ताजा समाचार
स्थानीय निर्वाचन र बिच्किएको थवाङ
दोस्रो चरणको स्थानीय निर्वाचनको प्रक्रियासँगै रोल्पाको थवाङ गाउँपालिका निकै चर्चाको विषय बनेको छ । पत्रपत्रिकादेखि सामाजिक सञ्जालहरू यसैको चर्चाले भरिएका छन्, एक हिसाबले युद्ध मोर्चाकै रूपमा प्रस्तुत भएका छन् । थवाङको निर्वाचनमा प्रचण्ड अथवा देउबाको परिवारबाट कोही उठेको छैन तापनि अहिले यो निकै चर्चाको विषय भएको छ । चर्चाको यो विषय जनयुद्धको राजधानी मानिने थवाङ गाउँपालिकाको निर्वाचनमा चुनाव खारेजीको कार्यक्रम गरिरहेको नेत्रविक्रम चन्दको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीले विशिष्ट तालमेलका साथ भाग लिएको भन्ने विषयसित सम्बद्ध छ ।
चुनाव र प्रयोगका दृष्टिले रोल्पाको थवाङ ऐतिहासिक स्थान हो । २०३८ सालमा भएको पञ्चायती व्यवस्थाको चुनावलाई पूर्ण बहिष्कार गरेर शून्य मतदानको इतिहास निर्माण गरेको थियो थवाङले । दोस्रो संविधान सभाको निर्वाचनमा पनि शून्य मतदान गरेको थवाङ यसपल्ट के गर्छ, कसरी जान्छ, के थवाङले त्यो इतिहासलाई निरन्तरता देला अथवा के गर्ला भन्ने जिज्ञासा सर्वत्र थियो । तर उमेदवारको नाम चयनको प्रक्रियासँगै बहिष्कारका नाममा चर्चिच थवाङ नयाँ सन्दर्भले चर्चित बनेको छ । “थवाङ्मा विप्लव समूहले काङ्ग्रेससित मिलेर गाउँपालिकामा चुनाव लड्ने” भनेर पत्रपत्रिकाले समाचार प्रकाशित गरेपछि अहिले यो नयाँ चर्चाको विषय बनेको छ । विप्लव समूहले चुनावमा भाग लियो भन्ने कुराले भन्दा पनि काङग्रेससित मिलेर चुनाव लड्ने भयो भन्ने कुराले बढी चर्चा पाएको छ । समाचार बनाउनेहरूले २०४६ पछि जनमोर्चाका कार्यकर्तालाई रगतमा औँला चोबेर काङ्ग्रेसले किरिया खुवाएको सन्दर्भ पनि जोडेका छन् ।
नाम दर्ताको प्रक्रियासँगै समाचारहरूको ओइरो लाग्न थालेको छ । कसले यो समाचार पहिले ल्यायो र कसरी आयो भन्दा पनि सबै पत्रिका, अनलाइन र सामाजिक सञ्जालहरूमा एकैचोटिजसो समाचारहरू आएका छन् । केही समयअघि देखि नै यसपल्ट थवाङमा चुनाव हुन्छ र विप्लव समूहले पनि भाग लिन्छ भनेर समाचारहरू आएका थिए । विप्लव समूहका स्थानीय प्रभावशाली नेताको नामै दिएर “थवाङमा चुनावमा भाग लिने” भनेर समाचार आएका थिए र यसको खण्डन सो समूहले गरेको थिएन । “थवाङमा काङ्ग्रेस बाजागाजासहित पस्यो, थवाङ्गीले स्वागत गरे” भनेर पनि समाचार प्रकाशित भएका थिए । यो समाचार पनि निकै टीकाटिप्पणीको विषय बनेको थियो ।
