menu

ताजा समाचार

माओको सम्झनामा पर्चा बाँड्दा जेल सजाय

(केही दिनअघि 'जनमेल ले “हाम्रो भावी क्रान्तिसम्बन्धी केही विचारहरू” शीर्षकमा चिनियाँ माओवादी वेइ वेइको एउटा आलेख प्रकाशित गरेको  थियो  ।  त्यसमा लेखिएको थियो : “तर माओलाई सम्झिएवापत तिनीहरूले झाङ क्विङ-फुलाई गिरफ्तार गरेर जेल पठाए ।”

के होला त त्यो घटना  र कसरी जेल पठाइयो भन्ने जिज्ञासा पाठकमा हुनसक्छ । तल त्यही सन्दर्भसित सम्बद्ध सामग्री प्रस्तुत गरेका छौँ । हामीले यो रचना अमेरिकी मार्क्सवादी बुद्धिजीवीहरूको प्रकाशन 'मन्थ्ली रिभ्यु' को सन् २००५ को अङ्कबाट अनुवाद गरेका हौँ । यसको केहि अंश भारतीय मार्क्सवादी बुद्धिजीवीहरूको प्रकाशन 'दाइत्वबोध' मा पनि प्रकाशित भएको थियो  ।  यसका तीनओटा अंश छन्–एउटा घटनाको पृष्ठभूमि, अर्को वितरित पर्चाको पाठ र अर्को झाङ क्विङ-फु पक्राउ पर्दाको क्षणको शब्दचित्र । )


१. सम्पादकीय टिप्पणी :

पुँजीवादी उदारवादी दुई जना लेखक ल्यु जियाओबो र यु जीलाई पुलिसले केही समयका लागि पक्राउ गर्दा संसारभरिका सञ्चारमाध्यमहरूले के के न भएजस्तो गरी हल्ला गरेका थिए । ती चिनियाँ लेखकले अमेरिकाद्वारा इराकमाथि भएको आक्रमणको समर्थन गरेकाले मुर्डोक-नियन्त्रित बुर्जुवा माध्यमहरूमा यी दुई लेखक नायक बनेका थिए । तर तिनै पत्रिकाहरूले चिनियाँ नागरिकमाथि  चिनियाँ सत्ताले गरेको दमनको  विशेष घटनाको भने सामान्य समाचार बनाउनु पनि आवश्यक ठानेनन् ।  यसमा छक्क पर्नुपर्ने कुरा पनि भएन, किन भने यो चीनका असली कम्युनिस्टद्वारा चीनका नक्कली कम्युनिस्ट शासनको विरोधको मामला थियो ।

गत वर्ष २१ डिसेम्बरका दिन चीनको झेङ्झाउ सहरमा चार जना माओवादीलाई पक्राउ गरियो र दुई जनालाई मूल अपराधी ठानेर तुरन्तै जेल चलान गरियो ।  यसको कारण चाहिँ माओको स्मृति दिवसका सन्दर्भमा उनीहरूले चीनमा पुँजीवादको पुनस्र्थापनाको भ्रत्र्सना गर्दै “समाजवादको बाटोमा” अघि बढौँ भनेर जनतालाई आह्वान गरेको पर्चा बाँडेका थिए । यो पर्चा तयार पार्ने, छाप्ने र बेवसाइट लगायतका माध्यममा प्रकाशित गर्ने सबैलाई पक्राउ गरिएको थियो । यो पर्चा माओको २८ औँ स्मृतिदिवसका सन्दर्भमा झेङ्झाउमा एउटा पार्कमा मनाइएको कार्यक्रममा वितरण गरिएको थियो । चार जनामध्ये २ जना झाङ झेङयाओ, ५६ र झाङ क्विङ फु ६९ लाई राष्ट्रको अपमानको दोषी ठहराएर सन् २००४ को २४ डिसेम्बरका दिन तीन वर्षको कारावासको सजाय सुनाइएको थियो ।

