ताजा समाचार
जीवनका पाइलाहरू : चित्रबहादुर आले
जीवनका पाइलाहरू : चित्रबहादुर आले
बाल्यकाल
जन्म २००८ साल पुस २० गते बटेश्वर ५ मा बुबा तिलकबहादुर आले र आमा सुर्वणमाया आलेको कोखबाट भएको छ । उहाँको बाल्यकाल बटेश्वरमै बित्यो । आलेको परिवार २०२३ सालमा सर्लाही बरहथवा २ (साविक हजारिया २) मा बसाइँ सर्यो ।
२०२५ सालमा आलेको विवाह नरबहादुर थापा र नरीमाया थापाकी छोरी गजुमाया आलेसँग भयो । बटेश्वरमा उसबेला निम्न माध्यामिक विद्यालय मात्र थियो । आले मेधावी विद्यार्थी हुनुहुन्थ्यो । कक्षा७ सम्म उहाँ सोही विद्यालयको पहिलो विद्यार्थी हुनुहुन्थ्यो, तर निमावि तहमा पढाइ नहुने हुनाले अन्यत्र जानुपर्ने भयो । उहाँको परिवार पढेलेखेको थिएन । घरका अभिभावकहरू अक्षर चिनेपछि भइहाल्यो, खेतीपातीमा लागे हुन्थ्यो भनेर सोच्तथे । शैक्षिक वातावरण गाउँमा थिएन । त्यसमा पनि बसाइँ सर्नुको पीडा छँदै थियो । थप अध्ययनका लागि आर्थिक जोहो पनि हुन सकेन । उहाँ थप अध्ययन गर्न चाहनुहुन्थ्यो । थप अध्ययन गर्ने स्थिति भएन । उहाँका ६ जना दिदीबहिनी छन् । गजुमाया र आलेको बीचमा अभिभावकहरूले गर्भे बिहा गरिदिएका थिए ।
चित्रबहादर आले बाल्यकालदेखि नै जिज्ञासु र विद्रोही स्वभावको हुनुहुन्थ्यो । त्यस समयका औसत किसानका छोराछोरीझैँ उहाँको बाल्यकाल विद्यालय, खेतखलिहानन, गोठालो गर्दै बित्यो । हुर्किंदै गएपछि त्यसबेलाको किसान सङ्घर्षले प्रभावित पार्न थाल्यो । एकातिर निर्मम, पीडादायी सामन्ती थिचोमिचो र अर्कोतिर पञ्चायती व्यवस्थारूपी कालरात्रीको विरुद्धमा उन्मुक्तिको चाहनाले आलेलाई राजनीतिक जीवनतर्फ आकर्षित गराउँदै लग्यो । विद्यालय पढ्दापढ्दै उहाँले सम्पूर्ण जीवन देश र जनताका लागि समर्पित गर्नुभयो ।
राजनीतिक जीवन सुरु
२०१९ सालमा भएको तेश्रो महाधिवेशनको धारा नफुट्दै चित्रबहादुर आले बुबा र दमालीहरू मोफसलको किसान आन्दोलनमा सहभागी थिए । पाण्डवराज घिमिरे, टिकाराम घिमिरे, नन्दलाल सुस्लिङ मगर उहाँका साथीहरू राजनीतिक सहकर्मी थिए ।
२०२७ सालमा जयगोविन्द साहले चित्रबहादुर आलेलाई पार्टी सदस्यता दिएका थिए । नेकपा पूर्व प्रान्तीय समितिको सदस्यता दिएका थिए । नेकपा पूर्व प्रान्तीय समितिको सदस्यता दिएका थिए । उसबेला अर्थात् २०१२ सालमा प्रतिबन्ध हटेको नेकपामाथि २०१६ सालमा फेरि प्रतिबन्ध लाग्यो।
तीसको दशकमा तिलकमान लो, कृष्णकुमार लामा, नारायण खपाङ्गीहरू स्थानीय नेताका रूपमा चर्चामा थिए । जयगोविन्द साहको कार्यक्षेत्र भएको त्यो इलाकामा उनीहरूबाट किशोर आलेले प्रेरणा प्राप्त गर्नुभयो । त्यसबेला मध्य-तराईका जिल्लाहरूमा मोही आन्दोलन, ज्याला बढाउने सङ्घर्ष, जाली तमकसुक च्यात्ने सङ्घर्ष , जाली फटाह विरोधी सङ्घर्ष चलिरहेका थिए । २०२८ सालमा विभाजित कम्युनिस्ट पार्टीलाई एकीकृत गर्ने उद्देश्यले मोहनविक्रम सिंहको नेतृत्वमा केन्द्रीय न्युक्लिअस गठन भयो । त्यसैको सक्रियतामा २०३१ सालमा बनारसमा नेकपाको चौथो महाधिवेशन भएको थियो । सो महासधिवेशनमा सर्लाहीबाट कृष्णकुमार लामा, प्रतिनिधि तिलकमान लो, पर्यवेक्षक भएर प्रतिनिधित्व गरेका थिए ।
२०२८ सालमा चित्रबहादुर आले नेकपा सर्लाही जिल्लाको सदस्य हुनुभयो । चौथो महाधिवेशनअगाडि मुर्तियाको घना जंगलभित्र जिल्ला अधिवेशन भएको थियो । अधिवेशनले ९ सदस्यीय जिल्ला समिति र कृष्णकुमार लामालाई सचिव चयन गर्यो । २०२८ सालपछि विनोद घिमिरे झापाली समूहतिर लागे । उनले झापाली समूहमा चित्रबहादुर आलेलाई ल्याउन निकै प्रयास गरे । तर उहाँ नेकपा (चौम) मै क्रियाशील हुनुभयो ।
२०३२/२०३३ सालदेखि नै आले र घिमिरे दौतरी रहँदै आएका हुन् । २०३४ सालमा सर्लाहीमा ठूलो खडेरी भयो । त्यसबेला सामन्तको भकारी भरिने, जनता भोकमरीले .मर्ने भएपछि नेकपा (चौम) बाग्मती नाराणी ब्युरो प्रमुख जयगोविन्द साह दबाबमा परे । २०३४-३६ को बीचमा त्यो क्षेत्रमा भकारी फोर्ने सङ्घर्ष र सामन्तलाई कुटपिट गर्ने, कालोमोसो दल्ने सङ्घर्षहरू भए । सिन्धुलीका रघुनाथ कोइराला, महोत्तरीका नन्दलाल सुस्लिङ, धुनषाका कृष्णचरण श्रेष्ठ, सर्लाहीका प्रकाशबहादुर सिहं (सर्लाही सर्वोच्च अदालतको न्यायाधीशसमेत रहेका सिंहको भकारी फोरेर अन्न बाँडिएको) जनकारबाहीमा परेका थिए ।
चित्रबहादुर आलेलाई राजनीतिमा पूर्णकालीन कार्यकर्ता ऋषि देवकोटा ‘आजाद’ ले बनाएका हुन् । २०३६ सालसम्म आजाद सो क्षेत्रमा प्रमुख थिए । आलेमा आजादप्रति गहिरो आस्था र सम्मान भाव देखिन्छ । जीवनको उत्तरार्धसम्म आजाद र आलेले सँगै काम गरेका थिए । आजाद कसैले नहिंडेको बाटो हिंडन चाहन्थे, डर-त्रास थिएन । बलिदानी भावना थियो । आले भन्छन् " मभित्र बलिदानको भावना उनैले भरिदिएका हुन् । आजाद सच्चा क्रान्तिकारी हुनुहुन्थ्यो ।" जयगोविन्द साहको नेतृत्वमा आजाद र आलेले थुप्रै जनसङ्घर्षको नेतृत्व गरे ।
जनकारबाहीक शृंखलाहरू
१ रघुनाथ काण्ड
सिन्धुलीमा रघुनाथ कोइरालाका नामका सामन्त र फटाहा थिए । पार्टीले उनलाई कुटपिट गर्ने निर्णय गरेको थियो । लडाकु टोली बनाइयो, जसमा रसबहादुर कार्की, दलबहादुर रजन मगर दुर्गा सुवेदी थिए । कार्की टोली प्रमुख थिए । निर्णय प्रक्रियामा चन्द्रप्रसाद गजुरेल 'गौरव', ऋषि देवकोटा 'आजाद', हरिबोल गजुरेल , दुर्गा सुबेदी सबैजना थिए । त्यसबेला ब्युरो इन्चार्ज आजाद र सेक्रेटरी आले थिए । त्यसबेला गौरव कमला माविमा शिक्षण पेसामा थिए । घटनापछि गौरव पक्राउ परे । पक्राउ पर्नेहरूले पोल खोलेको हुनाले गौरव पनि गिरफ्तार भए । उहाँ सिन्धुली जिल्ला इन्चार्ज हुनुहुन्थ्यो ।
कोइरालालाई मार्ने योजना नभएर कुटपिट गरेर छोड्ने पार्टीको योजना थियो । कोइरालाको मुत्यु भएपछि सबैजना भूमिगत भए । सर्लाहीको भकारीफोर सङ्घर्षपछि नै आले भूमिगत हुनुभएको थियो तापनि २०३४ सालमा पूर्णतः भूमिगत हुनुभयो । जनताबीच सक्रिय भए पनि प्रसाशनलाई उहाँका बारेमा सबै कुरा थाहा भैसकेको स्थिति थिएन । त्यसबेला सूर्यनाथ यादव, जयगोविन्द साह, ऋषि देवकोटा ‘आजाद’, काजीलाल वाइवा, विष्णुलाल वाइवा, चित्रबहादुर आले, ईश्वरीप्रसाद दाहाल र अमृत ठकुरीलाई झुट्टा मुद्दा लगाइएको थियो । भीष्म खड्का, बाबुराम राणा, सिपी गजुरेललगायत १५ जनाले २ देखि अढाई वर्षसम्म जेल, कठोर यातना, डाँका मुद्दा खेपेका थिए ।
हजारिया पञ्चायतका प्रधानपञ्च दिवाकर केसी थिए । हामी सामन्तको भकारी फोरेर धान गरिबलाई बाँडेर फर्केका थियौँ, सामन्तको रक्षार्थ प्रहरी आउँदै थियो । केसीले म यही व्यवस्थाको प्रतिनिधि हुँ, गिरफ्तार भए पनि छुटिहाल्छु तिमी भाग भनेर आलेलाई भनेका थिए । त्यति कुरा हुँदाहुँदै प्रहरी आले बसेको घरमा पुगिहाल्यो । आलेलाई उनले नवराज पोख्रेलको साथमा कतै पठाएर गिरफ्तार हुनबाट बचाए । प्रहरीले नभन्दै केसीलाई गिरफ्तार गर्यो ।
२.नन्दलाल काण्ड
