
भाकपा (माओवादी) को नयाँ प्रकाशन

‘पश्चिम घाट विशेष जोनल कमिटी’ को प्रकाशन भएकाले त्यहाँको माओवादी आन्दोलनको स्थिति खास गरेर वर्तमानमा त्यहाँको आन्दोलनले भोग्नु परेको समस्या, त्यहाँ भएका राजनीतिक तथा फौजी गतिविधीको चर्चा हुनु स्वाभाविक छ । परन्तु यसमा स्थानीय किसिमका मात्र रचना छैनन् । यसमा सार्वभौम प्रकृतिका रचनाहरू पनि छन्, जसले सिङ्गो भारतीय माओवादी आन्दोलनका साथै साम्राज्यवादको वर्तमान चरित्र र यसका विरुद्धको सङ्घर्षका बारेमा पनि प्रकाश पार्दछन् । ‘नक्सलबाडी : ए हिस्टोरिकल टर्निङ प्वाइन्ट’, ‘क्राइसिस अफ इम्पेरियलिज्म, फासिज्म एन्ड आवर टास्कस्’, ‘दि भाइलेन्ट पिपुल्स लिबरेसन गुरिल्ला आर्मी (पिएलजिए), इट्स हिस्टोरिकल सिग्निफिकेन्स एन्ड इन्डियन रिभोलुसन’ यसै प्रकृतिका रचनाहरू हुन् ।
पार्टी कार्यकर्ताको राजनीतिक-वैचारिक स्तरलाई उकास्नु आवश्यक छ भन्ने कुरा हामी सबैलाई थाहा छ । यो प्रकाशन त्यसै उद्देश्य परिपूर्तितर्फको प्रयास हो भनेर यसको सम्पादकीयमा लेखिएको छ । पार्टीमा विभिन्न कारणबस गलत प्रवृत्ति देखा पर्ने र हाम्रो क्षेत्रमा पनि यस किसिमका प्रर्वत्तिहरू देखा पर्नथालेका र तिनलाई समयमै निराकरण नगर्दा नोक्सान पुग्ने हुँदा पार्टीलाई बोल्सेवीकरण गर्ने उद्देश्यका साथ पत्रिका प्रकाशित गरिन थालिएको कुरा यसमा उल्लेख छ ।
‘नक्सलबाडी : ए हिस्टोरिकल टर्निङ प्वाइन्ट’, निकै महत्वपूर्ण रचना हो । यसले नक्सलबाडी इतिहासको एउटा घटनामा होइन, यसलाई क्रान्तिकारी राजनीति र विचारको जीवन्तता र निरन्तरतामा हेर्नुपर्छ भनिएको छ । नक्सलबाडीले क्रान्तिका लागि क्रान्तिकारी पार्टीको आवश्यकता र औचित्यलाई पुष्टि गरेको कुरामा प्रकाश पारेको र त्यसैको विरासतमा अघि बढेर भारतीय माओवादी आन्दोलन अघि बढेको कुरा यस रचनामा उल्लेख गरिएको छ । त्यसै गरी ‘दि भाइलेन्ट पिपुल्स लिबरेसन गुरिल्ला आर्मी (पिएलजिए), इट्स हिस्टोरिकल सिग्निफिकेन्स एंड इन्डियन रिवोलुसन’ अर्को महत्वपूर्ण रचना हो । यसमा भारतमा जनमुक्ति छापामार सेनाको निर्माणदेखि वर्तमानसम्मको इतिहास र यसको भूमिका प्रस्ट पारिएको छ ।
'क्राइसिस अफ इम्पेरियलिज्म, फासिज्म एन्ड आवर टास्कस्’मा साम्राज्यवाद आर्थिक–राजनीतिक सङ्कटबाट गुज्रिरहेको छ र यो सङ्कटबाट मुक्त हुन अरू देशका प्राकृतिक स्रोतसाधनमाथि कब्जा गर्नुका साथै जनताको आन्दोलन दबाइरहेको छ भनिएको छ । यसमा भारतीय प्रतिक्रियावादले विदेशी शक्तिलाई खुसी पार्न कसरी देशको प्राकृतिक साधनस्रोत विदेशीलाई सुम्पेको छ र यसको विरोध गर्ने जनतालाई माओवादी भन्दै दमन गरिरहेको छ भने र चर्चा गरिएको छ ।
‘पोलिटिकल सिचुएसन एन्ड आवर टास्कस्’ र ‘कल टु दि पिपुल’ भाकपा (माओवादी) 'पश्चिम घाट विशेष जोनल कमिटी' ले समसामयिक सन्दर्भलाई लिएर जारी गरिएका वक्तव्यहरू हुन् । खासगरेर ‘नक्सलबाडी : ए हिस्टोरिकल टर्निङ प्वाइन्ट’, ‘क्राइसिस अफ इम्पेरियलिज्म, फासिज्म एन्ड आवर टास्कस्’, ‘दि भाइलेन्ट पिपुल्स लिबरेसन गुरिल्ला आर्मी (पिएलजिए) , इट्स हिस्टोरिकल सिग्निफिकेन्स एन्ड इन्डियन रिभोलुसन’, विशेष महत्वका रचना हुन् । आजको साम्राज्यवादको स्थितिलाई बुझन् ‘क्राइसिस अफ इम्पेरियलिज्म, फासिज्म एन्ड आवर टास्कस्’ निकै सहयोगी रचना हो ।
पिडिफ फर्म्याटमा उपलब्ध यो कम्युनिस्ट भारतीय माओवादी आन्दोलनका बारेमा जानकारीका राख्न रुचि राख्नेहरूका लागि मात्र नभएर आजको क्रान्तिको दिशाका बारेमा जानकारी राख्ने रुचि राख्नेहरूका लागि पनि त्यत्तिकै महत्त्वपूर्ण छ l
भिडियो फिचरview all