
चीनभरिका शिक्षकहरू बेजिङमा, शिक्षकहरूद्वारा शिक्षा मन्त्रालय घेराउ

सोमबार भएको प्रदर्शन र मन्त्रालय घेराउलाई यताका दिनमा शिक्षकहरूद्वारा गरिएको सबैभन्दा ठूलो प्रदर्शन भनेर सञ्चारमाध्यमहरूले समाचार प्रकाशित गरेका छन् । चिनियाँ भाषाको ब्लग ‘राइट्स डिफेन्स ब्लग’ ले यो रिपोर्टलाई विशेष महत्वका साथ प्रकाशित गरेको छ र यसलाई 'चाइना लेबर बुलेटिन’ ले समाचारका रूपमा प्रकाशमा ल्याएको छ । ‘राइट्स डिफेन्स ब्लग’ ले कतिपय स्थानीय सरकारले शिक्षकहरूलाई प्रदर्शनमा जान नरोकेको भए यो प्रदर्शन अझ विशाल हुन्थ्यो भनेर लेखेको छ ।
समाचारमा लेखिएको छ : शून्य डिग्रीको चिसोमा कठ्याङ्ग्रिदै बिहान आठै बजे शिक्षकहरू बेजिङमा शिक्षा मन्त्रालयको प्रवेशद्वार सामु एकत्रित भए । उनीहरूले नारा लगाए र गीतहरू गाए, फोटो खिचेर पत्रकारहरूलाई समाचार वितरण गरे । प्रदर्शनमा सबैभन्दा बुढा प्रदर्शनकारी ९१ वर्षका अवकास प्राप्त शिक्षक झाओ सियुन पनि थिए ।
नारा र जुलुससहित मन्त्रालय घेराउपछि कुराकानी गर्न भनेर मन्त्रालयका पदाधिकारीले ६ सदस्यीय टोलीलाई बोलाए पनि अधिकारीहरूले आफूले केही गर्न नसक्ने यसका लागि मार्चमा हुने 'चिनियाँ राष्ट्रिय जन कङ्ग्रेस' को वार्षिक कार्यक्रम पर्खिनु पर्ने भनेर आन्दोलनकारी शिक्षकलाई निरास पारेका थिए ।
शिक्षकहरूले उमेर हद नागेकाहरूले पाउनुपर्ने सुविधा र पेन्सनको माग गरेका छन् भने उमेर हद ननाघी हटाइएकाहरूको पुनर्बहालीको माग गरेका छन् । उनीहरूले पेन्सन पनि नपाएको र नयाँ काम पनि नपाएकाले कतिपयको परिवारिक स्थिति दयनीय बनेको कुरा पनि उठाएका छन् । चीनमा स्कुलहरूलाई पब्लिक संस्थाका रूपमा वर्गीकरण गरिएको छ र त्यहाँ ट्रेड युनियन खोल्न पाउने नियम बनाइएको छ । तर, समाचारमा निजी विद्यालयको स्थिति त झन् खराब छ र शिक्षक सङ्गठन पनि खोल्न दिइँदैन र एकदमै कम तलबमा करारमा शिक्षक राख्ने गरिन्छ भनिएको छ । एकातिर हिजोका दिनमा काम गरेको सुविधा नपाउनु, अर्कोतिर निजी स्कुलहरूमा धेरै काम कम तलब अहिले चिनियाँ शिक्षकहरूले भोग्दैआएको समस्या हो भनेर समाचारमा उल्लेख गरिएको छ ।
चिनियाँ पार्टी प्रमुख र सरकार प्रमुख सि जिँपिङले आफूलाई माओको हाराहारीमा राखेर संविधानमा नै सि जिँपिङ विचार लेख्न लगाएको अवस्थामा आफनो हकअधिकारको विषयलाई लिएर चीनभरिका अवकास प्राप्त शिक्षकहरूले बेजिङमा गरेको प्रदर्शन र मन्त्रालय घेराउलाई विदेशी माध्यमहरूले विशेष समाचार बनाएका छन् । माओवादीहरूको नयाँ केन्द्र निर्माण अभियानमा सक्रिय युरोपेली माओवादीहरूको ब्लग ‘माओइस्ट रोड’ ले पनि यो समाचारलाई महत्वका साथ प्रकाशित गरेको छ ।
माओको मृत्युपछि लागु गरिएको “सुधार योजना” अन्तर्गत थुप्रै सरकारी स्कुलहरू बन्द गरिएको र शिक्षकहरूलाई सेवाबाट हटाइएको थियो । माओको समयमा शिक्षकलाई विशेष सुविधा र सम्मान थियो, तर यताका दिनमा लागू गरिएको “सुधार योजना” अर्थात् चीनले पुँजीवादी बाटो समातेपछि भने सीमित मात्रामा सरकारी स्कुलहरू छन् र तिनको ठाउँ निजी स्कुलहरूले लिएका छन् । अहिले चीनको साशनसत्ता चिनियाँ कम्युनिस्ट पार्टीको नाममा भए पनि राज्यव्यवस्था दलाल पुँजीपति वर्गको चरित्रको रहेको छ । त्यसैले चिनियाँ उत्पीडित वर्गले त्यहाँ माओवादी पार्टी गठन गरेर आफ्ना नीति तथा योजनाहरू सार्वजनिक गरेको छ ।
भिडियो फिचरview all