menu

ताजा समाचार

“सि जिँपिङ विचारधारा !!!

भर्खरै चिनियाँ कम्युनिस्ट पार्टीको उन्नाइसौँ महाधिवेशन सम्पन्न भएको छ, जसले पहिलोचोटि माओपछि चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा जनगणतन्त्र चीनका राष्ट्रपति सि जिँपिङको जीवनकालमै उनको विचारलाई पथप्रदर्शक सिद्धान्तका रूपमा अघि सारेको छ । “सि जिँपिङ विचारधारासहित नयाँ युगको चिनियाँ विशेषतायुक्त समाजवाद” को निर्णयलाई  चिनियाँ कम्युनिस्ट पार्टीले १९७८ देखि अँगाल्दै आएको नीतिमा गुणात्मक फड्को मान्न सकिन्छ,  किनभने यसले मार्क्सवाद-लेनिनवाद, माओत्सेतुङ विचारधारा, देङ सियाओपिङ सिद्धान्त, तीनको प्रतिनिधित्वको सिद्धान्त, विकासमा वैज्ञानिक दृष्टिकोणको सिद्धान्त अँगाल्दै आएको थियो र यसमा पथप्रदर्शक सिद्धान्तका रूपमा माओको नामसित  माओ विचारधारा जोडिनुबाहेक जीवित अवस्थामा यसरी अरू कसैको नामसित विचारधारा जोडिएको  थिएन । चिनियाँ कम्युनिस्ट पार्टीद्वारा उनी जीवित छँदै जिँपिङ विचारधारालाई पार्टीको आधिकारिक विचारका रूपमा राख्ने कार्यले वर्तमान महासचिव सिले यताका पाँच वर्षमा देखावटी रूपमा नै भए पनि भ्रष्टाचार विरोधी अभियान चलाएवापत चिनियाँ समाज र सरकारमा बनेको आफ्नो स्थान  र व्यक्तित्व प्रदर्शनको अवस्था नगुमोस् भनेर चाहेको कुरा प्रस्ट्याउँछ ।

महासचिव सि जिँपिङ “चेयरम्यान माओ” नामले चिनियाँ जनतामाझ लोकप्रिय चिनियाँ कम्युनिस्ट पार्टीका महान् “नाविक” माओको सन् १९७६ मा मृत्यु भएपछि छोटो अवधिसम्म हुवा गोफेङसित जोडिएको ''अध्यक्ष" पद प्राप्त गर्ने दिशामा केन्द्रित छन् भन्ने अपुस्ट सामाचारहरू पनि प्रकाशमा आएका छन् । हुवा गोफेङ क्रान्तिकारीहरू “ग्याङ अफ फोर” लाई षड्यन्त्रपूर्ण किसिमले पार्टीबाट हटाउने र देङ सियाओपिङ र उनका मतियारलाई सहजतापूर्वक सत्ता सुम्पने साधन बने । आफूलाई माओको हारहारीमा राख्ने सि जिँपिङको प्रयास आफ्ना अनुयायीहरू र प्रतिस्पर्धीहरूबीच आफू विशिष्ट हुँ भनेर व्यक्तित्वको प्रदर्शन गर्नु र महासचिवका रूपमा आफ्नो दोस्रो कार्यकाल सकिएपछि पनि पार्टी र सरकारमा आफ्नो आधिकारिक भूमिका सुरक्षित राख्ने उद्देश्यबाट अभिप्रेरित छ भन्ने कुरा प्रस्ट छ ।

 सि जिँपिङको निर्णयले पार्टीमा रहेका उनका प्रतिस्पर्धीहरू आक्रोसित भएका हुनसक्छन्, पोलिटब्युरो र स्यायी समितिका जियाङ जेमिन र हु जिन्ताओजस्ता पुराना खेलाडीहरू अहिलेका नेता  सि जिँपिङलाई प्रतिस्पर्धीविहीन बनाउने स्थितिमा पक्कै पनि नहुन सक्छन्, किनभने यी खेलाडीहरू उमेरले शक्ति र सत्ताबाट बाहिरिएका मात्र हुन्, प्रवृत्तिले होइन । आफ्नो व्यक्तित्व प्रदर्शनका आधारमा सि जिँपिङले पार्टीको अध्यक्षता प्राप्त गरेर एकमना किसिमले मुलुक र पार्टीलाई चलाउन थाले भने यसले पार्टीको आन्तरिक शक्तिसङ्घर्षको गति र दिशा फेरिने छ र देङले बडो चलाखीपूर्वक माओ जेदोङले निर्माण गर्नुभएको समाजवादी नीतिहरू र वहाँ पक्षधर कमरेडहरूलाई हटाएर तयार पारेको “चिनियाँ विशेषतायुक्त समाजवाद”को आवरणभित्र परिचालित  पुँजीवादी व्यवस्था थप हिंसात्मक र विध्वंशकारी पनि हुनसक्छ ।

