ताजा समाचार
अमेरिकी माओवादीहरू भन्छन् : माओवाद सशस्त्र पहिचानवादी राजनीति होइन
(अमेरिकामा कम्युनिस्ट पार्टीको स्थापना धेरै पहिले भएको हो । तर स्थापनाकालको अमेरिकी कम्युनिस्ट पार्टी अब नाम मात्रमा छ । उसबाट कुनै प्रतिरोधी कामकारबाही भएको पाइँदैन । बरु अमेरिकामा ट्रस्कीवादीहरूको बौद्धिक क्षेत्रमा केही प्रभाव रहेको पाइन्छ । एक कालखण्डमा बभ अभाकियनले नेतृत्व गरेको आरसिपी, अमेरिकाको अमेरिकामा राम्रै प्रभाव थियो । २१औँ शताब्दी नयाँ माओ बन्ने रहर र लहडका साथ ‘उत्तरवादी’ (Post-ism) धारणाको पुर्पक्ष गर्दै एकाइसौँ शताब्दीको नयाँ घोषणापत्र भनेर ‘न्यु सिन्थेसिस’ अगाडि सारेपछि विश्वभरिका मार्क्सवादीहरूले यसको तीव्र आलोचना गरेका छन् र अमेरिकामा पनि उनको प्रभाव एकदमै घटेको छ । यसै क्रममा पछिल्ला ३ वर्ष अमेरिकामा माओवादी आन्दोलनलाई नयाँ किसिमले पुनर्गठन गर्ने कार्य जारी छ । कम्युनिस्टको नाममा संसदवादको अभ्यास गर्नेहरू, मार्क्सवादलाई बौद्धिक विलासको माध्यम बनाउने ट्रट्स्कीवादीहरू तथा विसर्जनवादको वकालत गर्ने अभाकियनहरूका विरुद्ध विद्रोह गर्दे नयाँनयाँ समूह र रेड गार्डसहरू बनाउने क्रम जारी छ । पहिले राज्यराज्यमा समूहहरू निर्माण गर्ने र पछि एकताबद्ध भएर अघि बढ्ने भन्ने उनीहरूको भनाइ रहेको छ । उनीहरूका दस्ताबेजमा मालेमावाद नै वर्गीय, जातीय, योनिक उत्पीडन र रङ्भेदी प्रवृत्तिबाट मुक्त गराउने सिद्धान्त हो र अमेरिकी उत्पीडित जनताको मुक्ति माओवादी आन्दोलनबाट मात्र सम्भव छ भनेर उल्लेख गरिएको छ ।
अमेरिकामा वर्गीय उत्पीडनका साथै रङ्भेदी प्रवृत्ति पनि चरमरूपमा छ र कतिपयले माओवादको व्यापक र वर्गीय प्रश्नलाई कालाहरूको मुक्तिको सिद्धान्तमा मात्र सीमित गर्ने गरेको पनि पाइन्छ । माओवाद मूलतः वर्गीय मुक्तिको सिद्धान्त हो र वर्गीय प्रश्नलाई एकातिर पन्छाएर गरिने जात, क्षेत्र, लिङ्ग र रङ्भेदमा सिमित सङ्घर्षको कुनै अर्थ छैन, अन्ततः यसले प्रतिक्रियावादी वर्गलाई नै सघाउ पुग्छ भन्ने भनाइ वर्गीय मुक्तिलगायत सबै खाले उत्पीडनका विरूद्ध लडिरहेका माओवादीहरूको रहेको छ ।
प्रस्तुत रचना माओवादलाई ''पहिचानको राजनीति” (identity politics) मा सीमित पार्न खोज्ने उत्तरआधुनिकतावादी प्रवृत्तिको आलोचनास्वरूप ‘रेड गार्ड, अस्टिन’ सम्बद्ध माओवादी कमरेडहरूद्वारा लेखिएको हो । यसको सन्दर्भ आफूलाई माओवादी भन्ने तर माओवादलाई ‘पहिचानको राजनीति”मा सीमित गर्ने एकथरी अमेरिकी 'माओवादीहरू' प्रति रहेको भए पनि यस लेखको महत्त्व सार्वभौम प्रकृतिको छ । लेखले सोझैँ “माओवाद सशस्त्र पहिचानवादी राजनीति होइन” भनेर वैचारिक निष्कर्ष निकालेको छ । नेपालमा पनि एकथरीले माओवादले मात्र पुग्दैन ''पहिचानको राजनीति” (identity politics) चाहिन्छ भनेर ''उत्तर-मार्क्सवाद" (Post-Marxism) को वकालत गरिरहेको अवस्थामा सो आलेख लाभकारी हुने ठानी त्यसको अनुवाद हामीले यहाँ प्रस्तुत गरेका छौँ । )
.................................................................................................................................
उत्तरआधुनिकवादले साम्राज्यवादी केन्द्रहरूका कम्युनिस्ट आन्दोलनमा पारेको असर : रेड गार्ड अस्टिन
''मैले तपाईँहरूलाई भने नि, हामी त्यो ठाउँमा आइपुगेका छौँ, जहाँ दीनदुखीहरूले आफ्नो भलाइका लागि सोच्ने कुरासमेत बिर्सिसकेका छन् " : दाँते
नारकीय जीवन बिताइरहेकाहरू सबैसित मेलखाने दुखद कुरा के छ भने साँघुरो र आफूमै सीमित विश्वदृष्टिकोणका कारण उनीहरूले आफ्नो सोच्ने क्षमता सदाका लागि गुमाइसकेका छन् र यसले उनीहरूलाई कहिल्यै पनि सत्यतर्फ अग्रसर गराउन सक्तैन ।
सर्वहारा क्रान्तिकारी आन्दोलनमा साँचो एकता सर्वहारा स्वार्थका आधारमा मात्र स्थापित गर्न सकिन्छ । सङ्कीर्ण निजी-स्वार्थ र व्यक्तिवाद जस्ता कमजोरीहरू विरुद्ध कम्युनिस्टहरूले आफूलाई दरिलो बनाउनै पर्छ, जन्मेदेखि नै हामीलाई बुर्जुवा समाजका विविध धारणाहरूले प्रभावित पारेका हुन्छन् तापनि, त्यो हाम्रो असली वर्गस्वार्थले भन्दा सबै मानवीय सम्बन्धहरू र सम्बद्ध विश्लेषणहरूलाई “यसबाट मलाई के फाइदा हुन्छ” को नाराद्वारा डोर्याइएको आत्मघाती विचारले हामीलाई सदैव व्यक्तिवादी भएर सोच्न मात्र उत्साहित पार्छ । क्रान्तिकारी साम्यवादको अभियानमा लागेको हरेकले यस प्रवृत्तिलाई फेर्न, आफू वरिपरिको संसार र स्वयम् आफूलाई फेर्न उभिनुपर्ने हुन्छ ।
माओवाद सशस्त्र पहिचानवादी राजनीति होइन
“उत्तरआधुनिकवादको जरो एक शताब्दी अघिसम्म फैलिएको पाउन सकिन्छ तापनि, यसको वर्तमान स्वरूपको आयाम नित्सेको दर्शनसित गाँसिएको छ, जुनचाहिँ हिटलरको फासिवादको जननी हो । साम्यवादमा देखापरेको अस्थायी धक्का, सोभियत रूस र चीनमा भएको प्रतिक्रान्ति र १९६० र ७० को दशकमा राष्ट्रिय मुक्ति आन्दोलनले खाएको धक्काका कारण देखिएको बौद्धिक खालिपनमा यसले हलक्कै बढ्ने अवसर पायो । कम्युनिस्ट आन्दोलनले खाएको धक्काका फलस्वरूप पैदा भएको निरासावादी वातावरणबाट उदास भएका कतिपय मार्क्सवादीहरूको तहबाट समेत उत्तरआधुनिकतावादले हजारौँ अनुयायीहरू पायो ।” सिराज
