menu

ताजा समाचार

टिप्पणी : नेकपा (क्रान्तिकारी माओवादी) ‘आइकोर’ को सदस्य बन्ने सन्दर्भ

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को प्रकाशन ‘वर्गदृष्टि’ को जेठ २१ को अङ्कमा ‘आइकोरको सदस्य बन्दै देजमो’ शीर्षकमा एउटा समाचार छापिएको छ । त्यसमा भनिएको छ : “नेकपा (क्रान्तिकारी  माओवादी)का महासचिव मोहन  वैद्य ‘किरण’ र देशभक्त जनगणतान्त्रिक  मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलसँग  जर्मनीको एमएलपिटी (मार्कसिस्ट-लेनिनिस्ट पार्टी अफ डचल्याण्ड) का  केन्द्रीय सचिवालय सदस्य र केन्द्रीय  सदस्य तथा पार्टी प्रकाशन विभागका  सदस्यसँग भेटवार्ता सम्पन्न भएको  छ । आइकोर साम्राज्यवाद र फासिवादका विरुद्ध  क्रान्तिकारीहरूले चलाउने अभियान  तथा मोर्चावन्दी गर्ने प्लेटफर्म हो । पार्टी  तथा मोर्चाको निर्णय र उक्त छलफलमा  देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल पनि आइकोरको सदस्य बन्ने सहमति भएको  अध्यक्ष गजुरेलले जानकारी दिनुभयो ।”

‘आइकोर’ मूलतः जर्मनीको एमएलपिटी (माक्र्ससिस्ट–लेनिनिस्ट पार्टी डचल्याण्ड) अफ जर्मनी) को नेतृत्वमा परिचालित  साम्राज्यवाद विरोधी मोर्चा हो ।

यो समाचार प्रकाशनमा आएपछि जर्मनीको मार्क्सवादी-लेनिनवादी पार्टी कस्तो पार्टी हो, ‘आइकोर’ के हो र नयाँ ‘रिम” निर्माणमा भन्दा ‘आइकोर’ मा नेकपा (क्रान्तिकारी माओवादी) ले बढी रुचि किन राख्यो भन्ने कुरामा जिज्ञासा तथा टिप्पणी हुनु स्वाभाविक छ ।
माओवादी क्रान्तिकारीहरूको अन्तर्राष्ट्रिय संस्था ‘रिम’ एक हिसाबले विघटनको स्थितिमा पुगेपछि विश्वका क्रान्तिकारीहरू, मार्क्सवादी-लेनिनवादी-माओवादीहरूले  बदलिँदो परिस्थितिअनुसार नयाँ अन्तर्राष्ट्रिय केन्द्र बनाउनुपर्छ भनेर सन् २०११ देखि निरन्तर प्रास गरिरहेका छन् । यसै क्रममा ‘रिम’ निर्माणको घोषणा भएको दिन पारेर विश्वका माओवादी पार्टी, सङ्गठन र समूहहरूले यताका वर्षहरूमा मे दिवसका दिन संयुक्त घोषणपत्र पनि जारी गरिरहेका छन् । साथै ल्याटिन अमेरिका तथा युरोपका कतिपय माओवादी पार्टी तथासङ्गठनहरूले आफ्नै पहलमा पनि यस आन्दोलनलाई अघि बढाइरहेका छन् । यस क्रममा क्रान्तिकारीहरूको नयाँ  केन्द्र निर्माण र साम्राज्यवादविरोधी मोर्चा निर्माण गर्ने अभियान निरन्तर जारी छ ।

अहिले नेकपा (क्रान्तिकारी माओवादी) सदस्य बन्ने भनेर उल्लेख गरिएको ‘आइकोर’ र जर्मनीको मार्क्सवादी–लेनिनवादी पार्टी, ‘रिम’ निर्माण अभियान सम्बद्ध कुनै पनि गतिविधिमा सहकार्य भए/गरेको पार्टी तथा मोर्चा होइन, जर्मनीको मार्क्सवादी-लेनिनवादी पार्टीलाई विश्वका क्रान्तिकारी माओवादी पार्टी तथा सङ्गठनहरूले चुनावमुखी संशोधनवादी पार्टी भन्ने गरेका छन् । यस्तो चुनावमुखी र विश्वका क्रान्तिकारीहरूले संशोधनवादी भनेर अन्तर्राष्ट्रिय स्तरमा कुनै पनि गतिविधिमा सरिक नगएको पार्टी जर्मनीको मार्क्सवादी-लेनिनवादी पार्टीसिट सहकार्र्य गर्ने तथा ‘आइकोर’ को सदस्य बन्नुपर्ने आवश्यकता नेकपा (क्रान्तिकारी माओवादी) लाई किन परेको होला भनेर प्रश्न उठ्नु आवश्यक छ ।
जर्मनीको मार्क्सवादी-लेनिनवादी पार्टी ‘मार्क्सिस्ट-लेनिनिस्ट पार्टी अफ डचल्याण्ड’(एमएलपिटी) को गठन सन् १९८२ मा भएको थियो । ‘कम्युनिस्ट वर्कर्स युनियन अफ जर्मनी’ का सदस्यहरूद्वारा गठित यो पार्टीले आफूलाई मार्क्स, एङ्गेल्स, लेनिन तथा माओका योगदानहरूप्रति प्रतिबद्ध भने पनि माओवादलाई भने मान्दैन । यसले समाजवादी क्रान्तिको कुरा गर्छ र  जर्मनीको संविधानअनुसार स्थानीय तथा केन्द्रीय चुनावमा सहभागी हुने गरेको छ । सन् १९९८ को  केन्द्रीय चुनावमा यसले ०.०१ प्रतिशत भोट पाएको थियो भने पछिल्लो केन्द्रीय चुनावमा ०.१ प्रतिशत भोट पाएको थियो । यो यसले अहिलेसम्म पाएको अधिकतम भोट हो । विगतमा यसको सम्बन्ध भारतमा चुनावमा भाग लिने भाकपा (माले) लिबरेसन, रेडस्टारलगायतका पार्टीहरूसित छ । दस्ताबेजमा संशोधनवाद विरोधी साम्राज्यवाद विरोधी पार्टी भने पनि जर्मनीका अन्य माओवादी पाटीहरूसित यसको सम्बन्ध राम्रो छैन र चुनाव बहिष्कारको राजनीतिलाई पनि बेठीक भन्छ । यसले 'जनयुद्ध' को राजनीतिलाई पनि ठिक मान्दैन ।यसले चीनलगायत विश्वका १८ ओटा मुलुकहरू नयाँ साम्राज्यवादी मुलुकका रूपमा विकसित हुनथालेको भनेर आफ्नो दस्ताबेजमा उल्लेख गरेको छ ।