नन्दलाल सुस्सिङ अत्याचारी प्रधानपञ्च थियो । मोही र सुकुम्बासी जनतामाथि उसले ज्यादती गरेको थियो । ऊ पञ्च भए पनि नेकपाको मानन्धर समूहमा सङ्गठित थियो । उसक विरुद्ध पीडित जनताले महोत्तरीमा उजुरी गरेका थिए । सो कारबाहीको नेतृत्व भीष्मबहादुर खड्काले गरेका थिए । उसलाई ५ जनाको जनकारबाही टोलीले बाटो ढुकेर कारबाही गरेको थियो । वर्षौंदेखिको अत्याचार सहनुको पीडाका कारण आक्रोसमा आएका एकजनाले ठूलो ढुङ्गाले टाउकोमा बजाएछन् । उसको घटनास्थलमै मृत्यु भयो ।
सो सङ्घर्षको योजनाकार आजाद हुनुहुन्थ्यो । आजादले सशस्त्र सङ्घर्ष गर्नुपर्छ, बन्दुक उठाउनुपर्छ भेनर प्रेरित गरिरहनुहुन्थ्यो । सैन्य तालिमको आयोजना भइरहन्थ्यो । तत्कालीन ब्युरो सदस्य प्रेमबहादुर राणाको घरमा छापा मार्न सेना पुग्यो । राणालाई जनताले खोसेर लगे, सेनाले जंगलमा गोली चलायो । गोली चलाउँदा प्रेमबहादुरका भतिज कृष्णबहादुर रानालाई गोली लाग्यो । उनको घटनास्थलमै सहादत भयो । सेनाले मृतकको लास लिन खोजेको थियो, तर जनताले सेनालाई लास लिन दिएनन् । शाही सेनाले महिलाहरूलाई कुटपिट गर्नुको साथै संगीनले घोच्यो । प्रहरीले भीष्मबहादुर खड्कालाई गिरफ्तार गरेर लगेको थियो । धनुषा, जमुनीवास पुगेपछि (रातुखोला पारि) जनताले प्रहरीको वाहन घेरा हालेर खड्कालाई खोसे, घन्टौंसम्म एकातिर पञ्चायती सेना, प्रहरी र जासुस अर्कोतिर निहत्था जनता रक्तपातपूर्ण सङ्घर्ष डटे । जनताको जित भयो । यस्तो निहत्था जनताको बलिदान हेरेर त्यसलाई उठाउन पार्टीलाई फौजीकरण गर्नुपर्छ भन्ने धारणामा कमरेड आजादको हुन्थ्यो, तर पार्टी नेतृत्व त्यसको लागि तयार थिएन ।
३. गहभरि आँसु
ऋषि देवकोटाको नेतृत्त्वमा तराईमा सामन्त विरोधी सङ्घर्ष तीव्र भएको थियो । त्यसलाई उत्कर्षमा लैजान हतियार जम्मा गर्ने तालिम दिने काम भएको थियो । तर नेताहरू सशस्त्र सङ्घर्षको तयारीमा थिएनन् । त्यसकारण कमरेड आजाद र माथिल्लो तहका नेताहरूको बीचमा अविश्वास बढिरहेको थियो । कमरेड आजादले महोत्तरी भब्सी (चुरेको फेदी) मा तालिम गर्दा चलाएको गोलीको आवाज सुनेर चेरुमाई स्थानमा प्रहरी पुग्यो । नेकपा (चौम) का नेताहरू मोहनविक्रम, निर्मल लामा र जयगोविन्द साहले क्रान्ति गर्दैनन् भनेर कमरेड आजादले बारम्बार भनिरहनुहुन्थ्यो । कमरेड आजाद र कमरेड आले युवा सहकर्मी र क्रान्तिकारी भावना मिलेका सहयोद्धा थिए । आलेप्रति कमरेड आजादको ठूलो विश्वास र भरोसा थियो । आले भन्नुहुन्छ : ''मध्य-तराईलाई जुरुक्क उठाउने मान्छे भनेकै कमरेड आजाद हो । आलेले साथ दिन्छ भन्ने ठान्नुभएको थियो । मैले पनि सबै हेरेर कमरेड आजादलाई साथ दिन सकिनँ ।" (चितवन सौराहस्थित एक होटेलको छलफललमा २०७४ माघमा कमरेड आलेले भन्नुभएको थियो । त्यसो भनिरहँदा आलेको बोली अवरुद्ध भएको थियो र गहभरि आँसु टिलपिल गर्दै थियो ।) कमरेड आले थप भन्नुहुन्छ : ''मैले कमरेड आजादलाई आदर्श ठाने पनि उहाँलाई साथ भने दिन सकिन । आदर्श ठान्ने, तर साथ नदिने मेरो भूमिका वैचारिक दृष्टिले सही भयो कि भएन कुराको ममा प्रश्न उठिरहन्छ ।"
कमरेड आलेसँग तराईका स्थापित नेता जयगोविन्द साहका सम्बन्धमा थुप्रै सम्झना छन् । साहको २०४५ सालमा भारत विहार जयनगरमा मृत्यु भएको थियो । पञ्चायती व्यवस्थाले साहको शव नेपालमा ल्याउन पनि दिएन । जनताका नेता साहको जयनगरमा नै शव दहन गरियो ।
४. भ्यागुताको माला: कालोमोसो काण्ड
सिराहाको गोलबजारमा दिपक लामा नामका अत्याचारी थिए । उनलाई जनताले भ्यागुताको माला र कालोमोसो लगाएर गाउँ घुमाए । महोत्तरीमा पनि त्यसप्रकारका जनसङ्घर्षहरू भएका थिए । सो सङ्घर्षको प्रमुख वीरबहादुर लामा (गोलबजार, तितरिया) थिए । कुलबहादुर रमौली ६ वर्ष जेल बसेर छुटे । फटाहालाई पिट्न भनेर पठाइएको थियो, तर उसको मृत्यु भएछ । त्यसप्रकारका घटनाहरू भइरहेका थिए । प्रतिरोध र दमन उत्कर्षमा थियो । जन सङ्घर्षका सयौं घटनासन्दर्भहरूले फौजीकरणको माग गरिरहेका थिए, तर त्यसप्रकारले सोच्ने नेताहरूमा कमरेड आजाद एक्लै हुनुहुन्थ्यो ।
पार्टी अन्तरसङ्घर्ष र जनकपुरसभा
मध्य-तराईमा जनआक्रोस उत्कर्षमा थियो । पञ्चायती व्यवस्थाको दमन त्यस्तै थियो । जनसङ्घर्षहरू सयौं भएका थिए । त्यतिबेला जनसङ्घर्षमा सयौँ-हजारौं नरनारीको सहभागिता हुन्थ्यो । कमरेड आजाद जनसङ्घर्षहरूलाई गुणात्मक रूपले उठाउनुपर्छ भन्नेमा हुनुहुन्थ्यो, तर मुख्य नेताहरूले निरन्तरतामा मात्र सोच्दथे । जनसङ्घर्षलाई सशस्त्र सङ्घर्षमा उठाउने सोचाइमा नेताहरू थिएनन् । कमरेड आजाद र उनका समकालीन नेताहरूबीचको अन्तरविरोधको चुरो नै त्यही थियो । मोहनविक्रम र निर्मल लामामा पछिसम्म त्यही जनसङ्घर्षको निरन्तरताको सोच थियो । त्यस किसिमको चिन्तनका कारण कमरेड आजादलाई उग्रवादी देख्न पुगे । कमरेड आले भन्नुहुन्छ : ''पहिले झापा विद्रोहलाई उग्रवादी देखे र पछि जनयुद्धलाई उग्रवादी देख्न पुगे । मध्य-तराईको जनसङ्घर्षमाथि भएको दमनलाई शसस्त्र प्रतिरोध गर्नुपर्नेमा गलत निष्कर्ष निकालियो । जनाधार थियो, जनप्रतिरोध, जनसङ्घर्ष थियो, तर किन उठेन ? प्रश्न यहींनेर छ ।" ''झापालीहरूले नेकपा (चौम) लाई छद्म संशोधनवाद भन्नु सही नै रहेछ, कमरेड आले भन्नुहुन्छ ।" जलजला काण्डपछि मोहनविक्रम सिंहलाई महामन्त्री पदबाट हटाएर निर्मल लामालाई नेतृत्वमा ल्याइयो । २०३६ सालमा जनकपुर जनसभामा ६० हजारभन्दा बढी जनसागर उर्लिएको थियो । निर्मल लामाले पार्टीसँग सल्लाह नगरी आफू बोल्नुपर्ने सभा (पार्टी निर्णय भएको) मा मनमोहन अधिकारीलाई प्रमुख वक्ता बनाएर पठाए । धनुषाका पार्टी जिल्ला सदस्य पाण्डवराज घिमिरे हस्ते मनमोहनसम्म त्यो खबर पुग्दा पार्टीपंक्ति र जनता भने निर्मल लामाले सम्बोधन गर्ने भन्ने कुरामा ढुक्क थिए । हप्तौंदेखि काखे बच्चा बोकेर महिलाहरू पैदलै सातु बोकेर कार्यक्रमस्थल पुगेका थिए । पक्राउ पर्ने त्रासले गर्दा लामा जनसभामा गएनन् । जनसभाको अघिल्लो दिन निर्मल लामाले ''खुँडा-खुकुरी निकालेर विद्रोहमा उठ" भनेर विज्ञप्ति जारी गरे । उनी आफ्नो जनविद्रोहको नीतिअनुसार एक्लै हिंड्दै थिए । त्यही विषयलाई लिएर निर्मल लामालाई कारर्बाही गरियो । त्यसपछि भक्तबहादुर श्रेष्ठ ‘शेरसिंह’ नेकपा (चौम) को नेतृत्वमा आउनुभयो ।
कमरेड लामा त्यही जनसङ्घर्षलाई विद्रोहमा उठाउनुपर्छ र सकिन्छ भन्थे । कमरेड आजाद सशस्त्र सङघर्षमा जानुपर्छ भन्नेमा हुनुहुन्थ्यो । एकदिनको छलफलबीचमै छोडेर आजाद हिंड्नुभयो । उहाँले सशस्त्र सङ्घर्षको अपिल गरेको पर्चा बाड्दै हिंडेको कुरा पछि थाहा भयो । लामाले कमरेड आलेलाई ''आजादले एक्लै पर्चा बाड्दै हिंडेको छ, लिएर आऊ, उसलाई खतरा हुन्छ" भनेर पठाएका थिए । कमरेड आले आजादलाई खोज्दै महोत्तरी, धनुषा, सिराह, सप्तरी हुँदै उदयपुर पुग्नुभयो । कमरेड आले भन्नुहुन्छ : ''भीष्मबहादुर खड्कासहित उदयपुरमा कमरेड आजादसँग रातभरि छलफल भयो । १२ जना सहभागी त्यो छलफल रातभर चलेको थियो । बिहानीपख अलग-अलग स्थानमा हामीहरू सुत्न गयौं र बिहान उठेर खोज्दा आजाद कसैलाई नभनीकन बिहानै हिंड्नुभएछ । हामी निरास भएर फर्किंयौँ ।"
केही दिनपछि २०३६ सालमा सिन्धुलीको भिमानमा कमरेड आजादको हत्या भयो ।
