menu

ताजा समाचार

यस्तो छ चिनियाँ सामाजिक-साम्राज्यवादका सम्बन्धमा भाकपा (माओवादी) को दस्ताबेज

माओको मुत्युपछि चीनमा प्रतिक्रान्ति भएर पुँजीवादको पुनर्स्थापनाको प्रक्रियालाई तीव्र बनाइएको यथार्थलाई सन् ७०को दशकको अन्यदेखि नै  विश्वभरिका क्रान्तिकारीहरूले स्वीकारेको कुरा हो । नेपालमा कमरेड भक्तबत्हादुर श्रेष्ठ ‘शेरसिंह’ को नेतृत्वमा रहेको कम्युनिस्ट पार्टीले २०३८ सालदेखि नै स्वीकारेको र पछि नेकपा (मशाल) र नेकपा (माओवादी) ले पनि यस यथार्थलाई सैद्धान्तिक तथा व्यावहारिक पक्षमा निरन्तरता दियो । दलाल पुँजीपति वर्गको नेतृत्वमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीका पछिल्ला गतिविधि र व्यवहारलाई ध्यानमा राख्दै ‘विश्वका क्रान्तिकारीहरूको नयाँ केन्द्र’ निर्माण अभियानमा लागेका विश्वभरिका माओवादी क्रान्तिकारीहरूले चीन अब सामाजिक-साम्राज्यवादमा फेरिएको सत्यतथ्यको निष्कर्ष सार्वजनिक गरिसकेका  छन् ।

नेपालको सन्दर्भमा ‘कम्युनिस्ट न्युक्लिअस, नेपाल’ ले खुलेरै चिनियाँ सामाजिक-साम्राज्यवादका विरुद्ध आफूलाई उभ्याएको छ भने नेकपा (क्रान्तिकारी माओवादी) ले अहिले विश्वमा कतै पनि समाजवादी मुलुक छैनन् भनेर दस्ताबेजमा उल्लेख गरेको भए पनि उसले खुलेर चिनियाँ सामाजिक- साम्राज्यवादको विरोढ गरेको पाइंदिन र उसका नजिकका माध्यमहरूमा पनि  चिनियाँ सामाजिक–साम्राज्यवादका विरुद्धमा  समाचार आदि प्रकाशित गरेको पाइँदैन । वास्तवमा उसको धारणा सम्झौतावादी प्रकृतिको छ । नेकपा-विप्लवले चिनियाँ वर्तमान सामाजिक-साम्राज्यवादी सत्तालाई ‘चिनियाँ विशेषताको समाजवाद’ भनेको छ ।

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले ‘चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति’ तथा ‘नक्सलबाडी किसान आन्दोलन’ को ५० औँ वर्षगाँठका सन्दर्भ पारेर पहिले तेलगुमा मे २०१७ मा प्रकाशित दस्ताबेज  ‘चीन : आधुनिक सामाजिक-साम्राज्यवादी शक्ति’  अहिले अङ्ग्रेजी  तथा हिन्दीमा प्रकाशित गरेको छ ।

प्रस्तुत दस्ताबेजमा  तेलगुबाट अङ्ग्रेजीमा ‘अनुवाद गर्नेको भनाइ’, ‘परिचय’, ‘सन् १९४९ देदि १८७६ सम्मको सामाजवादी क्रान्ति’, ‘प्रमुख आर्थिक शक्तिका रूपमा चीन’, ‘चिनियाँ एकाधिकार प्रतिष्ठानहरू’, ‘चीनमा विदेशी लगानी’, ‘पुँजी निर्यातमा विश्व वित्तीय पुँजीमा प्रमुख भूमिका’, आर्थिक तथा सैन्य ब्लकको निर्माण : चिनियाँ साम्राज्यवादी स्वरूपको बढ्दो पकड’, ‘सामाजिक-साम्राज्यवाद’, साम्राज्यवादी इतिहासका द्वन्दहरू, युद्धहरू, क्रान्तिहरू र प्रतिक्रान्तिहरू’ र ‘उपसंहार’ शीर्षकहरू रहेका छन् र कतिपय शीर्षकहरूको व्याख्या विभिन्न उपशीर्षकहरूमा गरिएको छ ।

