menu

ताजा समाचार

लेनिन, स्टालिन र क्रान्तिकारी निरन्तरता: माओ त्सेतुङ

सोभियत सङ्घको कम्युनिस्ट पार्टीको बिसौं  महाधिवेशनबारे म एकाध कुरा भन्न चाहन्छु । मलाई के लाग्छ भने ‘तरबार’ दुईवटा छन्, एउटा तरबार लेनिन हुनुहुन्छ र अर्को तरबार स्टालिन हुनुहुन्छ । अहिले रुसीहरूले स्टालिनरूपी तरबारलाई परित्याग गरेका छन् । हङ्गेरीका गोमुल्का र अरू केही मानिसहरूले सोभियत सङ्घको छातीमा रोप्न र तथाकथित स्टालिनवादको विरोध गर्नका लागि त्यो तरबार टिपेका छन् । थुप्रै युरोपेली देशहरूका कम्युनिस्ट पार्टीहरू पनि सोभियत सङ्घको आलोचना गरिरहेका छन् र उनीहरूको नेताचाहिं तोग्लियाटी हो । साम्राज्यवादीहरू पनि जनतालाई छप्काउनका लागि यो तरबार प्रयोग गरिरहेका छन् । उदाहरणका लागि केही समययता डलसले यो तरबार नचाइरहेको छ । त्यो तरबार भाडामा दिएको होइन, त्यो त मिल्काइएको हो । हामी चिनियाँहरूले यसलाई मिल्काएका छैनौं । पहिलो कुरा हामी स्टालिनको प्रतिरक्षा गर्छौं र दोस्रो कुरा यसका साथसाथै हामी वहाँका गल्तीहरूको आलोचना गर्छौं। हामीले ‘सर्वहारा वर्गको अधिनायकतन्त्रको ऐतिहासिक अनुभवबारे’ भन्ने लेख लेखेका छौं । स्टालिनलाई बदनाम गर्न र सिध्याउन खोज्ने केही मानिसहरूभन्दा भिन्न रूपबाट हामीचाहिं वस्तुगत यथार्थअनुरूप काम गरिरहेकाछौं  ।

जहाँसम्म लेनिनरूपी तरबारको कुरा छ, के सोभियत नेताहरूले यसलाई पनि केही मात्रामा त्यागिसकेका छैनन् र ? मेरो विचारमा त यसलाई निकै ठूलो मात्रामा त्यागिसकिएको छ । सोभियत सङ्घको बीसौं महाधिवेशनसमक्षक्रुस्चेवले प्रस्तुत गरेको प्रतिवेदनमा संसदीय बाटोबाट राज्यसत्ता कब्जा गर्न सकिन्छ भनिएको छ । यस भनाइको अर्थ के हो भने अब सबै देशहरूले अक्टोबर क्रान्तिबाट सिक्नु जरुरी छैन । अब यो मूल ढोका खोलिसकेपछि त लेनिनलाई स्वभावैले मिल्काएसरह भइहाल्यो नि !

लेनिनवादको सिद्धान्तले मार्क्सवादलाई विकसित तुल्याएको छ । यसले कुनकुन सवालमा यो कार्य गरेको छ त ? पहिलो कुरा, यसले विश्वदृष्टिकोणको सवालमा अर्थात् भौतिकवाद र द्वन्द्ववादको सवालमा यो कार्य गरेको छ र दोस्रो कुरा, यसले क्रान्तिकारी सिद्धान्त र कार्यनीतिहरूको सवालमा, खास तरेर वर्गसङ्घर्ष, सर्वहारावर्गको अधिनायकत्व तथा सर्वहारावर्गको राजनीतिक पार्टीको सवालमा यो कार्य गरेको छ । अनि त्यसपछि समाजवादी निर्माणका सम्बन्धमा पनि लेनिनका शिक्षाहरू रहेका छन् ।  १९१७ को अक्टोबर क्रान्तिबाट सुरु भई क्रान्तिको बीचबाट निर्माणकार्य चलिरह्यो र यसप्रकार लेनिनले निर्माणका क्षेत्रमा सात वर्षसम्म अनुभव संगाल्न पाउनुभयो, जुन अवसर मार्क्सले पाउनुभएको थिएन । हामीले सिक्तैआएका कुराहरू मार्क्सवाद-लेनिनवादका यिनै आधारभूत सिद्धान्तहरू नै हुन् ।

