menu

ताजा समाचार

राष्ट्रविरोधीदेखि अर्बन नक्सलसम्म: भारतमा फरकमत राख्नेहरूका लागि कठिन यात्रा

हर्षबर्धन

भारतमा दुई वर्षयता सरकार विरोधी मत राख्नेहरूलाई लेबल लगाउने कार्यमा अपूर्व परिवर्तन भएको छ । जवाहरलाल नेहरू विश्वविद्यालयमा भएको यसै वर्षको फ्रेब्रवरी ९को घटनापछि ‘राष्ट्रविरोधी’ पदावलीले निकै महत्व पायो र यो पदावली विशेष चासोको विषय बन्यो । त्यसपछि  जुनमा यसै वर्ष भएको पाँच जना सामाजिक अभियन्ताको धरपकडपछि भर्खरै पुणे पुलिसद्वारा भएको ६ जना मानवअधिकारवादी कर्मी तथा वकिलहरूको धरपकडपछि फरक मत राख्नेहरूलाई ‘राष्ट्र विरोधी’ बाट ‘अर्बन नक्सल’ भनिन थालिएको कुरा हामीलाई  थाहा भयो  ।  ‘राष्ट्र विरोधी’ र  ‘अर्बन नक्सल’ दुवै पदावलीहरू गैरकानुनी मत राख्नेहरूलाई बदनाम गर्न भनिने पदावलीहरू हुन् तापनि यी दुईबीच निकै ठूलो भिन्नता छ । ‘राष्ट्र विरोधी’  बिजेपी–आरएसएसले प्रतिपक्षमाथि पहिलेदेखि लगाउँदै आएको लेबलको एउटा विशेष हिस्सा हो भने, ‘अर्बन नक्सल’  भर्खरैको प्रयोगमा ल्याइएको पदावली हो ।

फिल्म निर्माता अग्निहोत्रीको फिल्म ‘बुद्ध इन ए ट्राफिक जाम’ मा  र पछि यसै वर्षको मे महिनाको अन्त्यमा प्रकाशित उनको पुस्तक अर्बन नक्सलपछि ‘अर्बन नक्सल’ पदावली निकै चर्चामा आएको हो । वास्तवमा यसलाई विशुद्ध ‘संयोग’ मात्र भन्न सकिन्छ—भीम कोरेगावँको हिंसात्मक घटना अग्निहोत्रीको पुस्तक बिमोचनलगत्तै भएको थियो र ६ जना सामाजिक अभियन्ताहरूको पक्राउ  दिल्लीमा भएको ‘अर्बन नक्सलवाद’ सम्बन्धी दुई महत्वपूर्ण कार्यक्रम लगत्तैजसो भएको थियो । दिल्लीमा दुईटा कार्यक्रम पहिले जवाहरलाल नेहरू विश्वविद्यालय र अनि हंसराज कलेज, दिल्ली विश्वविद्यालयमा सँगसँगैजसो भएका थिए ।

‘अर्बन नक्सल’ को लेबलले के कुरालाई सङ्केत गर्छ ? अर्बन ‘नक्सल पदावली’  ‘राष्ट्र विरोधी’ पदावली भन्दा अझ व्यापक छ । अग्निहोत्रीका अनुसार अर्बन नक्सलहरू हिन्दूविरोधी, हिन्दूस्तान विरोधी, मानवता विरोधी हुन् र उनीहरू एनजिओसित, महिला समूहहरूसित, ट्रेड युनियन, पत्रकारहरू, धर्म विरोधी समूहहरू, अन्धविश्वास विरोधी आन्दोलनसित, विद्यार्थी, किसान, श्रमिक, झोपडपट्टीवालाहरूसित मिलेर काम गर्छन् । ‘अर्बन नक्सल’ पदावली ‘राष्ट्र विरोधी’ पदावलीभन्दा  विचारले भरिएको पदावली हो । पछिल्लो पदावली सामान्यतः पाकिस्तान, चीन अथवा कास्मिरका सन्दर्भमा प्रयोग गरिन्छ, पहिलो चाहिँ जातिपाति, अन्धविश्वास, नास्तिकता, पितृसत्तात्मकताका साथै वर्तमान पुँजीवादी विकासको मोडेल, जसले  हरेक सेवा र साधनलाई निजीकरणमा लान जोड दिन्छ, त्यसको पनि विरोध गर्छ । ‘राष्ट्र विरोधी’ लाई सामान्यतः व्यक्ति, सङ्घसंस्था अथवा गतिविधिका सन्दर्भमा प्रयोग गरिएको छ भने ‘अर्बन नक्सल’लाई चाहिँ सामाजिक कार्यकर्ताहरू, लेखकहरू, कलाकार र कविहरूका साथै सङ्गठनहरू र व्यक्तिहरूसित सम्बद्ध आन्दोलनसित  जोड्ने गरिएको छ ।