साँच्च्चै हो, सिराजका भनाइमा साम्राज्यवादी मुलुकहरूका अनलाइन माध्यम तथा सामाजिक सञ्जालमा प्रवेश गर्दै सामाजिक आन्दोलनहरूको व्याख्या गर्ने प्रमुख माध्यम बनेर उत्तरआधुनिकतावादले साम्राज्यवादी मुलुकहरूका वाम प्राज्ञिक केन्द्रहरूमाथि प्रभुत्व स्थापित गर्न सक्यो । यो यस्तो विषाक्त स्याउ हो, जहाँ पुग्छ विभिन्न किसिमका विशिष्ट समूह र विशिष्ट समस्यालाई विश्लेषण गर्न क्रान्तिकारी विधि पहिलेदखि तमतयार छैन भनेर हल्ला मच्चाउँछ र यो जे चिजको सम्पर्कमा पुग्छ निराशा मात्र उत्पन्न गराउँछ ।
वाम क्षेत्रमा उत्तरआधुनिकतावादले प्रभावित पार्न खोजेको कुराहरूमध्ये एउटा प्रमुख कुरा “पहिचानको राजनीति” पनि हो । हामीले यहाँ जसरी यो पदावलीको चर्चा गरेका छौँ, यसमा प्रस्ट हुनु आवश्यक छ । “पहिचानको राजनीति” भन्नाले विश्वलाई राजनीतिक कोणबाट भन्दा पहिचानको कोणलाई प्रधान मानेर व्याख्या गर्ने विधिसित यसको साइनोसम्बन्ध छ । “पहिचानको राजनीति” ले उत्पीडनमा परेका मान्छेहरूले व्यक्त गरेका निजी विचारहरूलाई समेत अकाट्य सत्यको रूपमा लिन्छ । यसले ऐतिहासिक सत्यतथ्यको गहिरो र व्यापक अध्ययनका बीचबाट गरिएको पुँजीवाद-साम्रज्यवादसम्बन्धी वैज्ञानिक विश्लेषण र व्याख्यासित खास व्यक्ति अथवा समूहको धारणा अथवा विचार मेल खानै पर्छ भन्ने छैन भन्ने व्याख्या गर्दै सत्यको अन्वेषणको सही र वैज्ञानिक स्रोतको आवश्यकतालाई खारेज गर्छ ।
माओवादले आर्थिक आधार र उपरिसंरचनाबीचको द्वन्द्वात्मक सम्बन्ध, वर्गउत्पीडन र यसका कारणहरू समाजमा विद्यमान थुप्रै पहिचानहरूको प्रभावको परिणाम हो भनेर व्याख्या गर्छ । यी पहिचानहरू समाजमा विद्यमान स्वेत-रङ, उच्चताभाव तथा पुरुष प्रधान समाजका आधारमा मात्र निर्मित हुन्छन् भनेर पहिचानहरूका आधारमा राजनीतिक धारणा बनाउनु भनेको आफैँमा पराजित हुनुको गल्ती हो । पहिचानहरूलाई राजनीतिक दिशासित जोडेर अध्ययन गरेमा मात्र पहिचान होइन, राजनीति प्रधान आधार बन्छ र बन्नुपर्ने हुन्छ । यस अर्थमा भौतिकवादी विश्लेषण र कम्युनिस्ट राजनीतिक पक्षधरताका आधारमा “पहिचानका राजनीतिहरू” को आलोचना गरिनुका साथै यसको खारेजी पनि गरिनुपर्छ । माओवादले विशिष्ट समूह र विशिष्ट उत्पीडितहरूको अस्तित्वलाई समाजको वर्गविश्लेषण र वर्गसङ्घर्षको सन्दर्भ र सम्बन्धका आधारमा पहिचान गर्छ र समाधानको उपाय खोज्छ ।
सिराजले व्याख्या गरेझैँ, साम्यवादी गत्यावरोध अन्त्य भएसँगै कम्युनिज्मप्रति एक किसिमको आकर्षण देखापर्यो , यसो हुनुको कारण ट्रम्पको प्रशासनको आरम्भ तथा डेमोक्रेटिक पार्टीको कमजोरीप्रतिको सचेतन प्रतिक्रिया मात्र थिएन, त्यो भन्दा बढी अमेरिकी साम्राज्यवादले उत्पन्न गरेको वस्तुगत स्थिति र नव-उदारवादमा आएको सङ्कटका कारण देखापरेको पपुलिस्ट दक्षिणपन्थी विचारधारा पनि थियो । यस्तो वस्तुगत स्थितिले जनसमुदायको एउटा हिस्सालाई मार्क्सवाद-लेनिनवाद-माओवादप्रति आकर्षित हुने वातावरण प्रदान गर्यो । यस्तो बेला माओवादी पार्टीको अभावमा साम्यवादप्रति आकर्षित व्यक्तिहरूलाई यथेष्ट मात्रामा राजनीतिक शिक्षा प्रदान गर्न सहज हुँदैन । विडम्बनाको विषय के छ भने, यस्तो वस्तुगत तथा आत्मगत स्थितिमा पनि आफूलाई माओवादी भन्ने अथवा आफूहरूलाई मार्क्सवाद- लेनिनवाद- माओवादका पक्षधर भन्न रुचाउनेहरू नै आफूले अँगालेको खास विचारप्रति आफू स्वयम् भ्रमित र गलत बुझाइका साथ देखापरेका छन् ।
यो लेखमा हामी आफूलाई अमेरिकी स्थितिमा मात्र केन्द्रित गर्न सक्छौँ, तर, उत्तरआधुनिकतावाद र अन्य बुर्जुवा विचारधाराले प्राज्ञिक क्षेत्र र विश्वविद्यालयका विद्यार्थीहरूमाथि प्रभुत्वकारी असर कायम गरेका सबै साम्राज्यवादी मुलुकहरूका लागि पनि यो विश्लेषण लाभदायी साबित हुनसक्छ भन्ने हामीलाई लाग्छ । यो प्रभुत्वकारी असरले हरेक अनलाइनमा ठाउँ पाएको छ, खास गरेर फेसबुक, टम्बलर जस्ता सामाजिक माध्यमहरू, पुँजीवादअन्तर्गतका साशक वर्गको नियन्त्रणमा रहेका धेरजसो प्रमुख माध्यमहरूजस्तै यिनले पनि प्रतिक्रियावादी राज्यसंयन्त्रको विचारधारात्मक अंश बनेर बुर्जुवा विचारधाराको निर्माण गर्छन् । फलस्वरूप कतिपयहरू मालेमा =परिचयको राजनीति+सशस्त्र सङ्घर्ष र सैन्यकरण भन्ने गलत विश्वासमा परेका छन् भन्ने कुरामा आश्चर्य मान्नु पर्ने कुरा छैन । गलत विचारबाट छुटकारा दिलाएर सत्यको जानकारी गराउन पहिले हामीले सवै परिदृश्यको जाँचपडताल गर्नु आवश्यक छ ।
ऐतिहासिक सन्दर्भमा अमेरिकाको मार्क्सवादी-लेनिनवादी आन्दोलन अर्थवादी राजनीति (आफैँमा परिचय राजनीतिको एउटा रूप, गोरो मान्छे काराखानाको कामदारमा आधारित युरोकेन्द्रित अवधारणा) द्वारा नराम्रो गरी पीडित छ र यो उत्पीडनका विभिन्न मोड र रूपहरू उदाहरणका रूपमा गोरो उच्चताभाव र पितृसत्तात्मकताका आधार र कारणहरूलाई गम्भीरता र सही किसिमले व्याख्याविश्लेषणा गर्न असमर्थ छ । यो युरोकेन्द्रवाद, लिङ्गवाद, आप्रवासनवाद र गोरो अहङ्कारवादको चिनारी हो र यसले गत शताब्दीका यस्ता थुप्रै स्वयंघोषित मार्क्सवादीहरूलाई उत्पीडनको अन्त्य र उत्पीडितहरूको मुक्तिको प्रश्नलाई आफ्नो ब्याख्याअनुसारको बुझाइतर्फ प्रवृत्त गरायो ।