पहिलो चरणकै निर्वाचनमा सुरक्षा र मतदानका सम्बन्धमा प्रहरीका प्रमुखहरूसितको कुराकानी भनेर अनलाइनहरूले विप्लव समूहले पनि स्वतन्त्र उमेदवारका नाममा ठाउँठाउँमा चुनावमा भाग लिने तयारी गरेको कुरा प्रहरी स्रोतले जनाएको भनेर उल्लेख गरेका थिए । कालिकोटमा मतदान समाप्त भएर हिंड्ने बेलामा गोली चलेर राप्रपाको तर्फबाट उठेको वार्ड सदस्य मारिँदा केही प्रश्न उठेको थियो । अझ राप्रपाको उमेदवारको मृत्युलाई लिएर एकीकृत क्रान्तिको पहिलो सहिद भनेर मूल नेताकै वक्तव्य आउँदा थुप्रै प्रश्नहरू उठेका थिए । यो सन्दर्भले स्थानविशेष अनुसार सो समूह कतै 'स्वतन्त्र' का नाममा र कतै खास पार्टीको चुनाव चिन्हमा चुनावमा सहभागी भएको भनेर गरिएका टिप्पणीहरूप्रति विश्वास गर्नका लागि आधार मिलेको थियो ।
यस किसिमको स्थितिमा थवाङको चुनावसित जोडिएर समाचार आउँदा कालिकोटमा राप्रपालाई प्रयोग गरेझैँ थवाङमा विप्लव समूहले काङ्ग्रेसलाई प्रयोग गरेको रहेछ भनेर तर्क गर्न सकिने स्थिति बन्यो । विप्लव समूहको नाममा देखिएको चुनावी सहभागिताको समाचारलाई नेपालका कर्पोरेट हाउसबाट सञ्चालित माध्यमहरूलगायत सबै माध्यमहरूले प्रकाशमा ल्याए । फूलबुट्टाका साथ आएको यो समाचार विशेष चर्चाको विषय पनि बन्यो । ‘अनलाइन खबर’ ले “रोल्पामा ३ उदेक ! ‘वर्ग दुस्मन’ सँग विप्लवको तालमेल” भनेर लेख्यो । सेतोपाटीले “काङ्ग्रेस र विप्लव माओवादीबीच चुनावी तालमेल गर्ने गोप्य सहमति”भनेर लेख्यो । प्रयोगलाई महत्व दिने विप्लवले बडो नापीतौली गरेर थवाङमा गरेको प्रयोग हो भन्दै “थवाङबाट विप्लवको नयाँ राजनीतिक परिक्षण” भनेर रातोपाटीमा नेत्रपन्थीको लेख नै आयो ।
यस किसिमको समाचारप्रति सबैभन्दा बढी आकर्षण माओवादी केन्द्र र बैद्य समूहमा देखियो । उनीहरूका प्रचारमाध्यमहरू र उनीहरूसित सम्बद्ध पत्रकार तथा कार्यकर्ताले युद्धस्तरमै प्रचार गरेको देखियो । उनीहरूले विप्लव समूहले थवाङको चुनावमा भाग लिएको भन्ने समाचारलाई लिएर ठूलै मोर्चामा युद्ध जितेको जस्तो खुसी मनाएको देखियो । यसबाट विरोधी मात्र होइन, माओवादी भनिनेहरू पनि विप्लवसमूहसित जोडिएको समाचारबाट आनन्दित भएका रहेछन् भन्ने थाहा भयो । गजबको संस्कृति ! वास्तवमा विप्लव समूहले चुनावमा भाग लियो भन्दा पनि कोसित यसले तालमेल गर्यो भन्ने कुराले बढी चर्चा पायो र प्रश्न पनि यसैले बढी उठायो ।
विप्लव समूहले चुनावमा भाग लिएको होइन र छैन र तालमेलको त झन् कुरै छैन, यो सबै सो समूहलाई बदनाम गराउने षड्यन्त्र हो भन्न सकिएला । तर केही खाली ठाउँहरू छन्, जसमा उभिएर विप्लव समूह र उसको चुनावसम्बन्धी गतिविधिबारे प्रश्न उठाउन सकिन्छ ।