चिनियाँ जनताको ठूलो हिस्साले यी माओवादी द्वयप्रति एकजुटता र ऐक्यबद्धता देखायो । चिनियाँ सरकारको दमनकारी नीतिका कारण सडक समर्थनमा सडकमा निस्कने स्थिति नभए पनि कतिपय चिनियाँ वेबसाइटहरूले उनीहरूको समर्थन गर्दै उनीहरूलाई दिइएको सजायको घोर निन्दा गरे । पर्चालाई माओवादीहरूद्वारा सञ्चालित वेबसाइट ‘माओजेदुङ फ्ल्याग’ मा पनि प्रकाशित गरिएको थियो ।  त्यति मात्र नभएर उनीहरूले बाँडेको पर्चालाई अङ्ग्रेजीमा अनुवाद गरेर सार्वजनिक गरिएको थियो ।

झेङ्झाउ केही वर्ष यतादेखि क्रान्तिकारी माओवादीहरूको केन्द्र बनेको छ । केही वर्षदेखि यस ठाउँमा मजदुरहरू तथा अन्य श्रमजीवी जनताले विभिन्न किसिमका जुझारु सङ्घर्ष सञ्चालन गरिरहेका छन् र माओको जन्मदिवसमा हरेक वर्ष यहाँ पुलिस र माओवादीहरूका बीच झडप हुनेगर्छ ।

बजार समाजवादको माला जप्तै चिनियाँ शासक वर्ग अन्धाधुन्ध किसिमले जुन बाटोमा हिँडिरिहेको छ, यसले चीनमा वर्गअन्तर्विरोध  दिनदिनै तीव्र हुँदैगएको छ । माओलाई बदनाम गर्ने अनेक प्रयासका बाबजुद यी गद्दारहरूले माओको नेतृत्वमा चीन समाजवाद निर्माणको गौरवशाली बाटोमा अघि बढेको समयको चिनियाँ जनताको मनमा बास गरेको माओ र माओकालको क्रान्तिकारी विगतको त्यो सम्झना मेटाउन समर्थ हुन सकेका छैनन् । आज पनि चीनमा भूमिगत किसिमले थुप्रै समूहहरू माओले देखाएको बाटोमा काम गरिरहेका छन् र छिटफुट रूपमा भए पनि तिनका समाचारहरू बाहिर आइरहेका  छन् । 

तियन आन-मेन चोकमा भएको विशाल जनप्रदर्शनलाई लोकतन्त्रका समर्थकहरूले गरेको कार्यक्रमका रूपमा पश्चिमी मिडियाले प्रचार गरेका छन्, वास्तवमा त्यसमा माओवादीहरूको राम्रो सहभागिता थियो ।  माओको फोटाहरू लिएका प्रदर्शनकारीहरूलाई तिनले आफ्नो क्यामेराबाट आउट गरेका भए पनि  माओवादी आन्दोलनप्रति सदभाव राख्ने कतिपय विदेशी मिडियाले भने माओको फोटो लिएका प्रदर्शनकारीहरूको फोटो प्रकाशित गरेका थिए । पछिल्ला दिनमा प्रकाशित समाचारअनुसार  किसानका कम्युनहरू भङ्ग गरेर विदेशीसंस्थालाई दिने सरकारी निर्णयको विरोधमा किसानहरू प्रतिरोधमा निस्केका थिए । साथै किसानहहरूले हरेकजसो गाउँमा माओको  प्रतिमा स्थापित गर्ने अभियान नै चलाएका थिए ।

पुँजीवादका पक्षधरहरूले केहीगरी सत्ता कब्जा गर्न सफल भए भने पनि उनीहरू एकछिन पनि चैनले बस्न पाउने छैनन् भनेर माओले भन्नुभएको थियो । झेङ्झाउको घटना विशाल हिमखण्डको सतहमा देखिएको एउटा सानो दियो हो । चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिको भट्टीबाट खारिएर  निस्केको चीनको क्रान्तिकारी पुस्तालाई पार्टीका सबै तहबाट निकालिएको भए पनि उनीहरू समाप्त भएका छैनन् ।

यहाँ हामी झेङ्झाउमा बाँडिएको सो पर्चाको सङ्क्षिप्त अनुवाद  प्रस्तुत गर्दैछौँ ।
................................................................................................