यसका साथै कतिपय संशोधनवादीहरूले गरेझैँ हामीले बिनाछलफल यान्त्रिक किसिमले पहिचानको राजनीतिलाई ठाडै खारेज गर्नु पनि हुँदैन । कम्युनिस्ट आन्दोलनमा देखिएका कतिपय समस्याका कारण उत्तरआधुनिकतावादलाई लोकप्रिय बनाएको हो भन्ने लाग्छ भने हामीले यी असफलताका कारणहरूबारे संवोधन गर्नैपर्ने हुन्छ र सँगसँगै पहिचानको राजनीतिका सीमा र समस्याका साथै यसप्रति आकर्षण बढ्नुको कारणका बारे सबै कुरा व्यवस्थित किसिमले बुझ्नु/बुझाउनुपर्छ । यसो गर्दा हामीले उत्तरआधुनिकतावादी पहिचानको राजनीति देखापर्नुका पछाडि निहित कारणहरू र यसमा अन्तर्निहित मूल सारतत्त्वलाई खुलस्त पार्नुपर्छ ।
शोषणका लागि पुँजीवादी-साम्राज्यवादले ल्याएको सबै किसिमका उत्पीडनको जड वर्गीय उत्पीडन हो भन्ने सबैभन्दा ठूलो सत्यका सम्बन्धमा विश्लेषण गरेर सत्य पत्ता लगाउनुको सट्टा पहिचानवादीहरूले शोषणका हरेक मोड र रूपलाई स्वतन्त्र ठानेर “पहिचानको राजनीति” सित जोडेका छन् । वर्गविश्लेषण गरेर समस्याको आधार र कारण खोज्नसट्टा उनीहरूले सतही अध्ययनबाट निष्कर्ष निकाल्न खोजेका छन् । जोसुकैले पनि दमनको चरित्रमा देखिने विविधता र आरोहअवरोह अनुभूत गर्न सक्छ, तर उत्तरआधुनिकतावादी सिद्धान्तले यसो हुनुको कारणालाई अलिकति पनि सही र वैज्ञानिक किसिमले खोजबिन गर्ने प्रयास गर्दैन ।
वर्गीय दमनका चरित्रहरू निरन्तर उत्पादनका मोडसित गाँसिएर अगाडि आउँछन् भन्ने विश्लेषणलाई आत्मसात गर्नु अकाट्य सत्य हो, उदाहरणका रूपमा पितृसत्तात्मकता तथा गोरो-उच्चताभाव र यस्ता उत्पीडनहरू त्यस किसिमको वस्तुगत स्थिति रहेका सबै पुँजीवादी-साम्राज्यवादी समाजमा विद्यमान हुन्छन् ।
सबै उत्पीडनलाई निर्मूल पार्न वर्गसङ्घर्षलाई निश्चय पनि प्रमुख कडीका रूपमा लिनुपर्छ, साथै पुँजीवादी-साम्राज्यवादी व्यवस्थामा सम्भव भएसम्म कसरी यसले शोषणलाई निरन्तरता पदान गर्छ भन्ने कुरा पनि बुझ्नु आवश्यक छ । साथै वर्गीय उत्पीडन नै प्रधान उत्पीडन हो, जसले समग्र व्यवस्था र उत्पीडनका स्वरूपहरूलाई सञ्चालन गर्छ भन्ने कुरालाई पनि बुझ्नु आवश्यक छ । सबै किसिमका उत्पीडनको अन्त्यका लागि वर्गसङ्घर्षलाई मूल कडीका रूपमा लिनुपर्छ, यसका लागि पुँजीवादी-साम्राज्यवादअन्तर्गत वर्गीय शोषणका विभिन्न मोड र रूपहरूले कसरी काम गरिरहेका हुन्छन् भन्ने कुरा बुझ्नु आवश्यक हुन्छ । साथसाथै उत्पीडनका यी मोड र रूपहरूले वर्गसङ्घर्षका रूपहरूमा परिवर्तन ल्याउँदै र यसलाई नयाँ रूप दिदै बुर्जुवा पद्धतिलाई स्थायित्व प्रदान गर्न प्रभावित पार्ने पार्छन् भन्ने कुरालाई पनि बुझ्नु आवश्यक छ । उदाहरणका लागि एउटा कुरा अघि सार्न सकिन्छ, सिरियाका जहाज र एयरबेसमाथि दागिएका मिसाइलहरूका कमान्डर एकजना महिला भएको भनेर प्रतिक्रियावादी वर्गले बडो घमण्डका साथ प्रचार गरेको छ । आफूले अमेरिकी जनतामाथि गरेको आन्तरिक शोषण-उत्पीडन, जातीय विभेद, लैङ्गिक विभेद र विश्वव्यापी रूपमा मच्चाएको आतङ्कबाट ध्यान अन्यत्र मोड्न अमेरिकी साम्राज्यवाद परिचयको राजनीतिलाई प्रोत्साहित गरिरहेको छ र आफूले विश्वव्यापी गरेको हत्यालाई ढाकछोप गरेर अमेरिकी जनताको सहानुभूति लिने हतियारका रूपमा यसको प्रयोग गरिहेको छ ।
यी सबै उत्पीडनको अन्त्य हुनुपर्छ भन्ने चाहना राख्ने सबै कम्युनिस्टहरूले यी समस्याहरूको अन्त्य भनेको समग्र मानवजीवनको मुक्तिसित गाँसिएको प्रश्न हो भनेर बुझ्नुपर्छ । कतिपयमा यस्ता कमजोरी रहेका छन् तापनि हामीले उनीहरूसित मित्रवत रूपमा व्यवहार गर्नुपर्छ र उनीहरू प्रगतिशील चाहनाका साथ आएका छन् र उनीहरूमा क्रान्तिकारी स्पिरिट र ऊर्जा छ भने हामीले उनीहरूलाई कामरेडकै रूपमा लिएर धैर्यका साथ उनीहरूबारे धारणा बनाउनुपर्छ ।
“वामपन्थी”हरूमा देखिने पहिचानवादी अवसरवाद
यो लेखले समग्र रूपमा परिचयको राजनीति र मार्क्सवादसित सम्बद्ध प्रश्नहरू र अपुगहरूलाई केलाउने हैसियत राख्दैन । माथि उल्लेख गरिएझैँ विशेष गरेर कसरी उत्तरआधुनिकतावादले अहिलेको आन्दोलनलाई पछाडि धकेल्न खोजेको छ र जनताले निर्माण गर्ने इतिहासको आधारभूत प्रश्न, अनिवार्य रूपमा कम्युनिस्ट योजनासित सम्बद्ध हुन्छ भन्ने कुरामा प्रकाश पार्दै, कसरी मार्क्सवाद र कम्युनिस्ट आन्दोलन उत्तरआधुनिकतावादी पहिचानवादका विरुद्धमा उभिन्छ भन्ने कुरामा प्रकाश पार्नु यस आलेखको उद्देश्य हो ।
“पहिचानको राजनीति” कम्युनिस्ट खेमाका लागि खारेजीको मुद्दा हो । परन्तु, कतिपय घोर अवसरवादी-पहिचानवादी राजनीतिज्ञहरूले पनि “पहिचानको राजनीति” अभिशाप भन्दै यसको तीव्र आलोचना गर्न सक्छन् । “संशोधनवाद” शब्दजस्तै “ “पहिचानको राजनीति” पदावलीलाई पनि अक्सर गरेर जथाभावी तालले प्रयोग गरिने गरिएकाले यसबारे प्रस्ट धारणा बाहिर आउनु सट्टा उल्टै भ्रम उत्पन्न हुनेगरेको छ । यसमा पनि त्यस्ता घातक राजनीतिक-आर्थिक यथार्थ कारणहरू छन्, जसले निरन्तर रूपमा उत्पीडित जनताका विशिष्ट समूहहरूको जन्म गराइरहेको छ । हामीले हाम्रो सङ्गठनलाई यसरी परिचालन गर्नु आवश्यक छ, जसबाट उत्पीडित समुदायका मान्छेहरू हाम्रो आन्दोलनको नेतृत्व तहमा प्रतिनिधित्व गरून् । यसो गर्न हामीले नेतृत्वसम्बन्धी जनदिशा पद्धतिको लाइनलाई व्यवहारमा लागू गर्नुपर्छ, जसले हाम्रो समाजको सबैभन्दा बढी उत्पीडित हिस्सा आन्दोलनको अग्रपङ्क्तिमा उभिने स्थिति बन्न सकोस् ।
