menu

ताजा समाचार

वर्णविन्यास सम्बन्धी सङ्घर्ष अब दोस्रो चरणमा

नेपाली भाषाको सार्वभौम चरित्र र मोलिकतामाथि प्रहार गर्दै यसलाई विकलाङ्ग बनाउने काममा निर्देशितहरू मात्र नभएर नेपाली भाषासाहित्यको उन्नयनका लागि स्थापित भनिएको  ‘नेपाल प्रज्ञा प्रतिष्ठान’ जस्तो संस्था नै लागेपछि यसको चौतर्फी  विरोध हुनु स्वाभाविक थियो । तर्कपूर्ण र वैज्ञानिक आधारसहित उठेको विरोधको स्वरका सामु अन्ततः ‘नेपाल प्रज्ञा प्रतिष्ठान’ झुक्न बाध्य भएको छ र  प्रतिष्ठानको मिति २०७३–७ ३० मा बसेको प्राज्ञ परिषद्को बैठककले यसलाई सच्याउने निर्णय गर्दै बृहत् शब्दकोष (२०७२) को विक्री–वितरण बन्द गर्ने घोषणा गरेको छ । आफ्नो पहिलो वक्तव्यमा काइते भाषाको प्रयोग गर्दै ठालुपन प्रस्तुत गरेको प्रतिष्ठानले निकै  ठूलो दबाबपछि मात्र  यस किसिमको निर्णय गरेको कुरा पनि यहाँ स्मरणीय छ । दबाब निर्माण गर्ने कार्यमा त्रिवि नेपाली केन्द्रीय विभाग, मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाल, अनलाइन माध्यमहरू र सामाजिक सञ्जालहरूको महत्त्वपूर्ण भूमिका रहेको कुरा पनि यहाँ स्मरणीय छ ।

 नेपाली भाषाको विकृतीकरणका विरुद्धको यो लडाइँ यतिले मात्र टुङुगिएको छैन, यो एउटा चरण मात्र हो । कताबाट र कसरी यो अवस्था आइपुग्यो भनेर इतिहास अगाडि सारेर मात्र पुग्दैन । प्रश्न ‘हेहेबजी’ र तिनले सम्पादन गरेका पुस्तकहरूमा मात्र सीमित नभएर नेपाली केन्द्रीय विभागसित सम्बद्ध प्राडा कमरेडहरूले सम्पादन गरेका पाठ्यपुस्तकहरू सबैको नेपाली (२०६७) र स्नातक नेपाली (२०६९) सित पनि गाँसिएको छ । भद्रगोल उत्पन्न गर्न यी प्राडाहरूले सम्पादन गरेका पुस्तकहरूको पनि कम भूमिका छैन र अब तिनलाई पनि सच्याउनु आवश्यक छ ।

यसका साथै अब नेपाली भाषाको मानक स्वरूप निर्धाणका सन्दर्भमा पनि व्यापक बहस र छलफल हुनु आवश्यक छ । नेपाली भाषाको प्रश्न सीमित भाषावैज्ञानिक तथा कथित विशेषज्ञहरूसित मात्र नभएर नेपाली जनताको भावनात्मक पक्षसित पनि सम्बद्ध पक्ष हो । नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्र भाषा  हुन् भन्नुको अर्थ नेपाली भाषालाई विकलाङ्ग बनाएर, यसलाई विकृत पारेर यसको समृद्ध र गरिमामय इतिहासमाथि प्रहार गर्नु होइन । भाषाको सन्दर्भ आइएनजिओवादीहरू, निर्देशितहरू र  हिन्दी  भाषाका पण्डितका चेलाहरूको हातमा पुगेपछि यसमा विकृति आउँछ नै ।क्षमताबिना पार्टीको कोटाका आधारमा 'नेपाल प्रज्ञा प्रतिष्ठान' मा पुगेका कथित प्राज्ञहरू र तिनको प्रभावमा रहेका कथित भाषाविशेषज्ञहरू बाट होइन, सही अर्थमा नेपाली भाषालाई माया गर्ने विषयज्ञाताहरू सम्मिलित टोली बनाएर नेपाली भाषाको मानक रूप तयार पार्नुपर्छ र यसमा अहिले सङ्घर्षरत संस्थाहरूले अगुवाइको भूमिका खेल्नुपर्छ  ।

यसका सन्दर्भमा भर्खरै सञ्जालका अध्यक्ष प्रा. खगेन्द्र लुइँटेलद्वारा व्यक्त्य निम्न भनाइ स्वागतयोग्य छ :  ''विद्यालय तथा उच्चमाध्यमिक तहका पाठ्यपुस्तक, प्रकाशनशैली आदिमा प्रयुक्त अमान्य र अमानक नेपाली वर्णविन्यास तथा लेख्यरूपलाई यस सञ्जालको अवधारणा अनुरूप मानकीकरण गरी तदनुरूप संशोधनको कार्यान्वयन नभएसम्म यस सञ्जालले आफ्नो अभियानलाई निरन्तरता दिने कुरासमेत आम प्रयोक्ता तथा सरोकारवाला सबैमा जानकारी गराउँदै नेपाली भाषालाई मानकीकरण गर्ने यस सञ्जालको अभियान निरन्तर रहनेछ ।"

यस अर्थमा नेपाली भाषाको वर्णविन्यास सम्बन्धी सङ्घर्ष अब अर्को चरणमा प्रवेश गरेको छ।  
 
नेपाली भाषाको वर्णविन्यासमा गरिएको मनपरीका विरुद्ध अदालतमा मुद्दा परे पनि, यो जोडघटाउ र वकिलहरूको बहसले निर्णय गर्ने विषय होइन । यो त नेपाली भाषाको समृद्ध परम्परा, यसको निजत्व, यसको विकाशको निरन्तरता, यसको सार्वभौम विशेषता, भाषावैज्ञानिक आधार र नेपालीभाषी जनमानसको मनोदशासित गाँसिएको पक्ष हो । नेपाली भाषासँग सम्बद्ध नीतिनियम र वर्णविन्यास सम्बन्धी निर्णय, हो–होइन भनेर ठाडो निर्णय गर्ने अथवा मन्त्रलयको तोकआदेशले चल्ने विषय होइन । यो नेपाली भाषा बोल्ने र लेख्ने विश्वभरि छरिएर बसेका नेपालीहरूको चासो, चिन्ता र अस्मितासित जोडिएको विषय पनि हो ।

भिडियो फिचरview all