menu

ताजा समाचार

भारतीय सेनाले नेपाली भूमि भारतमा पर्ने गरी पिलर गाड्न नेपालको जमिनमा खाल्डाहरू खनेको छ : कृष्णदेव सिंह

भारतीय सेनाले नेपाली भूमि भारतमा पर्ने गरी पिल्लर गाड्न नेपालको जमिनमा खाल्डाहरू खनेको छ : कृष्णदेव सिंह 

( कृष्णदेव सिंह  नेकपा (क्रान्तिकारी माओवादी) का पोलिटब्युरो सदस्य तथा दुई नम्बर प्रदेश इन्चार्ज हुनुहुन्छ । सो पार्टीले चलाएको 'जनजागरण अभियान' का क्रममा सीमा क्षेत्रका जनताले भोगेको अनुभव, सीमाअतिक्रमण, स्थानीय प्रशासनको व्यवहार र सताधारीहरूको आत्मसमर्पणवादी नीतिलाई लिएर व्यक्त उहाँका भनाइहरू पाठकका लागि उपयोगी हुने ठानी  सो पार्टी सम्बद्ध प्रकाशन 'वर्गदृष्टि' बाट साभार गरी यहाँ प्रस्तुत गरिएको छ ।)

पाँच महिने सङ्गठन सुदृढीकरण तथा जनपरिचालन अभियानको अनुभूति कस्तो सङ्गाल्नु भएको छ ?

केन्द्रीय समितिले यो अभियान बनाएपछि २ नम्बर प्रदेशमा यसलाई दृढतापूर्वक लागु गर्नका लागि हामीले अभियान चलायौं । यो अभियान शतप्रतिशत कार्यान्वयन गर्न सकेका त होइनौं  र छैनौं पनि । यो अभियान जिम्मेवारीका हिसाबले ७५ प्रतिशत स्थायी समितिका साथीहरूले, ६० प्रतिशत पिबिएम साथीहरूले र ५० प्रतिशत सिसिएम साथीहरूले पूरा गर्नुपर्छ । हामीले यसलाई कार्यान्वयन गर्न राम्रो प्रयत्न भने गरेका हौँ  ।

 यो हालको  नयाँ परिस्थितिमा नयाँ अभियान पनि हो । अभियानका क्रममा केही प्राविधिक समस्याहरू पनि रहे । काममा सोचेजस्तो चुस्तता र द्रुतता आउन सकेन पनि । तर कार्यक्षेत्रमा खटेका साथीहरूबीच सहकार्य र टिम स्पिरिटमा भने राम्रो सुधार भयो ।

जनताका बीचमा जाँदा कस्तो छ ?

जनताका बीचमा यो अभियानभन्दा अघि पनि गएका थियौं । त्यतिबेला जनताका बीचमा वर्तमान सत्ताधारीका देश र जनताविरोधी कामहरूको भण्डाफोर गरेका थियौं ।

यसले जनतामा हाम्रो सम्बन्ध भने राम्रो नै रहेको छ । चुनावको बेलामा पनि हामीले जनतालाई सचेत बनाएका थियौं । त्यतिबेला नै हामीले माओवादी केन्द्रको पार्टीमा लामो समयदेखि काम गरेकालाई चुनावमा टिकट पनि दिएको छैन, भर्खर आएकाहरूलाई टिकट दिएको छ भनेका थियौं । जनताले कुरा ठीक हो भनिरहेका थिए । हामीले भनेका थियौं– ''चुनावमा ठूल्ठूला कुरा गर्ने नेता र तिनका पार्टीहरू कसरी नेपालको सीमा मिचिंदा पनि बोल्दैनन् र नदीनाला बेचिंदा र भूमि भारतले मिच्दा पनि बोल्दैनन् । यी गद्दार र देश बेचुवाहरू हुन् ।'' अहिले हामी जनताका बीचमा जाँदा तिमीहरूले ठीक भनेका रहेछौं भनेर जनताले यथार्थता महसुस गरिरहेका छन् । तपाईंहरू नै अब सशक्तरूपमा आउनुपर्छ भनेर जनताले बोलाइरहेका छन् ।

प्रदेश नम्बर २ मा कुनकुन ठाउँमा सीमा मिचिएका छन् ?

