menu

ताजा समाचार

मे ५, मार्क्सको २००औँ जन्मदिवस

''कम्युनिस्टहरू  आफ्ना विचार  र उद्देश्यलाई लुकाउनु घृणास्पद कार्य ठान्दछन् । सम्पूर्ण वर्तमान सामाजिक व्यवस्थालाई बलप्रयोगद्वारा ध्वस्त  पारेर  मात्र आफ्नो  उद्देश्य पूरा हुनसक्छ भनेर उनीहरू खुल्लमखुला घोषणा गर्दछन्। साम्यवादी क्रान्तिको डरले शासक वर्गहरू  थर्कमान होउन् । हथकडीबाहेक सर्वहारा वर्गले अरू केही गुमाउनु पर्दैन, जित्नका लागि उनीहरूका सामु सारा संसार छ ।"   :  कम्युनिस्ट पार्टीको घोषणापत्र

विश्वभरिका क्रान्तिकारीहरूले कार्ल मार्क्सको २००औँ जन्मदिवस बडो क्रान्तिकारी उत्साह र प्रतिबद्धताका साथ मनाउने निधो र निर्णय गरेका छन् ।सन् २०१६ मा विश्वका माओवादी पार्टी तथा सङ्गठनहरूले  सन् २०१८ लाई मार्क्सको २०० औँ जन्मदिवसका रूपमा मनाउने निर्णय गरेका हुन् । मार्क्सको जन्म मे ५, १८१८ र मृत्यु १४ मार्च १८८३ मा भएको थियो । विश्वका माओवादी पार्टी तथा सङ्गठनहरूले यसपल्टको मे दिवस मार्क्सको २००औँ जन्मदिवससित जोडेर मनाउन आह्वान गर्दै एक हप्ते कार्यक्रमका साथ मनाइरहेका छन् ।  मार्क्सको २००औँ जन्मदिवस मनाउने क्रममा उनीहरूले आआफ्नो देशको विशिष्टता र पार्टीगत अवस्थाअनुसार सभा, जुलुस, विचारगोष्ठी, पर्चा वितरण र पोस्टरहरू टाँसेर मनाउने निधो गरेका छन् ।

 कम्युनिस्ट पार्टीको घोषणापत्र मार्क्सवाद र सर्वहारा वर्गको मुक्तिको आधारभूत दस्ताबेजका रूपमा स्थापित छ र यसको  प्रकाशनको पनि  १७० वर्ष पुगिसकेको छ ।  मार्क्सवाद आज मार्क्सवाद-लेनिनवाद-माओवादका रूपमा विकसित भएको छ र यसले  हरेक विकृति र विसङ्गतिका विरुद्ध लड्दै सर्वहाराको मुक्ति आन्दोलनलाई गति र दिशा प्रदान गरिरहेको छ । जनमेल यस घडीमा मार्क्सवाद–लेनिनवाद–माओवादप्रति प्रतिबद्धता जनाउँदै विश्व सर्वहारावादी आन्दोलनमा दृढताका साथ अघि बढ्ने प्रण गर्दछ ।
 
यस क्रममा हामी विश्व सर्वहारा वर्गको मुक्तिको दस्ताबेज  ‘कम्युनिस्ट पार्टीको घोषणापत्र’ बाट एउटा महत्वपूर्ण अंश पाठकहरूसमक्ष प्रस्तुत  गर्दछौँ :

---------------------------------------------------------------------

कम्युनिस्ट पार्टीको घोषणापत्र
बुर्जुवा र सर्वहारा

अहिलेसम्मका सबै वर्गहरूको आफूले सत्ता प्राप्त गरेपछि सम्पूर्ण समाजलाई अफ्नो शोषण पद्धतिको जाँतोमा पिस्नको लागि अनूकूल अवस्था पैदा  गर्दै जीवनमा उनीहरुले पाइसकेको स्थानलाई बलियो तुल्याउने कोसिस  गरे । सर्वहारा वर्ग भने आफ्नो अहिलेको शोषणपद्धतिलाई नष्ट गरेर मात्र सामाजिक उत्पादक शक्तिहरूको स्वामी बन्न सक्छ । सर्वहारा वर्गसँग सुरक्षा र हिफाजत गर्नुपर्ने आफ्नो भन्ने केही पनि छैन । उसको मूल उदेश्य निजी सम्पतिसित सम्बन्धित पहिलेका  सबै चिजहरूलाई सुरक्षित र सुनिश्चित गर्ने कुरालाई नष्ट गर्नु हो  ।