अहिले व्यवहारमा देखिएको पहिचानको राजनीति चाहिँ मुक्तिका लागि सङ्घर्षको दृढ चाहनाको राजनीतिक शृङ्खलाको निरन्तरतासित जोडिएर आउनुको सट्टा, यो असम्बद्ध, विकृत र पहिचानवादी अवसरवाद का रूपमा आएको छ । पहिचानवादी-अवसरवादीहरू आफूहरूले अगाडि सारेको एजेन्डामा मेल खानेगरी र आफ्नो व्यक्तिगत स्वार्थ र क्यारियरिस्ट चरित्रलाई अगाडि ल्याउने मिसनलाई सहयोग पुग्ने गरी सबैभन्दा सहज र उपयुक्त मौका हेरेर पहिचानको राजनीतिलाई अघि सार्ने गर्छन् । यस किसिमको व्यक्तिगत स्वार्थमा आधारित क्रियाकलापलाई सच्चा कम्युनिस्टहरूले सिद्धान्तविपरीत भनेर अस्वीकार गर्दैआएका भए पनि, कतिपय अवसरवादीहरूले गर्ने गरेजस्तै, पहिचानवादी-अवसरवादलाई अवसरवादको रूप नठानेर यसलाई त्यति गम्भीरतापूर्वक लिनु आवश्यक छैन ठान्दै कतिपय सही कम्युनिस्टहरूले समेत यसलाई बेवास्ता गर्ने गरेका छन् । यसो हुनुमा मार्क्सवादका नाममा भएका गलत चिन्तन र व्यवहारका कारण त्यसप्रति विश्वास गुम्दै गएको युवा पुस्ताको पहिचानको राजनीतिप्रतिको आकर्षणलाई अगाडि राखेर आफूलाई पहिलेका मार्क्सवादीहरूभन्दा फरक र समयअनुकूलको मार्क्सवादीका रूपमा प्रस्तुत गरेर आकर्षित गर्न खोज्ने गलत मनसाय र प्रवृत्तिले काम गरेको छ । पहिचानवादी अवसरवाद सामान्यतः मान्छेलाई उचालेर र फुर्क्याएर प्रभावित पार्नेहरूमा पाइन्छ, जसको चर्चा तल गरिनेछ ।
पहिचानवादी-अवसरवादीहरू पत्यार लाग्ने किसिमले उदाहरण प्रस्तुत गर्दै चिकानो समूहका समग्र गतिविधिहरू एउटा गोरो व्यक्तिको अधीनमा छन्, अथवा उनीहरू काला महिलाको नेतृत्च स्वीकार गर्दैनन् भन्दै रङ्गभेदी पितृसत्तात्मक रुढिग्रस्त बुझाइ जस्ता एकदमै अन्तर्विरोधपूर्ण गलत कुरालाई मान्छेको दिमागमा जर्बजस्ती भरेर प्रचार गरिरहेका हुन्छन् । संशोधनवादी क्याम्पमा हामीले अवसरवादीहरूबाट यस्ता दुवै थरी आक्रमणहरू भएको देखेका छौँ ।
यस्ता पहिचानवादी-अवसरवादीहरू कम्युनिस्ट पार्टीभित्र रहेका मात्र नभएर उनीहरूले यसलाई घेरिसकेका छन् । उदारवादीहरूले सूचीकृत नभएको आधारमा आप्रवासी मान्छेहरूलाई उचाल्ने काम गरिरहेका छन् भन्ने कुरा हामीहरू धेरैले देखेका अथवा सुनेका छौँ । त्यस्तामध्ये कागजात नभएका त्यस्ता व्यक्तिहरू आफैँ पनि छन्, जो यस किसिमका द्वन्द्व बढाउन रुचि राख्छन् । क्रान्तिले सबैभन्दा उत्पीडितलाई फाइदा पुर्याउँछ भन्ने कुरा नै सर्वमान्य तथ्य हो, त्यसैले प्राय गरेर पहिचानवादी अवसरवादले क्रान्तिकारी विचारले मात्रै उत्पीडितहरूलाई फाइदा पुर्याउँछ भन्ने सत्यतथ्यलाई निषेध गर्न खोज्छन् । सारमा, सबै अवसरवादीहरूजस्तै यी पहिचानवादी -अवसरवादीहरू पनि आफू र आफ्ना निहित स्वार्थहरूबाहेक अरू कुनै कुराप्रति वास्ता राख्दैनन्, असली जनताले भोगेका बहुविध उत्पीडन उनीहरूका लाति “जेसुकै होस्” भन्ने प्रश्नका रूपमा रहने गर्छ ।
पहिचानवादी-अवसरवादीहरूले जोड दिएर भन्ने गरेको अर्को खतरनाक कुरा भनेको क्रान्तिकारी सङ्गठनहरूमा लागेका गोराहरू राज्यदमनमा परेका छैनन् भन्ने भनाइ हो । यो भनाइको अर्थ —राज्यदमनमा परेका सबै थरीलाई सहयोग गर्न अस्वीकार गर्नु हो, यी अवसरवादी-पहिचानवादीहरूको भनाइले कतिपय कमरेडहरूमाथि भइरहेको राज्यदमनलाई नै सहयोग पुग्छ । काला र खैरा सबै थरी सङ्घर्षकारीहरूमाथि भइरहेको राज्यदमन तथा हत्यासमेतका घटनालाई कसैले पनि अस्वीकार गर्ने स्थिति छैन । यो कुरालाई ध्यानमा राख्दै हामीले पनि त्यस्तै हुने, त्यस्तै गर्ने भनेर सोच्नु हुँदैन र पुँजीवादी-साम्राज्यवादी सत्ताले रङ्गकै आधारमा कम्युनिस्टहरूलाई मार्न अथवा जेलमा हाल्न छुट दिन्छ भन्ने गलत निष्कर्ष निकाल्नु हुँदैन, कम्युनिस्ट विचारधारामा लागेका गोराहरू र साम्राज्यवादका दलाल बनेका र गोरो रङ्गको उच्चता देखाउने गोराहरूलाई एउटै कोटीमा राख्नु हुँदैन । चरम फासिवादको अभ्यास गरिरहेको सत्ताले कुनै पनि रूपरङ्गको किन नहोस्, कुनै पनि कम्युनिस्ट क्रान्तिकारीलाई छुट दिँदैन । सत्य यही हो ।
माओवादले वस्तुगत सत्यलाई अगाडि राख्छ, सही र गलत विचार हुन्छन् भन्ने कुरा मान्छ, यथार्थसित मेल खाने विचारलाई सही विचार र ठोस परिस्थिति र वस्तुगत यथार्थसित मेल नखाने विचारलाई गलत विचार ठहर गर्छ । पहिचानवादी अवसरवादीहरूले भने हतारिँदै आफ्ना लागि एउटा कुरा र अरूका लागि अर्कै कुरा अघि सार्छन्, मान्छैपिच्छे अलगअलग कुरा गर्छन् । उनीहरू अवसरवादबाट यति सारो ग्रस्त हुन्छन् कि आफूलाई फाइदा होउन्लेलसम्म उत्पीडित–पहिचान बोकेका जनताले आफ््नो बुझाइअनुसार अघि सारेका गलत बुझाइका विरुद्ध सङ्घर्ष गर्न पनि सक्षम हुँदैनन्, आवश्यक पनि ठान्दैनन् ।
पहिचानवादी अवसरवादी लाइनको निष्कर्ष