वीरगञ्जको छप्कैयामा मात्रै ५० बिगाह जमिन मिचिएको छ । मिचिएका ठाउँमा बकाइदा सीमा इलाका चिन्ह र पिलरहरू छन् । त्यहाँका जनताले सिडिओलाई निवेदन दिएका छन् । नगर प्रमुख र वार्ड अध्यक्षहरूलाई निदवेदन दिएका छन् । आफ्नो  जग्गा छुट्याइदिन माग गरेका छन् ।

हामीले यसका लागि अन्तरक्रिया कार्यक्रमहरू पनि गर्यों  । तर अरू पार्टीका कोही पनि मानिसहरू आएनन् । भारतका विरुद्धमा बोले निसानामा परिने र जनताका विरुद्धमा बोले जनताले नछाड्ने भएपछि उनीहरूलाई निकै गाह्रो भएको देखिन्छ । आफूलाई मधेसका मसिहा भन्नेहरू, आफूलाई राष्ट्रवादी भन्नेहरू एमाले-माकेहरू कोही पनि आएनन् ।

जनतामा के सन्देश फैलियो भने अब जनताका पक्षमा क्रान्तिकारी माओवादीबाहेक अरू कोही पनि छैन । कार्यक्रम सिद्धिएपछि केही व्यापारीहरू पनि आए । केही बुद्धिजीवीहरू पनि आएर भेट गरे । उनीहरूको भनाइ थियो : ''अब जनतासँग क्रान्तिकारी माओवादीबाहेक अरू कोही पनि छैन । हामीहरू खुलेर सहयोग गर्न सक्दैनौं, तर हामी तपाईंहरूको साथमा छौं ।"

सीमा इलाका दिउँसो नै मिच्ने गरेका छन् ?

जानकारीमा आएसम्म अहिले भारतले चारवटा छुट्टाछुट्टै नक्सा बनाएको छ । नेपालमा केवल एउटै नक्सा छ । ब्रिटिस भारत छँदाको एउटा र भारत र नेपाल दुई पक्ष बसेर सन् २०७२/०७३ तिर काठमाडौँमा बनाएको दोस्रो हो । त्यो सीमाक्षेत्र भूगोलमा नै नगएर बनाइएको नक्सा हो । तेस्रो चाहिं वि.सं. २०२३/२०२४ सिमानामा गएर बनाएको भनिएको छ । नक्सा आफखुसी र मनपरी किसिमले बनाइएको छ ।

जनताका घरजग्गा र नेपाल सरकारले दिएको लालपूर्जा पक्कै पनि झूठा होइन । काठमाडौँमा बसेर बनाएको नक्साअनुसार भारतले यति र उति भनेर दाबी गरिरहेको छ । पिलर पनि छँदैछ । दिनदाहाडै आएर नेपालका  किसानका बारीमा भारतीय सेनाले पिलर गाड्ने खाल्डो खनेको छ । स्थानीय जनताले विरोध गरेपछि काठमाडौंमा त्यसबारेमा छलफल भइरहेको छ । हाम्रो देशमा सरकार बनाएर बसेका दलालहरूको भारतको चाकरी गर्ने बानी र जनताप्रतिको वेवास्ताले पनि त्यसमा थप बल पुर्याएको छ । छप्कैयाले यो दलाल प्रवृत्तिलाई नाङ्गै सतहमा ल्याएको छ ।

नेपालका सुरक्षाकर्मीहरू छैनन् त्यहाँ ?

 सिमाना मिचेपछि स्थानीय जनताको ठूलो विरोध भयो । हामी जाँदा नेपालका सीमा सुरक्षाकर्मीहरू पनि थिए । तर उनीहरू त्यहाँ नियमित बस्दैनन् ।  हामीपुग्दा भने सीमा विवादका कारणले त्यहाँ सशस्त्र र जनपथका प्रहरीहरू  थिए ।

तर आश्चर्यको कुरा त के थियो भने हामीले सिडिओको अनुमति लिएर मात्र त्यहाँ जान पाएका थियौं । आफ्नै देशमा अनुमति लिएर जाँदा हामीलाई आश्चर्य लागेको थियो । यस्तो बिडम्बना छ, देश र देशका नागरिकको । तर हामीहरू  त्यहाँ पुगेर सीमा मिचिएका इलाकामा स्थानीय जनताको उपस्थितिमा कोणसभा गर्यौं  । र, अर्को कोणसभा वीरगञ्जमा आएर गर्यौं  । कोणसभा गर्दा त्यहाँका प्रहरी प्रशासन केही उत्तेजित भएकोजस्तो देखियो । कोणसभामा बोल्नेक्रममा हामीहरूले यो विरोध तिनीहरूको विरुद्धमा नभएको भनी प्रस्ट पार्यौं ।

