menu

ताजा समाचार

के नेपाली साहित्य सुकेकै हो त ? खगेन्द्र सङ्ग्रौला र प्रत्यूष वन्त

( यो लेखमा  निबन्ध, कथा र समालोचनामा केन्द्रित भएर सिङ्गो नेपाली साहित्यको स्थितिमाथि प्रकाश पारिएको छ । लेखकहरूले निबन्ध विधा सिद्धान्तका  बारेमा नयाँ किसिमले सोच्न आह्वान गरेका छन् र प्रकाशित रचनाहरू  नै नपढी साहित्य सुक्यो भनेर टिप्पणी गर्नेहरू र समालोचकहरूको प्रवृत्तिप्रति पनि औँला ठड्याएका छन् । आजभोलि पनि गम्भीर लेखनमा ह्रास  आएको भनेर समालोचकहरूले  भनिरहेको  र सिर्जनाका तुलनामा समालोचनाहरू भएनन् भनेर नयाँ पुस्ताका लेखकहरूले टिप्पणी गरिरहेको अवस्थामा यो लेख रुचिकर हुने ठानी २१ वर्षअघि लेखिएको यो  लेखोट हामीले यहाँ प्रस्तुत गरेका छौँ । )
..............................................................................................

२०४६ सालको जनआन्दोलनपछि नेपाली साहित्यमा ह्रास आयो, साहित्य सुक्यो भन्ने चर्चा हिजोआज चल्न थालेको छ । नेपाली साहित्यमा यस मानकका आधारमा  विश्लेषण गर्दा यसरी ह्रास देखिन आएको हो भनेर युक्तिसङ्गत तर्कमा जुट्नुको सट्टा प्रायः सबै थरीका लेखक, समालोचक तथा पाठकहरू हो मा हो थप्न नै व्यस्त भएका छन् । केही समयअघि उत्साह मासिकले यस सम्बन्धमा छलफल चलाउने मनसायले एउटा भेलाको आयोजना गरेको थियो । छलफललाई निर्दिष्ट दिशातर्फ डोर्याइदिन गोविन्द भट्ट, निनु चापागाईँ र राजेन्द्र सुबेदी– यी तीनजना समालोचकलाई उत्साहले निम्त्याएको थियो । तीनै जना समालोचकले तोकिएको विषयभित्र प्रवेश गर्न नखोजेको वा नचाहेको भान भयो । त्यस भेलामा उपस्थित श्रोताहरूलाई तथ्यको धरातलमा उभिएर सन्दर्भ, दृष्टान्त र विश्लेषणसहित साहित्यमा ह्रास आएको हो कि होइन भनी निरूपण गर्नु सट्टा हो पनि होइन पनिजस्ता छायावादी कुरा मात्र त्यहाँ भए । समालोचकहरूको त्यस्तो हबिगत देख्दा साहित्य समालोचनाले पो आफ्नो आधार गुमाउँदै गएर सुक्न लागेको हो कि भनी झस्कनु पर्ने स्थिति देखापर्यो  । उक्त कार्यक्रमको निस्सारताबारे उत्साहले आफ्ना पातामा सारयुक्त टिप्पणी गरेर सार्थक सम्बादको ढोका खोलिदेला भन्ने आशा थियो । तर उत्साहको छिपछिपे टिप्पणीले हाम्रा आशामाथि पनि बरफजल नै खन्याइदियो । तसर्थ विज्ञजनहरूमाझ यस विषयमा सार्थक छलफल चल्न सक्ला कि भन्ने हेतुले हामीले यहाँ विषयप्रवेश गर्ने अर्घेल्याइँ गरेका हौँ ।

उत्साहको भेलामा समालोचकहरू सामु प्रस्तुत गरिएका आठवटा प्रश्नमध्ये मूल प्रश्न यस्तो थियो :  सापेक्षरूपले बढी अभिव्यक्ति स्वतन्त्रता पाइएको २०४६ सालपछिको अविधमा साहित्य सिर्जनामा ह्रास वा मन्दी आयो भनिन्छ । के को सापेक्षतामा यसो भनिएको हो ? के यस अवधिको साहित्यको समग्र मूल्याङ्कनका आधारमा यसो भनिएको हो ?

हाम्रो यो बसिबियाँलो यसै प्रश्नलाई मियो बनाएर त्यसैको सेरोफेरोमा घुम्ने छ ।

यस लेखमा हाम्रो प्रयास मुख्यत: दुई कुरामा केन्द्रित हुनेछ । केही आधारहरूलाई तेर्स्याएर पहिले हामी ‘नेपाली साहित्यमा ह्रास आएकै हो’ भन्ने थोक निर्णय गर्न नमिल्ने पो हो कि भन्ने आशंका प्रस्तुत गर्ने छौँ । दोस्रो, यस हल्लाको माझमा नेपाली साहित्यका समालोचकहरूको भूमिका के हुनुपर्थ्यो भन्नेबारे हाम्रा केही चिन्ताहरू  प्रकट गर्ने छौँ ।

नेपाली साहित्यमा ह्रास आएको हो कि होइन भनेर तर्कयुक्त विश्लेषण गर्नका लागि सबभन्दा पहिले हामी यहाँ तीनवटा प्रश्न अघि साछौँ ।

    क) के साहित्यिक कृति र साहित्यिक पत्रिकाहरूको प्रकाशनमा मन्दी आएको हो ?
    ख) के विविध रूपमा विस्तारित हुन खोजिरहेको निबन्ध विधामा मन्दी आएको हो ?
    ग) के नेपाली कथा साहित्यको विधामा मन्दी आएको हो ?

