menu

ताजा समाचार

सांस्कृतिक क्रान्तिका समर्थक लाखौंलाख जनतालाई तत्कालै गिरफ्तार गरे: डोङपिङ हान

 (चीनमा जन्मेर हाल अमेरिकामा प्राध्यापन पेशामा सङ्लग्न डोङपिङ हान नेपाली पाठकका लागि परिचित नाम हो । उनको महत्त्वपूर्ण कृति 'अपरिचित सांस्कृतिक क्रान्ति' यसअघि नै नेपाली पाठकबीच  लोकप्रिय भइसकेको हो ।  यस पुस्तकले चिनियाँ  महान् सर्वहारा सांस्कृतिक क्रान्तिको वैचारिक तथा राजनीतिक महत्त्वबोध गराउनुका साथै माओको मृत्युपछि ती महान् मूल्यहरूलाई  कसरी ध्वस्त पारियो भन्ने कुरा पनि प्रस्ट पारेको छ  । हामीले यहाँ  उनै डोङपिङ हानका धारणाहरू प्रस्तुत गरेका छौं  । सन् २०१०, ३० अक्टोबरमा एम्के याङ्कद्वारा Frontlines of Revolutionary Struggle  मा प्रकाशित गरिएको यो संवाद पाठकहरूका लागि निकै फलदायी हुने विश्वास हामीले लिएका छौँ ।)
.................................................................................................................................

प्रश्न :  सन् १९८६मा तपाईं चीन फर्कनुभयो । सांस्कृतिक क्रान्तिका बेलाभन्दा चीन धेरै भिन्न भएको छ, चिजहरू धेरै फेरिएका छन् भनेर तपाईं र  तपाईंहरूजस्ताले कहिलेदेखि महसुस गर्न थाल्नुभयो ?

 डोङपिङ हान :  मलाई लाग्छ जनताले तत्कालै महसुस गरे । सन् १९८३ मा चीनमा भूमिलाई निजीकरण गरियो । थुप्रै मान्छेहरूले सोच्ने गर्दछन्— किसानहरू मूर्ख र अज्ञानी हुन्छन् । तर मेरो विचारमा किसानहरू धेरै बुद्धिमानी हुन्छन्, तिनीहरूमध्ये धेरैले निजी खेती प्रणालीमा निहित वास्तविकता तत्कालै बुझेका थिए । त्यसैकारण सुरुमा उनीहरूले नै यसको जोडदार विरोध गरेका थिए ।

र मैले देखेँ  मेरो गाउँ र अन्य गाउँहरूमा बहुसङ्ख्यक जनता, नब्बे प्रतिशतले भनेका थिए— “पार्टीले अब गरिब जनताको कल्याण गर्दैन”।  लगत्तै उनीहरूले त्यस्तो महसुस गरे । कम्युनिस्ट पार्टी र पार्टी सदस्यहरूले त्यसपछि ग्रामीण इलाकातिर गरिब जनताका बारेमा ध्यान दिनछाडे । ग्रामीण इलाकाका लागि भनेर राष्ट्रिय बजेटमा छुट्याइने सरकारी लगानी १९७०को दसकको १५ प्रतिशतबाट घटेर ८० को दसकमा मात्र ३/४ प्रतिशतमा झर्न पुग्यो । त्यसो हुँदा “कम्युनहरूमाथि प्रतिबन्ध लगाएर चिनियाँ सरकारले अब आफूहरूलाई बेवास्ता गर्न थालेको छ" भनेर चिनियाँ जनताले महसुस गरे । तर त्यसबेला म आफू भने कलेजमा थिएँ र सन् १९८६ सम्म पनि मैले त्यस विषयमा त्यति धेरै बुझिसकेको थिइन ।

प्रश्नः सांस्कृतिक क्रान्ति तपाईंहरूको गाउँमा कसरी प्रवेश गरेको थियो ? हामीलाई केही  भनिदिनुहुन्छ कि ?

डोङपिङ हान
: सांस्कृतिक क्रान्ति मन्द  गतिमा सुरु भयो । सांस्कृतिक क्रान्तिको सुरुवातपूर्व, माओका कृतिहरूको अध्ययन सुरु गर्न आह्वान गरियो । अध्यक्ष माओका कृतिहरू पढेर सुनाउन चिनियाँ जनमुक्ति सेना गाउँ पसेका थिए । उनीहरूले गाउँमा नाटकहरू देखाए । ‘जनताको सेवा गर’, ‘नर्मन बेथ्युनको स्मृतिमा’ र ‘एउटा मूर्ख बूढाले कसरी पहाड हटायो’ शीर्षकका माओका तीन चर्चित रचनाहरूबारे प्रशिक्षित गर्न उनीहरू जनताका घरघर पुगे । ती रचनाहरूले भन्न खोजेका कुराका बारेमा उनीहरूले गाउँलेहरूलाई प्रस्ट पारिदिए । जनमुक्ति सेना फर्केपछि मजस्ता थुप्रै स्कुले केटाकेटीहरूले पनि गाउँलेहरूलाई माओका कृतिहरू पढाउन सुरु गरे ।

 केन्द्रीय सरकारले सांस्कृतिक क्रान्तिको सुरुवातको घोषणा गरेपछि उच्च माध्यमिक र माध्यमिक विद्यालयका विद्यार्थीहरूले आफ्ना विद्यालय छाडे र ठूला अक्षरका पोस्टरहरू लेखेर सडकका भित्ताहरूमा टाँस्न थाले । उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरूले आफ्ना २० जना शिक्षकहरूलाई तानेर बजारमा ल्याए र सार्वजनिक रूपमा तिनीहरूको आलोचना  गरे र एउटा ठूलो भीडका सामु  उनीहरूका आधा कपाल मुडिदिए । सांस्कृतिक क्रान्तिले कस्तो रूप लिनेछ भन्ने बारेमा सुरुमै अधिकांश मान्छेहरूलाई थाहा थियो भन्ने मलाई लाग्दैन ।
 
थुप्रै विद्यार्थीहरूले समाचारपत्र र पर्चाहरू प्रकाशित गर्नथाले । सरकारी अधिकारीहरूलाई आलोचना गरिएका त्यसबेला थुप्रै पम्पलेटहरू निस्कने गर्दथे । सुरुमा ती  धेरजसो विद्यार्थीहरूद्वारा लेखिएका हुन्थे । त्यसको केही समयपछि नै किसान र मजदुरहरूले पनि लेख्न सुरु गरे । त्यसबेला ती पोस्टर र पर्चाहरूमार्फत ज्यादै धेरै सूचना प्रवाहित हुने गर्दथे । पछि मेरो काउण्टीबाट उच्च माध्यमिक र माध्यमिक तहका विद्यार्थीहरूको एउटा समूहले अध्यक्ष माओलाई भेट्नका लागि भनेर बेजिङसम्मको यात्रा गर्यो । सन् १९६६ अगस्टमा फर्केपछि, उनीहरू विभिन्न रेड गार्ड समूहहरूमा सङ्ठित हुनथाले । काउण्टी र कम्युन नेताहरूका विरुद्धमा उनीहरूले जनार्यालीहरू निकाल्न सुरु गरे । त्यसबेला सम्पूर्ण अधिकारीहरू कुनै न कुनै प्रकारका  जननिगरानी र आक्रमणको निसाना बन्दथे । लगभग सबैजसो, मेरो ख्यालमा जनसङ्ख्याको ९० प्रतिशत जनसङ्गठनको अङ्ग बन्दथे ।