सर्लाही जिल्लामा भएका अनेकौँ जनसङ्घर्षमध्ये सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश प्रकाशबहादुर सिंहको भकारीफोर विद्रोह निकै चर्चित घटना थियो । पञ्चायतीकालमा बहालवाला न्यायाधीशको घर-गोदाम दिउँसै सयौँ भोकानाङ्गा जनताको सागरले कब्जा गर्नु सामान्य कुरा थिएन । भावना, कार्यशैली, सङ्गठनात्मक प्रभाव र वैचारिक कोणबाटसमेत नमुना सङ्घर्ष थियो त्यो ।
२०३४ असार …. गते बरहथवा नपा …… (साबिक सुन्दरपुर चोहर्वा) का सामन्त (स्थायी बसोबास काठमाडौँ) तथा सर्वोच्च अदालतका न्यायाधीश प्रकाशबहादुर सिंहको घरधन्सार स्थानीय जनताले कब्जा गरेका थिए । त्यस क्षेत्रमा उसको ५ सय बिघाभन्दा बढी जग्गा थियो । बुढी बागमती नामको खोला त्यसै ठाउँ भएर बग्दछ । त्यो खोलाको सबै पानी उसकै खेतमा सिँचाइ हुन्थ्यो । त्यो खोलाको पानीसमेत अरूले प्रयोग गर्न पाउँदैनथे । त्यस वर्ष त्यस क्षेत्रमा ठूलो खडेरी पर्यो । त्यसवरपरका जनतालाई ६ महिना पनि खान पुग्दैनथ्यो । घरको अन्न सकियो । लामो खडेरीले मकै बाली सबै सखाप भयो । धानको बीउ ब्याडमै सुक्यो । किसानको आम्दानी हुने नदेखिएपछि साहुमहाजनले ऋण पनि दिएनन् । गरिबहरू भोकभोकै मर्ने अवस्था आयो ।
सर्लाही जिल्लामा नेकपा (चौम) को राम्रो प्रभाव थियो । जनतालाई राहत उपलब्ध कसरी गराउने भन्ने बहस पार्टीमा चल्नथाल्यो । खाद्यान्न कहाँकहाँ छ, खोजी हुनथाल्यो । त्यसक्रममा प्रकाशबहादुर न्यायाधीशको नाम अग्रपङ्क्तिमा आयो । उसको धन्सारमा प्रशस्त खाद्यान्न थुपारेर राखिएको थियो । उसले आवश्यक खाद्यान्न काठमाडौँ लग्थ्यो र धेरैजति भारतीय बजारमा बेच्थ्यो । त्यसैले ''लुटेर जम्मा गरेको, खोसेर लिने" नीतिअनुसार उक्त खाद्यान्न कब्जा गरेर जनतालाई निःशुल्क बाँडिदिने पार्टी निर्णय भयो ।
त्यस दिन बिहान उज्यालो हुनासाथ सयौँ नरनारी बाँधटोलमा जम्मा भए । बुढी बागमती खोलामा सिँचाइका लागि परम्परागत बाँध बाँधिएको थियो । त्यसवरपरको टोललाई ‘बाँधटोला’ भनिन्थ्यो । प्रहरी दमन गर्न आयो भने प्रतिरोध गर्न उद्धव पोखरेलको नेतृत्वमा युवा दस्ता तयार पारिएको थियो । हजार आसपासमा जनता जम्मा भएका थिए । धान, चामल, तेल, मसला, दाल, मकै, तोरी, आलस, खेसरी धनसारमा सबैथोक प्रशस्त थियो । एक दाना पनि नराखीकन जनताले बोकेर हिँडे ।
बरहथवामा सामन्तको ‘कामत’ अर्थात् रेखदेख गर्ने घर थियो । कामत हातामा रहेको ठूलो बगैँचामा बँदेल र बाख्रा पालिएको थियो । त्यसबेला कमरेड आले सर्लाही जिल्ला सेक्रेटरी हुनुहुन्थ्यो । जनता आआफ्नो घरतिर गइसकेका थिए । विजयी सानसहित फर्किंदै गर्दा विद्रोही–युवाको समूह र प्रहरीको बीचमा बाँधटोला (बान्टोला) मा जम्काभेट भयो । अस्थायी प्रहरीचौकी हजारिया र इलाका प्रहरीचौकी बरहथवाको संयुक्त प्रहरी समूहले बाँधटोलामा युवाहरूलाई लक्षित गरेर गोली चलायो । कमरेड चित्रबहादुर आले त्यहीँ हुनुहुन्थ्यो । पञ्चायतको जिल्ला विकास समितिको क्षेत्रीय सदस्यसमेत रहेका पार्टी सहयोगी दिवाकर के.सी.ले ''तिमी छिटो घेरा तोड, म त उसकै व्यवस्थाको मान्छे हुँ, लगे पनि छोड्छ । यताको म हेर्छु" भनेपछि आले घटना स्थलबाट बाहिरिनुभयो ।
प्रहरीले दिवाकर के.सी., गोविन्द प्रसाईं, नाति राजासहित ८ जनालाई गिरफ्तार गर्यो । गिरफ्तार गरेका सबैलाई डाँका मुद्दा लगायो । आलेलाई रघुनाथकाण्ड र नन्दलालकाण्डको समेत मुद्दा थपेर पेस गरेको थियो । यो भकारिफोर काण्डपछि आले पूर्णरूपमा भूमिगत जानुभयो । त्यसअगाडि ''खुला उठबस, गोप्य कामकाज" उहाँको कार्यशैली थियो । त्यो घटनापछि सर्लाहीमा दर्जनौँ गिरफ्तार भए । झूठा मुद्दा लगाइयो । प्रहरीदमन तीव्र भयो । धेरैले घरबार छोडेर हिँड्नु पर्यो । प्रहरी आतङ्क चरम भयो ।
त्यसबेला कमरेड ऋषि देवकोटा ‘आजाद’ नेकपा ( चौम) का केन्द्रीय सदस्य र जनकपुर (उदयपुर, सप्तरी, सिराहा, रौतहटसमेत) का ब्युरो इन्चार्ज हुनुहुन्थ्यो । उक्त घटनापछि असोजमा चित्रबहादुर आले र रामसिंह श्रीस नेकपाका केन्द्रीय सदस्य भए । खुबीराम आचार्य आँखाको समस्याका कारण काम गर्न सक्ने अवस्थामा हुनुहुन्थेन । रिक्त स्थानमा उनीहरू थपिएका थिए । जिल्लास्तरका नेताहरूमा आलेबाहेक सबैजना गिरफ्तार भएका थिए । सुरक्षाको कारण केन्द्रीय समितिले २०३६ असोजपछि आलेलाई सिराहा जिल्लाको सेक्रेटरी बनाएर स्थानान्तरण गर्यो । गिरफ्तार भएका जिल्लाका नेताहरू २०३६ सालमा जनमतसङ्ग्रह भएपछि रिहा भएका थिए । प्रकाशबहादुर काण्डपछि भएको प्रहरी दमनको प्रतिरोध नभएको, कमरेड आजादबाहेक अरू नेताहरूमा प्रतिरोधको सोचाइ र योजनासमेत नभएको आलेको आरोप छ । फलस्वरूप सङ्गठनात्मक क्षति भएको, जनाधार खस्केको, जनमनोबल नउठेको आलेको बुझाइ छ ।
२०३६ सालमा पनि पञ्चायती व्यवस्थाका विरुद्ध त्यस क्षेत्रमा जनसङ्घर्षहरू भएका थिए । सोही क्रममा पञ्चायती सरकारले महोत्तरी, बर्दिबास नगरपालिका हाथीलेट गाउँ, ब्याङ्क खाडी बजारमा कृष्णबहादुर रानाको हत्या गर्यो । शाही नेपाली सेनाले उक्त हत्याकाण्ड मच्चाएको थियो । हाथीलेटको सहिदस्तम्भ अहिले पनि पञ्चायती ज्यादतीको जिउँदो प्रमाण बनेर उभिएको छ ।
कमरेड आलेलाई सिराहा स्थानान्तरण गर्नुको अर्को कारण पनि थियो । सिराहामा विश्वनाथ शाह र गिरिराजमणि पोखरेल एकातिर, विष्णुलाल तामाङ (बीएल) र काजीलाल (के एल) अर्कोतिर दुई गुटहरू थिए । साह जमिनदार पृष्ठभूमि र संस्कारबाट आएका थिए । पोखरेल विद्यार्थी (निम्न पुँजीपति) वर्ग र सामन्ती संस्कारका थिए । बीएल र केएल किसान समुदायका भुइँमान्छे थिए । वर्गस्रोतले पैदा गरेको अन्तर र रूपान्तरणको अभावले पार्टीमा पैदा गरेको समस्या समाधान गर्ने प्रयोजनको कारण सिराहामा आलेलाई पठाइएको थियो । कमरेड आलेभन्दा अगाडि सिराहाका सेक्रेटरी दानी थापा थिए । आले त्यसबेला सर्लाही, महोत्तरीको जनसङ्घर्षको नेतृत्व गरेका युवा भएका कारण सर्वस्वीकृति भएको बीएलको भनाइ छ ।
त्यसैबीच २०४५ सालमा तराईका लोकप्रिय नेता जयगोविन्द साहको भारतमा निर्वासनकै समयमा निधन भयो । आले सिराहाको ४ वर्षसम्म लगातार नेतृत्वमा रहनुभयो । साहको निधनपछि स्थापित नेतृत्वको अभावमा तराईमा केन्द्रीकरणको थप समस्या पैदा भएको आलेको बुझाइ छ । सिराहा सेक्रेटरी भएर ४ वर्ष क्रियाशील भएपछि क. आले मकवानपुर र काभ्रेपलाञ्चोक जिल्लाको पनि सेक्रेटरी हुनुभयो ।
कमरेड आलेको थबाङ यात्रा
२०३४ सालमा सर्लाहीमा प्रकाशबहादुर सिंहको भकारी फोरेपछि भएको दमनपछि तत्कालीन पार्टी महामन्त्री मोहनविक्रम सिंह सोध्दैखोज्दै सर्लाही आए । किसानको भेषमा आलेलाई खोज्दै भेट्न सिंह सर्लाही पुगेका थिए । जुझारु मगर जातिबाट आएको कुनै युवालाई थबाङ पठाउन पाए राम्रो हुन्थ्यो भन्ने सोचाइमा मोहनविक्रम थिए । यता त्यसो गर्दा प्रहरीको सिकारी आँखाबाट आलेलाई बचाउन सकिन्थ्यो र गिरफ्तार भएका कतिपयले पार्टीको भेदलाई बचाउन सकिन्थ्यो । गिरफ्तार भएका कतिपयले पार्टीको भेद खोलिदिएको आशङ्का पनि गरिएको थियो । त्यसकारण पनि आलेको सुरक्षाको प्रश्न जटिल बनेको थियो । सिन्धुलीमा ऋषि देवकोटा आजाद र दुर्गा सुवेदी, झापामा सुखानी हत्याकाण्ड भएको भयानक त्रासद समय थियो त्यो ।