निबन्ध र कथा विधासँग हामी अलि बढी परिचित भएकाले नै हामीले यी विधालाई हाम्रो चर्चाको आधारका रूपमा यहाँ छानेका हौँ ।
साहित्यिक पत्रिका

सर्वप्रथम साहित्यिक पत्रिकाहरूकै कुरा गरौँ । साहित्यिक पत्रिकाहरूको ‘मूल प्रवाह’ मा नियमित रूपमा प्रकाशित हुने मधुपर्क (गोरखापत्र संस्थान), गरिमा (साझा प्रकाशन), समकालीन साहित्य, कविताप्रज्ञा (नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान) पर्दछन् । यीमध्ये पहिला तीनवटामा साहित्यका सबै विधाका साम्रगी पाइन्छ । चौथोमा कविता र कविता सम्बन्धी समालोचनात्मक लेखहरू हुन्छन् । प्रज्ञामा चाहिँ अनुसन्धानात्मक निबन्धहरूबाहेक नेपाली साहित्यको इतिहासबारे महत्वपूर्ण लेखहरू पनि प्रकाशित हुने गरेका छन् ।

व्याङ्क जस्ता व्यावसायिक संस्थाहरूले पनि साहित्यिक पत्रिकाहरू नियमित रूपमा निकाल्ने गरेका छन् । मिर्मिरे, समष्टि, उपहार, मनोभाव त्यस्तै पत्रिकाहरू हुन्  । मदन पुरस्कार गुठीको मुखपत्र नेपाली त्रैमासिकमा साहित्यको इतिहास र समालोचना क्षेत्रमा विभिन्न लेखहरू प्रकाशित हुन्छन् । ज्ञानगुनका कुरामा साहित्यिक जीवनी र संस्मरणका राम्राराम्रा उदाहरणहरू पर्ने गरेका छन् । लामो आयु भएको नारी हस्ताक्षरमूलक वार्षिक अङ्कको रूपमा रत्नश्रीको पनि नाम आउँछ । साहित्यिक पत्रिका बगरले व्यावसायिकताको झण्डा उठाएको छ । बगरको वार्षिक संगालोले वर्षभरि विभिन्न पत्रिकामा विभिन्न विधामा प्रकाशित उत्कृष्ठ रचनाहरूलाई समेट्ने गरेको पाइएको छ । यसबाहेक यहाँ सम्झनु पर्ने अरू पनि नियमित पत्रिकाहरू छन् जस्तै : उन्नयन, दायित्य, रचना, तन्नेरी, अभिव्यक्ति, सुगन्धसागर (वीरगञ्ज) । यी भन्दा कम नियमितमा शाश्वत (पोखरा), सुनकोशी, गोलाद्र्ध, गोधूली, सम्प्रेषण, वन्दना, दीपशिखा, दृष्टिकोण(पोखरा), प्रतिभा (खोटाङ), क्रमश (मकवापुर), हाम्रो पुरुषार्थ (तम्घास), कुञ्जिनी (केन्द्रीय नेपाली विभाग, त्रि. वि. वि.) पर्दछन् । नव मञ्जरी (रत्नराज्य क्याम्पस), पयर, ओलान, गुञ्जन आदि भर्खरै मात्र निस्कन थालेका छन् ।

प्रगतिशील डबली

साहित्य र राजनीतिबीच अभिन्न अन्तर्सम्बन्ध छ र त्यसलाई लोकहितका सन्दर्धमा हेरिनु पर्छ भन्ने आग्रह राख्ने साहित्यकारहरू विभिन्न प्रगतिशील प्रवृत्तिमा बाँडिएका छन् । यी प्रवृत्तिहरू नेपाली वाम राजनैतिक फाँटका विभिन्न पाटाले प्रतिनिधित्व गर्ने चिन्तन प्रवृत्तिको नजिक छन् । प्रलेस प्रगतिशील लेखक सङ्घको पत्रिका हो । संस्कृति राष्ट्रिय जन सांस्कृतिक मञ्चको मुखपत्र हो । यी दुवै संस्था र तिनका प्रकाशनहरू नेकपा–एमालेको नजिक छन् । कलम नेकपा (माओवादी) को चिन्तन प्रवृत्तितर्फ झुकाव राख्ने पत्रिका हो । वेदना यी दुई प्रवृत्तिको बीचमा रहेका नेकपा (एकता केन्द्र, मसाल) आदिको चिन्तन प्रवृत्तिको सेरोफेरोमा रहेको पत्रिका हो । यस डबलीमा अरू पनि पत्रिकाहरू पर्दछन्, जस्तै नेपाली साहित्य (चितवन), जुही (झापा), उत्साह, विपुल, जनमत (वनेपा), साथी, रातो थुगाँ (सर्खेत), इन्द्रेनी (ठिमी), नौलो कोसेली (ठिमी), गण्डकी संगम) पोखरा आदि ।