अहिलेसम्म सञ्चालित सबै आन्दोलनहरू  अल्पमतका आन्दोलन थिए अथवा अल्पमतको हितको लागि भएका थिए । सर्वहारा आन्दोलनचाहिँ विशाल बहुमतको हितको लागि विशाल बहुमतद्वारा गरिएको  आत्मसचेत  आन्दोलन हो । सर्वहारा वर्ग आधुनिक समाजको सबैभन्दा तल्लो तह हो । उसले आफूभन्दा माथिल्लो तहमा रहेका सम्पूर्ण सत्तारुढ समाजका ढाँचाहरूलाई ध्वस्त नपारिकन  माथि उठ्न र जीउ सोझ्याउन सक्दैन ।

पुँजीपति वर्गका विरुद्ध सर्वहारा वर्गको सङ्घर्ष सारतत्वका दृष्टिले  नभए पनि सुरुमा राष्ट्रिय सङ्घर्ष हुन्छ । हरेक देशको  सर्वहारा वर्गले निश्चय पनि सबैभन्दा पहिले  आफ्नै पुँजीपति वर्गलाई  खतम पार्नु पर्छ ।

अहिलेसम्म अस्तित्वमा रहेका सबै समाजहरु उत्पीडक र उत्पीडित वर्गहरुबीचको अन्तरद्वन्द्वमा अन्तद्र्वन्द्वमा आधारित थिए भने हामीले थाहा पायौं । तर कुनै पनि वर्गलाई उत्पीडन गर्नको लागि यस्तो अवस्थाको आवश्यकता हुन्छ, जसमा ऊ कम्तीमा पनि दासको रूपमा जीवन धान्न सकोस्  । भूदास अवस्थाको युगमा भूदासले कम्युनको सदस्यको स्थितिसम्म पुग्न पाएको थियो , ठीक त्यसरी नै जसरी सामन्तवादी निरंकुशताको जुवामुनी पुँजीपतिको स्थानसम्म निम्न-पुँजीवादी  पुगेको थियो । यसको विपरीत, आधुनिक मजदुरले भने उद्योगको प्रगतिको साथसाथै उन्नति गर्दैन, बरु आफ्नो वर्गको अस्तित्वको लागि आवश्यक अवस्थाको स्तरभन्दा पनि ऊ ज्यादै तल झर्छ । मजदुर  कङ्गाल बन्न पुग्छ  र गरिबी  चाहिँ जनसंख्या र सम्पत्तिभन्दा पनि द्रुत गतिले बढ्दैजान्छ । पुँजीपति वर्ग अब समाजको शासक वर्ग बनेर बस्न र सारा समाजमाथि आफ्नो वर्गको अस्तित्वको अवस्थालाई अनिवार्य कानुनका रूपमा लाद्न असमर्थ छ भनेर यसले प्रस्टरूपमा  देखाउँछ । पुँजीपति वर्ग शासन गर्न अयोग्य छ, किनभने उसले आफ्नो  दासलाई दासकै स्तरको अस्तित्व राख्नेसमेत सम्भावना प्रदान गर्न  सक्दैन, किनभने पुँजीपति वर्गले आफ्ना दासलाई यस्तो अवस्थामा झर्न दिन बाध्य हुनु परिरहेको छ, जब आफू दासको उपार्जनबाट पालिनुको सट्टा ऊ आफैंले दासलाई पाल्नुपरेको छ । अब समाज पुँजीपति वर्गको प्रभुत्वमा बस्न सक्दैन, अर्थात् उसको अस्तित्वले अब समाजसँग सामन्जस्य राख्दैन ।

व्यक्तिगत धनसञ्चय, पुँजीको निर्माण र बृद्धि पुँजीपति वर्गको अस्तित्व र प्रभुत्वको मुख्य आधार हो । पुँजीको अस्तित्वको आधार नै ज्यालादारी श्रम हो । ज्यालादारी श्रम पूरापूर मजदुरहरूको आपसी प्रतिस्पर्धामा निर्भर गर्दछ । पुँजीपति वर्ग उद्योगको उन्नति गर्न बाध्य हुन्छ, यसलाई रोक्न ऊ  असमर्थ हुन्छ । यस उन्नतिले प्रतिस्पर्धाद्वरा उत्पन्न  हुने मजदुरहररूको फूटटको स्थानमा सङ्गठनको माध्यमबाट उनीहरूमा क्रान्तिकारी एकता ल्याउँछ । यसप्रकार, विशाल उद्योगको विकासले पुँजीपति वर्गको पैताला मुनिबाट त्यो जग नै भत्काइदिन्छ, जसको आधारमा उसले वस्तुको उत्पादन र शोषण गर्दछ । पुँजीपति वर्गले  सर्वप्रथम आफ्नै चिहान खन्नेहरूलाई उत्पन्न गर्छ  । उसको पतन सर्वहारा वर्गको विजय समान रूपमा अनिवार्य छ ।
०००



भिडियो फिचरview all