''तिमी मगर हौ । थबाङमा मगरबस्ती छ । त्यहाँ राम्रो आधार बनाउन सकिन्छ । तिमी गएर राम्रो हुन्छ" भनेर पार्टी महामन्त्री मोहनविक्रमले भनेपछि कमरेड आले २०३४ तिहारतिर ३ महिनाका लागि थबाङ स्थानान्तर भएर जानुभयो । २०७३ साल नेकपाको आठौँ महाधिवेशनको अवसरमा झन्डै ४० वर्षपछि थबाङ पुग्दा कमरेड आले ती दिनहरू सम्झेर भावुक हुनुहुन्थ्यो । उहाँ भन्नुहुन्छ : ''टाट्नामा दिसा गर्थे । तल भुइँमा नखस्दै सुँगुरले दिसा खान्थे । जताततै फोहोर थियो । जाँड पनि अत्यधिक खान्थे । अहिले त धेरै विकास भएछ, फेरिएछ थबाङ ।" उसबेलाको थबाङको सकारात्मक पक्ष के थियो त ? यो प्रश्नमा आलेको भनाइ छ, ''कम्युनिस्टप्रति आस्थावान थिए, सङ्गठित भावना थियो । मेहनती थिए । सहयोगी भावना थियो । " यो त्यसबेलाको धुमिल चित्र हो, जतिबेला आजका वामपन्थी नेता सन्तोष बुढा विद्यालय जाँदै थिए ।
बर्मन बुढाले पूर्णकालीन कार्यकर्ता आलेलाई आफ्नो घरमा ''पुत्ने छोरा" बनाएर राखेका थिए । उसबेला थबाङमा प्रहरीचौकी, मोटरबाटो केही थिएन । खोलाबाट गाग्रीमा पानी बोकेर खान्थे । खाम मगर भाषा नबुझ्ने कमरेड आलेले तराईमा हुर्केको युवा मनतनलाई दुर्गम लेकमा अभ्यस्त गराउनुभयो । ''एक छाक आलु, अर्को छाक गहुँ वा मकैको आँटो दिन्थे । आलु थालमा दिने चलन थिएन । मान्द्रो वा सुकुलमा लगाइदिन्थे", उहाँ हाँस्दै अतीत सम्झनुहुन्छ ।
मान्छेको जीवन पनि अनौठो हुँदो रहेछ । कयौँ दशकहरू झुसिल्कीरोझैँ बित्छन् । कयौँ पल मात्र पनि अविस्मरणीय हुँदा रहेछन् । थबाङमा अरूले जसरी आलेले साल वा भोर्लाको पातमा तमाखु बेरेर ''थबाङ मेड" बिँडी खानुहुन्थ्यो । भाङबाट चरेस बन्थ्यो । चरेस बेचेर पैसा कमाउने पनि थिए । ''बिँडी खानासाथ उडेजस्तो भयो, उचाल्दैपछार्दै गरेजस्तो भयो" भनेर एक दिन कमरेड आलेले बर्मन बुढालाई भन्नु भएछ । भुक्तभोगी बर्मन बुढाले ''केटाहरूले बिठ्याइँ गरेछन् । तिमीलाई चरेस खुवाएछन् । पानी खाऊ, बिस्तारै ठीक हुन्छ" भन्नुभएछ । वाकवाकी लाग्दालाग्दै आलेलाई निद्रा लागेछ ।
तीन महिनापछि थबाङबाट जनकपुर फर्केपछि कमरेड आले जनकपुर ब्युरो सेक्रेटरी हुनुभयो । कमरेड ऋषि देवकोटाको नेतृत्वमा काम हुन्थ्यो । आजाद सो ब्युरोको इन्चार्ज हुनुहुन्थ्यो ।
निर्मल लामासँग भेट
जीवनको उत्तरार्धमा निर्मल लामा र चित्रबहादुर आले निकट रहेर काम गरें । तर केन्द्रीय समितिको सदस्य बन्दासम्म आले र लामाको भेटघाट भएको थिएन । मोहनविक्रम सिंहसँग भने २०३२/३३ सालतिर सर्लाहीमै भेट भएको थियो । सिंह कमरेड आलेलाई सोध्दैखोज्दै पैदलै हिँडेर आले निवास पुगेका थिए । उसबेला र अहिले समयलीला फरक छ । अहिले कार्यकर्ताले नेता खोज्दै हिँड्नुपर्छ, उसबेला कार्यकर्ता खोज्दै नेता घरघर चाहर्थे । आजाद पनि कार्यकर्ता खोज्दै, बटुल्दै रातभरि हिँड्थे ।
२०४० सालमा जलजलाकाण्ड लगायतको विषय उठाएर जयगोविन्द साहले मोहनविक्रम नेतृत्वमा क्रान्ति नहुने, उनले नेतृत्व छोड्नुपर्ने माग गरे । २०३१ सालको चौथो महाधिवेशन र २०२९ सालको ‘केन्द्रीय न्युक्लियस’ गठनदेखि केन्द्रीय नेतृत्वमा रहेका जयगोविन्द साहले राजीनामा दिए । साहको राजीनामा नै पार्टी फूटटको कारण बन्यो । त्यसरी २०४० सालमा एकीकृत चौथो महाधिवेशनको धारा दुई समूहमा विभाजित भयो : एउटा धारको नेतृत्व मोहनविक्रम सिंह र अर्को धारको नेतृत्व निर्मल लामाले गरे । निर्मल लामा पक्षमा जयगोविन्द साह, सूर्यनाथ यादव, नरबहादुर कर्माचार्य, दिलबहादुर श्रेष्ठ, चित्रबहादुर आले, देवेन्द्रलाल श्रेष्ठ (काइँला बा) लगायत थिए । मोहनविक्रमका पक्षमा मोहन वैद्य, रामसिंह श्रीस, भक्तबहादुर श्रेष्ठ, सीपी गजुरेललगायत थिए । निर्मल लामा समूहले पार्टीको नाम नेकपा (चौम) र मोहनविक्रमले नेकपा (मसाल) राखे ।
२०४२ सालमा मोहनविक्रम सिंहको नेतृत्वमा (मसाल) फेरि विभाजित भयो । त्यसपछि अल्पमत पक्षको नेतृत्व मोहनविक्रम सिंहले पार्टी नाम नेकपा (मसाल) राखेर गरे भने बहुमत पक्षको नेतृत्व मोहन वैद्य ‘किरण’ ले पार्टी नाम नेकपा (मशाल) राखेर गरे । २०३७ सालको जनमतसङ्ग्रह नेकपा (माले) ले बहिष्कार गरेको थियो । मोहनविक्रम सिंह नेतृत्वको नेकपाले भाग लिएर बहुदलीय व्यवस्थालाई मतदान गरेको थियो । तत्कालीन नेपाल मजदुर किसान सङ्गठनका अध्यक्ष नारायणमान विजुक्छे रोहितले पार्टीमा अल्पमत परे पनि जनमतसङ्ग्रहमा भाग लिने निर्णय गरे भने अर्का नेता रूपलाल विश्वकर्मा बहिष्कारका पक्षमा अडिग रहे । त्यसरी रोहित र रूपलाल विश्वकर्मा नेतृत्वका दुई समूह अस्तित्वमा आए ।
सिन्धुलीकाण्ड
तत्कालीन नेकपाको ‘आर्थिक कारबाही’ (मनी एक्सन) गर्ने नीति थियो । जनकपुर ब्युरोलाई त्यस्तो कारबाही गर्ने निर्देशन थियो । …….. सालमा त्यसको तयारी भयो । त्यसबेला ईश्वरी दाहाल असारे सिन्धुली सेक्रेटरी हुनुहुन्थ्यो । तर कमरेड असारेलाई त्यसको जानकारी गराइएको थिएन । न त कुनै संलग्नता नै थियो । घटनालगत्तै सोही स्थानमा पुगेका कमरेड असारे झन्डै पक्राउ पर्नु भएको थियो ।
दुर्गा सुवेदीको नेतृत्वमा दलबहादुर रजनमगर, उद्धव पोखरेल, वेदबहादुर थापा, चेतबहादुर आले, अमृत ठकुरीलगायतको लडाकु टोली थियो । सुदखोर ………………. सुनुवार (राई) को घरमा आर्थिक कारबाही थियो । ३ वटा नलकटुवा बन्दुक, केही पटका र खुकुरी हतियार थिए । लडाकु टोली पुग्नासाथ सुदखोरले आत्मसमर्पण गर्यो । ५० तोला चाँदी, २० तोला सुन लगेर दरभङ्गामा रहेका मोहनविक्रमलाई बुझाइएको थियो । महोत्तरी हाथीलेट डिपुटोलका बाबुराम रानाको घरमा १ महिना राखेर नेतृत्वसम्म बुझाएको चित्रबहादुर आले बताउनुहुन्छ । पार्टी मुख्यालयका तर्फबाट जयगोविन्द साहले जनकपुर क्षेत्रको नेतृत्व गर्नुहुन्थ्यो । कब्जा गरिएको सामान बुझाउन दरभङ्गा बाबुराम राना र चित्रबहादुर आले नै गएका थिए ।
सिन्धुलीको उक्त ‘मनी एक्सन’ लाई शतप्रतिशत सफल कारबाही मानिन्छ । सुदखोर …………… दनुवार उजुरी गर्न प्रहरीसमक्ष नगएको बुझिन्छ । न त प्रहरी प्रशासनले त्यसको सुइँको नै पायो । मरिन इलाकामा भएको उक्त कारबाही दुर्गम र आदिवासीमाथि भएको कारण पनि चर्चा कम भएको हुनसक्ने नेता आलेको अनुमान छ । सो कारबाही कमरेड आलेको नेतृत्वमा भएको थियो ।
तत्कालीन सिन्धुली सेक्रेटरी ईश्वरीप्रसाद दाहाल ‘असारे’ घटनालगत्तै मरिन इलाका पुग्नुभएछ । एउटा घरमा साँझमा बास बस्नु भएछ । गाउँले घिरिप्प जम्मा भई बाँधेर प्रहरीको जिम्मा लगाउने तयारी गरेछन् । पार्टी हो कि डाँका… अनेक धम्की, गाली भएछ । कमरेड असारेले ''मलाई प्रहरीसमक्ष बुझाउन सक्छौ । आज म एक्लो छु । तर हाम्रो पार्टीले बदला लिन्छ" भनेपछि केही नगरी छोडेछन् । अलि पर बारीमा मकैको ढोंड थुपारेको स्थानमा घुस्रेर रात बिताउनु भएछ । सेक्रेटरीले आफ्नो जिल्लाको घटना थाहा नपाएर झन्डै धरापमा परेको रोचक प्रसङ्ग सिन्धुलीकाण्डसँग जोडिएको छ ।
राइटरकाण्ड