माओ त्से-तुङ हाम्रो देशको नेता रहिरहनुहुन्छ !
(माओ त्से-तुङको २८ औँ स्मृतिदिवसका सन्दर्भमा जारी पर्चा)

माओ हामीबाट बिदा हुनुभएको २८ वर्ष बितिसकेछ । बितेका २८ वर्षमा हाम्रो पार्टीभित्रका पुँजीवादी पथगामीहरूको अगुवाइमा  प्रतिक्रियावादी शक्तिहरूले राज्य र पार्टीको सत्ता कब्जा गरेका छन् र राज्यको समग्रसम्पतिको बाँडफाँट गरेका छन् । यसैबीच उनीहरू माओ त्से–तुङ र वहाँको समाजवादी विरासतका विरुद्ध घृणा फैलाउन जुटेका छन् । माओमाथि आक्रमण गर्न र बदनाम गर्न उनीहरूले कुनै कसर बाँकी राखेका छैनन् । यसका लागि उनीहरूले पार्टीमा थरीथरीका निर्णय गर्ने, आधिकारिक दस्ताबेजहरू तथा प्रतिवेदनहरू जारी गर्ने तथा सरकारी सञ्चारमाध्यमहरूमा लेख तथा सम्पादकीय छाप्ने जस्ता माध्यमहरू अँगालेका छन् । अरू त अरू उनीहरूले माओको विरुद्ध “डेमोक्रेसी वाल” मा पोस्टर टाँस्ने र माओलाई बदनाम गर्ने विदेशी पत्रकारका भनाइ र कसैका व्यक्तिगत संस्मरणहरू प्रकाशित गरिरहेका छन् ।

परन्तु चिनियाँ बहुसङ्ख्यम जनता, चीनका ९५ प्रतिशत जनता, खास गरेर मजदुर र किसान सदैव माओको पक्षमा उभिएका छन् र उभिरहने छन् । माओको नेतृत्वमा पार्टी, सरकार र सेनाको कामलाई निर्देशन गर्ने आधारसूत्र थियो—हृदयदेखि नै जनताको सेवा गर । वहाँले सबै पार्टी सदस्य र कार्यकर्ताहरूलाई सदैव जनदिशामा ध्यान दिन र ९५ प्रतिशत जनताको पक्षमा उभिन बारम्बार आह्वान गर्नुभयो । वहाँले जोड दिएर भन्नुभयो —“ जनदिशाप्रति ध्यान दिनु माक्र्सवादको आधारभूत मान्यता हो ।” जीवनभर, आफ्नो अन्तिम साससम्म वहाँ जनताको मुक्तिका लागि लडिरहनुभयो ।

चिनियाँ जनताले आफ्नै प्रत्यक्ष अनुभवद्वारा राम्रा तथा नराम्रा दिनहरूमा,  जित र हारका क्षणहरूमा आफूलाई सदैव माओको नजिकै रहेको अनुभूत गरे । माओ त्से-तुङले चीनको नेतृत्व गर्नुभएको बेला चिनियाँ जनता देशका मालिक थिए र उनीहरूलाई असीमित जनवादी अधिकार प्राप्त थियो । चिनियाँ जनता आत्मविश्वास र आशापूर्ण जीवन बाँचिरहेका थिए र उन्नत भविष्यको सुनिश्चितता बोध गरिरहेका थिए । परन्तु, माओको निधनपछि चीनको श्रमजीवी वर्गलाई बुर्जुवा वर्गले रातारात सत्ताबाट हटायो, अधिकारविहीन बनायो । अब उनीहरू आफ्नो देशका मालिक रहेनन् ।