पञ्चायत कालमा झै ‘सरकारी’ साहित्यिक पत्रिकाहरूमा प्रगतिशील फाँटका लेखकहरूका  सिर्जना प्रकाशित हुने प्रक्रियामा कुनै बन्देज छैन । यी विभिन्न पत्रिकाहरूको संख्या र निरन्तरता तथा यिनमा प्रकाशित सामग्रीहरूको परिमाणलाई हेर्दा मन्दीको आभाष पाइँदैन । गैरसाहित्यिक प्रकाशनहरूमा पनि धेरथोर साहित्य प्रकाशित भइरहेको पाइन्छ र यो क्रम बढिरहेकै देखिन्छ । साहित्यिक पत्रिकाहरू थपिने क्रम  पनि जारी छ ।

साझा प्रकाशन र प्रज्ञा प्रतिष्ठानभित्र विभिन्न समस्याहरू हुँदाहुँदै पनि यी दुई संस्थाबाट वर्षमा एकाध सय साहित्यिक पुस्तक प्रकाशित हुँदैछन् । त्यसैगरी, अन्य प्रकाशन संस्थाहरूबाट तथा निजी प्रयासबाट पनि पहिलेभन्दा बढी संख्यामा पुस्तकहरू लगातार बजारमा आइरहेका छन् । भारतबाट हुने गरेको नेपाली पुस्तकको प्रकाशनमा पनि मन्दी आएको अनुभव हुँदैन । पारिजातका सम्पूर्ण कृतिहरू सिक्किमबाट भर्खरै निक्लिएका छन् । कतिपय पुरस्कार गुठीहरूले तथा संस्थाहरूले बडाबडा हात्ती पोथाहरू निकालिरहेका छन् । तसर्थ साहित्यिक पत्रिका र साहित्यिक कृतिहरूको सन्दर्भमा संख्यात्मक वा परिमाणत्मक रूपले मन्दी आएको छ भन्ने ठाउँ कतै देखिँदैन ।

निबन्ध विधा

दोस्रो प्रश्नको सन्दर्भमा हालै साहित्यकार गोविन्द गिरीले निबन्ध विधालाई सुकेनास लागेको छ भनेको कुराबाट चर्चा थाल्नु बेस होला । अरू साहित्यकारले जस्तै उनले पनि आफू यस निष्कर्षमा पुग्ने एक पित्कोसम्म आधार पनि बताएका छैनन् । हामीकहाँ निबन्ध विधाको प्रकृति; परिधि, इतिहास र विकासक्रमलाई अति साँगुरो घेराभित्र राखेर चर्चा गर्ने चलन छ । यस्ता लेखनलाई निबन्ध भनिन्छ, उस्तालाई प्रबन्ध भनिन्छ, झन् त्यस्तालाई संस्मरण भनिन्छ आदि इत्यादि । आख्यानलाई यस विधाको जग मान्ने हो भने कथाबाहेक अरू अनेक प्रकारका सिर्जनाहरूलाई व्यापक अर्थमा निबन्ध भन्न मिल्छ । यस अर्थमा निजात्मक निबन्ध, संस्मरण, नेपाली साहित्यको इतिहास लेखन, समाजशास्त्रीय विधिबाट प्रेरित अनुसन्धानात्मक लेखहरू, साहित्यिक जीवनी, यात्रा लेखन, डायरी लेखन, पत्र साहित्य, महिला र लैङ्गिक विश्लेषण प्रस्तुत गर्ने लेखहरू आदि इत्यादि सबै नै नेपाली साहित्यको निबन्ध विधाको परिधिभित्र पर्न सक्छन् । यस अर्थमा माथि उल्लेख गरिएका प्रकृतिका लेखनहरू नेपाली निबन्ध विधाकै शाखाहरू हुन् । यसअन्तर्गत प्रकाशित सामग्रीहरूलाई केलाएर हेर्दा संख्यात्मक र गुणात्मक दृष्टिकोणबाट दुवैमा निबन्ध विधा पटक्कै सुकेको देखिँदैन।