 त्यतिबेला म तीन कक्षामा पढ्थें । पाँचजना साथी र म मिलेर हामीले पनि एउटा रेड गार्ड सङ्गठन बनायौं  । हामीले आफ्नो रेड गार्ड चिन्हको डिजाइन गर्यौं  र एकपन्ने पत्रिका निकाल्न सुरु गर्यौं  । हाम्रो पत्रिका छाप्नका लागि एउटा हाते प्रिन्टर खरिद गर्न आवश्यक पर्नेजति पैसा हामीले जम्मा गर्यौं । मेरो विद्यालयमा तेह्रवटा साना पत्रिकाहरू निस्कने गर्दथे । हामी अरूहरूसँग मिलेर  केही कुरा लेख्थ्यौं  र त्यो जनतामाझ पुर्याउन उन बजारतिर जाने गर्दथ्यौं  । त्यसरी सांस्कृतिक क्रान्तिको सुरुवात भएको थियो । त्यसबेला जहाँतहीं ठूला अक्षरका पोस्टर टाँसिएका हुन्थे । अधिकांशमा ग्रामीण नेताहरूलाई आलोचना गरेर लेखिएका ठूला अक्षरका पोस्टरहरूले ग्रामीण बाटाघाटाहरू रङ्गिएका हुन्थे । सांस्कृतिक क्रान्तिअघिसम्म ग्रामीण नेताहरू ज्यादै पावरदार हुने गर्दथे । तिनीहरू सामन्यतया खेतमा काम गर्दैनथे र जनताको खर्चमा उनीहरू प्रशस्तै खाने र पिउने गर्दथे ।  सांस्कृतिक क्रान्तिले तिनीहरूलाई काम गर्न बाध्य बनायो । वास्तवमा सांस्कृतिक क्रान्तिको सुरुवात यसरी भएको थियो ।

 ती सम्पूर्ण ठूला अक्षरका पोस्टर किसानहरू आफैंले लेख्ने गर्दथे । र मलाई सम्झना छ, कतिपय किसानहरू आफैं  लेख्न सक्तैनथे । उनीहरू हामीकहाँ आउँथे, उनीहरू स्कुले केटाकेटीहरू भएठाउँ आउँथे र उनीहरूका लागि हामी लेखिदिने गर्दथ्यो  ।  यसरी यो एउटा ज्यादै क्रियाशील आन्दोलन थियो । गाउँका प्रत्येकलाई यसले छोएको थियो ।

आज अधिकारीहरू भ्रष्ट छन्, तर सांस्कृतिक क्रान्तिका वर्षहरूमा यस्तो थिएन । यसको एउटै कारण हो, त्यसबेला जनता साँच्चिकै अधिकारसम्पन्न थिए । त्यसबेला प्रत्येक रातजसो जनभेलाहरू हुने गर्दथे र सरकारका सम्पूर्ण नीति र निर्देशनहरू किसानहरूलाई पढेर सुनाइने गरिन्थ्यो र त्यसबेला यसलाई सरकारले नै अनिवार्य बनाएको थियो । ती किसानहरूलाई पढेर सुनाइन्थ्यो र त्यसपछि किसानहरूले ती दस्तावेजरूमाथि छलफल चलाउँथे । त्यसो हुँदा के हुँदैछ र किन हुँदैछ भन्ने बारेमा सबैलाई जानकारी हुन्थ्यो । त्यसबेला चिनियाँ जनता किन माओका कृतिहरू पढ्न लालयित हुन्थे र त्यसलाई कण्ठ पार्न चाहन्थे भने माओले भनेका कुराहरूले तिनीहरूको आफ्नो उत्तम हितको साँच्चिकै प्रतिनिधित्व गर्दथ्यो । उनीहरूले जान्न र सुन्न चाहेको कुरा माओका भनाइहरूमा हुन्थे ।
 
उदाहरणका लागि, ‘जनताको सेवा गर’ भन्ने माओको रचना एक र आधा पन्ना मात्र  लामो छ । तर यस छोटो लेखमा माओले एउटा कम्युनिस्ट अधिकारीले कस्तो व्यवहार गर्नुपर्दछ भन्ने बारेमा स्पष्ट पार्नुभएको छ । एउटा कम्युनिस्ट अधिकारीसँग कुनै निजी स्वार्थ हुनुहुँदैन । उसले जनताका लागि काम गर्नुपर्दछ र जनताको सेवा गर्नुपर्दछ । उनीहरूले गरिब जनता र किसानहरूको ख्याल राख्नुपर्दछ । उनीहरूले आलोचनालाई स्वागत गर्नुपर्दछ । यदि उनीहरूले कुनै काम ठीक ढङ्गले गरिराखेका छैनन् भने जनताका लागि तिनीहरूले यसलाई बदल्नुपर्दछ । यी तिनै कुराहरू हुन्, जसलाई किसानहरूले कहिल्यै सुनेका थिएनन्, र यो उनीहरू सुन्न चाहन्थे ।
 
प्रश्न : त्यसबेला, सांस्कृतिक क्रान्तिको दस वर्षको अवधिमा किन दक्षिणपन्थी पुँजीवादका समर्थकहरूबाट कम्युनिस्ट पार्टीलाई मुक्त गर्ने शुद्धीकरणको कुनै प्रयास भएन त ?

