menu

ताजा समाचार

भारतका आदिवासी भन्छन् : माओवादीले हामीलाई दुःखको बेला साथ दिन्छन्

(भारतको महाराष्ट्र राज्यको गाडचिरोली जिल्लाको इन्द्रावती नदीको किनारमा भएको नरसंहारको करिब १ महिना पुग्न लागेको छ । मुठभेठका नाममा भारतीय प्रतिक्रियावादले केही गाउँलेसहित ४० जना माओवादी योद्धाहरूको हत्या गरेको थियो । सो घटना इन्काउन्टर नभएर चारैतिरबाट माओवादी कार्यकर्तालाई घेराबन्दीमा पारेर एकतर्फी किसिमले गरिएको आक्रमण थियो भनेर  मानवअधिकारवादी संस्थालगायतका बिभिन्न संस्थाहरूले घटनाको अध्ययनपछि वक्तव्य प्रकाशित गरेका छन्  । यहाँ सो घटनापछि सो क्षेत्रका आदिवासीसित ‘फस्ट पोस्ट’ की पत्रकार वर्षा तोल्गरले गरेको कुराकानीलाई प्रस्तुत गरिएको छ । अंग्रेजीमा प्रकाशित यो स्थलगत रिपोर्टले आदिवासी जनता माओवादीहरूलाई कसरी हेर्छन् र उनीहरूको माओवादीहरूसित कस्तो सम्बन्ध छ भन्ने कुरालाई उजागर गर्छ ।)

सरकार एकातिर नक्सलीहरूलाई आतङ्कवादीका रूपमा प्रदर्शित गर्छ र राज्यका विरुद्ध हिंसा फैलाएको भनेर दोष लगाउँछ । अर्कोतर्फ महाराष्ट्रको गाडचिरोली जिल्लाको घना जङ्गलमा बसोबास गर्ने आदिवासीहरूको एउटा तप्का उनीहरूप्रति सहानुभूति राख्छ र सहयोगका लागि उनीहरूमाथि भर पर्छ । यो समुदाय सरकारी अधिकारीहरूलाई कुरा प्रस्ट पार्न अग्रसर छ ।

आदिवासी  समुदायका यी सदस्यहरू सरकारी सुरक्षा बल र नक्सलीहरूबीच भएको भनिएको अप्रिल २३ को दोहोरो मुठभेडको घटनाप्रति सकारात्मक धारणा राख्दैनन्, जसमा ४० संदिग्ध विद्रोहीहरूको हत्या गरिएको थियो । 

गाडचिरोलीमा आदिवासीहरूको आवादी करिब ४० प्रतिशत छ । आदिवासी समुदायका कतिपय सदस्यहरू घना जङ्गलमा सानासाना बस्तिहरूमा बस्छन् । जङ्गलको बीचमा थोरै बस्ती भएका सानासाना गाउँहरू हुने गर्छन् । यस्ता बस्तिहरूमा कतै पनि सडक  नबनेकाले बजारमा सामान किन्न, अस्पताल जान, पुलिस चौकी, अस्पताल अथवा सबैभन्दा नजिकको सहरसम्म जानु पर्दा घना जङ्गल भएर ४०/५०  किलोमिटर पैदल हिँड्नु पर्छ ।

बालाजी गवादे अल्लापल्ली सहर नजिकैको गाउँ कोरेपल्लीका प्रधानपञ्च हुन् । यो गाउँमा पुग्न सडक भएको ठाउँबाट घना जङ्गल भएर १०/१२ किलोमिटर हिँड्नुपर्छ । यो गाउँको आधारभूत पूर्वाधारका बारेमा गवादे भन्छन्, “गत वर्ष राज्य सरकारले गाडचिरोली गाउँका  लागि सडक, पाइपलाइन आदि सम्बन्धी योजना आरम्भ गर्ने भनेको थियो । तर यसका लागि सरकारले त्यहाँका बासिन्दाले माओवादीका बारेमा सूचनाहरू सरकारलाई दिनुपर्ने सर्त राखेको थियो । आदिवासीका विरुद्ध यो योजना भेदभावपूर्ण भएको कुरा प्रस्ट छ । के हामी राज्यका हिस्सा होइनौँ, के हामी राज्यका अन्य नागरिकका झैँ आधारभूत आवश्यकताका हकदारीको लायक छैनौँ ?”

उनले थप भने, “ राज्यले हामीलाई सुरक्षा प्रदान गर्न सक्छ ? माओवादीहरूको बारेमा हामीले पुलिसलाई सूचना दिएको कुरा उनीहरूलाई थाहा भयो  भने उनीहरूले हामीलाई बाँकी राख्लान् र ?”

जिवीकाका लागि आदिवासीहरू जङ्गलबाट बिडी बनाउन प्रयोग हुने तेन्दुका पातहरू जम्मा पारेर ठेकेदारहरूलाई बिक्री गर्छन् । प्रायः गरेर सरकारी अधिकारीहरूको आडभरोसा पाउने यी ठेकेदारहरू आदिवासीहरूलाई ठगेर फाइदा लिन्छन्, जसमा १००० पातका लागि उनीहरू १००देखि १५० रुपियाँ मात्रै दिने गर्छन् । आदिवासी समुदायको एक जना सदस्यले भने, “माओवादीहरूले दबाबले गर्दा उनीहरू १००० पातको ३५० सम्म दिने गर्छन् । सरकारले हस्तक्षेप गरेर हामीलाई उचित दाम दिए किन हामी  माओवादीहरूमाथि किन भर पर्नुपथ्र्यो ? एकातिर सरकार हामीप्रति यस किसिमको व्यवहार गर्छ, अर्कोतिर उल्टै हामीले माओवादीलाई सहयोग गरेको भनेर आरोप लगाउँछ ।”

