
कपनको भेलामा बिप्लवजीले राजधानी बाहिर समूहको भेला राख्ने र सो दस्ताबेज पारित गर्ने निर्णय सुनाउनुभयो । यो भेला नवलपरासीमा भयो । काठमाडौँमा भएका सानासाना छलफल त्यति आपत्तिको विषय नभए पनि विधिवत रूपमै समूहगत भेला गरेर दस्ताबेज पारित गर्ने कुरा अलि अर्कै कुरा थियो । भेला किरण कमरेडलाई जानकारी दिएर गरिएको भनिएको थियो । पछि मात्रै थाहा भयो, त्यसो होइन रहेछ । पार्टी एउटै छँदा कसरी यसरी अलग्गै भेला गरेर दस्ताबेज पारित गर्न सकिन्छ, यो त अलग पार्टी निर्माण गर्ने कुरा पो भयो भन्ने जिज्ञासा एकातिर ममा थियो भने अर्कातिर सो दस्ताबेजप्रति मेरो अलिकति पनि सहमति छैन भने म कसरी त्यो भेलामा जाने र पारित गरेर आउने भन्ने कुराले मभित्र हुँडलो मच्चाउन थाल्यो । म मूल पार्टीभित्रै रहेर दुवै दस्ताबेजमाथि व्यापक छलफल गरेर अनि मात्रै निर्णय गर्नुपर्छ भन्ने पक्षमा थिएँ । यसका लागि छिटोभन्दा छिटो राष्ट्रिय भेला तोक्न किरण-बादललाई दबाब दिनुपर्छ भन्ने मेरो भनाइ थियो । किरण-बादल समूहको भनाइचाहिँ बिप्लवले निर्णय गरिसकेका छन्, उनी पर्खिने स्थितिमा छैनन्, सम्मेलनको मिति तोके पनि उनी अडिने स्थितिमा छैनन्, उनको कुरा अर्कै छ, यहाँ अर्कै खेल छ भन्ने थियो । यो सबै निर्देशित योजनामा भैरहेको छ भन्ने थियो । त्यतिबेर राष्ट्रिय सम्मेलनको मिति तोकेको भए बिप्लवको नियत प्रष्ट हुन्थ्यो भन्ने मेरो भनाइ थियो ।
दस्ताबेज सम्बन्धमा मैले: ''व्यक्तिगत रूपमा बिप्लव कमरेडको स्पिरिटको सराहना गर्न सकिए पनि यो दस्ताबेजप्रति मेरो सहमति छैन, यो क्रान्ति गर्ने दस्ताबेज होइन, पार्टीबाट सम्बन्ध विच्छेद गरेर आफ्नो नेतृत्वमा नयाँ पार्टी बनाउने प्रयोजनका लागि ल्याइएको दस्ताबेज जस्तो भयो यो त, म नवलपरासी भेलामा जाने मानसिकतामा छैन, बरु राष्ट्रिय सम्मेलनका लागि किरण कमरेडहरूलाई दबाब दिऔँ " भनेर कुरा राखें । तर अब ढिलो गर्नु हुँदैन भन्ने उहाँहरूको भनाइ रह्यो ।
किरण-बादलको काम गर्ने ढाँचाढर्रा, सङ्गठन परिचालनको शैली, सारसङ्ग्रहवादी कार्यदिशा, रुटिनबद्धता, जसरीतसरी दिन काट्नेजस्तो सोचाइ, थाकेको जस्तो र कताकता प्रचण्डसित सम्बन्ध विच्छेद गर्न हतार गरिएछ कि भनेर पश्चाताप गरेजस्तो उहाँहरूको मानसिकताका कारण म उहाँहरूप्रति सन्तुष्ट थिइन । परन्तु, कहाँ पुगिन्छ भन्ने टुङ्गो नभएको अँध्यारो सुरुङमा , त्यो पनि रातको अन्धकारमा पसेजस्तो गरी बिप्लवको पछि लाग्नु मलाई उचित लागेन, मैले सही ठानिन र म विप्लव समूहको पछि लागिन l
