
फ्रान्सेली माओवादी पार्टीका नेता पेरेको निधन

विभिन्न कारणबस फ्रान्सको त्यतिबेरको माओवादी आन्दोलन लामो अवधिसम्म टिक्न सकेन । कतिपय “उत्तरवादी” धारणाको पक्षमा लागे भने कतिपय “पहिचानवादी” राजनीतितिर लागे । तर कतिपय कमरेडहरूले पार्टीलाई नयाँ किसिमले सङ्गठित गर्ने प्रयास जारिराखे । यस्तै गाउचे प्रोलटरिनेकालदेखि निरन्तर लागेर र पछि “माओवादी पार्टी, फ्रान्स” गठन गर्न महत्वपूर्ण भूमिका खेल्ने कामरेड हुनुहुन्थ्यो कमरेड पेरे । वहाँ सन् १९६८ को पेरिस जनसभाको सहभागी हुनुहुन्थ्यो ।
माओवादी पार्टीको नेतृत्त्व तहमा रहनुभएको ८१ वर्षीय कमरेड पेरेको यही डेसेम्बर २ का दिन एउटा दुर्घटनामा परेर मृत्यु भएको छ । भारतमा चलिरहेको जनयुद्धको समर्थनमा युरोपमा जनमत निर्माण गर्न महत्वपूर्ण भूमिका खेलिरहनुभएको कमरेड पेरे क्रान्तिकारीहरूको नयाँ केन्द्र निर्माण अभियानको पनि सक्रिय सदस्य हुनुहुन्थ्यो । थुप्रै अन्तर्राष्ट्रिय सभा र गोष्ठीमा उहाँको सहभागिता थियो ।
वहाँको निधनमा माओवादी पार्टी, फ्रान्सले वक्तव्य निकाल्दै भनेको छ :
“कमरेड पेरेको निधनले हाम्रो पार्टीलाई मात्र होइन, वहाँको व्यक्तित्वको अन्तर्राष्ट्रिय आयामका कारण सिङ्गो अन्तर्राष्ट्रिय सर्वहारावादी आन्दोलनमा घाटा पुगेको छ । कमरेड पेरेलाई सदैव जनताको सङ्घर्षका बीच रहने कमरेडका रूपमा उत्पीडित जनताले सम्झिनेछन् । जस्तोसुकै अप्ठ्यारो परे पनि वहाँले क्रान्तिकारी क्याम्प कहिल्यै छोड्नु भएन । वहाँले हाम्रो साथ छाडे पनि नयाँ पुस्ता वहाँले देखाएको बाटोमा अघि बढ्न प्रतिबद्ध छ । हाम्रो वर्गको माओवादी नेता सदैव हाम्रो साथ रहनुहुनेछ । ”
फ्रान्समा माओवादी आन्दोलनलाई पुनर्गठन गर्न महत्वपूर्ण भूमिका खेल्नुभएको र विश्वका माओवादी क्रान्तिकारीहरू कसरी एउटै छातामुनि गोलबद्ध हुने भनेर यताका दिनमा भएका प्रयासहरूको एउटा सक्रिय सदस्य कमरेड पेरेको निधन अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका दृष्टिले निकै दुखद सन्दर्भ हो । हामी पनि वहाँप्रति क्रान्तिकारी लाल सलामा प्रकट गर्दै माओवादी पार्टी, फ्रान्सप्रति ऐक्यबद्धता जनाउँछौँ : “ विश्व सर्वहारा क्रान्ति : जिन्दावाद !"
भिडियो फिचरview all