menu

ताजा समाचार

गालिसियाका माओवादी कमरेडहरूसितको कुराकानी : एल ब्लोक डेलि स्टे

गालिसिया स्पेनअन्तर्गतको स्वायत्त प्रदेश हो । गालिसियाका क्रान्तिकारीहरूले त्यहाँ ‘माओवादी पार्टी गालिसिया’ गठन गरेका छन् र त्यहाँको विशिष्टतामा  आफ्नो सङ्गठनात्मक हैसियतअनुसार गतिविधि गरिरहेका छन् । गालिसिया अहिले क्रान्तिकारीहरूको नयाँ अन्तर्राष्ट्रियतावादी सङ्गठन निर्माणका लागि थालिएको अभियानको सक्रिय सदस्य हो । छिमेकी मुलुक भएर पनि नेपालका माओवादी भनिएका सङ्गठनले भारतमा चलिरहेको जनयुद्धका बारेमा निस्पृहता देखाइरहेको अवस्थामा गालिसियाका कमरेडहरूले “भारतमा चलिरहेको जनयुद्ध समर्थन कमिटी” गठन गरी “इन्डिया वेरमेल्ला” नामको वेबसाइट खोलेर यो अभियानलाई थप प्रभावकारी बनाएका छन् । भारतमा चलिरहेको जनयुद्ध तथा राजनीतिक बन्दीहरूका पक्षमा देखाएको यस किसिमको  क्रियाशीलता सह्राहनीय छ । यहाँ सो बेवसाइटका सम्बन्धमा एल ब्लोक डेलि स्टेले गरेको कुराकानीको नेपाली अनुवाद  प्रस्तुत गरिएको छ ।
...................................................................................................................................................

“इन्डिया  वेरमेल्ला” सित कुराकानी

१. “इन्डिया वेरमेल्ला” भनेको के हो ?

इन्डिया वेरमेल्ला भनेको “भारतमा चलिरहेको जनयुद्ध समर्थन कमिटी” को सूचना माध्यम हो । यसैको माध्यमबाट हामी भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को नेतृत्वमा अघि बढेको क्रान्तिकारी सङघर्षको यथार्थ हाम्रा पाठकहरूलाई जानकारी गराउँछौँ ।

२. तपाईँहरूले नक्सलवादी क्रान्तिप्रति ऐक्यबद्धता जनाउनुभएको कारण के हो ?

ठीक भन्नुभयो, भारतमा चलिरहेको आन्दोलन विश्व सर्वहारा क्रान्तिको एउटा महत्वपूर्ण अङ्ग हो , कमरेड चारु मजुमदारले अघि सारेको दीर्घकालीन जनयुद्धको बाटोमा मार्क्सवाद-लेनिनवाद-माओवादलाई लागु गर्दै यो निरन्तर अघि बढिरहेको छ । त्यसैले उनीहरूले चलाएको यो सङ्घर्षको निरन्ततरताका लागि समर्थन गर्नु कम्युनिस्टहरूको दायित्व हो ।

लेनिनवादप्रति गद्दारी गर्नेहरूले वकालत गरेको शान्तिपूर्ण सहअस्तित्वको संशोधनवादी बकवासलाई खारेज गर्दै पेकिङ रेडियोले भनेको “बसन्ते गर्जन” झैँ नक्सलबाडी आनदोलनले भारतीय उपमहाद्विपमा नयाँ आवाज प्रतिध्वनित गरायो । नक्सलबाडी आन्दोलन अध्यक्ष माओले देखाउनुभएको बाटो चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिको सच्चा उत्तराधिकारी थियो । आज यो बाटो सच्चा कम्युनिस्टहरूलाई अवसरवादीहरू, जो प्रायः गरेर आफूलाई नक्कली रातो झण्डाभित्र लुकाउने गर्छन्, उनीहरूबाट अलग गर्ने प्रस्ट लाइन भएको छ । उदाहरणका रूपमा स्पेनी राज्यको कथित “स्पेनी जनताको कम्युनिस्ट पार्टी” लाई लिन सकिन्छ, जसका चर्का शब्दजालले माओवादीहरूको विरोध र प्रतिक्रियावादी मोदी सरकारको समर्थनलाई लुकाउन सकेको छैन ।

३.अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा माओवादीहरू संलग्नतामा नक्सलवादीहरूप्रति कुनै ऐक्यबद्धता जनाइएको छ ?