डोङपिङ हान :  सांस्कृतिक क्रान्ति जनतामाथि कारबाही  गर्ने नभई उनीहरूलाई प्रशिक्षित गर्न चाहन्थ्यो । अहिलेका पुँजीवादका थुप्रै समर्थकहरू त्यतिबेर क्रान्तिका लागि लडेका थिए र चिनियाँ क्रान्तिमा महत्त्वपूर्ण योगदान पुर्र्याएका थिए । एउटा स्थापित परम्परागत विचार के थियो भने क्रान्तिका लागि जसले लडेका थिए, क्रान्तिको सफलतापछि उनीहरूले सुविधाको उपभोग गर्न पाउनुपर्दछ । तिनलाई कारबाही गरेर मात्र पुग्दो थिएन । पुरानो परम्परागत विचार समस्याको रूपमा रहेको थियो । त्यसैले सांस्कृतिक क्रान्ति किसान र मजदुरहरूको परिचालनमार्फत त्यस्तो परम्परागत विचारलाई निर्मूल पार्न र जनतालाई प्रशिक्षित तुल्याउन चाहन्थ्यो ।

मेरो विचारमा यदि सन् १९७६ मा ‘कु’ हुँदैनथ्यो भने त्यस सरकारी संयन्त्रमा आफसेआफ फेरबदल आउने कुरा असम्भव थियो । त्यो बदलियो किन कि ‘कु’ भएको थियो । मलाई सम्झना छ, सांस्कृतिक क्रान्तिका बेला मेरो काउण्टीमा केही उच्च अधिकारीहरू थिए, जसले आफ्ना केटाकेटीहरूलाई किसानसँग काम गर्न र ज्यादै कठिन जिम्मेवारी र कार्यहरूको माग गर्न प्रोत्साहित गर्ने गर्दथे, जसबाट  उनीहरूले सोहीअनुकूलको व्यक्तित्व निर्माण गरून् । यस्तो लाग्थ्यो सांस्कृतिक क्रान्तिका वर्षहरूको सामाजिक वातावरणमा आएको परिवर्तनसँगै ती उच्च अधिकारीहरू पनि परिवर्तित भए । तर, जब सामाजिक वातावरण फेरियो, उनीहरू फेरि अर्कै भए ।

सन् १९७६ मा  ‘कु’ भएको थियो भन्ने बारेमा थुप्रै जनता अनभिज्ञ थिए । माओकी पत्नी र अन्य तीन जना महत्त्वपूर्ण नेताहरूलाई गिरफ्तार गरियो । सांस्कृतिक क्रान्तिलाई समर्थन गर्ने लाखौंलाख जनता तत्कालै  गिरफ्तारीमा  परे । कसैकसैको तर्क छ– ‘ग्याङ अफ फोर’ को गिरफ्तारीलाई रोक्न माओले देङ स्याओ पेङ र अन्य केहीको हत्या गर्नुपर्दथ्यो । सायद त्यसो गर्नुपर्दथ्यो, तर वहाँले त्यसो गर्नुभएन ।
 
प्रश्न :  एकातर्फ सांस्कृतिक क्रान्ति अगाडिको समाजवादमा र त्यसपछि अर्कोतर्फ अहिलेको पुँजीवादी चीनमा तपाईंको परिवारको अवस्थासँग तुलना गर्दा सांस्कृतिक क्रान्तिकालमा तपाईं  र तपाईंको परिवारको औसत दैनिक जीवन कस्तो थियो ? त्यसको तस्विर बताइदिन सक्नुहुन्छ ?

डोङपिङ हान : महान् अग्रगामी छलाङको असफलताका कारण सांस्कृतिक क्रान्तिको सुरुवात गरिएको थियो । महान् अग्रगामी छलाङ असफल हुनुको आंशिक कारण एकातर्फ १०० बर्से प्राकृतिक प्रकोप थियो, अर्कातर्फ  त्यसलाई  असफल पारिएको पनि थियो, किनभने ग्रामीण इलाकाका कम्युनिस्ट पदाधिकारीहरू वास्तविक रूपमा समाजवादी भइसकेका थिएनन् । उनीहरू किसानलाई ज्यादै धेरै खट्ने आदेश दिन्थे र आफू भनें अलिकति पनि परिश्रम गर्न चाहँदैनथे  । महान् अग्रगामी छलाङका बेला खानलाई प्रर्याप्त अन्न नहुनुको कारण एकातर्फ प्राकृतिक प्रकोप थियो भने अर्कातर्फ  व्यवस्थापकीय कुशलताको अभाव ।

 त्यसैकारण मलाई लाग्छ, माओले सांस्कृतिक क्रान्ति सुरुवात गर्नुको कारण वहाँले त्यसबेला के महसुस गर्नुभयो भने, समाजवादी आन्दोलनमार्फत चिनियाँ अधिकारीहरूलाई प्रशिक्षित गर्नुपर्दछ र त्यसरी नै चिनियाँ जनतालाई पनि शिक्षित तुल्याउनुपर्दछ । यसो हुँदा गाउँमा अधिकारीहरूको आलोचनाका लागि वहाँले चिनियाँ किसानहरूलाई परिचालित गर्नुभयो । र साँच्चै हो, म सारै सानो थिएँ, मलाई महान् अग्रगामी छलाङका बारेमा धेरै सम्झना  छैन । तर, सांस्कृतिक क्रान्तिका बारेमा मलाई धेरै सम्झना छ । म किसानहरूसँग खेतमा काम गर्दथें र त्यसबेला ग्रामीण इलाकामा प्रत्येक गाउँको एउटा उत्पादन बिग्रेड हुन्थ्यो र प्रत्येक बिग्रेड थुप्रै उत्पादनटोलीहरूमा विभाजित हुन्थ्यो । मेरो गाउँमा आठवटा उत्पादनटोलीहरू थिए । प्रत्येक उत्पादनटोलीमा लगभग ४० परिवारहरू समावेश हुन्थे । हामी प्रत्येक वर्ष पाँच जना उत्पादन टोलीनेता छान्ने गर्दथ्यौं  । त्यसमा एकजना उत्पादन टोलीप्रमुख, एउटी महिला नेतृ,  एकजना लेखापाल, एकजना खजाञ्ची र एकजना भण्डारे हुनेगर्दथे । सांस्कृतिक क्रान्ति अगाडि ती मान्छेहरूको नियुक्ति गाउँनेताहरूद्वारा हुने गर्दथ्यो र गाउँनेताहरूको नियुक्ति कम्युन नेताहरूद्वारा हुने गर्दथ्यो । ती जनवादी  प्रक्रियाबाट निर्वाचित हुँदैनथे । सांस्कृतिक क्रान्तिका वर्षहरूमा भने ती उत्पादनटोली नेताहरू किसानहरूबाट निर्वाचित भएरआउँथे ।

 हामी खेतमा सँगै काम गर्दथ्यौं  । सबै जना आउँथे र सँगसँगै काम गर्दथे । र बेलुका भएपछि त्यस दिन कति जनाले काम गरे खजाञ्जीले रेकर्ड राख्ने गर्दथ्यो र वर्षको अन्त्यमा, जब अन्नबाली भित्र्याइन्थ्यो, गाउँको लेखापालले उत्पादनटोलीको लेखापालसँगै मिलेर एउटा वितरणको खाका बनाउने गर्दथ्यो । तपाईंको परिवारमा कति जना सदस्य छन् भन्ने आधारमा ७० प्रतिशत अन्नको वितरण हुन्थ्यो । समूहमा तपाईंले कति काम गर्नुभयो, त्यसका आधारमा बाँकी तीस प्रतिशत अन्नको वितरण हुन्थ्यो । त्यसोहुँदा तपाईंले खेतमा काम गर्नु भएन भने पनि, समूहको ७० प्रतिशत अन्नमा तपाईंको  हक रहन्छ । उत्पादनटोलीको स्तरमा वितरणको तरिका यस्तो थियो ।

