
भाकपा (माओवादी) का महासचिब कमरेड गणपतिको ठाउँमा कमरेड बसबराजले जिम्मेवारी लिएको हल्ला

''शारिरीक र मानसिक सीमाहरू भएका कमरेडहरू, जो आफनो जिम्मेवारीलाई आआफ्नो कमिटीमा ठीक ढङगले बहन गर्न सकिरहनुभएको छैन, उहाँहरूलाई उहाँहरूले लिँदै आउनुभएको जिम्म्मेवारीलाई निरन्तरता दिनुको साटो त्यहाँबाट अन्यत्र जिम्मेवारी दिन सकिनेछ । यसमा उहाँहरूलाई उहाँहरूले क्षमताले भ्याउने खालको जिम्मेवारी मात्र दिइनेछ । सम्बद्ध कमिटीहरूले उहाँहरूसित रहेको लामो अनुभवलाई तलका अन्य विविध कमिटीहरू, जनवर्गीय सङ्गठनहरू तथा यस्तै साझा मञ्च र अन्य क्षेत्रहरूमा जिम्मेवारी दिएर उहाँहरूको अनुभवको क्रान्तिमा उपयोग गर्नु आवश्यक छ । हामीले यस किसिमको निर्णय आन्दोलनको हित र सम्बद्ध बृद्ध कमरेडहरूको चाहनामा नै गर्न खोजेका हौँ । मानसिक र भौतिक दृष्टिले सीमाबद्ध कमरेडहरूले यो निर्णय कार्यान्यनका लागि अवश्य पनि क्रान्तिकारी स्पिरिट देखाउनुहुनेछ र कमरेडहरूले आफ्ना सीमाहरू आफैँले अनुभूत गरी आफूसम्बद्ध कमिटीबाट स्वैच्छिक किसिमले बिदा भएर आफूले गर्न सक्ने अन्य कामको जिम्मेवारी लिन आफैँ तयार हुने कदम चाल्नुहुनेछ । केन्द्र र राज्यका नेतृत्वमा रहेका कमरेडहरूले व्यवहारद्वारा यस किसिमको आदर्शको स्थापना गर्नुहुनेछ । पार्टीका यस्ता कमरेडहरूले जुनसुकै तहको जिम्मेवारी भए पनि वर्गसङ्घर्षको महत्वलाई आत्मसात गरेर आफ्नो चेतनालाई पार्टी र समाजको हितका लागि, कम्युनिस्ट मूल्य र सिद्धान्तलाई अगाडि राखेर समाजमा विद्यमान शोषण(उत्पीडनका विरुद्ध लडिरहनुहुनेछ र समाजको रूपान्तरणको अभियानलाई अगाडि बढाउन योगदान दिनुहुनेछ ।"
यस किसिमको निर्णयलाई लिएर फासिवादी मोदी सरकारका माध्यमहरूलगायत कर्पोरेट माध्यमहरूले होहल्ला र टिप्पणी गरेर अनेक थरी भ्रम उत्पन्न गरेको पढ्न पाइन्छ । पिपुल्स वारको प्रकाशनपछि उनीहरूले “गणपतिले नेतृत्व हस्तान्तर गरे, माओवादीहरू यताका दिनमा कमजोर भएका छन् , थुप्रै नेता तथा कार्यकर्ताले आत्मसमर्पण गरेको, उत्तराधिकारीको समस्या, उत्तर र दक्षिण (आन्ध्र क्षेत्र र बिहारबङ्गाल क्षेत्र) बीच खटरपटर परेको, नयाँ र पुराना कार्यकर्ता तथा तल्लो जात र माथिल्लो जातका कार्यकर्ताहरूबीच असमझदारी बढेको ” आदिआदि टिप्प्णी गरेर भ्रम फिँजाएको पाइँन्छ । क्रान्तिकारी पार्टीभित्र अनेक किसिमका भ्रम फिँजाएर पार्टीलाई कमजोर पार्ने प्रयास गर्न खोज्नु प्रतिक्रियावादीहरूको सार्वभौम नीति भएकाले हिजोका दिनदेखि नै उनीहरूले यसो गर्दैआएका हुन् तापनि अहिले यो सन्दर्भलाई बढी उचालेका र उछालेका छन् ।