सि जिँपिङले जसरी आफ्नो नामको प्रयोग मार्क्सवाद विरोधी, कम्युनिस्ट विरोधी सिद्धान्तका लागि गरिहेका छन्, यसले उनी देङ सियाओपिङले अघि सारेको नीतिविरुद्ध पनि गइरहेका छन् भन्न सकिन्छ,  जसले सोझै आफ्नो नाम प्रस्ताव नगरीकन मार्क्सवाद-लेनिनवादको विशिष्ट सिद्धान्तको विकास क्षमतावान क्रान्तिकारीबाट भए पनि यो सामूहिक उत्पादनका रूपमा हुन्छ भनेर त्यसको जस आफूले लिएका थिए । हुवाको फेङपछि शक्ति हातमा लिएर देङ सियाओपिङ र उनका मतियारहरूले गरेजस्तै माओ जेतुङको विचार अथवा माओ विचारधारा चिनियाँ कम्युनिस्ट पार्टीका पहिलो पुस्ताका “सर्बोच्च नेता माओ जेदुङ” सहितको “सामूहिक बुद्धिमता” चीनको विशिष्टतामा मार्क्सवाद-लेनिनवादमा भएको विकासको सार्वभौम सत्यलाई पन्छाएर माओ विचारको निर्माणमा माओको व्यक्तिगत भूमिका, क्षमता र योग्यता  र दृष्टिकोण, जुनचाहिँ मार्क्सवाद-लेनिनवादको उच्च विकासको रूपमा प्रतिष्ठापित भइसकेको छ, त्यसलाई निषेध गरेर माओ विचारको सार्वभौम र अन्तर्राष्ट्रिय महत्तालाई निषेध गर्दै यसलाई “स्थानीय” राजनीतिक विचारधारा तथा चिनियाँ संस्करणको मार्क्सवादमा फेर्ने काम भएको छ, यसको अर्थ माओत्सेतुङ विचारको झण्डामुनि विश्वमा भइरहेका क्रान्तिकारी सङ्घर्षहरूको पिठ्युँमा छुरा रोप्नु हो ।
 
सि जिँपिङले “सि जिँपिङ विचारधारासहितको नयाँ युगको चिनियाँ विशेषतायुक्त समाजवाद” को आफ्नो लाइनको  जसरी वकालत गरिरहेका छन्, यसलाई उनले  सामूहिक सिद्धान्तको रूप दिन पनि सक्छन्, उनीसँगै शक्तिमा रहेका मूलतः केही पोलिटब्युरो सदस्यहरूलाई,  अथवा यसलाई आफू एक्लैले विशिष्ट किसिमले विकसित गरेको सिद्धान्त भनेर शक्ति आफ्नो हातमा केन्द्रित गरेर खासखास एकदमै थोरैलाई मात्र लूटतन्त्रमा सहभागी गराउन पनि सक्छन् । जे जे गरे पनि उनी बहुसङ्ख्यक चिनियाँ जनतालाई मूर्ख बनाउन सक्तैनन्, जो मार्क्सवाद-लेनिनवाद-माओ जेदुङ विचारधारासित राम्रोसित परिचित छन् र उनीहरू अहिलेको चिनियाँ सत्ता र गद्दार चिनियाँ कम्युनिस्ट पार्टी रातो रङको आवरणमा पुँजीवादी तानासाही निृशंस हतियारहरूको पुलिन्दा हो भनेर जान्दछन् ।

