menu

ताजा समाचार

फ्रान्स र बेल्जियमका माओवादी पार्टीहरू भन्छन् : गोन्जालोको योगदानलाई मेटाउन खोजियो

माओको मृत्युपछि चीनमा भएको प्रतिक्रान्तिका कारण विश्व कम्युनिस्ट आन्दोलनले धक्का खाएको अवस्थाबाट आन्दोलनलाई नयाँ गति र दिशा दिने कार्यमा कमरेड गोन्जालोको महत्वपूर्ण योगदान छ । संशोधनवादीहरूविरुद्ध विद्रोह गर्दै सन् ६० को दशकमा उनले पार्टीको पुनर्गठन गरे र मूलतः आयाकुचो क्षेत्रमा पार्टीको भूमिकालाई विस्तार गरे । ग्रामीण युवा र विद्यार्थीहरूलाई समेत समेटेर उनले पार्टीमा जुझारु शक्तिको विकास र विस्तार गरे । मार्च १९८० मा भएको विस्तारित बैठकबाट जनयुद्धमा जाने निर्णय गरे संगै मेमा भएको फुजिमोरो सरकारको केन्द्रीय निर्वाचनलाई बहिस्कार गर्दै ठाउँठाउँमा ब्यालेट बक्स तोडफोड गर्नुका साथै प्रहरी बिटहरूमाथि पनि आक्रमण गरे । एक हिसाबले १९८० को मे ७ का दिन पेरू कम्युनिस्ट पार्टीद्वारा छापामार अभियान र फौजी कार्यक्रमको थालनीको दिन थियो ।

सोही वर्ष पार्टीको राष्ट्रिय सम्मेलन गर्दै दीर्घकालीन जनयुद्धको घोषणा गरे र सन् १९८२ मा माओ विचारधाराले मात्रै माओको योगदानको सही विश्लेषण र संश्लेषण हुन सक्तैन भनेर माओवादको आवश्यकता र औचित्य प्रस्ट पार्दै मार्क्सवाद-लेनिनवाद-माओवाद नै पेरू कम्युनिस्ट पार्टी र विश्वक्रान्तिको मार्गनिर्देश सिद्धान्त हो भनेर घोषणा गरे । रिमले भने सन् १९९३ मा मात्र माओ विचारधारालाई माओवादका रूपमा संश्लेषण गरेको थियो ।

पेरूको ठूलो हिस्सा पेरू कम्युनिस्ट पार्टीको अधीनमा रहेको र सहरी क्षेत्र त्यसमा पनि राजधानी लिमामा विशिष्ट फौजी कार्यक्रमको तयारीको समयमा लिमाको एउटा अपार्टमेन्टको सेल्टरबाट सन् १९९२ मा कमरेड एप्पारागुरीसहित गोन्जालो पक्राउ परे र दुवैजनालाई आजीवन कारावासको सजाय सुनाइयो । १९९३ मा जेलबाट गोन्जालोका नाममा प्रकाशमा आएको एउटा चिठीपछि गोन्जालोको निष्ठालाई लिएर 'रिम' भित्र र बाहिरसमेत निकै बहस र विवाद भयो ।
 
अहिले पनि पेरू कम्युनिस्ट पार्टीले आफ्नो हैसियतअनुसार छापामार गतिविधि गरिरहेको छ र उसले गोन्जालोलाई नै आफनो नेता मानिरहेको छ । उसले दस्ताबेजमार्फत रिम सम्बद्ध पार्टीहरूको गोन्जालो सम्बन्धी निर्णय सही नभएको जिकिर गरिरहेको छ ।

गोन्जालोको जेलजीवन २५ वर्ष पुगेसँगै उनको रिहाइको अभियानलाई अघि बढाउनुपर्ने कार्यमा जोड दिंदै उनका बारेमा त्यतिबेर लिइएको निर्णय राम्रोसित अध्ययन नगरी, स्थितिको सही आकलन नगरी गरिएको निर्णय भएकाले यसबारे थप बहस र थप समीक्षा हुनुपर्छ भनेर आवाज उठिरहेका छन् । खासगरेर ल्याटिन अमेरिकी माओवादी पार्टीहरू तथा युरोपका जर्मनी तथा बेल्जियम र यता आरसिपी, क्यानडाले यसलाई अभियानकै रूपमा अघि बढाएको छ ।