नयाँ ‘रिम’  निर्माण अभियानमा लागेकाहरू मार्क्सवाद-लेनिनवाद-माओवादलाई विश्वक्रान्तिको पथप्रदर्शक सिद्धान्त मान्दछन् । उनीहरू  क्रान्तिका तीन जादुगरी हतियारप्रति प्रतिबद्ध छन् र  हरेक मुलुकको विशिष्टतामा जनयुद्ध नै विश्वक्रान्तिको बाटो हो भनेरे प्रतिबद्धता जनाउँछन् । उनीहरू विश्वमा जनयुद्ध चलाइरहेका पार्टीहरू भाकपा (माओवादी), फिलिपिन्स कम्युनिस्ट पार्टी, टर्कीको माओवादी पार्टीप्रति ऐक्यबद्धता जनाउँछन् ।  एक वा अर्को बाहना बनाएर प्रतिक्रियावादी चुनावमा भाग लिनु भनेको संशोधनवादी चिन्तन हो र यसले अन्ततः संसदीय भासमा नै पुर्याउँछ भन्ने कुरामा दृड छन् ।
 
चुनावमा भाग लिने कुराबाहेक अन्य कुरा मेल नखाने पार्टीसित सह कार्य गर्ने तथा उसको नेतृत्वमा रहेको मार्चाको सदस्य बन्नुपर्ने आवश्यकता नेकपा (क्रान्तिकारी माओवादी) किन परेको होला भन्ने प्रश्न उठ्नु स्वाभाविक छ ।  यसले ‘रिम’ निर्माण अभियानमा क्रियाशील अन्य पार्टीहरूमा पनि नेकपा (क्रान्तिकारी माओवादी) प्रति अविश्वास जाग्नु स्वाभाविक छ । हिजो जनयुद्ध लडेको पार्टीको विरासत बोकेको र ‘कोरिम’ मा संलग्न  सदस्यसमेत रहेको पार्टीले अन्तर्राष्ट्रिय क्षेत्रमा खेल्नुपर्ने भूमिका नखेलेको तथा चुनावी तथा वैधानिक बाटोलाई बढी महत्व दिएको भनेर अन्तर्राष्ट्रिय क्षेत्रका माओवादीहरूले प्रश्न उठाइरहेको अवस्थामा ‘आइकोर’ को सदस्य बन्ने निर्णयले थप आशङ्कमा उत्पन्न हुनु स्वाभाविक छ ।

जर्मनीको मार्क्सवादी-लेनिनवादी पार्टी र ‘आइकोर’ एउटै संस्था नभए पनि ‘आइकोर’ को मूल नेतृत्वमा माओवाद नमान्ने, जनयुद्धको विरोध गर्ने  चुनावमुखी पार्टीहरू रहेका छन् ।  विश्वका कुनै पनि क्रान्तिकारी माओवादी पार्टी यसको सदस्य छैन ।  क्रान्तिको कुरा गर्ने, तर सशस्त्र सङ्घर्षभन्दा चुनावी राजनीतिमा जोड दिने भारतका भाकपा (माले) रेड स्टार तथा मोहनविक्रमको मसाल जसता पार्टी  ‘आइकोर’ का सदस्य छन् ।

नेकपा (क्रान्तिकारी माओवादी) होइन, त्यसको चुनावी मोर्चा ‘देशभक्त जनगणतान्त्रिक मोर्चा’ ‘आइकोर’ को सदस्य बन्न लागेको हो भनेर पनि तर्क गर्न सकिएला । कार्यकर्तालाई भन्न पनि सकिएला, तर यसले केही प्रश्न उठाउँछ नै । वास्तवमा जे जे तर्क दिए पनि जर्मनीको मार्क्सवादी-लेनिनवादी पार्टीसित सहकार्य गर्ने तथा  ‘आइकोर’ को सदस्य बन्ने कुराले अन्तर्राष्ट्रिय माओवादी क्षेत्रले नेकपा (क्रान्तिकारी माओवादी) ले कित्ता फेर्न लागेको,  मोहनविक्रम समूहको लाइनमा पुग्न थालेको भनेर प्रश्न उठाउने नै छ । जे जे तर्क गर्ते पनि यो नेकपा (क्रान्तिकारी माओवादी) को  “पश्च छलाङ” तर्फको सङ्केत त होइन ? भनेर तर्क गर्ने आधार चाहिं  यसले दिएको छ ।


    

भिडियो फिचरview all