
विश्वव्यापीरूपमा अक्टोबर क्रान्तिको शतवार्षिकी

नेपालमा कम्युनिस्ट न्युक्लिअस, नेपाल, नेकपा (माओवादी) पुनर्गठन अभियान, नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा-विप्लवले विभिन्न कार्यक्रमका साथ अक्टोबर दिवस मनाइरहेका छन् । नेकपा-विप्लवले आमसभाको कार्यक्रम सम्पन्न गरिसकेको छ भने नेकपा (क्रान्तिकारी माओवादी) ले आज प्रवचन कार्यक्रमका साथ अक्टोबर दिवस मनाइरहेको छ ।
यसैगरी आजै बुटवलमा 'मार्क्सवादी विचार मञ्च' ले अक्टोबर दिवस मनाउँदैछ भने काठमाडौँमा एकताकेन्द्रका पूर्व नेता सोनामको संयोजकत्वमा बनेको ‘अक्टोबर क्रान्ति शतवार्षिकी समिति’ को आयोजनामा काठमाडौँको भृकुटी मण्डपदेखि शान्तिबाटिकासम्म पदयात्रा कार्यक्रम हुने भएको छ । त्यस्तै नोभेम्बर ९ अर्थात् कात्तिक २३ गते रोशन जनकपुरीको संयोजकत्वमा बनेको आयोजक समितिले जनकपुरमा अक्टोबर दिवसको कार्यक्रम सम्पन्न गर्ने छ ।
माओवादी पार्टी गालिजिया (स्पेन) को विशेष अपिल
अक्टोबर क्रान्तिको निरन्तरतालाई स्तालिन, माओ, चारुमजुमदार, गोन्जालो र क्यापकायको योगदानसित जोडौँ
यसैबीच माओवादी पार्टी गालिजिया (स्पेन) ले अक्टोबर क्रान्तिको सान्दर्भिकता र सार्थकता लेनिनले कोरेको बाटोमा समाजवादी आन्दोलनलाई अघि बढाउने स्टालिन, माओ, जोसे मारिया सिसोन, चारु मजुमदार, गोन्जालो, क्यापकायको योगदानसित जोड्न सक्यो भने मात्र अक्टोबर क्रान्ति मनाउनुको सान्दर्भिकता र सार्थकता रहन्छ भन्दै अक्टोबर क्रान्ति दिवसलाई औपचारिकता निर्बाहका सन्दर्भमा मात्र होइन, क्रान्तिकारी सिद्धान्त र व्यावहारिक प्रतिबद्धामा उतार्न आह्वान गरेको छ ।
वक्तव्यमा पेरिस कम्युन, अक्टोबर क्रान्ति, चिनियाँ नयाँ जनवादी क्रान्ति र महान् सर्वहारा सांस्कृतिक क्रान्ति, नक्सलबाडी किसान विद्रोह, पेरूको जनयुद्ध र त्यसपछि भारतलगायतका मुलुकहरूमा निरन्तरतामा भएका जनयुद्ध विश्व सर्वहारा वर्गको मुक्तिसित गाँसिएका ऐतिहासिक कडी हुन् र अबको मूलबाटो पनि जनयुद्ध नै हो र यसलाई दरोसित आत्मसात गर्नुपर्छ भनेर जोड दिइएको छ ।
भिडियो फिचरview all