चुनाव कार्यनीतिक प्रश्न हो । लेनिनलाई अघि सारेर चुनावमा भाग लिने तर्क गरिन्छ । माओलाई अघि सार्ने हो भने यो सोझै अवसरवादी लाइन हो र संसद्वादी लाइनतिरको यात्रा हो । यसका लागि माओका ‘महाविवाद’ र ‘सांस्कृतिक क्रान्तिकाल’ का रचना पढे पुग्छ । र पनि कुनै पनि देशको विशिष्ट अवस्थामा क्रान्तिलाई सहयोग पुग्छ भने चुनावलाई प्रयोग गर्न सकिन्छ भन्ने धारणा अघि सार्दै आइएको छ । क्रान्तिकारीहरूले यो बुर्जुवा चुनाव बहिष्कार गर्ने नै हो । भाग लिने भनेको यसैमा रमाउने हो र विस्तारै क्रान्तिको तयारीको आधारभूत पक्षबाट टाढिदै जाने हो । सही बाटो बहिष्कार नै हो, परन्तु योसित नयाँ क्रमभङ्गको तयारी गाँसिनु अनिवार्य हुन्छ । खारेजी र नयाँ क्रममभङ सँगैसँगै आउनुपर्छ,नत्र बहिष्कारका लागि बहिष्कार मात्र हुन्छ, यस किसिमको बहिष्कारको केही अर्थ छैन, यसले त विसर्जन मात्र निम्त्याउँछ ।
त्यसैले बहिष्कारपछि अब के भन्ने प्रश्नको उत्तर पनि क्रान्तिकारीहरूसित हुनुपर्छ । अहिलेको स्थानीय निर्वाचन विशेष राजनीतिक कोर्स पार गरेर आएको अलि विशिष्ट किसिमको निर्वाचन हो । यो केन्द्रीय सरकार बनाउने चुनाव पनि होइन । अहिले आधारइलाका र मुक्त क्षेत्र नभएको अवस्थामा कतै पनि शून्य मतदानको स्थिति सम्भव छैन । पार्टी पङ्क्ति र कार्यकर्ताको रक्षा गर्न र आधारभूत योजनालाई अघि बढाउन राजनीतिक कित्ता प्रस्ट हुने गरी प्रचारात्मक रूपमा बहिष्कार अभियानलाई तीव्र पार्ने र नयाँ तयारी गर्ने कुरा नै सही हुन् । आफ्नो पकड र प्रभाव भएको ठाउँका विरोधी राजनीति र संस्था घुस्ने र चलखेल गर्ने वातावरण नबनोस् भन्नका लागि कतिपय स्थानमा स्वतन्त्र उमेदवारमार्फत चुनावको प्रयोग पनि गर्न सकिन्छ । यसलाई पनि योजनाबद्ध र वैज्ञानिक किसिमले व्यवहारकुशलतापूर्वक लैजानुपर्छ । कालिकोटमा विप्लव समूहले गरेको जस्तो प्रयोगले भने प्रश्न उठाउनु स्वाभाविक हुन्छ । यस्तो प्रयोगले उल्टै पार्टीको छवि बिग्रिन्छ ।
बैद्य समूहले त क्रान्तिकारी उपयोग नै गरेन । यो त आफैँमा हरायो–अन्योलग्रस्त । कतिपय ठाउँमा यसका नेतादेखि कायकर्ताले अघिल्लो संविधान सभाको अनुभव चाहिँ ‘राम्रोसित’ प्रयोग गरे । यसबारे धेरै नभनौं । यस मामिलामा विप्लव समूह पनि विवादरहित हुन सकेन । कालिकोट सन्दर्भमा विवादमा आएको सो समूह थवाङ सन्दर्भमा निकै नराम्रो गरी विवादमा फस्न पुगेको छ । यसले आफूलाई प्रस्ट पार्ने प्रयास गरे पनि कालिकोटलगायत अन्य सन्दर्भका कारण विश्वासको स्थिति बन्न सकेको छैन । खारेजी कार्यक्रमलाई लागु गर्दा आइपरेका सैद्धान्तिक तथा व्यावहारिक सन्दर्भलाई विप्लव समूहले वैज्ञानिक किसिमले समीक्षा गर्नु आवश्यक छ ।
अहिलेको विशिष्टतामा थवाङले चुनावमा भाग लिन्छ भनेर विप्लव समूहका कार्यकर्ताले अगाडिदेखि नै भन्दैआएका र माध्यमहरूले सार्वजनिक गरेका कुरा हुन् । र अहिले त्यसैअनुरूप समाचार पनि आएका छन् । अमित घर्ती एक्लैले यस किसिमको निर्णय गरे भन्न सकिँदेन । यो निर्णय थवाङले गर्यो भन्नुपर्ने हुन्छ । समाचार आम पाठकबीच पुगेपछि त्यो सार्वजनिक चासो र टिप्पणीको विषय बन्छ । त्यसको सामना फेसबुकमा गाली गरेर होइन, सत्यतथ्यका साथ गर्नुपर्छ र स्थानीय तहबाट नभए केन्द्रबाट समयमै त्यसलाई प्रस्ट पार्नुपर्छ ।