पहिचानवादी अवसरवादको सबैभन्दा नराम्रो अपराध आफूलाई लुकाउने र कामरेडहरूबीच एकअर्काका विरुद्ध विष घोल्नुमा निहित छ । दक्षिणपन्थी लाइनहरू अघि बढाउन यसले उग्र-वामपन्थी विधिहरू प्रयोग गर्छ । यसले गर्दा पहिचानवादी अवसरवादले उत्पीडितहरूमाथिको दमनलाई आफ्नो निजी स्वार्थ पूरा गर्नका लागि मात्र मात्र समर्थन गरेजस्तो गरी उत्पीडित समूहलाई नोक्सान पुर्याउँछ । अमेरिकामा उत्पीडित जनताको अहिलेको स्वार्थ भनेको क्रान्तिका तीन जादुगरी हतियार —पार्टी, जनसेना र संयुक्त मोर्चा निर्माणमा जुट्नु हो र पहिचानवादी अवसरवादले यो तयारीलाई नराम्रो गरी बाधा पुर्याएर रोकिरहेको छ ।
अनुशासनको परित्याग, बेवास्ता र सहयोग गर्नेहरूप्रति आक्रामक
वामपन्थी क्षेत्रमा उत्तरआधुनिकतावादी अन्य क्रियाकलापजस्तै पहिचानवादी अवसरवादले कम्युनिस्ट अनुशासनलाई खारेज गर्छ । “लागू औषधी दुब्र्यसनीको शरीर मालिस गर्दैनौँ र उनीहरूले भनेअनुसार पनि चल्देनौँ”, र “केटाकेटीहरू यौनका लागि स्वतन्त्र छन्” (पहिचानवादी-अवसरवादीहरूले गर्नेगरेका मूल तर्कहरू) घोर व्यक्तिवादी र प्रतिक्रियावादी छन् । कम्युनिस्टहरू छाडा हुँदैनन् । हामीहरू समूहभन्दा माथि व्यक्तिलाई राख्नेजस्ता छाडा छैनौँ— हामी समूह, पार्टी र आम जनसमुदायलाई सर्वोपरि ठान्छौँ । यसै सिद्धान्तका कारण निश्चय पनि हामीले अनुशासनको पालना गर्नुपर्छ, अनुशासनहीनतालाई छुट दिने पक्षमा हामी छैनौँ र अनुशासनहीनताका कुरामा पहिचानलाई अगाडि राख्ने पक्षमा पनि छैनौँ । हामीलाई थाहा छ, हामीहरूमध्येले पनि कमजोरीका कारण गल्ती गर्यौं भने हामीले आत्मालोचना गर्नुपर्ने हुन्छ, काम गर्दा गल्ती हुन्छन् र यसलाई सच्याउनुपर्छ, तर पहिचानवादी-अवसरवादीहरूले गरेजस्तै आफू नजिकको भनेर गल्ती गर्ने र आत्मालोचनाबाट भाग्नेलाई हामी छुट दिन सक्तैनौँ । मुक्तिका लागि हामी हाम्रा व्यक्तिगत प्रयासहरू र अनुभवलाई अगाडि बढ्नका लागि ऊर्जाका रूपमा प्रयोग गर्छौँ, सबै कम्युनिस्टहरूले केही न केही आफ्ना काम गर्नुपर्छ, यहाँ बसीखाने छुट कसैलाई छैन । हामी जनताको हितभन्दा माथि आफ्नो हितलाई राख्दैनौँ र दुस्मनविरुद्ध निरन्तर सङ्घर्षमा हुन्छौँ ।
कम्युनिस्ट अनुशासन असाध्यै गम्भीर कुरा हो, यो क्रान्तिकारी कार्यको ऐतिहासिक सफलतासित सम्बद्ध एउटा प्रधान पक्ष हो, र योबिना केही पनि हासिल गर्न सकिँदैन । हामीले व्यवहारबाट के कुरा बुझिसकेका छौँ भनेँ एकदमै सामथ्र्यवान नभए पनि कसैले पनि अनुशासनको स्तरलाई उठाउन सक्छ । हामीले जनताले मन नपराउने असामाजिक उग्रवादीहरू हुनखोजेको नभई समाजलाई बुझ्न र बदल्न खोजेका हौँ । पुँजीवादी व्यवस्थाभन्दा बाहिर सामाजिक सम्बन्ध अवस्थित हुन्छ भन्ने किसिमले हामीले व्यवहार गर्न खोजेका पनि होइनौँ ।
अभागाहरूको संसारद्वारा प्रभावित भौतिक परिस्थितिको अन्तर्विरोधसित सम्बद्ध हुने भनेको यसलाई फेर्ने हो, हामी मुख्यतः अनुशासनमै निर्भर गर्छौँ : हामी बहुसङ्ख्यक जनता, नेतृत्व र सङ्गठनमा समर्पित छौँ । भन्ने गरिएको पनि छ र बहुमत भएकै भरमा बहुमत सदैव सही हुँदैन भनेर पनि जोड दिनुपर्ने हुन्छ । थुप्रै ऐतिहासिक उदाहरणहरूमा अल्प मतले सही लाइन लिएको छ, उदाहरणस्वरूप, त्यतिबेर आधुनिक संशोधनवादका सन्दर्भमा अल्पमतमा परे पनि चीन र अल्बानिया सही थिए । हाम्रो आन्दोलनका बहुमतले पहिचानवादी अवसरवादको गलत सिद्धान्त अँगाले भने पनि (अवश्य पनि उनीहरूले यसो नगर्लान्) हामीहरू छोड्ने छैनौँ, विचार त्याग्ने छैनौँ—हामीहरू त्यसलाई सच्याउनका लागि सङ्घर्ष गर्नेछौँ र हाम्रो अनुशासनमा सुधार गर्नेछौँ । जनवादी केन्द्रीयताको मूल्यप्रतिको समर्पणले हाम्रो सिङ्गो आन्दोलनलाई राम्रो गरी सहयोग पुर्यानेछ—र यसैका आधारमा भन्नुपर्दा हामीले आफूलाई असङ्गठित व्यक्तिहरूको नेतृत्वका रूपमा प्रस्तुत गर्नु मुर्खता मात्र हुन्छ । यसो गर्नु भनेको पूर्णरूपमा दक्षिणपन्थी हुनु हो, यस्ता मान्छे अवश्य पनि छन्, जो पहिचानवादी राजनीतिका आधारमा यस्ता मुर्खतापूर्ण कामकुराको माग गर्छन् ।
सर्वहारालाई उत्तरआधुनिकतावाद र अवसरवादबाट केही पनि प्राप्त हुनेवाला छैन, त्यसैले वर्गपक्षधरताको पक्षमा कित्ता प्रस्ट पारिनु आवश्यक छ ।
इन्टर्नेट परिचालन सम्बन्धमा
हामीभन्दा अघि क्रान्तिको बाटोमा हिँड्नेहरूभन्दा हामी इन्टर्नेट परिदृश्यको ऐतिहासिक रूपमै अद्वितीय किसिमले सामना गरिरहेका छौँ, खास गरेर सामाजिक सञ्जालको लोकप्रियताको । यसमा थुप्रै जटिलताहरू छन्, तर यसको ऐतिहासिक सन्दर्भमा व्याख्या गर्ने र अनलाइन सञ्चालनको विधिविधानको विकास गर्ने जिम्मा हाम्रो हो ।
थुप्रै कारणले गर्दा इन्टर्नेटले नकारात्मक सम्बन्धलाई मलजल प्रदान गर्ने काम गरिरहेको छ भन्ने कुरा दोहोर्याइरहनु आवश्यक छैन । यसले सही र सटिक परिणाम ल्याउन सकिरहेको छैन, यसले जनमानसमा एक किसिमको विग्रहलाई निम्त्याइरहेको छ (प्रतिरोध र भौतिक प्रहार पनि ) । अझ आमरूपमा अनलाइनहरूमा जेजस्ता सामग्रीहरू आउँछन्, ती सबैको एकैचोटि प्रतिवाद गर्न सहज पनि छैन, अनलाइन टिप्पणीहरू प्रायः गरेर सतही, हचुवा र हावादारी खालका हुन्छन् । पहिचानवादी-अवसरवादीहरू र दाउ खोजेर बसेका अरू टपर्टुइयाँवादीहरूका लागि यो स्थिति मलिलो हुनेगरेको छ । यस किसिमको आत्मप्रशंसाको प्रदर्शन गर्ने यु ट्युब “माओवादीहरू” को कमी छैन । धेरै सामाजिक सञ्जालहरू केही नभएर भ्रम र सतही