menu

ताजा समाचार

सि जिँपिङलाई माओको हाराहारीमा राख्नु हाँस्यास्पद कुरा मात्र हो : फ्रन्टिएर

 (भारतको बङ्गालबाट प्रकाशित हुने अङ्ग्रेजी पत्रिका 'फ्रन्टिएर' निकै पुरानो पत्रिका हो । यो चारु मजुमदारको समयमा त्यतिबेरको भाकपा (माले) सम्बद्ध प्रकाशन हो । अहिले भारतीय कम्युनिस्ट पार्टी (माओवादी) सित आबद्ध नभए पनि यो माओवादी आन्दोलनको सेरोफेरोभन्दा बाहिर छैन ।  चिनियाँ कम्युनिस्ट पार्टीको उन्नाइसौं महाधिवेशनसित सम्बद्ध नीति निर्माण र दस्ताबेज तयारीका क्रममा बसेको पार्टीको विस्तारित बैठकले गरेका निर्णयहरूलाई लिएर सो पत्रिकाको  नोभेम्बर २०१६ को ४९ औँ अङ्कमा  ‘अध्यक्ष माओ फर्किनुहुन्छ’ सम्पादकीय प्रकाशित भएको थियो । चिनियाँ कम्युनिस्ट पार्टीको सोही विस्तारित  बैठकले गरेका निर्णयहरू नै उन्नाइसौं  महाधिवेशनमा पारित गरिएका थिए । सो महाधिवेशनले सि जिँपिङ “विशेष प्राधिकारपूर्ण नेता”, “चिनियाँ विशेषताको समाजवाद” र “सि जिँपिङ विचारधारा” जस्ता सैद्धान्तिक तथा वैचारिक पक्षहरूमा निर्णय गर्नुका साथै उनलाई माओको समान हैसियत पदान गरेको थियो । यहाँ हामीले सोही सम्पादकीय अनुवाद गरी प्रकाशित गरेका छौं  । यसले अहिलेको चीन र चिनियाँ नेतृत्वबारे सटिक विश्लेषण गरेको छ । )

...........................................................................................................

सम्पादकीय : ‘अध्यक्ष माओ फर्किनुहुन्छ’

सि  जिँपिङलाई जनगणतन्त्र चीनको ‘विशेष प्राधिकारपूर्ण नेता’ को दर्जा दिने चिनियाँ कम्युनिस्ट  पार्टीले गरेको पछिल्लो निर्णय चिनियाँ राजनीतिप्रति चासो राख्नेहरूबीच विवाद र बहसको विषय भएको छ । ३७० जना नेताहरूको उपस्थितिमा बेजिङमा चार दिनसम्म चलेको पार्टीको विस्तारित बैठकका निर्णयका रूपमा सो पार्टीद्वारा जारी वक्तव्यमा सिजिँपिङलाई केन्द्र मानेर उनको वरिपरि गोलबद्ध हुन आह्वान गरिएको छ ।  साँचो कुरा के हो भने एक समय चिनियाँ कम्युनिस्ट पार्टीमा माओको  भूमिकाकै हाराहारीमा सि जिँपिङलाई  उच्च भूमिकामा राखिएको छ । परन्तु , साँचो कुरा के हो भने माओ त्यसै त्यस किसिमको भूमिकामा पुग्नुभएको थिएन, वहाँ कसरी चिनियाँ कम्युनिस्ट पार्टी र विश्वका मार्क्सवादीहरूबीच विशिष्ट स्थान ग्रहण गर्न पुग्नुभयो भनेर सबैले त्यतिबेरको स्थितिलाई पछाडि फर्केर हेर्नु आवश्यक छ  ।  
विशिष्ट नेताका रूपमा माओको भूमिका चिनियाँ नयाँ जनवादी क्रान्तिका चार विशिष्ट चरणको नेतृत्व गर्दाको समयमा विकसित भएको हो । पहिलो चरण कोमिन्ताङसितको सहकार्यको चरण थियो, जुनचाहिँ कोमिन्ताङ्को गद्दारीका कारण तोडिएको भएको थियो, दोस्रो चरण जमिनदारहरू विरुद्धको सङ्घर्षमा खासगरेर ग्रामिण किसान क्षेत्रमा पार्टीको प्रभाव र कार्य विस्तारका समयमा भएको जनयुद्ध थियो । यो ‘लामो अभियान’ को समय थियो । तेस्रो चरण विश्वयुद्धसित जोडिएको जापानी फासिवादका विरुद्ध प्रतिरोधयुद्ध काल थियो । यसमा चिनियाँ कम्युनिस्ट पार्टीले च्याङ काइ-सेकलाई संयुक्त मोर्चाका लागि आह्वान गरेको थियो र यसमा सफल पनि भएको थियो । यसै बेला चिनियाँ कम्युनिस्ट पार्टी चीनको नेतृत्वकर्ताका रूपमा स्थापित भएको थियो । जापानीहरूलाई पराजित गरेपछि, क्रान्तिकारी जनयुद्धको तेस्रोचरण आरम्भ हुन्छ, जसमा च्याङ काइ-सेकले कम्युनिस्टहरूलाई सत्ता साझेदारी गरेर जनवादी गणतन्त्र घोषणा गर्ने कुरालाई अस्वीकार गर्छ । यो युद्ध निरन्तर ३ वर्षसम्म चल्यो र युद्धका बीचमा च्याङको गिरोह ताइवान भागेपछि युद्ध समाप्त भएको थियो । त्यसपछि जनगणतन्त्र चीनको घोषणा गरिएको थियो ।