कुनै पनि मुलुकमा समाजवादको स्थापना र सर्वहाराको अधिनायकत्व स्थापना हुनेबित्तिकै पुँजीपतिहरू र श्रमजीवी वर्गबीचको अन्तर्विरोधको अन्त्य हुँदैन, बरु नयाँ स्तरमा चर्किन्छ भनेर लेनिनका भनाइ उधृत गर्दै वर्षौँ पहिले माओले प्रस्ट पार्नुभएको थियो । समाजवादको स्थापनापछि पनि बुर्जुवाहरू र सर्वहारबीचको अन्तर्विरोध चर्किन्छ भन्ने कुरा स्तालिनको मृत्युपछि सोभियत रूसमा पुँजीवादको पुनर्स्थापना भएको अनुभवले देखाउँछ भनेर पनि माओले प्रस्ट पार्नुभयो । समाजवादले रातारात आफसेआफ बस्तु उत्पादनलाई विस्थापित गर्दैन—खासगरेर सानो तहको बस्तु उत्पादन पद्धतिलाई, जसले बुर्जुवाहरूको विकासको विजारोपण गर्छ, त्यसैका आधारमा बुर्जुवाहरूले विस्तारै शक्ति हातमा लिएर समाजवादी विजयलाई विस्थापित गरी पुँजीवादको स्थापना गर्ने प्रयास गर्छन् । त्यसैले माओले कम्युनिस्टहरूले सत्ताबाट फ्यालिएको पुँजीपति वर्गका विरुद्ध निरन्तर र सम्झौताहीन सङ्घर्ष चलाउनुपर्छ, उनीहरूलाई फेरि शक्ति र सत्तामा आउनबाट रोक्नुपर्छ भनेर जोड दिनुका  साथै,  समाजवादअन्तर्गत सत्ताधारी श्रमजीवी वर्ग र सत्ताच्युत बुर्जुवाहरू, जो पुनः शक्ति हात पार्न प्रयासरत हुन्छन्, उनीहरूसितको अन्तर्विरोध प्रधान हुन्छ  र यो विश्वभरि नै समग्र साम्राज्यवादी सत्ता ध्वस्त नहोउन्जेलसम्म रहिरहन्छ भनेर पनि जोड दिनुभयो । तर चिनियाँ कम्युनिस्ट पार्टीभित्रका देङवादीहरूको क्याम्पले पार्टीभित्र साम्राज्यवादी एजेन्टको भूमिका खेल्दै यो सिद्धान्तको सदैव विरोध गर्यो — उनीहरूले अबको समाजमा प्रधान अन्तर्विरोध “जनताको समृद्ध जीवनको आकाङ्क्षा र उत्पानशक्तिहरूको बाधकहरू” हो भनेर जिकिर गर्दै राजनीतिक रूपान्तरणा र क्रान्तिकारीकरणमा भन्दा किसान मजदुर र श्रमजीवीले ठूलो स्तरमा उत्पादनमा सहभागी भएर उत्पादन वृद्धि गर्नुपर्ने तर्क अघि सारे । 

आठौँ पार्टी महाधिवेशनमा  लिउ साउची र देङ सियाओपिङले  चिनियाँ कम्युनिस्ट पार्टी र चिनियाँ सरकारको जिम्मेवारी हत्याएपछि माओले आफ्ना सहयोगीका साथ नक्कली कम्युनिस्ट बनेर  पार्टीभित्र रजाईं गरेका पुँजीपतिहरूका विरुद्ध किसान तथा श्रमजीवी वर्गको साथ लिएर क्रान्तिकारी सङ्घर्ष चलाउनुभयो, जुन, चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति, छोटोमा सांस्कृतिक क्रान्ति, नामले प्रख्यात छ— उपरिसंरचनामा भएको क्रान्ति, जसले लिउ साउची र देङसियाओपिङको तानासाही साशनलाई फ्यालिदियो र सर्वहारा साशनलाई  पुनर्स्थापित गर्यो  ।

माओ जेदुङ विचारधाराको राजनीतिक सिद्धान्तबाट विकसित सांस्कृतिक क्रान्तिको क्रान्तिकारी तीव्रता, श्रमजीवी वर्गको ऊर्जाशीलताले लिउ साउचीको हेडक्वार्टरलाई फ्यालिदियो र श्रमजीवी वर्गको मजबुत शासनलाई पुनर्स्थापित गर्यो ,  देङवादीहरूको नेतृत्वका विरुद्ध  सांस्कृतिक क्रान्तिको गरेको अपिलमार्फत चीनका समग्र श्रमजीवी वर्गहरू पुँजीपन्थीहरू विरुद्ध  आन्दोलित हुनुका कारण  नै सांस्कृतिक क्रान्ति र चिनियाँ कम्युनिस्ट पार्टीको नऔँ महआधिवेशनप्रति अहिलेसम्म पनि चिनियाँ कम्युनिस्ट पार्टीभित्रका गद्दार नेतृत्वहरू  र तिनका मतियारहरू रुष्ट र आक्रेसित छन्, र ती, अब पनि त्यस किसिमका आन्दोलन गर्नु भनेको मुलुकलाई राष्ट्रिय बर्बादीको स्थितिमा पुर्याएर  सिध्याउनु हो भनेर आम जनतालाई धम्क्याइरहेका छन् । १९७१ मा लिन ब्याओको पलायनपछि माओ चाउ एनलाइको घेराबन्दीमा पर्नुभयो र १९७३ मा देङ सियाओपिङलाई कारबाहीबाट फिर्ता बोलाइयो र विस्तारै उसले शक्तिमा आउनका लागि माओलाई सघाएको जस्तो वातावरण बनाउन थाल्यो । माओको वरिपरि रहेका कतिपय पात्रहरूबीच विकसित हुनथालेको शक्तिसङ्घर्षको स्थितिले देङलाई शक्तिमा आउने वातावरण बनाउन केही मात्रमा सहयोग पनि पुर्यायो ।