''भोलि परिमार्जित भएर बिप्लवको दस्ताबेज कसरी आउला अथवा दस्ताबेजका सम्बन्धमा आएका प्रतिक्रयाहरूलाई बिप्लव कमरेडले कसरी संश्लेषण गर्नुहुन्छ, त्यो पछि नै थाहा होला । यो दस्ताबेजका आधारमा चाहिँ बिप्लव कमरेडले माओले देखाएको जनयुद्धको बाटो र ‘नयाँ जनवादी क्रान्ति’ लाई छोडेको बोध हुन्छ । बिप्लव कमरेडको नीतिले ‘घुमन्तु विद्रोही’ को सम्झना गराउँछ । साथै यसमा माओले भनेझैं ‘विप्लववाद’( putschism) तिर विचलित हुने खतरा र दक्षिणपन्थी विसर्जनवादमा पतन हुने सम्भावना पनि त्यत्तिकै प्रबल छ । सरसरती अध्ययन गर्दा बिप्लवको दस्ताबेजका ७ ओटा कुराप्रति मेरो ध्यानाकर्षण भएको थियो : १. नेपाली समाजको विश्लेषण, २. अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनसम्बन्धी बुझाइमा रहेको त्रुटी, ३. इतिहासको मूल्याङकनप्रति गलत दृष्टिकोण, ४. प्रधान र गौण अन्तरविरोधका सम्बन्धमा अन्योल, ५. मध्यम वर्गप्रति जोड, ६. भारतीय विस्तारवादप्रति नरमपन र ७. एकीकृत क्रान्तिको सिद्धान्तका नाममा भ्रमपूर्ण विचार ।"
यो ४ वर्षअघि बिप्लव समूहका बारेमा मैले व्यक्त गरेको अभिमत हो । यो अहिले पनि www.thenextfront.com पढ्न सकिन्छ । अहिले हेर्दा बिप्लव समूहबारे गरेको विश्लेषण सही साबित भएको छ l आठौं महाधिवेशनपछि बिप्लव समूह मालेमाको आधारभूत मान्यताबाट धेरै पर पुगिसकेको छ l माओवाद कार्यकर्तालाई भ्रम दिने माध्यम मात्र भएको छ ।
बिप्लवको दस्ताबेज र आन्तरिक गुटभेलामा बिप्लव र प्रकाण्डले व्यक्त गरेका भनाइका आधारमा सो समूहबारे मैले त्यतिबेर धारणा निर्माण गरेको थिएँ । अहिले ४ वर्ष भइसकेको छ र अब त सो समूहका बारेमा धारणा बनाउन पनि सजिलो छ । यताका ४ वर्षमा बिप्लव समूहको वैचारिक-राजनीतिक र व्यावहारिक यात्रा हेर्दा त्यतिबेर छोटै समयमा मैले यसको यथार्थिक धरातललाई ठम्याउन सकेको रहेछु भन्ने लागेको छ । नेकपा-माओवादीसित सम्बन्ध विच्छेद गर्दा यसले अँगालेको रहस्यमय शैलीजस्तै क्रान्तिसम्बन्धी यसका वैचारिक तथा राजनीतिक धारणा र व्यवहार पनि रहस्यमय नै भएको अनुभूत मलाई भएको छ । खासगरेर आठौँ महाधिवेशनपछि बिप्लव समूह क्रान्तिकारी दर्शन, सिद्धान्त, विचार र राजनीतिका क्षेत्रमा अझ पछाडि धकेलिएको छ र “उत्तर-सामज्यवाद” अर्थात् साम्राज्यवादको अन्त्य भएको वकालत गरेर यसले आफूलाई झन् रहस्यमय बनाएको छ ।
उल्टो हिँडेर पनि चर्चामा आइन्छ, उटपट्याङ काम गरेर पनि कहिलेकाहीँ चर्चामा आइन्छ । तर क्रान्तिको बाटो भनेको जटिलता र जोखिमपूर्ण बाटो हो । हामीले हिंड्ने बाटो नयाँ जनवादी क्रान्तिको बाटो हो । १९२७ को क्रान्ति असफल हुनुको सबैभन्दा बढी पीडा र चिन्ता माओलाई थियो, हुटहुटी पनि थियो, लि लि सान, वाङमिङसित मात्र होइन कोमिंटर्नसित पनि लड्नु परेको थियो र यो चानचुने कुरा थिएन । आत्मसमर्पणवादी र विप्लववादी प्रवृत्तिलाई चिर्दै त्यसै माओले लामो अभियान रोजेका थिएनन् ।
तारतम्य र मेलोमेसो मिले सरकारमा पुग्ने ''सर्टकट" बाटो हुनसक्छ, ''सत्तासाझेदारी" पनि हुनसक्छ, तर नेपाली क्रान्तिको बाटो भनेको लामो बाटो हो । अलि धेरै घुम्ती र मोडहरू पर्लान्, भीर-पहराहरू पनि थुप्रै पर्लान्, समय पनि लाग्ला, तर एउटै मात्रै बाटो छ -माओले देखाएको बाटो । यही बाटो यही नै नेपाली क्रान्तिको बाटो हो l
०००
भिडियो फिचरview all