चुनाई सम्मेलनपछि ‘लामो अभियान’ को समयमा माओलाई चिनियाँ कम्युनिस्ट पार्टीको सर्वोच्च नेता, प्राधिकारपूर्ण नेतृत्वसहितको नेताका रूपमा स्वीकार गरिएको थियो । यो निर्णय सर्वसम्ममत निर्णय थियो, जसले विशेष गरेर कोमिन्ताङ र उसलाई समर्थंन गर्ने दक्षिणपन्थी विचलनवादी शक्तिहरूका विरुद्ध दीर्घकालीन जनयुद्धका साथै चिनियाँ कम्युनिस्ट पार्टीभित्रका वाम विचलनवादीहरूका विरुद्ध पनि सङ्घर्ष चर्कायो । नयाँ जनवादी क्रान्तिको सफलता, विश्वलाई हल्लाउने एउटा परिघटना थियो, जसले चिनियाँ कम्युनिस्ट पार्टी र त्यसका नेताको विश्वव्यापी रूपमा सम्मान र श्रद्धा बढाएको थियो । माओले पाएको सम्मान र प्राधिकारितामा आम चिनियाँ जनता त्यसमा पनि उत्पीडित जनताको ठूलो समर्थन थियो । क्रान्तिपछि समाजवादलाई अघि बढाउने प्रश्नमा चिनियाँ कम्युनिस्ट पार्टीभित्र पछिल्ला दिनमा भीषण सङ्घर्षको स्थिति बन्यो । प्रतिरोध युद्ध र क्रान्तिकारी जनयुद्धको समयमा निम्नपुँजीवादी  तथा पुँजीवादी विश्वदृष्टि अँगाल्ने थुप्रै मान्छेहरू चिनियाँ कम्युनिस्ट पार्टीमा समाविष्ट भएका थिए, त्यतिबेर साम्राज्यवाद र सामन्तवादका विरुद्ध लड्न चिनियाँ कम्युनिस्ट पार्टी जत्तिको भरपर्दो माध्यम अरू छैन भन्ने उनीहरूलाई लागेको थियो । यस्ता मान्छेहरू चीन पुँजीवादको बाटोमा चलोस् भन्ने चाहन्थे । माओले यस किसिमका  प्रवृत्तिका विरुद्ध निर्मम सङ्घर्ष चलाउनु भयो परन्तु समाजवादले विजय प्राप्त गर्छ कि पुँजीवादले भन्ने कुराको छिनोफानोका लागि लामो समय पनि लाग्न सक्छ भन्ने कुरा पनि थाहा थियो । चिनियाँ कम्युनिस्ट पार्टीभित्र नै बुर्जुवाहरूका प्रतिनिधि थिए भन्ने कुरा पनि वहाँलाई थाहा थियो ।