यहाँ हामीले भूमिकाको रूपमा रहेको ‘परिचय’ लाई प्रस्तुत गरेका छौँ र आवश्यकता अनुसार अन्य उपशीर्षकहरूको अनुवाद पनि प्रस्तुत गर्दै जाने छौँ ।


                                               परिचय

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) (भाकपा-माओवादी) को जनवरी २०१७  मा भएको नऔँ संयुक्त सम्मेलनले पुँजीवादी-संशोधनवादी चीनको सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक पक्षमा विकसित हुन थालेका रुझानहरूको रणनीतिक पक्षलाई लिएर विशेष अध्ययन गर्ने निर्णय गर्यो  । केन्द्रीय समितिलाई यो निर्णयलाई अगाडि बढाउने जिम्मेवारी दिइयो । केन्द्रीय समितिको चौथो बैठकमा लिइएको निर्णय अनुसार यसले मूलतः दुइटा कुरामा ध्यान दिएको थियो : चीनभित्र देखिएका रुझानहरू र चीन सामाजिक-साम्राज्यवादमा फेरिएको  हो कि होइन भन्ने कुरा । अध्ययनअनुसन्धानपछि केन्द्रीय समितिले पाँचौ बैठकमा तलको प्रस्ताव पारित गर्यो : ''पुँजीवादी-साम्राज्यवादी विश्वव्यवस्थाको एउटा अभिन्न अङ्गका रूपमा चीन आज आधुनिक सामाजिक-साम्राज्यवादी शक्तिमा फेरिएको छ र यसले विश्वका उत्पीडित वर्गहरू र जनताका विरुद्ध खलनायकको भूमिका खेलिरहेको छ ।” विश्व समाजवादी क्रान्तिको उद्देश्यका साथ मार्क्सवादी-लेनिनवादी-माओवादी पार्टीहरू, समूहहरू र शक्तिहरू किसान–मजदुर, उत्पीडितहरू र समाजका अन्य उत्पीडित वर्गहरूका साथ एकताबद्ध छन्, खलनायकी साम्राज्यवादी चीनमाथि विजय हासिल गर्न र यसका संशोधनवाद, सामाजिक-साम्राज्यवाद, र अन्यौलताको अन्त्य गर्न रचनात्मक सङ्घर्षका साथ अघि बढिरहेका छन् । हामी कम्युनिस्ट पार्टीहरूको दुइटा विश्वव्यापी जिम्मेवारी छन् : श्रमजीवी वर्गको पक्षमा उभिनु र यसले अघि बढाएको क्रान्तिलाई दृढतापूर्वक समर्थन गर्नु ।  यो कार्यभार पूरा गर्न चिनियाँ सामाजिक-साम्राज्यवादी चरित्रको पूर्णरूपमा भण्डाफोर गरिनु आवश्यक छ । विश्वका साम्राज्यवादी मुलुकहरूमध्ये चीनले कसरी एउटा प्रमुख प्रतिस्पर्धी साम्राज्यवादी मुलुकमा आफूलाई फेर्यो भन्ने कुराको विधिविधानलाई हामीले बुझ्नु पर्छ । वर्ग विभाजनको अन्तर्राष्ट्रिय सिद्धान्तअनुसार विश्वव्यापी रूपमा आफन्त र पराईहरूलाई छुट्याउन पनि हामी सफल हुनुपर्छ । हामीले विद्यमान विश्वको बद्लिँदो संरचनागत विविधता र त्यसको विशिष्ट स्थितिको पनि मूल्याङ्कन गर्नुपर्छ । जबसम्म हामी यी पक्षको अध्ययन गर्दैनौँ, हामी आधुनिक युद्धहरू, आधुनिक संशोधनवादीहरूको राजनीति, र साम्राज्यवादका सामान्य विविधताहरूलाई पनि बुझ्न सक्तैनौँ । लेनिनवादले साम्राज्यवाद पुँजीवादको सबैभन्दा उच्च स्वरूप हो भन्छ–यो भनेको युद्ध हो,  यो मरणोन्मुख छ ।