प्रसंशा बटुल्नका लागि कसैका लागि “ठोकठाक माध्यम” मात्र बनेका छन् । र प्रायः गरेर सबै स्वघोषित कम्युनिस्ट सङ्गठनहरूको यथार्थ के हो भने न त उनीहरू कम्युनिस्टहरू हुन्, न त सङ्गठकहरू नै । त्यसैले धेरजसो “अनलाइन मान्छेहरू” अनलाइन बहसहरूको सर्कस चलाउँछन् र बडो हर्षित भएर अर्को निम्न स्तरको नाटकको तयारीमा हुन्छन् । विगतमा तिनीहरूले खुद्राखाद्री नाटकहरू तथा ‘सप अपेराहरू’ मा आफूलाई व्यस्त पारेका हुनसक्छन्, तर आजभोलि तिनीहरू इन्टर्नेट ड्रामाको तरङ्ग ल्याउँनमा व्यस्त छन् । अन्य मुलुकमा भन्दा अमेरिकामा यस किसिमका समस्याहरू धेरै छन्, यिनीहरूप्रति धेरै चासो नराख्नु, तिनलाई वास्तै नगर्नु र विशेष ठानेर तिनको आलोचनाप्रति ध्यान नदिनु नै, यस किसिमको प्रवृत्तिलाई सामान्य बनाउनु हो । छोटोमा भन्दा तिनीहरूको स्तरको विषाक्त किसिमको टिप्पणी, गालीगलौज, भ्रम र हिलोमैलोको स्तरमा आफूलाई प्रवृत्त नगराउनु हो ।
यति हुँदाहुँदै पनि हामीले इन्टर्नेटमा आएका यस्ता विचारलाई उग्र वामपन्थी अथवा दक्षिणपन्थी किसिमका भनेर ठाडो धारणा बनाइहाल्नु हुँदैन, न त यसलाई खारेज नै गर्नु ठीक हुन्छ, किनभने जनता स्वयम् यसको प्रयोग गरिरहेका हुन्छन् र थुप्रै मान्छेले अनलाइनहरूमार्फत कम्युनिस्ट राजनीतिको अध्ययन गरिरहेका हुन्छन् । यसलाई हामीले सैद्धान्तिक र रचनात्मक किसिमले प्रतिवाद गर्नुपर्छ । यसो गर्दा इन्टर्नेटको भूमिकालाई अवमूल्यन गर्नु हुँदैन र न त यसको भूमिकालाई बढाईचढाई गर्नु नै उचित हुन्छ । कसैले यसलाई अति जोड दिएको र कसैले यसको भूमिका नै नदेखेको झैँ गरी सन्तुलिन किसिमले यसलाई ग्रहण गरिरहेका हुँदैनन् । स्वघोषित “समूहहरू” र अझ “पार्टीहरू” सम्बद्ध निष्क्रिय ‘फेसबुक’का पानाहरूले तिनको सङ्गठनात्मक हैसियतलाई जे छ त्यही किसिमले प्रस्तुत गरिरहेका हुँदैनन् । तर, सही कम्युनिस्ट सङ्गठनका सम्बन्धमा चाहिँ अन्योलमा पर्नु हुन्न । अझ कुरा के हो भने इन्टर्नेटमा उपस्थिति नहुँदैमा उनीहरूका व्यावहारिक गतिविधिको अभावलाई सङ्केत गर्दैन । हाम्रा थुप्रै कार्यकर्ताहरू सामाजिक माध्यम पटक्कै प्रयोग गर्दैनन् तापनि उनीहरू इन्टर्नेट नाटकमा देखिने गतिविधिबाट विमुख भएका पनि हुँदैनन् ।
फेसबुकमा मात्र देखिने थुप्रै तथाकथित वामपन्थीहरूले आफूलाई कोमिन्टर्नका झैँ प्रस्तुत गरेका हुन्छन् । उनीहरू आफूलाई कुनै सही सङ्गठनको जनवादी केन्द्रीयताभन्दा बाहिर रहनु आवश्यक ठान्दछन् र टाढा बसेर आफूले गरेका मनोगत विश्लेषणले सही र समग्र रूपमा सङ्ठनहरूको स्थितिलाई प्रभावित पारिरहेको छ भन्ने ठान्छन् । दर्शक दीर्घामा बसेर अरूलाई इन्टर्नेटमार्फत अर्तिउपदेश दिने कुरा नयाँ र पहिले नभएको कुरा होइन, त्यसैले यस्ता वाहियात आत्मप्रलापहरूलाई हाम्रो आन्दोलनमा कहिल्यै पनि प्रोत्साहित गरिने छैन । कसैले पनि तीनओटा ‘फेसबुक’ साथीहरू पाउन सक्छ र गुगल, ह्याङआउट्स आदिसित सामूहिक संवाद चलाउन सक्छ र यसलाई नै समूह भन्न सक्छ, तर, कसैले पनि यसलाई आम जनतासित सम्बद्ध सङ्गठन भनेर स्वीकार गर्नुपर्छ भन्ने छैन, त्यसैगरी थुप्रै अनलाइनहरू पनि जनताका नाममा चलेका हुन सक्छन् ।
यस्तै एउटा टिप्पणी, जो खास गरेर इन्टर्नेटका माध्यमबाट कम्युनिस्ट आन्दोलनमा प्रवेश गर्यो, उसले विचारको प्रश्नमा आफैँलाई धोका दिइरहेको पनि हुन सक्छ, किनभने उसलाई व्यापक जनताको बारेमा त्यति गहिराइका साथ जानकारी हुँदैन । उदाहरणका रूपमा श्रमजीवी जनताको ठूलो हिस्सा आम जनता पहिलेदेखि नै कम्युनिस्टबारे भलीभाँती जानकारी राख्छ भनेर पनि उसले बुझेको हुन सक्छ । सत्य के हो भने श्रमजीवी जनता आफ्नो क्षेत्रमा के चाहन्छन् भन्ने कुरालाई उनीहरूको बीचमा नगई थाहा हुँदैन भन्ने यथार्थलाई गम्भीर किसिमले ग्रहण गर्नुबाहेक अर्को बाटो छैन । अझ यो भन्दा पनि ठूलो खतरा– जे कुरा प्रस्ट छ र प्रमाणित गर्न गारो छ, जो अरू मान्छेजस्तै सोचेर कम्युनिस्ट हुन सजिलो छ भन्ने ठान्छ, उसका लागि इन्टर्नेटमा बस्न र पोस्टमार्फत ठूल्ठूला होहल्ला गर्न सजिलो छ । तर प्रस्ट हुनुपर्ने कुरा के छ भने, माओले “उदारवादको विरोध गर” मा भन्नुभएझैँ, कोही पनि आफूलाई कम्युनिस्ट भन्न हकदार हुँदैन, जबसम्म उसले क्रान्तिलाई जीवनका रूपमा ग्रहण गर्न सक्तैन र आफ्ना हितलाई क्रान्तिको हितमा समर्पित गर्दैन । कम्युनिस्ट हुन वामपन्थी सामाजिक सञ्जालमा आफ्ना लहडी चिन्तन व्यक्त गरेजस्तो नभएर यसले भिन्नै सामथ्र्य र शक्तिको माग गर्छ ।
सामाजिक माध्यमहरू सङ्घर्षका ट्रेन्च हुन सक्छन् भने आफू नजिकैको यति महत्वपूर्ण चिजका सम्बन्धमा अलमलिनु पर्ने कुरै छैन । सामाजिक सञ्जाल, फेसबुक च्याटहरू, गुगल ह्याङ्गाउट्स र मेसेज बोर्डहरू सच्चा क्रान्तिकारी कम्युनिस्टहरूले बहस कार्यक्रमहरू चलाउने ठाउँहरू होइनन्— हामीसित यी भन्दा भरपर्दा विधि र माध्यमहरू छन् । अनि यदि हामीले साँच्चिकै क्रान्तिकारी काम पूरा गर्न लागेका हौँ भने खुलारूपमा सत्ताबाट आफूलाई नै अप्ठ्यारो पर्ने काम गर्नु आवश्यक छैन ।