भर्खरै क्यानडाको माओवादी पार्टीले आफ्नो वैचारिक प्रकाशन आर्सनलमा गोन्जालोको सन्दर्भमा महत्वपूर्ण धारणा प्रस्तुत गरेको छ । गोन्जालोको सन्दर्भमा त्यतिबेर पार्टीभित्र चलेको दक्षिणपन्थी अवसरवाद विरुद्धको दुई लाइन सङ्घर्ष, जुन चिठी प्रकरणका रूपमा सन् १९९३ मा बाहिर आएको थियो, त्यसलाई सही किसिमले बुझ्न ‘कोरिम’ सक्षम नभएकाले गोन्जालोबारे भ्रम उत्पन्न भएको भनेको छ । साथै जनयुद्ध आरम्भ गर्ने पार्टीले रिमको नेतृत्व गर्नुपर्ने थियो भनेर ‘रिम’ मा आरसिपी, अमेरिकाको  भूमिकाप्रति पनि आरसिपी, क्यानडाले असन्तुष्टि जाहेर गरेको छ । जस्तो त्यसमा लेखिएको छ :

“पेरू कम्युनिस्ट पार्टीका अध्यक्ष गोन्जालो १९९२ मा पक्राउ पर्दा  उनको जीवनरक्षाका लागि ‘रिम’ ले चलाएको अभियान इतिहासमै सबैभन्दा राम्रो अभियान थियो । नेपालमा यस अभियानको निकै ठूलो प्रभाव परेको थियो, जहाँ अविमाइल गुजमानको रिहाइका लागि विशेष कार्यक्रमहरू चलाइएका  थिए । यसबाट नेपालका कमरेडहरूलाई आफ्नो भूमिका विस्तार गर्न पनि राम्रो अवसर मिलेको थियो । फुजिमोरो शासनकालमा पेरू कम्युनिस्ट पार्टीमा चलेको दक्षिणपन्थी अवसरवाद विरुद्धको दुई लाइन सङ्घर्ष, जुन चिठी प्रकरणका रूपमा सन् १९९३ मा बाहिर आएको थियो, त्यसलाई सही किसिमले बुझ्न ‘कोरिम’ सक्षम नहुँदा, ‘रिम’ ले गोन्जालोको जीवनरक्षा अभियान परित्याग गर्यो  , जसलाई थप विस्तारका साथ निरन्तरता दिनु जरुरी थियो । र यी सङ्घर्षहरूप्रति ऐक्यबद्धताका लागि गरिनुपर्ने ठोस आह्वान पनि पुग्दो मात्रामा हुनसकेको थिएन ।

कुनै पनि अन्तर्राष्ट्रिय  संस्थामा प्रभावशाली नेतृत्वको सर्वोपरि महत्व रहन्छ । वैचारिक रूपमा जनयुद्धको नेतृत्व गर्ने सङ्गठनले नै नेतृत्वको अगुवाइ गर्नुआवश्यक हुन्थ्यो । तर ‘रिम’ मा त्यस्तो भएन । प्रारम्भिक चरणमा, जनयुद्धको अलिकति पनि अनुभव नभएका सङ्गठनहरू नै ‘रिम’ निर्माणमा बढी सक्रिय भए ।”

आरसिपी, क्यानडाले घुमाउरो पाराले बब अभाकियनप्रति असन्तुष्टि जनाएको छ । त्यतिबेर ‘रिम’ निर्माणको क्रममा पेरू कम्युनिस्ट पार्टी र बब अभाकियनबीचको द्वन्द्व खुलारूपमा सतहमा आएको थियो ।

त्यसैगरी यताका दिनमा मे दिवसमा संयुक्त वक्तव्यमा सहभागी भएर माओवादीहरूको नयाँ केन्द्र निर्माण गर्ने अभियानमा सघाउ पुर्याइरहेका ल्याटिन अमेरिकी ६ ओटा माओवादी पार्टीहरू,  कम्युनिस्ट पार्टी अफ ब्राजिल (रेड फ्याक्सन), कम्युनिस्ट पार्टी अफ इक्वेडर–रेड सन, रेड फ्याक्सन अफ दि कम्युनिस्ट पार्टी अफ चिली, पपुलर मुभमेन्ट अफ पेरू (रिअर्गनाइजेसन कमिटी), रिभोलुस्नरी फ्रन्ट अफ दि पिपुल्स अफ बोलिभिया, एमएलएम र माओइस्ट अर्गनाइजेसन फर दि रिकन्स्टिच्युसन अफ दि कम्युनिस्ट पार्टी अफ कोलम्बियाले समकालीन विश्व र माओवादी आन्दोलनको लामो विश्लेषण गर्दै विभिन्न प्रस्तावहरू पारित गरेका छन् । उनीहरूले विश्व माओवादी आन्दोलनमा गोन्जालोको महत्वपूर्ण भूमिकालाई नबिर्सन अनुरोध गर्दै जीवनरक्षा र रिहाइका लागि विश्वव्यापी  आवाज उठाउन पनि आह्वान गरेका छन् ।