साम्राज्यवादले आखिर समाजवादी आन्दोलनको उदयलाई नै सुनिश्चित गर्छ र बिसौँ शताब्दीले यसको पुष्टि गरेको छ । लेनिनको साम्राज्यवाद सम्बन्धी सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक छ ।  युद्ध  प्रमुख हतियार हो, जसद्वारा साम्राज्यवादले आफ्नो निर्दिष्ट उद्देश्यले विश्वलाई विभाजन गर्छ र पुनर्सङ्ठित गर्छ । विश्वमा आफ्नो एकाधिकारका लागि साम्राज्यवादले विभिन्न मुलुकहरूलाई युद्धका लागि उकास्छ ।  मुख्यरूपमा यसले युद्धका माध्यमबाट सबै कुरा प्राप्त गर्छ । विश्वमा साम्राज्यवादको अस्तित्व छउन्जेल युद्धहरू अपरिहार्य छन् । यो अल्पविकसित मुलुकहरूमा नव–उपनिवेशवादका रूपमा प्रवेश गर्छ र अप्ठ्यारो र बाध्यात्मक स्थितिमा पारेर लुटतन्त्र जारी राख्छ । यसले जनसामान्य र उत्पीडितहरूको रगत चुस्छ, र यही नै उनीहरूको अतिसय पीडा र दुखको कारण बन्छ । लेनिनले “आधुनिक युद्धहरू साम्राज्यवादका परिणाम हुन् ” भनेर बारम्बार भन्नुभयो । विश्वलाई विभाजन गरेर र पुनर्गठन गरेर विश्वमा आफ्नो प्रभुत्व कायम गर्ने साम्राज्यवादी मुलुकहरू बीचको प्रतिस्पर्धाका कारण नै दुईवटा विश्वयुद्धहरू भएका थिए । “ नयाँ  राजनीतिक र आर्थिक सङ्कटबाट छुटकारा पाउँन साम्राज्यवादीहरूलाई पछिल्ला दुई विश्वयुद्धतर्फ प्रवृत्त गरायो”  भनेर  माओले भन्नुभयो ।

अमेरिकाले साम्राज्यवादी युद्धकै माध्यमबाट विश्वको सम्पति लुटेको छ । युद्धमा संलग्न भएका मुलुकहरूलाई ठूलो मात्रामा हतियार बेचेर यसले बोनसका रूपमा अतिरिक्त लाभ आर्जन गर्छ । यसरी अमेरिकाको साम्राज्यवादी अर्थव्यवस्था युद्ध अर्थतन्त्रका रूमपा समाविष्ट भएको छ, यसले युद्धमा मात्रै जोड दिएको छ । त्यसैकारण यसले आक्रमण र युद्धको तारतम्य मिलाउने गर्छ । अमेरिकी यो प्रवृत्ति हामी कोरिया, भियतनामदेखि अफगानिस्तान, इराक, लिबिया र सिरयामा देख्न सक्छौँ । साम्राज्यवाद बलियो छहुन्जेलसम्म युद्ध जारी रहनेछ । यदि हामी युद्ध समाप्त पार्न चाहन्छौँ भने, हामीले पुँजीवादी-साम्राज्यवादी व्यवस्थालाई समाप्त पार्नै पर्ने हुन्छ । त्यतिबेरका महाशक्ति अमेरिका र रुसबीचको शीतयुद्धले विकसित र अल्पविकसित मुलुकहरूमाथि निकै प्रभाव पारेको थियो । यसैका कारण उनीहरूबीच प्रत्यक्ष अप्रत्यक्ष लडाइँको स्थिति उत्पन्न भएको थियो । १९४५ देखि १९९० सम्म भएका कम्तीमा पनि १२५ क्षेत्रीय युद्धहरू, गृह युद्धहरू र सशस्त्र द्वन्द्वले ४० लाखभन्दा बढी जनताको ज्यान लियो, लाखौँलाख मान्छेहरू युद्धको चपेटामा परेका थिए र विस्थापित भएका थिए । साम्राज्यवादी युद्धका कारण यी मुलुकहरूमा देखापरेको आर्थिक सङ्कट दोस्रो विश्वयुद्धले निम्त्याएको सङ्कटभन्दा विशाल थियो ।