भारतीय प्रतिक्रियावादी माध्यमहरूले उमेर र बिरामीका कारण पार्टीको मूल नेता कमरेड गणपतिले नेतृत्वको जिम्मेवारी अर्कैलाई दिएको कुरालाई बढी प्रचारित गरेका छन् । “६८ वर्षीय मुप्पाल्ला लक्ष्मण राव ‘गणपति’ डायबिटिज र वाथको बिमारी भएकाले र हिँडडुल र उपचारको स्थितिलाई ध्यानमा राख्दै पार्टीले उनको ठाउँमा नम्बाला केशव राव ‘बसवराज’ लाई महासचिव बनाएको छ”, भनेर उनीहरूले प्रचार गरेका छन् ।
सुरक्षा र गोपनीयतालाई ध्यानमा राखेर भाकपा (माओवादी) ले महासचिवको नामबाट एकदमै कम वक्तव्य बाहिर ल्याउने गरेको पाइन्छ । वक्तव्यहरू कि त केन्द्रीय समितिका नाममा, कि त केन्द्रीय प्रवक्ता 'अभय' का नाममा सार्वजनिक हुने गरेका छन् । त्यसैगरी सुरक्षा र स्थितिको विशिष्टतालाई ध्यानमा राखेर जोनल प्रवक्ताका नाममा वक्तव्य प्रकाशित हुनेगरेको पाइन्छ । मार्च २०१६ मा प्रकाशित ऐतिहासिक आलेखका रूपमा चर्चित आह्वान “ सेलिब्रेट दि फिफ्टिथ एनिभर्सरिज अफ दि ग्रेट प्रोलेटरियन कल्चरल रिभोलुसन (जिपिसिआर) एन्ड दि हिस्टोरिक नक्सलबारी आर्मड अपराइजिङ, सेन्टेनरी अफ दि अर्थ-सेकिङ रसियन सोसियलिस्ट रिभोलुसन एन्ड दि बाइसेन्टेनरी अफ दि बर्थ अफ दि ग्रेट टिचर अफ इन्टन्र्यास्नल प्रोलेटरियट कार्ल मार्क्स विथ रिचोलुस्नरी इन्थुसियाइज्म एन्ड स्पिरिट’, अर्थात् ,'''चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति र ऐतिहासिक नक्सलवारी सशस्त्र आन्दोलनको ५०औँ वार्षिकोत्सवहरू, पृथ्वी नै हल्लाउने रूसी समाजवादी क्रान्तिको सय वर्ष र अन्तर्राष्ट्रिय सर्वहाराका महान् गुरु कार्ल मार्क्सको २००औँ जन्म दिवस क्रान्तिकारी उत्साह र जोसका साथ मनाऔँ !" (यो महत्त्वपूर्ण आलेखको अनुवाद वेबसाइट ‘दि नेक्स फ्रन्ट डट कम र विचारप्रधान पत्रिका पैकेला असार-साउन २०७३ मा पढ्न सकिन्छ ।) पछि कमरेड गणपतिका नामबाट अन्य कुनै पनि वक्तव्य तथा अन्तर्वार्ताहरू प्रकाशमा आएको पाइएको छैन ।
कमरेड गणपतिको टिम भनेको नक्सलबाडी आन्दोलनको विरासतसित जोडिएको 'भारतीय कम्युनिस्ट पार्टी (माले) पिपुल्स वार’ को टिम हो । यो तेलङ्गना आन्दोलनदेखिको इतिहास बोकेको र विचार र अनुभवले खारिएको टिम हो । यसलाई ऐकेडेमिक दृष्टिले पनि निकै समृद्ध टिम मानिन्छ । सन् २००४ मा बिहार-बङ्गालमा सक्रिय एमसिसीसित यसको एकता भएपछि निर्माण भएको