त्यसैगरी जर्मनीको माओवादी पार्टीले ल्याटिन अमेरिकी पार्टीप्रति ऐक्यबद्धता जनाउँदै  मार्च २२, २०१७ का दिन गोन्जालोको रिहाइको  माग गर्दै जर्मनी स्थित पेरू राजदुतावाससामु  जनप्रदर्शन गरेको थियो । पेरुको प्रतिक्रियावादी सरकारले  गोन्जालोलाई जेलमै  सिध्याउन खोजेकाले उनीलगायत विश्वका सम्पूर्ण राजबन्दीहरूको रिहाइका लागि आवाज उठाउन पनि जर्मनीका माओवादीहरूले आह्वान गरेका छन् ।
यसैबीच बेल्जियमको माओवादी पार्टीले गोन्जालो विशेष अङ्कका रूपमा आफ्नो प्रकाशन कम्युनिज्म’प्रकाशित गरेको छ । ‘इन डिफेन्स अफ गोन्जालो थियोरेटिसियन अफ माओइज्म’ अङ्कका रूपमा प्रकाशित सेप्टेम्बर २०१७ को अङ्कमा विविध रचनाहरू छन् र  ‘माक्र्सिस्ट-लेनिनिस्ट-माओइस्ट सेन्टर अफ बेल्जियम’ र ‘कम्युनिस्ट पार्टी अफ फ्रान्स (माक्र्सिस्ट-लेनिनिस्ट-माओइस्ट) को ‘इन डिफेन्स अफ गोन्जालो थियोरेटिसियन अफ माओइज्म’ शीर्षकको संयुक्त वक्तव्य विशेष उल्लेखनीय छ । यसमा गोन्जालो विचारधाराको औचित्य पुष्टि गर्न खोज्नुका साथै जेलबाट गोन्जालोले लेखेको भनिएको चिठीमा निहित यथार्थबारे गलत किसिमले भ्रम फैलाइएको, दुस्मनको षड्यन्त्रलाई सही किसिमले नबुझी एकतर्फी धारणा बनाइएको भन्ने कुराको उल्लेख गर्दै गोन्जालोको पक्षमा उभिन आह्वान गरिएको छ । सो वक्तव्यमा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले समेत “गोन्जालोको ऐतिहासिक भूमिका र शिक्षाको महत्वलाई मेटाउन खोजेको” भनेर दुखमनाउ गरेको छ ।

 
गोन्जालोको रिहाइ तथा उनका बारेमा उठेका प्रश्नहरूलाई लिएर माओवादी आन्दोलनभित्र नयाँ किसिमले बहसछलपल उठेको छ र यो स्वागतयोग्य छ  । खास गरेर माओवादी पार्टी क्यानाडाको भनाइप्रति सहमत जनाउनु आयश्यक छ  ।  माओवादको स्थापना र माओपछिको माओवादी आन्दोलनलाई अघि बढाउन पेरु कम्युनिस्ट पार्टी र कमरेड गोन्जालोको ऐतिहासिक भूमिका र योगदानलाई कदापि न्यूनीकरण गर्न मिल्दैन  । ‘गोन्जालो विचारधारा’ सम्बन्धी तर्कप्रति सहमति जनाउन नसके पनि उनको ऐतिहासिक योगदानप्रति अलिकति पनि पूर्वाग्रही नभई उनको जीवनरक्षा तथा रिहाइका लागि थालिएका अभियानहरूप्रति ऐक्यबद्धता जनाउनु सर्वहारा अन्तर्राष्ट्रितावादीहरूको कर्तव्य हो ।

भिडियो फिचरview all