“चिनियाँ विशेषतासहितको समाजवाद” भनिएको यस समाजमा धनको अर्थ हो शक्ति र सामाजिक हैसियत । सम्पतिको ध्रुवीकरणले श्रममा बाँचेका मान्छेलाई  गरिबीको कित्तामा धकेलिदिएको छ । परिणामस्वरूप हिजोका दिनमा उनीहरूले प्राप्त गरेको सामाजिक हैसियत र अधिकार अब उनीहरूले गुमाएका छन् । अब उनीहरू सम्मानित श्रमशक्ति रहेनन्, आफूलाई जिउँदो राख्न अब उनीहरूले आफ्नो श्रमशक्तिलाई माल बेचेजसरी बेच्नुपर्ने हुन्छ । उनीहरू यस्ता औजार बनेका छन्, जसलाई पुँजीपतिहरू सजिलै किन्न सक्छन् र फ्याल्न सक्छन् । श्रमिकहरूको एउटा हिस्सा तथाकथित राज्य स्वामित्वका प्रतिष्ठानहरूमा काम गर्छ, परन्तु, “राजकीय स्वामित्व”को वास्तविक अर्थ पुँजीपतिको स्वामित्व भएको छ, किन भने पूरै राज्यमा पुँजीपतिहरूको स्वामित्व कायम भएको छ । श्रमिकहरू अब आफ्नो लागि काम गर्दैनन्, उनीहरू पुँजीपति वर्गका लागि अतिरिक्त मूल्य पैदा गर्नका लागि काम गर्छन् । श्रमजीवीहरूको अर्को हिस्सालाई साना पुँजीपतिहरूको दास बनाइएको छ । उनीहरूले अझ क्रूर शोषण-उत्पीडनको सामना गर्नुपर्दछ । यो बाहेक दसौँ करोड मजदुर र किसान बारम्बार छट्नीमा पर्ने गर्छन्, अनि कतिपय आफ्नो जग्गाजमिनबाट विस्थापित भएका कारण जसरीतसरी गुजारा चलाउन बाध्य हुन्छन्  । उनीहरू कामको खोजीमा यताबाट उता भौँतारिइरहेका हुन्छन् र बाँच्नका लागि अनेक किसिमका सङ्घर्ष गरिरहेका हुन्छन् । आफू र आफ्नो परिवारको गुजारा चलाउन उनीहरूसित आफ्नो श्रमबाहेक अरू केही हुँदैन ।

 अहिले कामको अधिकारको कुनै ग्यारन्टी छैन । शिक्षा, स्वास्थ्य सेवा, सांस्कृतिक गतिविधिहरू, खेलकुद र कानुनी सहायताको बजारीकरण हुनुको फलस्वरूप, आफ्ना केटाकेटीहरूलाई स्कुल पठाउने अधिकार, स्वास्थ्य सुविधा पाउने अधिकार, पेन्सनको अधिकार र वृद्धावस्थासित जोडिएका अन्य अधिकार, सांस्कृतिक,  मनोरञ्जन र खेलकुदसम्बन्धी गतिविधिमा भाग लिन पाउने अधिकार, यहाँसम्म कि कानुनी संरक्षणको अधिकार पनि जनताबाट खोसिसकिएको छ । अरू त अरू पुँजीपतिहरूद्वारा गरिएको अन्धाधुन्ध औद्योगिक  ‘विकास’ का कारण हुने प्राकृतिक स्रोतसाधनको बर्बादी र पर्यावरण प्रदूषणका कारण श्रमजीवी जनता स्वस्थ भोजन, सफा पानी र हावासमेतको अधिकारबाट वञ्चित हुनपुगेका छन् । गरिबीका कारण उनीहरूको टाउकोमा अकथनीय दुख-पीडाको पहाड बज्रेको छ । यसरी अब प्रस्टरूपमा देखिने गरी रेखा खिचिइसकेको छ ।