मधुपर्कको विशाल संस्मरण अङ्क र विभिन्न पत्रपत्रिकामा प्रकाशित फुटकर संस्मरणहरूबाहेक पुस्तकाकारमा पनि केही संस्मरण पढ्न पाइएको छ । मदनमणि दीक्षितको आनन्दमय आकाश, ज्ञानमणि नेपालको मेरो गुरुकुलीय शिक्षा र सहपाठी, नारायण ढकालको तीन सम्बत्सर, दुर्गा घिमिरेको जेलको सम्झना, शान्ता श्रेष्ठको खाली हात, शेषराज दलीको मेरो स्मृतिपटल उघार्दा, भैरव रिसालको साधुलाई सूली, सिद्धिचरण श्रेष्ठको कारागारको सम्झना आदि जनआन्दोलनपछि प्रकाशित केही उल्लेखनीय कृतिहरू हुन् । संस्मरणकै क्रममा रमेश विकल, कमल दीक्षित र खगेन्द्र सङ्ग्रौलाहरूका नाम पनि जोडिदिए हुन्छ । इन्दिरा प्रसाईँ र नरेन्द्रराज प्रसाईँद्वारा सम्पादित गणेश गुरु साधनादेखि समाधिसम्म र एउटा अमर प्राज्ञ : बालकृष्ण सम मूलत: संस्मरणप्रधान ग्रन्थहरू हुन् । स्मृति अङ्कका रूपमा स्मारिका निकाल्ने होडबाजीले पनि यस विधालाई केही हदसम्म मलजल पुर्याएकै  छ । यस सन्दर्भमा पारिजात स्मृति ग्रन्थ, वाशु शशी स्मृतिग्रन्थ, वेदनाको युद्धप्रसाद मिश्र विशेषाङ्क आदि स्मरणीय छन् । त्रि.वि.वि. को स्नातकोत्तर तहको थेसिसमा साहित्यिक जीवनी लेख्ने काम अगाडि बढिरहेकै छ, जसअन्तर्गत वि. स. २००० सालयता जन्मेका साहित्यकार र उनीहरूको साहित्यिक योगदानबारे पनि मूल्याङ्कन गर्ने काम थालिएको छ ।

यात्रा लेखनमा पनि फुटकर रचनाका अतिरिक्त केही पुस्तकहरू आइरहेकै छन् । गोविन्द गिरी ‘प्रेरणा’ को फेरो, मञ्जुलको जाने होइन दाइ आलापोट ? राजेन्द्र सुवेदीको मेरो यात्रा : मेरै परिवेशभित्र, निर्मोही व्यासको झलझली आँखामा, सुधा सत्रपाठीको बादल, धर्ती र आकाशहरू जस्ता पुस्तकहरूलाई उदाहरणका रूपमा लिन सकिन्छ । पूर्णप्रकाश नेपाल यात्री, गङ्गाप्रसाद उप्रेती, भीष्म उप्रेतीहरूका लेखनलाई पनि यहाँ सम्झनै पर्छ ।

विविध बान्कीका निजात्मक निबन्ध लेखनको हकमा कृष्णचन्दसिंह प्रधानदेखि नरनाथ लुइँटेलसम्म दर्जनौं  निबन्धकारहरू साधनारत छन् । केशवराज पिंडाली, बालकृष्ण पोखरेल, श्यामप्रसाद, ध.च. गोतामे, श्याम गोतामे, मोहनराज शर्मा, मनुजबाबु मिश्र, अभि सुवेदी, गङ्गाप्रसाद उप्रेती, मावधप्रसाद पोखरेल, रुद्र खरेल, राजेन्द्र सुवेदी, शरद् क्षेत्री, विमल निभा, मनु ब्राजाकी, विष्णु प्रभात, कृष्ण धराबासी, नरमेन्द्र लामा, श्याम लामा, चोलेश्वर शर्मा, शारदारमण नेपाल, रविकिरण निर्जिव केही त्यस्ता नाम हुन् ।

समाजशास्त्रीय अनुसन्धानबाट फेला परेका कुराहरूलाई पाद टिप्पणीजस्ता प्राज्ञिक प्रविधि नअँगाली सर्वसाधारण पाठकलाई पनि उपयोगी हुने गरी विभिन्न पत्रपत्रिकामा प्रकाशित गर्ने गरिएको छ । त्यस्ता लेखहरूमा ‘विकासे’ एजेन्डासँग सम्बन्धित कुराहरू मात्र नभई नेपाली साहित्य र समाजको इतिहासका कुरा पनि परेका छन् । यद्यपि यस्ता सामग्री बढी फुटकर रूपमा देखिएका छन् र साहित्यिक टुँडिखेलभित्र मात्रै खेलिरहेका पाठकलाई ती सजिलै उपलब्ध नहुन पनि सक्छन् । डायरी साहित्यको कुरा गर्दा श्यामप्रसाद शर्मा र बिपी कोइरालाका डायरी लेखन साथै पत्र साहित्यका केही नौला प्रकाशनहरू आएका छन् ।

