menu

ताजा समाचार

चुनाव बहिष्कारका सम्बन्धमा सङ्ख्या होइन, चेतनाले अर्थ राख्छ : वरवर राव

आधा शताब्दी बितिसकेको छ,  नक्सलबाडी आन्दोलनले आरम्भ गरेको सपना पूरा भएको छ त ?

राव : छैन, परन्तु आरम्भमा यसले केही धक्का खाए पनि अहिले यो निकै अघि बढेको छ । नक्सलबाडी एउटा गाउँको नाम थियो,  तर यसले हरेक मान्छेको गाउँको प्रतिनिधित्व गर्यो । यो पदावली हाम्रो भाषाको एउटा अङ्ग बन्यो । नक्सलबाडी र खरिबाडीका आदिवासीहरूको शक्तिको उद्घोष दावानल बनेर फैलियो । उनीहरूले आफ्नो भूमिमाथिको अधिकारको दावा गरे । त्यो उद्घोष वैकल्पिक राजनीतिक विचारको अङ्ग बन्यो ।

आन्दोलन संसदीय व्यवस्थाको खारेजीबाट आरम्भ भएको थियो र यसले त्यसको साटो जनकेन्द्रित राजनीतिलाई अघि सार्यो  । अहिले यो आन्दोलनले मुलुकको पूर्वी र मध्यभागको जङ्गली क्षेत्रहरूमा आधारइलाकाहरू निर्माण गरेको छ । पुलिस र गुन्डाहरूको रेखदेखमा रहेको जमिनदारहरूको जग्गा कब्जा गरेर जनताले सहकारी संस्थाहरूको निर्माण गरेका छन् । बितेका १३ वर्षदेखि बस्तरमा आदिवासी, दलित र साना किसानहरूको संयुक्त मोर्चाका रूपमा जनता सरकारका रूपमा वैकल्पिक राजनीतिको अभ्यास हुँदैआएको छ । यो वल्र्ड ब्याङ्कजस्ता ब्याङ्कहरूको सहयोगबिना आफ्नै किसिमको सरकारी कोषबाट सञ्चालित हुन्छ । यसले ती क्षेत्रहरूमा बहुराष्ट्रिय कम्पनीहरू र ठूला व्यापारिक घरानाको पुँजीको विस्तारलाई रोकेको छ ।  विश्वको इतिहासमा यस किसिमको दीर्घकालीन सशस्त्र सङ्घर्षको उदाहरण अन्यत्र छैन ।

तर आन्दोलन जङ्गलमै बढी सीमित भयो ...

राव : जङ्गली र ग्रामिण क्षेत्रमा श्रम सस्तो पर्ने हुनाले पुँजीको लगानीकर्ताको चाहना त्यतातिर बढी भएकाले नै यसो भएको हो । बस्तरको जङ्गल क्षेत्रमा मात्रै २८ प्रकारका खनिज स्रोतहरू छन् । त्यसैले यो क्षेत्रमा पुँजीपतिहरू लगानी गर्न बढी रुचाउँछन्, अनि उनीहरूले जनप्रंतिरोधको सामना गर्नुपर्छ र त्यसलाई दमनद्वारा दबाउन खोजिन्छ । त्यसैले सङ्घर्ष यहाँ स्थानान्तरण भएको छ ।

जनताले आफूलाई लागेअनुसार गर्न पाइरहेका छन् र ? सुराकीका नाममा मान्छेलाई जथाभावी गोली ठोक्नु र बलजफती गर्नु नि ?

राव : जनतामाथि बलजफती गर्ने तथा मनपरी किसिमले हत्या गर्ने गरिन्थ्यो भने आन्दोलन यति लामो समयसम्म  टिक्न सक्ने थिएन । माओवादीहरू आदिवासी जनताका माझ छन् । माओवादीहरू लामो समयसम्म उनीहरूबीच रहेर उनीहरूका सुखदुखका साथी भएका छन् । यति जोरजबर्दस्ती हुन्थ्यो भने यतिका समयसम्म सँगै रहने स्थिति कसरी बन्थ्यो र ?

जतिबेर आन्दोलन आरम्भ भएको थियो, भन्ने गरिन्थ्यो, दलित, आदिवासीहरू र पैतालाको धुलो हुन् । नक्सलबादीहरूले यो भनाइलाई उल्टाइदिए : “पैताला मुनिको धुलोले अहिले तपाईँको आँखालाई चुनौती दिइरहेको छ ।” के जोरजबर्जस्तीले यस्तो हुनसक्छ ?

माओवादी पार्टीमा महिलालाई यौनदासीका रूपमा लिइन्छ भनेर आरोप लगाइन्छ नि ?

रावः सबै पुलिसको प्रचारबाजी हो । बस्तरमा ५० प्रतिशतभन्दा बढी माओवादीहरू महिला छन् । दण्डकारण्यको महिला सङ्घमा एक लाखभन्दा पनि बढी महिला छन् । तिनमा सांस्कृतिक मोर्चासित सम्बद्ध मिलिसिया पनि छन् । यौनदासीका रूपमा व्यवहार गरिएको भए उनीहरू यत्रो औधी हुन्थे ? आन्ध्रमा कसैले बिहे गर्यो भने पहिलो रात जमिनदारकोमा आफ्नी श्रीमती पुर्याउनु पर्ने चलन थियो र यसको अन्त्य गराउनु सबैभन्दा ठूलो प्राप्ति थियो  ।  यो सबै आन्दोलनले गरेको हो ।