उत्पादनबिग्रेडको स्तरमा पनि वितरणको कुरा हुन्थ्यो । गाउँमा आफ्नै थुप्रै उद्योगधन्दाहरू हुने गर्दथे । कल्याणकारी कोषका लागि नयाँ औजारहरू र आदि-इत्यादि खरिद गर्न रकम छुट्टयाइसकेपछि, तपाईंले समूहमा कति काम गर्नुभयो, त्यसको आधारमा गाउँले आफ्नो आम्दानीलाई वितरण गर्दथ्यो । समूहले सागसब्जी, फलफूल, बदाम खेतीसमेत गर्दथ्यो र यसले सुंगुरपालन पनि गर्दथ्यो । अन्नवितरणकै प्रक्रियामा यिनको पनि गाउँलेहरूबीच नियमित वितरण गरिन्थ्यो । गाउँका उद्योगधन्धाहरूले कमाएको पैसाद्वारा हामी सामूहिक रूपमा माछा, रक्सी, चुरोट पनि खरिद गर्दथ्यौं र चिनियाँ नयाँ वर्षजस्तो महत्त्वपूर्ण दिन र अन्य विदाहरूको अवसर पारेर यी चिजहरू प्रत्येक परिवारलाई वितरण गरिन्थ्यो ।  समूहबद्ध हामीलाई आफ्नो भाग पूरै आउनेगर्दथ्यो ।

 सांस्कृतिक क्रान्तिका वर्षहरूपछि म कलेज जान थालें र गाउँमा काम गर्ने मेरा दुइटी दिदीहरूले ८० को दसकको आरम्भतिर एउटा सरकारी स्वामित्वको फ्याक्ट्रीमा काम पाए । अहिले उक्त फ्याक्ट्री बिक्री भइसकेको छ र सन् १९९६ देखि मेरा दुइटी दिदीहरू बेरोजगार भएका छन् । गाउँखजाञ्चीका रूपमा मेरी बहिनीले भने अहिले पनि गाउँमा काम गरिरहेकी छन् । अन्य गाउँहरूका तुलनामा मेरो गाउँको स्थिति केही राम्रो छ । अन्य ग्रामीण इलाकातिरका  मान्छेको जीवनमा भने नाटकीय परिस्थिति आएको छ ।

मलाई लाग्छ अधिकांश काम गरिखाने जनताका लागि जीवन एकदमै खराब परिस्थितिमा  परिणत भएको छ । केही गरी तिनीहरूले धेरै पैसा हात पार्नसके भने पनि समाजवादी विगतको निशुल्क स्वास्थ्यउपचार र निशुल्क शिक्षाबाट उनीहरू वञ्चित भएका छन् । उनीहरूले अहिले शिक्षाका लागि पैसा तिर्नुपर्दछ । आफ्नो स्वास्थ्यउपचारका लागि पैसा तिर्नुपर्दछ । अधिकांश किसानहरू स्वास्थ्यउपचारमा पैसा खर्च गर्न सक्दैनन् । एउटा सानो समस्याले उनीहरू बिरामी परे भने उनीहरूसँग त्यसलाई सहनुको विकल्प छैन । यदि उनीहरू ठूलै समस्याले बिरामी परे भने, उनीहरूले केवल मृत्युलाई पर्खनुपर्ने छ । अधिकांश भन्दछन्— अस्पताल गएर आफ्ना छोराछोरीलाई ऋणको ठूलो बोझ बोकाउन उनीहरू चाहँदैनन् । अहिले स्वास्थ्यउपचार ज्यादै महङ्गो भएको छ र यो अधिकांश किसानहरू र शहरी क्षेत्रका मजदुरवर्गको पहुँचभन्दा टाढाको विषय बनेको छ ।

 प्रश्नः तपाईंको गाउँमा सांस्कृतिक जीवन कस्तो थियो र त्यसमा कसरी परिवर्तन आयो । तपाईं हामीलाई केही  भन्नसक्नुहुन्छ ?

डोङपिङ हान : सांस्कृतिक क्रान्तिअघि, चिनियाँ प्रदर्शन-कलाकार्यहरू अधिकांश  सम्भ्रान्त युवा र सुन्दरीहरू, राजा, जनरल र यस्तैका बारेमा हुने गर्दथे । चिनियाँ परम्परागत नाटकहरू त्यस्तै प्रकारका हुन्थे । सांस्कृतिक क्रान्तिका बेला नयाँ खाले कलाको बाढी आयो । त्यसबेला प्रत्येक गाउँका किसान कलाकारहरूको एउटा समूह हुन्थ्यो र उनीहरू बाजागाजा बजाउँथे, क्रान्तिकारी गीत गाउँथे, क्रान्तिकारी नाच नाच्थे र क्रान्तिकारी नाटकहरू देखाउँथे । प्रायः प्रत्येक रातजसो गाउँमा कुनै न कुनै खाले कार्यक्रमहरू हुने गर्दथे । ती कार्यक्रमहरू शिक्षणसाधन बनेका थिए । ती क्रान्तिकारी कार्यक्रमहरूमार्फत क्रान्तिकारी विचार प्रवाहित हुनेगर्दथ्यो र यो ज्यादै शक्तिशाली हुन्थ्यो ।  तर, सत्य के हो भने  आजभोलि  तपाईंहरू ग्रामीण इलाकातिर त्यस्तो देख्न पाउनुहुन्न ।  आज तपाईं चीन जानुभयो भने, अझै पनि तपाईंले  पार्क र सार्वजनिक स्थलहरूमा बूढा मान्छेहरू आफ्नो मन शान्त पार्न क्रान्तिकारी गीतहरू गाइरहेको देख्नपाउनु हुनेछ ।

प्रश्न : चलचित्रहरूमा हामीले चीन र सांस्कृतिक क्रान्तिका बारेमा देखेका छौं  । त्यहाँ  मान्छेहरूलाई  कब्जामा लिइएको र जनइजलासमा मुद्दा चलाइएको र सहर घुमाएर सजाय दिइएको देखाइएको हुन्छ । मेरो प्रश्न हो, यस्तो चित्र कहाँबाट आउँछ ?  तपाईंले चीनमा यस्तो कुरा सुन्नुभएको थियो, यस्तो त्यहाँ  कति मात्रामा भएको थियो ?