सुरक्षाका सम्बन्धमा, जो सामाजिक सञ्जालमा अधिक समय बिताउने कम्युनिस्टहरू भएका छन्, उनीहरूले, आफना सूचना सेयर गर्नुअघि धेरै कुरामा ध्यान पुर्याउनु आवश्यक छ । राम्रै मनसाय भएका कमरेडहरूले पनि आफूलाई अप्ठ्यारोमा पारिराखेका हुनसक्छन्, किनभने फासिवादीहरूले सबै किसिमका व्यक्तिगत विवरणहरू सङ्कलन गरिरहेका हुन्छन्, जानकारी राख्ने गर्छन् । यो अचम्म लाग्दो र सामान्य देखिने कुरा कति जना मान्छे— व्यक्तिगत रूपमा जानपहिचान नभए पनि सञ्जालमा साथी बनिरहेका हुन्छन्—कामरेडहरूले आफ्ना पछिल्ला फोटाहरू अपलोड गरिहेका हुन्छन्, आफूलाई मन पर्ने ठाउँको जानकारी पनि निरन्तर दिइरहेका हुन्छन् । यति मात्र नभएर मनोवैज्ञानिक तथा भावनात्मक पक्षको जानकारी पनि सार्वजनिक गरिरहेका हुन्छन् । यस्ता कुरालाई फासिवादीहरू र राज्यले आफूअनुकूल प्रयोग गर्न सक्छ । स्थितिलाई भद्रगोल पार्न तिनीहरू आफ्नो सङ्गठनका बारेमा खुला किसिमले बहस पनि चलाउँछन् । यसले उनीहरूको निजी अनुभवको सीमालाई साथै उनीहरूको “सङ्गठन” को कमजोर स्तरलाई जनाउँछ । यदि त्यस्ता कमरेडहरूले आफूलाई राज्य र त्यसका समर्थकहरूबाट कुनै खतरा भएको अनुभूत गर्दैनन् भने, उनीहरू यो दमनकारी व्यवस्थाबाट साँच्चिकै खतरा भएको अवस्थामा आफूलाई पार्न चाहँने रहेनछन् भनेर बुझ्न सकिन्छ ।
उत्तरआधुनिकतावादी बौद्धिक क्षेत्रले अनलाइन र सामाजिक सञ्जाललाई प्रदूषित पारेको कुरामा कुनै शङ्का छैन । यो संस्थागत जनमत निर्माणका लागि तयार पारिएको, बुर्जुवा बौद्धिक क्षेत्रबाट प्राप्त जनादेशको ‘रोचक पक्ष’ अथवा ‘नयाँ’ रूपरेखा, संसारलाई बदल्न होइन, बरु सिँढी चढ्न र निजी लाभको उद्देश्यबाट अभिप्रेरित भएर यसलाई ल्याइएको हो । जतिसुकै ‘चाखलाग्दा’ यी भनाइहरू किन नहोऊन्, व्यवहारमा यिनले सबै विश्वसनीयता गुमाएका छन्, सत्यको कसीमा यी खोक्रा, क्वाँटी बहुरङ्गी, खराब विचारयुक्त र बासी छन्, जसलाई नयाँ र एकदमै पृथक रूपमा प्रस्तुत गर्ने प्रयास गरिएको हुन्छ । पुरानो विचारले धेरजसो आफूलाई नयाँ आवरणमा प्रकट गर्नैपर्ने हुन्छ, तर सारतत्वका दृष्टिले यी ‘नयाँ’ नमुनाहरू सधैं बुर्जुवा बकवास मात्र साबित भएका छन् ।
सामाजिक तथा राजनीतिक विचार आदानप्रदानका लागि इन्टर्नेटको प्रयोग गर्नु गलत हुन्छ भनेर हामीले ठोकुवा गर्न खोजेको होइन । हामीलाई थाहा छ, अनलाइन गतिविधिहरू प्राय गरेर लाभकारी हुनसक्छन् । त्यसैले हामी सबै सामाजिक माध्यमहरूका सूचनाहरूको आलोचना गर्ने पक्षमा छैनौँ । बरू हामीले यसको अझ प्रभावकारी उपयोगको उपाय खोज्नुपर्छ । यसलाई व्यक्तिगत अहमको प्रदर्शन, आत्मप्रशंसा र आत्मप्रदर्शन गर्ने प्रचारको माध्यमका रूपमा होइन, जनतालाई फाइदा पुग्ने किसिमले सञ्चालन गर्नुपर्छ । अनलाइनहरू, सामाजिक सञ्जालहरू र अन्य ब्लगहरू पूर्णरूपमा हाम्रा आधारभूत काम र तिनको सैद्धान्तिकीरणका लागि हुनुपर्छ ।
यसै सङ्केतहरूका आधारमा भन्नुपर्दा, सामाजिक माध्यममा अधिक समय बिताउँनेहरू निकै उच्च स्तरको व्यक्तिवादी संस्कृतिलाई अगाडि सार्छन्, जुन इन्टर्नेटको संसारमा सामान्यकृत भएको हुन्छ । जस्तोसुकै अप्ठ्यारो स्थिति किन नहोस्, सामाजिक सञ्जालसित सम्बद्ध संस्थाहरू र तिनका सहयोगीहरू निरन्तर यस्तो संस्कृतिको प्रचार गर्ने गर्छन्, जसले प्रयोक्तालाई कृत्रिम संसारमा रमाउन स्थिति निर्माण गर्छ र एकदमै चकाचौँध अवस्था निर्माण गर्दै मान्छेलाई आकर्षित पारेर जनमत बनाउँछ । यो लतयुक्त र बाध्यकारी आत्मश्लाघा पूर्णरूपमा जीवन र व्यापक जनसम्पर्कका लागि एउटा विषाक्त माध्यम बन्छ ।
अझ खतराको कुरा, कतिपय स्वयंघोषित वामपन्थी अनलाइनहरूमा आफूआफूहरूबीच एकले अर्कालाई प्रशंसा गर्ने र उचाल्ने संस्कृति उनीहरूको जीवनमा वास्तवमा फेसन नै बनेको हुन्छ । असली कम्युनिस्ट विधिका दृष्टिले यो व्यवहार पूर्णरूपमा नोक्सानदायी छ । हामी यसरी गल्ती गरिरहेका छौँ भनेँ हामीले यसलाई बुझ्ने प्रयास गर्नुपर्छ र त्यसलाई सच्याउनका लागि सङ्घर्ष गर्नुपर्छ, हामीले एकअर्कालाई मुर्ख बनाउनु हुँदैन ।
कसैले पनि पुँजीवाद पतनशील र विषालु व्यवस्थाबाहेक केही होइन र साम्यवाद जीवनको आवश्यकता हो भनेर बुझेपछि उसले निरासा बाँड्नेहरूलाई सम्झाउनु पर्छ । यो सही र बुझ्नैपर्ने कुरा हो । खासगरेर जसको जीवन र विचारले उसको आफ्नै जीवनमाथि नै प्रहार गरिरहेको छ भने उसका लागि इन्टर्नेटहरूले प्रतिक्रियावादको भूमिका खेलिरहेका हुन्छन् भनेर बुझ्नुपर्छ । कम्युनिस्ट आन्दोलन उप-संस्कृति (sub-culture) होइन, सैद्धान्तिक रूपमा यसलाई यसरी बुझ्नु भनेको यसलाई विपरीत दिशातर्फ पथभ्रष्ट तुल्याउनु हो । मार्क्सवाद मान्छेका लागि सांस्कृतिक सुखसयल र मनोरञ्जनको माध्यम होइन, यसले सदैव सङ्घर्षलाई जोड दिने गर्छ । पुँजीवाद वस्तुको व्यापारीकरणका लागि शक्तिशाली हतियार हो, यसले विगतमा चे ग्वेभाराको टि-सर्टहरू बनायो (दुवै दृष्टिले, संशोधनवादको मिथकीयताको बढोत्तरी गर्न र चेको क्रान्तिकारी पक्षलाई मेटाउन), अहिले “साम्यवादी-सारतत्व भएको” जस्ता देखिने नौटङ्की तथा प्रहसन टोलीहरू बनाइरहेको छ, जसमा मान्छेलाई जनसमूहबाट अलग पारेर दिग्भ्रमित पार्ने गरिन्छ । यस किसिमको व्यापक रूपमा फैलिएको परिदृश्यको निर्मम आलोचना गरिनुपर्छ ।