निबन्ध विधामा देखिएका नारी हस्ताक्षरहरूको सङ्ख्यामा क्रमशः बृद्धि भइरहेको छ । भुवन ढुङ्गाना, सुलोचना मानन्धर, अमृता बाँस्कोटा, वानिरा गिरी, अञ्जना बिसङ्खे, कविता बस्नेत, ज्ञानु पाण्डे, कमला पराजुली, मञ्जु थापा, गौरा प्रसाईँ, सीता खड्का, सीता पाण्डे, शोभा चन्द, कोमल ओली, कमला स्वरुप, अरुणा उप्रेती, हिसिला यमी, शोभा गौतम, बिन्दिया प्रधान आदि लेखिकाहरूका नारी लैङ्गिक समानता तथा साहित्य र समाजका विविध पक्षबारेका निबन्धहरू समाचारपत्रहरूमा पाइँन्छ । उनीहरूका रचनाले निबन्ध विधामा मात्रा  नभई केही गुण पनि थपेका छन् ।

निबन्ध साहित्यको सङ्कीर्ण परिभाषाका कारण पाठकहरूको पढ्ने संस्कार पनि सङ्कीर्ण हुन पुगेको छ र त्यसबाट केही विसङ्गतिहरू पैदा भएका छन् । साहित्यको पाठकले सामान्यतः विचार र मिहिन विश्लेषणयुक्त गैरसाहित्यिक सामग्रीहरूप्रति उती चाख राख्दैन । तसर्थ उसको दृष्टि-क्षितिज साँगुरो र दृष्टिकोण एकलकाँटे रहिरहन्छ । अर्कोतिर लेखन भन्नासाथ साहित्यको सर्जकलाई मात्र बुझ्ने गरिन्छ  र ज्ञान-विज्ञानका अन्य विधाका लेखकहरू प्राय: उपेक्षित हुने गर्छन् । इतिहास र समाजलाई साङ्गोपाङ्ग रूपमा बुझ्न समाजशास्त्रका हाँगाबिगाहरू र साहित्यका हाँगाबिँगाहरूमाझ अन्तरङ्ग सत्सङ्ग हुनु जरुरी छ । ज्ञानका शाखा-प्रशाखाहरू एकअर्कामाथि खप्टिँदै जटिलतर भइरहेको हाम्रो जीवन र जगतको  यथार्थले चुनौतीपूर्ण ढङ्गले हामीलाई यो सन्देश दिइरहेछ । साहित्य र समाजशास्त्रबीचको अन्तरङ्ग सत्सङ्गले हाम्रो ज्ञानलाई सापेक्षरूपले परिपूर्ण बनाउन सघाउँदो हो भन्ने लाग्छ ।

निबन्ध विधाको परिभाषालाई विस्तार गर्नु आवश्यक छ भन्ने तर्क अघि सार्दा निजात्मक अनुभूति र अनुभवयुक्त शाखाको महत्वलाई उपेक्षा गर्न खोजिएको होइन । पाठकको जीवन-नुभूतिलाई तीव्र र घनीभूत तुल्याउनमा यस्ता निबन्धहरूको निस्सन्देश गहन भूमिका रहन्छ । तर यस्ता निबन्धको सम्प्रेषण मूल्यलाई उचित महत्व दिनुको अर्थ चैतन्य मिश्र र दीपक ज्ञवालीका अर्थराजनीति र संस्कृति, पानी दर्शन र महिला अधिकार आदि विषयक विचार, अनुभूति र विश्लेषणयुक्त रचनाहरूलाई निबन्धको व्यापक परिधिभित्र समावेश गरिनु हुँदैन् भन्ने पनि होइन । यस्ता रचनाहरूलाई उपेक्षाको दृष्टिले हेर्नाले निजात्मक निबन्ध विषयगत रूपबाट पर्याप्त मात्रमा फस्टाउने छैन ।

कथा विधा

तेस्रो प्रश्नको सन्दर्भमा, कथा त्यसमा रहने आकर्षक आख्यान तत्व तथा पात्र, परिवेश र जीवन-प्रक्रियाको सग्लो र सजीव चित्रणको कारण साहित्यको सबैभन्दा सशक्त तथा बाल, वयस्क र बृद्ध, सर्वसाधारण पाठक र ज्ञानी पण्डित सबैमाझ लोकप्रिय बिधा हो । बढीभन्दा बढी पाठकको रुचिलाई समेट्ने र पत्रिकाको बजार विस्तार गर्न साहित्यिक पत्रिकाहरू प्रत्येक अङ्कमा नछुटाई कथा छाप्न मन गर्छन् । पूर्ण साहित्यिक, अर्ध साहित्यिक र असाहित्यिक पत्रिकामा समेत पनि छरिएर कथा छापिने गरेका छन् । अस्मिताजस्तो नारी समस्यामा केन्द्रित पत्रिकाले समेत कथा विशेषाङ्क छाप्न भ्याएको छ र स्टडिज इन नेपाली हिस्ट्री एण्ड सोसाइटी तथा अंग्रेजी हिमालका पातासम्ममा पनि नेपाली कथाले पाइला टेक्ने मौका पाएको छ । मूल्याङ्कन, नयाँ परिवेश, पौरख, विश्वमित्र, नव युवा, बाल कोसेली, नव प्रतिभा आदि पत्रिका यस कुराका दसी हुन् । दैनिक र साप्ताहिक समाचारपत्रहरूले पनि पाएसम्म एक कुनामा एउटा छरितो कथा छाप्ने रहर गर्न छाडेका छैनन् । विभिन्न नियमित र कम नियमित साहित्यिक पत्रिकाले जनआन्दोलन पश्चात् बडाबडा आकारका कथा विशेषाङ्क प्रकाशित गरेका छन् ।