भाकपा (माओवादी) को महासचिवको रूपमा कमरेड गणपति रहनुभएको हो । यसका केन्द्रीय समितिका पोलिटब्युरो तहका र कमरेड गणपतिपछि नेतृत्वको लाइनमा रहेका कमरेड चेरिकुरी राजकुमार ‘आजाद’ को सन् २०१० मा र अर्का प्रवक्ता कमरेड मलौजा कोटेश्वर राव ‘किसनजी’ को २०११ म हत्या भएको थियो र वरिष्ठ कमरेडहरू कमरेड अजिथ, कोबाध गान्धी, बच्चाप्रसाद सिंह, वाराणसी सुब्रमन्ह्यम, अभिताव बाग्छी, पुलेन्दु मुखर्जी प्रमोद मिश्रलगायतका कमरेडहरू भारतका विभिन्न जेलमा हुनुहुन्छ । यही अवस्थालाई हेरेर कर्पोरेट माध्यमहरूले गणपतिपछि पार्टीको जिम्मेवारी ६२ वर्षीय केन्द्रीय सैन्य आयोगका प्रमुख नम्बाला केशव राव 'बसवराज'लाई दिएको कुराको टिप्पणी गरेको हुनसक्छ । कमरेड बसबराज भाकपा (माओवादी) पार्टी निर्माणदेखि नै सो पार्टीका केन्द्रीय सदस्य र हाल पोलिटब्युरो सदस्य रहेको कुरा पनि माध्यमहरूले जनाएका छन् ।
पत्रपत्रिकाहरूले गणपति वैचारिक र अध्ययनशील व्यक्ति भएका र वर्तमान महासचिव चाहिं फौजी रणनीतिका योजनाकार भएको भन्दै बसबराजको हातमा मूल नेतृत्व आएपछि माओवादी पार्टीमा फौजी लाइन हाबी हुन सक्ने टिप्पणी गरेका छन् भने कतिपय पत्रिकाले चाहिं सरकारी गुप्तचर एजेन्सी र इन्टेलिजेन्स अधिकारीको स्रोत उल्लेख गर्दै ''पार्टीका अन्य वृद्ध र बिरामी नेताले बिदा लिएका भए पनि गणपतिले बिदा लिने अथवा लिएको कुरा सही नहुन सक्छ" भनेको भनेर पनि समाचार प्रकाशित गरेका छन् ।
पिपुल्स वारमा प्रकाशित निर्णय र पक्राउ परेका कतिपय नेताहरूका भनाइलाई लिएर सरकारी पक्ष र सरकारी माध्यमहरूले महासचिव गणपतिको जिम्मेवारी बसबराजले लिएको अनुमान गरेर समाचार र टिप्पणी प्रकाशित गरे पनि पार्टीले आधिकारिक रूपमा यसबारे केही भनेको छैन र यसका शुभचिन्तक बुद्धिजीवीहरू तथा माध्यमहरूले पनि यसबारे कुनै प्रतिक्रिया जनाएका छैनन् ।
‘अपरेसन ग्रिन हन्ट- २०१७’ अन्तर्गत माओवादीहरूमाथि दमन र आतङ्क अभियान चलाइरहेको वर्तमान फासिवादी मोदी सरकार आगामी आम निर्वाचनलाई ध्यानमा राखेर माओवादीका विरुद्ध सैन्य, प्रचारात्मक र मनोवैज्ञानिक सबै थरी आतङ्क चलाइरहेको छ र अहिले उसले फिँजाएको हल्ला पनि यसैको उपज हो भन्न सकिन्छ । भ्रम फिंजाएर फासिवादी सरकार माओवादी कार्यकर्ता, उत्पीडित मुक्तिकामी जनता र शुभचिन्तकहरूको आत्मबल र मनोबल कमजोर पार्ने षड्यन्त्र गरिरहेको छ भन्ने टिप्पणी माओवादी आन्दोलनका शुभचिन्तकहरूको रहेको छ ।
०००
भिडियो फिचरview all