केही दिनअघि 'इच्छुक प्रतिष्ठान' ले गरेको कार्यक्रममा मोहन बैद्यले “सत्रु चिन्न गारो भयो कोसित लड्ने र कसरी क्रान्ति गर्ने” भने भनेर सबैभन्दा पहिले विप्लव समूह नजिकको माध्यमबाट समाचार आएको थियो र अन्य माध्यमहरूमा फैलिएको थियो । यसमा विप्लव नजिकका माध्यमहरू बढी रमाएको र कार्यकर्ताले पनि स्वाद लिईलिई समाचार पढेको देखियो । ''प्रचण्ड स्वयम् र उनको पार्टी माओवादी केन्द्रप्रति बैद्य कहिल्यै पनि आक्रमक रूपमा प्रस्तुत हुँदैनन्'' भनेर टीकाटिप्पणी हुने गरेको सन्दर्भमा सो दिन पनि मोहन बैद्यको प्रचण्ड र उनको पार्टीप्रति नरम भाव थियो भन्ने कुरा कार्यक्रममा उपस्थितहरूबाट पनि बाहिर आयो । दिउँसो चारबजेको यो समाचारको बेलुका दश बजेसम्म बैद्यका माध्यमहरूले खण्डन गर्नु आवश्यक ठानेनन्, अथवा बैद्यले यसो भनेका हुन् भनेर यथार्थ बाहिर ल्याउनु आवश्यक ठानेनन् । यसैबीच बैद्यले बोलेको कुरा भनेर अडियो पनि बाहिर आयो ।
यस्तो बेला पाठक र स्रोताले खास धारणा बनाउँछ भने यो समस्या पाठकको होइन, टिप्पणी उठाउनेहरूको पनि होइन । समस्या आफ्नो कुरा सन्ध्या भाषामा राख्ने नेता तथा उसको सही भनाइलाई समयमै पाठकसमक्ष नल्याउने उसका माध्यमहरूको हो । अहिले थवाङसित जोडिएर आएका समाचार पनि यस्तै खालका छन् । अझ थवाङका समस्या त विरोधाभासी छन्—पार्टीको सहमतिमै गरेजस्तो पनि र ‘विद्रोह’ गरेजस्तो पनि । अझै पनि कतिपयले यो सबै नाटक हो र थवाङ र विप्लव समूहको सन्दर्भ सबै कुरा पार्टीको योजनामा भएका हुन् भनेर लेखिरहेका छन् ।
चारैतिर प्रश्न उठेपछि खण्डनका कुरा आएका छन् । विप्लव समूहका रोल्पाका सेक्रेटरीको पार्टीले भाग लिएको छैन भनेर वक्तव्य आएको छ । भाग त पार्टीगत रूपमा बैद्य समूहले पनि लिएको छैन । विप्लव समूहको आधिकारिक मुखपत्र ‘इरातोखबर’ ले राप्ती ब्युरो इन्चार्ज शितलको अन्तर्वार्तामार्फत , “कुनै बेला पार्टीमा रहेका, आज कुनै तहमा नभएका र अरू पार्टीसँग साँठगाँठ भएका केही लोभीपापी र लफङ्गाहररूले पार्टीलाई बद्नाम गरेर नीजि स्वार्थ पूर्ति गर्न खोजेका हुन् । स्थानीय पार्टी केन्द्रका नीतिमा अविचलित छ" भनेर खण्डन गरेको छ ।