कविता विधालाई छाडेर साहित्यको क्षेत्रमा सबैभन्दा बढी संख्यामा प्रकाशित पुस्तकाकार कृतिहरू कथासङ्ग्रह नै हुन्  भन्ने कुराको सहजै अनुमान गर्न सकिन्छ । मनु ब्राजाकी, मोहनराज शर्मा,, ध्रुवचन्द्र गौतम, इस्माली, ऋषिराज बराल, घनश्याम ढकाल, हरिहर खनाल, संजय थापा, गोपाल पराजुली, नारायण ढकाल, राजव, देविका तिमिल्सिना, सीता पाण्डे, बेञ्जु शर्मा, इन्दिरा प्रसाईं, महेशविक्रम शाह, सरोज ओली, विवश वस्ती, लीला श्रेष्ठ, पुण्यप्रसाद खरेल, खगेन्द्र सङ्ग्रौला आदि केही उदाहरण मात्र हुन् । व्यावसायिक प्रकाशक र व्यवस्थित वितरण प्रणालीको अभावका कारण दर्जनौँ कथाकारका कथासङ्ग्रहहरू प्रकाशित हुन नपाएर अँध्यारो खोपामा थन्किरहेका होलान् ।
यति मात्र विवरणका आधारमा पनि कथा लेखनमा सङ्ख्यात्मक रूपबाट कमी आएको अनुभव हुँदैन । जनआन्दोलनपूर्व निकै लामो समयसम्म लेखनबाट विश्राम लिएका वरिष्ठ र पाका कथाकार गोबिन्द गोठाले पुनः निकै जाँगरका साथ ओर्लिएका छन् । विजय मल्ल र परशु प्रधानसमेतले पनि आफ्नो लामो मौन भङ्ग गर्दै बीचमा केही कथा लेखेको सम्झना छ । दौलतविक्रम विष्ट, मदनमणि दीक्षित र रमेश विकलजस्ता पाका कथाकारहरू पनि अझसम्म साधानारत छन् । ध्रुवचन्द्र गौतमदेखि घनश्याम ढकाल हुँदै देवी सुवेदीसम्म मध्यम पुस्ताका धेरैजसो कथाकारहरू क्रियाशील छन् र टड्कारो चिनारी बनाइ नसकेका भए पनि महेशविक्रम शाह, हरिगोविन्द लुइँटेल, नयनराज पाण्डे, इन्दिरा प्रसाईँ, तारा गाउँले, सी.पी. गजुरेल, विवश वस्ती, अमर शाह, सरोज ओेली, पुण्यप्रसाद खरेल, शरद पौडेल, रोहित दाहाल आदि नयाँ कथाकारको पङ्क्तिमा उभिएका छन् ।