डोङपिङ हान :  त्यो चित्र सांस्कृतिक क्रान्तिका वर्षहरूको थियो । सांस्कृतिक क्रान्तिको  सुरुवातका केही हप्ता थुप्रै चिनियाँ अधिकारीहरूलाई मञ्चमा ल्याएर आलोचना गर्ने गरिन्थ्यो । त्यो एकदमै सामान्य थियो । मैले त्यस्तो थुप्रैचोटि देखेको थिएँ । मलाई थाहा छ, सांस्कृतिक क्रान्तिको सुरुवातमा अधिकांश सरकारी अधिकारीहरूले त्यस्तो कुनै न कुनै घटनाको सामना गर्नु परेको थियो । साथै, मेरो तर्क के पनि छ भने छ–ती अधिकांश मान्छेहरूलाई त्यस्तो  कुनै न कुनै किसिमको सजाय दिनु आवश्यक पनि थियो । उनीहरूले आफ्नो काममा धेरै गल्तीहरू गरेका थिए । र तिनीहरूको गल्तीका कारण जनताले दुःख पाएका थिए । जनताले आफ्नो आक्रोस पोख्ने ठाउँ खोजिरहेका थिए । तर,गाउँमा गाउँनेताहरूको विरुद्ध चलाइने सङ्घर्ष ज्यादै शालीन र शान्तिपूर्ण हुन्थ्यो ।

 अपराध गर्ने र गल्ती गर्ने अधिकारीहरू विरुद्धका ती सार्वजनिक सङ्घर्षको अवधि र त्यस्ता मान्छेहरूसँग मुकाबिला गर्ने भिन्न तरिका थियो । एकदिन अथवा दुई दिनसम्म केरकार र प्रशिक्षित गरेपछि तिनीहरूलाई मुक्त गरिन्थ्यो । तिनीहरूले जनताबाट एउटा शिक्षा सिक्थे । अमेरिकामा मान्छेहरूलाई जेल  पठाइन्छ । मलाई अझ लाग्छ, गाउँका अधिकारीहरूलाई मात्र नभएर जोकोहीलाई पनि शिक्षा दिन सांस्कृतिक क्रान्तिताकाको यो सार्वजनिक शिक्षाप्रणाली ज्यादै प्रभावकारी थियो । सजायको अवधिपछि उनीहरूलाई मुक्त गरिन्थ्यो । त्यसो हुँदा त्यो गलत अभ्यास थियो भनेर मलाई लाग्दैन । मलाई लाग्छ त्यो ज्यादै राम्रो प्रयोग  थियो ।

प्रश्न :  विशेष गरी आर्थिक सङ्कटका बारेमा चीनको अहिलेको अवस्था कस्तो छ र तपाईंको विचारमा विशेषगरी ग्रामीण इलाकामा सामान्यरूपमा भन्दा अहिलेको मान्छेहरूको दिनचर्या कसरी चलिराखेको होला ?

डोङपिङ हान :  चिनियाँ सरकारले आज एउटा विशाल चुनौतीको सामना गरिरहेको छ र चिनियाँ  सरकारी अधिकारीहरू आफैंले यस कुरालाई थुप्रै ठाउँमा स्वीकारेका छन् । कतिपय मान्छेहरू अनुमान गर्दछन् प्रत्येक दिन १०० घटनामा १०० भन्दा बढी मान्छेहरूले र ३०० घटनामा १०० भन्दा कम मान्छेहरूले सरकारलाई चुनौती दिइराखेका हुन्छन् । मैले एउटा लेखोटमा पढेको छु– ग्वाङ्दोङ प्रान्तको एउटा घटनामा तीन जना प्रहरी अधिकृतहरूले लाइसेन्स प्लेट नभएको एउटा कारलाई रोके र थप खानतलासी गर्दा उनीहरूले चालकसँग चालक अनुमतिपत्र नभएको भेट्टाए ।  अनि तीनजना मान्छे कारबाट बाहिर निस्के र “प्रहरीले जनतालाई दुःख दिइराखेको छ” भनेर चिच्चाए । तत्कालै लगभग २,००० जना भेला भए । उनीहरूले प्रहरीको कारलाई उल्ट्याइदिए र आगो लगाइदिए । सरकारले प्रहरीलाई सावधानी अ“गाल्न सचेत गराइराखेको छ, किनभने जनता र सरकारबीचको तनाव ज्यादै उच्च बिन्दुमा पुगेको छ ।

ग्रामीण इलाकातिर थुप्रै त्यस्ता मान्छेहरू छन्, जो  सहरीकरणमुखी  सरकारप्रति ज्यादै आक्रोसित छन् ।  ग्रामीण क्षेत्रमा रहेको एउटा सहरीकरणमुखी नेतृत्वसम्बद्ध घटनाका बारेमा एकजना किसानले मलाई बताएका थिए । पार्टीसचिव एकदिन दिउँसो आफ्नो घरमा सुतिराखेको थियो । बजारलाई अन्यत्र सार्ने  सहरीकरणमुखी सरकारको निर्णयका कारण आक्रोशित भएका लगभग १०० जना किसानहरू सीधै उसको सुत्ने कोठामा छिरे । तिनीहरूले साँच्चिकै उसलाई झ्याइंकुटी पारेर बजारमा ल्याए र आधा घण्टासम्म उसलाई माथि आकाशतिर न्याकिरहे । उनीहरूले उसलाई कुटेनन् । तिनीहरूले मात्र उसलाई आधा घण्टासम्म  खेलौनाझैँ  उफारिरहे । अन्तमा सरकार उसलाई कामबाट बर्खास्त गर्न बाध्य भयो, किनभने उसका कारण सरकार अप्ठ्यारोमा परेको थियो । यो गत सालको घटना थियो । त्यस्तै एउटा अर्को  सरकारी अधिकारी किसानहरूद्वारा चुटिएको थियो । एकजना बिरामीलाई अस्पतालसम्म पुर्याइदिन गाउँलेहरूले उसँग आग्रह गरेका थिए । उसले इन्कार गर्यो । उसले भन्यो—“जोसुकैका लागि होइन मेरो कार” ।  किसानहरूले झण्डैझण्डै उसलाई मारेका थिए, तर त्यस्तो गर्ने जनतालाई सरकारले सजाय दिन सकेन  । त्यसैले मेरो विचारमा जनतासँगको आफ्नो सम्बन्ध कति तनावपूर्ण छ भन्ने कुरा सरकारलाई राम्रोसँग महसुस भइरहेको छ ।

विगतमा चिनियाँ सरकारी अधिकारीहरू गाउँमा आउँथे र किसानहरूसँगै काम गर्ने गर्दथे ।  आज उनीहरू त्यसो गर्दैनन् । उनीहरू ठूला कारहरूमा गाउमाँ आउँछन्, मात्र किसानहरूसँग पैसा धुत्न र एक सन्तानको नीति लागू गर्न .... । मेरो विचारमा सरकारसँग वैधानिकताको सङ्कट छ । अभूतपूर्व प्राकृतिक प्रकोप र आफ्ना अधिकारीहरूका कारण विद्यमान खराबस्थितिलाई, महान् अग्रगामी छलाङको बेला देखिएका चुनौतीहरूसँग मुकाबिला गर्न त्यतिबेला चिनियाँ सरकार सक्षम भएको थियो, किनभने  त्यससँग समाजवादी वैधानिकता थियो । महान् अग्रगामी छलाङको बेलाको जस्तो कुनै पनि चुनौतीहरूको अहिलेको सरकारले सामना गर्न सक्नेछ भन्ने कुरामा मलाई अलिकति पनि विश्वास छैन ।

प्रश्न :  सन् १९७६को ‘कु’ का बेलामा केके भएको थियो ? तपाईं  भन्न सक्नुहुन्छ र त्यो पूरै अवधिलाई कसरी बुझिएको थियो जहाँ तपाईं  हुनुहुन्थ्यो ?