छ , धेरै वर्षदेखि छ । भारतीय कम्युनिस्टहरूको अहिले मृतप्रायः स्थितिमा रहेको अन्तर्राष्ट्रियतावादी क्रान्तिकारी आन्दोलन (रिम) सित सक्रिय सहभागिता थियो, जसमा ‘भारतीय कम्युनिस्ट पार्टी माले (नक्सलबाडी) सहभागी थियो र पछि यसको भारतीय कम्युनिस्ट पार्टी (माओवादी) सित एकता भएको थियो । भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ‘कोअर्डिनेसन कमिटी अफ माओइस्ट अर्गनाइजेसन इन साउथ एसिया’ (कम्पोसा) को संस्थापक सदस्य हो ।

४. तपाईँहरूले गालिसियामा गर्ने काम चाहिँ के हो नि ?

अँ, आधारभूत रूपमा यसले क्रान्तिको समर्थन गर्छ र यसका पक्षमा प्रचार गर्छ, यसका साथै यसले  भारतका राजनीतिक बन्दीहरू तथा जनयुद्धका बन्दीहरूमाथि भएको दमनको विरोध गर्छ र उनीहरूको रिहाइका लागि आवाज उठाउँछ । जस्तो उदाहरणका लागि कमरेड अजिथ, कमरेड कोबाद गान्धी, तथा प्रोफेसर जिएन साइबाबाकै सन्दर्भलाई लिन सकिन्छ । हामीहरू भारतीय बन्दीहरूको मुद्दालाई युरोपेली संशद्सम्म पुर्याउन सफल भएका छौँ ।

५.तपाईँहरूले फिलिपिन्स कम्युनिस्ट पार्टी र फिलिपिन्समा चलिरहेको क्रान्तिप्रति पनि ऐक्यबद्धता जनाउनुभएको छ ?

अवश्य पनि । फिलिपिन्समा चलिरहेको जनयुद्ध पनि १९६६ को चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिको देन हो, जुनचाहिँ फिलिपिन्समा संशोधनवादी र सुधारवादी नीतिहरूसित सम्बद्ध विच्छेद गरेर अघि बढेको थियो । कमरेड सिसोनले यसलाई यो बाटोमा अघि बढाउनुभएको थियो, जसले निरन्तर साम्राज्यवादीहरू र त्यसका नोकरहरूको धम्कीको सामना गरिरहेको छ, जस्तो दुतेर्तेले जनयुद्ध सिध्याउने धम्की दिएको छ ।

६.भाकपा (माओवादी) ले नक्सलबाडी विद्रोहको ५० औँ वार्षिकोत्सव मनाएको छ । यी ५० वर्षहरूमा नक्सलवाडी विद्रोहले अघि सारेका सैद्धान्तिक तथा व्यावहारिक कामहरूको कसरी मापन गर्नुहुन्छ ?

अँ, जस्तो तपाईँले देखिरहनुभएको छ, यी ५० वर्षहरू महान् शिक्षा, सफलता र पराजयहरूले भरिएका वर्षहरू हुन्, कमरेड चारु मजुमदार, कमरेड आजाद, कमरेड किसनजी भर्खरै पनि हत्या गरिएका कमरेडहरू श्रुती र कमरेड मणिकान्तीलाई यस सन्दर्भमा लिन सकिन्छ । यी ५० वर्षहरूमा दुस्मनले विजयउत्सव मनाए पनि यसले नक्सलबाडीको बाटोलाई थप मजबुत मात्र बनाएको छ । कमरेड मजुमदारले स्थापना गरेको पार्टी उहाँको मृत्युपछि विसर्जनवादीहरूको हातमा पर्यो , तर यसको क्रान्तिकारी लाइन बाँचिरह्यो, जसले यसलाई नयाँ सङ्गठनात्मक स्वरूप दियो र नक्सलबाडीको महान् लाल झण्डालाई माथि उचाल्यो । तिनै सङ्गठनहरूको विकासका रूपमा  कमरेड गणपतिको सही नेतृत्वमा रहेको  भारतीय कम्युनिस्ट पार्टी (माओवादी) हो र यसले त्यो झण्डालाई माथि उचालिरहेको छ ।