के जनआन्दोलपछिको नेपाली समाजको द्वन्द तथा त्यसबाट उत्पन्न सामाजिक संवेदनाहरूप्रति समकालीन नेपाली कथा जागरुक छ ? अर्को शब्दमा भन्ने हो भने जनआन्दोलनका संवाहक राजनीतिक शक्तिहरूमा दलीय र सत्ता स्तरमा प्रकट भएको नाङ्गो अवसरवाद, नैतिक क्षयीकरण र उपभोक्तावादप्रति तथा नेतृत्वको विश्वासघातबाट जनसाधारणमा उत्पन्न भएको कुण्ठा, आक्रोश र विप्लवी हुङ्कारप्रति नेपाली कथा जागरुक छ ? हो यस कुराप्रति नेपाली कथा मनग्गे जागरुक छ । त्यति मात्र होइन, अपेक्षाकृत खुला राजनीतिक-सामाजिक परिवेशमा निजी पहिचान र समान अधिकारका लागि मुखरित भइरहेका महिला, दलित र जनजातिका पीडा र आकाक्षाहरू पनि नेपाली कथामा धेरथोर प्रतिबिम्बित भइरहेका छन् । तथाकथित विश्वग्रामको छलकारी आवरणभित्र लुकेर विशेषतः विद्युतीय यन्त्रमार्फत गाउँदै नाच्दै हाम्रा मनमस्तिष्कमा पलप्रतिपल अतिक्रमण गरिरहेका एक ध्रुवीय सांस्कृतिक साम्राज्यका कुरूप सपनाहरूप्रति पनि नेपाली कथा साहित्य धेरथोर सजग छ । गोविन्द गोठालेदेखि लिएर पुण्यप्रसाद खरेलसम्मका अनेकौँ कथाकारहरूका कथाहरूले भिन्नभिन्न सन्दर्भमा र भिन्नभिन्न स्तरमा यसै कुराको पुष्टि गर्छन् । विश्वम्भर चञ्चलको ‘हाइ हाइ डेमोक्रेसी’, मनु ब्राजाकीको ‘अन्नपूर्णको भोज’ .समकालीन साहित्य) र ‘जोरपैयुँ’ (गरिमा) राजवको ‘नोकर, कुकुर र बाउको राजनीति’ (समकालीन साहित्य, पूर्णाङ्क ११), महेश विक्रम शाहको चम्पी (समकालीन साहित्य, पूर्णाङ्क ११), ध्रुवचन्द्र गौतमको ‘नीलडाम’ (उपहार), डा. राजेन्द्र विमलको ‘कालिदासस्य’ (मधुपर्क), बालकृष्ण पोखरेलको ‘मिस डोबोराह’ (समकालीन साहित्य, पूर्णाङ्क २५), ऋषिराज बरालको 'संगीता भाउजू' (कथासङ्ग्रह वनमान्छेको कथा) अमर शाहको ‘खाडल’ (समकालीन साहित्य पूर्णाङ्क १६), शैलेन्द्र साकारको ‘३००, १००, १०००’ (योषा, कथा अङ्क), मोशनराज शर्माको ‘मुरली बाजे’ ( मुरलीधर ?) (गरिमा, पूर्णाङ्क १५६), सनत रेग्मीको ‘रूपबजार’ , भाउपन्थीको ‘चरहरू र धाँजाहरू’ (गरिमा, पूर्णाङ्क १५०) इस्मालीको ‘डायरी, ऊ र बुढा काका’ (गरिमा पूर्णाङ्क अङ्क ४) खगेन्द्र सग्रौलाको ‘मखमली खोलभित्रको गोमन सर्प’ (समकालीन साहित्य पूर्णाङ्क २५) यस सन्दर्भमा उल्लेख गर्न सकिने केही कथा हुन् । यस लस्करलाई निकै लामो हुने गरी सहजै तन्काउन सकिन्छ ।

समालोचकको दायित्व

साहित्य बिरलै पढ्ने तर विमोचक वा प्रमुख अतिथिको आसनबाट ज्ञानगुनका सारा कुरामा आफू पारङ्गत भएको नौटङ्की गर्ने कुनै उपभोक्तावादी टपरटुइँया नेता वा मन्त्रीले साहित्य सुक्यो भनेको भए आश्चर्य लाग्ने थिएन । कुनै असचेत पाठकले यस्तो टिप्पणी गरेको भए पनि यत्रो आश्चर्य लाग्ने थिएन । अचेल साहित्यको मुहान सुक्यो, साहित्य ओइलायो भन्नेहरूको अग्रपङ्क्तिमा कतिपय समालोचकहरू स्वयं देखा परेका छन् । यस्ता सूचनाहरूका चाङमुनि किचिएर पुरिएका साहित्यका राम्रा रचना र पुस्तकहरूलाई सुक्ष्म दृष्टिसाथ नियाल्ने, ती रचनातर्फ पाठकको ध्यान खिच्ने, साहित्यमा उठ्ने गरेका जिज्ञासा वा चर्चाबारे सम्बादका सजीव प्रक्रियाहरूको थालनी गर्ने, साहित्यको महत्ता बढाउने र साहित्यकारको मनोबल उठाउने काममा लागिपर्न हाम्रा समालोचकहरूलाई जाँगर लाग्दैन । बरु उनीहरू त आफूले वा अरूले सुरु गरेको हप्काको बोलीमा हो होको लोली मिलाउँदै कुदिरहेझैँ लाग्छ । सके हाम्रा समालोचक खुला सम्बाद गर्न अल्छी मान्छन्  वा त्यस्ता सम्बाददेखि डराउँछन् । विडम्बना त के हो भने हाम्रा समालोचक आफू सर्वज्ञ भएको अभिनय गर्न रुचाउँछन् । साहित्यका सबै विधाको समीक्षा गर्न उनीहरू पारङ्गत छन् । उनीहरूलाई विधा विशेषका व्यापकता र तिनका विशष्टिता बुझ्न विशेष अध्ययन, प्रशिक्षण र साधनाको खाँचो पर्दैन ।