सिंचाइको असुविधाका कारण यस क्षेत्रमा मान्छेले वर्षमा एक पल्ट मात्र धान खेती लगाउँछन् । वर्षभरि खान यो उनीहरूका लागि पर्याप्त हुँदैन ।
गाडचिरोली जिल्ला परिषद्का एक जना सदस्य लाल्सु सोमा नोगोटीले भने, “हाम्रो पूरा जीवनशैली वनमा निर्भर हुन्छ । उदाहरणका रूपमा घर बनाउन र खाना पकाउन जङ्गलबाटै काठपातको आवश्यकता पूरा गर्नुपर्छ । यो बाहेक परम्परादेखि  चलाउँदै आएको उपचारका लागि औषधीका जडिबुटीको  पनि हामीलाई आवश्यकता पर्ने गर्छ । यति सम्म कि हामीले परम्परागत रूपमा बनाउने रक्सीका लागि फूल पनि जङ्गलबाटै प्राप्त हुन्छ । यो गाउँमा कसैकोमा पनि ग्याँस सिलिन्डर छैन । बेलाबेलामा वन अधिकारीहरू घरेलु आवश्यकताका लागि जङ्गलबाट काठ लैजानेहरूलाई समात्छन् र यो गैरकानुनी काम हो भन्दै घुस माग्छन् । पुलिसमाथि माओवादी नेताहरूले दबाब दिएकै कारण यस क्षेत्रका आदिवासीहरूले काठ उपभोग गर्न पाएका छन् । त्यसै गरी आदिवासी गाउँलेले घर बनाउन नदीबाट बालुवा ओसारेको बेला राजस्व विभागका मान्छेहरू आएर रोक्न खोज्छन् । अस्पतालमा बिरामीको उपचार हुन्छ भन्ने जानकारीसम्म पनि नभएर कतिपय मान्छे अकालैमा मर्ने गर्छन् ।”

एक जना अरू स्थानीय निवासी मयुर नायकवार भन्छन्, “यहाँ आदिवासीहरू सायद नै कसैले मोबाइलको प्रयोग गर्छन् ।  नेटवर्क पनि यहाँ राम्रोसित समात्तैन । बिजुलीको खम्बा त छ तर, दिनभरिजसो बिजुली आउँदैन, कटौती गरिन्छ ।  सार्वजनिक वितरण केन्द्र र  प्राथमिक स्वास्थ्य केन्द्रसमेत गाउँदेखि १०/१५ किलोमिटर टाढा छन् ।

आफ्नो नाम नछाप्ने सर्तमा अल्लापल्लीको नैनर गाउँका एक जना गाउँलेले भने, “पुलिस अत्याचार नियमित रूपमा हुने हुनाले आदिवासीहरूले सदैव डरमा बाँच्नु पर्ने अवस्था हुन्छ ।  जतिबेर पनि  जहाँबाट पनि मनलाग्दी किसिमले पुलिसले गाउँलेलाई समात्छन् र नक्सलीका साथ सम्बन्ध भएको भन्ने आरोप लगाउँछन् । कुनै जानकारी नै नदिइकन पुलिसका हाकिमहरू  खाली कागजमा जबर्जस्ती औँठाछाप लगाउँन लगाउँछन् । माओवादीहरूले हामीलाई कुनै पनि किसिमको दुख दिने गरेका छैनन् । उनीहरू पुलिसलाई सूचना दिनेहरूमाथि मात्रै कारबाही गर्छन् । यो बाहेक उनीहरूबाट हामीले कुनै पनि किसिमको समस्या भोग्नु परेको छैन ।”
 
२३ अप्रिलको मुठभेडमा मारिएका माथिल्लो तहका नक्सल नेता नन्दुकी दिदी सरोदिना बुच्चाले भनिन् ,“ नन्दु स्थानीय कलेजमा २००३–२००४ मा १२ कक्षामा विज्ञानको विषयको समूहमा उच्च श्रेणीको विद्यार्थी थियो ।  हामीसित अगाडि पढाउनका लागि चाहिने पैसा थिएन । युवाहरूका लागि अर्को विकल्प भनेको माओवादी राजनीतिसित जोडिनु हुन्थ्यो, र उसले पनि त्यही गर्यो  । यहाँका धेरजसो  केटाकेटीहरू आश्रमशाला  (आदिवासी केटाकेटीहरूका लागि सरकारी आवासीय विद्यालय) जान्छन् । खराब खानपिन र कमजोर स्याहारसुसार खपेर भए पनि उनीहरू पढाइ पूरा गर्छन् । मराठी राम्रोसित बोल्न नजान्ने र सरकारी नोकरीका लागि घुस खुवाउन उनीहरूसित पैसा नहुने हुनाले उनीहरूले नोकरी पाउन सक्तैनन् । अनि तेन्दुका पात टिप्न उनीहरू गाउँमै फर्किनुपर्ने हुन्छ ।”

आफ्नो अनुहारलाई परम्परागत गोदाइ (टाटु) ले ढाकेकी एउटी  महिलातर्फ इसारा गर्दै उनले भनिन्, “बाबुआमाहरू आफ्ना चेलीबेटीहरूलाई पुलिसको कुदृष्टिबाट बचाउनका लागि अनुहारलाई विकृत बनाउन बाध्य छन् ।”

घरहरूले गरिबी झल्काउँछन्, घरका छानाहरूमा प्वालैप्वाल छन्, केही भाँडा र मान्छेहरूका अनुहारले कुपोषणको स्थितिलाई झल्काइरहेका हुन्छन् ।
०००

भिडियो फिचरview all