menu

ताजा समाचार

गरिबी र उत्पीडनको कथा : 'दाना'

'दाना' मार्क्सवादी साहित्यकार खेम थपलिया लिखित नाटकको नाम हो । यो नाटक श्रीमतीको लास बोकेर बार किलोमिटर हिँड्ने भारत ओडिसाका गरिब तथा उत्पीडित दाना माझीको घटनासन्दर्भमा आधारित छ । भारतमा मात्र नभएर एक हिसाबले विश्वव्यापी रूपमै चर्चाको विषय बनेको दाना घटना गरिबीको सग्लो र सङ्लो बिम्ब हो र विश्वमा आणविक शक्तिको रूपमा उदीयमान र विस्तारवादी चरित्रका कारण छिमेकी मुलुकहरूमा आतङ्कको विषय बनेको भारतीय विस्तारवादको असली चरित्रलाई दर्शाउने घटना-परिदृश्य हो । यसो हेर्दा दाना भारतीय समाजको गरिबी र उत्पीडनको कथा भए पनि यो सारतः यो भूमण्डलीकृत वर्गविभेदयुक्त समाजको कथा हो । त्यसैले यो सार्वभौंम चरित्र बोकेको कथा हो ।

'ज्ञानज्योति बुक्स पब्लिकेसन' द्वारा प्रकाशित प्रस्तुत नाटक ९ ओटा दृश्यमा लेखिएको छ र यसको पृष्ठभूमि र स्रोत पनि दिइएको छ । कथानकसित सम्बद्ध चित्रहरूको प्रस्तुतिद्वारा नाटकको सन्दर्भ र सान्दर्भिकताका साथै त्यसको आयाम र यथार्थलाई अझ प्रभावकारी बनाउन  खोजिएको छ । चर्को घाममा श्रीमतीको लास बोकेर हिँडिरहेको दानाको स्थिति-दृश्यबाट नाटक आरम्भ हुन्छ र विद्रोहको स्वरका साथ नाटकको अन्तिम दृश्य टुंगिन्छ । नाटककारले ‘लेखकीय’ मा व्यक्त गरेका धारणाले यसबारे धेरै कुरा प्रस्ट हुन्छन् ।
--------------------------------------------------------------------------------------------------------------

                                                      लेखकीए

खेम थपलिया
 
भारत-उडिसा, कालहाँडीका आदिवासी दाना माझी, उनकी श्रीमती अमाङ देई, छोरीहरू चौला, सोनाई र पामेला रहेको एक सानो परिवार । जसोतसो जीवननिर्वाह गरिरहेको यो परिवारमा अर्को सङ्कट आइलाग्छ । त्यो सङ्कट भनेको अमाङ देईलाई टीबी रोग लाग्नु हो ।

आदिवासी-सिमान्तकृत वर्गका दाना माझीकी ४२ वर्षिया श्रीमती अमाङ देईको अस्पतालमा निधन हुन्छ । दानाले अस्पताल प्रशासन प्रमुख बी ब्रह्मासँग हारगुहार गर्छन् तर उल्टै गाली बेइज्जती गरी चाँडै लासलाई तुरुन्त अस्पतालबाट निकाल्न हकारिन्छ । दाना अस्पताल प्रशासन प्रमुखसहित थुप्रै मानिसहरूसित थरथर काम्दै र हात जोड्दै अनुनय विनय गर्छन् तर कसैले पनि उनको कुरा सुन्दैनन् ।

दानाले आफ्नी पत्नीको शव आफ्नो घर लैजानु थियो । अस्पतालबाट उनको घर करिब ६० किलोमिटर टाढा थियो । दाना शववाहनको जोहो गर्न निकैबेर भौतारिन्छन्, सब बेकार हुन्छ । अन्तमा उनी आक्रोशित हुँदै अस्पतालको पेटीमा मुड्की बजार्छन् र सिङ्गो भारतलाई चुनौती दिनेगरी कठोर निर्णय लिँदै भन्छन्, “छोरी झोला बोक्, म अमाङ देईलाई बोक्छु । यो ठाउँ हाम्रो लागि मसानघाट हो । यो कसाहीहरू बस्ने ठाउँ हो । यो मूर्दाघाट हो मूर्दाघाट । यहाँका मानिसहरू मूर्दा हुन्, केवल मूर्दा ।” दाना अन्ततः मृत्यु भएकी श्रीमतीको लासलाई काँधमा बोक्न विवश हुन्छन् । यो घटना नाटकीय लाग्दछ तर यथार्थ हो । यो घटनाले स्वाभिमान र जिम्मेवारीको हिसाबले दाना माझीलाई निकै माथि उठाएको त छ तर संसारको सबैभन्दा ठूलो लोकतान्त्रिक भनिने देश भारतको एक नागरिक यसरी आफ्ना परिवारको प्रियजनका लासलाई बोक्न बाध्य हुनुले त्यो देशको असली अनुहार र सिमान्तकृत जनताको हविगत सडकमा छताछुल्ल भएर पोखिएको छ ।