निरस भाषा, सहस्र गाँठा परेको कोशौँ लामा वाक्य, छिपछिपे व्याख्या र सारमा हातलाग्यो शून्य । अहिले चलेको अधिकतर समालोचनाको मोटामोटी विशेषता यही हो । जागिर खाने र बढुवा हुने प्रयोजनका निमित्त टिपिएका टिपोटहरूलाई टालटुल र तानतुन पारी लम्ब्याएर कलाचेतना र समसायमिक रुचिबाट बेखबर भएर सन्दर्भ ग्रन्थका नामा पढेका र नपढेका समेत पुस्तकहरूको लम्बेतान सूचि दिएर लेखिएका सपाट, निरस र असान्दर्भिक लेखोटहरूलाई सौन्दर्यचिन्तन र साहित्य समीक्षा भन्ने नाउँ राखेर पाठकहरूमाथि थोपर्ने धन्दा चलिरहेकै छ । उनीहरूका समालोचना धेरैजसो “वस्तुतः” बाट सुरु हुन्छ र “अन्ततः ” तिर पुगेर टुङ्गिन्छन् । यस्ता समालोचकको पहिलो शब्दबाटै पाठक आतङ्कित हुन्छ र समालोचना पढिसक्दा नसक्दै ऊ थाकेर मुर्दामा परिणत भइसकेको हुनसक्छ । साहित्य समालोचनाको यस्तो दुरावस्थाले पाठकहरूमा घातक लघुताभाष जगाइदिन्छ । साहित्य समालोचनाको यस्तै दुर्गति र अत्तिचार बेहोर्नु परेर होला एकपटक चिनियाँ लेखक लु सुनले समालोचकको समालोचक चाहियो भनी औँलो ठड्याएका थिए ।

साहित्य सुक्यो भन्ने कुराको चर्चा गर्दा पञ्चायत कालमा साहित्यका पाठक बढी थिए, साहित्यका सामग्रीहरू बढी बिक्थे, तसर्थ साहित्य बढी सशक्त थियो भन्ने तर्क पनि अचेल सुन्न पाइन्छ । यो तर्क ज्यादै कोरा सोचाइमा आधारित छ । तथ्य कुरा त के हो भने पञ्चायत कालमा स्वतन्त्र प्रकाशनमाथि कठोर बन्देज थियो । सूचना, ज्ञान र मनोरञ्जनका विविध सामग्री उपलब्ध थिएनन् । सबै प्रकारका सूचना, संवेदना र ज्ञान साहित्यिक प्रकाशनबाटै प्रवाहित हुन्थे । सबैतिर दमनकारी शून्यता छाएको त्यस क्रुर कालमा साहित्यको पदचाप टड्कारोसँग सुनिन्थ्यो । जनआन्दोलनपछिको खुला र प्रतिस्पद्र्धायुक्त परिवेशमा सूचना, ज्ञान र मनोरञ्जनका विविध सामग्रीहरू उपलब्ध छन् र पाठकहरू आआफ्नो चाखअनुसार स्वभावतः यी विविध क्षेत्रमा विभाजित भएका छन् । सूचना र मनोरञ्जनका क्षेत्रमा आआफ्ना वस्तुलाई बढी बिकाउ बनाउन नाना किसिमका भड्किला, नाङ्गा र उत्तेजक चमकधमकहरूको प्रयोग गर्ने गरिन्छ । तर साहित्य समाजको अग्र चेतना र नैतिकताको संवाहक भएको हुनाले यसले त्यस्ता सस्ता उपकरणहरूको प्रयोग गर्दैन, बरु ती कुराको कठोर आलोचना नै गर्छ । पाठक यसरी विभाजित हुँदाहुँदै पनि सुसंस्कृति र कलाविरोधी सत्ताले आफ्नो साहित्यको सिर्जना र प्रकाशनमा कमी होइन, बरु अभिवृद्धि नै गराएको छ । उपभोक्तावादी स्वार्थ पूरा गर्न सिङ्गो समाजलाई मिथ्या सूचना र मनोरञ्जनका सस्ता र भ्रष्ट साधनतर्फ आकृष्ट गरिरहेको, विकृत यौन उत्तेजना र व्यापारिक प्रकृतिका खेलकुदहरूमा सक्दो बराल्न खोजिरहेको आजको कठिन परिस्थितिमा पनि साहित्य आफ्नो महत्ता कायम राख्न सङ्घर्षरत छ । अरू विधाका कुरा नगरुँ, कुष्णचन्द्रसिंह प्रधान, ध.च. गोतामे, बालकृष्ण पोखरेल, मोहनराज शर्मा, रुद्र खरेल, शरद् क्षेत्री आदिका निबन्धहरु तथा बालकृष्ण पोखरेल, मोहनराज शर्मा, डा. राजेन्द्र विमल, राजव, इस्माली, ऋषिराज बराल र महेशविक्रम शाह आदिका कथा मात्र पनि नबिराइकन पढिएका भए नेपाली साहित्यमा ह्रास आयो भन्ने गनगन सुन्ने दुःखबाट हामी जोगिन्थ्यौँ होला ।

साहित्यको उत्थान वा ह्रासको प्रश्नलाई समयसापेक्ष दृष्टिले सूक्ष्मरूपमा र विविध कोणबाट नहेरी ब्रह्मज्ञानीको हैसियतले साहित्यमा ह्रास आयो भनी हल्ला गर्नाले आधारहीन होहल्ला नै साहित्यमा ह्रास ल्याउने घातक कारक बन्ला कि भन्ने हामीलाई डर छ । बाँकी कुरा साहित्यका जानिफकारहरूकै जिम्मा ।

स्रोत : हिमाल, फागुन–चैत, २०५४
भिडियो फिचरview all