धनुषा जिल्ला, बटेश्वर गाउँपालिका (साविक भूचक्रपुर) मा कृष्णसुन्दर श्रेष्ठ नामको सामन्त थियो । ऊ ‘राइटर साहेब’ भनेर चिनिथ्यो । उसले चर्को सुदखोरी गर्दैआएको थियो । चेलीको अस्मिता लुट्थ्यो । तर गाउँमा उसैको शासन चल्थ्यो । स्थानीय बबुराहरूलाई सरकार भनेकै ‘राइटर साहेब’ थिए ।
सामन्त राइटर साहेबलाई जनकारबाहीस्वरूप गोडा भाँच्ने निर्णय भएको थियो । त्यो २०३६ सालको कुरा थियो । तीसको दशकमा देशव्यापी किसान विद्रोहहरू भएका थिए । २०३४ सालमा नै चितवनमा जुगेडी किसान विद्रोह भएको थियो । तत्कालीन मजदुर-किसान सङ्गठनको नेतृत्वमा उक्त विद्रोह भएको थियो । रूपलाल-रोहितहरू उक्त पार्टी (उनीहरूले त्यो पार्टीलाई पूर्वपार्टी अर्थात् कम्युनिस्ट पार्टी नबनिसकेको अवस्था भनेका थिए ।) का नेता थिए । त्यही वर्ष सर्लाहीमा रघुनाथकाण्ड र प्रकाशबहादुरसिंह काण्ड भनेर चिनिने सामन्तवादविरोधी विद्रोहहरू भएका थिए । त्यसको नेतृत्व मोहनविक्रम सिंह नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (चौम) ले गरेको थियो ।
''राइटरलाई प्रशासनले चाहेको भए बचाउन सक्थ्यो । राइटर मरोस् र त्यसकै निहुँमा कम्युनिस्टलाई दमन गर्न पाइयोस् भनेर उपचारमा ढिलाढाला गरेका हुन्।"
त्यसबेला बीएल, केएल, वीरबहादुर स्याङ्तान जनकपुर ब्युरो सदस्य थिए । गाउँमा पार्टीको हैकम चल्दै थियो । जनवादी गीतहरू गाइन्थे । ''सचित्र चीन" र प्रगतिशील साहित्यको प्रचार तीव्र पारिएको थियो । गोलबजार नगरपालिका ३, भाङबारी (साविक जम्दह ४) का वीरबहादुर स्याङ्तानको नेतृत्वमा ५ सदस्यीय रेडगार्ड गठन भएको स्याङ्तान बताउँछन् । २०३६ सालको तिहार आसपासमा उक्त घटना भएको हो । स्याङ्तानको लडाकु टोलीले बटेश्वर बजारदेखि नै राइटरको पिछा गर्यो । विगी खोलामा ५ जनाको टोली ढुकेर बसेको थियो । त्यहीँ राइटरमाथि आक्रमण भएको थियो ।
२०३६ भदौ २४ गते जनकपुर, बाह्रबिघा भएको पञ्चायती व्यवस्था नै झस्कने विशाल जनप्रदर्शन र जनसभामा सिराहाबाट पनि पैदलै जनता सहभागी थिए । सामन्त र प्रशासन सिराहामा कम्युनिस्ट प्रभाव रोक्न षड्यन्त्र गर्दै थिए । राइटरले गाउँको सूचना प्रहरीसमक्ष दिएको ठानिन्थ्यो । त्यसपछि गाउँमा छापा मार्ने, गिरफ्तार गर्ने, कोको जनकपुर गए ? भन्दै तर्साउने कार्य भइरहेको थियो । प्रहरी ज्यादती बढिरहेको समयमा राइटरकाण्ड भयो ।
हरिबहादुर वाइबा, टेकबहादुर वाइबासहित ६२ जनालाई ज्यान मारेको मुद्दा लगाइयो । शाही नेपाली सेनाले गाउँमा अपरेसन सुरु गर्यो । बाटोमा भेटिएका गोठाला, हली, घाँसी सबैलाई कुटपिट गरे । छाप मार्न गएको घरमा मान्छे नभेटेपछि गाई, भैँसीलाईसमेत पिटेका थिए । ‘नाङ्लो ठटाएर हात्ती तर्साउने’ भनेझैँ अबोध पशुलाई यातना दिएर राजाको सेना जनता तर्साउन चाहन्थ्यो होला । सयौँको सङ्ख्यामा किसानहरू गाउँबाट विस्थापित भए । उनीहरू कोही भारतीय भूमिमा शरणार्थी भए, कोही अर्को जिल्लामा हली, गोठालो बनेर वा आफन्तकहाँ शरण लिएर बस्न बाध्य भए । उक्त घटनामा अन्य कम्युनिस्ट घटकलाई पनि मुद्दा लगाइएको थियो । तत्कालीन नेकपा (माले) सम्बद्ध रामलखन महतो (धनुषा) लाई पक्राउ पुर्जी जारी गरेपछि उनी पनि विस्थापित भएका थिए । राइटरकाण्डपछि सिराहामा श्वेतआतङ्क चरम भयो नै, सामन्तहरूमा पनि खैलाबैला भयो । झापा विद्रोह सेलाउँदै गएको बेला सिराहामा नयाँ वर्गसङ्घर्ष प्रकट भएको थियो । शोषण, दमन रहेसम्म विद्रोहको झुल्का कतै न कतैबाट विस्फोट भइरहन्छ भन्ने सङ्केत थियो त्यो ।
पटवारी शासनविरोधी विद्रोह
२०११ सालमा सिराहा, सिसबनी गाउँमा ठक्कु गोहीबार काण्ड भएको थियो । त्यसबेला पार्टी भनेकै किसान हुन्थ्यो । विद्यार्थी तथा बुद्धिजवीको सङ्ख्या कम थियो । प्रभाव पनि त्यस क्षेत्रमा न्यून थियो । चिनियाँ क्रान्ति र नक्सलबाडी विद्रोहको प्रभावले पनि इमानदार नेताहरूमा किसानमै भर पर्ने सोचाइ हावी थियो । जाली तमसुक फट्टा सङ्घर्ष, बनियाँ वृद्धि (ज्याला) सङ्घर्ष, मोहीयानी हक सङ्घर्ष, जालीफटाहाविरोधी सङ्घर्ष, भकारीफोर सङ्घर्ष व्यापक थियो । त्यसबेला तराईमा ‘पटबारी शासन’ चल्थ्यो । हरेक क्षेत्रमा सरकारले शासक सामन्त चुनेको हुन्थ्यो, जसलाई ‘पटवारी शासन’ भनिन्थ्यो । सामन्तको नजिकका नातेदार, इष्टमित्र, कारिन्दाको समेत हैकम चल्थ्यो । सामन्तको गोठालोले पनि धमास दिन्थ्यो । पटबारी शासकको गोठालोसँग पनि जनताले डराउनुपथ्र्यो ।
२०१९ सालको तेस्रो महाधिवेशनपछि २०३३ सालसम्म पुग्दा नेकपा केन्द्रविहीन बन्नपुग्यो । मेची-कोसीमा पूर्वी कोसी प्रान्तीय समिति क्रियाशील थियो । यद्यपि त्यहाँभित्र मनमोहन अधिकारी संशोधनवादी दिशामा र युवा मोहनचन्द्र अधिकारी झापा विद्रोहतिर भएर समग्र पार्टी नै दुई ध्रुबमा विभाजित हुन थालेको थियो ।
जयगोविन्द साहले पश्चिम कोसी प्रान्तीय समिति सञ्चालन गरिरहे । किसान सङ्घर्षको नेतृत्व गरिरहे । विष्णुलाल तामाङको भनाइमा ''किसान सङ्घर्ष उठाउने, सङ्गठन विस्तार गर्ने क्रममा जयगोविन्द साह नयाँनयाँ युवाहरूलाई सङ्गठित गर्दै हिँड्थे । त्यही सिलसिलामा चित्रबहादुर आले पनि साहमार्फत सम्पर्कमा आएका हुन् ।" २०२८ सालमा महोत्तरी, भब्सीमा आलेसँग भएको पहिलो भेटको स्मरण गर्दै तामाङ भन्छन्, ''सेतो कुर्तासुरुवाल, काँधमा गम्छा, कम्मरमा टल्किने खुकुरी भिरेर यिनी बैठकमा आएका थिए । युवा आलेको चमकधमक आकर्षक थियो । कमरेड आजाद खुकुरी नबोकी हिँड्दैनथे र अरूलाई पनि त्यसै गर्न लगाउँथे ।" कमरेड आजादको गहिरो प्रभाव कमरेड आलेमा परेको देखिन्थ्यो । आलेको जीवन सङ्घर्षमा कमरेड आजाद भेट्न सकिन्थ्यो ।
सर्लाही घुर्कौलीका कृष्णकुमार लामाले चित्रबहादुर आलेलाई पनि सम्पर्कमा ल्याएको आलेका समकालीन तथा २०४८ सालका सांसद विष्णुलाल तामाङ दाबी गर्छन् । त्यसबेला धनुषाका बलराम सुवेदीले विद्रोहीहरूलाई अथाह सहयोग गरेको भुक्तभोगीहरू बताउँछन् । सुवेदीले दरभङ्गामा चन्दा उठाएरसमेत नेपालमा सैनिक अपरेसनबाट विस्थापित राजनीतिकर्मीहरूलाई मद्दत गरेका थिए ।
सूर्यनाथ यादवको हत्या र विवाद
सूर्यनाथ यादव मारिएपछि निर्मल लामा पक्षले यादवलाई सहिद मान्नुपर्ने जिकिर गरे । मोहनविक्रम सिंह यादवलाई सहिद मान्न तयार थिएनन् । २०४० सालमा पार्टी विभाजनपूर्व नै मोहनविक्रमले सहिद यादवको आलोचनासहित चरित्रहत्या गरिएको पर्चा प्रकाशित गरी बाँडेका थिए । विद्यार्थी नेता गिरिराजमणि पोखरेलले उक्त पर्चा सिराहामा बोकेर गए । मोहनविक्रमद्वारा सूर्यनाथलाई ‘हत्यारा’ आरोप लगाइएको उक्त पर्चाका कारण त्यहाँ असन्तोष तीव्र भयो । गिरिराजमणि पोखरेललाई महेश मास्केमार्फत लगाम लगाएर पर्चा वितरण रोकियो । कालान्तरमा सूर्यनाथ यादवलाई सहिद घोषणा गरियो ।