नेपालको कम्युनिस्ट आन्दोलनमा अघिल्लो दिनसम्म महान् क्रान्तिकारी र त्यागी हुने र आफ्नो पार्टी छाड्ने बित्तिकै पलायनवादी, संशोधनवादी, गद्दार भन्ने चलन नै छ । यो संस्कृति बनेको छ । पार्टीमा छउन्जेल र आफूले भनेअनुसार चलुन्जेल आधारइलाका र थवाङको महान् परम्परा धान्ने कम्युनका नायक अनुभवी नेता, युवा जुझारु नेता भन्ने र अनि अलिकति कुरा नमिलेपछि लफङ्गा र पलायनवादी, व्यक्तिवादी भन्ने गरिन्छ । नेताले भनेअनुसार नहिँडेपछि क्रान्तिकारी पनि रातारात महान् लफङ्गामा फेरिन्छ । इमानदार, पुराना, भद्र र निष्ठावान प्रताप कमरेडबारे शितलहरूले प्रश्न उठाउँदा थवाङवासी मात्र नभएर प्रताप ( जनयुद्धकालका कम्युनका इन्चार्ज ) लाई चिन्ने सबै हाँस्नु स्वाभाविक छ ।
पछिल्लो समाचारअनुसार आफूलाई नेकपाकै कायकर्ताका रूपमा प्रस्तुत गरेर, ''एकीकृत क्रान्ति ' लेखिएको टिसर्ट लगाएर नेकपाका विद्रोहीहरू भोट मागिरहेका छन् । यसबारे ‘यसरी हुँदैछ रोल्पामा प्रचण्डसँग विप्लवको वारपार’ शीर्षक दिएर ‘रातोपाटी’ अनलाइन लेख्छ : “नेकपाका कार्यकर्ताले थबाङ गाउँपालिकामा स्थानीय निर्वाचनमा भाग लिएको देशविदेशमा चर्चा भइरहँदा रोल्पाको वास्तविकता यस्तो छ कि, धेरै स्थानमा नेकपाका कार्यकर्ताले निर्वाचनमा भाग लिएका छन् । त्यसमा कतै काङ्ग्रेसको चिन्ह लिएर त कतै स्वतन्त्र चिन्हमा निर्वाचनमा भाग लिएको कुरा हिजोआज टोलटोलमा चर्चाको विषय बनेको छ।"
समाचारको प्रतिवाद गर्दै विप्लव समूहलाई बदनाम गर्न ‘माओवादी केन्द्र ’ को कार्यालय पेरिस डाडाँमा अमुकअमुक बैठक बसेर यसो गरे उसो गरे भनेर पनि सामाजिक सञ्जालमा प्रतिक्रिया आएको छ । यस्तो गोप्य बैठकको सूचना पेरिस डाँडासित राम्रो सम्बन्ध नबनाई सम्भव पनि हुँदैन । ''क्रान्तिकारी आधारइलाका थवाङमाथि बज्रिएको साम्राज्यवादी गोयवल्स प्रचार ड्रोन'' जस्ता समाचार पनि आएका छन् । चिन्ता व्यक्त गर्ने कुरा स्वाभाविक हो । परन्तु अरूमाथि प्रश्न उठाउनुभन्दा आफूहरू कहाँनेरी चुकियो भनेर सत्यबाट तथ्य पत्ता लगाउनु आवश्यक हुन्छ । किरणको “सत्रु हराएको” सन्दर्भ आम टीकाटिप्पणीको विषय भएको बेला उनका पक्षधर भनिनेहरू बुरुबुरु उफ्रेझैँ थवाङ सन्दर्भलाई लिएर विप्लवका फेसबुकेहरू पनि विप्लवभन्दा महा विप्लव भएर गालीगलौजमा उत्रेको पाइन्छ । पत्रकारहरू र शुभचिन्तकहरूसित सम्बन्ध बिगार्ने काम विप्लवभन्दा महा विप्लव भएर देखिने यस्ता विचौलिया फेसबुकेहरूले गर्ने गरेका छन् ।यसले सो पार्टीको सांस्कृतिक धरातललाई प्रतिविम्बित गर्छ ।
सत्य के हो भने थवाङ गिजोलिएको छ । थवाङ पनि हिजोको थवाङ रहेको छैन र बेवारिसे जस्तो छाडेपछि रहन पनि सक्तैन । माओले पनि चिङकाङसान छाडेर पछिका दिनमा एनान रोज्नुभएको थियो । अहिले खारेजी र उपयोगका सन्दर्भमा थवाङले उपयोगलाई छान्यो र उपयोग भनेको जित्नु हो भनेर तालमेलको बाटो रोजेको हुनुपर्छ ।