सन् १९९० को दशकभरि युद्धहरू जारी रहे । अमेरिकी सेनाले  होन्डुरस, युक्रेन र इजिप्टमा घृणित किसिमका युद्धहरू सञ्चालन गर्यो , र निरन्तररूपमा हतियारको प्रयोगद्वारा त्यस क्षेत्रमा हिंसात्मक स्थिति उत्पन्न गर्यो । अमेरिकाका अन्य सहयोगी राष्ट्रहरू ब्रिटेनलगायतका मुलुकहरूको आक्रमणबाट करिब ३.२ लाख मुसलमानहरूको मृत्यु भयो । अमेरिकाद्वारा अफ्रिकाका सबैभन्दा बढी धनसम्पति भएका धर्मनिरपेक्ष मुलुकहरू र लिबियालाई ध्वस्त पारियो । लिबिया, जुन एकसमय आप्रवासीहरूलाई आफनो मुलुकमा स्वागत गर्थ्यो , अहिले ध्वस्त पारिएको छ र आधा भन्दा बढी यसका जनसङ्ख्या विस्थापित भएका छन् । विश्वका  एक अरबभन्दा बढी जनता गरिबी र कुपोषणबाट पीडित छन् । हरेक वर्ष गरिबीले १७ लाख जनता मरिरहेछन् । तिनीहरूमध्ये आधा केटाकेटी छन् । इजरायलको विस्तारमा थप वृद्धि गर्न अमेरिकाले सहयोग पुर्याइरहेको छ । आफ्ना जनताको हितलाई एकातिर पन्छाएर इजरायललाई आर्थिक सहयोग गर्न र मुस्लिमहरूको हत्याका लागि अमेरिका २० खरबभन्दा बढी डलर खर्च गरिरहेको छ । अमेरिका आफ्ना जनतालाई दुख र कष्टमा राखेर खरबौँ रूपमा अन्यत्र लगानी गरिरहेको छ र अकेरिकामा हरेक वर्ष विभिन्न कारणले २ लाख जनताको मुत्यु हुने गरेको छ ।

सिरियामा बसार अल असादको सरकारलाई सत्ताच्युत गराउने उद्देश्यका साथ चलाइएको साम्राज्यवादी आक्रमणको चपेटामा परेर ५ लाख जनताको मृत्यु भइसकेको छ र अरू २ लाख जति घाइते र विस्थापित भएका छन् ।  यति मात्र होइन,  लाखौँ जनता घरवारविहीन भएका छन्, कतिपय  छिमेकी मुलुकहरूका साथै युरोपेली मुलकहरूमा शरण लिएका  छन् । अमेरिकाले शान्ति, सद्भाव र एकअर्कामा सहकार्यका साथ रहेका मुलुकहरूबीच फाटो ल्याएर ध्वस्त पारेको छ । अमेरिकी नेतृत्वमा भएको साम्राज्यवादी आक्रमण र युद्धले  अफगानिस्तान, लिबिया, सिरिया, इराक र अन्य थुप्रै मुलुकहरूमा असङ्ख्यको मृत्य गरायो र घाइते बनायो, असङ्ख्य घरहरू ध्वस्त पार्यो र असङ्ख्य जनतालाई घर छोडेर अन्य मुलुकमा जान बाध्य पार्यो ।