तर यसका लागि कति मूल्य चुकाउनु पर्यो  ? अहिंसात्मक जनआन्दोलन पनि त भएका छन्, जस्तो ‘नर्मदा बचाओ’ आन्दोलन । 

राव : तर ती आन्दोलनद्वारा के हासिल भएको चिज के हो ?  आखिर बाँध त बनेरै छाड्यो ।  पचास वर्षको नक्सलबाडी आन्दोलनमा नक्सलबाडीबाट जनकारबाही गरिएका मान्छहरूको संख्याभन्दा कति हो कति बढी मान्छेहरू बुर्जुवा पार्टीहरू र सत्ताद्वारा मारिएका छन् । नेहरू शासनका पुलिसले तेलङ्ना र हैदरावादका कम्युनिस्टहरूका विरुद्ध, इन्दिरा गान्धीले अपरेसन ब्लु स्टारका विरुद्ध र त्यसपछि,  १९८४मा राजिव गान्धीको शासनमा  भएको सिख हत्याकाण्ड, नरसिंहा रावको समयमा भएको बाबरी मस्जिद काण्ड, गुजरातको नरेन्द्र मोदी साशनमा भएको सन् २००२ को कान्ड र अहिलेसम्म भएका काश्मिरका हत्याहरू हाम्रा सामु छन् । अनि भोपाल काण्ड, यस्तै अरू काण्ड र  व्यवस्थाद्वारा गरिएका अनेक हिंसाहरूमा मारिने सङ्ख्याको टुङ्गो छैन । यसरी पनि हेर्नुपर्छ ।

नक्सलबाडी आन्दोलनले पहिलो चरणामा  आदर्शवादी युवा पुस्ता समेटेको थियो, जसले आन्दोलनका लागि सबै कुरा  समर्पण गरेको थियो । के अहिले पनि यसो भइरहेको छ ?

राव :  हो, अलग तेलङ्गनाका लागि लडेका धेरै युवाहरू पछि माओवादीहरूसित जोडिएका थिए । तीमध्ये केटाकेटीदेखि नै कुशाग्र र सबैभन्दा चर्चित पात्र विवेक थिए, जो  कानुनको पढाइ छाडेर जङ्गल पसेको थियो । ऊ १९ वर्षको उमेरमा सन् २०१५ मा एउटा मुठभेडमा मारिएको थियो । वास्तवमा, यो नै राज्यको सबैभन्दा डरको विषय भएको छ । सत्ताका  प्रहरीहरूले ले पनि आन्दोलनसित सम्बद्ध नयाँ  पुस्तालाई छानीछानी बढी दमन गरेको छ र योजनाहरू बनाएको छ ।

तपाईँको चुनाव वहिष्कार आन्दोलन पूर्णतया असफल भएको छ । नियमित रूपमा चुनाव हुनुलाई हाम्रो प्रजातन्त्रको सबैभन्दा ठूलो सफलताका रूपमा हेरिएको छ ।


रावः बहिष्कारका सम्बन्धमा सङ्ख्या होइन, चेतनाले अर्थ राख्छ । भर्खरै काश्मिरमा भएको चुनावमा ६ प्रतिशत मत खसेको  थियो । सामाजिक जीवनमा बिम्ब (आइकन) नै बनेकी शर्मिला  इरोमले पाएको भोट ७२ मात्र थियो । यसलाई हेरेर पनि चुनावबारे धारणा  बनाउन सकिन्छ । भोटका आधारमा प्रजातन्त्रको सफलताको कुरा नगरौं।  भोट खसाल्ने धेरजसोमा पनि चुनावले आधारभूत समस्या हल गर्छ भनेर अलि कति पनि विश्वास छैन  । जनताले संसदीय प्रजातन्त्रको  भ्रमित राजनीतिलाई बुझेका छैनन् भन्ने होइन । संविधानले दिएको अधिकार र सुविधा पनि आदिवासीले पाएका छैनन् । असली प्रजातन्त्रको अभ्यास गर्न पाएका छैनन् । जल, जङ्गल र जमिनमाथि उनीहरूको अधिकार पाउन सकेका छैनन् ।

असफलताहरू ?

राव : अझै पनि दलितहरू कृषि श्रमिकका रूपमै बढी व्यस्त छन्, उनीहरूमाथिको छुवाछुत विरुद्धको लडाइं पुगेको छैन, उनीहरूलाई आवश्यक मात्रामा आन्दोलनसित जोड्न सकिएको छैन  । मुस्लिम समुदायबीच काम गर्ने कुरामा पनि कमजोरी भएका छन् । कम्युनिस्ट पार्टीको संस्थापकमध्ये एक जना मुस्लिम पनि थिए । आज उनीहरूको यत्रो आवश्यकता छ, तर उनीहरू आन्दोलनबाट हराएका छन् । इस्लामबाट नै सबै समस्याहरू हल हुन्छन्, पुँजीबाद र साम्यवादबाट होइन भन्ने धार्मिक  कट्टरवादी मुस्लिम नेताहरूको प्रभाव र पकडका कारण यसो भएको हो । आदिवासीहरू जसरी जनमुक्ति आन्दोलनमा सरिक भएका छन्, त्यसैगरी मुस्लिमहरूलाई पनि त्यो भ्रमबाट मुक्त गराउन सकिएला कि नसकिएला  भनेर म सोच्ने गर्दछु ।
०००
(मुम्बई मिररका लागि ज्योति पुनवानीले यसै हप्ता गरेको कुराकानी)

भिडियो फिचरview all