डोङपिङ हान
:  सन् १९७६, ९ सेप्टेम्बरका दिन म कहाँ थिएँ मलाई सम्झना  छ । त्यसदिन ४ बजे म मेरो साथीसँग गाउँबाहिर हिंड्दै थिएँ । त्यसैबेला एउटा ज्यादै महत्त्वपूर्ण घोषण हुँदैछ भनेर लाउड स्पिकरबाट फुकियो । र केही कुरा गडबडी हुँदै थियो भनेर हामीलाई तत्कालै महसुस भयो । र उनीहरूले भने माओ बित्नुभयो । म त्यसदिन कसरी घर पुगें ,  मलाई सम्झना छैन । मलाई सम्झना छ, मेरा वरिपरि सबैजना रोइरहेका थिए । अन्तमा म घर पुगेँ । आफ्नो फ्याक्ट्रीबाट बा रुँदै घर आइपुग्नुभयो । मेरो हजुरबुबा बित्दासमेत वहाँ रुनुभएको थिएन । वहाँले आफ्नो परिवारका सदस्यहरूलाई भेला पार्नुभयो र भन्नुभयो–“आज हामी गरिब जनताको आकास खसेको छ र भोलि हाम्रो जीवन कस्तो हुने हो हामीलाई थाहा छैन ।” त्यसबेला मेरो मनमा परेको थियो–“त्यस्तो कहाँ  होला र ? हामीले समाजवादी राज्यको निर्माण गरेका छौं  । र अध्यक्ष माओ नहुँदैमा गरिब जनताको आकास कसरी खस्ला र ?”

मेरो बुबाको भनाइ सही साबित भयो । जब ‘ग्याङ अफ फोर’लाई गिरफ्तार गरियो, चिनियाँ सरकारले भन्यो— जनता साँच्चिकै खुसी भएका छन् । त्यो सत्य थिएन । छिमेकी कम्युनमा घटेको एउटा घटनाको कारण मेरो घर भएको सहरमा थुप्रै युवाहरूले च्याङ चिङलाई साँच्चिकै सम्मान गर्दथे । सन् १९७५ को चिनियाँ नयाँ वर्षमा सांस्कृतिक क्रान्तिताका आलोचित एउटा परम्परागत नाटकलाई गाउँ नेताले माइक लगाएर मञ्चन गर्यो  । माइक लगाएर त्यसलाई मञ्चन गरेकोमा गाउँको एकजना युवकले त्यस गाउँनेताको आलोचना गर्यो  । तर गाउँनेताहरूले उसलाई गाउँमा गडबडी मच्चाएको आरोप लगाए । त्यस नेताले प्रहरी बोलायो र त्यस युवकलाई प्रहरीले गिरफ्तार गरेर लग्यो । ऊ जेलमा भएको बेला, उसले च्याङ चिङलाई चिठी लेख्यो र पाँच दिन नपुग्दै च्याङ चिङले उसको चिठ्ठीको जवाफ दिइन्  । च्याङ चिङले त्यस मान्छेलाई रिहा गर्ने आदेश दिइन् । र त्यो गाउँनेतालाई उसको जिम्मेवारीबाट हटाइयो । हाम्रो क्षेत्रमा युवाहरूले च्याङ चिङलाई औधी माया गर्दथे । माओको मृत्युको केही हप्तापछि ‘ग्याङ अफ फोर’ लाई गिरफ्तार गरिएपछि अब स्थिति राम्रो छैन भन्ने हामीलाई लाग्न थाल्यो ।

 प्रश्नः तपाईं  भन्दैहुनुहुन्थ्यो दस वर्ष सांस्कृतिक क्रान्ति आफ्नो जीवनको ज्यादै फलदायी क्षण थियो । तपाईंले अनुभुति गर्नुभएको त्यस्ता उल्लेख्य कुराहरूको केही उदाहरण तपाईं दिन सक्नुहुन्छ ?

डोङपिङ हान : त्यसबेला मलाई अनुभूति भएको सबैभन्दा उल्लेख्य कुरा के थियो भने म आफूलाई ज्यादै सुरक्षित महसुस गर्दथें  । यस संसारमा म एक्लो थिइन । मेरा छिमेकी, मेरा उत्पादन टोलीनेताहरू, गाउँनेताहरूले आवश्यकताअनुसार एकअर्काको ख्याल राख्दथे । तर अब  सामुहिकताको कुनै अस्तित्व थिएन । गाउँका  साथीहरू र छिमेकीहरू प्रतिस्पर्धीमा  फेरिएका थिए र एकअर्काबीच नौला भएका थिए । सुरक्षासञ्जाल ध्वस्त भएको थियो ।  तपाईं अमेरिकीहरू यस्ताखाले प्रतिस्पद्र्धामा बानी परिसक्नुभएको छ । तर विगतमा समाजवादी प्रणालीअन्तर्गत रहेका चिनियाँ किसानहरूको कुरा गर्दा त्यहाँ भएको  परिवर्तन धेरै मान्छेहरूका लागि ज्यादै नाटकीय थियो ।

प्रश्नः सांस्कृतिक क्रान्तिले विश्वव्यापी रूपमा एउटा ठूलो तरङ्ग ल्याएको थियो । अन्तर्राष्ट्रिय अवस्थामा र त्यसको अन्तर्राष्ट्रिय स्तरमा परेको प्रभावका बारेमा, तपाईंहरूको गाउँमा, तपाईंहरू कतिको सजग हुनुहुन्थ्यो ?