 अन्तन्तः माओको मृत्युपछि वहाँले अघि सार्नुभएको क्रान्तिकारी नीतिलाई एकएक गरेर खारेज गरियो । अब चीन हरेक दृष्टिले पुँजीवादी मुलुक हो । विडम्बनाको विषय के छ भने यो कम्युनिस्ट पार्टीद्वारा शासित छ । चीन यस्तो मुलुक हो, जहाँको  मार्क्सवादभित्र खरबपतिहरू कम्युनिस्ट बनेर खचाखच भरिएका छन्  । तर यो पनि सत्य हो कि माओको नाम चिनियाँ जनताबीच असाध्यै सम्मानित छ र माओ विश्वका उत्पीडित जनताबीच त्यत्तिकै प्रिय हुनुहुन्छ । माओपछिका चिनियाँ नेतृत्वहरूले माओका नीतिहरूलाई रछ्यानमा फ्यालेर इज्जत–सम्मान दिने नाममा माओलाई  म्युजियममा सजाएर आफू आनन्दको जीवन बिताइरहेका छन् ।

सि जिँपिङ माओजत्तिकै शक्तिशाली बनेका नै हुन् भने पनि यो जनताको तर्फबाट नभएर खासगरेर चिनियाँ कम्युनिस्ट पार्टीका कामकारबाहीहरू नियन्त्रित गर्ने चिनियाँ बुर्जुवाहरूले उनलाई यो अधिकार दिएका हुन् । यसको समाजवाद र साम्यवादसित कुनै सरोकार छैन । सि जिँपिङ र सायद उनका नजिकका मान्छेहरू, बढीमा छ-सात जना होलान्, जसलाई स्थायी समिति भनिएको छ, पार्टीको समग्र अधिकार उनीहरूको हातमा हुनुले चीन फासिवादी दिशामा जाँदैछ भन्ने कुराको सङ्केत गर्छ । आखिर फासिवाद, सङ्कीर्ण र अन्ध राष्ट्रवादसित जोडिएको वित्तीय पुँजीको सबैभन्दा आक्रामक चरित्र हो । यस अर्थमा चिनियाँ नयाँ जनवादी क्रान्ति सफलतापूर्वक सम्पन्न गर्ने माओ जेदुङकै हाराहारीमा सि जिँपिङलाई राख्नु चिनियाँ फासिवादतर्फको कोसेढुङका रूपमा देखापर्छ ।

अर्को कुरा के हो भने माओका सैद्धान्तिक योगदानहरूलाई विश्वभरि नै स्वीकार गरिएको छ । वहाँले छापामार युद्धको आम रणनीतिलाई अघि सारेर तेस्रो विश्वका पछिपरेका अर्धसामन्ती तथा अर्धऔपनिवेशिक मुलुकमा हुने क्रान्तिसम्बन्धी विचारको विकास गर्नुभयो । दीर्घकालीन जनयुद्धको नीतिले भारत लगायत विश्वभरिका क्रान्तिकारीहरूलाई ऊर्जा प्रदान गरिरहेको छ । चिनियाँ विदेशी लगानीकर्ताले आफ्नो व्यावहारिक उद्देश्य पूरा गर्न ब्रान्ड एम्बेसेडरका रूपमा अघि सारेका अहिलेको चिनियाँ कम्युनिस्ट पार्टीभित्रका सबैभन्दा शक्तिशाली पात्र  सि जिँपिङलाई माओको बराबरीमा राख्नु हाँस्यास्पद कुरा मात्र हो । तेस्रो विश्वका उत्पीडितहरू, खास गरेर अफ्रिका र एसियाका उत्पीडितहरूले  चिनियाँ शोषणका विरुद्ध लड्नुपर्ने दिनहरू टाढा छैनन् । माओको नेतृत्वमा विश्वक्रान्तिको केन्द्र बनेको चिनियाँ कम्युनिस्ट पार्टीको भूमिका दुखद किसिमले उल्टिएको छ र यसबाट एसिया, अफ्रिका र ल्याटिन अमेरिकाको मार्क्सवादी-लेनिनवादी आन्दोलनहरू नराम्रो गरी प्रभावित भएका छन् ।

(फ्रन्टियर, भोलम ४९, २०१६)

अनु : ऋषिराज बराल
 

भिडियो फिचरview all