सूर्यनाथ यादवकाण्डदेखि नै एकथरी सामन्त, फटाहाहरू र उनीहरूबाट प्रभावित केही नेताहरू यादवप्रति सहानुभूति राख्नेहरूसँग बदलाभाव राख्थे । त्यही तप्काले बहुदलीय व्यवस्था आएपछि अर्थात् २०४६ सालपछि धर्मनाथ साहलाई प्रयोग गरेर कम्युनिस्ट आधार भत्काउन खोजेको विष्णुलाल तामाङको भनाइ छ । धर्मनाथ साहले प्रशासनसँग मिलेर कार्यकर्तालाई फसाउने, गुण्डागर्दी गर्ने गर्नथाले । त्यसपछि अल्टु पासवान, राजकुमार महतोसहितको लडाकु टोलीले धर्मनाथ साहलाई जनकारबाही गर्ने योजना बनायो । त्यसको भेद खुल्यो । त्यसको सकारात्मक प्रभाव के भयो भने धर्मनाथ साह हच्किए । ''नलडी केही हुँदैन भन्ने हाम्रो आफ्नै अनुभव छ" कृष्णलाल भन्छन् ।
२०४७ सालमा ‘माओवाद–विचार’ मान्ने कम्युनिस्ट पार्टीहरूका बीचमा पार्टी एकता भएपछि नेकपा (मशाल) मा रहेका धर्मनाथ साह पनि एउटै पार्टीमा भए । नेकपा (एकताकेन्द्र) को वैधानिक मोर्चाका रूपमा संयुक्त जनमोर्चा नेपाल गठन भएको थियो । विष्णुलाल तामाङले चुनाव जित्यो भने कम्युनिस्ट प्रभाव कायम रहन्छ भनेर काङ्ग्रेसले षड्यन्त्र गरेको कतिपयको बुझाइ छ । त्यसक्रममा कमजोर उम्मेदवार धर्मनाथ साहलाई उठाउने योजना बन्यो । वैकल्पिक उम्मेदवार धर्मनाथ साहको नाम पनि पठाउने र उनैका पक्षमा माथिल्लो समितिमा पहल गर्ने दोहोरो चरित्र विश्वनाथ साहको रहेको बीएल–केएलको आरोप छ । त्यसबेला पार्टी महामन्त्री प्रचण्ड धर्मनाथ साहको निवास सिराहा गएका थिए । तर विष्णुलाल तामाङ भेट्न गएनन् । अर्को दिन प्रचण्ड बीएलको घरमा गए । जिल्ला समितिको आकस्मिक बैठक बोलाउन लगाए । सबैको धारणा प्रत्यक्ष सुनेपछि प्रचण्डले धारणा परिवर्तन गरेर कमरेड विष्णुलाल तामाङलाई उम्मेदवार बनाए । हेर्दा चुनावी मोर्चाजस्तो देखिए पनि त्यसप्रकारको आन्तरिक र बाहिरी सङ्घर्षमा प्रवृत्ति र घटनालाई बुझ्ने दृष्टिकोण अभिव्यक्त भएको बुझ्न सकिन्थ्यो । सहिद सूर्यनाथ यादवको हत्या, मोहनविक्रम सिंहको राजीनामा माग्ने र त्यो माग पूरा नहुँदा आफैँले राजीनामा दिने जयगोविन्द साहकै पालाको मनोविज्ञान पनि जोडिएको थियो । कमरेड ऋषि देवकोटा आजादको विचार र भावनाको प्रभाव पनि छँदै थियो ।
२०४६ को जनआन्दोलन र त्यसपछि
२०४५ सालमा राजा वीरेन्द्रले भारतसँग भएको सन् १९५० को नेपाल-भारत शान्ति तथा मैत्री सन्धिको प्रतिकूल हुनेगरी चीनसँग नेपाली सेनाका लागि हतियार खरिद गरे । उक्त सन्धिअनुसार भारतले तेस्रो देशसँग हतियार किनबेच गर्दा नेपालसँग परामर्श गर्नुपर्ने प्रावधान छ । तर भारतले व्यवहारमा नेपालसँग त्यसरी परामर्श गर्दैन । भारतले परामर्श गर्दैन भने नेपालले किन गर्नुपर्यो भन्ने पञ्चहरूको तर्क थियो । नेपालले चीनसँग हतियार खरिद गरेपछि चिढिएको भारतले २०४५ सालमा नेपालमाथि नाकाबन्दी लगायो । त्यो नाकाबन्दी स्वतन्त्र भारतद्वारा नेपालमाथि लगाएको तेस्रो नाकाबन्दी थियो । २०१९ साल र २०२७ सालमा पनि भारतले नेपालमाथि नाकाबन्दी लगाएको थियो । २०१९ सालमा भारत समर्थित सरकार ढालेर चीन र पश्चिमी देशप्रति नरम पञ्चायती व्यवस्था लादेको भारतीय आरोप थियो । २०१७ सालमा नेपालको उत्तरी सीमानाबाट भारतीय सेनाको जाँचचौकी हटाउन बाध्य पारेकोमा भारत असन्तुष्ट भएको थियो । भारतद्वारा नाकाबन्दी लगाइएपछि भारतको दबाबसँगै पञ्चायती व्यवस्थाको विरुद्ध जनता सडकमा उत्रिए ।
चित्रबहादुर आले २०४६ सालमा नेकपा (चौम) का नेता हुनुहुन्थ्यो । २०४६ सालको जनआन्दोलन काठमाडौँकेन्द्रित थियो । त्यो जनआन्दोलन अन्तिममा पोखरा, चितवन र हेटौँडासम्म विस्तार भए पनि त्यसले तराईलाई तताउन सकेको थिएन । तत्कालीन नेकपा (चौम) संयुक्त ‘वाम’ मोर्चामा संलग्न थियो । कमरेड आले ७० जना कार्यकर्ताको नेतृत्व गरेर काठमाडौँ पुग्नुभयो । कानुन व्यवसायी चण्डेश्वर श्रेष्ठको गलैँचा कारखाना खाली गरेर आन्दोलनकारीका लागि बासको व्यवस्था गरिएको थियो । कार्यकर्ता गिरफ्तार हुन्थे, छुट्थे । जनअन्दोलनको उत्कर्षको दिन चैत २४ गते भोटाहिटी-रत्नपार्क चोकमा झडप भएछ । प्रहरीले गोडामा लाठी बजारेपछि कमरेड आले लड्नुभएछ । बेहोस भएर लडेपछि ब्युँझँदा जुत्ता छरिएका रहेछन् । प्रहरीले छोडेर गएछन् ।
''उठेर बल्लबल्ल जुत्ता लगाएँ । ट्याक्सी चढेर पाटनढोका बासमा पुगेँ । डिँड्न सक्ने अवस्था थिएन" कमरेड आले भन्नुहुन्छ । २०४७ भदौमा नेकपा (मशाल), नेकपा (चौम) र सर्वहारावादी श्रमिक सङ्गठनबीचमा पार्टी एकता संयोजन समिति बन्यो । कालान्तरमा हरिबोल गजुरेल नेतृत्वको नेकपा (विद्रोही मसाल) सहित पार्टी एकता भयो । कमरेड आलेको जनकपुर नै कार्यक्षेत्र भयो । एकीकृत पार्टीको केन्द्रीय समितिमा रहनुभयो । त्यसबेला जनयुद्ध कि जनविद्रोह ? माओवाद कि माओवाद/माओविचार ? तत्काल सशस्त्र सङ्घर्ष कि जनसङ्घर्ष ? अन्तरसङ्घर्ष विषयहरु थिए । त्यसप्रकारको अन्तरसंघर्षका बीचमा २०४८ सालमा चितवन, माडीमा एकता महाधिवेशन सम्पन्न भयो । त्यसले माओवादी, सशस्त्र सङ्घर्ष र जनयुद्धका पक्षमा फैसला दियो । दुई लाइन सङ्घर्ष रोकिएन । २०५१ सालमा लामा पक्ष भनिने अल्पमत पक्षमा स्वनामसाथीबाहेक सबै कारबाहीमा परे । त्यसपछि पार्टी औपचारिक रूपमा विभाजित भयो । कमरेड आले निर्मल लामाद्वारा नेतृत्व गरिएको एकताकेन्द्रमा रहनुभयो । प्रचण्ड नेतृत्वको बहुमत पक्षले २०५१ सालमै चितवनमा प्रथम राष्ट्रिय भेला गरेर (एकराज डल्लाकोटीको कुखुरा फाराममा अर्धभूमिगत रूपमा भएको) पार्टीको नाम परिवर्तन नगरेर नेकपा (माओवादी) राख्यो । निर्मम लामा पक्षले नेकपा (एकताकेन्द्र) नै राखिरह्यो । पार्टी नाम परिवर्तन गर्नुपर्नाको कारणबारे सार र रूपमा एकत्व कायम गर्न भनिएको थियो । २०५१ सालमा ललितपुर थैवमा राष्ट्रिय भेला गरेर नेकपा (एकताकेन्द्र) को नीति र नेतृत्व विन्यास गरिएको थियो । त्यसपछि पनि कमरेड आलेको कार्यक्षेत्र जनकपुर अञ्चल नै थियो । कमरेड आले जनकपुर ब्युरो इन्चार्ज भएर क्रियाशील हुनुभयो ।
गिरिराजमणि पोखरेल, विश्वनाथ साहहरूको कार्यक्षेत्र पनि जनकपुर नै थियो जससँग कमरेड आलेको विचार र कार्यशैलीमा अन्तरविरोध धेरै अघिदेखि प्रकट भइरहेको थियो । २०४६ सालको खुला वातावरणमा त्यसप्रकारको समस्या झन् बढ्नगयो ।
निर्मल लामाको अपमान
२०५० सालमा नै निर्मल लामालाई अत्यधिक मदिरापानका कारण अर्बुद रोग लागेको थाहा भयो । राजनीतिक बेवास्ताका कारण लामाप्रति पारिवारिक गुनासो थियो । नारायणकाजी र गिरिराजमणि पक्षले हस्तक्षेप बढाउँदै गोडा अड्काउँदै गएको थियो । त्यसपछि लामाले नेतृत्व हस्तान्तरण गर्नुपर्ने धारणा राख्न थालेका थिए । निनु चापागाईं सक्रिय राजनीतिबाट पृथक भएका र श्याम श्रेष्ठले पार्टी छोडेर पत्रकारिता गर्न थालेका कारण लामाले नारायणकाजी श्रेष्ठलाई अगाडि सारे । लामाले सुरुदेखि नै (निवृत्त जीवन) विषयमा राख्दै आएका थिए । मृत्युसम्म आफैँ पार्टी प्रमुख नभएर समयमै उत्तराधिकारी तयार गर्नुपर्छ भन्ने धारणा लामाको थियो । तर चित्रबहादुर, नरबहादुर, आले, अमिक शेरचनलगायत नारायणकाजीलाई नेतृत्व हस्तान्तरणका पक्षमा थिएनन् तर लामा त्यसो गर्न तयार भएनन् । थैव भेलाअघि नै नारायणकाजी श्रेष्ठ नेतृत्वमा पुगिसकेका थिए । नारायणकाजी र रूपलालका बीचमा मतभेद चुलियो । रूपलाल कम्युनिस्ट धाराबाटै पलायन भए । रूपलाल विकलाई पलायन हुनबाट रोक्ने प्रयासमा कमरेड आलेले मेहनत गर्नुभयो । तर सम्भव भएन ।