माओ त्से-तुङ  चिनियाँ श्रमजीवी वर्गको  नेता हुनुहुन्छ, वहाँ ९५ प्रतिशतभन्दा बढी चिनियाँ जनताको नेता हुनुहुन्छ । साम्राज्यवादी, संशोधनवादी र बुर्जुवा तथा चीनभित्र र बाहिरका सबै प्रतिक्रियावादी शक्तिहरू माओ त्से -तुङको विरोध गर्छन् र मन पराउँदैनन्, जनता भने वहाँलाई असाध्यै माया गर्छन्, हृदयदेखि नै माया गर्छन् । वहाँको मृत्युपछि जतिजति समय बित्तै गइरहेको छ, वहाँका दुस्मनहरू त्यति नै तीव्रताका साथ वहाँको विरोध गरिहेका छन् र जनता त्यति नै गहिराइ, दृढता, सच्चाइ र दृढताका साथ वहाँलाई माया गर्छन् । माओको विरोध गर्नेहरूले  बेतुकका कुरा सुनाएर जनतालाई माओका विरुद्ध भड्काउन खोजे पनि जनताले त्यस्ता अर्थनबर्थका कुरालाई खारेज गरिदिएका छन् ।

देङ सियाओ-पेङ,  जिआङ जेमिन र ऊजस्ता मान्छेहरूले आफूलाई चिनियाँ सुधारका मुख्य सूत्रधार भन्छ्न्, अथवा “तीन प्रतिनिधित्वको सिद्धान्त” प्रस्तुत गर्नुमा गर्व गर्दछन्, तर उनीहरूका क्रियाकलापलाई नजिकैबाट अध्ययन गर्दा तिनले साम्राज्यवाद र बुर्जुवा वर्गको हितको मात्रै प्रतिनिधित्व गर्छन् भन्ने कुरा प्रस्ट हुन्छ । यिनका व्यवहारको इतिहास र बितेका २८ वर्षका नाङ्गो सामाजिक यथार्थले हाम्रा आँखा खोलिदिएका छन् र हाम्रो वर्गचेतनालाई माथि उठाएका छन् । हाम्रो पार्टीभित्र आसन जमाएर बसेका बुर्जुवा तत्वहरू चिनियाँ बुर्जुवा वर्गका शिर र ढाडका मेरूदण्ड हुन् ।

पुँजीवादको बाटोलाई अघि बढाउन कस्सिएर लागेका यिनीहरू एकदमै स्वार्थी मान्छेहरू हुन् र छन्् । यिनीहरू पार्टीबाहिरका औसत पुँजीपतिहरू भन्दा ज्यादा खतरनाक, निर्मम, लोभी र धुर्त छन् ।   यति थोरै अवधिमा के के भएको छ भनेर सबै देख्न सकिन्छ । पार्टीभित्रका ठूला तथा साना पुँजीवादी पथगामीहरू र उनीहरूका परिवारका सदस्यहरू सबै नै करोडपति, कोही त  अरबपति पनि बनेका छन् । समाजवाद र “तीन प्रतिनिधित्वको सिद्धान्त” का बारेमा तिनीहरूका लामालामा भाषण सफेद झूठसिबाय केही होइन भन्ने कुरा अब सबैका सामु खुलस्त भएको छ । वास्तवमा उनीहरूले चाहेको कुरा नै पुँजीवाद हो, किन भने पुँजीवादले ने उनीहरूका लागि सबै किसिमका सुविधा उपलब्ध गराउँछ । वास्तवमा तिनीहरू समाजवाद र जनताका दुस्मन हुन् ।
 