कम्युनिस्ट आन्दोलनमा प्रहसन तथा नौटङ्की टोलीहरूका लागि स्थान छैन भन्न खोजिएको होइन । वास्तवमा फासिवादीहरूले दक्षिणपन्थी विचारका प्रहसनहरूद्वारा आफ्नो विचार प्रचार गरेझैँ हामीले पनि मार्क्सवादमा आधारित प्रहसनहरूमार्फत उनीहरूको प्रतिरोध गर्नुपर्छ । यो अन्तर्विरोधलाई कसरी परिचालन गर्न सकिन्छ—कस्ता किसिमका कम्युनिस्ट प्रहसनहरू लाभकारी हुन्छन् ? कम्युनिस्टको बद्ख्याइँ र उपहास नगरी जनतालाई साम्यवादतर्फ आकर्षित पार्छन् भने, यदि तिनीहरूले सङ्घर्ष र कष्टसाध्य काममा लागेका कमरेडहरूलाई उपहासको विषय बनाउँदैनन् भने, यदि उनीहरूले सर्वहारा संस्कृतिको विकासमा सहयोग पुर्याउँछन् र बुर्जुवाहरू र तिनका बफादार नोकरहरूले उत्पन्न गरेका पीडा, हत्या, हिँसा, बेथिति अमानवीयताको भण्डाफोर गर्छन् भने, जनताका लागि ती प्रहसन र नाटकहरू लाभकारी हुनसक्छन् । तर यस्ता प्रहसनहरूमा लागि बढी जोड दिनु, गम्भीरताका साथ लिएर चाहिनेभन्दा बढी महत्व दिनु चाहिँ त्यति लाभदायी हुँदैन ।
सामाजिक माध्यममा मान्छेहरूसित निकै वादविवाद गर्ने सदस्यहरू र समर्थकहरूलाई हामीहरू दुस्मनका झैँ व्यवहार गछौँ भनेर हाम्रो आलोचना गरिएको छ र हामीले ती आलोचनालाई अगाडि राखेर विवादलाई सल्टाउन र बाहिर ल्याउन व्यक्तिगत सम्पर्कको खोजी गरिरहेका छौँ, व्यक्तिगत सम्पर्क नभएपछि अन्य माध्यमहरूसित सम्पर्क राख्न खोजिरहेका छौँ । अब हामी “वामपुस्तक” प्रतिध्वनित हुने कक्षमा काम गर्दैनौँ । हामीहरू अन्त्यहीन अडकलबाजी तथा वाहियात मनोरन्जन गर्दैनौँ, जुन टम्बलर जस्ता वेबसाइटहरूमा राजनीति गर्ने गरिन्छ, न त हामी रेडिटजस्ता दायाँबायाँ हल्लिरहने बेवसाइटमै रमाउन मन गर्छौँ । फेसबुकहरू पनि छैनन्, जहाँ सङ्गठनात्मक सन्दर्भका गम्भीर मुद्दाहरू बाहिर जान्छन् र हाम्रो सदस्यहरू पनि बेकामे बुद्धिजीवीहरूसितको वादविवादमा प्रवेश गरेर समय फ्याल्ने छैनन् ।
जहाँसम्म हामीले खराब तत्वहरूलाई झैँ असली कमरेडहरूलाई पनि एउटै ब्रुसले रङ्गाएको भन्ने कुरा छ, हाम्रा कमरेडहरूले उनीहरूसित प्रत्यक्ष आत्मालोचना पनि गरेका छन् र पछिका दिनमा यस्तो नहुने भनी विश्वासको वातावरण पनि बनाएका छन् । के कुरामा पनि ध्यान दिनु आवश्यक छ भने समूहका रूपमा हामी अस्टिनमा सडक सङ्घर्षमा सक्रिय छौँ र कुनै व्यक्ति अथवा फेसबुकले गरेका आक्रमण र आलोचनाको प्रतिक्रिया दिने समय पनि हामीसित छैन । यसको अर्थ हाम्रा बारेमा चासो राख्ने मान्छेबारे हामी वास्ता गर्दैनौँ भन्ने चाहिँ होइन । तर हामीले आधिकारिक रूपमा सङ्गठनमा आबद्ध नभएका हरेक व्यक्तिका गतिविधिमा बारेमा सबै जानकारी राख्नु सम्भव पनि छैन । साथै हामी वैचारिक पक्षसित सम्बद्ध कामकुरामा हाम्रो ध्यान नपुगेको कुरालाई कुनै पनि बहानामा बेवास्त गर्न सक्तैनौँ । आफूलाई मन लागेको बेलामा अथवा अथवा त्यस्ता विशेष खालका अनलाइनहरूबाट फुर्सत भएको समयमा मात्र नभएर एकतासित सम्बद्ध कामहरू, व्यावहारिक गतिविधि र आमजनताका कामसित हरहमेसा गाँसिनु पर्छ ।
पहिचानवादी अवसरवाद पहिले इन्टर्नेटमार्फत आफूलाई प्रचार गर्छ र अनलाइनमा यसका लागि मोर्चा तयार पार्छ, यस्ता व्यक्तिहरूको “समर्थन आधार” तयार पार्छ, जो आकलझुकल मात्र जनसहभागितासित सम्बद्ध कार्यक्रम गर्छन् र जोसित इन्टर्नेट युद्धका लागि इन्टर्नेट संसारमा समय बिताउने फुर्सत हुन्छ । पहिचानवादी-अवसरवादीहरू उनीहरूका अनलाइन फलोअरहरूबाट प्रशंसाका प्रतिक्रिया सुन्न चाहन्छन् । तर यसरी प्रशंसा गर्नेहरू आफैँलाई उनीहरूले के कुराको विरोध र के कुराको प्रशंसा गरेका छन् भन्ने कुरा चाहिँ थाहा हुँदैन । जनताले यसलाई राम्ररी बुझेका हुन्छन् र यस्ता तथाकथित विशेषज्ञहरूप्रति उनीहरूले ध्यान दिएका हुँदैनन् । हामी सामाजिक माध्यमहरूलाई हाम्रा कामको प्रचारप्रसारका लागि उपयोग गर्छौँ र यसलाई अर्थ न बर्थको उद्देश्यमा प्रयोग गर्नु हुँदैन भन्ने कुरामा सजग छौँ । रणीनीति र पार्टी लाइन सही व्यवहारबाट तय गरिनु पर्छ र कसैले हाम्रा विरुद्ध सामाजिक माध्यममा गरेका बद्ख्वाइँलाई अनावश्यक महत्व दिएर प्रतिवाद गर्नु नोक्सानदायी मात्र हुनेगर्छ ।
उत्तरआधुनिकतावादमा आधारित पहिचानवादी अवसरवादका सन्दर्भमा हामीले के कुरामा ध्यान दिनुपर्छ भने उत्तरआधुनिकतावाद पनि स्थिर छैन । यो पनि आफ्नो अधिभौतिकवादी जगमा उभिएर सधैँ टिक्न सक्तैन । माओवादले भौतिकवादी मार्क्सवादी विज्ञानका रूपमा अधिभौतिकवादलाई पूर्णतया खारेज गर्छ, उत्तरआधुनिकतावादी पतनशील कुनै पनि प्रवृत्तिलाई यसले आफूभित्र प्रवेश गर्न स्वीकृति दिँदैन । अवसरवादी किसिमले वकालत गरिएको होस्, अथवा नियोजित किसिमले, पहिचानको राजनीतिको दृढताका साथ विरोध गरिनु आवश्यक छ । वर्गको हातमा सत्ता प्राप्तिका लागि माओवादीहरूले आमजनतालाई वर्गीय प्रश्नमा गोलबद्ध गर्न भरमग्दुर प्रयास गर्नुपर्छ । वर्गीय प्रश्न र आमजनताको हकहितसित नगाँसिएका कुनै पनि व्याख्याविश्लेषण भ्रमपूर्ण र प्रतिक्रियावादी छ भनेर जनतासामु प्रस्टरूपमा भण्डाफोर गरिनुपर्छ ।
अवसरवादीहरूको भण्डाफोर गरौँ र उत्तरआधुनिकतावादी भ्रमलाई खारेज गरौँ !
अनुः ऋषिराज बराल
भिडियो फिचरview all