थैव भेलापछि जनकपुरमा संयुक्त जनमोर्चाको राष्ट्रिय भेला थियो । निर्मल लामाले जनमोर्चाको झन्डा हँसिया-हथौडा हटाउँदा धेरैलाई समेट्न सकिन्छ, पार्टीमा भए भइहाल्छ भनेका थिए । पार्टीमा भएको आन्तरिक छलफल लामाले सार्वजनिक गरिदिए । लामाको ठूलो आलोचना भयो । चित्रहादुर आले, नरबहादुर कर्माचार्य, अमिक शेचरचनहरूले पनि साथ दिएनन् । त्यसपछि लामा झनै निरास भए । म अब राजनीति गर्दिनँ, आलेले त साथ दिएन– निर्मल लामाले भनेका थिए । भेलामा चर्को आलोचना भएपछि नारायणकाजीले लामालाई जनकपुरकै लक्ष्मण रानाको घरमा लगेर अघोषित बन्दी बनाएको लामाको गुनासो भयो । साथीहरूले त भनेका थिए– सर्पलाई दूध खुवाए जस्तो भयो– निरास निर्मल लामा आफ्नानिकट सहयोगीसँग भन्ने गर्थे ।
जनकपुरको घटनापछि निर्मल लामामा निरासा झन्झन् बढेर गएको, लामालाई योजनाबद्ध रूपमा निषेध गरेको, सम्मानभावको नाटक गरेर नेतृत्व हत्याउने षड्यन्त्र गरेको कमरेड आलेको चर्को आरोप नारायणकाजीमाथि छ । त्यसपछि निर्मल लामा बैठकमा जान छोडे । बाहिर वरिष्ठ वामपन्थी नेता, पार्टीभित्र राजनीतिक समितिका सदस्य थिए । त्यसपछि लामाले मदिरापान झन् बढाउन थाले । घाँटीको अर्बुद रोगका कारण चिकित्सकले मदिरा पूर्णतः निषेध गरेका थिए ।
निर्मल लामालाई भरतपुर क्यान्सर अस्पतालमा भर्ना गरियो । लामा र आलेका बीचमा पारिवारिक सम्बन्ध थियो । निर्मल लामाले आलेकी छोरी इन्दीरालाई चितवन बोलाए । आले छोरीसहित ४ महिना चितवनमा लामासँग बसे । आलेले छोरीलाई पढ्न जान भने, तर छोरीले जनताको प्यारो नेता मर्दैछ, उसले मलाई छोड्न चाहेको छैन । पढाइ बिग्रोस् भनेर छोरी घर फर्किनन्– कमरेड आले भन्नुहुन्छ । घेरै दबाब दिएपछि छोरी फर्किन्, तर त्यसको ३ दिनमै लामाको काठमाडौँ, महाराजगन्जस्थित शिक्षण अस्पतालमा २०५५ सालमा निधन भयो । जीवनको अन्तिम क्षणमा लामालाई चितवनबाट काठमाडौँ लगिएको थियो । जयगोविन्द शाह, ऋषि देवकोटा ‘आजाद’ हुँदै २०५५ सालमा अर्का आदर्श निर्मल लामालाई कमरेड आलेले गुमाउनुपर्यो । साह पञ्चायतीकालमा रोग र बुढ्यौलीले मृत्युको मुखमा परे । लास नेपालमा ल्याउनसमेत पञ्चायती व्यवस्थाले थिएन । कमरेड आजादलाई आदर्श ठान्दाठान्दै साथ दिन सकेनन् । २०५५ सालमा कतिपय गुनासो र आलोचनासहित इमानदार ठानेका आदर्श निर्मल लामाको पार्टीभित्रबाट अपमानित भएको अवस्थामा दुःखद् निधन भयो । यी घटनाहरूतिर फर्केर हेर्दा कमरेड आले भावुक र उद्वेलित बन्नुहुन्छ । समयले सबैलाई निर्ममतापूर्वक कुल्चेर अघि बढ्दो रहेछ । तर आफ्नो विवेक र बर्कतले भ्याएपछि उहाँ न्याय र सत्यका पक्षमा लडिरहनुभयो ।
अन्तरपार्टी बहसमा जनयुद्ध
२०५२ सालमा नेपालमा सुरु भएको जनयुद्धले देशको सम्पूर्ण क्षेत्रमा प्रभाव पार्यो । विस्तारै संशोधनवादी धाराको नेतृत्व तत्कालीन नेकपा (एमाले) ले र क्रान्तिकारी धाराको नेतृत्व नेकपा (माओवादी)ले गर्न थाले । देशमा रहेका दर्जन कम्युनिस्ट नामधारी पार्टीहरू दुई धाराका दुई खेमामा डोलायमान हुँदै गए । ध्रुवीकरणको प्रक्रिया तीब्र भएर गयो । जनयुद्धको पक्ष र विपक्षमा बहस सुरु हुन थाले । कमरेड आले २०५७ मा गठित नेकपा (एकता केन्द्र-मसाल) पार्टीको नेता हुनुहुन्थ्यो । मृत्युको अन्तिम घडीमा मोहनविक्रम सिंह कुनै बेला आफैँले ‘गुप्तचर’ आरोप लगाएका निर्मल लामालाई भेट्न महाराजगञ्जस्थित शिक्षण अस्पताल पुगेका थिए । त्यही अवसरमा लामाले ''नारायणकाजीले पार्टी चलाउँदैन, पार्टी एकता गरेर तपाईंले सम्हाल्नुपर्यो । मैले दुःख गरेर निर्माण गरेको पार्टी विघटन हुने भयो", भनेका थिए । सिंहले तत्काल लामालाई आश्वस्त गर्दै ''तपाईंको इच्छा र मलाई सुम्पेको जिम्मेवारी पूरा गर्छु", भनेका थिए । त्यही प्रतिबद्धताअनुसार सिंहकै पहलकदमीमा नेकपा (एकता केन्द्र) र नेकपा (मसाल) को बीचमा पार्टी एकता भई नेकपा (एकता केन्द्र-मसाल) गठन भएको थियो । वस्तुगत रूपले नेकपा (माओवादी) प्रति बढ्दो आकर्षण र ध्रुवीकरणले यी दुई ‘मध्यमार्गी’ दलहरूलाई अस्तित्व रक्षा नै चुनौतीपूर्ण बनेको अवस्थामा यो एकता भएको थियो ।
पार्टी एकतापछि पनि यो दलका नेताहरूको जनयुद्धप्रतिको धारणा यथावत थियो । उनीहरू जनयुद्धका कटु आलोचक थिए । त्यस पार्टीका एक जना नेता डिलाराम आचार्यले एउटा सार्वजनिक सभामा ''माओवादीबाट बगेको रगत र महिलाको महिनाबारीमा बग्ने रगतको मूल्य एउटै हो" भन्न पुगे । नेकपा (माओवादी) र नेकपा (एकता केन्द्र-मसाल) को बीचमा ठाउँठाउँमा झडपहरू पनि भए । तर नारायणकाजी श्रेष्ठ जनयुद्धप्रति लचिलो हुँदैगए । जनयुद्धलाई हेर्ने दृष्टिकोणमा मतान्तर बढ्दै गएर यी दुई दलहरू अन्ततः पुरानै नाम र नेतृत्वमा टुक्रिए ।
निर्मल लामा र मोहनविक्रम सिंहको बीचमा दुई पार्टीबीच एकीकरण गर्ने विषयमा छलफल चलिरहेको बेला ती दुईओटा दलहरूको बीचमा कार्यगत एकता भइरहेको अवस्था थियो । निर्मल लामाको मृत्यु भएलगत्तै २०५७ सालमा पार्टी एकता भएको थियो । कमरेड आले भन्नुहुन्छ : ''केन्द्रीय समितिमा जनयुद्धप्रति सकारात्मक कोही पनि थिएन । नारायणकाजीको आफ्नै स्वार्थ र जनयुद्धलाई विसर्जन गराउने उद्देश्य थियो ।"
निर्मल लामा र मोहनविक्रम सिंहको बीचमा दुई पार्टीबीच एकीकरण गर्ने विषयमा छलफल चलिरहेको बेला ती दुईओटा दलहरूको बीचमा कार्यगत एकता भइरहेको अवस्था थियो । निर्मल लामाको मृत्यु भएलगत्तै २०५७ सालमा पार्टी एकता भएको थियो । कमरेड आले भन्नुहुन्छ : ''केन्द्रीय समितिमा जनयुद्धप्रति सकारात्मक कोही पनि थिएन । नारायणकाजीको आफ्नै स्वार्थ र जनयुद्धलाई विसर्जन गराउने उद्देश्य थियो ।"
२०६२ सालमा नारायणकाजी श्रेष्ठ माओवादी नेताहरूलाई भेट्न रोल्पा गए । श्रेष्ठ रोल्पाबाटै दिल्लीतिर हानिए । श्रेष्ठले अमिक शेरचन र चित्रबहादुर आलेलाई पनि दिल्ली बोलाएका थिए । आले दिल्ली जानुभएन, राष्ट्रघाती-जनघाती ‘१२ बुँदे सहमति’ को साक्षी किनारा बन्न मान्नुभएन । ''२००७ सालको दिल्ली सम्झौताले देश यस्तो अवस्थामा पुगेको छ । म अर्को दिल्ली सम्झौतामा औँठाछाप लगाउन दिल्ली जान्न भनिदिएँ", कमरेड आले भन्नुहुन्छ । ''माओवादीले पनि जनयुद्ध छोडेर शान्तिपूर्ण जनसङ्घर्षघर्षमा आउँने भनेको छ रे, प्रकाशले आलेलाई लिएर दिल्ली आऊ भनेका छन्", उसबेला अमिक शेरचनले भनेको सम्झनुहुन्छ कमरेड आले । यो २०६२ दसैँ-तिहारअगाडिको कुरा थियो । नारायणकाजी श्रेष्ठ दिल्ली गइसकेका थिए र उनले आले र शेरचनलाई तिहारलगत्तै बोलाएका थिए । बीचमा टेलिफोन वार्ता भयो :
शेरचन : नारायणकाजीले केही भनेको छ ?
आले : भनेको छ । मैले पनि भनेको छु ।
शेरचन : तपाईंले के गर्नुहुन्छ त ?
आले : अर्को दिल्ली सम्झौताको साक्षी बन्न जान्न ।
शेरचन : म के गरौँ त ?
आले : तपाईंलाई जे लाग्छ त्यही गर्नुस् ।
शेरचन : आफ्नो कुरा राखौँला, जाऊँ न
आले : बल नगर्नुस्, जान्नँ ।
शेरचन : तपाईंले के गर्नुहुन्छ त ?
आले : अर्को दिल्ली सम्झौताको साक्षी बन्न जान्न ।
शेरचन : म के गरौँ त ?