डोङपिङ हान : त्यसबेला जतिबेर म गाउँमा थिएँ, मलाई साँच्चिकै हामी अन्तर्राष्ट्रिय क्रान्तिको एउटा अङ्ग हौं भन्ने लाग्दथ्यो । हामी युवा थियौं  र हामी एउटा ठूलो तस्विरको एक भाग थियौं  । मलाई सम्झना छ सन् १९७१ मा हाम्रो क्षेत्रमा एउटा ठूलो खडेरी परेको थियो । काउन्टी सरकारले बजार क्षेत्रमा एउटा विशाल -याली निकाल्यो । र्यालीमा सरकारी नेता र किसान र मजदुरका प्रतिनिधिहरूले भनेका थिए— “यस खडेरीसँग हामी आफ्ना लागि मात्र जुधिराखेका छैनौं  । अमेरिकी साम्राज्यवादको विरुद्ध भियतनामी जनताको लडाइंको समर्थनमा हामी यससँग जुधिराखेका छौं  । अफ्रिकालगायत अन्यत्रका शोषित जनताको समर्थनका लागि हामी यस खडेरीसँग जुधिराखेका छौं ।”

 -याली सकिएपछि, हाम्रो विद्यालयका प्रत्येकले त्यस खडेरीका विरुद्धको लडाइंमा सहभागी हुने प्रतिज्ञा गरे । विद्यालय दुई हप्ताका लागि बन्द भयो । दुई हप्तासम्म हामी गाउँलेहरूसँगै मिलेर त्यस खडेरीका विरुद्ध लड्न गाउँ फर्कियौं  । प्रत्येकले कडा परिश्रम गरे । मलाई लाग्थ्यो क्रान्तिको सेवाका लागि मैले केही महत्त्वपूर्ण काम गर्दै थिएँ । त्यसबेला, यसको अर्थ के हो मैले राम्ररी बुझेको थिइन । त्यो आदर्स भाषा थियो । संसारभर हाम्रा मित्रहरू छन् भनेर सरकारले हामीलाई भन्न खोजेको थियो होला भन्ने मलाई लागेको थियो ।

 सांस्कृतिक क्रान्तिको समाप्तिपछि चिनियाँ ठूलाठालूहरू हामीलाई भन्दथे—त्यो सरकारी प्रचार थियो । तर, त्यो प्रचारमात्र थिएन भन्ने कुरा सिङ्गापुरमा मेरो अध्ययनका क्रममा मैले थाहा पाएँ । सन् १९७६ मा माओको मृत्यु भएको बेला चीनको सिङ्गापुरसँग कुटनीतिक सम्बन्ध थिएन । त्यसो हुँदा ब्याङ्क अफ चीनको शाखा ब्याङ्कले माओलाई श्रद्धाञ्जली दिनका लागि तीन दिने कार्यक्रम बनायो । सर्वसाधारण सिङ्गापुरे र विश्वभरिका नाविकहरू माओप्रतिको आफ्नो भक्तिभाव प्रकट गर्न दिनरात त्यहाँ उपस्थित भए । लाम यति लामो थियो कि ब्याङ्क अफ चीनको स्टाफले त्यस श्रद्धाञ्जली कार्यक्रमलाई तीन दिनबाट बढाएर दस दिन पुर्याए । त्यसपछि चीनको हाम्रो लडाइं विश्वभरिका शोषित जनताको सङ्घर्षसँग जोडिएको रहेछ भन्ने मलाई बोध भयो ।

 प्रश्न : म सांस्कृतिक क्रान्तिसँग  सम्बन्धित तपाईंको आफ्नो अनुभूतितर्फ फर्कन चाहन्छु । तपाईं विद्यालय जान सक्षम हुनुभयो, तपाईं  हुर्कनुभयो र ग्रामीण इलाकाका एकजना शिक्षित युवा बन्न सक्नुभयो, जबकि त्यहाँ  दस वर्षसम्म त्यो राजनीतिक अभियान चलेको थियो । त्यसले तपाईंमा कतिको  जरा  गाड्यो र कतिसम्म तपाईंले त्यसलाई पालना गरिरहनुभयो ?

डोङपिङ हान : मेरा सम्पूर्ण मूल्यमान्यताहरू ज्यादै नाटकीय ढङ्गमा बदलिएका थिए । सांस्कृतिक क्रान्तिअघि मेरा बुबाले वहाँसित सवालजवाफ गर्ने आज्ञा मलाई कहिल्यै दिनुभएन । चिनियाँ परिवारको चलन यस्तै थियो । म वहाँलाई जवाफ फर्काउन सक्दैनथें। घरमा कोही पाहुँना आउँदा पनि कहिल्यै एक शब्द बोल्ने अनुमति हुँदैनथ्यो ।  तर सांस्कृतिक क्रान्तिका वर्षहरूमा त्यस्तो चलनमा परिवर्तन आयो । मैले भनें  – “अध्यक्ष माओले भन्नुभएको म तपाईंलाई जवाफ दिनसक्छु ! तर अमेरिकाका थुप्रै मान्छेहरू सोच्दछन्, त्यो क्रान्तिकारी अभियान चिनियाँ जीवनको एउटा विध्वंस थियो । त्यसो होइन । विशेष गरी गाउँमा, क्रान्तिले  अधिकांश मान्छेको जीवनमा कुनै व्यवधान पुर्याएको थिएन । दिउँसो अधिकांश कामहरू सुचारु हुन्थे र रातमा मान्छेहरू सडकमा निस्कन्थे र त्यहाँ थरीथरीका छलफलहरू चल्थे, विभिन्न समूहहरू सडकमै आपसमा बहस गर्दथे । सांस्कृतिक क्रान्तिको आरम्भतिर माओका विचारहरूलाई प्रचारप्रसार गर्न मेरो काकाको छोरा र म पसलतिर निस्कने गर्दथ्यौं । त्यसबेला सरकारी पसलहरूले आफ्नो समयलाई रातमा १० बजेसम्म  तन्काउने गर्दथे । त्यसैकारण माओका कृतिहरू पढ्न, नाटकहरू देखाउन र आदि-इत्यादिका लागि हामी पसलहरूतिर जाने गर्दथ्यौं  । हामीलाई त्यसो गर्न ज्यादै मन पर्दथ्यो
 
सांस्कृतिक क्रान्तिका बेला आएको परिवर्तनलाई झल्काउने म तँपाईंलाई एउटा उदाहरण दिन सक्दछु । सांस्कृतिक क्रान्तिका वर्षहरूअघि मेरो क्षेत्रका मान्छेहरू कहिल्यै कसैलाई रक्तदान गर्दैनथे । तपाईंलाई रगतको खाँचो पर्यो भनें, तपाईं आफ्नै परिवार–तपाईंकी पत्नी, तपाईंको बुबा अथवा तपाईंका दाजुभाइहरूमाथि भर पर्नु पर्दथ्यो । मान्छेहरू सोच्थे– यदि तपाईंले आफ्नो रगत अर्कालाई दिनुभयो भने तपाईंले जीवनशक्ति गुमाउनु हुनेछ । तर एकदिन, मेरो एकजना साथी बिरामी पर्यो  र उसलाई रगतको  खाँचो पर्यो  । कारखानाका अधिकांश मजदुरहरू खेतको अन्न भित्र्याउने काममा व्यस्त थिए । त्यो गाउँको अति व्यस्त समय थियो । गाउँमा काम गर्दै गरेका बीस जना युवक अस्पताल गयौं  । नर्सले हाम्रो रगतको ग्रुप परीक्षण गरिन् । म एकजनाको मात्र रगत दिन मिल्ने भयो । त्यसबेला मलाई थाहा थियो, मेरो साथीको जीवन बचाउन ती बीसै जनाले आफ्नो रगत दिन चाहन्थे । गाउँपार्टी  सचिवले के गर्ने भनेर मलाई सोधे । मैले भनें,  ''हामीले बिरामीलाई बचाउनु पर्दछ ।" उनीहरूले मेरो ७०० सिसी भन्दा बढी रगत झिके । त्यसपछि म हिड्न असमर्थ भएँ र उनीहरूले मलाई एउटा ठेलागाडीमा राखेर घर लैजानुपर्यो । भोलिपल्ट बिहान म ओछ्यानबाट उठेँ ।  मेरी आमा र मेरा दुई जना काकीहरू सबै रुँदै थिए । साँच्चै तिनीहरू पूरा रात रोएछन् । उनीहरूलाई लाग्यो, म अब बिहे गर्न नसक्ने हुने भएँ, मसँग बिहे गर्न कोही राजी हुने छैनन् । तर जीवन बदलिएको थियो र त्यस्तो काम गर्ने म मात्र एक्लो थिइन । त्यस दिन अस्पताल जाने सबैजना त्यस मान्छेलाई खुसीसाथ आफ्नो रगत दिन राजी थिए ।