लामो क्रान्तिकारी परम्परा बोकेको चिनियाँ कम्युनिस्ट पार्टी माओद्वारा स्थापित तथा उहाँको नेतृत्वमा शिर उच्च पारेको पार्टी हो भन्ने कुरालाई हामीले बिर्सिनु हुँदैन । यो त्यो पार्टी हो, जसले क्रुस्चेवको संशोधनवादका विरुद्ध दृढतापूर्वक  सङ्घर्ष चलायो, यो सांस्कृतिक क्रान्तिको भट्टीमा तातेर खारिएको पार्टी थियो । यसै कारणले पनि, जसरी पार्टीमा पुँजीवादी पथगामी छन्, त्यसैगरी समाजवादी मार्गका यात्रीहरू पनि छन्, खासगरेर तल्लो तह (ग्रासरुट)मा । पार्टीसदस्यहरूको विशाल तप्का, तल्लो तहका कार्यकर्ताहरूको ठूलो सङ्ख्या पार्टीका संशोधनवादी नेताहरूप्रति आक्रोसित छ । तिनीहरूमध्ये कतिपय अब यो सब सहन गर्न सक्ने स्थितिमा छैनन् । उनीहरू वर्तमान नेतृत्वलाई खुला चुनौती दिन सामुन्नेमा आइसकेका छन्, र कतिपयले चाहिँ परिवारको सुरक्षा र अन्य कारणले गर्दा अहिले नै खुलारूपमा आउनु उचित ठानेका छैनन् ।

संशोधनवादी गुट निजीकरणको बाटोमा जसरी कुदेको छ, यो बढ्दै गएपछि चीनमा वर्गअन्तर्विरोध तीव्र हुनेछ, र निश्चिय पनि आमजनताले व्यापक मात्रामा आफ्नो सङ्घर्षलाई तीव्र बनाउनेछन् भन्ने कुरामा हामीलाई विश्वास छ । देशभरि नै अन्तर्विरोधको विकास र जनताको सङ्घर्षले उच्च रूप लिनेछ, अनि संशोधनवादको असली चरित्रलाई बुझेका पार्टी, सरकार र सेनामा रहेका व्यक्तिहरूले संशोधनवादीहरूका विरुद्ध दृढ सङ्घर्ष चलाउनेछन् र माओको झण्डा माथि उठाउँने तथा चीनमा समाजवादको लडाइँलाई फेरि आरम्भ गर्नका लागि एकपल्ट फेरि सर्वहाराको पङ्क्तिमा सामेल हुनेछन् । जबसम्म यस दुनियाँमा वर्ग र वर्ग सङ्घर्षको अस्तित्व रहन्छ, माओ जनतामाझ बाँचिरहनुहुन्छ, वहाँ सदैव शोषित–उत्पीडित वर्गको नेता बनिरहनुहुन्छ । चिनियाँ क्रान्तिको इतिहासले बारम्बार साबित गरेझैँ, जबसम्म क्रान्तिकारी जनता दृढ पाइलाका साथ माओले देखाएको बाटोमा अघि बढिरहन्छन्, उनीहरूको सङ्घर्ष विजयको दिशातिर अघि बढिरहन्छ । जनताको सङ्घर्ष हाम्रो विश्वास र हाम्रो शक्तिको कहिल्यै समाप्त नहुने स्रोत हो ।

३.मुद्दाको बहसपैरवीको समयको परिदृश्य :

यसले के कुराको सङ्केत गर्छ ?