आले : तपाईंलाई जे लाग्छ त्यही गर्नुस् ।
शेरचन : आफ्नो कुरा राखौँला, जाऊँ न
आले : बल नगर्नुस्, जान्नँ ।
त्यसबेला २०६२/०६३ को जनआन्दोलनको सहयोगार्थ युवा संगठनले धान काट्ने, स्याहार्ने र श्रम गरेर आर्थिक संकलनको अभियान चलाएको थियो । सो अभियान उद्घाटन गरेर अमिक शेरचन दिल्ली हानिए । माओवादी नेताहरूसँगको सहकार्य, १२ बुँदे सहमति, जनआन्दोलनलगायत कयौँ विषयमा पार्टीको नाममा नारायणकाजी एक्लै निर्णय गर्थे । मोहनविक्रम सिंहसँग एउटै पार्टीमा भए पनि छलफल बन्द थियो । आ-आफ्ना गुटहरू चलाइरहेका थिए । त्यस्तो अवस्थामा चित्रबहादुर आले, नवराज सुवेदी, परि थापा, चिरन पुन, रामसिंह श्रीस, केबी गुरुङ, युवराज पन्थीहरू नारायणकाजी र मोहनविक्रम सिंह दुवैको गुटमा नलाग्ने, पार्टी फुटाउन नदिने र संयुक्त भेला बोलाउने रणनीतिमा लागे, तर उनीहरूको प्रयास असफल भयो । कालान्तरमा उनीहरूको पनि अर्को समूह बन्न गयो । “गर्दागर्दै हाम्रो पनि अलग पार्टी पो बन्न गयो त", कमरेड आले भन्नुहुन्छ । त्यसपछि रामसिंह श्रीसको नेतृत्वमा अर्को दल नेकपा (एकता केन्द्र-मसाल) अस्तित्वमा आयो । नारायणकाजीले पुरानो समूह चलाउन थाले ।
पूर्वी नेपालका नेताहरू भेला रोकेर फर्कन्छौँ भन्दै गएका थिए । भेला बहिष्कार गरेर फर्किए । त्यसपछि मोहनविक्रम सिंह नेतृत्वको भेलाले नेकपा (मसाल) ब्युँतायो र आफ्नै मुख्य नेतृत्वमा रहेको पार्टी नेकपा (एकता केन्द्र –मसाल) सँग ''न सम्बन्ध, न त सम्बन्ध विच्छेद" भएको अवस्था भन्दै वक्तव्य जारी गर्यो । आफू नेतृत्वमा रहिरहेको र कारबाहीमा पनि नपरेको अवस्थामा समानान्तर पार्टी गठन भएको अनौठो घटना थियो त्यो ।
तेस्रो धारको उदय
मोहनविक्रम सिंहलाई नयाँ पार्टी विघटन गर्न र आत्मालोचना गर्न दबाब दिने निर्णयमा तेस्रो धार थियो । यो धारमा केही समयसम्म झापाका धर्मचन्द्र लावती र सोनाम साथी पनि थिए । केन्द्रीय समितिको बैठक बोलाउन दबाब दिए । नारायणकाजीले ''अर्को पार्टी भइसक्यो, अब हाम्रो महामन्त्री पनि होइन" भने । उनी सिंहलाई भेट्न पनि तयार भएनन् । मोहनविक्रम सिंहले केन्द्रीय समितिको बैठक बोलाए, तर त्यसमा सिंह पक्षधर ११ जनाको मात्र उपस्थिति भयो । श्रेष्ठ पक्षधर एक जना पनि बैठकमा गएनन् । पार्टी औपचारिक रूपले फुटेको सो बैठकमा बोल्दाबोल्दै युवराज पन्थी धरधरी रोएका थिए । आलेसहितको फुटवाद विरोधी समूहले नारायणकाजी श्रेष्ठ र मोहनविक्रम सिंह कुनै पनि गुटमा नलाग्ने निर्णय गर्यो । त्यसपछि नयाँ पार्टी निर्माणको प्रक्रिया सुरु भयो ।
मोहन विक्रम सिंहले नयाँ पार्टी घोषणा गरेपछि नारायणकाजीले पनि आफू पक्षधरको बैठक बोलाए । बैठकमा कमरेड आले पनि सहभागी हुनुहुन्थ्यो । ''सोनाम साथीलाई नेतृत्व देऊ, सम्मेलन-भेलाले तिमीलाई नै चयन गरेछ भने ठीकै छ", आलेसहितको मध्यमार्गी समूहले प्रस्ताव राख्यो । राजतन्त्र सक्रिय हुनासाथ नारायणकाजी भूमिगत भएका र मोहनविक्रम सिंह भारत निर्वासनमा गएका थिए । अमिक शेरचन गिरफ्तार भएका थिए । जनमोर्चाको उपाध्यक्ष कमरेड आले हुनुहुन्थ्यो । मोहनविक्रमलाई रामसिंह श्रीस र नारायणकाजीलाई चित्रबहादुर श्रेष्ठले खोजी गर्ने भन्ने सल्लाह भयो । त्यसपछि मात्र राजनीतिक समिति (पिबी) को बैठक बसेको थियो । त्यसबेला माधव नेपाल, गिरिजाप्रसाद कोइराला पनि गिरफ्तार भइसकेका थिए । त्यसबेला आले जनमोर्चाको कार्यवाहक अध्यक्ष हुनुभएको थियो । परि थापाले प्रकाश र सिंहलाई ''एउटा दम्पट अर्को चम्पट" आरोप लगाएका थिए । मध्यमार्गी पार्टी निर्माणको क्रममा सोनाम साथी र धर्मचन्द्र लावतीले उनीहरूको साथ छोडे ।
२०६३ वैशाखमा काठमाडौँमा भएको राष्ट्रिय भेलाले रामसिंह श्रीसको नेतृत्वमा नेकपा (एकता केन्द्र- मसाल) गठन गर्यो । त्यसपछि नारायणकाजी श्रेष्ठले दिल्ली र मोहनविक्रम सिंहले गोरखपुरमा आ-आफ्नो पार्टीको केन्द्रीय समितिको बैठक बोलाए । मध्यमार्गी समूहको बैठक भने राजनीतिक–व्यावहारिक स्थिति जसरी नै गोरखपुर र दिल्लीको बीच लखनउमा बोलाइयो । सो बैठकले श्रेष्ठ र सिंह दुवै पक्षलाई बैठकमा बोलायो । दुवै पक्षधर बैठकमा उपस्थित भए । एक हप्तासम्म बहस चल्यो । त्रिपक्षीय टक्कर भयो । समाधान हुन सकेन । त्यसपछि सबैले आ-आफ्नो डम्फु बजाउन थाले ।पार्टी नै खुला भएको परिस्थितिमा वैधानिक मोर्चा आवश्यक नपर्ने ठहर गरी मध्यमार्गी समूहले वैधानिक मोर्चा विघटन गरेको थियो ।
क्रान्तिकारी ध्रुवीकरणतर्फको यात्रा र '१२ बुँदे सहमति' को विरोध
जनयुद्धको विषयमा पार्टीमा छलफल चलिरहन्थ्यो । चित्रबहादुर आले र चिरन पुन जनयुद्धप्रति सकारात्मक बन्दैगएका थिए । प्रचण्ड र किरण पक्षधरको सङ्घर्षमा कमरेड आलेलाई किरण पक्ष ठीक लाग्दै गएको थियो । नारायणकाजी श्रेष्ठले प्रचण्डको पक्षपोषण गरिरहेको बेला कमरेड आले भने किरण पक्षतिर ढल्किँदै जानुभएको थियो । ''प्रचण्डले घुँडा टेक्यो भनेर दिल्ली नगएको हो", कमरेड आले भन्नुहुन्छ । जनयुद्धमा सहभागी नभएकोमा एक प्रकारको पछुतो देखिन्छ आलेमा । कमरेड ऋषि देवकोटा ‘आजाद’ को सपना र जनयुद्धका सहिदको सपनामा समानता देख्नुहुन्छ, कमरेड आले । नेपालमा फेरि कसैले दलाल सत्ताको विरुद्ध विद्रोह गर्यो भने ढिलो नगरी सहभागी हुने सोचको विकास भयो उहाँमा । त्यसबेला दिल्लीमा '१२ बुँदे' को खुसीयालीमा दारु पार्टी चलिरहेको बेला चित्रबहादुर आले, परि थापा, नवराज सुवेदीलगायतले '१२ बुँदे सहमति' को विपक्षमा विज्ञप्ति जारी गरेका थिए । मोहनविक्रम सिंहले पनि १२ बुँदे सहमतिको विरोध गरेका थिए । नारायणकाजी श्रेष्ठ '१२ बुँदे' रूपी जनयुद्धको हत्या गर्ने सहमतिपत्र बोकेर आएका थिए ।
नारायणकाजी श्रेष्ठ रोल्पा जाँदा ''साथीहरूले बोलाएका छन्, रोल्पा जान्छु" भनेर नारायणकाजी रोल्पा जाँदा कमरेड आलेमा अनेक आशंका पैदा भएका थिए । ''प्रकाशलाई गिरिजाले किन्यो । प्रकाशमार्फत प्रचण्ड खरिद भए । अमिक शेरचनलाई गिरिजाले किनिसकेको थियो", कमरेड आले भन्नुहुन्छ ।
प्रचण्ड र किरणको बीचमा पार्टी विभाजन हुनासाथ कमरेड आले र चिरन पुन नेकपा-माओवादीमा ध्रुवीकृत भए । त्यसबेला उहाँहरू क्रान्तिकारी धारामा निःशर्त, मोलतोल नगरीकन सर्वहारा भावनाका साथ सहभागी हुनु भएको थियो । त्यसबेला कमरेड आले केन्द्रीय सदस्य र चिरन पुन वैकल्पिक केन्द्रीय सदस्य भएका थिए । बिडम्वना ! आले नयाँ सपना र अपेक्षासहित सहभागी भएको बैठकमा कमरेड विप्लव र कमरेड किरणका अलगअलग दस्तावेजहरू प्रस्तुत भए । कमरेड चित्रबहादुर आले विप्लवद्वारा प्रस्तुत दस्ताबेजप्रति निकट हुनुहुन्थ्यो । त्यसको गन्ध पाएका देवप्रसाद गुरुङले आलेको निवासमा भएको भेटमा ''चिरन पुनलाई केन्द्रीय सदस्य र तपाईंलाई पोलिटब्युरोमा राख्नुपर्ने प्रस्ताव किरणको थियो, तर विप्लवले नमानेको कारण सकिएन", भनेछन् । त्यो घटनाले कमरेड आलेमा देव गुरुङ गुटप्रति अपार घृणा पैदा गर्यो । अनुशासन र नियतको दृष्टिले पनि त्यो प्रसङ्ग राम्रो थिएन । आफूलाई लालचमा पारेर खरिद गर्न खोजेको महसुस गर्नुभयो, कमरेड आलेले । त्यसपछि कमरेड चित्रबहादुर आले क्रान्तिकारी धारतिर खुलेर सहभागी बन्नुभयो ।
भिडियो फिचरview all