
सिआरपिएफका जवान भन्छन् : “नक्सलीहरूलाई समाप्त पार्ने नाममा निर्दोष आदिवासीको हत्या गरिन्छ ।”

.........................................................................................................................
छत्तिसगढ सरकार र केन्द्र सरकारको नक्सलीहरूको उन्मूलनको नीति एकपल्ट फेरि विवादको घेरामा परेको छ । १० डिसेम्बरका दिन बिजापुर जिल्लाको वासांगुडामा प्रहरी जवान सन्तकुमारले आफ्नै ४ जना साथीलाई गोलीले उडाएको भनेर समाचार प्रकाशित भएको छ । यस घटनालाई माथिल्ला अधिकारीहरूले प्रहरी जवानबीचको आपसी विवाद भनेका छन् । परन्तु, नक्सल उन्मूलनका नाममा पुलिस अधिकारीहरू निर्दोष आदिवासी ग्रामीण जनतालाई मुठभेडको नाम दिएर हत्या गर्छन् भनेर आरोपी जवान सन्तकुमारले सञ्चारमाध्यममा आफ्नो भनाइ सार्वजनिक गरेका छन् । उनले प्रमोसन खान आदिवासीहरूलाई फर्जी अभियोग लगाएर हत्या गरिन्छ, जेल पठाइन्छ भनेका छन् । यस्ता समग्र घटनाबारे थाहा भएकाले आफ्नै साथीको हत्या गरेको भनेर आफूलाई फसाइएको हो भनेर पनि उनले भनेका छन् । आफू ४ जनाको हत्याको मामिलामा बेकसुर भएको कुरा पनि उनले समाचारमाध्यमहरूलाई बताएका छन् ।
उनले भनेका छन् : “म तपाईँहरूलाई भन्छु, आदिवासी निर्दोष जनतालाई समातेर ल्याएर मुठभेड भनेर हत्या गर्ने गरेको घटना नयाँ होइन, सबै काम अधिकारीले गर्छन् र दोष जवानहरूमागि लगाउँछन् । पहिले पनि जेल विभागकी महिला अधिकारी वर्षा डोँगरेले सोसल मिडिया फेसबुकमा बस्तरका जेलमा आदिवासी महिलालाई यातना दिइन्छ, उनीहरूलाई करेन्ट लगाइन्छ, यौन शोषण गरिन्छ भनेर लेखेकी थिइन् । महिला अधिकारीले यस्तो खुलासा गरेर सरकारलाई कठघरामा उभ्याएकी थिइन् । यसलाई लिएर आक्रोसपूर्ण किसिमले सरकारले उनलाई जागिरबाट सस्पेन्ड गरेको थियो ।
यो मात्र होइन, जेल अधिक्षक दिनेश धु्वले पनि नक्सल उन्मूलनसम्बन्धी सरकारी नीतिप्रति प्रश्न उठाएका थिए । सरकारले उनलाई पनि सस्पेन्ड गरेको थियो । यहाँसम्म कि दन्तेवाडाका न्यायाधीश प्रभाकर ग्वालले पनि पुलिसको कार्यशैलीप्रति प्रश्न उठाएका थिए, र पुलिसकै जोडमा उनलाई पनि सस्पेन्ड गरिएको थियो ।”
अहिले त नक्सल उन्मूलनका लागि भनेर तैनाथ गरिएका जवानले नै अधिकारीहरू नक्कली मुठभेड बनाएर निर्दोष आदिवासीहरूको हत्या गर्छन् भनेर उल्लेख गरेका छन् । उनले बलात्कार र हत्यामा आइजिस्तरका अधिकारीसमेत संलग्न भएको कुराको खुलासा गरेका छन् । उनले आफूमाथिको ४ जनाको हत्याको आरोपलाई प्रायोजित भनेका छन् ।
सन्तकुमारका भनाइअनुसार : उनले आफ्ना चार जना साथीलाई मारेका होइनन् । जतिबेर फायरिङ भएको थियो त्यतिबेर उनी क्याम्पमा थिए । उनका अनुसार उनको ड्युटी २बजेदेखि ४ बजेसम्म थियो । जतिबेर फायरिङ भयो त्यतिबेर उनी पानी भरिरहेका थिए । फायरिङको आवाज सुनेर उनी कुद्दैआए । उनले आफ्नो हतियार लिए र कम्पनीका अन्य साथीहरूसितै उनले पनि पोजिसन लिए । किन गोली चल्यो र कसले चलायो र को म¥यो भन्ने उनलाई केही थाहा ्थिएन । तर कम्पनी कमान्डर र उनका सहयोगीहरू आए र ४ जना जवानलाई तैँले मारेको भन्दै उनलाई समाते । त्यसपछि थानामा लगेर उनलाई थुनामा राखे ।
माथिको भनाइको भिडिओ सार्वजनिक भएको छ । किन मारिए ४ जना भन्ने कुराको प्रश्न यथावत छ । सन्तकुमारले चाहिँ अधिकारीहरूका काला कर्तुतका बारेमा आफूलाई सबै कुरा थाहा भएकाले मुख बन्द गराउन साथै अनेक बहाना बनाएर आफूलाई सिध्याउन गरिएको परिपञ्च भनेर सञ्चामाध्यमहरूलाई जानकारी गराएका छन् ।
यसैबीच आदिवासी महासभाको बैठक बसेर राज्यपालका नाममा ज्ञापनपत्र जारी गरिएको छ । सो पत्रमा सिआरपिफद्वारा नक्सलीका नाममा फर्जी मुठभेडमार्फत आदिवासीको आम हत्या गरिएको छ , नरसंहार मच्चाइएको छ भनिएको छ । सो पत्रमा ४ जना जवानको हत्याको यथार्थ बाहिर ल्याउन र “नक्सली शब्दलाई परिभाषित गर्न” पनि आग्रह गरिएको छ । महासभाको पत्रमा आदिवासी महिलालाई नक्सली भन्दै पक्राउ गर्ने, कयौँ दिनसम्म बलात्कार गर्ने र अन्त्यमा हत्या गर्ने र मुठभेडमा नक्सली मरेको भनेर प्रचार गर्ने गरिएको भनेर पनि उल्लेख छ । सन्तकुमारलाई बलात्कार र हत्याका घटनाका साथै माथिल्ला अधिकारीका काला कर्तुतबारे थाहा भएकाले उनलाई पनि सिध्याउने प्रयास गरिएको भनेर पत्रमा भनिएको छ ।
पत्रमा भनिएको छ : “ निर्दोष गाउँलेलाई मारेर मुठभेडमा नक्सली मारिएको भनेर प्रमोशन हात पार्ने घिनलाग्दो खुनी खेल खेल्ने कामले आम जनता असाध्यै आतङ्कको स्थितिमा बाँच्न बाध्य छन् ।”
जवान सन्तकुमारको खुला बयानले राज्य सरकारलाई बेचैन पारेको छ र चारैतिरबाट सत्यतथ्य बाहिर ल्याउन दबाब परेको छ । आदिवासी महासभाले राज्यपालका नाममा सम्बोधन गरेर ज्ञापनपत्र बुझाएपछि अहिले यो मुद्दा झन् चर्चाको विषय बनेको छ । प्रहरी हाकिमदेखि जवानसम्म प्रमोसन र नक्सली उन्मूलनका नाममा कसरी निर्दोष आदिवासीको हत्या गरिरहेका छन् र कसरी युवतीहरू बलात्कृत भएर अन्त्यमा नक्सली मुठभेडका नाममा मारिँदा रहेछन् भन्ने कुरा पनि सार्वजनिक भएको छ ।
000
भिडियो फिचरview all