जनताका जनजीवीकासित गाँसिएका उपभोग्य वस्तुलगायत डिजेल, पेट्रोलको मूल्य वृद्धि, उच्चरूपमा रहेको बेरोजगारी, खँस्कदो आर्थिक स्थिति र बढ्दो आर्थिक मन्दीका कारण  बिजेपीको नेतृत्वमा रहेको एनडिए सरकारले आफ्नो पक्षमा जनमत निर्माण गर्न प्रयोग गर्ने गरेको ‘राष्ट्र विरोधी’ पदावलीले शक्ति र सामथ्र्य गुमाउँदै गएको छ र ‘अर्बन नक्सल’ पदावलीमार्फत सरकारकाले बचाउको ओत खोजिरहेको छ ।  जब सरकारका क्रियाकलापबारे प्रश्न उठ्छन्, बेरोजगारी र जागिरका कुरा, शुलभ स्वास्थोपचारका कुरा, ऋण सुविधाका कुरा उठ्छन्, सामान्य कुरामा पनि जनताले पाएका दुखका कुरा र विरोधका कुरा उठ्छन्, जब महँगीका कुरा उठ्छन्, यस्ता समस्या उठाउनेहरूलाई ‘अर्बन नक्सल’ को लेबल लगाइन्छ—‘अर्बन नक्सल’ अर्थात्, माओवादीहरूको विचारद्वारा उत्प्रेरित जनमानस । उनीहरू अपराधी हुन् र भारतमा अस्थिरता उत्पन्न गर्न चाहन्छन् भनेर व्याख्या गरेर जनतामा भ्रम दिने गरिन्छ । दुइटा पदावलीमा भएको अर्को प्रमुख भिन्नता ‘अर्बन नक्सल’ को दलितसितको सम्बन्ध पनि  हो । सबै ११ सामाजिक अभियन्ताहरूलाई भीमा कोरेगाउँको घटनासित जोडेर पुणे पुलिसले पक्राउ गरेको छ, जुन घटना दलितको ऐतिहासिक सन् १८१८ को भीमा कोरेगाउँ सन्दर्भसित सम्बद्ध छ र दलितहहरूको गौरवपूर्ण इतिहाससित जोडिएको छ ।

सहरानपुरमा भएको दलितविरोधी हिंसापछि उच्च जातिद्वारा गरिएको हिंसाको प्रतिरोध गर्ने भीम आर्मी र यसका सदस्यहरूलाई  ‘माओवादी’ को लेबल लगाइएको थियो । वास्तवमा जुनसुकै पार्टी केन्द्रमा आए पनि भारतीय राज्यसत्ता र उसका जनविरोधी नीतिहरूको विरोध गर्दा लगाउने लेबल ‘नक्सलबाद’ भारतीय सत्ताको पुरानो रणनीति हो । पूर्व प्रधानमन्त्री मनमोहन सिंहले “माओवादीहरू आन्तरिक सुरक्षाका लागि सबैभन्दा ठूलो चुनौती हुन्” भनेका थिए । यो लेबल अब मानवअधिकारको पुर्पक्ष गर्नेहरू र सरकारद्वारा गरिएको नागरिक अधिकारको हननको विरोध गर्नेहरूसम्म विस्तार गरिएको छ ।

विरोधीहरूलाई लेबल लगाउने क्रममा प्रयोग गरिएको पदावली ‘अर्बन नक्सल’, ‘राष्ट्र विरोधी’ भन्दा बढी प्रभावकारी र शक्तिशाली छ, यो सन्दर्भ घरेलु सन्दर्भसित सम्बद्ध छ र भारतमा चलिरहेको माओवादी आन्दोलनसित सम्बद्ध छ, जसले निरन्तर रूपमा एकपछि अर्को गरेर भारतीय सुरक्षा फोर्समाथि आक्रमण गरिरहेको छ र यसले भारतीय समाचार माध्यमहरूमा महत्पूर्ण ठाउँ ओगटेको छ, अनि  सरकारी माध्यमहरूले यसलाई लिएर कयौँ दिनसम्म ‘वर्तमानको टडकारो खतरा’ का रूपमा चित्रण गरिरहेका हुन्छन् ।  ‘अर्बन नक्सल’ का विपरीत ‘राष्ट्र विरोधी’ का रूपमा समान्यतः मुस्लिमहरू, पाकिस्तानी र कास्मिरी लडाकुहरूलाई राख्ने गरिएको छ  र  फेब्रवरी ९मा जेएनयुको घटनामा फरक मत राख्नेहरूलाई उनीहरूले ‘राष्ट्र विरोधी’ का रूपमा राखेर व्यवहार गरेका थिए । 

‘अर्बन नक्सल’ सित जोडिएको अर्को पदावली हो ‘विकास विरोधी’ अर्थात् एन्टी-डेभेलोपमेन्ट तत्वहरू । भारतमा ठूलो संख्यामा आदिवासी  समुदायको बसोबास भएको क्षेत्र र  खनिज स्रोतसाधनले भरिएको क्षेत्रमा माओवादी आन्दोलनको पकड छ, र त्यस क्षेत्रलाई लिएर भारतीय सरकारले विभिन्न बहुराष्ट्रिय कम्पनी र कर्पोरेट नियोगहरूसित सम्झौता गरेको छ । यस्ता सम्झोताले आदिवासीलाई जबर्जस्ती विस्थापन गरेको छ भने बहुमूल्य राष्ट्रिय खनिजस्रोत र सम्पदाको दोहन भएको छ ।  यसरी सरकारसित गाँसिएका विदेशी लगानीयुक्त कर्पोरेट  परियोजनाका विरुद्ध आदिवासी जनताको शसक्त प्रतिरोधका कारण सरकारले  निकै ठूलो चुनौतीको सामना गनु पर्ने हुन्छ र उसले दमनको बाटो अँगाल्छ ।  यसका लागि उसले नक्सलहरूले विकास गर्न दिएनन् भनेर  जनमत निर्माण गर्ने बहाना खोजिरहेको हुन्छ ।