जब आँधी आउँथ्यो, मध्यरातमा समेत मान्छेहरू सामूहिक अन्न छोप्नका लागि उठ्ने गर्दथे । हिउँ पर्यो भने सडक सफा गर्न हामी उठ्ने गर्दथ्यौं  । हामीसँग बुल्डोजर थिएन । सडक सफा गर्न सबै आआफ्ना घरबाट निस्कन्थ्यौं  । ग्रामीण जीवनमा आएको अर्को महत्त्वपूर्ण परिवर्तन के थियो भनें —सांस्कृतिक क्रान्तिका वर्षहरूमा अपराध लगभग निर्मूल भएको थियो । दस वर्षसम्म हाम्रो गाउँमा अपराधको कुनै घटना भएन । ५०,००० जनसङ्ख्या रहेको मेरो कम्युनमा १० वर्षसम्म मैले कुनै गम्भीर अपराधको घटनाबारे सुनिन । तर अहिले चीनमा अपराधका घटना सामान्य बनेका छन् ।

प्रश्न : सन् १९४९ अगाडि तपाईंका जिजुबाजेको दैनिक जीवन कस्तो हुनेगर्दथ्यो ? त्यससँग  सांस्कृतिक क्रान्तिताकाको आफ्नो दैनिक जीवनलाई तपाई कसरी तुलना गर्नुहुन्छ ?

डोङपिङ हान : मेरो बाले कम्युनिस्ट पार्टीलाई त्यति धेरै समर्थन गर्नुको कारण के थियो भने पहिले वहाँले दिनको १८ घण्टा काम गर्नुपर्दथ्यो । कारखानामा धेरै घण्टा काम गर्नुको अतिरिक्त वहाँले जमिनदारहरूको जमिन खन्नुपर्दथ्यो र उनीहरूको घरायसी काम गरिदिनुपर्दथ्यो । कम्युनिस्टहरू सत्तामा आएपछि दिनको आठ घण्टा काम गरे पुग्नेभयो ।  त्यसो हुँदा समाजवादअन्तर्गत मेरो बुबाको जीवनमा सुखद परिवर्तन आयो । मेरो बुबा बुद्ध धर्ममा विश्वास गर्नुहुन्थ्यो । कम्युनिस्टहरू सत्तामा आएपछि उहाँमा त्यसप्रतिको विश्वास पनि हटेर गयो । चिनियाँ नयाँ वर्षमा मेरी आमा सधैं  कुल देउतालाई ढोग्न लगाउनुहुन्थ्यो । मेरो बा भनें  सँधै मलाई त्यसो नगर्न भन्नुहुन्थ्यो । पूर्वजन्ममा वहाँले केही गल्ती गर्नु भएकोले वहाँले  हन्डर पाउनुभएको हो भनेर वहाँलाई भनिएको थियो । तर कम्युनिस्ट पार्टी सत्तामा आएपछि  जीवनमा  सकरात्मक परिवर्तन आएको थियो ।

सन् १९४९ भन्दा अगाडि मेरा बुबा र आमा दुवैले अरूका अगाडि हात पर्सानुपर्दथ्यो र धेरजसो दिन भोकभोकै बस्नुपर्दथ्यो । स्वास्थ्योपचारको अभावमा मेरा दुवै हजुरआमाहरू सन् १९४४ मा ३०/३५ को सानै उमेरमा बित्नुभएको थियो । म जतिबेर पनि  आफ्नो बाल्यकाललाई अमेरिकामा मेरो छोराको बाल्यकालसँगै तुलना गर्दछु । त्यसबेला खेल्नका लागि छिमेकमा थुप्रै केटाकेटीहरू हुने गर्दथे र आफ्ना लागि हामी आफैं खेलौनाहरू बनाउने गर्दथ्यौं  । हामी आ-आफूबीच थुप्रै खेलहरू खेल्ने गर्दथ्यौं  । गृष्म, बसन्त र हेमन्त ऋतुमा हामी सामूहिक खेतीमा काम गर्दथ्यौं  । खेतमा कुनै काम नभएका बेला हिउँदमा हामी सडकमा चलनचल्तीका  खेलहरू खेल्ने गर्दथ्यौं  । कस्तोखाले वाल्यकाल राम्रो हो ? भनेर म सँधै मेरो छोरालाई सोध्ने गर्दछु । वास्तवमा यो उसको कल्पना बाहिरको कुरा हो ।

तर मलाई दृढ विश्वास छ, खेलौना र भिडियो गेममा बित्ने मेरा छोराको बाल्यकाल भन्दा मेरो बाल्यकाल ज्यादा स्वस्थ र ज्यादा सिर्जनशील थियो । हामीबीच सामुहिकता थियो र एकअर्काबीच कसरी अन्तर्क्रिया गर्ने भनेर हामी एकअर्काबाट सिक्न सक्तथ्यौं   ।  नेतृत्वकलाको कसरी विकास गर्ने र यस्तै अन्य थुप्रै कुराहरू हामी सिक्न सक्दथ्यौं  । तर मेरो छोरासँग ती सीपहरू छैनन् । अमेरिका पहिलोपल्ट आउँदा  म सांस्कृतिक क्रान्तिसम्बन्धी एउटा क्लासमा सहभागी भएँ  । प्रोफेसरले सांस्कृतिक क्रान्तिको शिक्षा विनाशकारी छ भने, र  कक्षाका अधिकांश विद्यार्थीहरू उनको कुरामा सहमत भए । अन्तमा, मैले कक्षामा ''म सांस्कृतिक क्रान्तिशिक्षाको एउटा उत्पादन हुँ, कसले बढी बुझेको  छ" भन्दै  जान्नका लागि मसँग प्रतिस्पर्धा गर्न मैले पूरा कक्षालाई चुनौती दिएँ । मेरो चुनौतीलाई स्वीकार गर्न त्यहाँ कोही पनि इच्छुक देखिएन ।
००० 
भिडियो फिचरview all