मौसमको भविष्यवाणी  विपरीत आज आकस्मिक रूपमा झेङ्झाउ सहरमा जाडो बढेको छ, भारी हिमपात भएको छ । खराब मौसम भए पनि माओवादीहरूको मुद्दाको बहसपैरवीमा सहभागी हुन स्वस्फुर्त किसिमले देशैभरिबाट झेङ्झाउ सहरमा थुप्रै मान्छेहरू जम्मा भएका छन् ।
उनीहरू पूर्वनिर्धारित योजना अथवा कसैले बोलाएर नभई समाजवादी गणतन्त्रप्रतिको इमानदारी र उनीहरूका दिवङ्गत नेता तथा गुरू अध्यक्ष माओप्रतिको अथाह श्रद्धा र मायाले अभिप्रेरित, भएर न्यायप्रतिको साझा भावनाले बाँधिएर समाजवादी गणतन्त्रका जनताको भाग्यसित जोडिएको सन्दर्भप्रति चासो राखेर टाढाटाढाबाट आएका हुन् । यो मुद्दामा माओको झण्डाको विरासतप्रति झेङ्झाउका अधिकारीहरूको कस्तो रबैया हुन्छ भन्ने कुरा उनीहरूलाई थाहा नभएको होइन । र पनि झेङ्झाउका अधिकारीहरू अब के गर्छन् माओ विचारको पक्षमा उभिन्छन् कि के गर्छन् भन्ने जनजिज्ञासा उनीहरूमा थियो । अध्यक्ष माओको सम्मान र सम्झना गर्नुबाहेक झाङ झेङ्ग्याओ र अरू मजदुरहरूको कुनै कसुर थिएन ।

मुद्दाको प्रक्रिया अघि बढेसँगै घटनाबारे जानकारी राख्ने विश्वकै मान्छेहरूले यसलाई हेरिरहेका हुनेछन् । समर्थकहरूको ठूलो सङ्ख्या ऐक्यबद्धता जनाउन झेङ्झाउमा आइसकेको छ । माओवादी हुनुको कारण कसुरदार ठानिएकाहरूको मुद्दाको बहसपैरवीमा उपस्थित हुन भारी हिमपात छिचोलेर समर्थकहरू उपस्थित भएका छन् । आज डिसेम्बर २१ का दिन, माओको १११औँ जन्मदिवसभन्दा केही दिन अघिमात्र  मुद्दाको बहसपैरवीको मिति तोकिएको थियो । तर बिना पूर्वसूचना यो बहसपैरवीलाई स्थगित गरिएको छ र पहिलेको मुद्दा फेरेर अहिले अर्कै मुद्दा लगाइको छ  ।
 
बहसपैरवी र फैसला सुन्न मान्छेहरू दिनभरि पर्खिरहे । अन्त्यमा वकिल आएर केही कुरा सुनाए । मान्छेले के कुरा थाहा पाए भने झाङ रुक्युनले आफूमाथि लगाएको आरोपलाई पूरा खारेज गरिदिए र कोर्टमै मुट्ठी उचालेर भनेछन् :  “माओको स्मृति मनाउने सन्दर्भमा पक्राउ पर्दा म आफूलाई एकदमै गर्वको अनुभूति गर्छु ।” अदालतबाट झाङ रुक्युनलाई गाडीमा हालेर प्रहरी कार्यालयतर्फ लैजादा उपस्थित जनसमुदायले नारा लगायो : “अन्यायको हार हुनेछ, सत्यको जित हुनेछ ।” गाडी परसम्म पुगुन्जेल मान्छेहरू नारा लगगाइरहेका थिए, मान्छेहरू कराइरहेका थिए :

को हुन् असली अपराधीहरू ! के पक्राउ परेकाहरूले दिनहौँजसो मनपरी गर्न नियमकानुन तोडेका छन् ? के उनीहरुले संविधानलाई पैतालाले कुल्चेका छन् ? किन तिनीहरू माओको स्मृति मनाउने कार्यदेखि पनि यति सारो डराएका छन् ? एक जना मान्छे चिच्याउँदै करायो :  यी बदमासहरू, भ्रष्ट अधिकारीहरू मालिक भएर हामीमाथि शासन गरिरहेका छन्, तर ढिलोचाँडो जनताले यसको हिसाबकिताब बराबर पार्नेछन् ।
त्यस्तै सेप्टेम्बर ९ का दिन एक जना वृद्ध मजदुरलाई माओको स्मृति दिवस मनाउने सन्दर्भमा माओको सालिकसामुबाट पक्राउ गरियो र उनलाई गोप्य किसिमले बयान लिइयो ।

अब भन्नोस्, यसले के कुराको सङ्केत गर्छ ?
०००





भिडियो फिचरview all