फ्रान्सेली मार्क्सवादी लुइस आल्थुसरले आफनो महत्वपूर्ण रचना ‘आइडिओलोजी एन्ड आयडिओलोजिकल स्टेट अपारट्स’ मा ‘रिप्रेसिव स्टेट अपारट्स’ (आरएसए) र ‘आइडिओलोजिकल स्टेट अपारट्स’ (आइएसए) बीच भिन्नता गरेका छन्, जसमा पहिलोमा प्रहरी, सशस्त्र बल, अदालत, रहेको हुन्छ भने दोस्रोमा सञ्चारमाध्यमहरू, स्कुल, चर्च र सामाजिक तथा नागरिक समाजसित सम्बद्ध विभिन्न सङ्घसंस्थाहरू हुन्छन् । पहिलोले सोझै शक्तिको प्रयोग गर्छ भने दोस्रोले सत्ताधारी वर्गको पक्षमा जनमत निर्माण गर्छ र यसले निरन्तर रूपमा आफ्नो काम गरिरहेको हुन्छ  । दुवैको उद्देश्य सरकारले चालेका कदमहरूलाई कानुनसम्मत तथा जायज ठहर्याउन व्यापक समझदारीको वातावरण बनाउनु र सत्ताधारी वर्गका नीतिनियमहरूलाई लागू गर्न सघाउ पुर्याउनु हो ।

केही दिनअघि पक्राउ परेका सामाजिक अभियन्ताहरूका सम्बन्धमा सञ्चारमाध्यमहरूले बडो महत्वका साथ समाचार छाप्नुका पछाडि अरू केही नभएर बडो होहल्लाका साथ ‘अर्बन नक्सल’ का बारेमा भ्रम उत्पन्न गर्नु थियो र यो  आरएसए र आइएसएको समन्ययात्मक किसिमले काम गर्नुको प्रयोग थियो । वास्तवमा ‘अर्बन नक्सल’ पदावली अरू केही नभएर माओवादीले सत्ता कब्जा गर्ने हुन कि भन्ने भयबाट उत्पन्न मानसिकताको  उपज हो, र यो यस्तो चुनौती हो, जसलाई भारतीय सन्दर्भमा  दुवै माध्यम आरएसए र आइएसएद्वारा प्रभावहीन बनाउने प्रयास गरिएको छ ।

एउटै तीरले दुईतिर निसान लगाउने कार्यमा सहयोगका लागि बिजेपीले अर्बन नक्सल’ पदावलीलाई प्रयोगमा ल्याएको छ । यसले ‘नक्सलवाद’ को बढ्दो प्रभावले भारतीय सत्तालाई चुनौती छ भनेर एकातिर जनतामा भयको वातावरण उत्पन्न गर्न सघाउ पुर्याएको छ भने अर्कोतिर यसका नाममा कडाभन्दा कडा नियमकानुन खास गरेर आतङ्क विरोधी कानुन बनाउन तथा पुलिस दमनका लागि आधार बनाउन सहयोगका रूपमा लिएको छ । यी सबै योजनाबद्धताका उपज हुन्,  यसको पहिलो उद्देश्य बिजेपी र सङ्घ परिवारका दमनकारी गतिविधि र विशेष किसिमको राजनीतिलाई वैधानिकता दिने तारतम्य हो र ‘अर्बन नक्सल’ मार्फत सरकारले पूरा गर्न चाहेको दोस्रो उद्देश्य आदिवासी जनताको जमिन दखल गरेर कर्पोरेट हाउसलाई दिनका लागि गरिएको तारतम्यलाई सहज बनाउनु हो ।

वर्तमान सत्ता उग्र हिन्दूत्व र नव-उदारवादी आर्थिक नीतिको घातक मिश्रण हो र जसले उसका नवउदारवादी अर्थतन्त्रको विपक्षमा आफूलाई उभ्याउँछ, आउँदा दिनमा सत्ताले फरक मत राख्नेहरूका विरुद्ध अनेक लेबल लागाउने छ  ।  सामाजिक अभियन्ताहरू तथा वकिलहरू, सिमान्तकृत उत्पीडित जनता,  ब्राम्हणवादी सत्ताको सिकार नबन्लान भन्न सकिँदैन ।

(लेखक जवाहरलाल नेहरू विश्वविदालयमा शोध विद्वानका रूपमा कार्यरत छन् । )

अनु : ऋषिराज बराल

source : https://www.newsclick.in/anti-national-urban-naxal-trajectory-dissent-india
भिडियो फिचरview all