नक्सलबाडीले ग्रामीण र सहरी क्षेत्रका दलित र उत्पीडित आम जनसमुदायलाई समेट्यो ।  हामी लाल कोरिडोर को विशाल भूभागसित सम्बद्ध लाखौँ मान्छेहरूको चर्चा गरिरहेका छौँ, जसको निरन्तर वृद्धि भइरहेको छ, किनभने जनयुद्ध भनेको आम जनसमुदायको युद्ध हो, अध्यक्ष माओले भन्नुभएको जनदिशाको सिद्धान्तलाई भारतका कमरेडहरूले जनयुद्धका सन्दर्भमा दृढताका साथ पकड्नुभएको छ । पार्टीसित समर्थनका जनआधारहरू छन्, उत्पादन, शिक्षा, स्वास्थ्य र जनअदालतजस्ता जनकमिटीहरूमार्फत उनीहरू थप जनाधार निर्माण गरिरहेका छन् ।
 
७. भारतमा अझै “अपरेसन ग्रिनहन्ट” चलिरहेको छ ?

यी ५० वर्षहरूमा दक्षिणपन्थीहरू र  तथाकथित भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) जस्ता वामपन्थी संशोधनवादी सरकारद्वारा दमनको निरन्तरता यथावत छ । “प्रजातन्त्रमाथि सबैभन्दा बढी खतरा” का नाममा  फासिवादी सत्ताद्वारा एकातिर नरसंहारकारी अपरेसन चलाइएको छ भने अर्कातिर खनिज स्रोतका लागि  विदेशी कम्पनीहरूलाई भूमि उपलब्ध गराउने नाममा आदिवासी जनताको जमिन बलपूर्वक कब्जा गरिएको छ । दोहोरो आतङ्क छ  ।

८. नक्सलबाडी क्रान्ति किसानहरूमा मात्रै आधारित छ कि अन्य श्रमजीवीहरूमाथि पनि ?

भारत ठूलो भूभाग भएको मुलुक हो र यसका राज्यहरू र क्षेत्रहरूमा विविधता छ । भारत थुप्रै  अन्तर्विरोधहरूको केन्द्र हो ।  नयाँ जनवादी क्रान्तिमा मुख्यतः लोकप्रिय जनाधारका आधारहरू किसानहरू नै हुन्, अनि यसको नेतृत्वदायी शक्ति भनेका सर्वहारा हुन् र क्रान्तिकारी बुद्धिजीवीहरू पनि यसका सहयोगी शक्ति हुन् । यी सबैको सुगठित र नेतृत्वदायी शक्ति पार्टी हो । प्राय गरेर सहरहरू पुरानो सत्ताका केन्द्रहरू हुन् र त्यहाँ उनीहरूले उत्पीडित जनतामाथि हैकम कायम गरेका हुन्छन् तापनि यसले मजदुरहरू र विद्यार्थीहरूको आन्दोलनलमा क्रान्तिकारीहरूको उपस्थितिलाई रोक्न सक्तैन, क्रान्तिकारीहरू त्यहाँ पनि लडिरहेकै हुन्छन् ।

९. डा. साइबाबा को हुनुहुन्छ ?

फ्रोफेसर जिएन साइबाबा एकजना प्रतिष्ठित माओवादी बुद्धिजीवी हुनुहुन्छ, जसलाई भारतीय कम्युनिस्ट पार्टी (माओवादी) सित सम्बद्ध भनेर नक्कली अभियोग लगाएर आजीवन कारावासको सजाय दिइएको छ ।
 
उहाँमाथि पुरानो सत्ताले लगाएको अभियोगबारे विश्वव्यापी रूपमा  विरोध भएको छ, साथै ध्यान दिनुपर्ने कुरा के छ भने उहाँ अपाङ्ग हुनुहुन्छ र ह्विल चेयरबिना यताउता गर्न सक्नुहुन्न । वास्तवमा यो त सरासर राजनीतिक बन्दीहरूको अधिकार विरुद्धको कार्य हो ।

१०. अहिले भारतीय कम्युनिस्ट पार्टी र यसको जनमुक्ति छापामार सेनाको वर्तमान अवस्था के-कस्तो छ ?

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले दमनकारी राज्यसत्ता, मूलतः अर्धऔपनिवेशिक ब्राम्हणवादी सत्तामाथि प्रहार गर्दै जनयुद्धको लाइनको वरिपरि गोलबद्ध भएर आफ्नो शक्तिलाई मजबुत पारिरहेको छ ।

अनु : ऋषिराज बराल

भिडियो फिचरview all