क्रान्तिपछि जनताका आकाङ्क्षाहरूलाई कम्युनिस्ट पार्टीका उद्देश्यहरूसित गाँसेर सुनिश्चितता प्रदान गर्न, श्रमजीवी वर्ग र किसानहरूको क्रान्तिकारी रूपान्तरण गर्दै वर्गविहीन समाज साम्यवादको स्थापना गर्न माओले अघि सार्नुंभएको मूल्यमान्यताका विरुद्ध देङवादी चिनियाँ कम्युनिस्ट पार्टीले परम्परागत रुढिग्रस्त  विधिविधानलाई सुरक्षा प्रदान गर्यो, श्रमजीवी वर्गको राजनीतिक प्रशिक्षणमा रोक लगायो र पुँजीपति वर्गहरूको हितको रक्षा गर्यो  । अमेरिका-निर्धारित नव-उदारवादी आर्थिक पद्धति अँगालेपछि चीनले यताका तीन दशकमा पुँजीवादी बाटोमा द्रूततर विकास गरेको भए पनि गरिबीमा रहेका जनतासितको यसको सामाजिक-आर्थिक सम्बन्ध विच्छेद तीव्ररूपमा भइरहेको छ र श्रमजीवी वर्गले हिजोका दिनमा प्राप्त गरेको शक्ति र साशकीय हैसियत पनि पूर्णरूपमा गुमाइसकेको छ । श्रमजीवी वर्ग एकदमै तन्नम स्थितिमा पुगेको छ र चिनियाँ किसानहरू क्रान्तिअघिको स्थितिझैँ एकदमै भोकभोकै र गरिबीको स्थितिमा जीवन बिताउन बाध्य छन् ।

चीनमा पुँजीवादी व्यवस्थाको विकाससँगै चिनियाँ  कम्युनिस्ट पार्टीको माथिल्लो नेतृत्वमा  नोकरसाही पुँजीपतिहरूको विशेष गुटको विकास भयो, तिनले प्रमुख राज्यऔद्योगिक प्रतिष्ठानहरू कब्जा  गरे र विदेशी संस्थाहरूलाई सस्तोमा बिक्री गरे, साथै नोकरसाही पुँजीपति वर्गको यो विशेष गुटले जनमुक्ति सेनाको माथिल्लो तहका शक्तिशाली पदाधिकारीहरूलाई पनि हातमा लियो । तिनीहरू, यो नोकरसाही गुटका सदस्यहरू अहिलेको चीनको नयाँ बादसाहहरू हुन्, जसले समाजवादी चीन प्राप्तिको जनताको आकाङ्क्षालाई दमन गर्दै आफ्नो गुटलाई वैधानिक बनाएका छन् । उनीहरूले चिनियाँ समाजमा विकसित हुनथालेको क्रान्तिकारी आन्दोलनलाई बलपूर्वक रोक्न र जनताले प्रधान अन्तर्विरोध, उदाहरणका रूपमा अहिलेको प्रधान अन्तरविरोध, सर्वहारा वर्ग र पुँजीपति वर्गबीचको अन्तर्विरोधका बारेमा सही जानकारी नराखुन् र त्यतातिर ध्यान पनि नदिऊन् भनेर जनताको ध्यान अन्यत्र मोड्न सानातिना अन्तर्विरोधलाई नै प्रधान अन्तर्विरोध बनाएर “सि जिँपिङ सिद्धान्त” जस्तो घोर संशोधनवादी सिद्धान्तलाई अघि सारेर जनतालाई भ्रम दिइरहेका छन् ।

“सि जिँपिङ सिद्धान्त” चिनियाँ समाजको अहिलेको प्रधान अन्तर्विरोधबाट जनताको ध्यान अन्त मोड्ने र माओको भूमिका र माओले स्थापित गरेका मूल्यहरूलाई निषेध गरेर सि जिँपिङलाई माओको हैसियतामा राख्न गरिएको कुटिल चालबाहेक अरू केही होइन ।
 
(‘पिपुल्स रिभ्यु’ २०१७ मा ''चिनियाँ कम्युनिस्ट पार्टीको १९ औँ महाधिवेशन र 'सि जिँपिङ विचारधारा' शीर्षकमा प्रकाशित यो रचनाका  अनुवादक  : ऋषिराज बराल हुन्  ।  )

भिडियो फिचरview all