हामीले थप प्रस्ट पार्यौं– ''नेपाली जनताको जमीन भारतीय सेनाले दिउँसै आएर जसरी कब्जा गर्ने प्रयास गरेका छन्, त्यसको विरुद्धमा बोलेका छौं । तपाईंहरूलाई थाहै छ, पहिले नेपालको सिमाना छप्कैयाभन्दा उता सीमा पारी रहेको गाउँमा थियो । त्यहाँका स्थानीयहरू भन्छन्– ‘हामीहरू नेपाली नै हौँ, तर हाम्रो जमीन भारतले अतिक्रमण गरेर लिइसकेपछि हामी जबर्जस्त भारतीय नागरिक बनाइएका छौं ।'" यसरी हेर्दा हाम्रो सिमाना भारतीय भूमिमा पर्नजान्छ ।

किन उनीहरूले नेपालको सीमाभित्र पसेर यसरी नेपालको  जमिन अतिक्रमण गरिरहेका होलान् ? आफ्नो सिमाना अतिक्रमित हुँदा र जनताले सूचना दिंदा पनि नेपाल सरकार मौन रहनु आश्चर्यको कुरा बनेको छ । हामी नेपाली जनताको विरुद्धमा हुने कुरो भएन, भारतीय जनताको विरुद्धमा पनि छैनौं । हाम्रो विरोध भनेको भारतीय सरकारको मिचाहा र हेपाहा प्रवृत्तिका विरुद्ध हो । हामी नेपाली भूमि मिच्न दिदैनौं ।

सीमा अतिक्रण गर्न भारतीय सेनाले कस्तो क्रियाकलाप गरिरहेको छ ?

 भारतीय सेनाले छप्कैया गाउँको पश्चिमतिर गएर जनताका खेतबारीका बीचमा आठ/दशवटा पिलर गाड्ने खाल्डाहरू खनेको छ  । नेपाली जनताको लालपूर्जा भएको ५० बिगाह जमिन सिमानापारि भारतमा पर्ने गरी खाल्डाहरू  खनिएको छ । यी सबै काम सीमा इलाकामा रहेको दशगजा क्षेत्रलाई मिचेर गरिएको छ ।

स्थानीय जनताको भनाइ कस्तो छ ? स्थानीय जनता भन्छन्– ''हामीलाई नेपालमा सरकार छ भन्ने अनुभूति नै भएको छैन । हातमा हाम्रो लालपूर्जा छ, तर जमिन भने भारतले मिचिरहेको छ । हामीहरूले घरजग्गाको दस्तुर भने नेपाल सरकारलाई बुझाउने गरिरहेका छौं । तर नेपाल सरकार हाम्रो जग्गाजमिनको सुरक्षा र संरक्षण नै गरिरहेको छैन । हामीहरू स्थानीय वडा कार्यालयमा पनि पुगेका छौं र जिल्ला कार्यालयहरूमा पनि धाएका छौं । तर सीमा क्षेत्रमा गएर हाम्रो जमिनको सुरक्षा गरिदिने र हामीहरूलाई साथ दिने सरकार र यसका स्थानीय निकायहरूले गरिरहेका छैनन् ।

नगरपालिकामा यो समस्या लिएर जाँदा सीमा मिचिएको कुरा सुन्नसम्म चाहेनन् । बरु उल्टै भारतमा लगिएका जग्गाको कर तिर्न हामीहरूलाई उर्दी दिएका छन् ।स्थानीय सरकार र कर्मचारीहरूको एउटै भनाइ छ, काठमाडौंमा के फैसला हुन्छ त्यहीअनुसार गरौंला । हाम्रो जग्गाजमिन दिनदहाडै भारतले लगिरहेको छ । चुनावताका मधेसवादीका नाममा भोट माग्न आएकाहरू अहिले अनुहार पनि देखाउँदैनन् ।" मधेसीका हकहितका कुरा गर्छौ भन्नेहरू भारतका मान्छे रहेछन् भनेर उनीहरू सुनाउंछन्  । उनीहरू भन्छन्– ''तपाईंहरूले आवाज उठाइदिनु’भो, हामीहरू तपाईंहरूलाई साथ दिन्छौं ।"




भिडियो फिचरview all