थवाङले थवाङबाट बसाइ सरेर गिद्धका गुँडहरू बनाएकाहरूलाई पनि राम्रोसित देख्यो । थवाङले थवाङ छाडेर काठमाडौँमा बसेर महँगा मेडिकल इन्स्टिच्युटमा कोही छोराका लागि र कोही छोरीका लागि पठनपाठनको चाँजोपाँजो बनाउने नेताहरूलाई पनि देख्यो । वास्तवमा काठमाडौँमा बसेर थवाङलाई निर्देशन दिने, हाँक्न खोज्ने र नियन्त्रित गर्न खोज्ने प्रवृत्तिले थवाङलाई बिच्क्यायो । रोल्पा र थवाङसित जोडिएर कोही काठमाडौँको रमझममा रमाउने र कोही इतिहास च्यापेर भोकै बस्नु पर्ने नियतिले सायद रोल्पालाई विद्रोही बनायो । गिजोलियो रोल्पा, बिच्कियो थवाङ । २०३८ सालमा मोहन विक्रमले धोका दिएको, मोहन बैद्यलाई नेता माने पनि उनले प्युठान, अर्घाखाँची र दाङबाहेक अरूलाई आफ्नो नठानेको पीडा खेपेको थवाङ र मुखले माने पनि प्रचण्डलाई कहिल्यै पनि हृदयले आफन्त नठानेको थवाङले विद्रोह गरेकै हो ।
थवाङको स्थिति, त्यसको ऐतिहासिकता र जनताको मनोवैज्ञानिक पक्षलाई बुझेर त्यहाँको विशिष्टतामा नीति र योजना बनाउनु पर्नेमा थवाङ्गेलीलाई लफङ्गा भनेर ब्युरो इन्चार्ज शितल जसरी प्रस्तुत भए, प्रतापजस्ता पात्रमाथि उनी जसरी खनिए, यसले झन् नकारात्मक असर पर्ने कुरा प्रस्ट छ । पार्टी फुट्नुअघि नै दाङका भित्तामा 'महान् नेता विप्लव जिन्दावाद !' लेख्ने शितलहरू विप्लवका प्यारा त हुनसक्लान्, तर प्रतापहरूको उचाइलाई भने छुन सक्तैनन् । गाँठाहरू नराम्रो गरी जोल्ठिएका छन् र सहज किसिमले खोल्न गारो छ । थवाङबाट काठमाडौँ सरेका नेतालाई थवाङले टेरेन । किन टेरेन भनेर उत्तर खोज्नु जरुरी छ ।
यथार्थतः चुनाव खारेजीको नीति, योजना र कार्यक्रमलाई ठीक ढङ्गले प्रयोग गर्न नसक्ताको परिणामहरू हुन् कालिकोट र थवाङका परिघटनाहरू । अरूलाई दोष दिने र थवाङको सन्दर्भलाई साम्राज्यवादीहरूसित लगेर जोड्ने कुरा भन्दा आफूमा के समस्या रहे भन्ने कुराको बोध हुनु प्रधान कुरा हो । किरण निस्पृहतामा छन् । पोष्यपुत्रहरूको कोटरी नै उनका लागि सर्वस्व हो, उनी त्यहीं रमाएका छन् र रमाइरहन्छन् । हिजो भावनात्मक कुरा गरेर थवाङ्गीलाई छक्याएका प्रचण्डका लागि थवाङ क्रिडास्थल मात्र हो । थवाङले विप्लवबाट केही आशा गरेको थियो, तर, यसको ऐतिहासिक विरासतलाई वर्तमानको विशिष्टतासित जोडेर निरन्तरता दिने कुरामा विप्लव समूहमा वैज्ञानिक दृष्टिकोण र सोचभन्दा यान्त्रिकता र मनोगताता बढी देखियो । विप्लव समूहले खारेजीको लुगा त लगायो, तर सारै पातलो लुगा लगायो । पातलो लुगाले सबै चीजबीजहरू छ्याङछ्याङती देखिनु स्वाभाविक थियो । अहिले रोल्पामा देखिएको कुरा यही हो ।
यो भनेको जनताका दुस्मनका लागि खुसीको कुरा हो र तपाईँहाम्रा लागि पीडाको विषय हो । यो शिक्षा पनि हो र चुनौती पनि । प्रश्नहरू छन्: साँच्चै रोल्पाको पुरानो बिम्ब गल्र्यामगुर्लुम भएकै हो ? के यो नयाँ बिम्ब निर्माणतिर लागेको हो ? कस्तो होला नयाँ बिम्ब ? हेरौँ आउँदो समयले के भन्छ ।
०००

भिडियो फिचरview all