साम्राज्यवादी व्यवस्थालाई सुदृढ पार्न र विश्वका जनतालाई ठग्न साम्राज्यवादीहरू र संशोधनवादीहरू वर्तमान विशवको बदलिँदोँ परिदृश्यका सम्बन्धमा कपोलकल्पित कथा बुनेर अनेक किसिमले जनतालाई  दिग्भ्रमित पार्ने गर्छन् । अब उनीहरूको भण्डाफोर गर्ने र नाङ्गेझार पार्ने बेला आएको छ । यतिखेर साम्राज्यवादको समकालीन राजनीतिक प्रतिरोध पुँजीवादी आर्थिक व्यवस्थाले उत्पन्न गरेको स्थितिको अपरिहार्य परिणाम हो । आफ्नो फासिवादी तनासाहीलाई चोतर्फीरूपमा लागु गरेर जनतालाई दमन गर्न साम्राज्यवादले आफ्ना राजनीतिक संयन्त्रहरूको विस्तार गरिरहेको छ । जति शक्तिशाली आक्रमण हुन्छ, त्यति शक्तिशाली प्रतिरोध । समाजका मजदुर-किसमान वर्ग, निम्न-पुँजीपति  र अन्य उत्पीडित वर्गहरूलगायत समाजका अन्य तह र तप्कासमेत साम्राज्यवादका विरुद्ध लडिरहेका छन् । हाम्रो पार्टी भारतीय कम्युनिस्ट पार्टी (माओवादी)  साम्राज्यवादलाई पृथ्वीबाट समाप्त पार्न, उत्पीडित वर्गहरू र आमजनतालाई एकताबद्ध पार्दै  साम्यवादको स्थापना गर्न  अनवरत सङ्घर्षरत छ । हाम्रो पार्टी जनतालाई नेतृत्व प्रदान गर्छ र उनीहरूको साथ लिएर आफ्नो काँधमा जिम्मेवारी बहन गर्छ ।

सामाजिक-साम्राज्यवादी शक्तिका रूपमा चीनको उदयलाई ध्यानमा राखेर अध्ययन गर्दा विश्वभरिका श्रमजीवीहरूको पार्टीहरूको वर्तमान कार्यभार भनेको आफूलाई टिकाउन पहलकदमीको विकास गर्नु नै हो ।  यस किसिमको सिद्धान्तप्रति प्रतिबद्ध पार्टीनेतृत्वले आआफना समाजका उत्पीडित जनतालाई एकताबद्ध गर्नु र उनीहरूलाई समाजवादको बाटोमा अघि बढाउन अगुवाइ गर्नु हो । केन्द्रीय समितिबाट जारी गरिएको यो दस्ताबेजको उद्देश्य कसरी समाजवादी चीन एउटा पुँजीवादी र साम्राज्यवादी शक्तिका रूपमा फेरियो भन्ने कुरालाई प्रस्ट पार्नु र यसका विरुद्ध लड्नका लागि रणनीतिको विकास गर्नु हो । यो दस्ताबेजको राम्रोसित अध्ययन गरौँ । महान् लेनिनले अघि सार्नुभएको साम्राज्यवादका ५ आधारभूत चरित्र र ३ विशेष पक्षलाई ध्यानमा राखेर  चिनियाँ सामाजिक साम्राज्यवाबारे सही वैज्ञानिक धारणा निर्माण गर्न हामीले मार्क्सवाद-लेनिनवाद-माओवादका आधारमा यसको सही विश्लेषण र संश्लेषण गरौँ ।

अनु : ऋषिराज बराल




भिडियो फिचरview all