एकातिर आफ्नी प्रिय जीवनसङ्गिनीको लास, अर्कोतिर भोको र अनिंदो शरीरको जीवन्त कथा संसारमा नयाँ ढङ्गले लेखिँदैछ । दाना सडकमा आफ्नो काँधमाथि लुङ्गी र मजेत्रोले बेरिएको लासको भारी बोकेर छोरीसँगै कष्टपूर्वक सडकमा दौडिरहेका छन् । दाना माझी श्रीमतीको लास बोकेर उखरमाउलो गर्मीका बीच तातो सडकमा १२ किलोमिटर हिँडिसकेका छन् । बहराइनका पीएम खालिफा बिन सलमान अल खालिफासमेत यो घटनालेले आफूलाई पीडा र लज्जाबोध भएको भन्दै सहयोगको घोषणा गर्दछन् ।

दाना माझीले आफ्नी श्रीमतीको मृत्यु भएपछि श्रीमती अमाङ्दीको लासलाई काँधमा बोकेर बा¥ह किलोमिटरको यात्रा गर्नु सामान्य कुरा थिएन । यसले आज एक्काईसौँ शताब्दीमा पनि विश्वभरका समाजका सिमान्तकृत जनताको जीवन भयावह र कष्टपूर्ण जीवनको दृष्टान्त दिन्छ । तिनै दानाहरूको रगत, पसिना, मिहिनेत र सीपद्वारा निर्मित आलिसान महलमा बसेर शासन गर्ने शासकहरू दाना माझीहरूको यो हालत आखिर किन र कहिलेसम्म ! सामाजिक रूपान्तरण नभएसम्म यस्ता प्रश्नहरू उठेका छन् र उठिरहने पनि छन् । यो घटनाले कथित लोकतन्त्र दाना माझी भएर भारतभर त पोखियो, पोखियो; विश्वभर छताछुल्ल भएको छ । प्रस्तुत नाटक दाना  तिनै साहसी, वीर र स्वाभिमानी योद्धा दाना र दाना माझीहरूप्रति समर्पित छ ।

ओहो ! कति निर्दयी छौँ हामी ? श्रीमतीको शव काँधमा बोकेर हिँडिरहेको आदिवासी दाना माझी र उनीसँगै हिँडिरहेकी उनकी नाबालिग छोरी चौला उर्फ चाँदिनी । हेर्दा पनि आँखा भुइँमा फुत्त खस्ला जस्तो दृश्य । यो घटनाले सिङ्गो भारतको अन्तस्करणलाई हल्लाइदिएको हुनुपर्छ । यो मानवजगतको भयानक उदासीनता र भावशून्यता हो । भारत मात्र पनि होइन, नेपाल मात्र पनि होइन, दक्षिण एसिया मात्र पनि होइन, संसारभर दाना माझीहरू छन् । उनीहरू सत्ताको घनचक्करले शताब्दिऔँदेखि संसारभरका दानाहरू कुटिएको कुटियै छन् । आज पनि भारतमा वर्गसङ्घर्ष चर्किरहेको छ । नेपालको अवस्था पनि करिब करिब उस्तै छ । जनता गरिबी, अशिक्षा र असमानताका विरुद्धमा लड्न बाध्य छन् ।

 आदिवासी दाना माझी भारतीय नायक बनेका छन् । उनी वास्तवमा माउन्टेन म्यानले चर्चित दशरथ माझीजत्तिकै बनेका छन्; जसले बाटोका अभावमा मृत्यु व्यहोर्नुपरेकी आफ्नी श्रीमतीको पीडामा हातमा छिनो र हथौडाले लगातार बाईसवर्ष पहाड फोडेर झन्डै चालीस किलोमिटर बाटो बनाएका थिए । एकै हातले सिङ्गै पहाड उचाल्ने साहस गरेजस्तै भएको छ दानाको जीवन । वाह ! दाना, तपाईंको साहस ! कुरूप भारत, कुरूप संसारलाई गज्जब थप्पड । बारबार किलोमिटरसम्म दाना माझीले आफ्नी जीवनसङ्गिनी अमाङ देईको मृत शरीर बोक्नु भनेको उनले सिङ्गो भारतरूपी लासलाई बोक्नु नै हो ।

जब राज्यबाट जनता उपेक्षित हुन्छन्, तब विद्रोह जन्मिन्छ । जसको रगत, पसिना, श्रम र कौशलको जगमा त्यो राज्य, त्यो राज्यको प्रतिष्ठा र सभ्यता उठ्यो; तिनै जनताको रगत, पसिना, श्रम, कौशल र सङ्घर्षशील जीवनको अवमूल्यन कहिलेसम्म ? आखिर दाना र दानाहरूको राज्य कहाँ छ ? यो विश्वभरका दानाहरूको विद्रोह हो । प्रस्तुत दाना नाटकको अन्तर्वस्तु यही हो । विश्वभर मुख्य समाचार बनेको भारतीय आदिवासी दाना माझीको अभाव, सङ्घर्ष र भुक्तमान जीवनलाई नाट्य विधामा उन्ने प्रयास गरिएको छ । नेपाल, भारत तथा अन्य देशका विभिन्न सञ्चारमाध्यममा दाना माझीसित सम्बन्धित आएका समाचार, घटना, अन्तर्वार्ता र रिपोर्टहरूलाई यहाँ विषयस्रोत बनाइएको छ ।
 
अन्तमा, सत्य घटनामा आधारित गम्भीर विषयलाई नाट्यकृतिका रूपमा प्रकाशनमा ल्याइपुर्याउन आआफ्नो ठाउँबाट सहयोग पुर्याउनुहुने सबैमा हार्दिक आभार !

खेम थपलिया


भिडियो फिचरview all