जनवादी क्रान्ति र समाजवादी क्रान्ति गरी हाम्रा दुवै क्रान्तिमा वर्गसङ्घर्ष चलाउने क्रममा जनसमूहहरूलाई परिचालित गर्दैआएका छौं, र यी प्रक्रियाहरूमा हामीले जनतालाई प्रशिक्षित गर्दैआएका छौँ । हामीले वर्गसङ्घर्ष चलाउन सिकेको अक्टोबर क्रान्तिबाट नै हो । अक्टोबर क्रान्तिमा सहर र गाउँहरू दुवै ठाउँमा जनसमूहहरूलाई वर्गसङ्घर्ष चलाउने काममा पूर्णरूपमा परिचालन गरिएको थियो । सोभियत सङ्घले अचेल दक्ष मानिसहरूका रूपमा विभिन्न देशमा पठाउने गरेका मानिसहरू अक्टोबर क्रान्तिकालमा केटाकेटी वा किशोरकिशोरी नै थिए । त्यसैले उनीहरूमध्ये धेरैले यस प्रक्रियालाई बिर्सिसकेका छन् । कतिपय देशहरूका कमरेडहरू चीनको जनदिशा ठीक छैन भन्ने गर्दछन् र उनीहरू हुकुमी शैलीको नक्कल गर्न पाउँदा औधी रमाउँछन् । उनीहरू यसो गर्न चाहन्छन् भने उनीहरूलाई रोक्ने कुरै छैन, जेसुकै भए पनि हामी एकअर्काका आन्तरिक मामिलामा अहस्तक्षेप र परस्पर अनाक्रमणसहितको शान्तिपूर्ण-सहअस्तित्वका पाँच सिद्धान्तहरूलाई दृढताका साथ पालना गर्दछौं  । हाम्रो आफ्नै देश अर्थात् जनगणतन्त्रबाहेक अरू कुनै देशमाथि आफ्नो नेतृत्व लागू गर्ने हाम्रो मनसाय छैन ।

पूर्वी युरोपका कतिपय देशहरूको आधारभूत समस्या के हो भने उनीहरूले वर्गसङ्घर्षको राम्ररी सञ्चालन गरेका छैनन् र थुप्रै प्रतिक्रान्तिकारीहरूलाई फुक्काफाल छाडिदिएका छन्, न त उनीहरूले आफ्नो देशको सर्वहारावर्गलाई वर्गसङ्घर्षका क्रममा प्रशिक्षित तुल्याई उनीहरूलाई जनता र जनताका सत्रुका बीचमा सही र गलत कुराका बीचमा तथा भौतिकवाद र आदर्शवादका बीचमा प्रस्ट विभेदको रेखा कोर्न उनीहरूलाई सघाउ पुर्याएका छन् । त्यसैले उनीहरूले जस्तो बीउ छरेका थिए अहिले त्यस्तै बाली थन्क्याउनुपरेको छ, अर्थात् उनीहरूले आफ्नै कामको नतिजास्वरूप आफ्नै टाउकातिर गोली सोझ्याएका छन् ।

तपाईंहरूसँग कति पुँजी छ ? लेनिन र स्टालिन मात्र । अब तपाईंहरूले स्टालिनलाई फ्यालिहाल्नुभयो र लेनिनका खुट्टालाई छाडिदिएर वा सायद उहाँको टाउकोलाई नै छाडिदिएर वा वहाँको हात काटिदिएर लेनिनको पनि अधिकांश भागलाई साँच्चै नै त्यागिदिनुभयो । हामी भने मार्क्सवाद-लेनिनवादको अध्ययन गर्ने काममा र अक्टोबर क्रान्तिबाट सिक्ने काममा दृढताका साथ लागिपरेका छौं । जनसमूहहरूमाथि भरपर्नु, जनदिशालाई अनुशरण गर्नु— हामीले उहाँहरूबाट सिकेका कुरा यिनै हुन् । वर्गसङ्घर्ष सञ्चालन गर्ने काममा जनसमूहहरूमाथि भर नपर्नु र जनताका सत्रुका बीचमा प्रस्ट विभेदरेखा नखिच्नु बडो खतरनाक कुरा हुनसक्छ ।

(यो अंश ‘चिनियाँ कम्युनिस्ट पार्टीको आठौँ केन्द्रीय समितिको दोस्रो पूर्ण अधिवेशनमा दिइएको प्रवचन’ १९५६ बाट लिइएको हो र यसको शीर्षक पनि हामीले नै दिएका हौं ।)

भिडियो फिचरview all